येशू परमेश्‍वर हुनुहुन्छ

कि

परमेश्‍वरको पुत्र हुनुहुन्छ?


परिचय

सम्राट कन्स्टान्टिनको समयदेखि करिब १७ शताब्दीहरूसम्म मण्डलीले परम्परागतरूपमा हामीलाई येशू परमेश्‍वर हुनुहुन्छ भनी सिकाउँदै आएको छ।

के सुरुको मण्डलीले विस्‍वास गरेको कुरा त्यही हो?

के धर्मशास्‍त्रले हामीलाई त्यही कुरा सिकाउँछ?

हामी धर्मशास्‍त्रमा खोजेर यी प्रश्‍नहरूका उत्तर पत्ता लगाऔँ।

परमेश्‍वरको घोषणा

येशूले बप्‍तिस्मा दिने यूहन्‍नाबाट बप्‍तिस्मा लिनुभएपछि परमेश्‍वरको आत्मा ढुकुरझैँ ओर्लेर आउनुभई उहाँमा वास गर्नुभयो र स्वर्गबाट यस्तो वाणी आयो, "यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्‍न छु" (मत्ती ३:१६, १७)। यहाँ परमेश्‍वरले येशूको पहिचानलाई स्पष्टसँग घोषणा गर्नुभयो। उहाँ परमेश्‍वरको पुत्र हुनुहुन्थ्यो। नयाँ करारभरि नै परमेश्‍वरले दिनुभएको उहाँको परिचय यही थियो। यहाँ येशू परमेश्‍वर भनेर पक्‍कै उल्लेख गरिएको छैन।

त्यसपछि येशू तुरुन्तै उजाड-स्थानमा जानुभयो, र त्यहाँ शैतानले तीनपटक उहाँको पहिचानबारे यसरी प्रश्‍न गर्‍यो, "यदि तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ भने ..." (मत्ती ४:१-७)। शैतानले यसो भन्‍न सक्थ्यो, "यदि तपाईं परमेश्‍वर हुनुहुन्छ भने", तर त्यसले त्यसो गरेन। भूतहरूले पनि उहाँ परमेश्‍वरको पुत्र हुनुहुन्छ भनेर चिन्यो (मत्ती ८:२९, मर्कूस ३:११ हेर्नुहोस्)।

पत्रुसको स्वीकार

एकपटक येशूले चेलाहरूले आफ्नो पहिचान थाहा पाओस् भनी चाहनुभयो। उहाँले तिनीहरूलाई सोध्‍नुभयो, "तिमीहरू के भन्छौ, म को हुँ?" पत्रुसले जवाफ दिए, "तपाईं मसिह हुनुहुन्छ, जीवित परमेश्‍वरको पुत्र।"

येशूले पत्रुसको उक्त उत्तरप्रति कसरी प्रतिक्रिया जनाउनुभयो? उहाँले विनाशर्त उक्त भनाइप्रति पूर्ण सहमति जनाउनुभयो। त्यो उत्तर पत्रुसले परमेश्‍वरबाट पाएको प्रकाश थियो भनी उहाँले भन्‍नुभयो : "योनाको छोरो सिमोन, तिमी धन्‍य हौ! किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्‍वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो" (मत्ती १६:१८)।पत्रुसको त्यो उत्तर पूर्णरूपमा सही थियो! हामीलाई सिकाइएको परम्परागत शिक्षाअनुसार पत्रुसले "तपाईं परमेश्‍वर हुनुहुन्छ" भनी जवाफ दिएनन् बरु उनले "तपाईं जीवित परमेश्‍वरको पुत्र हुनुहुन्छ" भनी जवाफ दिए।

परमेश्‍वरको प्रत्यक्ष घोषणा र पत्रुसले पाएको प्रकाशलाई स्वयम् येशूले पुष्टि गर्नुभएकोले गर्दा उहाँ परमेश्‍वर हुनुहुन्‍न बरु परमेश्‍वरको पुत्र हुनुहुन्छ भन्‍ने तथ्यमा हामी विश्‍वस्त हुन सक्छौँ; तैपनि यसको बारेमा नयाँ करारका लेखकहरूले हामीलाई बताएका कुराहरू हेर्नेछौँ।

तीन स्पष्ट भनाइहरू

येशूको पहिचानको बारेमा धर्मशास्‍त्रको तीन वटा खण्डहरूले स्पष्टसँग बताउँछन्। ती खण्डहरूले हामीलाई के कुरा बताउँछन् त?

यी खण्डहरूले हामीलाई येशूको बारेमा अद्भूत कुराहरू बताउँछन्; जस्तै : उहाँ "परमेश्‍वरको स्वरूपमा हुनुहुन्थ्यो", "उहाँ अदृश्य परमेश्‍वरको प्रतिरूप हुनुहुन्थ्यो", "परमेश्‍वरको सारा पूर्णता उहाँमा प्रसन्‍नसाथ वास गरेको थियो", "उहाँको पुत्र हुनुहुन्थ्यो", "उहाँ परमेश्‍वरको महिमाको प्रतिबिम्ब र परमेश्‍वरको स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्थ्यो"; तर ती खण्डहरूले येशू परमेश्‍वर हुनुहुन्थ्यो भनेर बताउँदैन। यदि मण्डलीको परम्परागत शिक्षा सही हो भने, किन यी खण्डहरूले येशू परमेश्‍वर हुनुहुन्छ भनेर बताउँदैन त?

अरू सन्दर्भहरू

येशू परमेश्‍वरको पुत्र हुनुहुन्छ भन्‍ने तथ्य नयाँ करारले करिब ४० पटक उल्लेख गर्दछ। स्वयम् येशूले आफू परमेश्‍वरको पुत्र हुँ भनी भन्‍नुभयो। उहाँलाई पछ्याउनेहरूले उहाँलाई परमेश्‍वरको पुत्र भनी उल्लेख गरे। भूत लागेको मानिसहरूले पनि उहाँलाई परमेश्‍वरको पुत्र भनेर सम्बोधन् गरे। (स्वर्गदूतले पनि उहाँ परमेश्‍वरको पुत्र हुनुहुन्छ भनी घोषणा गरे)। केही त्यस्ता सन्दर्भहरू यहाँ छन् :

किन यी सबै मानिसहरू र स्वयम् येशूले पनि येशू परमेश्‍वरको पुत्र हुनुहुन्छ भनी उल्लेख गर्दछन्? यदि मण्डलीको शिक्षा सही हो भने, पक्‍कै ती मानिसहरूले येशू परमेश्‍वर हुनुहुन्छ भनी उल्लेख गर्नुपर्ने हो। तर तिनीहरूले त्यसो गर्दैनन्। के तिनीहरूमध्ये कसैले पनि वास्तवमा उहाँ को हुनुहुन्छ भनी देखेनन्?

यहाँसम्म हामीले धर्मशास्‍त्रमा भेट्टाएको बलियो प्रमाण यही हो, कि येशू परमेश्‍वर हुनुहुन्‍न, तर परमेश्‍वरको पुत्र हुनुहुन्छ। बाइबलको कुनै पनि खण्डले येशू परमेश्‍वर हुनुहुन्छ भनी प्रत्यक्षरूपमा बताउँदैन, तर केही (पाँच अथवा छ) यस्ता खण्डहरू देखा पर्दछन् जसले येशूलाई परमेश्‍वर भनेर सम्बोधन गर्दछन् अथवा येशूलाई परमेश्‍वरको रूपमा उल्लेख गर्दछन्। ती खण्डहरूले येशू साँच्‍चै परमेश्‍वर हुनुहुन्छ भनी देखाउँछ कि देखाउँदैन भनेर अब हामीले तिनीहरूलाई होसियारीसाथ जाँच गर्नैपर्छ, तर त्यसो गर्नुभन्दा पहिले हामीले एउटा कुरलाईलाई स्पष्ट पार्नुपर्दछ।

एलोहिम (Elohim) र थेओस् (Θεος)

ग्रीक शब्द थेओस् (Θεος) लाई साधारणरूपमा नेपालीमा परमेश्‍वर अनि अङ्ग्रेजीमा God भनी अनुवाद गरिएको छ। हिब्रू शब्द एलोहिम (Elohim, אֱלֹהִים) लाई पनि यसरी नै अनुवाद गरिएको छ। तर थेओस् र एलोहिमले नेपाली शब्द परमेश्‍वर र अङ्ग्रेजी शब्द God भन्दा निकै फराकिलो अर्थ प्रदान गर्दछन् (Elohim - Blue letter Bible हेर्नुहोस् ।)

यी पदहरूलाई हेर्नुहोस्:

यहाँ एलोहिम र थेओस् शब्दहरूलाई नेपालीमा देवता, ईश्‍वर, देवहरू र न्यायकर्ता भनी अनुवाद गरिएका छन्। ती शब्दहरूलाई शासकहरू, स्वर्गदूतहरू अथवा ठूलो मान्छे भनेर पनि अनुवाद गर्न सकिन्छ।

यसको मतलब के हो भने एलोहिम अथवा थेओस शब्द प्रयोग भएको ठाउँमा सही अर्थ निकाल्न अनुवादकले सन्दर्भअनुसार उचित किसिमले अनुवाद गर्नैपर्छ। येशूलाई बुझाउन थेओस् (Θεος) शब्द प्रयोग गरिएको खण्डहरूमा, येशू परमेश्‍वर हुनुहुन्छ भन्‍ने परम्परागतरूपमा शिक्षालाई सुदृढ पार्न अनुवादकहरूले सधैँ परमेश्‍वर (God) भनेर लेखे।

तसर्थ, हामीले बुझ्‍नुपर्ने कुरा के हो भने, हिब्रू शब्द एलोहिम (Elohim) र ग्रीक शब्द थेओस (Θεος) ले सर्वोच्‍च व्यक्तिको रूपमा परमेश्‍वरलाई मात्र बुझाउन सक्दैन, तर स्वर्गदूतहरू, देवहरू अथवा मानिसहरूलाई पनि बुझाउन सक्छ। येशू परमेश्‍वर हुनुहुन्छ भनेर देखाउने यस्ता सबै बाइबल खण्डहरूको दुविधालाई हटाउन यही एउटा तथ्य पर्याप्‍त छ।

थोमाको स्वीकार

नयाँ करारमा येशू परमेश्‍वर हुनुहुन्छ भनी स्पष्टसँग बताउने एउटा खण्ड देखापर्दछ। अब हामी त्यसलाई बिस्तृतरूपमा हेर्नेछौँ।

यूहन्‍ना २०:२७-२९ मा पुनरुत्थान हुनुभएको येशूलाई जीवित देखेर थोमा आश्‍चर्यचकित हुँदै चिच्याउँछन्, "मेरा प्रभु, र मेरा परमेश्‍वर।" पहिलो हेराइमा यो पत्रुसको विश्‍वासको स्वीकारोक्तिजस्तै देखिन्छ, तर त्यहाँ महत्वपूर्ण भिन्‍नताहरू छन्। येशूले पत्रुसको तारिफ गर्नुभयो, तर अचम्भको कुरा के हो भने उहाँले थोमालाई चाहिँ हप्‍काउनुभयो : “तिमीले मलाई देखेको कारणले ममाथि विश्‍वास गरेका हौ? धन्‍य हुन्‌ तिनीहरू, जसले मलाई देखेका छैनन्‌, र पनि विश्‍वास गर्छन्‌।”

त्यहाँ भिन्‍नता किन? पत्रुसले येशू मसिह अनि परमेश्‍वरको पुत्र हुनुहुन्छ भन्‍ने प्रकाश पाएका थिए। थोमासँग चाहिँ कुनै प्रकाश थिएन। अरूहरूले येशू जीवित हुनुभएको छ भनेर बताउँदा विश्‍वास गर्न नमानेको बेलामा अचानक येशू आफ्नोसामु देखापर्नुहुँदा अचम्भित तीव्र भावनालाई उसले त्यतिबेला प्रकट गरेको थियो। "मेरा प्रभु र मेरा परमेश्‍वर" भन्‍ने शब्दहरू परमेश्‍वरबाट आएको प्रकाश थिएन बरु आश्‍चर्यचकित हुँदा थोमाको मुखबाट निस्केको उद्‍गार थियो।

केही लुकिएको ग्रीक व्याकारणले मैले भन्दैगरेका कुराहरूलाई पुष्टि गर्छ। ग्रीकमा थोमाले बोलेका वास्तविक शब्दहरू यी हुन् : “ὁ κυριος (Lord, प्रभु) μου και ὁ θεος (God, परमेश्‍वर) μου”। ग्रीक भाषामा कर्त्ताकारक (nominative) अथवा कर्मकारक (accusative) अथवा सम्बोधन कारक (vocative) अनुसार नामलाई (संज्ञालाई) फरकफरक किसिमले टुङ्ग्याइन्छ। यदि थोमाले येशूलाई नै सम्बोधन गरेर बोलेको भए, त्यहाँ κυριος र θεος जस्ता सम्बोधन कारक संज्ञाहरू लेखिनुपर्थ्यो तर त्यो वाक्यमा κυριε र θεε लेखिएको छ। क्रूसबाट येशूले "मेरा परमेश्‍वर" (θεε μου) भनेर कराउनुहुँदा सम्बोधन कारक शब्द (सम्बोधन कारक संज्ञा) प्रयोग गर्नुभयो। मानिसहरूले येशूलाई पुकार्दा सम्बोधन कारक संज्ञा κυριε प्रयोग गर्दछन्। तर थोमाले प्रयोग गरेका κυριος र θεος शब्दहरूचाहिँ कर्त्ताकारक संज्ञाहरू हुन्; र यसले प्रत्यक्षरूपमा येशूलाई सम्बोधन नगरी बरु अचम्भितरूपमा निस्केका उद्‍गातिर शब्दहरूलाई बुझाउँछ।

अर्को कुरा के हो भने, बाइबलमा ग्रीक शब्द θεος लाई परमेश्‍वर भनी अनुवाद गरिएको छ भन्‍ने कुरालाई हामीले हेरिसकेका छौँ; र यसले सामान्यरूपमा ठूलो अथवा महत्वपूर्ण व्यक्तिलाई बुझाउन सक्छ। र यसले थोमाका शब्दहरूलाई पनि व्याख्या गर्न सक्छ।

सर्वशक्तिमान् परमेश्‍वर, अनन्त पिता

पुरानो करारको एउटा खण्डले येशू परमेश्‍वर हुनुहुन्छ भनी बताएको देखिन्छ। धेरै अनुवादहरूमा यशैया ९:६ ले भन्दछ, "किनभने हाम्रा निम्‍ति एउटा बालक जन्‍मिएको छ, हामीलाई एउटा पुत्र दिइएको छ; शासन उहाँको काँधमाथि हुनेछ; उहाँको नाम अद्‍भूत सल्‍लाहकार, शक्तिशाली परमेश्‍वर, अनन्‍तका पिता, शान्‍तिका राजकुमार (कहलाइनेछ) कहलिनेछ।" धेरै मानिसहरूले विश्‍वास गर्दछन्, कि यो येशूको बारेमा भएको अगमवाणी हो, जहाँ उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर बताइएको छ।

वास्तवमा यो अगमवाणी दुई किसिमले पूरा भएको छ। छोटो अवधिको लागि यसले राजा हिजकियाको जन्मलाई बुझाउँछ भने लामो अवधिको लागि चाहिँ येशूको जन्मलाई बुझाउँछ। यहाँ दुई वटा समस्याहरू छन्। हिब्रू क्रियापद (יִּקְרָא) लाई "(उहाँको नाउँ) कहलाइनेछ" भनी अनुवाद गरिएको छ; र यो वाक्य सकर्मक हो (अकर्मक होइन)। शाब्दिक अनुवादहरूले यसलाई "(उहाँको नाम) कहलिनेछ" भनेर लेखेका छन् । त्यसैगरी 'अनन्तका पिता' भन्‍ने शब्द पुत्रको निम्ति प्रयोग गरिने अस्वाभाविक सम्बोधन हो; चाहे त्यो हिजकियाको लागि होस् अथवा येशूको लागि होस्। 'शक्तिशाली परमेश्‍वर' भन्‍ने सम्बोधन पक्‍कै पनि हिजकियाको लागि सुहाउँदैन। तसर्थ यो हिब्रू वाक्य कर्म के हो र कर्ता के हो भन्‍ने कुरामा त्यति स्पष्ट छैन। यी सबै कुरालाई ध्यानमा राख्‍ने हो भने अलि सुहाउँदो अनुवाद यस्तो हुनसक्छ : "शक्तिशाली परमेश्‍वर, अनन्तका पिता अचम्‍मका सल्लाहकार, शान्तिका राजकुमार भन्‍ने नाउँले कहलिनुहुनेछ।"

अस्पष्ट खण्डहरू

नयाँ करारमा अरू चार वटा यस्ता खण्डहरू देखा पर्दछन् जसले येशू परमेश्‍वर हुनुहुन्छ भन्‍ने परम्परागत त्रिएकको अवधारणालाई पुष्टि गर्न सहायता पुर्‍याउँछन्। म ती खण्डहरूलाई यहाँ उल्लेख गर्दछु र यो लेखको अन्तमा तिनीहरूलाई व्याख्या गर्नेछु।

म र पिता एक हौँ

“म र पिता एक हौँ” (यूहन्‍ना १०:३०) भन्‍ने येशूका शब्दहरूले उहाँ परमेश्‍वर हुनुहुन्छ भनी प्रमाणित गर्छ भनी धेरै मानिसहरूले विश्‍वास गर्दछन्। यूहन्‍ना १०:३३ मा उल्लिखित “तिमी मानिस भएर पनि आफैलाई परमेश्‍वर तुल्‍याउँछौ” भन्‍ने फरिसीहरूका शब्दहरूलाई उध्‍दृत गर्दै तिनीहरूले येशू परमेश्‍वर हुनुहुन्छ भनी व्याख्या गर्न खोज्छन्। तर के ती फरिसीहरूको भनाइ सही थियो? ती फरिसीहरू येशूलाई ठिकसँग चिन्‍ने र बुझ्‍ने विशेषज्ञहरू थिए भनेर कसैले पनि बताउन सक्दैन!

येशूले बोल्‍नुभएको ती शब्दहरूको अर्थ के थियो त? यो उत्तर दिन सजिलो प्रश्‍न होइन। सायद उहाँ र उहाँको पिताले गर्ने र सोच्‍ने हरेक कुरामा उहाँहरू दुवैको मन र उद्देश्य एउटै छ भन्‍ने त्यसको अर्थ हुनसक्छ। 'म र पिता एक हौँ' भन्‍ने वाक्यले येशू परमेश्‍वर हुनुहुन्छ भनेर स्पष्टसँग बताउँदैन।

आफ्नो अन्तिम प्रार्थनामा येशूले आफू र पिता अनि आफूलाई पछ्याउनेहरू सबै एक होऊन् भनेर प्रार्थना गर्नुभयो, "म यिनीहरूका निम्‍ति मात्र प्रार्थना गर्दिनँ, तर यिनीहरूका सन्‍देशद्वारा ममाथि विश्‍वास गर्नेहरूका निम्‍ति पनि प्रार्थना गर्छु, कि तिनीहरू सबै एक होऊन्‌। हे पिता, जसरी तपाईं ममा हुनुहुन्‍छ, र म तपाईंमा, त्‍यसरी तिनीहरू पनि हामीमा होऊन्‌, र तपाईंले मलाई पठाउनुभयो भनी संसारले विश्‍वास गरोस्‌" (यूहन्‍ना १७:२०-२१)।

यदि परमेश्‍वरसँग एक हुनु भनेको येशू परमेश्‍वर हुनुहुन्छ भन्‍ने हो भने, उहाँका सबै अनुयायीहरू (उहाँलाई पछ्याउनेहरू) पनि परमेश्‍वर हुन् भन्‍ने अर्थ लाग्छ! (यसको मतलब हामीहरू पनि परमेश्‍वर हौँ।)

परमेश्‍वर ख्रीष्टमा हुनुहुन्थ्यो

येशूले फिलिपलाई सोध्‍नुभयो, “म पितामा छु, र पिता ममा हुनुहुन्‍छ भनेर के तिमी विश्‍वास गर्दैनौ?” (यूहन्‍ना १४:१०)। पावलले यस्तै खालका शब्दहरू लेखे, "... ख्रीष्‍टमा हुनुभएर परमेश्‍वरले संसारलाई आफूसँग मिलापमा ल्‍याउँदैहुनुहुन्‍थ्‍यो" (२ कोरिन्थी ५:१९)। पावलले त्यहाँ यसरी लेख्‍न सक्थे, "ख्रीष्ट परमेश्‍वर हुनुहुन्थ्यो, र उहाँले संसारलाई आफूसँग मिलापमा ल्याउँदैहुनुहुन्थ्यो।" तर तिनले त्यसरी लेखेनन् बरु "परमेश्‍वर ख्रीष्टमा हुनुहुन्थ्यो" भनेर लेखे। यी दुई भनाइहरू निश्‍चय नै एउटै होइन भन्‍ने स्पष्ट छ। यसको अर्थ ख्रीष्ट परमेश्‍वर हुनुहुन्छ भन्‍ने पक्‍कै होइन। हामीमा पनि परमेश्‍वर हुनुहुन्छ यदि पवित्र आत्मा हामीमा वास गर्नुहुन्छ भने, र त्यसको मतलब हामीहरू परमेश्‍वर हौँ भन्‍ने अर्थ कदापि लाग्दैन। येशू परमेश्‍वर हुनुहुन्छ भनेर प्रमाणित गर्न मानिसहरूले प्रयोग गर्ने यस्ता थुप्रै बाइबल खण्डहरूलाई यो भिन्‍नताले स्पष्टसँग व्याख्या गरिदिन्छ।

"आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो" भनेर हामी यूहन्‍ना १:१ मा पढ्दछौँ। यूहन्‍ना १:१४ ले "अनि वचन शरीर हुनुभयो, र अनुग्रह र सत्‍यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो" भनेर बताउँछ। धेरै मानिसहरूले यसलाई येशू परमेश्‍वर हुनुहुन्छ भन्‍ने स्पष्ट तथ्यको रूपमा देख्‍न सक्छन्। वास्तवमा "वचन शरीर हुनुभयो" भन्‍ने भनाइ "परमेश्‍वर ख्रीष्टमा हुनुहुन्थ्यो" भन्‍ने पावलको शब्दहरूसँग मिल्दाजुल्दा छन्। यस भनाइले ख्रीष्ट नै परमेश्‍वर हुनुहुन्छ भनी सङ्केत गर्दैन।

१ तिमोथी ३:१६ मा यही कुरा लागु हुन्छ : "उहाँ (परमेश्‍वर) स्‍वयम्‌ शरीरमा प्रकट हुनुभयो, पवित्र आत्‍माद्वारा धर्मी ठहरिनुभयो, स्‍वर्गदूतहरूबाट देखिनुभयो, जाति-जातिहरूका माझमा प्रचारिनुभयो, संसारमा विश्‍वास गरिनुभयो, महिमामा माथि उचालिनुभयो।" धेरै मानिसहरूले यस पदले पनि येशू परमेश्‍वर हुनुहुन्छ भनेर प्रमाणित गर्छ भनी ठान्छन्, तर यसले केवल परमेश्‍वर शरीरमा (ख्रीष्टमा) हुनुहुन्थ्यो भनेर मात्र बताउँछ। तर 'ख्रीष्ट परमेश्‍वर हुनुहुन्थ्यो' भनेर यस पदले हामीलाई बताउँदैन।

'परमेश्‍वर ख्रीष्टमा हुनुहुन्थ्यो' भन्‍ने तथ्यलाई थोमाको यी शब्दहरू व्याख्या गर्न निकै सहायता गर्दछन्, "मेरा प्रभु, र मेरा परमेश्‍वर।" थोमाले परमेश्‍वरलाई येशूमा देखे, जुन केही समयपहिले येशूले भन्‍नुभएको शब्दहरूसँग ठ्याक्‍कै मिल्न जान्छ, "जसले मलाई देखेको छ, त्‍यसले पितालाई देखेको छ" (यूहन्‍ना १४:९)।

एक परमेश्‍वर

परमेश्‍वर एक मात्र हुनुहुन्छ भनेर पुरानो करारको थुप्रै खण्डहरूले स्पष्ट पार्दछन्।

हरेक यहूदीलाई व्यवस्था ६:४ मा उल्लिखित "परमप्रभु हाम्रा परमेश्‍वर एउटै परमप्रभु हुनुहुन्‍छ।"

यस सन्दर्भमा परमेश्‍वरले यशैया ४५ अध्यायमा तीन वटा स्पष्ट भनाइहरू घोषणा गर्नुभयो :

यदि परमेश्‍वर र येशू दुवै जना नै परमेश्‍वर हुनुहुन्छ, र उहाँहरू फरकफरक व्यक्तिहरू हुनुहुन्छ भने परमेश्‍वर पक्‍कै एकभन्दा धेरै हुनुपर्दछ।

यस विषयमा अर्को विचार अर्थात् यो लेखको अति महत्वपूर्ण अवधारणाचाहिँ यो हो : यदि येशू परमेश्‍वर हुनुहुन्छ र हामीचाहिँ केवल मरणशील प्राणीहरू मात्र हौँ भने उहाँजस्तै हुनको लागि हामीसँग झिनो आशा मात्र रहन्छ; तर यदि उहाँ परमेश्‍वरको पुत्र हुनुहुन्छ, र हामीचाहिँ नयाँ जन्मद्वारा परमेश्‍वरको छोराहरू र छोरीहरू भएका छौँ, अर्थात् हामी येशूको भाइबहिनीहरू भएका छौँ भने येशूको स्वरूपमा रूपान्तरित भई उहाँले जिउनुहुने जीवन जिउने अद्‍भूत आशा हामीमा रहन्छ।

निष्कर्ष

१७ शताब्दीहरूसम्म मण्डलीले हामीलाई येशू परमेश्‍वर हुनुहुन्छ भनेर सिकाउँदै आएको छ। मलगायत धेरै इसाईहरूले कलिलो उमेरदेखि यो कुरा सिक्दै आएका छन्। र हामीले कुनै प्रश्‍नविना यसलाई विश्‍वास गरेका छौँ।

येशूको पहिचानको बारेमा घोषणा गर्ने सबै बाइबल खण्डहरूले उहाँ परमेश्‍वरको पुत्र हुनुहुन्छ भनी बताउँछन्, फिलिप्पी २:५-११, कलस्सी १:१४-१९हिब्रू १ अध्यायमा उल्लिखित महत्वपूर्ण विवरणहरूमध्ये कुनैले पनि उहाँ परमेश्‍वर हुनुहुन्छ भनेर बताउँदैन। यहाँ हामीले थाहा पाउनुपर्ने कुरा के हो भने बाइबलको करिब ४० वटा खण्डहरूले येशू परमेश्‍वरको पुत्र हुनुहुन्छ भनी उल्लेख गर्दछन्।

नयाँ करारमा येशूलाई ४ अथवा ५ पटक मात्र परमेश्‍वर भनी उल्लेख गरिएको छ, तर तीमध्ये कुनैले पनि येशूको उक्त पहिचानबारे प्रत्यक्षरूपमा विवरण दिँदैन अनि ती सबै खण्डहरूको अर्थहरूलाई हेर्ने हो भने त्यहाँ कुनै न कुनै किसिमका अस्पष्टता रहेको देखिन्छ।

ग्रीक र रोमी देवताहरू नियमितरूपमा पृथ्वीमा आएर मानिसहरूसँग हिँड्डुल गर्ने गर्दथे। त्यस्तो परिवेशमा येशूलाई परमेश्‍वर तुल्याएर अन्यजाति धर्मका मानिसहरूलाई इसाई धर्मतिर ल्याउनु सम्राट कन्स्टाण्टिनको चलाकीपूर्ण उद्देश्य थियो।

येशूलाई परमेश्‍वरको स्थानमा नराखी परमेश्‍वरको पुत्रको स्थानमा राख्‍नाले त्रिएकको सिद्धान्तमा गम्भीर समस्या खडा हुन्छ? त्यसो गर्नाले परम्परागत मण्डलीको मुख्य सिद्धान्तमाथि नै ठूलो प्रश्‍न खडा हुन्छ। यस विषयमा मैले चर्चको परम्परा, धर्मशास्‍त्र र इसाई इतिहासमा त्रिएकको सिद्धान्त भन्‍ने लेख लेखेको छु।

र अन्तमा भन्‍नुपर्दा, येशूवालाई परमेश्‍वर होइन तर परमेश्‍वरको पुत्रको रूपमा हेरियो भने यहूदीहरूले येशूवालाई आफ्नो मसिह (मुक्तिदाता) भनेर चिन्‍न नसकेको ठूलो समस्यालाई हटाई दिन्छ।

अनुवादक: शमूएल श्रेष्ठ

यो पुस्‍तकलाई रंगिन [Color] छाप्‍ने फाइल

यो पुस्‍तकलाई श्‍याम-स्‍वेत [Black & White] छाप्‍ने फाइल

कसरी छाप्ने

केही अस्पष्ट बाइबल खण्डहरूको टिप्पणी

हिब्रू १:८-९

यो खण्ड भजनसङ्ग्रह ४५:६,७ बाट हुबहु उद्धरण गरिएको हो : "हे परमेश्‍वर, तपाईंको सिंहासन सदासर्वदाको निम्‍ति रहिरहन्‍छ, र न्‍यायको राजदण्‍ड तपाईंका राज्‍यको राजदण्‍ड हो। तपाईंले धार्मिकतालाई प्रेम गर्नुभएको छ, र अधर्मलाई घृणा गर्नुभएको छ। यसकारण परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई आफ्‍ना साथीहरूभन्‍दा बढ्‌ता गरेर हर्षको तेलले अभिषेक गर्नुभएको छ।"

भजनसङ्ग्रह ४५ को सुरुका शब्दहरू यस्ता छन् : "एउटा सुन्दर विषयले मेरो हृदय भरिएर पोखिरहेछ; म राजाको विषयमा मैले रचेको कविता सुनाउँछु।" यो राजालाई सम्बोधन गरिएको थियो। ६ पदमा यस्तो लेखिएको छ : "हे परमेश्‍वर, तपाईंको सिंहासन सदासर्वदाको निम्‍ति रहिरहन्‍छ, र न्‍यायको राजदण्‍ड तपाईंका राज्‍यको राजदण्‍ड हुनेछ।" यी शब्दहरूचाहिँ राजालाई होइन बरु परमेश्‍वरलाई सम्बोधन गरिएको जस्तो देखिन्छ। त्यसपछि आउने "यसकारण परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई आफ्‍ना साथीहरूभन्‍दा बढ्‌ता गरेर हर्षको तेलले तपाईंलाई अभिषेक गर्नुभएको छ" भन्‍ने शब्दहरूले चाहिँ फेरि राजालाई सम्बोधन गर्दछ। यो भजनसङ्ग्रह यहूदी पाठकहरूलाई सम्बोधन गरिएको हो र उनीहरूले भजनसङ्ग्रह ४५ जान्दछन् र त्यसैकारण उनीहरूले यसलाई येशू परमेश्‍वर हुनुहुन्थ्यो भन्‍ने अर्थमा लिँदैनन्।

यो खण्डको अर्को व्याख्या के हो भने शायद परमेश्‍वर (God, θεος) भन्‍ने शब्दलाई यहाँ फेरि एकपटक सामान्यरूपमा महत्वपूर्ण व्यक्तिको लागि प्रयोग गरिएको हुन सक्छ।

रोमी ९:५

ग्रीक भाषामा यो पद अस्पष्ट छ । यसलाई दुई तरिकाले अनुवाद गर्न सकिन्छ :

  1. पिताहरू तिनीहरूकै हुन्, जसअनुसार ख्रीष्ट शरीरमा आउनुभयो, जो सर्वोच्‍च हुनुहुन्छ, परमेश्‍वर सदासर्वदा धन्य हुनुहुन्छ।
  2. पिताहरू तिनीहरूकै हुन्, जसअनुसार ख्रीष्ट शरीरमा आउनुभयो। परमेश्‍वर सर्वोच्‍च, जो सदासर्वदै धन्य हुनुहुन्छ।

यो पदलाई कुन तरिकाले अनुवाद गर्ने भनेर अनुवादकहरूले रोज्‍ने कुरा हो, तर अधिकांश अनुवादकहरूले त्रिएकलाई विश्‍वास गर्ने भएकोले गर्दा उनीहरूले पहिलो अनुवादलाई रोजेका छन्।

२ पत्रुस १:१

“येशू ख्रीष्‍टको दास र प्रेरित सिमोन पत्रुसबाट, र हाम्रा परमेश्‍वर र (हाम्रो) मुक्तिदाता येशू ख्रीष्‍टको धार्मिकतामा हाम्रो जस्‍तै अनमोल विश्‍वास प्राप्‍त गर्नेहरूलाई।”

तीतस २:१३

“हाम्रो धन्‍यको आशा– हाम्रा महान्‌ परमेश्‍वर र (हाम्रो) मुक्तिदाता येशू ख्रीष्‍टका महिमाको आगमनको हामी प्रतीक्षा गर्दछौं।”

ग्रीकमा यी दुई पदहरू पनि अस्पष्ट छन्। के ती लेखकहरूले यहाँ एउटै व्यक्ति, येशूलाई उल्लेख गर्दछन्? अथवा तिनीहरूले परमेश्‍वर र येशू- दुई फरक व्यक्तिहरूका रूपमा उल्लेख गर्दछन्? यी दुईमध्ये अनुवादकहरूले एउटा विचारलाई रोज्‍न सक्छन्। त्यसको मतलब तिनीहरूले 'हाम्रो' भन्‍ने शब्दलाई त्यस वाक्यमा राख्‍न अथवा हटाउन सक्छन्। त्रिएकमा विश्‍वास राख्‍ने अनुवादकहरूले त्यहाँबाट 'हाम्रो' शब्दलाई हटाएर येशूलाई मात्र बुझाउने हेतुले अनुवाद गर्न सक्छन्।

यस सन्दर्भमा माथिका पदहरूमा अर्को सम्भावना के रहन्छ भने त्रिएकको सिद्धान्तलाई समर्थन गर्न शास्‍त्रीहरूले ती पदहरूलाई केही फरक बनाएका हुन सक्छन्। नयाँ करारको अरू स्थानहरूमा पनि यस्तै अवस्था देखा पर्दछ।

त्रिएकको सिद्धान्त र येशू परमेश्‍वर हुनुहुन्छ भन्‍ने विश्‍वासलाई समर्थन गर्ने माथिको बाइबल खण्डहरू र अन्य यस्ता थुप्रै खण्डहरूलाई The Biblical Unitarian websiteले व्याख्या गर्दछन् । तिनीहरूले गर्ने व्याख्याहरू मेरोभन्दा फरक हुन सक्छन्।