येशूलाई बुझ्नु

परिचय

येशू महान् शिक्षक हुनुहुन्थ्यो, र उहाँले भन्‍नुभएका कुराहरू सबैले सजिलै बुझ्थे। ठीक वा बेठीक? आउनुहोस् यस सम्बन्धमा केही प्रतिक्रियाहरू हेरौँ ।

प्रतिक्रियाहरू

“तर उहाँले भन्‍नुभएको यो कुरा तिनीहरूले बुझेनन्‌, र उहाँसँग सोध्‍न डराए” (मर्कूस ९:३२)।

“तर उहाँले तिनीहरूलाई भन्‍नुभएको कुरा तिनीहरूले बुझेनन् (लूका २:५०)।

“तर तिनीहरूले यो कुरा बुझेनन्‌। किनकि यो तिनीहरूले नबुझून्‌ भनेर तिनीहरूबाट गुप्‍त राखिएको थियो। तिनीहरू यस विषयमा उहाँलाई सोध्‍न डराउँथे” (लूका ९:४५)।

“पिताको विषयमा उहाँले भन्‍नुभएको हो भनी तिनीहरूले बुझेनन्‌” (यूहन्ना ८:२७)।

“येशूले तिनीहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो, तर उहाँले तिनीहरूलाई भन्‍नुभएको कुरा तिनीहरूले बुझेनन्‌” (यूहन्ना १०:६)।

“यी कुराहरू उहाँका चेलाहरूले पहिले बुझेनन्‌। तर येशूको महिमा भएपछि यी कुरा उहाँको विषयमा लेखिएका थिए, र यी काम उहाँको निम्‍ति तिनीहरूले गरेका हुन्‌ भन्‍ने तिनीहरूले सम्‍झे” (यूहन्ना १२:१६)।

“तिनीहरूले भने, “उहाँले “अलि बेर” भन्‍नुभएको के हो? हामी जान्‍दैनौँ, उहाँ के भन्‍दैहुनुहुन्‍छ (यूहन्ना १६:१८)।

र येशू स्वयम् आफैले के भन्‍नुभएको छ:

“उहाँले भन्‍नुभयो, “तिमीहरूलाई त परमेश्‍वरका राज्‍यको भेद जान्‍ने ज्ञान दिइएको छ, तर अरूहरूसँग चाहिँ म दृष्‍टान्‍तमा बोल्‍दछु, कि “तिनीहरूले हेरेर पनि नदेखून्‌, र सुनेर पनि नबुझून्‌” (लूका ८:६)।

“येशूले तिनलाई जवाफ दिनुभयो, “म के गर्दैछु तिमी अहिले जान्‍दैनौ, तर पछि बुझ्‍नेछौ” (यूहन्ना १३:७)।

तिनीहरूले किन बुझेनन्?

यी सबै व्यक्तिहरूले विश्‍वका सर्वश्रेष्ठ शिक्षकलाई किन बुझ्न सकेनन्?

यशैयाले हामीलाई यसको बुनियादी कारण बताउँछन्: “किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्‌, र तिमीहरूका चाल मेरा चाल होइनन्‌,” परमप्रभु भन्‍नुहुन्‍छ। जसरी आकाश पृथ्‍वीभन्‍दा अल्‍गो छ, त्‍यसरी नै मेरा चाल तिमीहरूका चालभन्‍दा र मेरा विचार तिमीहरूका विचारभन्‍दा अल्‍गा छन्‌” (यशैया ५५:८,९)।

पावलले यही सत्यतालाई अर्कै किसिमले व्यक्त गरेका छन्: “जो मानिस आत्‍मिक छैन, त्‍यसले परमेश्‍वरका आत्‍माका कुराहरू ग्रहण गर्दैन। किनकि ती कुराहरू त्‍यसको निम्‍ति मूर्खता हुन्‍छन्‌, र त्‍यसले ती बुझ्‍न सक्‍दैन, किनकि ती कुराहरू आत्‍मिक रीतिले मात्र चिन्‍न सकिन्‍छ” (१कोरिन्थी २:१४)।

येशूले यस्ता कुराहरूका विषयमा भनिरहनु भएको थियो, जो श्रोताहरूले कहिल्यै अनुभव गरेका थिएनन्। उहाँले सधैँ उनीहरूको समझभन्दा माथिल्‍लो स्तरका कुराहरू भनिरहनु भएको थियो। उहाँ माथिबाटको हुनुहुन्थ्यो, तिनीहरू तलबाटका थिए। उनीहरूले येशूका शब्दहरू अक्षरश: लिन्थे। कतिपटक उहाँका शब्दहरूको कुनै ठीक शाब्दिक अर्थ लाग्दैनथ्यो: “तिमीहरूलाई थाहा थिएन, म आफ्नो पिताको भवनमा हुनु पर्छ?” कति पटक उहाँका शब्दहरूको गलत शाब्दिक अर्थ लाग्थ्यो, “यस मन्दिरलाई भत्काइ देऊ र म यसलाई तीन दिनमा खड़ा गरिदिनेछु।”

बाइबलले शारीरिक मानिस अन्धोपनको अवस्थामा रहेको बताउँछ। कल्पना गरौँ- कुनै जन्मैदेखिको अन्धो व्यक्तिलाई रातो र नीलो रङ्गबीचको फरक बुझाउने प्रयास गर्दा कस्तो हुन्छ? हामी भन्न सक्छौँ- नीलो भनेको आकाशे रङ्ग र रातो भनेको रगतजस्तै रङ्ग हुन्, तर त्यसले न कहिले आकाश देखेको छ नत रगत नै। त्यस व्यक्तिले यो कुरा बुझ्नै सक्तैन। येशूले पनि यस्ता चीजहरूको विषयमा कुरा गरिरहनु भएको थियो, जुन उहाँका श्रोताहरूले कहिल्यै देखेका थिएनन्।

उदाहरणहरू

अब हामी यस्ता घटनाहरू हेरौँ, जहाँ येशूलाई बुझ्न सकिएको थिएन:

निकोदेमस – नयाँ जन्म

“येशूले तिनलाई जवाफ दिनुभयो, ‘साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही नयाँ गरी जन्‍मेन भने उसले परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।’ निकोदेमसले उहाँलाई भने, ‘मानिस बूढ़ो भएपछि कसरी जन्‍मन सक्‍छ र? के त्‍यो आफ्‍नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्‍मन सक्‍छ?’” (यूहन्ना ३:३४)

निकोदेमसलाई नयाँ जन्मको कुनै अनुभव थिएन। उनले यस विषयमा यसभन्दा अघि कहिल्यै सुनेका थिएनन् नता कुनै यस्तो व्यक्तिलाई नै भेटेका थिए, जसको यस्तो अनुभव होस्। उनले इस्राएलको राज्य र रोमी साम्राज्यको विषयमा धेरै कुरा जानेका थिए, तर परमेश्‍वरको राज्यको विषयमा केही पनि थाहा थिएन। यसकारण उनले येशूका शब्दहरूलाई अक्षरश: लिए र मानिसको शारीरिक जन्मको रूपमा बुझे। त्यो बाहेक उनले बुझ्न सक्‍ने अरू कुनै बाटो थिएन। धेरै समयपछि यी शब्दहरू उनको जीवनको अद्भूत वास्तविकता भए, तर सुरुमा अर्थहीन थिए।

निकोदेमसलाई येशूले भन्‍नुभएको ठीक ठीक शब्दहरूलाई हामीले हेर्नु पर्छ। मलाई केटाकेटीले गाउने गरेको एउटा कोरसको सम्झना हुन्छ, जो यस प्रकार छ:

“Listen to the words of Jesus spoken clear and plain:
If you want to go heaven you must be born again!”

“येशूले बोल्नुभएका स्पष्ट र सिधा शब्दहरू सुन,
यदि तिमी स्वर्ग जान चाहन्छौ भने नयाँ गरी जन्म।”

येशूले निकोदेमसलाई भन्‍नुभएका ठीक ठीक शब्दहरू यी होइनन्। येशूले यस्तो भन्‍नुभएको थिएन, “तिमीले नयाँ जन्म पाएनौ भने स्वर्ग जान सक्दैनौ”। येशूले वास्तवमा के भन्‍नुभएको थियो भने नयाँ जन्म नपाउने कुनै पनि व्यक्तिले स्वर्गको राज्य देख्‍न सक्तैन। अर्को शब्दमा भन्‍ने हो भने यस्तो व्यक्ति आत्मिक सत्यताको सन्दर्भमा अन्धो हुन्छ र उसले त्यो कुरा बुझ्न सक्दैन। निकोदेमसको अवस्था यस्तै रहेको हामी देख्दछौँ र अरू यस्तै उदाहरणहरू पनि हामीले हेर्नेछौँ।

सामरी स्त्री – जीवित पानी

“येशूले त्‍यसलाई भन्‍नुभयो, “तिमीले परमेश्‍वरको वरदान र तिमीसँग पानी माग्‍ने व्‍यक्तिलाई चिनेकी भए तिमीले उसलाई माग्‍नेथियौ, र उसले तिमीलाई जिउँदो पानी दिनेथियो। त्‍यस स्‍त्रीले उहाँलाई भनी, “हजूर, तपाईंसित उघाउने भाँड़ो छैन, र इनार पनि गहिरो छ। तब तपाईंले कहाँबाट त्‍यो जिउँदो पानी ल्‍याउनुहुन्‍छ?” (यूहन्ना ४:१०, ११)।

निकोदेमस समाजको माथिल्लो वर्गका थिए र यो स्‍त्री तल्लो वर्गबाट तर दुवै जनामा एउटा कुरा समान थियो: दुवै जनाको नयाँ जन्म भएको थिएन र दुवैले परमेश्‍वरको राज्य देख्‍न सकेका थिएनन्। यस स्‍त्रीले पनि येशूका शब्दहरूलाई अक्षरश: लिइरहेकी थिई। सामान्य पानीको विषयमा उसले सबै कुरा जानेकी थिई, तर जीवित पानीको विषयमा तिनले कहिल्यै सुनेकी थिइन। त्यस प्रकारको पानी आत्मिक अवस्थाको कुरो हो, जसको विषयमा तिनी पूर्णरूपमा अन्जान थिइन्। सामान्य पानीलाई तिनले आफ्नो शारीरिक आँखाले देख्‍न सक्थिन्, तर आत्मिकरूपमा अन्धो भएको कारण जीवित पानीलाई देख्‍न असमर्थ थिइन्।

यहूदीहरू – आत्मिक भोजन

“स्‍वर्गबाट ओर्लिआएको जिउँदो रोटी म नै हुँ। कसैले यो रोटी खायो भने त्‍यो सधैँभरि जिउनेछ। र जुन रोटी म संसारका जीवनको लागि दिनेछु, त्‍योचाहिँ मेरो देह हो। तब यहूदीहरू आपसमा बहस गर्न लागे, “यस मानिसले कसरी हामीलाई आफ्‍नो देह खान दिन सक्‍छ?” येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन।” (यूहन्ना ६:५१-५३)।

येशूले आत्मिक भोजनको कुरा गरिरहनु भएको थियो। फरिसीहरूलाई उजाड़ स्थानमा भएको मन्‍नको आश्‍चर्यकर्म थाहा थियो तर त्यो अद्भूत काम भए पनि शारीरिक भोजन मात्र थियो। आत्मिक भोजन कस्तो हुन्छ भनेर तिनीहरूलाई केही पनि थाहा थिएन। यो उनीहरूको भोजनको परिकारभित्र पर्ने थिएन। यसकारण उनीहरूले येशूका शब्दहरूलाई अक्षरश: लिए र उहाँले त मानिसको मासु खाने कुरा गरिरहनु भएको होला भनी विचार गरे।

येशुका आमा बुवा – मेरो पिताको घर

“उहाँले तिनीहरूलाई भन्‍नुभयो, ‘तपाईंहरूले मलाई किन खोज्‍नुभएको? के म आफ्‍ना पिताको घरमा हुनुपर्छ भन्‍ने तपाईंहरूलाई थाहा थिएन?’ तर उहाँले तिनीहरूलाई भन्‍नुभएको कुरा तिनीहरूले बुझेनन्‌” (लूका २:४८-५९)।

मरियम येशूकी आमा थिइन् भने योसेफ उहाँका लेपालक (सांसारिक) पिता थिए। उनीहरूले स्वाभाविकरूपमा सांसारिक पिताको विषयमा विचार गरे तर येशूले स्वर्गमा रहनुभएका उहाँका पिताको विषयमा कुरा गरिरहनु भएको थियो। त्यतिबेला युसुफ र मरियमले परमेश्‍वरलाई आफ्नो पिताको रूपमा जानेका थिएनन्, यदि जानेको भए पनि उनीहरूले यो कुरा बुझेका थिएनन्। पवित्र आत्माको कामद्वारा मात्रै यो कुरा बुझ्न सकिन्छ। पावलले यो कुरा बुझेर यसो लेखेका थिए, “तिमीहरूले धर्मपुत्र हुने आत्‍मा पाएका छौ। यसैले जब हामी परमेश्‍वरलाई “अब्‍बा, पिता” भनी पुकार्छौं” (रोमी ८:१५)।

चेलाहरू – फरिसीहरूको खमिर

“येशूले तिनीहरूलाई भन्‍नुभयो, “ध्‍यान देओ, फरिसी र सदुकीहरूको खमिरबाट होशियार रहो।” तिनीहरूले आपसमा बहस गर्न लागे, “हामीहरूले रोटी ल्‍याएनौँ, र उहाँले यसो भन्‍नुभएको होला” (मत्ती १६:६,७)।

येशूले फरिसीहरूको शिक्षाको विषयमा कुरा गरिरहनु भएको थियो, तर चेलाहरूले विचार गरे कि येशूले खमिर भन्‍नुहुँदा खमिरकै अर्थमा भन्‍नुभएको हो। फरिसीहरूले जे शिक्षा दिन्थे, त्यो एकदम ठीक हुन्थ्यो। येशूले यहाँसम्म भन्नुभएको थियो, “शास्‍त्रीहरू र फरिसीहरू मोशाको आसनमा बस्‍तछन्‌। यसकारण तिनीहरूले भनेका कुरा गर र मान” (मत्ती २३:२,३)। धर्मशास्‍त्रका यस्ता विद्वान् शिक्षकहरूबाट कसरी कुनै कुरा बेठीक हुन सक्दछ? गालीलको साधारण मछुवाहरूको विचारमा शायद फरिसीहरू सर्वज्ञाता थिए। पछि गएर तिनीहरूले निश्‍चय नै आफना विचार परिवर्तन गरेका थिए।

उत्तर

निकोदेमस, सामरी स्‍त्री, यहूदीहरू, उहाँका आमा बुवा, यहाँसम्म कि उहाँका चेलाहरू कसैले पनि येशूले भन्‍नुएका कुराहरू बुझ्न सकिरहेका थिएनन्। यो कुरा येशूलाई थाहा थियो, यसको सँगै उहाँलाई यो पनि थाहा थियो कि यस समस्याको कुनै मानवीय समाधान थिएन, तर ईश्‍वरीय समाधानहरू थिए: नयाँ जन्म र पवित्र आत्मा! उहाँले यस संसारमा आफ्नो जीवनको अन्तिम साँझ पवित्र आत्माको आगमन सम्बन्धमा आफ्नो चेलाहरूसँग कुरा गर्दै बिताउनु भयो। “मैले तिमीहरूलाई भन्‍ने कुरा अझ धेरै छन्‌, तर अहिले तिमीहरू ती कुरा सहन सक्‍दैनौ। जब उहाँ, अर्थात्‌ सत्‍यका आत्‍मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्‍यतामा डोर्‍याउनुहुनेछ। उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन। उहाँले जे सुन्‍नुहुन्‍छ, त्‍यही बोल्‍नुहुनेछ, र हुन आउने कुराहरू तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ। उहाँले मेरो महिमा गर्नुहुनेछ, किनभने जे मेरो हो, त्‍यो मबाट लिएर तिमीहरूलाई सो घोषणा गरिदिनुहुनेछ। जे-जति पितासँग छन्‌, ती मेरा हुन्‌। यसैकारण मैले भनेँ, जे मेरो हो त्‍यो मबाट लिएर आत्‍माले तिमीहरूलाई घोषणा गरिदिनुहुनेछ” (यूहन्ना १६:१२-१५)।

चेलाहरूले येशूले भन्‍नुभएका कुराहरू अन्तमा बूझे त? होइन, अझ बुझेनन्। उनीहरूले स्पष्टरूपमा पवित्र आत्माको विषयमा बुझ्न सकेनन्, किनभने त्यतिबेला पवित्र आत्मा अझ आउनु भएको थिएन!

चेलाहरूमा वास्तविक परिवर्तन पेन्तिकोसको दिन आरम्भ भयो। त्यस पश्‍चात् उनीहरूले स्वर्गको राज्य देख्‍न र त्यसमा प्रवेश गर्न सक्थे। उनीहरूले जीवनको रोटी खान सक्थे। उनीहरूले पुत्रत्वको आत्मा पाएका थिए, जसद्वारा उनीहरूले परमेश्‍वरलाई पिताको रूपमा जान्न सक्थे र येशूले जस्तै उहाँलाई अब्बा भनी बोलाउन सक्थे। अहिले उनीहरूको आँखा खोलिएको थियो र उनीहरूले आत्मिक अवस्थाका सबै कुरा देख्‍न सक्थे जो पहिले उनीहरूबाट लुकेका थिए। आखिरमा आएर येशूले भन्‍नुभएका सबै कुराहरू उनीहरूले बुझ्न थालेका थिए। निश्‍चय पनि उनीहरूले एकले अर्कालाई यसो भनिरहेका थिए, “ए! उहाँले यो पो भन्‍नुभएको रहेछ” र “उहाँले भन्नुभएको त्यस कुराको अर्थ यस्तो पो हुँदो रहेछ”।

“तर यसो लेखिएको छ, ‘आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका, यी नै कुरा परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका निम्‍ति तयार पार्नुभएको छ।’ परमेश्‍वरले हाम्रा निम्‍ति पवित्र आत्‍माद्वारा त्‍यो प्रकट गर्नुभएको छ। किनकि पवित्र आत्‍माले प्रत्‍येक कुरा खोज्‍नुहुन्‍छ, परमेश्‍वरका गहिरा-गहिरा कुराहरू पनि खोजी गर्नुहुन्‍छ” (१कोरि २:९,१०)।

वर्तमान अवस्था कस्तो छ?

२००० वर्ष बितिसक्दा अहिलेको अवस्था कस्तो छ? येशूले भन्नुभएका कुराहरू के हामी सबैले अहिले बुझ्छौँ? के शताब्दियौँदेखि स्थापित थियोलोजिकल सेमिनरी, बाइबल कलेजहरू, गहन अध्ययन र अन्वेषणले सबै कुरा स्पष्ट गरिदिएका छन्? अनगन्ती सम्प्रदायहरू र ख्रीष्टीयन समुदायका विभिन्न प्रकारका शिक्षाहरू यस कुराको पर्याप्‍त प्रमाण हुन् कि स्थितिमा केही परिवर्तन भएको छैन। “उहांले भन्नुभएका कुराहरू तिनीहरूले बुझेनन्” आज पनि आफूलाई इसाई भन्ने धेरै व्यक्तिहरूको अवस्था यस्तै छ।

बुनियादी अवस्था आज पनि उस्तै छ जस्तो येशू आफ्ना चेलाहरूसँग यस पृथ्वीमा हुँदा थियो। पावलको यो भनाइ, “जो मानिस आत्‍मिक छैन, त्‍यसले परमेश्‍वरका आत्‍माका कुराहरू ग्रहण गर्दैन”, आज पनि त्यतिकै सत्य छ जति उनले लेख्दाखेरि थियो। स्वभावैले आत्मिक सत्यताको लागि मानिस अन्धो हुन्छ, र उसको आँखा नखोलुञ्‍जेल प्राय: उस्ले देख्‍नै सक्दैन। अथवा येशूकै शब्दमा भन्ने हो भने, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही नयाँ गरी जन्‍मेन भने उसले परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।”

आजको अवस्थामा यति मात्र भिन्नता छ कि येशूका शब्दहरूसँग मानिस परिचित भैसकेका छन्। हरेक पास्टर, डिकन, बाइबल शिक्षक र धर्मशास्त्रको विद्वान्‌हरूलाई थाहा छ कि येशूले निकोदेमसलाई नयाँ जन्म लिनु पर्छ भन्ने कुरा बताउनु भएको छ, तर अधिकांश पास्टर, डिकन, बाइबल शिक्षक र धर्मशास्त्रको विद्वान्‌हरूले नयाँ जन्म पाएका छैनन्! धर्मका सबै विशेषज्ञहरूलाई थाहउ छ कि पेन्तिकोसको दिन पवित्र आत्मा येशूका चेलाहरू माथि ओर्लनुभएको थियो, तर तिनीहरूमध्ये कसैले पनि आफ्नो जीवनमा पवित्र आत्माको भरपूरी र येशूले भन्नुभएका कुराहरूको अर्थ खोल्ने उहाँको शक्ति अनुभव गर्न सकेका छैनन्।

यस्ता व्यक्तिहरू जसले नयाँ जन्म पाएका छन् र पवित्र आत्माको अभिषिक्त गर्ने शक्ति अनुभव गरेका छन्, यिनीहरूले मात्र येशूले बोल्नुभएका वचनहरू बुझ्ने अवस्थामा हुन्छन्। अरूहरूले बुझ्दैनन्। उनीहरू अन्जान अवस्थामा नै रही रहन्छन्। चुप रही रहग नसक्‍ने हुनाले यस्ताहरूले येशूले भन्नुभएका कुराहरूको अर्कै व्याख्या प्रस्तुत गर्छन्। स्वर्गीय सत्यताप्रति अनभिज्ञ रहेका कारण उनीहरूले त्यसको स्थानमा सांसारिक कुरा स्थापित गर्नेछन्।

हमीले अघि विचार गरेकै विषयहरू फेरि हेर्नेछौँ र केही कुराहरू जान्ने प्रयास गर्नेछौँ।

नयाँ जन्म

शताब्दियौँदेखि धेरैले नयाँ जन्मको अनुभव गरेर कम से कम परमेश्वरको राज्य त देख्‍न थालेका छन्। अरूहरू, धमरशास्त्रका विद्वान् र धार्मिक अगुवासमेत यस विषयमा येशूले भन्नुभएका कुरासँग पूर्णरूपले परिचित छन् तर नयाँ जन्मको कुनै अनुभव पाएका छैनन्। उनीहरूले निकोदेमसजस्तै ती शब्दहरूलाई अक्षरश: लिने भूल गर्दैनन् बरु त्यसको अरू कुनै वैकल्पिक सांसारिक अर्थ खोज्ने प्रयास गर्छन्।

अधिकांश व्यक्तिहरूको विश्वास छ कि बप्तिस्मा लिने बेला नयाँ जन्म आफै हुन्छ, र आफ्नो बच्चाहरूको बप्तिस्माको लागि हतार गर्छन्। म आफै एक महीनाको हुँदा मेरो सहमतिबिना बलजफती मेरो बप्तिस्मा भएको थियो, तर १८ वर्षको उमेरमा मात्र मैले नयाँ जन्म पाएको थिएँ। शायद लाखौँ करोड़ौँ व्यक्तिहरूको जन्मिनासाथ बप्तिस्मा भएको छ, हिटलर र मुगाबेको समेत। तिनीहरूको नयाँ जन्म भएको छ भनेर विश्वास गर्न अत्यन्त कठिन छ!

अरूहरूको विश्वास छ कि नयाँ जन्म पाउने भनेको धार्मिक कृया लापमा सहभागी हुने वा मण्डली परिवर्तन गर्ने हो। प्रेरित पावलको जीवनमा बाहिरी परीवर्तन भएको यिनीहरुले जानेका छन्, जब उनले विश्‍वासीहरूलाई सताउन छोड़ेर येशूलाई पछ्याउन थाले, तर त्यो पूर्ण परिवर्तन बुझ्न सक्दैनन् जो पावलको भित्री जीवनमा भएको थियो।

शारीरिक जन्म लिएर एउटा बच्चा यस संसारमा आउँछ र तुरुन्तै आफ्नो वरिपरिका कुराहरू देख्‍न थाल्छ। आरम्भमा ऊ बोल्न सक्दैन र जे देख्छ, त्यस विषयमा कमै बुझ्छ। उसले सिक्‍ने कुराहरू असिमित छन् र यो प्रक्रिया धेरै वर्षसम्म चल्छ, तर ठीक समयमा उसले बाल्यकालमा देखेको र कल्पना गरेकोभन्दा पनि धेरै कुराहरू सिकी सकेको हुन्छ।

वास्तवमा कुनै व्यक्तिले नयाँ जन्म पाउँदा यस्तै हुन्छ। उसले आत्मिक संसारमा जन्म लिएको हुन्छ र आत्माका कुराहरू देख्‍न थाल्छ। यदि उसले ठीक भोजन पायो भने आत्मिक समझमा बढ़्दै जान्छ, र येशूले भन्नुभएका कुराहरू र त्योभन्दा पनि बढ़ी, धर्मशास्त्र र अरूकुराहरू पनि बुझ्ने क्षमता उसमा हुन्छ।

आत्मिक भोजन

हरेक धार्मिक अगुवा र वास्तवमा संगतिमा जाने हरेक व्यक्तिले येशूले “मेरो मासु खाने कुरा हो”“मेरो रगत पिउने कुरा हो”, भन्नुभएको कुरा सुनेका छन्, तर ती व्यक्तिहरू मात्र जसले नयाँ जन्म पाएका छन् र आत्मिक भोजन लिने गरेका छन्, यस भनाइको असली अर्थ बुझ्न सक्‍ने अवस्थामा हुनेछन्। अरू व्यक्ति जसको यस्तो अनुभव छैन, उनीहरूले यसको अर्थ “प्रभु भोज” या यस्तै अरू कुनै अर्थमा लिने छन्। धेरै जनाले यस्तो विश्वास गर्छन् कि अद्भूत रीतिले रोटी र दाखमद्य येशूको शरीर र रगतमा परिणत भइहाल्छन्। अरूले शिक्षा पाएका छन् कि बाइबल उनीहरूको आत्मिक भोजन हो। यो कुरा ठीकै हो र सीमीतरूपमा यो सत्य पनि हो, तर येशुले भन्नुभएको कुरा यो होइन। उहाँले यस्तो भन्नुभएन, “बाइबल जीवनको रोटी हो”। उहाँले भन्नुभयो, “जीवनको रोटी म नै हुँ”। उहाँले यस्तो भन्नुभएन, “जबसम्म तिमीहरूले बाइबल पढ़्दैनौ, तिमीहरू आफैमा जीवन हुँदैन”। उहाँले भन्नुभयो, “तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन।”

बाइबल परमेश्वरबाट मानिसले पाएको एउटा बहुमूल्य उपहार हो, ठूलो आशिषको स्रोत पनि, तर यसलाई हामीले येशूको स्थानमा राखेर आफ्नो आत्मिक भोजन भन्नु भएन। (यस विषयमा थप जानकारीको लागि धर्मशास्त्र र परमेश्वरको वचन हेर्नुहोला।)

उहांको मासु खानु र उहांको रगत पिउनुको अर्थ के हो त? पवित्र आत्माले मात्र सिकाउन सक्नुहुन्छ।

मेरो पिताको घर

आज धेरै जनाले परमेश्वरको पितृत्वको विषयमा मानसिक ज्ञान पाएका छन्। परमेश्वरको विषयमा एउटा मानसिक अवधारणा कि उहाँ शारीरिक पिताजस्तै हुनुहुन्छ जसले आफ्नो सन्तानलाई प्रेम गर्नुहुन्छ र सबै आवश्यकता पूरा गरिदिनु हुन्छ, बुझ्न सजिलो छ। तर परमेश्वरको पितृत्व अनुभव गर्नु, यस विषयको शिक्षा मात्र पाउनुभन्दा धेरै असल कुरा हो। अनुभवले मात्र हाम्रो भित्री आवश्यकतालाई तृप्त गर्न सक्छ। हामी कसरी यस्तो अनुभव पाउन सक्छौँ? नयाँ जन्म पाएर।

तर परमेश्वरको भवन कहाँ छ? ७० ईस्वीमा रोमीहरूले मन्दिर ध्वस्त पार्दा के उहाँ घरवारविहिन हुनुभएको थियो? यसले केही पनि समस्या भएन। संसारमा अनगिनत कैथेड्रलहरू, गिर्जाघरहरू र प्रार्थना स्थलहरू छन्, त्यसले पनि नभए मन्दिर र मश्जिदहरू छन्, यदि उहाँले यस्ता स्थानहरूमा बस्न रुचाउने हो भने। र लाखौं मानिसको यस्तै विश्वास छ। पवित्र आत्माले भरिएका व्यक्तिहरूलाई थाहउ छ, उहाँ यस्तो स्थानहरूमा बस्‍नुहुन्न। सबभन्दा आश्चर्यको कुरो के भने उहाँले त हामीभित्र वास गर्न चाहनु हुन्छ।

फरिसीहरूको खमीर

बाइबलमा उल्लिखित फरिसीहरू आफ्ना शिक्षासहित धेरैअघि यस संसारबाट बिदा भैसकेका छन् तर उनका आधुनिक वंशज छँदैछन्।

मत्ती २३: १-३६ मा पूरै फरिसीहरूको मात्र वर्णन गरिएको छ। “धिक्‍कार, तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू”! यो वाक्यांश ८ पटक दोहोर्‍याइएको छ। येशूले तत्कालिन बाइबलका शिक्षकहरूलाई यस प्रकारले अवमानना गर्नुभएको सुनेर चेलाहरू चकित भए होलान्। बाइबलका यी विद्वान्‍हरू कसरी भूल गर्न सक्थे? यी व्यकतिहरू मोशाको स्थानमा बस्थे, लामो लामो लच्छेदार प्रार्थना गर्थे, सबै चिजको दशांस दिन्थे, व्यवस्थाका झिना मसिना कुरा पनि जान्दथे र एक जनाको धर्म परिवर्तन गराउन आकाश पाताल एक गरी दिन्थे। तैपनि यीनै हुन् जसले येशूलाई क्रूसमा चढ़ाउन हल्ला गर्दै मांग गरेका थिए। ।

आधुनिक फरिसीहरूमा पनि यस्तै आत्मा छ। बाहिरीरूपमा उनीहरूले दिनेगरेको हरेक शिक्षा ठीक हुन्छ, तर उनीहरूमा भित्री वास्तविकताको नितान्त अभाव हुन्छ। यस्ता व्यक्तिहरू जो पवित्र आत्माबाट सिकाइएका हुन्छन् र परमेश्वरसँग भित्री वास्तविकताको अनुभव प्राप्त गरेका छन्, यिनीहरूले मात्र यस कमीको एहसास गर्न सक्छन्। उनीहरूले बुझ्छन् यस्तो शिक्षाले उनीहरूलाई मानसिकरूपमा सन्तुष्टि दिन सक्छ, तर आत्मिक भोजनको रूपमा केही पनि दिँदैन, र यिनीहरूले येशूले दिनुभएको चेताउनी बुझ्न सक्छन्। अरूहरू अन्धा अगुवालाई पछ्याउने अन्धाहरूजस्तै हुन्छन् र यसै गलतफहमीमा रहन्छन् कि उनीहरूसँग मात्र सत्यता छ।

थप गलतफहमीहरू

के येशूले अरू कुराहरू पनि गर्नु भएको छ, जो हामीले बुझेका छैनौं?

यस पृथ्वीमा उहाँको आखिरी रात, आफ्ना चेलाहरूलाई उहाँले यी शब्दहरूद्वारा सान्त्वना दिनुभएको थियो, “तिमीहरूको हृदय व्‍याकुल नहोस्‌”“म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्‍यहाँ तिमीहरू पनि हुनेछौ” (यूहन्ना १४:१,३)। उहाँले व्यक्तिगत, शारीरिकरूपमा आउने कुरा गर्नुभएको हो र? प्रथम मण्डलीले उहाँको शारीरिक आगमनको आशा गरेको थियो र त्यसपछिका अधिकांश आधुनिक विश्वासीहरूले पनि यस्तै आशा गरीरहेका छन्। तर एक मिनट्! उहाँले आफ्ना चेलाहरूलाई यी शब्दहरूद्वारा सान्त्वना दिनुभएको थियो कि उहाँ जानु हुन्छ र फर्कि आउनु हुन्छ र आफूसँग रहनलाई चेलाहरूलाई लिएर जानु हुन्छ, त्यसपछि २००० वर्ष बिती सके तर उहाँले अझ पनि यो काम पुरा गर्नुभएको छैन, कमसेकम शारीरिक रूपमा त पकै। यसलाई म त प्रतिज्ञा पूरा गरेको भन्दैन। तर यूहन्ना १४ अध्यायको अरूपनि केही पदहरू पढ़ौँ। म तिमीहरूलाई अनाथ जस्तो छोड़दैन, म फेरि आउँछु (१८)। “मेरा पिताले त्‍यसलाई प्रेम गर्नुहुनेछ, र हामी त्‍यसकहाँ आउनेछौं, र त्‍यससँग वास गर्नेछौं” (२३)। बिदाइको वचनको बाँकी भाग पवित्र अत्माको आगमनको विषयमा केन्द्रित छ – शान्तिदाताको। येशूले अफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ, पेन्तिकोसको दिन पवित्र आत्माको रूपमा फेरि आउनु भएर, र उनका चेलाहरूले आश्चर्यजनकरूपमा सान्त्वना पाएका थिए। उनीहरूको हृदय अब व्याकुल थिएन। ( थप जानकारीको लागि प्रभुको आगमन पढ़नु होला)

येशूले भन्नुभयो, “विश्‍वास गर्ने र बप्‍तिस्‍मा लिनेले उद्धार पाउनेछ, तर विश्‍वास नगर्ने दोषी ठहरिनेछ” (मर्कूस १६:१६)। तर कस्तो बप्‍तिस्‍मा? पानीले कि पवित्र आत्माले? अधिकांशले सधैँ पानीको बप्‍तिस्‍मा नै मानी लिएका छन्, तर यसको यो कारण पनि हुन सक्छ कि मण्डलीले पानीको बप्‍तिस्‍माको विषयमा धेरै र पवित्र आत्माको बप्‍तिस्‍माको विषयमा थोरै जानेको छ। येशूले क्रूसमा चढ़ाइएको उहाँको छेउको चोरलाई भन्नुभयो, ‘तिमी आजै मसँग स्वर्गलोकमा हुनेछौ’, तर निश्चय नै उसले पानीको बप्‍तिस्‍मा लिएको थिएन। पानीको बप्‍तिस्‍माको आफ्नै महत्व छ तर यो पवित्र आत्माको बप्‍तिस्‍माको विकल्प हैन। रोमी ६:१-४ मा बप्‍तिस्‍माको विषयमा लेखिएको छ, र धेरैले यसलाई पानीको बप्‍तिस्‍माको रूपमा मात्र लिन्छन् तर पवित्र आत्माले मात्र त्यस अध्यायमा उल्लिखित आशिषहरू ल्याउन सक्नुहुन्छ।(यस विषयमा पनि मेरो लेख Baptism - Shadows and Substance हेर्न सक्नुहुन्छ।)

अझ कति धेरै कुरा छन् जो येशूले भन्नुभएको थियो र हामीले बुझ्न सकेका छैनौँ? मलाई लाग्छ, यस्ता धेरै कुराहरू छन्।

सारांश

येशू यस संसारमा हुँदा, उहाँले परमेश्वरको राज्यको विषयमा भन्नुभएको र शिक्षा दिनु भएको थियो। पटक पटक उहाँका श्रोताहरूले उहाँका कुराहरू बुझेनन्। यसका दूई महत्वपूर्ण कारणहरू छन्: प्रथम, उनीहरूको नयाँ जन्म भएको थिएन र परमेश्वरको राज्य देख्न सकेनन्, दोश्रो, उनीहरूलाई पूर्ण सत्यतामा डोर्‍याउनका लागि पवित्र आत्माको आगमन भएको थिएन। यी सबै कुरा पेन्तिकोसको दिनदेखि परीवर्तन हुन लागे। येशूले सिकाउनु भएका कुराहरू उनका चेलाहरूले बुझ्न मात्र आरम्भ गरेनन्, उनीहरूले धर्मशास्त्रको पुरानो नियम पनि नयाँ प्रकारले बुझ्ने समझ पाए।

त्यस पछि लाखौं व्यक्तिले येशूका शब्दहरू र धर्मशास्त्रका अरू कुराहरू पढ़ेका र सुनेका छन्। निर्विवाद रूपमा कतिले नयाँ जन्म पाएका छन, र परमेश्वरको राज्य देखेका छन् र सुनेका र पढ़ेका कुराहरू बुझेका छन्। अन्य कति व्यक्ति अन्धकारमा नै रही रहेका छन्। धेरै, शायद लाखौंले आफूले पढ़ेका कुराहरू अरूलाई सिकाएका छन्। कतिले बुझेका छन् र आफ्ना श्रोताहरूलाई आशिष् र समझ ल्याएका छन्। अरूहरू अन्धाहरूको लागि अन्धा अगुवा बनेका छन्। स्वर्गीय सत्यता बुझ्न सक्षम नभएर त्यसको स्थानमा सांसारिक कुराहरू सिकाएका छन्। उनीहरूले आत्मिक वास्तविकताको स्थानमा शारीरिक विकल्प स्थापित गरेका छन्। नयाँ जन्मको ठाउं बप्‍तिस्‍माले लिन्छ, आत्मिक भोजनको स्थान रोटी र दाखमद्यले लिन्छ, परमेश्वरको घर मण्डली भवनले लिन्छ र अरू पनि धेरै कुरालाई ईश्वरीय स्तरबाट झारेर मानवीय स्तरमा ल्याइन्छ।

हामीले पवित्र आत्माद्वारा नयाँ जन्म पाएर मात्र येशूका कुराहरू र धर्मशास्त्रका अन्य भाग बुझ्न सक्छौं र त्यस पछि पवित्र आत्माले हामीलाई क्रमिक रूपमा सत्यतामा डोर्‍याउनु हुन्छ। पावलले कोरिन्थीहरूलाई लेखेका छन्, “तर यसो लेखिएको छ, ‘आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका, यी नै कुरा परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका निम्‍ति तयार पार्नुभएको छ।’ परमेश्‍वरले हाम्रा निम्‍ति पवित्र आत्‍माद्वारा त्‍यो प्रकट गर्नुभएको छ। किनकि पवित्र आत्‍माले प्रत्‍येक कुरा खोज्‍नुहुन्‍छ, परमेश्‍वरका गहिरा-गहिरा कुराहरू पनि खोजी गर्नुहुन्‍छ” (१कोरि २:९,१०)। र एफिसीहरूको लागि उनले प्रार्थना गरेका छन् “म प्रार्थना गरिरहन्‍छु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा बुद्धि र प्रकाशको आत्‍मा देऊन्‌। म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरूको हृदयका आँखा उज्‍यालो होस्‌, र कुन आशाको निम्‍ति उहाँले तिमीहरूलाई बोलाउनुभएको छ, र सन्‍तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्‍पत्ति के हो, सो तिमीहरूले जान्‍न सक” (एफिसी १: १७-१८)। उनलाई थाहा थियो कि उनले लेखेका कुराहरू या अन्य कुनै पनि आत्मिक सत्यता बझ्नको लागि एफिसीहरूको निम्ति अरू कुनै उपाय थिएन। आउनुहोस् हामी आफ्नो लागि पनि यही प्रार्थना गरौँ।

यो पुस्‍तकलाई रंगिन [Color] छाप्‍ने फाइल

यो पुस्‍तकलाई श्‍याम-स्‍वेत [Black & White] छाप्‍ने फाइल

कसरी छाप्ने