यहोवाको साक्षी

येशूको साक्षी

प्राचीन र आधुनिक



प्राचीन यहोवाको साक्षी

मेरा पुर्खाहरू (यहूदीहरू) यहोवाको साक्षी थिए! परमेश्वर अगमवक्ता यशैयाद्वारा उहाँहरूसँग तीनपटक बोल्नुभयो।

त्यसैले उहाँहरू यहोवाको साक्षी (Jehovah’s Witnesses) हुनुभयो!

(त्यस खण्डमा भएको यहोवा भन्ने सुरूको हिब्रू नाममा श्वर अक्षरबिनाको चार वटा व्यन्जन अक्षरहरू मात्र थिए: יהוה (यहवह - YHVH or YHWH) । श्वनर जनाउने अक्षरहरू त्यसमा धेरै समयपछि थपिएका हुन् र अक्षरहरू परिवर्तन गरी अङ्ग्रेजीमा त्यसलाई Jehovah बनाइएको हो।)

यशैयाभन्दा ७०० वर्षपछि येशू यस संसारमा आउनुभएर जिउनुभयो, मर्नुभयो अनि मृत्युबाट बौरी उठ्नुभयो। यस संसारबाट बिदा हुनुभन्दा अघि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभएको अन्तिम शब्दहरू यस्ता थिए, “तिमीहरू मेरा साक्षी हुनेछौ” (प्रेरित १:८)। चेलाहरूलाई ‍उहाँले भन्नुभएको त्यो कुरा विश्वास गर्न अति गाह्रो भयो! के त्यतिबेला येशूले योहवाले भन्नु्भएको शब्दहरू अपहरण गरिरहनुभएको थियो? विगतका सात शताब्दीदेखि यहूदीहरू यहोवाका साक्षी भइरहेका थिए। के त्यस बेलामा येशूले यहोवाको स्थान लिइरहनुभएको थियो त?

त्यसपछि ती चेलाहरूले के गरे? के तिनीहरू अगमवक्ता यशैयाले बोलेका शब्दहरूअनुसार निरन्तर यहोवाको साक्षी बनिरहे? अथवा येशूको आज्ञा पालना गरी तिनीहरू उहाँका साक्षी भए? हामी यस प्रश्नमा फेरि फर्केर आउनेछौँ तर त्योभन्दा पहिले हामी येशूको बारेमा विचार गरौँ।

के येशू यहोवाको साक्षी हुनुहुन्थ्यो?

के येशू यहोवाको साक्षी हुनुभयो?

येशूले आफ्नो पिताको नाउँको बारेमा बताउनुभयो। उहाँले चेलाहरूलाई “तपाईंको नाउँ पवित्र गरियोस्” भनी पितासँग प्रार्थना गर्न सिकाउनुभयो। आफ्नो पितालाई गर्नुभएको अन्तिम प्रार्थनामा येशूले यसो भन्नुभयो, “मैले तपाईंको नाउँ प्रकट गरेको छु” (यूहन्ना १७:६)। “मैले तपाईंको नाउँ यिनीहरूमा प्रकट गरेँ (जनाइदिएको छु), अनि तपाईंको नाउँ यिनीहरूमा प्रकट गराइरहनेछु (जनाइदिनेछु)” (यूहन्ना १७:२६)।

यी खण्डहरूमा येशूले सबैलाई परमेश्वरको नाउँ के हो भनी बताइरहनुभएको थियोजस्तो देखिन्छ; तर के उहाँको भनाइको साँचो अर्थ त्यही थियो त? मत्ती, मर्कूस, लूका र यूहन्नाले लेखेका सुसमाचारका पुस्तकहरू राम्रोसँग पढ्नुहोस्। येशूले शिक्षा दिनुहुँदा आफ्नो पिताको नाउँ ‘यहोवा’ (Jehovah) हो बताउनुभएको कुरा ती पुस्तकहरूमा कहीँ उल्लेख गरिएको छ? के उहाँले त्यो कुरा मानिसहरूलाई बताउनु आवश्यक थियो? त्यो नाउँ अर्थात् चारवटा हिब्रू अक्षरहरूबाट बनेको ‘यहवेह’ YHWH (יהוה) भन्ने शब्द यहूदी धर्मशास्त्रहको प्राय: सबै पृष्ठहरूमा लेखिएको थियो।

त्यसो हो भने “परमेश्वरको नाउँ प्रकट गर्नु”“परमेश्वरको नाउँ जनाउनु” भन्ने शब्दहरूद्वारा येशूले के भन्न खोज्नुभएको थियो? परमेश्वरको नाउँलाई यी चारवटा हिब्रू अक्षरहरूले बुझाउन खोजेको होइन। वास्तवमा येशूले त्यहाँ परमेश्वरको स्वभाव र चरित्रलाई बताउन खोज्नुभएको थियो। येशूले भन्नुभएको अनि गर्नुभएको सबै कुराहरू परमेश्वरको स्वभाव र चरित्रको प्रकटीकरण थियो। उहाँको जन्म, उहाँको जीवन, उहाँको मृत्यु र उहाँको पुनरुत्थान- यी सबै कुराहरू स्वयम् परमेश्वरको प्रकटीकरण थिए। परमेश्वर येशूद्वारा शरीरमा प्रकट हुनुभयो (१ तिमोथी ३:१६)। यसप्रकार उहाँले परमेश्वरको नाउँ प्रकट गरी त्यसलाई सबैको माझमा परिचित तुल्याउनुभयो।

के पत्रुस र पावल यहोवाको साक्षी थिए?

पत्रुस र पावलको बारेमा के छ त? के उनीहरू यहोवाको साक्षी थिए? यस प्रश्नको जवाफ पाउनको लागि हामीले प्रेरितको पुस्तक अनि पत्रुस र पावलले लेखेका पत्रहरू पढ्नै पर्ने हुन्छ। के पत्रुसले मानिसहरूलाई यहोवाको बारेमा बताए? पत्रुसले दिएका शिक्षाहरू र तिनले लेखेका पत्रहरूलाई केलाउने हो भने त्यहाँ यहोवा भन्ने नाउँ कतै पनि पाइँदैन। यद्यपि तिनले आफ्नो प्रचारमा पुरानो करारका केही खण्डहरू उद्धृत गरेका भए तापनि यहूदी परम्पराअनुसार पत्रुसले ‘यहोवा’ भन्ने नाउँ उच्चारण गर्नु नै हुँदैनथ्यो।

त्यसो भए के पत्रुस येशूको साक्षी थिए त? तिनले बोलेका यी खण्डहरू पढ्नुहोस्।

विशेष गरी यो अन्तिम पदलाई फेरि पढ्नुहोस्:

“अरू कसैमा मुक्ति छैन, किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन।

त्यसो भए यहोवाको नाउँको बारेमा के भयो? के परमेश्वरले मोशालाई त्यो नाउँ प्रकट गर्नुभएन र? परमेश्वरको नाउँभन्दा येशूको नाउँ अझ बढी महत्वपूर्ण थियो कि? के पत्रुसलाई धर्मशास्त्रोको ज्ञान थिएन?

यदि पत्रुसलाई धर्मशास्त्रको ज्ञान थिएन भने पावललाई त पक्कै त्यसको ज्ञान थियो। त्यसो हो भने तिनले कतिपटक यहोवाको नाउँबारे चर्चा गरे त? पत्रुसले झैं पावलले पनि तिनको प्रचार र पत्रहरूमा एकपटक पनि त्यस नाउँको बारेमा चर्चा गरेनन्। तिनका शिक्षा र तिनले लेखेका पत्रहरूमा यहोवा भन्ने नाउँ कतै उल्लेख छैन। अनि तिनले येशूको नाउँको बारेमा चाहिँ के भने त? आउनुहोस् यस महत्वपूर्ण बाइबल खण्डलाई हेरौँ। “त्यसैकारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नु पर्छ” (फिलिप्पी २:९,१०)।

अब निश्चितरूपमा भन्ने हो भने पत्रुस र पावल अनि अरू धेरै मानिसहरू त्यो दिनदेखि आजको दिनसम्म कोही पनि यहोवाका साक्षी भएनन्। वास्तविक तथ्य के हो भने उक्त समयदेखि अहिलेसम्म धेरै मानिसहरू सम्पूर्ण हृदयदेखि “येशूका साक्षी” भएका छन्!

यहोवाको नाउँलाई के भयो?

त्यसो भए यहोवाको नाउँ के भयो त? सम्पूर्ण नयाँ करार बाइबलमा किन यो नाउँ एकपटक पनि देखा पर्दैन? यसको उत्तर सरल छ, तर उक्त तथ्य अलि असाधारण किसिमको छ: नयाँ करार बाइबल ग्रीक भाषामा लेखिएको थियो र त्यसमा य (Y), ह (H), व (W) र भ (V) अक्षरहरू छैनन्। हिब्रू, नेपाली र अङ्ग्रेजीमा चाहिँ यी अक्षरहरू छन्। फ्रान्सेली र रुसीलगाएत अरू धेरै भाषाहरूमा तीमध्ये केही अथवा सबै स्वरहरू प्रतिनिधित्व गर्ने अक्षरहरूको कमी छ। तसर्थ, नयाँ करार लेखिने समय आएपछि परमेश्वरले आफूमा समस्या भेट्टाउनुभयो! त्यो समस्या के थियो भने ग्रीक भाषामा ‘यहोवा’ भन्नेर नाउँ लेख्न् असम्भव भयो! के परमेश्वरसँग समस्याहरू हुन्छन् त? अवश्य होइन! स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने परमेश्वरले नै ग्रीक भाषा पनि रचना गर्नु भएको हो!

अब हामीले यसलाई कसरी व्याख्या गर्ने त? आउनुहोस्, हामी प्रस्थान ३ अध्यायलाई राम्रोसँग हेरौँ। त्यहाँ परमेश्वरले मोशालाई यहोवा भन्ने नाउँ दिनुभएको कुरा उल्लेखित छ। परमेश्वरले, “म अब्राहामको परमेश्वर, इसहाकको परमेश्वर अनि याकूबको परमेश्वर हुँ” भनी मोशालाई आफ्नो परिचय दिनुभयो (प्रस्थान ३:६)। मोशा मिश्रदेशमा हुर्केका थिए, र त्यहाँ नेपाल र भारतमा झैँ थुप्रै देवी-देवताहरू थिए। मानिसहरू नझुक्‍किऊन् भन भन्ने हेतुले ती देवी-देवताहरू प्रत्येकको नाउँ थियो! होइन भने थुप्रैमध्ये कुनचाहिँ देवी अथवा देवताको पूजा गर्ने भन्‍ने कुरा तपाईंले कसरी थाहा पाउनुहुन्छ? त्यसैले मोशाले परमेश्वरलाई मिश्रदेशको देवी-देवताकै स्थानमा राखी उहाँको नाउँ के हो भनी सोधे। त्यसबेला तिनले परमेश्वरलाई यसो भने, “हेर्नुहोस्, जब म इस्राएलीहरूकहाँ गएर तिनीहरूलाई भन्नेछु, ‘तिमीहरूका पिता-पुर्खाका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो’; तब तिनीहरूले ‘उहाँको नाउँ के हो त?’ भनेर सोधे भने, मैले तिनीहरूलाई के भन्ने?” (प्रस्थान ३:१३)।

परमेश्वरले मोशालाई यस प्रश्नको सीधा उत्तर दिनुभएन। उहाँले साधारणरूपमा यसो भन्नु्भयो, “म हुँ, जो म हुँ।” त्यो कुनै नाउँ होइन। साँच्चै भन्ने हो भने त्यसो भन्नु नाउँलाई इन्कार गर्नु हो भनी म ठान्दछु। मोशाको समयको परिस्थिति र मानिसहरूका अज्ञानतालाई छुट दिनुभएर परमेश्वरले मोशालाई यहोवा (YHWH) भन्ने नाउँ प्रयोग गर्न अनुमति दिनुभयो। हिब्रू भाषामा यो यह्वे (יהוה) शब्दको अर्थ ‘हुँ’ भन्ने हुन्छ। वास्तवमा भन्‍ने हो भने एक मात्र साँचो परमेश्वरको नाउँ छैन र उहाँलाई नाउँको खाँचो पनि पर्दैन। स्वर्ग र पृथ्वीमा को त्यस्तो व्यक्ति छ, जसले सर्वशक्तिमान् परमेश्वरलाई नाउँ काटेर बोलाउन सक्छ? महान् परमेश्‍वरलाई नाउँ काटेर बोलाउन सक्‍ने कसको सामर्थ्य छ? सामान्य पुत्रहरूले झैँ परमेश्वरको आफ्नै पुत्रले उहाँलाई ‘पिता’ भनी सम्बोधन गर्नुभयो।

यसबारे अधिक जानकारीको निम्ति परमेश्वरको नाम र येशूको नाम हेर्नुहोस्।

त्यसपछि के भयो?

मेरा पुर्खाहरूले के गरे त? दु:खलाग्दो कुरा के हो भने उहाँहरूमध्ये अधिकांशले येशूलाई इन्कार गरे। उहाँले दिनुभएको शिक्षालाई उहाँहरूले ईश्‍वरनिन्दा सम्झे। ‘मानिसले कसरी आफूलाई परमेश्वरको बराबरी तुल्याउन सक्छ?’ भनी उहाँहरूले विचार गर्नुभयो। उहाँहरू ‘यहोवाको साक्षी’ भइरहनुभयो। मेरा पुर्खाहरूमध्ये निकै थोरैले मात्र येशूलाई स्वीकार गरेर ‘येशूका साक्षी’ हुनुभयो ।

येशूले बोल्नुभएको शब्दहरू र यशैयाद्वारा परमेश्‍वरले बोल्नुभएको शब्दहरूमा एउटा ठूलो भिन्‍नता थियो: येशूले चेलाहरूलाई भन्‍नुभयो “पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ र तिमीहरू मेरा साक्षीहरू हुनेछौ ।” उहाँका यी शब्दहरू अचम्म रीतिले पूरा भए। पवित्र आत्मा ती साक्षीहरूमाथि आउनुभयो र तिनीहरूले शक्ति पाए। त्यसपछि तिनीहरू जहाँ-जहाँ गए, ती ठाउँहरूमा विभिन्‍न प्रकारका चिन्हहरू र आश्‍चर्यकर्महरू प्रकट हुन थाले अनि सारा रोमी साम्राज्यभरि तिनीहरूले येशूको नाउँ फैलाए।

यशैयाको शब्दहरूमा येशूले बोल्नुभएको शब्दहरूमा जस्तो पवित्र आत्मा र शक्तिजस्ता कुराहरू उल्लिखित थिएन। परिणामस्वरूप ती पुराना ‘यहोवाका साक्षी’ (यहूदीहरू) यहोवाको असल साक्षी हुन असफल भए। तिनीहरूले पवित्र आत्मा प्राप्त गरेका थिएनन्; तसर्थ तिनीहरूमा शक्तिको कमी थियो। विश्वासयोग्य अनि साँचो साक्षी भई येशू यस संसारमा आउनुहुँदा अधिकांश यहूदीहरूले उहाँलाई इन्कार गरे अनि उहाँका साक्षीलाई सतावट दिए । रोमीहरूले पनि येशूका साक्षीलाई सतावट दिए, जसले गर्दा उनीहरूमध्ये धेरैले आफ्नो विश्‍वासको कारण ज्यान गुमाउनु पर्‍यो।

केही शताब्दीपछि रोमी सम्राट कन्स्टान्टिनले इसाई विश्‍वासलाई अँगालेर केही हदसम्म जीवन परिवर्तनको अनुभव गरे। तिनले इसाई विश्‍वासलाई रोमी साम्राज्यको औपचारिक धर्म बनाए। त्यसपछि येशूका साक्षीहरूप्रति हुने गरेका प्रत्यक्ष सतावट अन्त भयो। शताब्दीहरू बित्दै जाने क्रममा स्थापित भएका मण्डलीहरू झन्-झन् भ्रष्ट हुन थाले। त्यसपछि येशूका झूटा साक्षीले अरू मानिसहरूमाथि नियन्त्रण गर्न थाले, र तिनीहरूले पुराना यहोवाका साक्षी र येशूका साँचो साक्षीलाई निकै सताउन थाले। त्यसपछि धेरै शताब्दीहरूसम्म डरलाग्दो रक्तपात भइरह्यो र त्यतिबेलाको समयमा कसलाई बढी मात्रामा सताइयो भनी बताउन गाह्रो छ। उक्त अवधिमा ठूलो सङ्ख्याका यहूदीहरूलाई तीन विकल्पहरू दिइयो: बप्तिस्मा लिने कि, देश निकाला हुने कि अथवा मर्ने? तिनीहरूलाई यीमध्ये एउटा कुरा रोज्न वाध्य पारियो। लाखौँको सङ्ख्यामा येशूका साँचो साक्षीलाई कठोर यातना दिएर मारियो। यसबारेमा हामीले प्रकाशको पुस्तकमा यस्तो भविष्यवाणी भेट्टाउँछौँ: “रहस्य: पृथ्वीका वेश्याहरू र घिनलाग्दा कुराहरूकी आमा महान् बेबिलोन। अनि मैले त्यस स्त्रीलाई सन्तहरूको रगत र येशूका सहिदहरूको (साक्षीको) रगत पिएर मातेकी देखेँ” (प्रकाश १७:५-६)।

यस खण्डमा बेबिलोनले येशूको झूटा साक्षीलाई प्रतिनिधित्व गर्छ, जुन झूटा मण्डली हो।

आधुनिक यहोवाका साक्षी

अब हामीले ‘यहोवाको साक्षी’ भन्ने नाउँ प्राप्त गर्ने उक्त आधुनिक समुदायप्रति ध्यान दिनै पर्छ। यो समुदायलाई उन्नाइसौँ शताब्दीको उत्तरार्द्धतिर अमेरिकी नागरिक Charles Taze Russell भन्ने व्यक्तिले सुरु गरेका हुन्। तिनले बाइबलको धेरै अध्ययन गरे अनि त्यतिबेलाका विभिन्न मण्डलीहरू तथा सम्प्रदायहरूमा विद्यमान चलन र धार्मिक विधि-विधानहरूमा थुप्रै गलत कुराहरू देखे। ऊ र उसका अनुयायीहरूले केवल तिनीहरूले सत्यलाई प्राप्त गरेका छन् भनी विश्वास गर्न थाले। अरू सबै मण्डलीहरू र धर्महरू बेबिलोनजस्तै हुन् भनी तिनीहरूले देखे, र धेरै कुरामा तिनीहरू सही थिए! यशैयाको पुस्तकमा तिनीहरूले यस्ता पदहरू भेट्टाए: परमप्रभु भन्नुहहुन्छ, “तिमीहरू मेरा साक्षी हौ” । ती खण्डहरूलाई तिनीहरूले आफ्नो विश्वासको सारमा गाभे र आफूहरू मात्र ‘सत्यको साक्षी हौँ’ भनी ठाने। त्यस किसिमले तिनीहरूले ‘यहोवाको साक्षी’ भन्ने नाउँ प्राप्त गरे। अहिले यस किसिमले विश्वास गर्ने समूह संसारको अधिकांश भागहरूमा फैलिसकेको छ र तिनीहरूले आफ्ना मानिसहरूको सङ्ख्या ८० लाख पुगिसकेको छ भनी दाबी गर्छन्।

आफू मात्र ठीक अनि आफूहरूसँग मात्र सत्य छ भनी यहोवाका साक्षीले विश्वास गर्छन्। अरू सबै धर्मका मानिसहरू यहाँसम्म, कि सबै इसाईहरू शैतानको नियन्त्रणमा छन् भनी तिनीहरूले सिकाउने गर्छन्। तिनीहरूको शिक्षाहरूचाहिँ ‘सत्य’ हो भनी तिनीहरूले व्याख्या गर्छन्। येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन” (यूहन्ना १४:६)। यहोवाका साक्षी भन्छन्, “सत्य हामीसँग मात्र छ, हामीद्वारा बाहेक कोही पनि परमेश्वरकहाँ आउन सक्दैन।” अब को सही हो त? - यहोवाको साक्षी कि येशू? यदि यहोवाका साक्षी सही हुन् भने म झूटा हुँ, तपाईं झूटा हुनुहुन्छ (तपाईं तिनीहरूको समूहमा पर्नुहुन्ने भने) र त्यसैगरी येशूमाथि विश्वास गर्ने अरू लाखौँ-करोडौँ इसाईहरू झूटा हुन् अनि हामी सबैको विश्वास व्यर्थ हो। आफूहरू परमेश्वरका विश्वासयोग्य सेवकहरू हौँ भनी यहोवाका साक्षीले विश्वास गर्छन् अनि अरू सबै मानिसहरू शैतानको नियन्त्रणमा छन् भनी तिनीहरूले दोष लाउँछन्। यदि तपाईं येशू ख्रीष्टद्वारा पिताकहाँ आउनुभएको छ र तपाईंले आफ्नो जीवनमा उहाँको प्रेम र शक्ति अनुभव गर्नुभएको छ भने पक्का पनि यहोवाको साक्षीले दाबी गर्ने त्यस्ता कुराहरू पूर्णरूपले झूटा हुन् भनी स्पष्टसँग बुझ्नुहुनेछ।

इसाईहरूले परम्परागतरूपमा स्वीकार गर्दैआएका केही मुख्य शिक्षाहरूप्रति यहोवाका साक्षीका विश्वास फरक किसिमको छ र सानातिना भिन्नताहरू थुप्रै छन्। तीमध्ये अति महत्वपूर्ण कुराहरू, जस्तै: येशू, पवित्र आत्मा, मुक्ति-उद्धार र अर्को जीवनबारे तिनीहरूको शिक्षा निकै फरक किसिमको छ। तिनीहरूका केही शिक्षाहरूचाहिँ सही छन् भनी म ठान्दछु। तर तिनीहरूका अधिकांश शिक्षाहरू भने गम्भीर तथा निश्चितरूपमा गलत छन्। त्यसबारेमा थुप्रै वेबसाइट र पुस्तकहरूले व्याख्या गर्ने भएकोले ती विषयहरूलाई यहाँ चर्चा गरिरहन म त्यति उचित ठन्दिनँ।

साक्षी भनेको के हो?

अब हामी महत्वपूर्ण प्रश्न सोध्नु पर्छ: ‘साक्षी भनेको के हो?’ यस प्रश्नको राम्रो उत्तर यूहन्नाले आफ्नो पहिलो पत्रमा यसरी दिएका छन्: “जीवनको वचनको विषयमा - जो शुरुदेखि नै हुनुहुन्थ्यो, जसलाई हामीले सुनेका छौँ, जसलाई हामीले आफ्नै आँखाले देखेका छौँ, जसलाई हामीले नियालेर हेरेका छौँ र हाम्रा हातहरूले समातेका छन् ... तिमीहरूले पनि सङ्गति पाओ भनेर हामीले जे देखेका र सुनेका छौँ, सो कुरा तिमीहरूलाई सुनाउँछौँ। अनि हाम्रो सङ्गति साँच्चै पितासँग र उहाँका पुत्र येशू ख्रीष्टसँग छ” (१ यूहन्ना १:१, ३)। जे कुरा आफ्नै आँखाहरूले देखेका छन् अनि आफ्नै कानहरूले सुनेका छन्, त्यसलाई घोषणा गर्नु नै साक्षीको मूलभूत तत्व हो।

हामीले यस लेखमा फरक-फरक किसिमका साक्षीको चर्चा गरेका छौँ। ती फरक-फरक साक्षीले के-के सुने अनि के-के देखे त? केही मानिसहरूले आफ्ना स्वभाविक आँखाहरूले यस पृथ्वीको सांसारिक कुराहरू देखे। अरू केही मानिसहरूले चाहिँ आत्मिकी आँखाहरूद्वारा स्वर्गीय कुराहरू देखे। अनि अरूहरूले चाहिँ केही पनि देखेका छैनन् ‌जस्तो लाग्छ! हामीले यी कुराहरूमध्ये प्रत्येकलाई पालैपालो हेर्नेछौँ।

प्राचीन यहोवाको साक्षी

सर्वप्रथम, प्राचीन यहोवाको साक्षीले (अर्थात् यहूदीहरूले) के कुरा देखे अनि के कुरा सुने? तिनीहरूले के कुराको साक्षी दिन्छन्? तिनीहरूसँग आफ्नो पुर्खा अब्राहामको जन्मदेखि लिएर वर्तमान समयसम्मको लामो इतिहास थियो, जुन पृथ्वीका अरू मानिसहरूको इतिहासभन्दा फरक थियो। तिनीहरूले यहोवा भनेर चिनेका परमेश्वरले तिनीहरूका राष्ट्रिय जीवनमा घरी-घरी देखिने गरी हस्तक्षेप गर्नुभएको थियो। एउटा जातिको रुपमा उनीहरूले उहाँका हातले गर्नुभएका कामहरू देखेका थिए। तिनीहरूले यहोवाले गर्नुभएका अचम्मलाग्दो किसिमका छुटकाराका घटनाहरू र आशिष्‌हरू देखेका थिए र साथै तिनीहरूले कडा किसिमका न्यायहरू पनि देखेका थिए। परमेश्वरले तिनीहरूसँग गर्नुभएका व्यवहारहरू लेखिएका तिनीहरूको धर्मशास्त्रलाई पृथ्वीमा प्रचलित मुख्य-मुख्य भाषाहरूमा अनुवाद गरिएको थियो।

तर यहाँ मैले एउटा कुरामा जोर दिनै पर्छ: परमेश्वरले गर्नुभएको ती सबै अचम्मलाग्दो कामहरू मानिसको स्वभाविक आँखाहरूले देखेका थिए। आश्चर्यकर्महरू भनेको परमेश्वरका अलौकिक कार्यहरू हुन्, तर ती यस पृथ्वीमा देखिने कुराहरू हुन्। तसर्थ, ती प्राचीन यहूदीहरू परमेश्वरको कार्यहरूको सांसारिक साक्षी थिए।

येशू, विश्वासयोग्य अनि साँचो साक्षी

प्रकाश ३:१४ मा येशूलाई “विश्वासयोग्य अनि साँचो साक्षी” भनी व्याख्या गरिएको छ। उहाँले भन्नुभयो, “साँचो-साँचो म तिमीलाई भन्दछु, हामी जे जान्दछौँ, त्यही भन्छौँ, अनि हामीले जे देखेका छौँ, त्यसको गवाही दिन्छौँ, अनि तिमीहरू हाम्रा गवाही ग्रहण गर्दैनौ” (यूहन्ना ३:११)। येशूलाई के कुरा थाहा थियो अनि उहाँले के देख्नुँभएको थियो त? यसको उत्तर उहाँले यूहन्ना ८:३८ मा यसरी दिनुभयो: “मैले मेरा पिताकहाँ जे देखेको छु, त्यही बोल्दछु ... ।” येशूले परमेश्वरलाई चिन्नुहुन्थ्यो; उहाँ परमेश्वरकहाँबाट आउनुभयो र उहाँले परमेश्वरको कुरा बोल्न सक्नुहुन्थ्ये। जसरी तपाईं र मैले हाम्रा सांसारिक पिताहरूका बारेमा ठीक ज्ञानमा निश्च्यताका साथ बोल्न सक्छौँ, त्यसरी नै येशूले आफ्नो स्वर्गीय पिताको बारेमा बोल्न र साक्षी दिन सक्नु्हुन्थ्यो।

येशूले इस्राएलको चारैतिर यात्रा गर्दै आफ्नो सेवकाइको क्रममा देख्‍नुभएको सुन्दर अनि छक्‍क पार्ने आश्‍चर्यकर्महरूको बारेमा मानिसहरूलाई बताउन सक्‍नुहुन्‍थ्यो। उहाँले पानी दाखमद्यमा परिवर्तन भएको देख्‍नुभएको थियो, त्यसैगरी उहाँले आफ्नो आज्ञामा आँधी शान्त भएको, समुद्रमाथि हिँड्दा पानीले उहाँका पाउहरूलाई थामेको, सबै किसिमका रोगहरू निको भएको अनि यहाँसम्म, कि मृतकहरू जीवित भई उठेका दृश्यहरू देख्‍नुभएको थियो। तर ती सबै घटनाहरू मानिसको स्वभाविक आँखाहरूले देख्‍न सक्‍ने सांसारिक कुराहरू हुन्। उहाँले पृथ्वीमा अनुभव गर्नुभएको कुराहरू होइन बरु स्वर्गमा देख्‍नुभएको कुराहरूको साक्षी दिने कुरा रोज्नुभयो।

येशू स्वर्गीय साक्षी हुनुहुन्थ्यो ।

यस विषयमा अझै अध्ययन गर्न येशूलाई बुझ्नु हेर्नुहोस्।

येशूको साक्षी

येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले सामर्थ्य पाउनेछौ, अनि तिमीहरू मेरा साक्षी हुनेछौ।” ती चेलाहरू कस्तो किसिमका साक्षी हुन गइरहेका थिए त? के तिनीहरू आफ्ना पुर्खाहरूझैँ सांसारिक साक्षी हुन गइरहेका थिए? अथवा येशूजस्तै स्वर्गीय साक्षी हुन गइरहेका थिए?

ती चेलाहरूले आफ्ना स्वभाविक आँखाहरूद्वारा अचम्मलाग्दा कुराहरू देखेका थिए; जस्तै: येशूले पानीलाई दाखमद्य बनाउनुभएको, उहाँ पानीमाथि हिँड्नुभएको, रोगीहरूलाई चङ्गाइ दिनुभएको र मरेकाहरूलाई बौराएर उठाउनुभएको आदि इत्यादि। त्यतिमात्र होइन येशू क्रूसमा मर्नुभएको अनि चिहानमा गाडिनुभएर पनि जीवित हुनुभएको तिनीहरूले देखेका थिए। तिनीहरूका कानले अचम्मलाग्दा कुराहरू सुनेका थिए। करिब तीन वर्षसम्म तिनीहरूले दैनिकरूपमा येशूले बोल्नुभएको वचनहरू र उहाँले दिनुभएका शिक्षाहरू सुनेका थिए।

आफ्नै स्वभाविक आँखाहरूले देखेका अनि स्वभाविक कानहरूले सुनेका ती अचम्मलाग्दा कुराहरूका साक्षी दिँदै के तिनीहरूले बाँकी रहको जीवन बिताए? यस प्रश्नको उत्तर भेट्टाउनको लागि हामीले सावधानीपूर्वक हेर्नु पर्छ।

प्रेरितको पुस्तकको सुरुमै हामी यस्ता खाले स्पष्ट खण्डहरू भेट्टाउँछौँ: “यही येशूलाई परमेश्वरले बौराएर उठाउनुभयो, जुन कुराका साक्षी हामी सबै हौँ” (प्रेरित २:३२)। “अनि बडो सामर्थ्यसित प्रेरितहरूले प्रभु येशूको बौरिउठाइको गवाही दिन्थे ...” (प्रेरित ४:३३)। आफ्ना शारीरिक आँखाहरूले देखेका उक्त अचम्मको घटनाको गवाही दिन तिनीहरूले सो कुरा सबैलाई बताउनु परको थियो। तर समय बित्दै जाँदा शरीरमा येशूलाई कहिले पनि नदेख्ने धेरै मानिसहरूले उहाँमाथि विश्वास गरे।

पावलले येशूलाई दर्शनमा देखे, तर तिनले उहाँलाई शरीरमा कहिल्यै देखेनन्। तिनले यसरी लेखेका छन्: “अब उसो हामी कसैलाई पनि शरीरअनुसार चिन्ने गर्दैनौँ; अँ, हामीले ख्रीष्टलाई शरीरअनुसार चिनेका भए तापनि अब उसो चिन्दैनौँ” (२ कोरिन्थी ५:१६)। त्यसो भए, के पावलले बाह्र चेलाहरूबाट सिकेका कुराहरू अरू मानिसहरूलाई दिन थाले त? पक्कै् होइन। यहाँ छक्क पार्ने कुरा के छ भने पावलले ती चेलाहरूसँग थोरै समय मात्र सँगसँगै बिताए। तिनले मानिसहरूलाई आफ्नै आँखाले देखेका अनि आफ्नै कानले सुनेका कुराहरूको साक्षी दिए - ती साक्षी तिनका स्वभाविक आँखाले देखेका र स्वभाविक कानले सुनेको होइनन् तर वास्तवमा ती तिनको आत्मिकी आँखाले देखेका र आत्मिकी कानले सुनेका थिए।

यूहन्‍नाले मैले भनेको जस्तै कुरा लेखेका छन्: “जे हामीले देखेका र सुनेका छौँ, त्यो हामी तिमीहरूलाई घोषणा गर्दछौँ” (१ यूहन्ना १:३)। त्यसको तुरुन्तै तिनी यसरी लेख्छन्: “जुन समाचार हामीले उहाँबाट सुनेका छौँ, र तिमीहरूलाई सुनाउँछौँ, त्यो यही हो - परमेश्वर ज्योति हुनुहुन्छ, र उहाँमा अन्धकार छँदै छैन” (१ यूहन्ना १:५)। यूहन्‍नाले आत्मकी आँखाले देखेको कुरा त्यही हो।

के पत्रुस र यूहन्नाले लेखेका पत्रहरू ‘डाँडाको उपदेश’ अनि येशूले तिनीहरूलाई भन्नुभएको उखानहरूका उद्धरणहरूले भरिएका छन्? तिनीहरूका महान् शिक्षकले तिनीहरूलाई के कुरा सिकाएका थिए, के तिनीहरूले अरू मानिसहरूलाई त्यही कुरा सिकाए? अहँ, पक्कै होइन। यो उत्तरले हामीलाई छक्क् पार्छ। तिनीहरूका आफ्नै आँखा - अझ स्पष्टसँग भन्नेँ हो भने आफ्नो आत्मिकी आँखाले देखेका कुराहरू तिनीहरूले अरू मानिसहरूलाई बताए।

पत्रुस, पावल र यूहन्नाले पहिले आफ्ना शारीरिक आँखाले देखेका कुराहरू अरू मानिसहरूलाई बताउन सुरु गरे भन्ने कुरामा कुनै सङ्का छैन; तर तिनीहरूले परमेश्वरसँग धेरै समय बिताइसकेपछि आफ्ना आत्मिकी आखाले देखेका कुराहरू अरूहरूलाई बताउन सक्ने भए। तिनीहरू सांसारिक साक्षी भएपछि, सो अवस्थाबाट माथि उठेर स्वर्गीय साक्षी बन्नी सके। तिनीहरू येशूजस्तै हुन सके।

आधुनिक यहोवाको साक्षी र अरू मानिसहरू

अहिले आधुनिक इसाई धर्म निर्माण गर्ने धेरै सम्प्रदाय र समुदायहरूको बारेमा के भन्न सकिन्छ होला? तिनीहरूले देखेका अनि सुनेका कुराहरू के-के हो? तिनीहरू सांसारिक साक्षी हुन्, कि स्वर्गीय साक्षी हुन्? के तिनीहरू साक्षी भन्न सकिन्छ त?

के तिनीहरूले यसो भन्न सक्छन्? “जे हामीले सुनेका छौँ, जे हाम्रै आँखाले देखेका छौँ, त्यो हामी तिमीहरूलाई घोषणा गर्छौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस्। हाम्रो सङ्गति पिता र उहाँका पुत्र येशू ख्रीष्टसँग छ” (१ यूहन्ना १:१, ३)। अथवा तिनीहरूले भन्न् सक्ने यस्तो हो कि? “जे हामीले हाम्रा शिक्षकहरूबाट सिकेका छौँ र पुस्तकहरूमा पढेका छौँ, सो तिमीहरूलाई घोषणा गर्छौं ताकि तिमीहरू हाम्रो समूहमा आउन सकोस्।” के तिनीहरूले येशू ख्रीष्टमा पाएको अनुभवहरू तपाईंलाई बताउँन सक्छन्? अथवा तिनीहरूले बाइबललाई कसरी व्याख्या गर्ने भनेर मात्र बताउन सक्छन् कि?

म यो कुरा दोहोर्‍याएर भन्छु, कि साँचो साक्षीले आफैले सुनेका र देखेका कुराहरू बताउँछन्। तर बाइबल तालिम केन्द्र अनि बाइबल कलेजहरूमा सिकेका कुराहरू, मण्डलीमा सुनेका कुराहरू, पुस्तकहरूमा पढेका कुराहरू र बाइबलले बताएका कुराहरूलाई तिनीहरूका व्यक्तिगत साक्षी भन्न सकिँदैन। यी सबै कुराहरू आ-आफ्नो ठाउँमा मूल्यवान छन्, तर ती गवाही भने होइनन्। तिनीहरू आफैले व्यक्तिगतरूपमा सुनेका र देखेका कुराहरू नै वास्तविक साक्षी हुन्।

येशूले निकोदेमसलाई भन्नुभयो, “साँचो-साँचो म तिमीलाई भन्दछु, कोही मानिस नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्यलाई देख्न सक्दैन” (यूहन्ना ३:३)। साँचो येशूका साक्षी नयाँ गरी जन्मेका हुन्छन् र तिनीहरू परमेश्वरको राज्य देख्न सक्षम हुन्छन् । तसर्थ, जे तिनीहरूले देखेकासुनेका छन्, ती कुराहरू अरू मानिसहरूलाई घोषणा गर्न सक्छन्।

निष्कर्ष

हामीले यस लेखमा येशूको साक्षी अनि यहोवाको साक्षी, स्वर्गीय साक्षी अनि सांसारिक साक्षी, साँचो साक्षी अनि झूटा साक्षी, प्राचीन (उहिलेका) साक्षी अनि आधुनिक (अहिलेका) साक्षी, र ती साक्षी जो वास्तविक साक्षी होइनन्- यी सबैको बारेमा विचार (चर्चा) गरेका छौँ । यसबाट हामीले के सिकेका छौँ त?

यहाँ हामीले दुई मुख्य विषयहरूमा ध्यान केन्द्रीत गरेका छौँ: हामीले यहोवाको नाउँ (YHWH) अनि येशूको नाउँलाई तुलना गरेका छौँ, र हामीले ‘साक्षी’ भन्ने शब्दको अर्थ के हो भनी विचार गरेका छौँ।

मोशाले परमेश्वरलाई उहाँको नामबारे सोधपुछ गर्दा, उहाँले तिनलाई यहोवा (YHWH) भन्ने नाम दिनुभयो र यो नाम यहूदीहरूका निम्ति निकै बहुमुल्य भयो - यति बहुमुल्य भयो, कि उक्त नाम उच्चारण नै गर्न नहुने भयो। यो कुरा आजको दिनसम्म लागू भइरहेको छ।

परमेश्वरले यहूदीहरूलाई उहाँको निम्ति साक्षी हुनको निम्ति बोलावट दिनुभयो, तर तिनीहरू केवल सांसारिक साक्षी मात्र हुन सके। तिनीहरूले इस्राएलको राज्यलाई देखे, तर परमेश्वरको राज्यलाई देख्न सकेनन्। अपवादको रूपमा थोरै अगमवक्ताहरू र केही विशेष मानिसहरूले बाहेक अरू यहूदीहरूले नयाँ जन्म अथवा पवित्र आत्माको शक्ति के हो भनेर जान्न सकेनन्।

येशू, मसिह हुनुभएर आउनुभएपछि सबै कुरा परिवर्तन भयो। उहाँ पिताकहाँबाट आउनुभयो र निरन्तर आफ्नो पिताको सम्पर्कमा रही सांसारिक जीवन जिउनुभयो। त्यतिखेर परमेश्वरलाई सम्बोधन गर्नुपर्दा उहाँले ग्रीक शब्द ‘पातेर’ (Πατηρ, Pater) अथवा हिब्रू शब्द ‘अब्बा’ (Abba) प्रयोग गर्नुभयो, र यी दुबै शब्दले पिता भन्ने अर्थ दिन्छ। यहोबा (YHWH) भन्ने नाम दृष्टिबाट पूर्णरूपमा हरायो। येशूले शिक्षा दिनुहुँदा यसको कहिले पनि चर्चा गर्नुभएन। त्यसै गरी पत्रुस, पावल, यूहन्ना अथवा नयाँ करारको अरू लेखकहरूले पनि त्यसबारे चर्चा गरेनन्। येशूले आफ्ना चेलाहरूलाई उहाँको साक्षी बन्नु पर्नेछ भनी भन्नुभयो।

साँचो साक्षीले अदालतमा आफ्नै आँखाले देखेका अनि आफ्नै कानले सुनेका कुराहरू बताउँछन्। अरू मानिसहरूबाट सिकेका अथवा पुस्तकहरूमा पढेका कुराहरूको साक्षीमा कुनै वैधता हुँदैन। त्यस्ता कुराहरूलाई न्यायाधीसले स्वीकार गर्दैन।

येशूका प्रथम अनुयायीहरूले उहाँलाई व्यक्तिगतरूपमा देखे अनि उहाँको मृत्यु र पुनरुत्थान आफ्नै शारीरिक आँखाले देखेको घटना हो भनी साक्षी दिए। तुरुन्तै तिनीहरू आफूले देखेका र सुनेका कुराहरूको निम्ति शक्तिशाली साक्षी बने। तिनीहरूले नयाँ जन्मको अनुभव गरी स्वर्गको राज्य देख्नु पाउनुचाहिँ त्योभन्दा ठूलो र अझै महत्वपूर्ण कुरा थियो। तिनीहरूले पवित्र आत्माको बप्तिस्माको अनुभव गरे, र त्यो तिनीहरूको शक्तिको रहस्य थियो। तिनीहरू येशूजस्तै स्वर्गीय साक्षी बने।

येशू यस संसारमा हिँड्‍डुल गर्नुभएको समयदेखि अहिलेसम्म थुप्रै कुराहरू परिवर्तन भइसकेका छन्। तत्पश्‍चात यहाँ असङ्ख्य मण्डलीहरू, धार्मिक मत र सम्प्रदायहरू प्रकट भइसकेका छन् र तिनीहरूमध्ये धेरैले आफूसँग मात्र सत्य छ भनी घोषणा गर्ने गर्छन्। तर एउटा कुराचाहिँ अहिले पनि उस्तै छ। येशूका साँचो साक्षी भनेका ती मानिसहरू हुन्, जसले नयाँ जन्म पाएका छन्, अनि स्वर्गको राज्य देखेका छन् र आफूले देखेका र सुनेका कुराहरू अरूलाई बताउनको निम्ति पवित्र आत्माको शक्ति प्राप्त गरेका छन्।

यो पुस्‍तकलाई रंगिन [Color] छाप्‍ने फाइल

यो पुस्‍तकलाई श्‍याम-स्‍वेत [Black & White] छाप्‍ने फाइल

कसरी छाप्ने