बाइबललाई शाब्दिकरूपमा लिनु?

परिचय

के हामीले बाइबलको हरेक शब्दलाई शाब्दिकरूपमा बुझ्‍नुपर्छ? के परमेश्‍वरले सारा ब्रह्‍माण्ड शाब्दिकरूपमा ६ दिनमा बनाउनुभएको हो? के नोआको समयको लजप्रलयले सारा पृथ्वीलाई ढाकेको थियो? के त्यो जहाजमा भएका प्राणीहरूबाहेक अरू सबै जीव जन्तुहरू नास भए? के बाबेलको धरहरा निर्माण हुने बेलासम्म पृथ्वीका सबै बासिन्दाहरूले उही (एउटै) भाषा बोल्‍ने गर्दथे?

के हामीले येशूका शब्दहरूलाई शाब्दिकरूपमा लिनुपर्छ? के हामीले साँच्‍चै उहाँको शरीर खानु र उहाँको रगत पिउनु पर्छ? के उहाँ शाब्दिकरूपमा नै फेरि आउनु हुनेछ?

के हामीले प्रकाशको पुस्तकको भविष्यवाणीहरूलाई शाब्दिकरूपमा लिनुपर्छ? के ताराहरू आकाशबाट शाब्दिकरूपमा झर्नेछन्? के एक तिहाइ पृथ्वी जलेर भस्म हुनेछ? के १,४४,००० मानिसहरू सियोन पर्वतमा खडा हुनेछन्? के साँच्‍चै भौतिकरूपमा मानिसहरूका निधारमा सङ्ख्या ६६६ लेखिनेछ त?

यो लेखमा म यस्ता केही प्रश्‍नहरूका उत्तरहरू खोजी गर्नेछु।

नोआको समयको जलप्रलय

उत्पत्तिको पुस्तकको ६ देखि ८ अध्यायहरूले हामीलाई नोआको समयको जलप्रलयको कथा बताउँछ। उक्त कथाअनुसार जलप्रलयले सारा पृथ्वीलाई ढाक्दा, ठूलो जहाजमा नोआ र उसको परिवारको अरू ७ जना सदस्यहरू अनि ठूलो सङ्ख्याका जनावरहरू र चराचुरुङ्गीहरू थिए, र तिनीहरू मात्र जलप्रलयबाट बाँचेका थिए।

के हामीले यस अक्षरश: ऐतिहासिक तथ्य हो भनी स्वीकार गर्न सक्छौँ र धर्मशास्‍त्रमा लेखिएझैँ हरेक कुरा ठ्याक्‍कै त्यसरी नै भएको थियो भनी विश्‍वास गर्न सक्छौँ, अथवा हामीले अर्को व्याख्या खोज्ने हो कि? यस कथालाई शाब्दिकरूपमा स्वीकार गर्दा आइपर्ने केही मुख्य समस्याहरूलाई अब हामी हेर्नेछौँ।

नोआ र उसको परिवारले कसरी ती सबै जीव-जन्तुहरूलाई जहाजभित्र राखे होलान्? के दुई वटा ध्रवीय भालूहरू आर्कटिक क्षेत्रबाट पौडेर त्यहाँ पुगी फर्किएका थिए? के दुई वटा याकहरू हिमाली क्षेत्र तिब्बतबाट तातो मरुभूमिको गर्मी सहँदै दोहोरो यात्रा गरे होलान्? के नेपालका गाई, भैँसी र कुकुरको जोडीहरू त्यस पानी जहाज चढेर फर्किएका हुन्? के अस्ट्रलियाको दुई वटा कङ्गारुहरू उफ्रिदै त्यहाँ गएर फर्किएका थिए? के ती सबै जनावरहरू, चराहरू र किरा-फटेङ्ग्राहरू आश्‍चर्यजनकरूपमा महिनौ लामो यात्रा गर्दै जलप्रलय हुने समयमा जहाजभित्र पुगेका थिए?

अनि मध्यपूर्वमा नपाइने, तर संसारको अरू भागहरूमा पाइने जीव-जन्तुहरूको बारेमा चाहिँ के हो त? हात्ती, जिराफ, गैंडा, जलगैंडा, बाघ, बाँदर र अन्य थुप्रै जनावरहरूको बारेमा के भन्‍ने? यस्ता जनावरहरूका बारेमा बाइबलमा कहीँ पनि उल्लेख गरिएको छैन। के ती जनावारहरूलाई हजारौँ किलोमिटरको यात्रामा कसैले डोर्‍याउँदै जहाज तयार भएपछि जलप्रलय हुनुभन्दा ठ्याक्‍कै पहिले त्यहाँ पुर्‍याएको थियो कि? अनि विशाल आकारका डायनासोरको भाले र पोथी नोआले बनाएको जहाजभित्र अटाए होलान् त?

उत्पत्तिको पुस्तकको विवरणअनुसार, नोआ र उसको परिवारले जहाजभित्र ती जनावरहरूसँग करिब एक वर्ष बिताएका थिए। त्यहाँ भएका जनावरहरूको सङ्ख्या २,००० देखि ३५,००० सम्म हुन सक्छ। परमेश्‍वरले ती सबैको खानेकुरा प्रवन्ध गर्नु भनी नोआलाई भन्‍नुभयो (उत्पत्ति ६:२१)। यदि त्यहाँ २,००० मात्र जनावरहरू थिए भने पनि नोआ र उसको परिवारले कसरी तिनीहरूका लागि एक वर्षको लागि पर्याप्‍त आहार खोजेर जम्मा गरे होलान्? त्यसको लागि उनीहरूले घाँस, पराल र अन्‍नहरूको साथै सिंह, बाघ र चितुवाहरूलाई खुवाउन मासुको व्यवस्था पनि गर्नुपर्थ्यो। तिनीहरूले त्यस्ता आहारहरू कसरी जम्मा पारे होलान् र रेफ्रिजेरेटरबिना एक वर्षसम्म ताजा रहने गरी त्यसलाई कसरी भण्डार गरे होलान्।

के ती जनावरहरू, चरा-चुरुङ्गीहरू, घस्रने प्राणीहरू र किरा-फटेङ्ग्राहरू जहाजभित्र नोआ र उसको परिवारसँगै पूरा एक वर्षसम्म सँगै बसे होलान्? त्यहाँ सिंह, बाघ र चितुवाहरूलाई भेडा, बाख्रा अनि हरिणजस्ता पशुहरूको मिठो बास्‍ना आउँदा, कसरी तिनीहरू परीक्षाबाट जोगिन सके होलान्? अथवा तिनीहरूलाई फलामको बलियो खोरहरूभित्र सुरक्षित राखिएको थियो कि? त्यहाँ तिनीहरूले शारीरिक कसरत कसरी गरे होलान्? अनि त्यहाँ सर्प र गोहीजस्ता घस्रने जन्तुहरूको बीचमा समस्या आएन होला? यसबारे हामी के भन्‍न सक्छौँ भने दैनिक अकल्पनीय आश्‍चर्यकर्महरूको शृङ्खलाले मात्र उक्त जहाजभित्र हत्या, हिंसा र मृत्युबिना शान्ति र मेलमिलाप कायम राख्‍न सक्थ्यो।

के पृथ्वीका अग्ला-अग्ला सबै पहाडहरूलाई २० फुटभन्दा बढी पानीले ढाक्‍न सम्भव छ? यदि त्यसो हो भने, ती सबै पानी कहाँबाट आएका थिए र कहाँ गए होला? अनि त्यतिबेला घटेको उक्त विशाल विश्‍वव्यापी जलप्रलयको भौगोलिक प्रमाण अहिले कहाँ छ?

त्यो जलप्रलय स्थानीय क्षेत्रमा मात्र भएको थियो र त्यसले सम्पूर्ण पृथ्वीलाई ढाकेको थिएन भनी केही व्यक्तिहरूले सुझाव दिन्छन्। उक्त ठूलो जलप्रलयले मध्यपूर्व र संसारको अरू केही भागहरूलाई ढाकेको हुनुपर्छ भनी उनीहरू भन्दछन्। संसारको धेरै सँस्कृतिहरूमा त्यसबारे वर्णन गरिएको छ। तसर्थ, बाइबलमा लेखिएको जलप्रलय भएको थियो भन्‍ने बारेमा कुनै सङ्का छैन। उक्त जलप्रलय स्थानीयरूपमा भएको थियो भन्‍ने तथ्यले केही प्रश्‍नहरूलाई समाधान गर्दछ अथवा अलि सहज बनाउँछ; तर हामीले सोध्‍नैपर्ने प्रश्‍न यो हो: यदि उक्त जलप्रलय स्थानीय क्षेत्रमा मात्र भएको थियो भने संसारको सबै जनावरहरूलाई जहाजभित्र जम्मा गर्न आवश्यक थिएन। याक र भैंसीजस्ता जनावरहरू नेपालमै सुरक्षित हुनेथिए। त्यसै गरी घोडा र गाइहरू अन्य देशहरूमै सुरक्षित हुनेथिए। साँच्‍चै भन्‍ने हो भने यदि ती जनावारहरू संसारको अरू भागहरूमा थुप्रै छन् भने तिनीहरूलाई जहाजभित्र राखेर सुरक्षित गर्न खाँचो थिएन।

उत्पत्ति ६:६,७ लाई पनि हेर्नुहोस्: “पृथ्‍वीमा मानिसलाई बनाउनुभएकोमा परमप्रभुले अफसोस गर्नुभयो, र उहाँ मनमा साह्रै दु:खित हुनुभयो। त्‍यसकारण परमप्रभुले भन्‍नुभयो, ‘मैले सृष्‍टि गरेको मानिसलाई पृथ्‍वीबाट म मेटिदिनेछु- के मानिस, के घस्रने जन्‍तु, के आकाशका पन्क्षी सबैलाई, किनभने ती बनाएकोमा मलाई दु:ख लागेको छ'।’” यो भनाइले उक्त जलप्रलय स्थानीय क्षेत्रमा मात्र नभई विश्‍वव्यापीरूपमा भएको हुनुपर्छ भनी वर्णन गर्दछ।

Problems with a Global Flood भन्‍ने वेबसाइटले उत्पत्तिको पुस्तकको उक्त कुरालाई शाब्दिकरूमा लिँदा आइपर्ने धेरै कठिनाइहरूका बारेमा लामो र विस्तृत व्याख्या दिँदछ।

सृष्टिवाद (creationist) सम्बन्धी केही वेबसाइटहरूले जलप्रयलको बारेमा शाब्दिक व्याख्या गर्दछन्। यदि तपाईंलाई खाँचो छ भने ती वेबसाइटहरू पढ्न र दुवै पक्षको तर्क-बिर्तकहरू सुन्‍न म सिफारिस गर्छु। जलप्रलयको समयसम्म सम्पूर्ण पृथ्वी एउटा ठूलो महादेश थियो र त्यसपछि पृथ्वी अहिलेको अवस्थामा छुट्टाछुट्टै महादेशहरूमा टुक्रियो भनी केही वेबसाइटहरूले बताउँछन्। यो करिब २ करोड वर्ष पहिलेको घटना हो भनी वैज्ञानिकहरू विश्‍वास गर्दछन्।

यदि परमेश्‍वरले असाधारणरूपमा विशाल आश्‍चर्यकर्महरू गर्नुभएको रहेछ भने मात्र जलप्रलयको कथा शाब्दिकरूपमा साँचो हुन आउँछ।

यो प्राकृतिक विपत्तिको कथाको शाब्दिक बुझाइलाई आधुनिक विज्ञानसँगै आत्मिक सत्यताको प्रशस्तामा बुझ्‍नु पर्दछ। यो कथा परमेश्‍वरको आवाज सुनेर उहाँको वचनप्रति आज्ञाकारी भई जहाजमा (अर्थात् येशूमा) प्रवेश गर्नेहरूका लागि मुक्ति छ र पाप गर्नेहरूका लागिचाहिँ न्याय छ भनी देखाउने चित्र हो।

सृष्टि

उत्पत्ति १ अध्यायले परमेश्‍वरले संसार सृष्टि गर्नुभएको व्याख्या गर्दछ।

सुरुका शब्दहरू यस्ता छन्, “आदिमा परमेश्‍वरले स्वर्गहरू र पृथ्वी सृष्टि गर्नुभयो।” यो पहिलो दिनको घटना थियो। १६ पदमा हामी पढ्दछौँ, “अनि परमेश्‍वरले दुई विशाल ज्‍योतिहरू बनाउनुभयो- ठूलो ज्‍योति दिनमाथि प्रभुत्‍व गर्न, र सानो ज्‍योति रातमाथि प्रभुत्‍व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो।” यो चौथो दिनको घटना थियो। यसको मतलब पृथ्वीको सृष्टि अनि सूर्य, चन्द्रमा र ताराहरूको सृष्टिको बीचमा ३ दिनहरू थिए।

ती ३ दिनहरू शाब्दिकरूपमा २४ घण्टाको दिनहरू थिए, कि अथवा लामो समय थियो? हिब्रू शब्द योम (yom) ले शाब्दिकरूपमा २४ घण्टाको दिनलाई बुझाउँछ। तपाईंले पक्‍कै योम किपूर (Yom Kippur) अर्थात् 'प्रायश्‍चितको दिन' सुन्‍नुभएको हुनुपर्छ। योम () भन्‍ने शब्दले लामो समयलाई पनि बुझाउन सक्छ; जस्तै: (yom YHWH)- प्रभुको दिन। तैपनि, उत्पत्ति १ अध्यायमा परमेश्‍वरको कामको वर्णनमा हरेक दिन यी शब्दहरू दोहोरिएका छन्, “साँझ पर्‍यो र बिहान भयो- पहिलो दिन ... दोस्रो दिन ... तेस्रो दिन”। यसको मतलब त्यहाँ प्रयोग भएको योम (yom) दिनले २४ घण्टालाई नै बुझाउन खोजेको जस्तो देखिन्छ।

यसलाई हामीले जुन तरिकाले हेरे तापनि, त्यो पूर्णरूपमा विज्ञानसँग विरोधाभासपूर्ण हुन जान्छ। खगोलविद्‌हरूको भनाइअनुसार सूर्यभन्दा पहिले अरू ताराहरू अस्तित्वमा थिए, र सूर्यभन्दा पहिले पृथ्वी अस्तित्वमा आउनै सक्दैन। यदि त्यतिबेला दिनहरू लामो समयको थिए भने सूर्य र ताराहरूभन्दा पृथ्वी धेरै पहिले नै अस्तित्वमा आएको हुनुपर्छ। यदि त्यतिबेला २४ घण्टाको दिनहरू थिए भने हरेकथोक प्रभावकारीरूपमा एउटै समयमा सृष्टि भएको हुनुपर्छ।

अर्को समस्या भनेको ब्रह्‍माण्डको आयु हो।

वैज्ञानिकहरूका भनाइअनुसार ब्रह्‍माण्ड करिब १३ अरब वर्ष पुरानो हो र हाम्रो सौर्य परिवार (सूर्य, पृथ्वी र ग्रहहरू) चाहिँ करिब ४.५ अरब वर्ष पुरानो हो। अहिलेसम्म थाहा भएअनुसार सबैभन्दा टाढाको ताराको प्रकाश हामीकहाँ आइपुग्‍न ९ अरब वर्ष लागेको छ भनी खगोलविद्‌हरू भन्दछन्। पृथ्वीको सबैभन्दा पुरानो पत्थरहरू ४.२८ अरब वर्ष पुरानो हो भनी भुगोलविद्‌हरू भन्दछन्।

उत्पत्ति ५:१-२८ ले आदमदेखि नोआसम्मको सबै प्राचीनहरूको उमेर दिँदछ। उत्पत्ति ११:१०-२६ मा चाहिँ नोआदेखि अब्राहामसम्मको वंशावली उल्लेख छ। बाइबलको विद्यार्थीहरूले आदमको जन्ममिति हिसाब गर्न यसलाई र बाइबलको अन्य वंशावलीहरूलाई प्रयोग गरेका छन्। ती सबैलाई हिसाब गर्दा त्यो लगभग इ.पू. ४,००० हुन आउँछ। यदि हामीले बाइबलको हरेक शब्दलाई शाब्दिकरूपमा स्वीकार्छौं भने, यो संसार र ब्रह्‍माण्डको आयु करिब ६,००० वर्ष हुन आउँछ।

वैज्ञानिकहरू ब्रह्‍माण्ड १३ अरब वर्ष पुरानो भन्दछन्। बाइबललाई शाब्दिकरूपमा लिने हो भने, त्यसको आयु करिब ६ हजार वर्ष मात्र हुन्छ। कति ठूलो फरक!

सृष्टिको कथाको शाब्दिक बुझाइ अहिलेको आधुनिक विज्ञानसँग मेल खाँदैन, तर हामीले यसलाई आफूमा परमेश्‍वरको नयाँ सृष्टिको चित्रझैँ पढ्दछौँ भने, हामीले यहाँ आत्मिक सत्यताको सम्पत्ति भेट्टाउँछौँ। मैले यस विचारलाई Creation and Evolution मा व्याख्या गरेको छु।

बाबेल

आर्च्-बिशप उस्शेरले (Archbishop Ussher) बाबेलको धरहराको मिति इ.पू. २२४२ भनी तोके, जुन जलप्रलयभन्दा करिब २०० वर्षपछि हुन आउँछ। योभन्दा पहिले, उत्पत्ति ११:१ अनुसार, “सम्पूर्ण पृथ्‍वीमा एउटै भाषा र एकै खालको बोली थियो।” बाबेलको धरहरापछि, हरेकले फरक-फरक भाषा बोल्न थाले।

पूरातत्वविद्‌हरू भन्दछन्, कि त्योभन्दा पहिले नै इसापूर्व २७औँ शताब्दीतिर केही मिश्री शब्द-चित्रहरू (Egyptian hieroglyphics) अस्तित्वमा थिए र त्यसैगरी इसापूर्व २६औँ शताब्दीतिरको सुमेरियन लेखहरू (Sumerian writing) अनि इसापूर्व २५औँ शताब्दीको कनानी लेखाइ (Canaanite texts) भेट्टाइएका छन्। यसलाई अर्को शब्दमा भन्‍नुपर्दा बाबेलको धरहराभन्दा पहिले अरू छुट्टै भाषाहरू लेखिएको थिए।

उनीहरूको भनाइअनुसार मेसोपोटामिया सभ्यता (Mesopotamian Civilization) इसापूर्व ३५०० मा, सिन्धू उपत्यका सभ्यता (Indus Valley Civilization) इसापूर्व ३३०० मा र चिनीया सभ्यता (Chinese Civilization) इसापूर्व ३३०० मा स्थापित भइसकेका थिए (Oldest civilisations हेर्नुहोस्)। यदि यी सबै मितिहरू सही हुन् भने बाबेलको धरहराभन्दा थुप्रै शताब्दीपहिले अरू भाषाहरू अस्तित्वमा आइसकेका हुनुपर्छ।

दशौँ हजार वर्षपहिले नै मानवजाति पृथ्वीको थुप्रै ठूला क्षेत्रहरूमा फैलिसकेको थियो भनी वैज्ञानिकहरू भन्दछन्। त्यसो हो भने ती सबै मानिसहरू मिलेर आफ्नो निम्ति बाबेलको धरहरा बनाउन खोजेका पक्‍कै होइन। यदि यो कुरालाई सही ठान्‍ने हो भने मध्यपूर्वमा घटेको त्यो एउटा घटनाले संसारको अरू भागहरूमा बोलिने भाषाहरूमा कुनै असर पार्न सक्दैनथ्यो।

बाबेलको कथाको शाब्दिक बुझाइ पूरातत्वशास्‍त्र र विज्ञानसँग स्पष्टरूपमा असहमत छ; तरै पनि हामीसँग यस्तो मूल अवधारणा विद्यमान् छ, जुन आत्मिक सत्यताको प्रशस्ततामा बाइबलद्वारा निस्केर आउँदछ। परमेश्‍वरकहाँ पुग्‍न मानिसले गर्ने प्रयासको पूर्ण भ्रष्टताको पराकाष्टालाई प्रकाशको पुस्तकमा देख्‍न सकिन्छ; र यसलाई ग्रीक शब्द बेबिलोनले प्रतिनिधित्व गर्छ, जुन हिब्रू नाम बाबेलको अनुवाद हो। बेबिलोन' भन्‍ने लेखमा मैले यस विषयमा विस्तृत चर्चा गरेको छु।

आश्‍चर्यकर्महरू

परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ भनी के म विश्‍वास गर्छु? हो! म विश्‍वास गर्छु।

परमेश्‍वरले सबै कुरा गर्न सक्‍नुहुन्छ भनी म विश्‍वास गर्छु? अहँ, गर्दिनँ! बाइबलले भन्दछ, “परमेश्‍वरले झूटो बोल्न सक्‍नुहुन्‍न।” म पनि “उहाँले झूटो गवाही दिन सक्‍नुहुन्‍न” भनी विश्‍वास गर्छु। के परमेश्‍वरले २४ घण्टाको छ दिनमा पृथ्वी सृष्टि गर्न सक्‍नुहुन्थ्यो? हो, उहाँले सक्‍नुहुन्थ्यो, तर यहाँ हामीले सोच्‍नुपर्छ, कि यदि पृथ्वी केही हजार वर्षपहिले मात्र बनाइएको थियो भने, उहाँले त्यसको निम्ति लाखौँ-करोडौँ वर्ष पुरानो भौगोलिक, खगोलीय र विकासवादसम्बन्धी प्रमाण दिन सक्‍नुहुन्‍नथ्यो। त्यसो गर्नु दश आज्ञामा उल्लेखित नवौँ आज्ञाको गम्भीर उलङ्घन हुन जान्थ्यो, “तिमीहरूले झूटो गवाही नदिनू” (प्रस्थान २०:१६)।

म आश्‍चर्यकर्महरूमा विश्‍वास गर्छु? हो, १००% विश्‍वास गर्छु! बाइबलले धेरै आश्‍चर्यकर्महरू उल्लेख गर्दछ। पुरानो करारमा हेर्ने हो भने मोशा र यहोशू अनि फेरि एलिया र एलिशाको समयहरूमा परमेश्‍वरले धेरै आश्‍चर्यकर्महरू गर्नुभयो। त्यसपछिका समयहरूमा भने कुनै पनि आश्‍चर्यकर्म गरिएन। नयाँ करारमा हेर्ने हो भने येशू र उहाँका चेलाहरू धेरै आश्‍चर्यकर्महरू गर्नुभयो, विशेषगरी बिरामीलाई निको पार्ने आश्‍चर्यकर्महरू। हामीहरूमध्ये धेरैले आज त्यस्तै किसिमका आश्‍चर्यकर्महरू देखेका छौँ अथवा नदेखे पनि त्यसको बारेमा सुनेका छौँ। प्रायजसो समयमा, चाहे बाइबलमा होस् अथवा अहिले होस्, परमेश्‍वरले आफैले निर्माण गर्नुभएको विज्ञानको नियमहरूभित्र रहेर काम गर्नुहुन्छ। कहिलेकाहीँ विशेष उद्देश्यहरूका लागि उहाँले चाहनुभयो भने, परमेश्‍वरले ती नियमहरूका विरुद्धमा पनि आश्‍चर्यकर्महरू गर्नुहुन्छ।

कहिलेकाहीँ परमेश्‍वरले न्याय पठाउनुहुन्छ। येशूले युद्धहरू, अनिकालहरू, रोगहरू र भूकम्पहरू हुनेछन् भनी भन्‍नुभयो, तर ती सबै विज्ञानको नियमहरूभित्र नै हुने प्राकृतिक विपत्तिहरू हुन्। सायद Covid 19 परमेश्‍वरबाट आएको न्याय हुनसक्छ, तर यो उहाँले गर्नुहुने आश्‍चर्यकर्मको ढाँचा भने होइन। यो पूर्णरूपमा प्राकृतिक घटना हो।

प्राय: परमेश्‍वरका आश्‍चर्यकर्महरू सानो मात्रामा हुने गर्दछन् र निकै थोरै मानिसहरूले मात्र त्यसलाई आफ्नै आँखाले देख्छन्। मरियम र योसेफले (र सायद गब्रियल स्वर्गदूतले) मात्र कन्याले बच्‍चा जन्माएको आश्‍चर्यकर्मलाई आफ्नै आँखाले देखेर, त्यसको साक्षी बने। येशूको पुनरुत्थानचाहिँ अलि बढी सार्वजनिक भएको थियो; उहाँ ५०० भन्दा बढी मानिसहरूकहाँ देखा पर्नुभयो (१ कोर १५:६), तर पनि त्यो सम्पूर्ण जनसङ्ख्याको निकै सानो भाग थियो। अन्तर्राष्ट्रिय स्तरमा एकैचोटि देखिने गरी ठूलो समुदायमा कुनै आश्‍चर्यकर्म भएको छैन।

प्राचीन समयहरू

प्राचीन समयको मानिसहरूसँग पृथ्वी-केन्द्रित दृष्टिकोण थियो। निसन्देह तिनीहरूले सूर्य, चन्द्रमा र ताराहरू सबैले पृथ्वीलाई परिक्रमा गर्छ भनी विश्‍वास गर्दथे। पृथ्वी घुम्‍ने कुरा तिनीहरूका लागि असम्भव थियो, किनभने यदि त्यसो भयो भने पृथ्वीको सतहको मानिसहरू उल्टो भएर तल खस्‍नेछ भनी तिनीहरूले सोच्दथे। त्यतिबेला तिनीहरूले पृथ्वीलाई चेप्टो अथवा थालजस्तो छ भनी विचार गर्दथे। तिनीहरूका लागि सूर्य र चन्द्रमाको आकार बराबर थियो र ती दुवै पृथ्वीभन्दा धेरै सानो छन् भनी तिनीहरूले ठान्दथे किनभने अस्ताउने बेलामा सानो डाँडाले पनि सूर्य र चन्द्रमालाई छेकिदिन्थ्यो। तिनीहरूका दृष्टिकोणमा ताराहरू भनेको अन्तरिक्षमा झुण्डिएका साना पिण्डहरू हुन, जुन बाइबलले बताएझैँ सजिलै पृथ्वीमा खस्‍न सक्दथे।

त्यतिबेला पृथ्वीको आकार कत्रो र कस्तो छन्‍ने कुरा पूर्णरूपमा अज्ञात थियो। हिब्रू भाषामा אֶרֶץ (erets) भन्‍ने एउटा मात्र शब्द थियो, जसको अर्थ पृथ्वी अथवा देश हुन्थ्यो। Erets Yisrael को अर्थ ईस्राएल देश हो) तिनीहरूले आफ्नो वरिपरि भएका केही भूमिहरू मात्र जान्दथे। तिनीहरूले त्यतिबेला अमिरिकनहरू र चिनियाहरूको अस्तित्छ छ भनेर जान्दैनथे। कसैले पनि हात्ती, ध्रूवीय भालु, कङ्गारु अथवा बाघ के हो भनेर सुनेको थिएन। नोआको समयको ठूलो जलप्रलय पक्‍कै त्यस्तै क्षेत्रमा भएको हुनुपर्छ, जसको बारेमा फरक-फरक विवरण अन्य साहित्यहरूमा पनि उल्लेख भएको पाइन्छ।

ती प्राचीन मानिसहरूका लागि माथि चर्चा गरिएको सृष्टि, जलप्रलय र बाबेलको समस्याहरू देखा परेन। स्वभाविकरूपमा पृथ्वीलाई पहिले सृष्टि गरियो र त्यसपछि सूर्य, चन्द्रमा र ताराहरू सृष्टि गरियो भनी तिनीहरूले बुझे। नोआले आफ्नो जहाजभित्र स्थानीय क्षेत्रका जनावरहरू हालेका हुनसक्छन्; सायद उनले घलपालुवा जीव-जन्तुहरू मात्र राखे होलान्; र पक्‍कै सिंहलाई जहाजमा राख्‍न चाहेन होला; बरु त्यसलाई पानीमा डुब्‍न दिनू नै उसको लागि असल हुने थियो। बाबेलको कथाको कुनै समस्याहरू तिनीहरूका दिमागमा आएन।

परमेश्‍वरले मोशालाई वैज्ञानिक गहिरो व्यख्याहरू प्रकट गर्न सक्‍नुहुन्थ्यो, तर त्यतिबेला त्यसलाई ग्रहण गर्न अथवा बुझ्‍न कोही पनि तयार अथवा सक्षम थिएन। उत्पत्तिदेखि लिएर सम्पूर्ण बाइबलभरि नै उहाँको उद्देश्य भनेको मानिसलाई वैज्ञानिक ज्ञान प्रदान गर्नुभन्दा आत्मिक सत्यताको प्रकाश दिनु हो।

छनोट

उत्पत्तिको पुस्तकको सुरुका तीन वटा ठूला कथाहरूको बारेमा (सृष्टि, जलप्रलय र बाबेलको धरहराको बारेमा) भन्‍नुपर्दा, यद्यपि प्राचीन समयका मानिसहरूलाई त्यसले पूरा अर्थ दिएको भए तापनि, अहिले त्यसको शाब्दिक बुझाइ आधुनिक विज्ञानसँग पूर्णरूपमा विपरीत भएको हामी भेट्टाउँछौँ।

यसले हामीलाई यी दुई मुख्य दृष्टिकोणहरूमध्ये एउटालाई छनोट गर्नुपर्ने अवस्थातिर डोर्‍याउँछ:

  1. बाइबल परमेश्‍वरको वचन हो र यसको हरेक शब्द अक्षरश: सत्य छ अनि यसलाई शाब्दिकरूपमा नै बुझ्‍नुपर्छ। यदि विज्ञान बाइबलसँग सहमत हुँदैन भने, विज्ञान नै गलत हो। अधिकांश वैज्ञानिकहरू नास्तिक हुन्; र तिनीहरू परमेश्‍वरको विरोधमा भएको हुनाले बाइबलको बदनाम गर्न चाहन्छन्। वैज्ञानिकहरूले भनेको कुराहरूमा हामी भरोसा गर्न सक्दैनौँ।
  2. यदि ठूलो सङ्ख्याका वैज्ञानिकहरू कुनै विषयमा सहमत छन् भने, हामी उनीहरूले बताएको कुरालाई बेवास्ता गर्न सक्दैनौँ। हामीले समय सुहाउँदो ढङ्गमा बाइबलको बुझाइलाई मिलाउनैपर्छ। अधिकांश वैज्ञानिकहरू धर्मको बारेमा तथष्ट छन् र उनीहरू आफ्नो अध्ययनद्वारा पत्ता लागेको प्रमाणद्वारा चल्दछन्।

म जवान अवस्थामा हुँदा यी दुई दृष्टिकोणहरूमध्ये पहिलोलाई पछ्याउँथेँ। त्यतिबेला मैले बाइबलको हरेक शब्द शब्दिकरूपमा सही छ भन्‍ने कुरालाई जोर दिँदथेँ। समय बित्दैजाँदा म बिस्तारै दोस्रो दृष्टिकोणतिर ढल्किन थालेँ। आधुनिक विज्ञान परमेश्‍वरको वरदान हो र यसले मानवजगतमा ठूला फाइदाहरू ल्याएको छ। यदि कुनै विषयमा वैज्ञानिकहरू सहमत छन् भने हामीले उनीहरूको अध्ययन, अन्वेषण र आविष्कारलाई बेवास्ता गर्न सक्दैनौँ।

यी दुई फरक दृष्टिकोणहरूले निकै फरक परिणामहरूलाई निम्त्याउँछ; अनि विज्ञान र धर्मशास्‍त्रको व्याख्या गर्ने मनोवृत्तिले जीवनलाई कतातिर डोर्‍याउने भनेर हामीमा महत्वपूर्ण असरहरू पार्दछन्। ती विचारहरूलाई म यस लेखको पछिल्लो खण्डमा प्रकट गर्न चाहन्छु, तर त्योभन्दा पहिले हामी येशूले भन्‍नुभएको केही कुराहरूलाई हेर्नेछौँ।

येशूका शब्दहरू

के हामीले येशूका सबै शब्दहरूलाई शाब्दिकरूपमा लिनुपर्छ? नयाँ करारका धेरै मानिसहरूले ठ्याक्‍कै त्यसै गरे।

येशूले निकोदेमसलाई भन्‍नुभयो, “कोही नयाँ गरी नजन्मेसम्म परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।” त्यतिबेला निकोदेमस नयाँ गरी नजन्मिएकोले उसले परमेश्‍वरको राज्य देख्‍न सकेन र येशूका ती शब्दहरूलाई उसले शाब्दिकरूपमा लियो र भन्यो, “के कुनै व्यक्ति आफ्‍नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्‍मन सक्‍छ?” (यूहन्‍ना ३:३,४)।

येशूले सामरी स्‍त्रीलाई जिउँदो पानी दिने कुरा भन्‍नुभयो। तिनलाई जिउँदो पानीको बारेमा केही थाहा नभएकोले गर्दा, उहाँको भनाइलाई शाब्दिकरूपमा लिइन्, र भनिन्, “तपाईंसँग उघाउने भाँडो छैन, र इनार पनि गहिरो छ ...” (यूहन्‍ना ४:१०, ११)।

उहाँले यहूदीहरूलाई भन्‍नुभयो, “स्‍वर्गबाट ओर्लिआएको जिउँदो रोटी म नै हुँ। कसैले यो रोटी खायो भने त्‍यो सधैँभरि जिउनेछ। र जुन रोटी म संसारका जीवनको लागि दिनेछु, त्‍योचाहिँ मेरो देह हो।” तिनीहरूले पनि येशूको भनाइलाई शाब्दिकरूपमा लिए, “यस मानिसले कसरी हामीलाई आफ्‍नो देह खान दिन सक्‍छ?” (यूहन्‍ना ६:५१, ५२)।

उहाँले यसो पनि भन्‍नुभयो, “यो मन्दिरलाई भत्काइदेओ” (यूहन्‍ना २:१९)। उहाँको कुरा सुन्‍नेहरूले त्यसलाई शाब्दिकरूपमा अर्थ लगाए।

उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “फरिसीहरूको खमिरबाट होसियार रहो” (मत्ती १६:६)। तिनीहरूले त्यसलाई साधारण भौतिक खमिर हो भनी बुझे।

येशूले घरी-घरी आत्मिक महत्वका कुराहरू भन्‍नुहुँदा, सुन्‍ने मानिसहरू त्यसलाई बुझ्‍न पूर्णरूपमा असफल भए किनभने तिनीहरूले उहाँको शब्दहरूलाई शाब्दिकरूपमा मात्र लिए।

यशैयाका यी शब्दहरूलाई ती मानिसहरू कसैले पनि बुझेनन्, “किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्‌, र तिमीहरूका चाल मेरा चाल होइनन्‌ परमप्रभु भन्‍नुहुन्‍छ। जसरी आकाश पृथ्‍वीभन्‍दा अल्‍गो छ, त्‍यसरी नै मेरा चाल तिमीहरूका चालभन्‍दा र मेरा विचार तिमीहरूका विचारभन्‍दा अल्‍गा छन्‌” (यशैया ५५:८,९)। यदि म धेरै गलत होइन भने, धर्मशास्‍त्र सिकाउने धेरै आधुनिक शिक्षकहरूले अगमवक्ता यशैयाको यी शब्दहरू कि कहिल्यै पढेका छैनन्, कि त त्यसलाई स्पष्टसँग बुझेका छैनन्।

यो विषयमा मैले येशूलाई बुझ्‍नु भन्‍ने लेखमा विस्तृत व्याख्या गरेको छु।

येशूले “म फेरि आउनेछु” भन्‍नुभयो। के उहाँले त्यो शाब्दिकरूपमा नै भन्‍नुभएको थियो? धेरै मानिसहरूले त्यस बेलादेखि अहिलेसम्म त्यसलाई शाब्दिकरूपमा लिएका छन्। हामीले अब त्यसलाई विस्तृतरूपमा हेर्नेछौँ।

“म फेरि आउनेछु”

“तिमीहरूको हृदय व्‍याकुल नहोस्‌। तिमीहरू परमेश्‍वरमाथि विश्‍वास गर्दछौ, ममाथि पनि विश्‍वास गर। मेरा पिताको घरमा बस्‍ने ठाउँहरू धेरै छन्‌। त्‍यसो नभए, के म तिमीहरूलाई भन्‍नेथिएँ र, कि तिमीहरूका निम्‍ति ठाउँ तयार पार्न म गइरहेछु? अनि गएर मैले तिमीहरूका निम्‍ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्‍यहाँ तिमीहरू पनि हुनेछौ” (यूहन्‍ना १४:१-३)।

येशूले आफ्नो क्रूसको दु:ख-कष्ट र मृत्युको दर्दनाक घटनाहरूका निम्ति आफ्ना चेलाहरूलाई तयार पार्न यी शब्दहरू भन्‍नुभयो।

के येशूले यी शब्दहरू तिनीहरूलाई शाब्दिकरूपमा बुझाउन खोज्‍नुभएको थियो? उहाँको चेलाहरूले त्यस्तै विचार गरेका थिए- त्यसमा कुनै सङ्का छैन। सायद त्यतिबेला तिनीहरूले विश्‍वास गरे होलान्, कि उहाँ शरीरमै फर्किआउनुभएर तिनीहरूलाई आकाशमा बनाइएको अचम्ममका वासस्थानहरूमा लानुहुनेछ।

के येशूले यी प्रतिज्ञाको शब्दहरू आफ्ना चेलाहरूको जीवनकालमा शाब्दिकरूपमा पूरा गर्नुभयो? यदि उहाँले यी शब्दहरू आफ्ना चेलाहरूलाई सान्त्वना दिन भन्‍नुभएको थियो, तर तिनीहरू मरेको २००० वर्ष बितिसक्‍दा पनि आउने योजना गर्नुहुन्‍न भने, यो प्रतिज्ञा रित्तो (अथवा व्यर्थ) हुन जान्छ। येशूको प्रतिक्षामा तिनीहरूको हृदय जीवनभरि नै व्याकुल भएको हुनुपर्छ।

पेन्तिकोसको दिनमा के भयो? के त्यतिबेला येशू फेरि आउनुभयो? के उहाँले आफ्ना चेलाहरूका निम्ति ठाउँ तयार पार्नुभएको थियो? र के उहाँले तिनीहरूलाई त्यहाँ लैजानुभयो? पावलले एफिसीहरूलाई पत्र लेख्‍दा ठ्याक्‍कै त्यही कुरा भने: “परमेश्‍वरले उहाँसँग हामीलाई उठाउनुभयो, अनि स्‍वर्गीय स्‍थानहरूमा ख्रीष्‍ट येशूसँग बसाल्‍नुभयो” (एफिसी २:६)। अनि के तिनीहरूका हृदय व्याकुल हुनबाट रोकियो त? यसलाई हेर्दा, त्यस्तै भएजस्तो देखिन्छ! त्यहाँका स्थानीय मानिसहरूले चाहिँ ती चेलाहरू रक्‍सीले मातिएका होलान् भनी विचार गरे!

नयाँ करारको समयदेखि आजको दिनसम्म नै मानिसहरूले येशू भौतिक शरीरमा नै फर्किआउनुहुनेछ भनी अपेक्षा गरिरहेका छन्। धेरै धार्मिक अगुवाहरूले यो घटना हुने विशेष मिति तोकेका थिए। केही महत्वपूर्ण मितिहरू यहाँ दिइएका छन्:

अरूहरूले पनि यसबारेमा भविष्यवाणी गरेका छन्, र त्यो मितिहरू आउन बाँकी नै छ।

यसको सम्पूर्ण सूची प्राप्‍त गर्न Predictions for the Second Coming of Christ हेर्नुहोस्।

येशू निकट भविष्यमा फर्किआउनुहुनेछ भनी विश्‍वास गर्नु (र त्यो गलत हुँदै जानु!); यसले मानिसको जीवनमा विघटनकारी असरहरू पर्न सक्छन्। त्यसो भएमा भविष्यको सबै तयारी व्यर्थ हुन जान्छ। किन रुपैयाँ-पैसा बचाउने? किन घर किन्‍ने? किन अझै पढ्ने? यदि तपाईंले आफ्नो तालिम पूरा गर्नुभन्दा पहिले येशू आउनुहुन्छ भने किन नर्स अथवा डाक्टर अथवा पास्टरको तालिम लिने? यदि तपाईं अविवाहित हुनुहन्छ भने त यो त्यति गम्भीर समस्या नहोला, तर यदि तपाईंसँग पारिवारिक जिम्मेवारीहरू छन् भने त्यसले तपाईंलाई विनासकारी अवस्थामा पुर्‍याउन सक्छ।

म आफ्नो अनुभव बताउन चाहन्छु। आफ्नो जवानी अवस्थामा मैले येशू चाँडै नै आउनुहुनेछ भनी विश्‍वास गर्दथेँ। सन् १९६८ मा सेवकाइको निम्ति म नेपालतिर उडेँ, र मेरो हवाइजहाज अगाडि बढ्दैगर्दा मैले अन्तिमपटक डोभरको सेतो चुचुरोलाई फर्केर हेरेँ। त्यसको पाँच वर्षपछि मेरी पत्‍नी, दुई जना साना बच्‍चाहरू र दुई वटा झोला बोकेर म बेलायत फर्किएँ तर येशू भने अझै फर्केर आउनुभएको थिएन; त्यतिबेला मसँग रुपैयाँ-पैसा थिएन र काम गर्न कुनै तालिम र सीप पनि थिएन। त्यतिबेला परमेश्‍वर मप्रति अनुग्रही हुनुभयो र हाम्रो सबै खाँचोहरू पूरा गरिदिनुभयो जसले गर्दा हाम्रा बाल-बच्‍चाहरूले दु:ख-कष्ट भोग्‍नु परेन; तर म अरूहरूलाई त्यस्तै गर भनेर सल्लाह दिन चाहन्‍नँ।

प्रभुको आगमन भन्‍ने लेखमा मैले यस विषयलाई अझै विस्तृतरूपमा चर्चा गरेको छु।

प्रकाशको पुस्तक

हामीले यस लेखलाई उत्पत्तिको पुस्तकबाट सुरु गर्‍यौँ र अब हामी प्रकाशको पुस्तकतिर जानैपर्छ। के हामीले यस पुस्तकलाई शाब्दिकरूपमा लिनुपर्छ?

हामीले प्रकाशको पुस्तकमा दर्शनहरूको यस्तो श्रृङ्खला भेट्टाउँछौँ जसमा प्रशस्त मात्रामा साङ्केतिक कुराहरू छन्। यो कुरा स्पष्ट छ, कि ती दर्शनहरूको थुप्रै कुराहरूलाई शाब्दिकरूपमा लिन सकिँदैन। केही त्यस्ता कुराहरू यी हुन्:

प्रकाशको पुस्तकमा भएका यस्ता, र थुप्रै अरू भनाइहरू र चित्रहरूलाई शाब्दिकरूपमा लिन सकिँदैन। यस्ता भनाइहरूलाई शब्दिकरूपमा लिने, कि आत्मिकरूपमा लिने भनेर छुट्ट्याउन समस्या हुन्छ। यस्ता थुप्रै भनाइहरू सङ्ख्याहरूका बारेमा छन्; जस्तै:

बाइबलको अगमवाणीहरू भविष्यमा पूरा हुनेछन् भन्‍ने बारेमा थुप्रै पुस्तकहरू लेखिएका छन् र थुप्रै वेबसाइटहरू निर्माण गरिएका छन्। प्राय: तिनीहरूले प्रकाशको पुस्तकलाई आफ्ना आधार बनाएका छन्। केहीले चाहिँ ७ वर्षको महासङ्कष्टकालपछि हजार वर्षको राज्य आउनेछ भनी घोषणा गर्दछन्। खासगरी तिनीहरूको सामान्य शिक्षा भनेको पशुको छाप नभएमा कसैले पनि किन्‍न अथवा बेच्‍न पाउँदैन भन्‍ने हो।

अब सङ्ख्या ६६६ को बारेमा विचार गरौँ जुन हामी यस खण्डमा भेट्टाउँछौँ: “अनि त्‍यसले (पशुले) साना र ठूला, धनी र गरीब, फुक्‍का र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लगाउन लायो। त्‍यो छाप नभईकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्‍यो छापचाहिँ त्‍यस पशुको नाउँ वा त्‍यसका नाउँको संख्‍या हो। बुद्धिमत्ता यसैमा छ: जसको समझ छ, त्‍यसले त्‍यस पशुको संख्‍या जोडोस्‌, किनकि त्‍यो कुनै मानिसको संख्‍या हो, र यो संख्‍याचाहिँ छ सय छयसट्ठी हो” (प्रकाश १३:१६-१८)। मानिसहरूले साधारणतया यी शब्दहरूलाई शाब्दिकरूपमा विद्युतीय माध्येमको सङ्केत हो भनी अर्थ लगाउने गर्छन्, र योबिना मानिसहरूले किन्‍न अथवा बेच्‍न पाउने छैनन् भनेर तिनीहरू भन्दछन्।

तैपनि, हामीले त्यसको लगत्तै आउने यी शब्दहरूलाई हेर्नैपर्छ: “अनि मैले हेरेँ, र सियोन डाँडामा थुमा खडा हुनुभएको मैले देखेँ। उहाँको साथमा एक लाख चवालीस हजार थिए, जसका निधारमा उहाँको नाउँ र उहाँका पिताको नाउँ लेखिएका थिए” (प्रकाश १४:१)। यहाँ येशूको नाउँ (जसको सङ्ख्या ८८८ हो) मानिसहरूका निधारहरूमा लेखिनेछ भनेर बताइएको छ, तर कसैले पनि यो विद्युतीय माध्येमको सङ्केत हो भनेर सुझाव दिँदैनन्। निधारमा येशूको नाउँ लेखिनुको साँचो अर्थ ख्रीष्टको मन हुनु हो; र निधारमा ६६६ लेखिनुको साँचो अर्थचाहिँ पशुको मन हुनु हो भनेर म सुझाव दिन चाहन्छु।

के सियोन डाँडामा ठ्याक्‍कै १,४४,००० मानिसहरू खडा हुनेछन् त? अनि इस्राएलको १२ कुलहरूमध्ये प्रत्येक कुलबाट आश्‍चर्यमय ढङ्गबाट १२,००० यहूदीहरू जम्मा होलान् त? इस्राएलको हराइसकेका १० कुलहरू पत्ता लाग्ला त? यहाँ सियोन डाँडा र सङ्ख्या १,४४,००० को आत्मिक अर्थ खोज्‍नु असल हुनेछ भनी म विश्‍वास गर्दछु।

यस विषयलाई मैले ६६६ र ८८८ भन्‍ने लेखमा व्याख्या गरेको छु।

७ वर्षको महासङ्कष्टकालपछि आउने १,००० वर्षको राज्यमा येशूले शासन गर्नुहुनेछ भन्‍ने कुरालाई प्रकाशको पुस्तकमा उल्लेखित सङ्ख्यात्मक अवधिहरूलाई शाब्दिक रूपमा अर्थ लगाएर साधारण किसिमले शिक्षा दिने गरिन्छ। हामीले यस्ता कुराहरूको अर्थ खोल्दा निकै सावधान हुनुपर्छ।

शाब्दिक अर्थ खोलाइको अरू समस्याहरू

धर्मशास्‍त्रको हरेक शब्दलाई शाब्दिकरूपमा लिँदा आइपर्ने समस्याहरूमा म ध्यान दिन चाहन्छु।

व्यक्तिगत विश्‍वसनीयता

निकै धेरै मानिसहरूका निम्ति, ब्रह्माण्ड ६,००० वर्षपहले सृष्टि गरिएको थियो भन्‍नेहरू अर्को ग्रहमा बसिरहेका हुन सक्छन् (शाब्दिकरूपमा नै त्यस्तो हुन सक्छन्!)। यदि तपाईंले बाइबल नपढेको साथीहरूलाई नोआले बनाएको ठूलो जहाजमा ८ जना मानिसहरू थिए अनि संसारको सबै जनावारहरू, चराहरू र किराहरूको जोडी-जोडी एक वर्षसम्म एकसाथ मिलेर बसे, खाए, कसरत गरे र सुते ; र तिनीहरू विश्‍वव्यापी जलप्रलयको महाविपत्तिबाट बाँचेँ भनेर बताउनुभयो भने उनीहरूले तुरुन्तै तपाईंको दिमाग बिग्रेछ भनी अनुमान लगाउनेछन्। र तपाईंप्रति उनीहरूको विश्‍वसनीयता निकै तल झर्नेछ। त्यसपछि तपाईंले विश्‍वास गरेको र बताएको कुनै कुरा सुनेर उनीहरू समय खेर फाल्न चाहँदैनन्।

व्यक्तिगत विश्‍वास

"सृष्टिवाद"को शिक्षा पाएर हुर्किएका केही जवानहरू विश्‍वविद्यालयमा पुगेपछि गम्भीर सङ्कटमा पर्नेछन्। त्यहाँ गएपछि तिनीहरूले विकासवाद, पृथ्वीको आयु र अरू यस्तै वैज्ञानिक शिक्षाहरू सुनेर आफ्नो विश्‍वास गुमाउँछन्। यदि तिनीहरूको विश्‍वास येशू चट्टान हुनुहुन्छ भन्‍ने बलियो जगमा निर्माण भइसकेको छ भने कुनै समस्या हुँदैन। यदि तिनीहरूले बाइबलको शाब्दिक बुझाइलाई आफ्नो चट्टान र जग बनाएको रहेछन् भने गम्भीर खतरामा पर्नेछन्। यदि तिनीहरूले विश्‍वासलाई गुमाए भने, आफ्नो मण्डलीमा पाएको शिक्षालाई होइन बरु विज्ञानलाई दोष लाग्‍नेछ।

मेरा छोरा र छोरीले विश्‍वविद्यालयमा भूविज्ञान र जीवविज्ञान अध्ययन गरे; बाइबलको हरेक शब्दलाई शाब्दिकरूपमा लिनेहरूका निम्ति यी दुई विषयहरू अति खराब हुन्। उनीहरूले आफ्नो विश्‍वास नबिगारीकन कलेजको पढाइ समाप्‍त गरे।

विज्ञान

हामी महत्वपूर्ण विषय- विज्ञानतर्फ फर्किनैपर्छ किनभने यसले मानव जीवनमा ठूलो प्रभाव पार्दछ।

बाइबलको भागहरूलाई, विशेषगरी उत्पत्तिको पुस्तकको सुरुका १२ वटा अध्यायहरूलाई शाब्दिकरूपमा अर्थ लगाइँदा, त्यसले सजिलै विज्ञान र वैज्ञानिकहरूलाई इन्कार गर्न लगाउँछ, र त्यसले पक्‍कै सम्भावित विनाशकारी परिणामहरूलाई निम्त्याउँछ।

केही मानिसहरू भन्दछन्, “यदि विज्ञान बाइबलसँग सहमत हुँदैन भने, विज्ञान गलत हो।” वास्तवमा तिनीहरूले यसो भनिरहेका हुन्छन्, “बाइबलको अर्थ खोल्ने मेरो तरिकासँग यदि तथ्यहरू सहमत हुँदैनन् भने, ती तथ्यहरू नै गलत हुन्।”

अङ्ग्रेजी शब्द science ल्याटिन भाषाको scientia शब्दबाट आएको हो, जसले सामान्यतया ज्ञानलाई बुझाउँछ। विज्ञान भनेको तथ्यहरूको ज्ञान हो- यो सिद्धान्तहरू, अथवा अवधारणाहरू, अथवा परिकल्पनाहरू होइन तर ठोसरूपमा प्रमाणित भएका तथ्यहरू हो। संसार गोलो छ; यो आफ्नै कक्षमा घुम्छ अनि यसले सूर्यलाई परिक्रमा गर्छ। यी भनाइहरू सिद्धान्त अथवा परिकल्पना होइन तर सजिलै प्रमाणित गर्न सकिने तथ्यहरू हुन्। पृथ्वी, सूर्य र ब्रह्माण्ड ६ हजार वर्षभन्दा निकै पुराना हुन्; तिनीहरू ६ करोड वर्षभन्दा पनि पुराना हुन्। यो भनाइ सिद्धान्त होइन तर तथ्य । यो तथ्य हो किनभने विज्ञानको फरक-फरक शाखाहरूको अध्ययन र अनुसन्धानले यही निष्कर्ष निकाल्छ।

आजभन्दा २०० वर्षपहिले कल्पनासम्म नगरिएका टेलिभिजन, स्मार्टफोन, इन्टरनेट, हवाइ यात्रा, अन्तरिक्ष यात्रा, आधुनिक चिकित्साजस्ता कुराहरू अहिले मानिसको दैनिक जीवनको भाग भइसकेका छन्। यी सबै कुराहरू विज्ञानको तीन वटा शाखाहरूद्वारा निर्माण भएका हुन्: भौतिक विज्ञान, रसायन विज्ञान र जीव विज्ञान। यी सबै आधुनिक प्रविधिको असाधारण सफलताले विज्ञानमा भर पर्नु ठिक हो भनेर प्रमाणित गर्दछ।

बाइबललाई शाब्दिकरूपमा अर्थ लगाउने कुरामा विवाद गरी विज्ञान र वैज्ञानिकहरूलाई बरखास्त गर्ने मानिसहरू निकै खतरापूर्ण सतहमा हिँडिरहेका हुन्छन्। तिनीहरूले सत्यलाई इन्कार गर्दैछन्। ढिलो होस् अथवा चाँडो होस्, सत्यको इन्कारले झूटमा विश्‍वास गर्न लगाउँछ।

हालसालै विभिन्‍न मुलुकहरूमा उत्तम दिमाग भएका वैज्ञानिकहरूले ठूलो मात्रामा समय र पैसा खर्च गरेर दुई वटा अति महत्वपूर्ण विषयहरूमा अनुसन्धान गरिरहेका छन्: Covid 19 र Global Warming (विश्‍वव्यापी उष्णता)। उनीहरूले यी दुई क्षेत्रहरूमा तथ्यहरू खोजिरहेछन्। उनीहरू यसमा सहमतिमा पुगेपछि, ती तथ्यहरू जीवन-रक्षा गर्ने सत्यताहरू बन्‍नेछन्। यस्ता जीवन-रक्षा गर्ने सत्यतालाई तिरस्कार गर्ने व्यक्तिहरू चाहे धार्मिक अगुवाहरू होस्, अथवा राजनेताहरू होस्, तिनीहरू ठूलो मात्रामा मृत्युको जिम्मेवार हुने सम्भावना रहन्छ।

आजकल षडयन्‍त्रकारी सिद्धान्तहरूको तरङ्गको बाढी इन्टरनेट र सामाजिक सञ्‍जालमा आएको छ। ती सिद्धान्तहरूले आफ्नो बचाउको निम्ति विज्ञानप्रति अनभिज्ञ रहन आह्‍वान गर्दछन्। हामी विज्ञानमा भरोसा गर्न सक्दैनौँ भन्‍ने प्रारम्भिक झूटलाई प्राय: बाइबलको हरेक शब्द शाब्दिकरूपमा लिने मानिसहरूले जोगाउन खोजिरहेका छन्। यसरी सत्यलाई प्रचार गर्नुपर्ने बाइबल विश्‍वासीहरू झूटो प्रचारको पछाडि लागिरहेका छन्। शाब्दिक झूटहरूले शाब्दिक मृत्युतिर डोर्‍याउन सक्छन्। आत्मिक झूटहरूले आत्मिक मृत्युतिर डोर्‍याउन सक्छन्।

निष्कर्ष

बाइबलको हरेक शब्दलाई विश्‍वास गर्नु भनेको हाम्रो विश्‍वासको सही जग बसाल्‍नुजस्तो देखिन्छ। हामीले आफ्नो जीवन निर्माण गर्ने चट्‍टान बाइबल होइन र? पावलको भनाइअनुसार पक्‍कै होइन। यस सन्दर्भमा उनका शब्दहरू यस्ता छन्, “किनकि जुन जग बसालिसकिएको छ, जो येशू ख्रीष्‍ट हुनुहुन्‍छ, त्‍यसबाहेक कुनै मानिसले अर्को जग बसाल्‍न सक्‍दैन” (१ कोरिन्थी ३:११)। धर्मशास्‍त्रले अरू थोकहरूलाई होइन, तर येशूलाई देखाउँछ।

बाइबलको कुन-कुन शब्दहरूलाई शाब्दिकरूपमा लिने अनि कुन-कुन शब्दहरूलाई आत्मिकरूपमा लिने भनेर कसरी हामीले जान्‍न सक्छौँ? खुसीको कुरा, त्यसको उत्तर हामीसँग छ: “लेखकलाई सोध्‍नुहोस्!” गम्भीररूपमा भन्‍नुपर्दा, त्यो नै सही र एउटा मात्र उत्तर हो।

येशूका चेलाहरू उहाँका शब्दहरू बुझ्‍न घरी-घरी असफल भए। उहाँले त्यो कुरा जान्‍नुभयो र उहाँले उक्त समस्याको उत्तर यसरी दिनुभयो: “मैले तिमीहरूलाई भन्‍ने कुरा अझ धेरै छन्‌, तर अहिले तिमीहरू ती कुरा सहन सक्‍दैनौ। जब उहाँ, अर्थात्‌ सत्‍यका आत्‍मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्‍यतामा डोर्‍याउनुहुनेछ” (यूहन्‍ना १६:१२,१३)।

इम्माउसको बाटोमा येशूले आफ्ना दुई चेलाहरूका निम्ति धर्मशास्‍त्रको अर्थ खोलिदिनुभयो (लूका २४:३२)। स्वभाविक मानिसको समझमा, धर्मशास्‍त्र बन्द गरिएको पुस्तक हो; र त्यो (बन्द गरिएको पुस्तक) आत्मिक जीवन निर्माण गर्ने असल जग होइन!

पवित्र आत्माले मात्र बन्द गरिएको पुस्तक हाम्रो निम्ति खोलेर त्यसमा भएका बहुमूल्य अनि प्रेरणायुक्त वचनहरू कसरी बुझ्ने भनेर सिकाउन सक्‍नुहुन्छ। र उहाँले यसो गर्नु नै हुनेछ!


अनुवादक: श्याम श्रेष्ठ

सन्दर्भहरू

यो पुस्‍तकलाई रंगिन [Color] छाप्‍ने फाइल

यो पुस्‍तकलाई श्‍याम-स्‍वेत [Black & White] छाप्‍ने फाइल

कसरी छाप्ने