चर्चको परम्परा, धर्मशास्‍त्र र इसाई इतिहासमा

त्रिएकको सिद्धान्त

परिचय

‘त्रिएक’ भन्‍ने शब्द अङ्ग्रेजी भाषाको Trinity को साधारण नेपाली अनुवाद हो। वास्तवमा Trinity को अर्थ तीन वटा कुराहरू अथवा तीन व्यक्तिहरूको समूह हो, तर प्राय: यो शब्द परमेश्‍वरको निम्ति प्रयोग गर्ने गरिन्छ। त्रिएकको सिद्धान्तले बताउँछ, कि परमेश्‍वर एक हुनु भए तापनि उहाँ तीन फरक व्यक्तिहरूमा प्रकट हुनुहुन्छ: पिता, पुत्र र पवित्र आत्मा। यो सिद्धान्तले प्राय: सबै परम्परागत इसाई सम्प्रदायहरूमा महत्वपूर्ण स्थान ओगटेको छ।

के यो सिद्धान्तले बाइबल र विशेष गरी नयाँ करारमा महत्वपूर्ण स्थान ओगटेको छ?

के यो सिद्धान्त मण्डली इतिहासभरि नै महत्वपूर्ण रहिआएको छ त?

चर्चको परम्परा

सन् ३२५ मा नाइसियाको परिषद्‌मा निर्माण गरिएको विश्‍वासको सार आजसम्मै इसाई सिद्धान्तको औपचारिक दस्तावेज रहिआएको छ। यसमा तीन वटा भागहरू छन्, जसको प्रत्येक भाग त्रिएक परमेश्‍वरको प्रत्येक व्यक्तिको निम्त लागु हुन्छ। त्यस बेलादेखि वर्तमान समयसम्मै त्रिएक परमेश्‍वरको सिद्धान्त मूलधारका सबै इसाई चर्चहरूको मुख्य सिद्धान्त रहिआएको छ।

हरेक परम्परागत रोमन क्याथोलिक चर्च अथवा एङ्लिकन चर्चले आराधना सेवामा घरी-घरी त्रिएक परमेश्‍वरको चर्चा गर्ने गर्छन्। हरेक सेवाको अन्तमा “पिता, पुत्र र पवित्र आत्माको महिमा होस्” भनेर भजन गाउने गरिन्छ। धेरै प्रचारकहरूले आफ्ना प्रवचनहरूको भूमिकामा “पिता, पुत्र र पवित्र आत्माको नाउँमा” भन्‍ने शब्दहरू प्रयोग गर्ने गर्छछन्। अधिकांश परम्परागत चर्चहरूमा यस्ता शब्दहरूद्वारा आशिर्वादको प्रार्थना गरेर सेवा अन्त गरिन्छ: “सर्वशक्तिमान् परमेश्‍वर पिता, पुत्र र पवित्र आत्माको आशिष्‌हरू तपाईंहरू सबैमा सदासर्वदा रहिरहोस्। आमेन। अन्य मण्डलीहरूमा चाहिँ अनुग्रहको प्रार्थना गर्ने गरिन्छ: “प्रभु येशू ख्रीष्‍टको अनुग्रह, परमेश्‍वरको प्रेम र पवित्र आत्‍माको सङ्गति तिमीहरू सबैसँग रहून्‌” (२ कोरिन्थी १३:१४)।

अधिकांश चर्चहरूमा बप्‍तिस्मा दिने बेलामा मत्ती २८:१९ मा उल्लेखित येशूको यी शब्दहरूलाई सूत्रको रूपमा प्रयोग गर्ने परम्परा बनिसकेको छ: “यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ।”

पश्‍चिमी मुलुकहरूमा “Trinity Church” अथवा “Holy Trinity Church” नाउँ भएका थुप्रै चर्चहरू छन्।

अधिकांश इसाई सम्प्रदायहरूमा त्रिएक परमेश्‍वरमा विश्‍वास गर्नु भनेको विश्‍वासको बलियो प्रमाण हो। त्रिएक परमेश्‍वरमा विश्‍वास गर्ने सबै सम्प्रदायहरूलाई रूढिवादी चर्चको रूपमा हेरिन्छ। यसको मतलब रोमन क्याथोलिक, ग्रीक अर्थोडक्स, रसियन अर्थोडक्स, एङ्लिकन, मेथोडिस्ट, बप्तिस, प्रेसबेटेरियन, अनि धेरैजसो पेन्टिकोस्टल समूहहरू र अरू थुप्रै सम्प्रदायहरू यसअन्तर्गत पर्दछन्।

त्रिएक परमेश्‍वर अथवा येशूको ईश्‍वरत्वमा विश्‍वास नगर्ने समूहरू; जस्तै: यहोवाको साक्षीहरू, मर्मनहरू, ख्रीष्टाडेल्फियाहरूजस्ता इसाईहरूलाई झूटो इसाई समूहको रूपमा हेर्ने गरिन्छ।

परम्परागत चर्चले त्रिएक परमेश्‍वरको सिद्धान्तमा निकै जोर दिएको हामी देख्दछौँ। के यो शिक्षा धर्मशास्‍त्रमा आधारित छ भनी हामी अपेक्षा गर्दछौ त? अथवा यो मुख्यगरी चर्चको परम्परामा मात्र आधारित हो कि?

यसको उत्तर पत्ता लगाउन हामी बाइबलतिर फर्कनै पर्छ।

धर्मशास्‍त्र

त्रिएक (Trinity) भन्‍ने शब्द

त्रिएक भन्‍ने शब्द बाइबलमा कति पटक उल्लेख गरिएको छ? एक पटक पनि छैन। उत्पत्तिदेखि प्रकाशको पुस्तकसम्म हेर्दा हामी यो शब्द कतै भेट्टाउँदैनौँ। वास्तवमा अङ्ग्रेजी भाषाको Trinity सँग मेल खाने शब्द हिब्रू अथवा ग्रीक भाषामा छैन।

सङ्ख्या तीन (३) ले कहिल्यै अनि कुनै पनि हालतमा परमेश्‍वरसँग सम्बन्ध राख्दैन, बरु त्यसको विपरीत व्यवस्था ६:४ मा हामी यसरी पढ्छौँ: “हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्‍वर एउटै परमप्रभु हुनुहुन्‍छ।” यो महत्वपूर्ण पदलाई हरेक यहूदीले जान्दछ। येशूले स्पष्टसँग यसो भन्‍नुभयो, “म र पिता एक हौँ” (यूहन्‍ना १०:३०)। “म र पिता दुई फरक व्यक्तिहरू हौँ” भनी येशूले कहिल्यै भन्‍नुभएन।

नयाँ करारले येशूको नाउँलाई निकै जोर दिँदछ तर त्यसले पिता, पुत्र र पवित्र आत्मालाई त्यति जोर दिँदैन। येशूले सुसमाचारको पुस्तकहरूमा ‘मेरो नाउँमा’ भन्‍ने वाक्यांश २० पटकभन्दा बढी प्रयोग गर्नुहुन्छ; जस्तै: मत्ती १८:२०, मत्ती १८:५, मत्ती २४:९, मर्कूस १६:१७, यूहन्‍ना १४:१३, यूहन्‍ना १४:२६, यूहन्‍ना १६:२३ आदि। त्यसैगरी ‘येशूको नाउँ’ भन्‍ने वाक्यांश प्रेरितको पुस्तकमा १० पटक उल्लेख गरिएको छ ( प्रेरित २:३८, प्रेरित ३:६, प्रेरित ४:१८, प्रेरित ८:१२, प्रेरित १६:१८, प्रेरित २६:९ हेर्नुहोस्)।

पावलले कलस्सीहरूलाई यसरी लेखे, “कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्‍वर पितालाई धन्‍यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर” (कलस्सी ३:१७)। उहाँले “हरेक कुरा पिता, पुत्र र पवित्र आत्माको नाउँमा गर” भनेर तिनीहरूलाई भन्‍नु भएन।

त्रिएक परमेश्‍वरको सन्दर्भमा स्पष्टसँग बताउने पद भनेको मत्ती २८:१८-१९ हो: “तब येशू तिनीहरूकहाँ आएर भन्‍नुभयो, “स्‍वर्ग र पृथ्‍वीमा समस्‍त अधिकार मलाई दिइएको छ। यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्‍माको नाउँमा तिनीहरूलाई बप्‍तिस्‍मा देओ”।

मण्डली इतिहासकार युसिबियस (सन् २६३-३३९) ले यस खण्डको फरक किसिमले टिप्पणी गर्दछन्। उनको अनुसार, “जाओ, र मेरो नाउँमा सबै जातिका मानिसहरूलाई चेला बनाओ” भनी येशूले बोल्नुभएका शब्दहरू निकै तर्कसङ्गत छन्। त्यसपछि, “सारा अधिकार मलाई दिइएको छ ... मेरो नाउँमा बप्‍तिस्दा देओ” भन्‍ने वाक्यले ठिक अर्थ दिन्छ; तर “पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्‍तिस्मा देओ” भन्‍ने वाक्य त्यति ठिक देखिँदैन। मत्तीले सुरुमा आफ्नो पुस्तक लेख्दा त्यस्तै लेखेका थिए, तर पछि त्रिएकको सिद्धान्तसँग मिलाउनको लागि यो पदलाई संसोधन गरिएको हुनसक्छ।

पावलले कलस्सीहरूलाई यसरी लेखे, “कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्‍वर पितालाई धन्‍यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर” (कलस्सी ३:१७)। उहाँले “हरेक कुरा पिता, पुत्रपवित्र आत्माको नाउँमा गर” भनेर तिनीहरूलाई भन्‍नु भएन।

“व्यक्ति” भन्‍ने शब्द

“व्यक्ति” भन्‍ने शब्द बाइबलमा कति पटक उल्लेख गरिएको छ? यसको उत्तर पनि त्रिएकको जस्तै छ: एक पटक पनि उल्लेख छैन! वास्तवमा भन्‍ने हो भने प्राचिन हिब्रू अनि ग्रीक भाषामा व्यक्ति भन्‍ने शब्द नै थिएन।

के पवित्र आत्मा परमेश्‍वर हुनुहुन्छ?

पुरानो करारले पवित्र आत्माको उल्लेख निकै कम मात्रामा गर्दछ, तर त्यहाँ ‘परमेश्‍वरको आत्मा’ भनेर घरी-घरी चर्चा गरिएको हामी देख्छौँ। नयाँ करारमा ८९ पटक पवित्र आत्मा (Holy Spirit, πνευμα ἁγιον) भनी उल्लेख गरिएको छ, जसमध्ये प्रेरितको पुस्तकमा मात्र ४० पटक त्यसलाई उल्लेख गरिएको छ। मलाई लाग्छ, कि अधिकांश मानिसहरू पवित्र आत्मा र परमेश्‍वरको आत्मा भनेको एउटै हो भन्‍ने कुरामा सहमत हुन्छन्।

साधारणतया परमेश्‍वर र उहाँको आत्मा दुई फरक व्यक्तिहरू हुनुहुन्छ भनी कसैले पनि कल्पना गर्दैन। म र मेरो आत्मा दुई फरक व्यक्ति हुनै सक्दैन किनभने वास्तवमा ती दुबै स्वयम् म नै हुँ। तपाईं, तपाईंको आत्मा, तपाईंको समझ र तपाईंको शरीर मिलेर तपाईंलाई एक पूर्ण व्यक्ति बनाउँछ। के परमेश्‍वर र उहाँको आत्मा फरक-फरक व्यक्तिहरू हुनुहुन्छ त? तपाईं यसबारे के विचार गर्नुहुन्छ? आत्मालाई हिब्रू भाषामा रुवाख् (רוּחַ ruach) र ग्रीक भाषामा प्नेउमा (πνευμα) भनिन्छ अनि यी दुबैले शाब्दिकरूपमा ‘हावा’ अथवा ‘सास’ भन्‍ने अर्थ दिन्छ। परमेश्‍वरको आत्मा अथवा सास के साँच्‍चै परमेश्‍वरभन्दा फरक व्यक्ति हुनुहुन्छ त? यस्तो कुराको सङ्केत बाइबलमा कतै उल्लेख गरिएको छैन।

के येशू परमेश्‍वर हुनुहुन्छ?

नयाँ करारले येशूको नाउँ लगभग १००० पटक उल्लेख गर्दछ, तर त्यसले कति पटक येशू परमेश्‍वर हुनुहुन्छ भनी बताउँछ त? नयाँ करारको लेखकहरूले येशूको बारेमा अद्‍भूत विवरणहरू दिन्छन्, तर कसैले पनि उहाँ परमेश्‍वर हुनुहुन्छ भनी बताउँदैन।

माथिका सबै पदहरूले येशू परमेश्‍वर हुनुहुन्छ भनी बताउन सक्थे; तर कुनै पनि पदले त्यसरी बताउँदैन। नयाँ करारको अरू खण्डहरूले येशूको बारेमा सुन्दर अनि अद्‍भूत कुराहरू हामीलाई बताउँछ; तर तीमध्ये कुनैले पनि उहाँ परमेश्‍वर हुनुहुन्छ भनी बताउँदैन। तसर्थ, येशू परमेश्‍वर हुनुहुन्छ भन्‍ने शिक्षा केवल चर्चको हो, तर बाइबलको होइन भनी पुष्टि हुन जान्छ।

आफ्नो पहिचानको बारेमा स्वयम् येशूले के भन्‍नुभयो त? उहाँले चेलाहरूलाई सोध्‍नुभयो, “तिमीहरू के भन्छौ, म को हुँ?” पत्रुसले यसरी जवाफ दिए, “तपाईं ख्रीष्‍ट हुनुहुन्‍छ, जीवित परमेश्‍वरको पुत्र (मत्ती १६:१६)। पत्रुसको जवाफप्रति येशूले आफ्नो पूर्ण सहमति जनाउँदै भन्‍नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्‍य हौ। किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्‍वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो” (मत्ती १६:१७)। किन पत्रुसले “तपाईं ख्रीष्ट, जीवित परमेश्‍वर हुनुहुन्छ” भनी भनेनन् त? यसले यो कुरा स्पष्ट हुन्छ, कि चर्चले हामीलाई येशू परमेश्‍वर हुनुहुन्छ भनी बताउँछ, तर बाइबल अनि स्वयम् येशूले आफ्नो बारेमा त्यस्तो कुरा भन्‍नुहुन्‍न।

पूरै नयाँ नियममा हेर्ने हो भने एउटा पदले मात्र येशू परमेश्वर हुनुहुन्छ भनी हामीलाई स्पष्टसँग बताएको जस्तो देखिन्छ। मृत्युबाट बौरी उठ्नुभएपछि येशू बन्द गरिएको ढोकाबाट भित्र छिरेर थोमालाई आफ्नो छेडिएको हात र गोडा देखाउनुभयो, अनि अचम्भित हुँदै थोमा यसरी कराउँछन्, “मेरा प्रभु, मेरा परमेश्‍वर” (यूहन्‍ना २०:२८)। यो भनाइ येशूको स्वाभावको सैद्धान्तिक टिप्पणी थिएन, तर ख्रीष्टमा परमेश्‍वरसँग आमने-सामने हुन पाउँदा उसले गरेको आश्‍चर्यजनक शब्दहरूको अभिव्यक्ति थियो। त्यतिबेला उसले परमेश्‍वरलाई येशूमा देखे। यो एउटा विवरणको आधारमा येशू परमेश्‍वर हुनुहुन्छ भनी हामी अर्थ लगाउन सक्दैनौँ, किनभने येशूको बारेमा बाइबलको मूल सैद्धान्तिक शिक्षाले त्यस्तो कुरा बताउँदैन।

केही बाइबल खण्डहरू त्रिएकको सिद्धान्तको सन्दर्भमा अस्पष्ट छन् र त्यस्ता खण्डहरूलाई फरक-फरक अनुवादकहरूले फरक-फरक किसिमले अनुवाद गरेका छन्। अधिकांश बाइबल अनुवादकहरू त्रिएक परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिहरू भएकोले गर्दा, उनीहरूले त्यस्ता खण्डहरूलाई त्रिएकको परम्परासँग मिल्ने गरी अनुवाद गरेका छन।

म यो विषयमा अझ एउटा महत्वपूर्ण कुरा बताउन चाहन्छु: यदि येशू परमेश्‍वर हुनुहुन्छ अनि हामीचाहिँ केवल मरणशील मानिस मात्र हौँ भने, उहाँजस्तै हुन सक्‍ने आशा हामीमा निकै कम मात्र हुन्छ; तर यदि उहाँ परमेश्‍वरको पुत्र हुनुहुन्छ, र हामीचाहिँ नयाँ जन्मद्वारा परमेश्‍वरका छोरा-छोरी हौँ भने परिवर्तन भएर हामी उहाँजस्तै हुन सक्छौँ र उहाँले जस्तै गरी जिउन सक्छौँ भन्‍ने अद्‍भूत आशा हामीमा रहन्छ।

इतिहास

त्रिएकको सिद्धान्त नयाँ करारको समयमा सुरु भएको थिएन। आश्‍चर्यको कुरा के हो भने उक्त सिद्धान्त येशूको समयभन्दा पहिले नै सुरु भइसकेको थियो। सुमेरियन, बेबिलोनी, भारतीय, ग्रीक र मिश्रीहरूमा तीन वटा देवताहरूको सिद्धान्त पहिलेदेखि विद्यमान थियो! (यसको बारेमा विस्तृत जानकारी लिन Ancient Trinitarian Gods भन्‍ने वेबसाइट हेर्नुहोस्।) तिनीहरूका अधिकांश धर्महरूले तीन वटा देवताहरू एउटै हो भनी दाबी गर्छ।

बेबिलोनीहरूले पुज्‍ने तीन वटा देवताहरूको नाउँ निम्रोद, सेमिरामिस र तम्‍मुज हो, र तिनीहरू पिता, माता र पुत्र थिए। त्यसैगरी हिन्दु धर्ममा ब्रह्‍मा, विष्णु र शिव नाउँ गरेका तीन वटा मुख्य देवताहरू छन्। अरू प्राचिन धर्महरूमा पनि त्यस्तै खालको त्रिएकको सिद्धान्त विद्यमान थियो।

नयाँ करारमा न त येशूले त्रिएकको सिद्धान्त सिकाउनुभयो न उहाँका चेलाहरूले त्यस्तो कुरा सिकाए। हामीले यो कुरा हेरिसकेका छौँ, कि पुरानो र नयाँ करार दुवैमा उक्त सिद्धान्त उल्लेख गरिएको छैन।

त्रिएकको सिद्धान्त क्रमिकरूपले सम्राट कन्स्टान्टिनको समयसम्म फैलिँदैगयो। तिनले इसाई धर्म रोमी साम्राज्यको राष्ट्रिय धर्म हुनुपर्छ भनी घोषणा गरे, अनि त्यही समयदेखि चर्चले अन्यजातिहरूको चाडपर्वहरू, भवनहरू र धार्मिक अभ्यासहरूलाई अपनाउन थाल्यो। चर्चले त्यसबेला त्रिएकको सिद्धान्तलाई औपचारिकरूपमा अपनाउन थाल्नु के एउटा संयोग मात्र थियो त? त्यसपछि बिस्तारै त्यो कुरा चर्चको मुख्य सिद्धान्त हुनथाल्यो।

अरू धर्महरूमा पिता, पुत्र र माता देवताहरू थिए, तर चर्चले अपनाएको त्रिएकको सिद्धान्तमा पिता र पुत्रको स्थान थियो, तर माताको भूमिकासँग मिलाउन स्पष्ट विकल्प थिएन; त्यसैले त्यो भूमिका चर्चले पवित्र आत्मालाई दिएको हुनुपर्छ।

यहाँ हामीले एउटा महत्वपूर्ण प्रश्‍न सोध्‍नैपर्छ। के पेन्तिकोसको दिनदेखि कन्स्टान्टिनको समयसम्म अथवा वर्तमान समयसम्म अथवा त्यसबिचको कुनै बिन्दुसम्म चर्च सत्यको ज्ञानमा निरन्तर बढ्दै गयो? अथवा इतिहासको कुनै बिन्दुबाट चर्च अन्धकार र त्रुटिको ओह्रालोतिर झर्न थाल्यो? के त्रिएकको सिद्धान्त परमेश्‍वरबाट आएको शुद्ध सत्यता थियो? अथवा यो अन्यजातिहरूको मार्गतिर झर्ने अर्को खुड्किला थियो?

बाइबलको भाषालाई प्रयोग गर्दै भन्‍नुपर्दा, के त्रिएकको सिद्धान्त पवित्र आत्माले विश्‍वासीहरूलाई सबै सत्यतातिर डोर्‍याउनुहुनेछ (यूहन्‍ना १६:१३) भन्‍ने येशूको प्रतिज्ञाको पूर्णता हो? अथवा पावलले गरेका महान् धर्मत्यागको भविष्यवाणीको आंशिक पूर्णता हो (२ थेसलोनिके २:३)?

कन्स्टान्टिनको समयदेखि त्रिएकको सिद्धान्तमा गरिने विश्‍वास को साँचो इसाई हो र को चाहिँ होइन भनी पत्ता लगाउने मुख्य जाँच बन्यो। अनि त्रिएकको सिद्धान्तलाई स्वीकार नगर्नेहरूलाई झूटो धर्मको समूहमा राखियो।

यस किसिमको व्यवहार त्यो बेलादेखि आजको दिनसम्मै निरन्तर चलिरहेको छ। त्रिएकको सिद्धान्तमा विश्‍वास नगर्नेहरूलाई दिने सजायँ विभिन्‍न शताब्दीहरूमा फरक-फरक किसिमको रहिआएको छ। कुनै बेला त्यस्ता इसाईहरूलाई राष्ट्रिय चर्चबाट निस्कासन गरिन्थ्यो अनि कुनै समयमा चाहिँ त्यस्ता व्यक्तिहरूलाई जलाएर मार्ने गरिन्थ्यो। वर्तमान समयको कुरा गर्ने हो भने, त्रिएकको सिद्धान्तमा विश्‍वास गर्ने चर्च अथवा संस्थाले त्यस्ता इसाईहरूलाई औपचारिकरूपमा तिरस्कार गरी झूटो समूहमा राख्‍ने गरिन्छ।

यसरी इतिहासलाई केलाउने हो भने यो त्रिएकको सिद्धान्तको इतिहास निकै खराब रहिआएको देखिन्छ! (इसाई धर्म र इस्लाम धर्ममा हिंसा हेर्नुहोस्।)

यस सन्दर्भमा हामीले अर्को प्रश्‍न सोध्‍नैपर्छ: इसाई विश्‍वासको साँचो जाँच के हो त? के त्यसको निम्ति त्रिएकको सिद्धान्तलाई मौखिक समर्थन जनाउनु हो? यस विषयमा येशूले के भन्‍नुभयो? “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही पानी र आत्‍माद्वारा जन्‍मेन भने परमेश्‍वरको राज्‍यमा पस्‍न सक्‍दैन” (यूहन्‍ना ३:५)। पावलले के भने? “कुनै मानिसमा ख्रीष्‍टका आत्‍मा हुनुहुन्‍न भनेता त्‍यो उहाँको हुँदैहोइन” (रोमी ८:९)। त्यसैगरी यूहन्‍नाका यी शब्दहरूलाई पनि हेरौँ: “जससँग पुत्र हुनुहुन्‍छ, त्‍यससँग जीवन छ, जससँग परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्‍यससँग जीवन हुँदैन” (१ यूहन्‍ना ५:१२)। वास्तवमा इसाई विश्‍वासलाई जाँच्‍ने कुराहरू यी नै हुन्।

मानवीय संस्थाहरूमा सदस्यताको निम्ति मानवीय जाँचहरू खाँचो पर्छ। विश्‍वास गर्ने उम्मेदवारले के भन्दछ त? तर परमेश्‍वरको साँचो चर्च कुनै मानवीय संस्था होइन। “मानिसले (अधिकांश चर्चले) रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्‍छ” (१ शमूएल १६:७)।

बाहिरका मानिसहरू

त्रिएकको सिद्धान्त बाहिरका मानिसहरूका लागि ठेस लगाउने ठूलो ढुङ्गा भएको छ। यदि येशू परमेश्‍वर हुनुहुन्छ अनि उहाँ परमेश्‍वर पिताभन्दा फरक व्यक्ति हुनुहुन्छ, र यदि पवित्र आत्मा फेरि अर्कै व्यक्ति हुनुहुन्छ भने बाहिरका मानिसहरूले तुरुन्तै सोचिहाल्छन्, कि इसाई धर्मले तीन वटा फरक-फरक देवताहरूको अस्तित्वलाई सिकाउँछ।

यहूदीहरूले आफूहरू र इसाईहरूको बिचको ठूलो भिन्‍नताको पर्खाल भनेको त्रिएकको सिद्धान्त हो भनी ठान्छन्। यहूदीहरूको धार्मिक विधिअनुसार गरिने मुख्य प्रार्थनालाई “शमा” भनिन्छ – “हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्‍वर एउटै परमप्रभु हुनुहुन्‍छ।” “Hear, O Israel: YHWH our God, YHWH is one” - שְׁמַע יִשְׂרָאֵל יְהוָה אֱלֹהֵינוּ יְהוָה אֶחָֽד - Sh’ma Yisra’el, YHWH 'Eloheinu, YHWH 'eḥad. यी शब्दहरू व्यवस्था ६:४ सँग ठ्याक्‍कै मिल्छ। रूढ़िवादी यहूदीहरूले शमा दैनिकरूपमा पाठ गर्ने गर्छन्। विगतलाई केलाउने हो भने चर्चले थुप्रै यहूदीहरूलाई मार्ने काम गरेको थियो, र त्यतिबेला तिनीहरूका ओठबाट निस्केको अन्तिम शब्दहरू यही शमा थिए।

अल्लाह (अरबी भाषामा ईश्‍वर) नै एकमात्र परमेश्‍वर हो भन्‍ने कुरालाई मुसलमानहरूले निकै जोर दिन्छन्। इसाईहरूले तीन वटा देवताहरूको आराधना गर्ने गर्छन् भनी तिनीहरूले विचार गर्छन्।

चर्चले दिने शिक्षा झूटो हो भन्‍ने कुरा इसाईहरूलाई देखाउनको निम्ति प्राय: यहोवाको साक्षीहरूले सुरुमै त्रिएकको सिद्धान्तमा प्रहार गर्ने गर्दछन्। (यहोवाको साक्षी र येशूको साक्षी हेर्नुहोस्।)

सारंश

चर्च: त्रिएकको सिद्धान्त १७०० अथवा त्योभन्दा पनि धेरै वर्षदेखि मूलधारमा रहेका इसाई चर्चहरूको मुख्य सिद्धान्त रहिआएको छ। यो सिद्धान्तले परमेश्‍वरको तीन व्यक्तिहरू छन् भनी सिकाउँछ- परमेश्‍वर पिता, परमेश्‍वर पुत्र र परमेश्‍वर पवित्र आत्मा। यीमध्ये प्रत्येक परमेश्‍वर हुनुहुन्छ र उहाँहरू एकै हुनुहुन्छ।

बाइबल: ‘त्रिएक’ र ‘व्यक्ति’ भन्‍ने शब्द बाइबलमा कहीं पनि उल्लेख गरिएको छैन। त्यति मात्र होइन सङ्ख्या ३ को सम्बन्ध परमेश्‍वरसँग भएको कुनै खण्ड बाइबलमा छैन। बाइबलले येशूको निम्ति थुप्रै अद्‍भूत नाउँहरू प्रदान गर्दछ, जसमध्ये परमेश्‍वरको पुत्र एउटा हो, तर कहीं पनि उहाँलाई परमेश्‍वर भनी सम्बोधन गरेको छैन।

इतिहास: येशूको समयभन्दा पहिलेदेखि नै बेबिलोनी धर्म, हिन्दु धर्म र यस्तै अन्य प्राचिन धर्महरूमा त्रिएकको सिद्धान्तको अस्तित्व थियो। यो सिद्धान्त नयाँ करारमा कहीं उल्लेख गरिएको छैन। रोमी सम्राट कन्स्टान्टिनले इसाई धर्मलाई उसको साम्राज्यभरि आधिकारिक धर्म बनाएर विभिन्‍न किसिमका अन्यजातिहरूका अभ्यासहरूलाई चर्चभित्र ल्याएपछि त्रिएकको सिद्धान्त पनि चर्चको आधिकारिक सिद्धान्त बन्‍न पुग्यो। त्यसबेलादेखि त्रिएकको सिद्धान्तमा विश्‍वास नगर्ने इसाईहरूले साधारण दण्डदेखि लिएर मृत्युदण्डसम्मै भोग्‍नुपरेको छ।

नामधारी इसाई मुलुकहरूमा जन्मिएका मानिसहरूलाई बालककालदेखि नै त्रिएकको सिद्धान्त सिकाउने गरिन्छ। अधिकांश त्यस्ता इसाईहरूले कुनै प्रश्‍नबिना यसलाई स्वीकार्दै आएका छन्।

यदि त्रिएकको सिद्धान्त सही र सत्य हो भने यसलाई हामीले बलियोसँग पक्रनु पर्छ। यदि यो सिद्धान्त इसाई पोसाक पहिर्‍याइएको झूटो बेबिलोनी शिक्षा हो भने हामीले यसलाई इन्कार गर्नुपर्छ र त्यसको साथै चर्चले हामीलाई परम्परागतरूपमा सिकाउँदै आएको अन्य किसिमका झूटा शिक्षाहरूलाई पनि इन्कार गर्नुपर्छ।


अनुवादक: श्याम श्रेष्ठ