मृत्‍युबाट जीवन

मोशा र एलियाका जीवनमा धेरै कुराहरू समान थिए भनेर स्‍पस्‍टसँग देखिन्‍छ। दुवैजना चालिस दिनसम्म उपवास बसे। दुवैजनाले आश्‍चर्यकर्महरू गरे। दुवैजना निडर रहेर शक्तिशाली तथा दुष्‍ट शासकहरूको (फिरोन र आहाब) सामना गरे। दुवैजनाले होरेब पर्वतमा परमेश्‍वरसँग भेट गरे। येशूको रूप परिवर्तन हुँदा दुवैजना उहाँसँगै देखा परे।

अस्‍पष्‍ट रूपमा देखिने कुराचाहिँ यो हो- उनीहरू दुवैले आफ्‍नो मृत्‍युको लागि प्रार्थना गरे। १राजा १९:४ मा हामी पढ्न सक्‍छौँ, “एलिया अम्रिसको झाड़ीमा आइपुगे, त्‍यसमुनि बसेर आफ्‍नो मृत्‍युको निम्‍ति प्रार्थना गर्न लागे। तिनले भने ‘हे परमप्रभु, मेरो प्राण लिनुहोस्, मैले पूरै भोगिसकेँ। म त मेरा पिता-पुर्खाहरूभन्‍दा असल छैनँ।’ ”

गन्‍ती ११: १५ मा मोशाले “तपाईं मसित यस्‍तै व्‍यवहार गर्नुहुन्‍छ भने र मैले निगाह पाएको छु भने, बिन्‍ती छ, बरु मलाई मारिदिनुहोस्, र मैले आफ्‍नो विनाश आफै हेर्नु नपरोस्” भनेर प्रार्थना गरे।

योना, अय्‍यूब र यर्मियाले पनि विभिन्न सङ्कष्‍ट र दु:खको समयमा त्‍यसरी नै प्रार्थना गरे।

मैले थाहा पाएअनुसार, यस्‍ता प्रार्थनाहरू प्रार्थना सङ्गतिमा हामी प्राय: सुन्‍दैनौँ, अर्थात् मोशा र एलियाजस्‍ता व्‍यक्तिहरू पनि हामी धेरै भेटदैनौँ।

जब तिनीहरूले त्‍यस्‍तो प्रार्थना गरे तब के भयो? के परमेश्‍वरले तिनीहरूलाई जवाफ दिनुभयो? परमेश्‍वरले मोशालाई भन्नुभयो, “इस्राएलका धर्म-गुरुमा सत्तरी जना जम्‍मा गर्। … तँमाथि भएका आत्‍माबाट केही लिएर तिनीहरूमाथि राखिदिनेछु।” परमेश्‍वरले एलियालाई पनि यसरी नै जवाफ दिनुभयो, “तँ जुन बाटो आएको छस् फर्किगएर हाबिल-महोलाको शाफातको छोरो एलीशालाई तँपछि आउने अगमवक्ता अभिषेक गर्।” त्‍यस लगतै एलियाको आत्‍मा एलिशामाथि आयो।

परमेश्‍वरले अचम्‍म प्रकारले यी दुवै प्रार्थनाको जवाफ दिनुभयो। उहाँले तिनीहरूको आत्‍मा लिएर उनीहरूको कामलाई निरन्‍तरता दिने व्‍यक्तिमाथि राखिदिनुभयो।

पुरानो करारमा कुनै पनि अरू व्‍यक्तिले आफ्‍नो आत्‍मा अरूलाई दिन सकेनन्। परमेश्‍वरका अरू सबै मानिसहरूले महान् कामहरू गरे, तर आफूले थालेका कामहरूको निरन्‍तरता दिन कोही भेटेनन्। त्‍यसैले, धेरैजसो पुरानो करारमा असफलताका कथाहरू लेखिएका छन्। महान् अगमवक्ता, पुजाहारी वा राजा, उनीहरूले थालेका असल कामलाई निरन्‍तरता दिने कोही थिएनन्।

पुरानो करारमा समस्‍या त्‍यही थियो। मोशा र एलियाले पनि आफ्‍नो आत्‍मालाई एउटा पुस्‍तासम्‍म मात्रै निरन्‍तरता दिन सके, तर नयाँ करारमा भिन्‍नता थियो। येशूले मोशा र एलियाले भन्‍दा धेरै गर्नुभयो। उहाँले मृत्‍युको लागि प्रार्थना गर्नुभएन तर मर्नुभयो र पिताकहाँ फर्कनुभयो। पिताको सिंहासनबाट उहाँले आफ्‍नो आत्‍मा खन्‍याउनुभयो। अनि त्‍यो आत्‍माको वृष्‍टि केवल एउटा उत्तराधिकारी वा एउटा पुस्‍तालाई मात्र होइन, तर पत्रुसको भनाइअनुसार, “र तिमीहरूले पवित्र आत्‍माको वरदान पाउनेछौ। किनकि प्रतिज्ञा तिमीहरूका निम्‍ति , तिमीहरूका सन्‍तानको निम्‍ति र टाढ़ा-टाढ़ामा रहेका सबैका निम्‍ति हो, प्रत्‍येक जसलाई प्रभु हाम्रा परमेश्‍वरले बोलाउनुहुन्‍छ।”

त्‍यसैले येशूले आफूले थालेको कामलाई निरन्‍तरता दिन, अब आउने हरेक पुस्‍ताको निम्‍ति आफ्‍नो उत्तराधिकार नियुक्त गर्नुभएको छ। उनीहरूले यो काम कसरी गर्ने त ? आफ्‍नो सामर्थ्‍यले होइन तर उहाँमा भएको आत्‍मालाई प्राप्‍त गरेर। उहाँमा भएको आत्‍मा प्राप्‍त नगरी कसैले पनि उहाँले गरेजस्‍तो गर्न सक्‍दैन, अनि त्‍योभन्‍दा महत्त्‍वपूर्ण कुरा के हो भने कोही पनि उहाँजस्‍तो हुन सक्‍दैन।

तर मोशा र एलियाको प्रार्थनाबाट हामीले अर्को शिक्षा पनि पाउन सक्‍छौँ। कुन अवस्‍थामा उनीहरूले आफ्‍ना आत्‍मा अरूमाथि खन्‍याउन सकेका थिए ? उनीहरू आफ्‍नो क्षमताको सीमानासम्‍म पुगे। जब हाम्रो सामर्थ्‍यको अन्‍त्‍य हुँदछ, तब मात्र हामी उहाँको शक्तिको अनुभव गर्न सक्‍दछौँ। न त हाम्रो सीपहरूले, न बोलाइ र लेखाइको शक्तिले, न हाम्रो शिक्षाले, न त अरू कुनै वरदानले हामीलाई परमेश्‍वरको काम गर्न सक्षम तुल्‍याउँछ। हाम्रो बाइबलको ज्ञानले पनि होइन। यो त केवल हामी हाम्रो निम्‍ति मरिसकेपछि मात्र र हामीसँग भएका जे जति र हाम्रो सम्‍पूर्णतामा मारिएपछि मात्र पवित्र आत्‍माको माध्‍यम हुनसक्‍छौँ, जसमा पवित्र आत्‍माले काम गर्न सक्‍नुहुन्‍छ।