मल्कीचेदेकको पूजाहारीपन

मल्कीचेदेक को थिए?

मल्‍कीचेदेक (उस्को ठिक हीब्रू हिज्जे त्यस्तो छ) भन्‍ने व्‍यक्ति पुरानो करारमा उल्लेख गरिएका मुख्‍य र प्रख्‍यात चरित्रहरूमा पर्दैनन्। त्‍यहाँ दुईपटक मात्र उनको विषयमा चर्चा गरिएको हामी पाउँदछौँ। उत्‍पत्ति १४:१८-२० मा उनको विषयमा छोटो रूपमा वर्णन गरिएको छ : अनि शालेमका राजा मल्‍कीचेदेक रोटी र दाखमद्य लिएर अब्रामकहाँ आए। उनी सर्वोच्‍च परमेश्‍वरका पूजाहारी थिए। उनले अब्रामलाई यसो भनेर आशीर्वाद दिए, “स्‍वर्ग र पृथ्‍वी सृष्‍टि गर्नुहुने सर्वोच्‍च परमेश्‍वरबाट अब्रामलाई आशिष् मिलोस्‌। सर्वोच्‍च परमेश्‍वर धन्‍यका होऊन्, जसले तिम्रा शत्रुलाई तिम्रा हातमा सुम्‍पिदिनुभयो।” अनि अब्रामले उनलाई सबै थोकको दशांश दिए। त्‍यसपछि भजनसंग्रह ११०:४ मा उनको विषयमा हामी यस्तो प्रकारको बुझ्ने गाह्रो कुरा पाउँदछौँ: परमप्रभुले शपथ हाल्‍नुभएको छ, र आफ्‍नो मन बदल्‍नुहुनेछैन, “मल्‍कीचेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्ति पूजाहारी हौ।”

यति थोरै जानकारीको आधारमा मल्‍कीचेदेकलाई नयाँ करारमा देख्‍ने कुरा सायद तपाईं अपेक्षा गर्नुहुन्‍न, तर त्‍यस्‍तो विचार गर्नु गलत हो! वास्‍तवमा उनको बारेमा पुरानो करारमा भन्‍दा नयाँ करारमा अझ धेरै कुराहरू उल्‍लेख गरिएको छ! हिब्रूको पत्रको लेखकले यस विषयमा शक्तिशाली प्रकाश पाए।

येशू कसरी प्रधान पूजाहारी हुन सक्नुहुन्यो‍ ?

येशू को हुनुहुन्‍थ्‍यो, र उहाँले आफ्‍नो जीवन, मृत्‍यु र पुनरुत्‍थानद्वारा के पूरा गर्नुभएको थियो भन्‍ने कुरा वर्णन गर्नको लागि एक अज्ञात लेखकले हिब्रूको पत्र लेखे। अध्यालय १ मा उनले येशूलाई स्‍वर्गदूतहरूसँग तुलना गरे अनि उहाँ तिनीहरूभन्‍दा महान् हुनुहुन्‍छ भन्‍ने तथ्‍य प्रस्‍तुत गरे। त्‍यसैगरी अध्‍याय ३ मा उनले येशूलाई मोशासँग, अध्‍याय ४ मा यहोशूसँग र अध्‍याय ५ मा हारूनसँग तुलना गरे। येशू ती सबै व्यक्तिहरूभन्‍दा महान् हुनुहुन्‍छ भनेर त्‍यहाँ बताइएको छ। त्‍यसपछि लेखकलाई विषेश समस्‍या आइपर्‍यो। प्राचीन इस्राएलमा दुई ठूला पदहरू थिए: राजाको पद र प्रधान पूजाहारीको पद। जहिले पनि राजा यहूदाको कुलबाट अनि प्रधान पूजाहारीचाहिँ लेवीको कुलबाट आउँथ्‍यो। येशू यहूदाको कुलबाट आउनुभयो र उहाँ राजा दाऊदको वंशको हुनुहुन्‍थ्‍यो। यस कुराले उहाँलाई राजा हुन योग्‍य ठहरायो। यो कुरा स्‍पष्‍ट छ कि उहाँ लेवी कुलबाट आउनुभएको थिएन। त्‍यसोभए कसरी उहाँ प्रधान पूजाहारी बन्‍नको निम्‍ति योग्‍य हुनुहुन्‍थ्‍यो त?

यो समस्‍याको समाधान खोज्‍नको लागि सायद उक्त लेखक रातभरि सुत्‍न सकेनन्‌ होला! लेवी कुलको व्‍यक्ति मात्र पूजाहारी बन्‍न सक्‍छ भन्‍ने कुराको ज्ञान पाउँदै उनी हुर्केका थिए, र येशू लेवी कुलको हुनुहुन्‍थेन भन्‍ने कुरा उनलाई राम्रोसँग थाहा थियो। अनि यस विषयमा परमेश्‍वरले तिनलाई महत्‍वपूर्ण प्रकाश दिनुभयो। तिनले भजनसंग्रह ११० मा भएका यी शब्‍दहरू याद गरे: परमप्रभुले शपथ हाल्‍नुभएको छ, र आफ्‍नो मन बदल्‍नुहुनेछैन, “मल्कीचेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्ति पूजाहारी हौ।” यो अर्को किसिमको पूजाहारीपन थियो! त्यसोभए के येशू मल्‍कीचेदेकको पूजाहारीपनअनुसारको पूजाहारी हुनुहुन्‍थ्‍यो त?

त्यो अर्को किसिमको पूजाहारीपनचाहिँ के थियो त? अनि मल्‍कीचेदेक भन्‍ने व्‍यक्ति को थिए? त्यतिबेला इस्राएलमा लेवी कुलका पूजाहारीहरू सबैतिर थिए। तिनीहरूको बारेमा सबैलाई थाहा थियो, जस्तै: अहिले रोमन क्याथोलिक पूजाहारीहरू अथवा नेपाल र भारतमा भएका ब्राम्‍हण पूजाहारीहरूको बारेमा प्राय: सबैलाई थाहा छ। तर किन त्यहाँ मल्‍कीचेदेक पूजाहारीहरू थिएनन्‌? अथवा के तिनीहरू त्यहाँ थिए?

यी प्रश्निहरूका उत्तरहरूबारे उत्पअत्ति १४ अध्या यमा चर्चा गरिएका छन्‌। हामी त्‍यस खण्‍डलाई फेरि हेरौँ। हामी त्‍यहाँ पढ्‌दछौँ कि जब अब्राहामले युद्ध गरी लोतलाई विदेशीको कब्‍जाबाट छुटाएर ल्‍याउँदै थिए, त्‍यसै क्रममा तिनले मल्‍कीचेदेकलाई भेट गरे। अनि शालेमको राजा मल्‍कीचेदेक, जो सर्वोच्‍व परमेश्‍वरका पूजाहारी हुनुहुन्‍थ्‍यो अब्रहामलाई भेट गर्न आउँदा रोटी र दाखमद्य लिएर आउनुभयो। उहाँले यसो भनेर आशिष् दिनुभयो, “स्‍वर्ग र पृथ्‍वी सृष्‍टि गर्नुहुने सर्वोच्‍च परमेश्‍वरबाट अब्रामलाई आशिष् मिलोस्‌। सर्वोच्‍च परमेश्‍वर धन्‍यका होऊन्, जसले तिम्रा शत्रुलाई तिम्रा हातमा सुम्‍पिदिनुभयो।” अनि अब्रामले उनलाई सबै कुराको दशांश दिए।

उक्त लेखकले पहिले मल्‍कीचेदेक सर्वोच्‍च परमेश्‍वर, जसलाई हिब्रू भाषामा एल-एल्‍योण (El Elyon) भनिन्‍छ, उहाँको पूजाहारीको रूपमा देखे। त्‍यसपछि तिनले मल्‍कीचेदेक लेवीभन्‍दा उच्‍च अथवा महान्‌ हुन्‌ भन्‍ने कुरा देख्‍न सके किनभने अब्राहाम लेवीहरूका पुर्खा थिए र उनले मल्‍कीचेदेकलाई दशांश दिए। हिब्रू ७:४-७ मा हामी यसरी पढ्‍दछौँ: अब विचार गर त, यिनी कस्‍ता महान्‌ पुरुष थिए, जसलाई अब्राहाम कुलपिताले पनि विजयमा हासिल गरेका थोकहरूको दशांश दिए? पूजाहारी पदमा नियुक्त भएका लेवी वंशका मानिसहरूले आफ्‍नै दाज्‍यू-भाइहरूबाट दशांश लिने आज्ञा व्‍यवस्‍थाबमोजिम पाएका थिए, यद्यपि तिनीहरू पनि अब्राहामकै सन्‍तान थिए। तर लेवीका वंशावलीमा नपर्ने यिनै मानिसले अब्राहामबाट दशांश लिएका हुन्‌, र प्रतिज्ञाहरू पाउनेलाई नै यिनले आशिर्वाद दिएका हुन्। यसमा विवाद गर्ने केही कुरै छैन, कि सानाले ठूलाबाट आशीर्वाद पाउँछ। त्‍यसैले लेवी कुलको पूजाहारीपनभन्‍दा मल्‍कीचेदेकको पूजाहारीपन ठूलो र श्रेष्‍ठ थियो भन्‍ने कुरा स्‍पष्‍ट हुन्‍छ।।

यसरी समस्या समाधान भयो! “मल्‍कीचेदेकको दर्जाअनुसार येशू सधैँको लागि प्रधान पूजाहारी हुनुभएको थियो” (हिब्रू ६:२०)!

अरू पूजाहारीहरू

येशू मल्‍कीचेदेकको दर्जाअनुसारको प्रधान पूजाहारी हुनुहुन्‍छ, तर के उहाँ मात्र पूजाहारी हुनुहुन्‍छ त? पक्‍कै होइन! जबसम्‍म सामान्य पूजाहारीहरू हुँदैनन्‌, तबसम्‍म प्रधान पूजाहारीको कुनै अर्थ रहँदैन। अनि यो कुरा स्पनष्टस छ, कि निम्‍न स्‍तरका पूजाहारीहरूविना उच्‍च अथवा मुख्‍य पूजाहारी पाउन सकिन्‍न। अझै यस कुरालाई स्‍पष्‍ट पार्ने हो भने पूजाहारीहरूलाई दर्जाअनुसार वर्गिकरण गर्नको लागि अरू पूजाहारीहरू हुनुपर्दछ, जसले आफूभन्‍दा उच्‍च स्‍तरको पूजाहारीलाई पछ्याउनुपर्दछ। यस कुराको स्पष्ट तात्‍पर्य यही हो कि येशू मात्र मल्‍कीचेदेकको दर्जाअनुसारको पूजाहारी हुनुहुन्‍न बरु उहाँ त पूजाहारीहरूको नयाँ दर्जाअनुसार प्रथम अनि मुख्‍य पूजाहारी हुनुहुन्‍छ।

अब अरू पूजाहारीहरूचाहिँ को-को हुन्‌ त? हिब्रूको पत्रको लेखकले मल्‍कीचेदेकको दर्जाअनुसारको प्रधान पूजाहारी, येशूको बारेमा मात्र लेखेका छन्‌ तर पत्रुसले यस विषयमा अझ बढी प्रकाश पाए। “तर तिमीहरू त चुनिएका वंश राजकीय पूजाहारीहरू, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्‍धकारदेखि उहाँका उदेकको ज्‍योतिमा ल्‍याउनुभयो, ताकि तिमीहरू उहाँका आश्‍चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक” (१ पत्रुस २:९)। परमेश्‍वरले हामीलाई पूजाहारीहरू हुनको निम्‍ति बोलाउनुभएको छ, तर त्‍यति मात्र होइन मल्कीमचेदकजस्तैन अर्थात्‌ येशूजस्‍तै राजकीय पूजाहारीहरू हुनको निम्‍ति उहाँले हामीलाई बोलाउनुभएको छ।

नयाँ पूजाहारीपनको भिन्नताहरू

अब पूजाहारीपनसम्‍बन्‍धी यी दुई बाइबलीय दर्जाहरूको बीचमा हुने महत्‍वपूर्ण भिन्‍नताहरू के-के हुन्‌ त? अनि हामीमा यस्‍तो प्रश्‍न हुनसक्‍छ: अरू प्रकारका पूजाहारीपनहरू, जस्‍तै: रोमन क्‍याथोलिक र हिन्‍दू धर्मको ब्राम्‍हण पूजाहारीपनहरूलाई कसरी तिनीहरूसँग तुलना गर्न सकिन्‍छ?

अब हामी यी पूजाहारीपनहरूको फरक पक्षहरूलाई हेर्नेछौँ ।

स्‍वर्गीय पूजाहारीपन

मल्‍कीचेदेकको पूजाहारीपन र लेवीहरूको पूजाहारीपनको बीचमा हुने एउटा आधारभूत भिन्‍नताको मुनि अरू भिन्‍नताहरू पर्दछन्‌। त्‍यो के हो भने मल्‍कीचेदेकको पूजाहारीपन स्‍वर्गीय पूजाहारीपन हो। लेवीहरूको पूजाहारीपनचाहिँ सांसारिक पूजाहारीपन थियो, जुन अन्‍य पूजाहारीपनहरूसँग मिल्‍दछ। हिब्रू ८ अध्‍यायले यस भिन्‍नतालाई देखाउँदछ, १ र २ पदमा हामी यसरी पढ्‍दछौँ: “... हाम्रा यस्‍ता प्रधान पूजाहारी हुनुहुन्‍छ, जो स्‍वर्गमा महान्‌ परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्‍छ। मानिसले होइन, तर परमप्रभुले खडा गर्नुभएको पवित्रस्‍थान, साँचो पवित्र वासस्‍थानमा उहाँ सेवक हुनुहुन्‍छ।” लेवी कुलका पूजाहारीहरूको बारेमा ५ पदमा यसरी लेखिएको छ: “तिनीहरूले स्‍वर्गीय पवित्रस्‍थानको नकल र छायाको सेवा गर्दछन्‌।” छाया भनेको मूल (मौलिक) कुराको नकल हो। त्‍यसको आकार त्‍यस्‍तै हुन्‍छ तर त्‍यसमा वास्‍तविक मूल तत्‍वको चाहिँ अभाव (कमी) हुन्‍छ। उदाहरणको लागि कुनै वस्‍तुको तस्‍वीरलाई लिन सकिन्‍छ। त्‍यसलाई हेर्दाखेरी मौलिक वस्‍तुजस्‍तै देखिन्‍छ तर वास्‍तवमा त्‍यो जीवनरहित कुरा भएकोले गर्दा केही काम गर्न सक्‍दैन।

पूजाहारी हुनुको अर्थ के हो भन्‍ने कुरा प्रदर्शन गर्नको निम्‍ति परमेश्‍वरले मोशाद्वारा लेवीहरूलाई पूजाहारीपन अभिषेक गर्न लगाउनुभयो। परमेश्‍वरले त्‍यो काम अस्‍थाइ रूपमा गर्न लगाउनुभयो र सधैँको लागि त्‍यो कुरा कायम गराउने उहाँको अभिप्राय थिएन। जब साँचो पूजाहारीपन प्रकट हुने समय आयो, तब त्‍यसको उद्देश्‍य पूरा भयो र उक्त पूजाहारीपनको अन्‍त भयो। त्‍यो प्रक्रिया पुरानो करारको एक भाग थियो, जुन परमेश्‍वरले यस संसारमा आफूले चुन्‍नुभएको मानिसहरू अर्थात्‌ इस्राएलीहरूद्वारा पूरा गराउनुभयो।

पूजाहारीहरूको छनौट

लेवी कुलका पूजाहारीहरूलाई कसरी छनौट गरिन्यो् भनी केही चर्चा गरौँ।

हिन्‍दू धर्मको ब्राम्‍हण पूजाहारीपनजस्‍तै लेवी पूजाहारीपन विशेष कुल अथवा जातिमा सीमित पारिएको थियो र त्‍यो कार्याभार बाबुबाट छोरामा हस्‍तान्‍तरण हुँदैजान्‍थ्‍यो। लेवी कुलको व्‍यक्ति मात्र पूजाहारी पदमा नियुक्त हुन सक्‍थ्‍यो। हारून लेवी कुलको पहिलो पूजाहारी थिए। तिनलाई प्रधान पूजाहारीको पदमा नियुक्त गर्नको लागि परमेश्‍वरले मोशालाई निर्देशन दिनुभयो। यसको पहिलो चर्चा हामी प्रस्‍थान २८:३ पाउँदछौ: “जति शिल्‍पकारहरू छन्‌, जसलाई यस्‍ता कुरामा मैले बुद्धिले परिपूर्ण पारेको छु, तिनीहरूलाई तैंले भन्‍नू, कि तिनीहरूले हारूनका पोशाक त्‍यसलाई यो कामको निम्‍ति नियुक्त गर्नलाई बनाऊन्‌, र त्‍यसले पूजाहारीको पदमा मेरो सेवा गरोस्‌।” त्‍यसपछि पूजाहारीपन हारूनको छोराहरू र तिनीहरूका सन्‍तानहरूमा सर्दै गयो। नेपाल र भारतमा भएका ब्राम्‍हण पूजाहारीपन पनि त्‍यस्‍तै प्रकारले एक पुस्‍तादेखि अर्को पुस्‍तामा सर्दै गएको देख्‍न सकिन्‍छ।

पूजाहारीपनको यस्तो व्‍यवस्‍थामा त्रुटि र कमजोरीहरू हुन्छन्‌। पहिलो पूजाहारी हारून परमेश्‍वरप्रति विश्‍वासयोग्‍य धार्मिक मानिस थिए। अरू धेरै लेवी पूजाहारीहरूले असल र धार्मिक जीवन जिएर हारूनको उदाहरणलाई पछ्याए। तर दु:खलाग्‍दो कुरा के हो भने अरू धेरै पूजाहारीहरूले भने त्‍यसो गरेनन्‌। दोस्रो पुस्‍ताका पूजाहारीहरू, नादाब र अबीहूले परमेश्‍वरले आज्ञा नगर्नुभएको 'अनौठो प्रकारको आगो' उहाँलाई चढाए, जसको कारणले गर्दा तिनीहरूको मृत्‍यु भयो (लेवी १०:१)। असल पिताका सन्‍तानहरू सधैँ असल हुँदैनन्‌!

अनि पूजाहारीपन झन्‌ नराम्रो हुँदैगयो। येशूको समयमा कैयाफा नाम भएको मानिस यरूशलेमको प्रधान पूजाहारी थिए। तिनले येशूलाई मार्नुपर्दछ भनी यहूदीहरूलाई सल्लाह दिए अनि उहाँलाई मृत्युदण्ड दिनको लागि पिलातसको हातमा सुम्पिदिए।

राजतन्‍त्रमा पनि उस्‍तै प्रकारका समस्‍याहरू थिए। राजा दाऊदको राजकुललाई हेर्ने हो भने सायद उहाँ इतिहासको अति प्रख्यात राजा हुनुहुन्थ्यो। उहाँलाई प्रभुले धेरै प्रेम गर्नुहुन्थ्यो। उहाँको छोरा अर्थात् उत्तराधिकारी सलोमन पनि राम्रै थिए तर त्यसपछिको पुस्ताहरूचाहिँ राम्रा भएनन्‌। पछि उहाँको सन्तानहरूमा दुष्टता बढ्दैगयो र त्यसको फलस्वरूप राजा मनस्सेले यहूदीहरूमाथि परमेश्‍वरको न्यायलाई निम्त्याए। अनि यहूदा राज्यको अन्त भयो र यहूदीहरू बेबिलोनको कब्जामा गए।

परमेश्‍वरको राज्यको लागि मानवीय वंशमा आधारित हुने व्यवस्था उपयुक्त हुन सक्दैन। ईश्‍वरीय वंशद्वारा मात्र उहाँको राज्य ल्याउन सकिन्छ।

रोमन क्याथोलिक पूजाहारीपन पुरानो करारको व्यवस्‍था जस्तै छ। पोप र बिशपहरूको पदहरू निरन्तर रूपमा अरू नयाँ पोप र बिशपहरूमा सर्दैआइरहेको छ। येशूले पत्रुसलाई पहिलो पोपमा नियुत्त गर्नुभयो भनी तिनीहरू भन्‍ने गर्दछन्‌। त्यसबेलादेखि अहिलेसम्म नै पोप, बिशप र पूजाहारीहरूका पदहरू निरन्तगररूपमा एक व्यक्तिदेखि अर्को व्यक्तिमा हस्तान्त रण हुँदै आइरहेको छ।

यस व्यवस्थामा एकदमै खराब समस्याहरू छन्‌। पत्रुसलाई स्वयम्‌ येशूले छान्‍नुभयो, प्रेरित हुनको लागि बोलाउनुभयो र त्यो पदमा नियुक्त गर्नुभयो। परमेश्‍वरको सेवाको निम्ति उनले सुन्दर, उदाहरणीय र अचम्‍मको जीवन जिए। रोमन क्याथोलिक पोप, बिशप र पूजाहारीहरूले यद्यपि आफूलाई पत्रुसको अनुयायी र प्रतिनिधि हौँ भनी दाबी गरे तापनि त्यो कुरा सत्यताभन्दा धेरै टाढा छ। इतिहासलाई हेर्ने हो भने मानिसले कल्पना गर्न सक्‍ने सबै किसिमका पाप तिनीहरूले गरेका छन्‌। अनि हालसालैको खबरहरूद्वारा यो कुरा स्पष्‍ट हुन्छ कि रोमन क्याथोलिक पूजाहारीहरू पहिलेको भन्‍दा केही सुध्रिएका छन्‌। तिनीहरूका अनैतिक जीवनले तिनीहरू परमेश्‍वरद्वारा अभिषेक भएका होइनन्‌ भन्‍ने कुरालाई प्रमाणित गरेको छ। धेरै रोमन क्याथोलिक पूजाहारीहरूले इमान्‍दारीपूर्वक धार्मिक जीवन जिएको कुरामा सङ्‍का गर्न सकिँदैन, उनीहरू आफ्‍ना बगालको वास्ता र हेरचाह गर्ने अगुवा भएका छन्‌ तर त्यसो हुनु कदापि तिनीहरूको व्यवस्थाको कारणले गर्दा होइन।

मल्कीचेदेकको पूजाहारीपनमा यस्तो प्रकारको कुनै समस्या हुँदैन। यो पनि पिताबाट पुत्रमा सरेर जाने वंशानुगत पुजाहारीपन हो तर यहाँ स्मरणयोग्य कुरा के छ भने पिता भनेको परमेश्‍वर हुनुहुन्छ अनि पहिलो पुत्रचाहिँ स्वयम्‌ येशू! र येशू धेरै भाइहरूमध्ये जेष्ठ हुनुहुन्छ भनी पावल भन्दछन्‌ (रोमी८: २९)।

मल्कीचेदेकको बारेमा अध्ययन गर्दा पुरानो करारको अरू धेरै व्यक्तिहरूजस्तो उहाँको वंशावली पाइँदैन। उहाँको सांसारिक माता-पिताको बारेमा कुनै कुरा उल्लेख गरिएको छैन र त्यसैगरी उहाँको जन्म र मृत्युको बारेमा पनि कुनै जानकारी पाउन सकिँदैन। हिब्रू ७:३ मा उहाँको बारेमा यसरी लेखिएको छ: “विनापिता, विनामाता, विनावंशावली, जीवनको आदि र अन्त्य नभएका, तर परमेश्वरका पुत्र स्वरूप, यिनी सदाकाल पूजाहारी भइरहन्छन्।” यसलाई अर्को शब्दमा भन्ने हो भने उहाँ दुई किसिमले येशूजस्तो हुनुहुन्थ्यो। पहिलो, सामान्य रूपमा लेवी कुलका पूजाहारीहरूले जस्तो गरी उहाँले आफ्नो सांसारिक पिताबाट पूजाहारीपनको उत्तराधिकार प्राप्त गर्नुभएन, तर त्यसलाई सीधै परमेश्‍वरबाट ग्रहण गर्नुभयो। दोस्रो, उहाँको पूजाहारीपन सदासर्वदाको लागि स्थिर रहन्छ।

मल्कीचेदेकले आफ्नो कामको निम्ति आवश्यक योग्यताहरू पनि प्रदर्शन गर्नुहुन्छ। हिब्रू ७:२ मा हामी उहाँको बारेमा यसरी पढ्दछौँ: “यिनको नाउँको अर्थअनुसार यिनी पहिले धार्मिकताका राजा र त्यसपछि चाहिँ शालेमका राजा हुन्‌, अर्थात् शान्तिका राजा।” (हिब्रू भाषामा ‘मेलेक’ भनेको राजा हो र ‘चेदेक’ भनेको धार्मिकता हो।) साँच्‍चै भन्‍ने हो भने हामी यस्तो गुण र योग्यताहरू येशूमा देख्दछौँ। उहाँ धार्मिकताका राजा र शान्तिका राजकुमार हुनुहुन्छ। उहाँमा कुनै पाप थिएन अनि मानिस र परमेश्‍वरको बीचमा मिलाप गराउनको लागि पूजाहारीको काम पूरा गर्न उहाँ आउनुभयो। येशू पूजाहारी हुनुभयो भन्‍ने बारेमा हिब्रू ७:१६ हामी यसरी पढ्‍दछौँ: “जो पुख् र्यौलीसम्‍बन्‍धी नियमको आधारमा होइन, तर अविनाशी जीवनका शक्तिको आधारमा पूजाहारी बनेका छन्‌।”

मैले छोटकरीमा यो कुरा चर्चा गर्नु नै पर्दछ कि आफूसँग 'मल्‍कीचेदेकको पूजाहारीपन' छ भनी मर्मनहरू दाबी गर्दछन्‌। तैपिन तिनीहरूसँग बाइबलमा उल्लेाख गरिएको मल्कीचेदेकको पूजाहारीपन छैन। मर्मनहरूले धर्मशास्‍त्रमा उल्‍लेख भएको पदहरू र शब्‍दहरूलाई प्रयोग गर्ने गर्दछन्‌, जुन कुरा रोमन क्याथोलिकहरूसँग त्यति मिल्‍दैन। तैपनि साँचो मल्‍कीचेदेकको पूजाहारीपनभन्‍दा तिनीहरू आत्‍मिक रूपमा रोमन क्याथोलिकहरूसँग निकै नजिक छन्‌। तिनीहरूको माझमा मानिसले निर्माण गरेको अर्कै व्यवस्थाहरूले स्थान ओगटेको छ, जुन देखावटीपन, घमण्‍ड र आडम्‍बरले भरिपूर्ण छ तर वास्तवमा भन्‍ने हो भने येशू प्रथम अनि प्रधान पूजाहारी हुनुभएको पूजाहारीपनको जस्तो तिनीहरूमा छैन।

पूजाहारीहरूको समर्पण

प्रस्थान २९ अध्‍यामा हामी हारून र तिनका छोराहरूलाई पूजाहारीको लागि समर्पण गरिएको घटनाबारे पढ्‍दछौँ। यो अति नै विशेष प्रकारको समारोह हो। उक्त समारोहको चार वटा भागहरू हुन्‍थे।

वास्‍तवमा उक्त समारोहको कुनै विशेष महत्‍व थिएन भन्‍ने कुरा हामी हेर्नेछौँ। त्यो त केवल स्वर्गीय वास्‍तविकताको (सत्‍यताको) सांसारिक छाया अथवा नकल मात्र थियो। समय आएपछि प्रकट गर्नको लागि परमेश्‍वरसँग अझ ठूलो कुरा थियो।

अब हामी समर्पणको ती भागहरू पहिले प्रधान पूजाहारी येशूमा अनि त्यसपछि उहाँलाई पछ्याउने पूजाहारीहरूमा कसरी पूरा हुन्‍छन्‌ भन्‍ने कुरालाई विचार गर्नेछौँ।

पानीले धुनु

प्रस्थान २९:४ मा परमेश्‍वरले मोशालाई यस्‍तो निर्देशन दिनुभयो: “त्यसपछि हारून र त्यसका छोराहरूलाई भेट हुने पालको ढोकानेर ल्याएर तिनीहरूलाई तैंले पानीले नुहाइदिनू।”

ती पूजाहारीहरूको लागि पहिलो आवश्‍यक्ता भनेको तिनीहरू सफा अर्थात् शुद्ध हुनुपर्दथ्यो। पूजाहारीको पोशाक पहिरिनुभन्‍दा पहिले तिनीहरू धोइनु पर्दथ्यो। वास्‍तवमा भन्‍ने हो भने त्यो क्रियाको आफैमा कुनै महत्‍व थिएन। पानीलाई चाहे बप्‍तिस्‍माको लागि अथवा अन्‍य कुराको लागि प्रयोग गरिएको होस्‌, यसले शरीरलाई मात्र सफा गर्न सक्छ तर यसले कहिले पनि मानिसको हृदय परिवर्तन गर्न सक्‍दैन। यसले प्रतिनिधित्‍व गर्ने र सङ्केत गर्ने कुराको मात्र महत्‍व राख्‍दछ। यो केवल स्व्र्गीय वास्तयविकताको सांसारिक छाया हो।

मत्ती ३:१३ मा हामी यो कुरा पढ्‍दछौँ: “तब येशू गालीलबाट यूहन्‍नाकहाँ तिनीद्वारा बप्‍तिस्मा लिन यर्दनमा आउनुभयो।” येशूलाई बप्‍तिस्मा दिन यूहन्‍ना इच्‍छुक थिएनन्‌ भन्‍ने कुरा हामी बुझ्‍न सक्‍छौँ। आफू त्यस कामको लागि योग्‍य छैन भन्‍ने कुरा तिनले विचार गरे। अनि १४ र १५ पदमा हामी पढ्‍दछौँ: “तर यूहन्‍नाले यसो भनेर उहाँलाई रोक्‍न खोजे, 'बरु मलाई पो तपाईंबाट बप्‍तिस्मा लिनु आवश्यक छ, र के तपाईं मकहाँ आउनुहुने?” तर येशूले तिनलाई भन्‍नुभयो, “अहिलेलाई यसै हुन देऊ। किनभने यसरी नै हामीहरूले सबै धार्मिकता पूरा गर्नुपर्दछ।” यद्यपि उहाँलाई बप्‍तिस्मा र धुने प्रक्रियाको आवश्‍यक्ता थिएन र पनि व्यवस्था पूरा गर्नको निम्‍ति त्यो विधि पालन गर्नै पर्छ भन्‍ने कुरा येशूलाई थाहा थियो। यूहन्‍ना लेवी पूजाहारीको छोरा भएकोले गर्दा परमेश्‍वरले उक्त कामको निम्‍ति तिनलाई चुन्‍नुभयो।

येशूलाई पछ्याउने पूजाहारीहरू त्यही बाटोमा हिँड्‍नुपर्दछ। त्यसको निम्‍ति प्रथम अनि आधारभूत कुराचाहिँ तिनीहरूको पाप धोइएको हुनुपर्दछ। बाहिरी सरसफाइले त्यो काम कदापि हुन सक्‍दैन। येशूले पत्रुसलाई यसो भन्‍नुभयो: “मैले तिमीलाई धोइदिइनँ भनेता मसित तिम्रो केही हिस्सा हुनेछैन।” प्रकाशको पुस्‍तकमा यूहन्‍नाले यस्‍ता व्यक्तिहरूको दर्शन देखे, जसले “आफ्‍ना-आफ्‍ना पोशाकहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्‌” (प्रकाश ७:१४)।

पूजाहारीको पोशाक

हारून र उसका छोराहरूलाई नुहाइसकेपछि हारूनलाई पूजाहारीको पोशाक लगाइदिनू भनी परमेश्‍वरले मोशालाई भन्‍नुभयो (प्रस्थान २९:५)। ती पोशाकहरूको बारेमा प्रस्‍थान २८ अध्‍यायमा विस्‍तृत रूपमा वर्णन गरिएको छ। रोमन क्याथोलिक पूजाहारीहरूले जस्‍तै गरी लेवी पूजाहारीहरूले विशेष प्रकारका पोशकहरू लगाउँथे। परमेश्‍वरले मोशालाई यस्‍तो आज्ञा दिनुभयो: “गौरव र शोभाको निम्‍ति तैंले तेरो दाज्‍यू हारूनको निम्‍ति पवित्र पोशाकहरू बनाउनू” (प्रस्‍थान २८:२)। उक्त अध्‍यायको बाँकी भागमा ती पोशाकहरूबारे व्याख्‍या गरिएको छ। के मल्‍कीचेदेकले विशेष प्रकारको पोशाक पहिरेका थिए? यस विषयमा बाइबलले कुनै जानकारी दिँदैन। येशूको बारेमा नि? के उहाँले विशेष पोशाक लगाउनुहुन्थ्यो? हो, तर त्यो पोशाक मानिसको आँखाले देख्‍न सकिने सांसारिक लुगाहरू थिएनन्‌। उहाँले लगाउनुभएको सांसारिक पोशाक त्यसबेलाका अरू मानिसहरूको जस्‍तै थियो भन्‍ने कुरामा कुनै द्विविधा हुन सक्दै न। उहाँको विशेष पोशाकचाहिँ स्वर्गबाटको थियो, जुन मानवीय आँखाको सामु अदृश्‍य थियो।

येशू अनि उहाँको पोशाकको बारेमा हामी भजनसङ्‍ग्रह ४५:६-८ मा सुन्‍दर प्रकारले व्‍याख्‍या गरिएको छ: “हे परमेश्‍वर, तपाईंको सिंहासन सदासर्वदाको निम्‍ति रहिरहन्‍छ, र न्‍यायको राजदण्‍ड तपाईंका राज्‍यको राजदण्‍ड हुनेछ। तपाईं धार्मिकतालाई प्रेम गर्नुहुन्‍छ, र अधर्मलाई घृणा गर्नुहुन्‍छ। यसकारण परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई आफ्‍ना साथीहरूभन्‍दा बढ्‍ता गरेर हर्षको तेलले तपाईंलाई अभिषेक गर्नुभएको छ। तपाईंका सबै पोशाकहरू मूर्र, एलवा र तेजपातको बास्‍नाले सुगन्‍धित छन्‌। हस्‍तिहाँडले सुसज्‍जित महलबाट तारको सुरिलो सङ्‍गीतले तपाईंलाई प्रसन्‍न तुल्‍याउँछ।”

प्रकाश १:१३ मा यूहन्‍नाले यस्‍तो दर्शन देखे: “सामदानहरूका माझमा मानिसको पुत्रजस्‍तै पाउसम्‍मै पोशाक लाउनुभएको र छातीमा सुनौला चौडा फित्ता लाउनुभएको एक जनालाई मैले देखेँ।”

मानिसको आँखाको लागि येशू यस्‍तो हुनुहुन्‍थ्‍यो: “ऊसित हामीलाई आकर्षण गर्ने न केही सुन्‍दरता नता महत्‍व नै थियो। उसको अनुहारमा हामीलाई मन पर्ने केही थिएन” (यशैया ५३:२)। उहाँको आत्‍मिकी पोशाक यति महिमित थियो, जसलाई हामी कल्‍पना पनि गर्न सक्‍दैनौँ।

यदि प्रधान पूजाहारी हुनुहुने येशूले यस्‍तो प्रकारको पोशाक पहिरिनुभयो भने उहाँलाई पछ्याउने पूजाहारीहरूले कस्‍तो पोशाक लगाउँछन्‌ त? फेरि हामी भन्‍दछौँ, कि येशूले लगाउनुभएको जस्‍तै पूजाहारीहरूको पोशाकहरू पनि मानवीय आँखाको सामु अदृश्य हुन्छन्।

भजनसङग्रह १३२:९ ले हामीलाई उक्त प्रश्‍नको ठीक उत्तर दिन्‍छ: “तपाईंका पूजाहारीहरूले धार्मिकताको वस्‍त्र धारण गरून्‌, र तपाईंका पवित्र जनहरू आनन्‍दले जयजयकार गरून्‌।” देख्‍न सकिने सेतो पोशाकहरू मानवीय आँखाको सामु राम्रो र सफा हुन्‍छन्‌ तर धार्मिकताको सेतो आन्‍तरिक पोशाकले परमेश्‍वरलाई प्रसन्‍न तुल्‍याउँछ र साँचो पूजाहारीहरू हुनको निम्‍ति त्यसले हामीलाई योग्‍य तुल्‍याउँछ। आफ्‍नो कोसिसद्वारा हामी कहिले पनि परमेश्‍वरको धार्मिकताको मापदण्‍डसम्‍म पुग्‍न सक्‍दैनौँ। यशैयाले यस कुरालाई ठीक प्रकारले लेखेका छन्‌: “... हाम्रा सबै धार्मिक काम फोहोर झुत्राझैँ छन्‌” (यशैया ६४:६)। तर येशूद्वारा हामी धार्मिक बन्‍न सक्‍छौँ। जब आदम र हव्‍वाले आफूहरू नाङ्‍गै छौँ भन्‍ने कुरा थाहा पाए, तब लाज ढाक्‍नको लागि तिनीहरूले अञ्‍जीरको पातहरू सिलाएर लगाए (उत्‍पत्ति ३:७)। तर त्यसको केहीपछि हामी यसरी पढ्‍दछौँ: “परमप्रभु परमेश्‍वरले आदम र तिनकी पत्‍नीका निम्‍ति छालाका लुगा बनाई तिनीहरूलाई लगाइदिनुभयो” (उत्‍पत्ति ३:२१)। उक्त छालाको लुगाले त्‍यो थुमालाई चित्रण गर्दछ, जसलाई उहाँको धार्मिकताद्वारा हाम्रो नाङ्‍गोपना ढाक्‍नको निम्‍ति मारिएको थियो। पावलले रोमीहरूलाई यसो भने: “प्रभु येशू ख्रीष्‍टलाई धारण गर” (रोमी १३:१४), र मल्‍कीचेदेकको दर्जाअनुसारको पूजाहारी भएर सेवा गर्नको लागि यही तरिकाद्वारा मात्र हामीले उचित प्रकारको पोशाक पहिरिन सक्‍छौँ।

तेलले अभिषेक गर्नु

हारून र उसको छोराहरूले पूजाहारीको विशेष पोशाक लगाइसकेपछि हारूनलाई तेलले अभिषेक गर्नको निम्‍ति परमेश्‍वरले मोशालाई अह्राउनुभयो। “त्यसपछि अभिषेक गर्ने तेल लिएर त्यसको शिरमा खन्याई त्यसलाई अभिषेक गर्नू” (प्रस्थान २९:७)।

यूहन्‍नाले येशूलाई बप्‍तिस्‍मा दिँदा तिनले उहाँलाई तेलले अभिषेक गरेनन्‌ बरु त्यसको सट्टामा “स्‍वर्ग उघ्रियो, र उहाँले परमेश्‍वरका आत्‍मालाई ढुकुरझैँ ओर्लिरहनुभएको र आफूमाथि आइरहनुभएको देख्‍नुभयो अनि परमेश्‍वरले यस्‍तो कुरा घोषणा गर्नुभयो: “यिनी मेरा प्रिय पुत्र हुन्‌, यिनीसँग म अति प्रसन्‍न छु” (मत्ती ३:१६,१७)। तेलले आफैमा कुनै महत्‍व राख्‍दैन तर जब त्‍यसले पवित्र आत्‍माप्रति सङ्‍केत गर्दछ, तब मात्र त्यसको महत्‍व हुन्‍छ। त्यही शक्तिद्वारा येशूले पूजाहारीको सेवकाइ गर्नुभयो। उहाँले गर्नुभएको सबै कुरामा पवित्र आत्‍माले अगुवाइ, शक्ति र अधिकार दिने काम गर्नुभएको थियो।

प्रधान पूजाहारी येशूको तरिका यस्‍तो थियो, त्यसैले उहाँलाई पछ्याउने पूजाहारीहरूले पनि त्यही तरिका अपनाउनुपर्दछ। पुनरुत्‍थान हुनुभएपछि येशू चेलाहरूकहाँ आउनुभएर यसो भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति! जसरी पिताले मलाई पठाउनुभयो, त्‍यसरी म पनि तिमीहरूलाई पठाउँदछु।” अनि यति भनेर उहाँले तिनीहरूमाथि श्‍वास फुकेर भन्‍नुभयो “पवित्र आत्‍मा लेओ” (यूहन्‍ना २०:२१-२२)। त्‍यसको केही पछि पेन्‍तिकोसको दिनमा पवित्र आत्‍मा ठूलो शक्तिको साथमा चेलाहरूमाथि आउनुभयो। अनि तिनीहरू पूर्णरूपमा परिवर्तन भएर आफ्‍नो बोलावटअनुसारको सेवकाइ गर्नको निम्‍ति सुसज्‍जित भए।

सांसारिक पूजाहारीपनहरू (चाहे त्‍यो लेवीको होस्‌ अथवा आफूलाई इसाई भन्‍न चाहनेहरूको होस्‌) हरेक कुरामा तिनीहरू असफल भएका छन्‌ किनभने तिनीहरूले केवल मानवीय शक्ति र सामर्थमा काम गरेका छन्‌। मल्‍कीचेदेक पूजाहारीपनचाहिँ सधैँ नै सफल हुन्‍छ किनभने यसले पवित्र आत्‍माद्वारा काम गर्दछ।

पूजाहारीपनको बलिदानहरू

सबै धर्मका पूजाहारीहरूले आफू परमेश्‍वर र मानिसबीचको मध्‍यस्‍थकर्ता हुँ भनी दाबी गर्दछन्‌। लेवी पूजाहारीहरूले मानिसहरूको तर्फबाट परमेश्‍वरलाई विभिन्‍न भेटीहरू र बलिदानहरू चढाउने काम गर्दथे। यस विषयमा लेवीको पुस्‍तकले विस्‍तृत प्रकारले वर्णन गर्दछ। तिनीहरूले परमेश्‍वरलाई पशु बलि र धूप चढाउँथे।

रोमन क्‍याथोलिक पूजाहारीहरूले 'हामी पनि परमेश्‍वरलाई भेटीहरू चढाउँछौँ' भनी दाबी गर्ने गर्दछन्‌। 'प्रत्येकपटक प्रभुभोज गर्दा, त्यो विधिद्वारा येशूको शरीर र रगत चढाउँछौँ' भनी तिनीहरू घोषणा गर्दछन्‌। तिनीहरूले धूप र बत्तीको पनि प्रयोग गर्दछन्‌। अरू धर्मका पूजाहारीहरूले पनि मानिसहरूको तर्फबाट विभिन्‍न प्रकारका भेटीहरू र बलिदानहरू चढाउने काम गर्दछन्‌। अनि येशूले चाहिँ के चढाउनुभयो त?

हिब्रू ७:२७ मा हामी यसरी पढ्‍दछौँ: “अरू प्रधान पूजाहारीहरूले जस्‍तै पहिले आफ्‍नै पापको निम्‍ति र त्‍यसपछि मानिसहरूका पापको निम्‍त उहाँले दिनहुँ बलिदान चढाइरहनुपर्दैन। आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्‍ति एकै पल्‍टमा पूरा गरिदिनुभयो।”

जब बप्‍तिस्‍मा दिने यूहन्‍नाले येशूलाई पहिलोपटक देखे, तब उनले यसो भने, “हेर, संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा!” (यूहन्‍ना १:२९)। येशू पुरानो करारमा बलिदान गरिने थुमाहरूको पूर्णता हुनुहुन्‍छ भन्‍ने अति गहन अनि अचम्‍मको दर्शन यूहन्‍नाले पाए। ती सांसारिक बलिदानहरूको आफैमा कुनै महत्‍व थिएन। वास्‍तवमा ती कुराहरू येशूले आफैलाई क्रूसमा अर्पण गरी मर्नुभएको साँचो बलिदानको छायाहरू मात्र थिए।

येशूले अर्को पनि बलिदान गर्नुभयो, जसले परमेश्‍वरलाई प्रसन्‍न तुल्‍याउँथ्‍यो। हिब्रू ५:७ मा यस्‍तो कुरा लेखिएको छ: “येशू आफ्‍नो शारीरिक जीवनमा हुनुहुँदा उहाँलाई मृत्‍युबाट बचाउन सक्‍नुहुनेलाई उहाँले बडो क्रन्‍दन र आँसुसहित प्रार्थना चढाउनुभयो, अनि आफ्‍नो भक्तिपूर्ण समर्पणको कारणले उहाँको प्रार्थना र नम्र निवेदन सुनियो।” साँच्‍चै भन्‍ने हो भने उहाँको जीवन आफ्‍नो पितालाई निरन्‍तर प्रार्थना र प्रशंसा चढाउने भेटी थियो। हारूनले परमेश्‍वरलाई चढाएको धूपको साँचो अर्थ यही हो। धूप भनेको छाया मात्र हो तर प्रार्थना र प्रशंसाचाहिँ वास्‍तविक कुरा हो।

हामी आफ्‍नो मालिकको पाइलाहरूलाई पछ्याउँछौँ तर आफ्‍नो पापको निम्‍ति जीवन नै बलिदान गर्न भने सक्‍दैनौँ। त्‍यसको पहिलो कारण के हो भने हामी येशूजस्‍तो दागरहित र सिद्ध छैनौँ, अनि दोस्रो कारणचाहिँ येशूको बलिदान सबै युगको सबै मानिसहरूका लागि पर्याप्तँ छ, जसलाई फेरि दोहोर्यायइरहन आवश्यकक छैन। तैपनि पावलले रोमीहरूलाई जुन कुरा भन्‍नुभयो, त्‍यसलाई हामीले पालन गर्नुपर्दछ: “यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर” (रोमी १२:१)। हामी पनि परमेश्‍वरलाई मीठो धूपको बास्‍नाजस्‍तै प्रार्थना र प्रशंसा चढाउन सक्‍छौँ।

यदि हामीले आफूलाई जिउँदो बलिको रूपमा परमेश्‍वरको सामु प्रस्‍तुत गर्दछौँ र उहाँलाई निरन्‍तर प्रार्थना र प्रशंसाको भेटी चढाउँछौँ भने पक्‍कै पनि हामी मल्‍कीचेदेकको दर्जाअनुसारको पुजाहारीहरू हुन सक्‍दछौँ। परमेश्‍वरको महिमा र आराधना गर्नको लागि अहिले यस्‍तै प्रकारको पूजाहारीहरूको खाँचो छ।

यो पुस्‍तकलाई रंगिन [Color] छाप्‍ने फाइल

यो पुस्‍तकलाई श्‍याम-स्‍वेत [Black & White] छाप्‍ने फाइल