इस्राएल र गाजा

परिचय

७ अक्टोबर २०२३ मा हमास आतंकवादीहरूले इस्राएलमाथि हिंसात्मक आक्रमण गर्‍यो जसमा १,००० भन्दा बढी नागरिकहरूको हत्या भयो, र महिला र बाल-बालिकाहरू गरी २०० भन्दा बढीलाई बन्धक बनाएर लगियो। तिनीहरूले धेरै महिलाहरूलाई यातना दिए, बलत्कार गरे र जिउँदै जलाए, अनि सकेसम्म चाँडो अक्टोबर ७ को घटनालाई दोहोर्‍याउने कसम खाए।

इस्राएलले हिंसात्मक रूपमा कडा जवाफी कारवाही गर्दा प्यालेस्टाइन समर्थकहरू अनि इस्राएल र यहूदी विरोधीहरूले त्यसलाई नरसंहारको अभियोग लगाउँदै विश्‍वभरि प्रर्दशनहरू गरिरहेका छन्।

यो लेखमा म उक्त अवस्थाको बाइबलीय, ऐतिहासिक र अन्य सम्बन्धित पक्षहरूको चर्चा गर्न चाहन्छु।

बाइबलीय दृश्य

यहूदीहरू परमेश्‍वरका चुनिएका जाति हुन् भनेर बाइबलले बताउँछ। परमेश्‍वरले मोशालाई यस्ता शब्दहरू भन्‍नुभयो: "किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति तिमीहरू एक पवित्र जाति हौ। परमप्रभु तिमीहरूका परमेश्‍वरले पृथ्‍वीमा भएका सबै मानिसहरूमध्‍येबाट आफ्‍नो निम्‍ति एक विशेष जाति, एक अमूल्‍य सम्‍पत्ति बनाउन तिमीहरूलाई छान्‍नुभएको छ" (व्यवस्था ७:६)।

बाइबलले फरक सन्दर्भमा येशूका अनुयायीहरू परमेश्‍वरका चुनिएका अथवा जात हुन् भनेर बताउँछ।: "तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ" (१ पत्रुस २:९)।

इस्राएलको भूमिको स्वामित्वबारे पनि बाइबलले स्पष्टसँग बताउँछ।

उत्पत्ति १७:८ मा परमेश्‍वरले अब्राहामलाई स्पष्ट भन्‍नुभयो, "तैंले प्रवास गरेको यो देश, अर्थात्‌ सारा कनान देश तँ र तेरा भावी सन्‍तानलाई अनन्‍त अधिकारको निम्‍ति दिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु।"

उत्पत्ति २६:३ मा परमेश्‍वरले अब्राहामको छोरा याकूबलाई यो प्रतिज्ञा यसरी नविकरण गर्नुभयो, "त्‍यही ठाउँमा बसोबास गर्‌, र म तँसँग रहनेछु, र तँलाई आशिष्‌ दिनेछु, किनकि मैले तेरो बाबु अब्राहामसँग शपथ हालेर दिएको प्रतिज्ञा म पूरा गरेर तँलाई र तेरा सन्‍तानलाई यी नै देशहरू दिनेछु।"

उत्पत्ति २८:१३ मा परमेश्‍वरले इसहाकको छोरा याकूबलाई त्यस्तै प्रतिज्ञा गर्नुभयो: "म परमप्रभु, तेरा पिता अब्राहामका परमेश्‍वर र इसहाकका परमेश्‍वर हुँ। जुन भूमिमा तँ ढल्‍किरहेको छस्‌ त्‍यो म तँलाई र तेरा सन्‍तानहरूलाई दिनेछु।"

मोशाले इस्राएलीहरूलाई मिश्रदेखि कनानको भूमिको सिमासम्म अगुवाइ गरेर ल्याए। उनले मर्नुभन्दा पहिले भविष्यवाणी गरे, कि इस्राएलीहरूले परमेश्‍वरको विरुद्धमा पाप गर्नेछन् र तिनीहरूलाई यो भूमिबाट धपाइनेछ, तर अन्ततः तिनीहरू फेरि त्यहाँ फर्केर आई त्यलाई सधैँको निम्ति कब्जा गर्नेछन्।

"तब परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूका सुदिन फर्काउनुहुनेछ र तिमीहरूलाई टिठ्याउनुहुनेछ, र जुन जातिहरूका बीचमा तिमीहरूलाई तितरबितर पार्नुभएको थियो, तीबाट तिमीहरूलाई बटुलेर ल्‍याउनुहुनेछ। तिमीहरू देशनिकाला भएर आकाशमुनिको सबैभन्‍दा टाढ़ो देशमा भए पनि त्‍यहाँबाट परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बटुल्‍नुहुनेछ, र त्‍यहाँबाट तिमीहरूलाई फर्काएर ल्‍याउनुहुनेछ। तिमीहरूका पिता-पुर्खाले अधिकार गरेको देशमा परमप्रभु आफ्‍ना परमेश्‍वरले तिमीहरूलाई ल्‍याउनुहुनेछ, र तिमीहरूले त्‍यसको अधिकार गर्नेछौ, र उहाँले तिमीहरूलाई तिमीहरूका पिता-पुर्खाभन्‍दा उन्‍नतिशील र असंख्‍य बनाउनुहुनेछ" (व्यवस्था ३०:३-५)।

यहोशूले इस्राएलीहरूलाई उक्त प्रतिज्ञाको भूमिमा अगुवाइ गरेर लगे र तिनीहरू विजयी भएर त्यसलाई आफ्नो कब्जामा लिए।

कनानको यो भूमिको सिमाना कहाँदेखि कहाँसम्म थियो? के त्यसले आधुनिक गाजा र अहिले 'वेस्ट बैंक' भनिने क्षेत्रलाई समट्थ्यो? यसको उत्तर स्पष्ट छ – 'हो'। कनानको सिमाना यर्दन नदीदेखि लिएर भूमध्यसागरसम्मै थियो (यसलाई आजसम्म धेरैले गाउँछन्)- र त्यो सिमाना गाजाभन्दा अझै दक्षिणसम्म थियो। (यसको विस्तृत जानकारीको लागि Borders of the Land of Canaan हेर्नुहोस्।)

बाइबलमा विश्‍वास गर्नेहरूका लागि यो कुरा स्पष्ट छ: परमेश्‍वरले इस्राएलको भूमि यहूदीहरूलाई "अनन्तको सम्पत्ति"को रूपमा दिनुभएको छ।

यहूदी इतिहास

यहोशूको समयदेखि, इस्राएलीहरू र पछि यहूदीहरू इस्राएल भूमिको बासिन्दाहरू भए। इ.पू. ६३ मा रोमी सेनापति पोम्पी इस्राएलमाथि विजयी भए र येशूको समयमा उक्त भूमि रोमीहरूको अधिनमा थियो। यहूदीहरूले रोमीहरूको विरुद्धमा इ.सं. ६६ देखि १३५ सम्म तीन वटा विद्रोही युद्धहरू गरे र अन्तमा तिनीहरू पराजित भए।

यहूदी र रोमीहरूको अन्तिम युद्ध इ.सं. १३२ देखि १३५ सम्म चल्यो जसलाई बार कोख्बा (Bar Kochba) विद्रोह भनिन्छ। उक्त युद्धमा करिब पाँच लाख यहूदीहरू मारिए। एक लाखभन्दा बढी यहूदीहरूलाई दासत्वमा बेचियो। धेरै यहूदीहरू मिश्र र अन्य मुलुकहरूमा निर्वासित भए। तैपनि, थोरै यहूदीहरू उक्त भूमिमा बसोबास गरिरहे, विशेषगरी तिनीहरू गालील क्षेत्रमा बसेका थिए। त्यतिबेला यहूदीहरूलाई यरूशलेम क्षेत्रमा बसोबास गर्न प्रतिबन्ध लगाइएको थियो।

इ.सं. १५१७ देखि १९१८ सम्म अहिलेको इस्राएल, गाजा, वेस्ट बैंक, जोर्डन र सिरियाको सम्पूर्ण क्षेत्र तुर्किश साम्राज्यको भाग थियो। उक्त क्षेत्रको बासिन्दाहरू यहूदी, इसाई र अरबी थिए। पहिलो विश्‍व युद्धमा टर्कीले जर्मनको पक्षबाट युद्ध गर्‍यो, र पराजित भयो। त्यसपछि तुर्किश साम्राज्य टुक्रियो।

त्यसपछि त्यो क्षेत्र प्यालेस्टाइन, जोर्डन, सिरिया र अरू आधुनिक देशहरूमा विभाजन भयो जसको अस्तित्व पहिले थिएन। अस्थायी रूपमा प्यालेस्टाइन र जोर्डनलाई बेलायतको अधिनमा राखियो भने सिरियालाई फ्रान्सको अधिनमा राखियो।

इ.सं. १९४८ महत्वपूर्ण साल थियो। त्यो सालमा बेलायतले प्यालेस्टाइनको भूमि यहूदीहरूको हातमा सुम्पिदियो, र उनीहरूले स्वतन्त्रता घोषणा गर्दै आफ्नो देशको नाम इस्राएल राखे। इस्राएललाई संसारको नक्साबाट मेटाउने उद्देश्यसाथ केही अरबी मुलुकहरूले तुरुन्तै इस्राएलमाथि आक्रमण गरे, तर आश्‍चर्यजनक रूपमा इस्राएल अस्तित्वमा रहिरह्‍यो।

रोमीहरूको समयदेखि नै यहूदीहरू पृथ्वीको हरेक कुनामा छरपस्ट भएका थिए तर अचम्मलाग्दो कुरा के हो भने अरू मानिसहरूको विपरीत तिनीहरूले जहाँ रहे पनि आफ्नो पहिचानलाई सुरक्षित राखे। शताब्दियौँदेखि तिनीहरूले इस्राएललाई आफ्नो मातृभूमिको रूपमा हेरिरहेका थिए। हरेक वर्ष निस्तार चाडमा तिनीहरूले यी शब्दहरू दोहोर्‍याउने गर्थे: "हा शाना हा बा बे यरूशलेम" – "अर्को साल यरूशलेममा"। इस्राएलको राष्ट्रिय गीत “ha-tikvah” - "आशा" – ले यस्तै कथा बताउँछ। "हाम्रो दुई हजार वर्ष पुरानो आशा भनेको हाम्रो भूमिलाई स्वतन्त्र राष्ट्र बनाउनु हो, त्यो सियोनको भूमि र यरूशलेम हो।"

१८ शताब्दीहरूको निर्वासनपछि यहूदीहरू आफ्नो पितापुर्खाको भूमि इस्राएलमा फर्किए।

प्यालेस्टाइन

प्यालेटाइन भन्‍ने नाउँ हिब्रू शब्द पेलिस्टिम פְּלִשְׁתִּֽים (Pelishtim) बाट आएको हो जसको अर्थ पलिस्तीहरू हुन्छ। अन्तमा, रोमीहरूले इ.सं. १३६ तिर इस्राएललाई पराजित गरेपछि तिनीहरूले इस्राएल र यहूदीहरूको सम्झना मेटाउन उक्त देशको नाउँ परिवर्तन गरी प्यालेस्टाइन राखे।

अहिले इस्राएल, गाजा र वेस्ट बैंकमा बसोवास गर्ने अरबीहरूले आफूहरूलाई प्यालेस्टाइनी भन्दछन् र तिनीहरूले आफूलाई उक्त क्षेत्रको मूल बासिन्दाको रूपमा चिनाउँछन्। 'हामीहरू कनानी जातिहरूका सन्तान हौँ, र यहोशू र इस्राएलीहरूले विजय पाउनुभन्दा पहिलेदेखि हामी यही भूमिमा बसोवास गरेका थियौँ भनी दाबी गर्दछन्। इ.सं. १९६७ मा भएको छ दिनको युद्ध पछि मात्र तिनीहरूले आफ्नो निम्ति प्यालेस्टाइनी भन्‍ने नाम प्रयोग गर्न थालेका हुन्। (यसको विस्तृत जानकारी लिन How the Palestinians got their name हेर्नुहोस्।)

अरबीहरूले उक्त क्षेत्रमा बसोवास गर्ने यहूदीहरूलाई आफ्नो भूमिमा आक्रमण गर्ने युरोपेली उपनिवेशवादीको रूपमा चित्रण गर्छन्।

हमास

हमास भनेको अरबी संक्षिप्‍त नाउँ हो जसले इस्लामिक प्रतिरोधात्मक अभियान (Islamic Resistance Movement) भन्‍ने अर्थ दिन्छ। अरबी भाषामा हमासको अर्थ जोश हो भने हिब्रूमा चाहिँ यसको अर्थ हिंसा हो।

हमासको उद्देश्य भनेको "यर्दन नदीदेखि लिएर भूमध्यसागरसम्मै प्यालेस्टाइन राज्य स्थापित गर्नु हो।" अर्को शब्दमा भन्‍नुपर्दा, इस्राएललाई पूर्णरूपमा नष्ट गर्नु हो। नरसंहार! यही कुराको लागि तिनीहरूले अहिले इस्राएलमाथि आरोप लगाएका छन्! सकेसम्म छिटो अक्टोबर ७ को घटनालाई दोहोर्‍याउने तिनीहरूले कसम खाएका छन्।

संयुक्त राज्य अमेरिका, बेलायत, इस्राएल र अरू धेरै देशहरूले हमास भनेको आतंकवादी संगठन हो भनी घोषणा गरेका छन्। हमासलाई इरान र थुप्रै इस्लामिक देशहरूले बलियो समर्थन गरेका छन्। यसलाई हातहतियार उपलब्ध गराउने मुख्य देश इरान हो।

हमासले इ.सं. २००७ मा प्रतिद्वन्द्वी इस्लामिक समूह फतहलाई पराजित गरेर गाजा पट्टी क्षेत्रलाई नियन्त्रणमा लिएको थियो।

गाजाले अमेरिका, युरोप र धनी मुस्लिम देशहरूबाट करोडौँ-अरबौँ डलर अन्तर्राष्ट्रिय सहायताको रूपमा पाएको छ। तिनीहरूले उक्त ठूलो आर्थिक सहायता गाजामा ५०० किलोमिटर लामो भूमिगत सुरुङहरू र आफ्ना सदस्यहरू बस्‍ने ठाउँहरू निर्माण गर्न प्रयोग गरेका छन्। तिनीहरूका केही नेताहरू अन्य देशहरूमा बसेर विलासितापूर्ण जीवन बिताई रहेका छन्। गाजाका अन्य नागरिकहरूचाहिँ गरिबीमा बाँचिरहेका छन्।

२०२३ को द्वन्द्व

७ अक्टोबर २०२३ मा हमासले अचानक इस्राएलमाथि आक्रमण गर्‍यो।

तिनीहरूले उक्त आक्रमणमा १,००० भन्दा धेरै मानिसहरूलाई मारे, र २०० भन्दा बढीलाई बन्धक बनाएर लगे जसमा महिला र बालबालिकाहरू पनि छन्। तिनीहरूले धेरै महिलाहरूलाई बलत्कार गरे, यातना दिए र जिउँदै जलाएर मारे।

इस्राएलको त्यसप्रति के प्रतिक्रिया थियो? अवश्य नै, हमासलाई ध्वस्त पार्ने उद्देश्यले इस्राएलले भयंकर जवाफी आक्रमण गर्न थाल्यो।

इस्राएल र हमास बीचको युद्ध इतिहासको अन्य युद्धहरू भन्दा फरक छ। इस्राएलसँग ट्याङ्क र युद्ध-विमानहरू सहित पूर्णरूपमा सुसज्जित र तालिमप्राप्‍त वर्दीधारी आधुनिक सेना छ। हमाससँग त्यस्तो कुराहरू छैन। तिनीहरूका सिपाहीहरूले वर्दी लगाउँदैनन् र तिनीहरूसँग ब्यारेक पनि छैन। तिनीहरूले महिला र बालबालिकालगायत सर्वसाधारण मानिसहरूलाई ढालको रूपमा प्रयोग गर्छन्। तिनीहरूले स्कुल, अस्पताल, मस्जिद र चर्चहरूलाई हतियार भण्डारण गर्न र सैनिकहरू राख्‍नको निम्ति प्रयोग गर्छन्।

इस्राएल अदृश्य सत्रुसँग लडिरहेको छ। सामान्य नागरिकहरूबाट छुट्ट्याउनै नसक्‍ने गरी पत्‍नी र छोराछोरीसँगै एउटै घरमा बसिरहेका सैनिकहरूसँग इस्राएलले कसरी युद्ध गर्न सक्छ? अवश्य नै, गाजामा महिला र बालबालिकासहित ठूलो सङ्ख्यामा निर्दोष मानिसहरू मरेका छन्।

इतिहासमा अरू देशले नगरे तापनि, इस्राएलले बारम्बार गाजाका मानिसहरूलाई आक्रमण हुन लागेको ठाउँको बारेमा जानकारी दिएको छ र त्यहाँका बासिन्दाहरूलाई तोकिएको सुरक्षित क्षेत्रहरूमा जान चेताउनी दिएको छ।

इस्राएल र हमास दुवैलाई युद्ध अपराधहरूका अभियोगहरू लागेका छन्, तर यसमा कुनै सङ्का छैन, कि इस्राएलको तुलनामा हमासले गरेका युद्ध अपराधहरू अति धेरै छन्।

गाजामा अवस्थित अरबीहरूले भोग्‍नुपरेको दु:ख-कष्टहरू पक्‍कै शैतानद्वारा प्रेरित हमासले ७ अक्टोबर २०२३ मा इस्राएलमाथि गरेको हत्यारा आक्रमणको परिणामहरू हुन्।

निष्कर्ष

बाइबलमा विश्‍वास गर्नेहरूका लागि, यहाँ एउटा मात्र निष्कर्ष छ। परमेश्‍वरले यहूदीहरूलाई चुन्‍नुभयो र इस्राएलको भूमि तिनीहरूलाई दिनुभयो जसलाई अहिले वेस्ट बैंक र गाजा भनिन्छ।

३,००० वर्षभन्दा अघि नै परमेश्‍वरले इस्राएलसँग वास्तविक प्रतिज्ञा गर्नु भए तापनि थुप्रै मुलुकहरू र त्यसका अगुवाहरूले परमेश्‍वरको उद्देश्यहरूको विरोधमा उठेर यहूदीहरूलाई नास पार्न र तिनीहरूलाई आफ्नो भूमिबाट वञ्‍चित गराउन प्रयास गरेका छन्।

हालसालै शैतानद्वारा प्रेरित हमासले यहूदीहरूलाई नास गर्न प्रयास गरेको छ।

यीमध्ये धेरै देशहरू अहिले संसारको नक्साबाट गायब भइसकेका छन्, तर हजारौं वर्षपछि पनि इस्राएलले अझै यसरी गाउन सकेको छ- "am Israel hai"- "इस्राएल राष्ट्र जीवित छ।"


अनुवादक: श्याम श्रेष्ठ

यो पुस्‍तकलाई रंगिन [Color] छाप्‍ने फाइल

यो पुस्‍तकलाई श्‍याम-स्‍वेत [Black & White] छाप्‍ने फाइल

कसरी छाप्ने