सत्‍य र झुठ

“सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्नुहुन्‍छ ‘म बेबिलोनको राजा नबुकदनेसरलेपरमप्रभुको भवनका जति मालसामानहरू यस ठाउँबाट बेबिलोनमा लगेको थियो, ती सबै दुई वर्ष भित्रैमा म फेरि यस ठाउँमा फर्काइल्‍याउनेछु। अनि यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाबाट लगिएका सबै निर्वासित भएकाहरूलाई म फेरि यस ठाउँमा फर्काएर ल्‍याउनेछु,’ परमप्रभु भन्नुहुन्‍छ, ‘किनभने म बेबिलोनकाराजाको जुवा भाँचिदिनेछु’ ।”

यो अगमवाणी दिने अगमवक्ता को थिए ? के उनी यशैया वा यर्मिया वा इजकिएल थिए ? वा अरू कुनै अगमवक्ता थिए ? र यो कहिले पुरा भयो ? के तपाईंलाई यस विषयमा बाइबलको बारे राम्रो थाहा छ ?

वास्‍तवमा यो भन्ने हननियाह भनिने झुटो अगमवक्ता थियो जसको बारेमा यर्मिया २८:२-४ मा उल्लेख गरिएको छ।

सबैले बाइबल राम्ररी जान्नुपर्छ भनी म ठान्‍दिन तर कति अवस्‍थामा सही प्रसङ्ग थाहा नपाएर झुटो र साँचो अगमवाणी छुट्याउन सकिँदैन।

उक्त घटनाभन्‍दा १५० वर्ष अघि यशैयाले पनि यस्‍तै अगमवाणी गरेथे, “म अश्‍शूरीलाई मेरै देशमा नाश गर्नेछु, मेरो पर्वतहरूमा त्‍यसलाई पैतालाले कुल्‍चनेछु। त्‍यसको जुवा मेरा प्रजाबाट उतारि दिनेछु र त्‍यसको भारी तिनीहरूको काँधबाट हटाइ दिनेछु।” र शायद हननियाहले त्‍यसरी नै पढ़ेको हुनुपर्छ।

दुवैका विचार र शब्‍दहरू दुरुस्‍तै देखिए तापनि एउटा झुटो अगमवक्ताको झूटो अगमवाणी थियो भने अर्कोचाहिँ उहाँका मानिसहरूको निम्‍ति परमेश्‍वरको वचन थियो।

दुवै अवस्‍थाहरू उस्‍तै देखिन्‍थे। यशैयाको पालामा अश्‍शुरीहरूले यहूदा देशलाई आक्रमण गरी दबाएका थिए भने यर्मियाको पालामा बेबीलोनले पनि त्‍यस्‍तै काम गरेका थिए।

तर त्‍यहाँ ठूलो भिन्नता थियो। यशैयाको पालामा राजा हिजकिया र यहूदाका धेरै मानिसहरू परमेश्‍वरप्रति इमानदार थिए भने यर्मियाको पालामा तिनीहरू र तिनीहरूका राजा ज्‍यादै भ्रष्‍ट र पापी थिए।

यसकारण बेठीक मुखबाट बेठीक मानिसको निम्‍ति बेठीक समयमा ठीक वचन पनि बेठीक हुन्‍छ्। यसरी परमेश्‍वरको वचन शैतानको वचन बन्न पुग्‍छ।