असल गोठालाहरू

परिचय

पुरानो करारमा अब्राहाम, मोशा र दाऊद तीनजना प्रसिद्व व्‍यक्तिहरू थिए। उनीहरू सबै नै गोठालाहरू थिए। नयाँ करारमा प्रभु येशूले आफूलाई असल गोठालो भनी वर्णन गर्नुभएको छ। उहाँ स्‍वर्गमा चढ्नुभन्‍दा केही समय अगाडि पत्रुसलाई गोठालो नियुक्त गर्नुभयो।

अर्को अर्थमा पास्‍टर शब्‍दको अर्थ गोठालो पनि हो। आउनुहोस्, हामी गोठाला अथवा पास्‍टरहरूका विषयमा विचार गरौँ र हेरौँ कि हामी यसबाट के सिक्‍न सक्‍छौँ ?

मिश्रदेश

पहिला हामी उत्‍पत्तिको पुस्‍तक ४६ अध्‍यायलाई हेरौँ। त्‍यस समयमा योसेफ मिश्रदेशका प्रधानमन्‍त्री भएका थिए। योसेफको पिता याकूब र दाजुभाइहरू पनि गोठाला थिए, तिनीहरू त्‍यतिबेला कनान देशबाट मिश्रदेशमा आइपुगेका थिए। उक्त अध्‍यायको अन्‍तिम पदमा हामी पढ्छौँ- “मिश्रीहरू सबै गोठालाहरूलाई घृणा गर्छन्।” त्‍यो किन हुनगयो त ?

त्‍यो समयमा मिश्रदेश संसारको सबैभन्‍दा धनी र शक्तिशाली राष्‍ट्र थियो (अहिलेको अमेरिकाजस्‍तै)। त्‍यहाँ धेरै मानिसहरू शिक्षित थिए र असल घरमा बस्‍दथे तर गोठालाहरू भने त्‍यस्‍तो अवस्‍थामा थिएनन्। उनीहरू पालमा बस्‍दथे र यताउता घुमिरहन्‍थे। प्राय: उनीहरू फोहोरी, गन्‍हाउने र अशिक्षित मानिसहरू थिए। शायद उनीहरू मिश्रीहरूले नबुझ्‍ने फरक भाषा बोल्‍दथे होलान्। अहिले नेपालका केही ठाउँहरूमा गोठालाहरूका अवस्‍था त्‍यस्‍तै छ। त्‍यसकारण मिश्रीहरूले गोठालाहरूलाई मन नपराउनु र तुच्‍छ ठान्‍नु कुनै नौलो कुरो थिएन।

मोशा

मोशा गोठालाको परिवारमा हुर्केका व्‍यक्ति थिएनन्। त्‍यस समयमा मिश्रीहरूले इस्राएली बालकहरूलाई मार्दथे, त्‍यसैले उनकी आमाले उनलाई मृत्‍युबाट बचाउनको निम्‍ति मिश्रदेशको निल नदीको किनारको झाड़ीमा लुकाएर राखिन्। मिश्रकी राजकुमारीले उनलाई भेटेर दरवारमा लगिन् र आफ्‍नै बच्‍चाजस्‍तै गरी हुर्काइन्। उनी मिश्रको राजकुमार भए। बढ्दै गएपछि उनको जीवन फेरि खतरामा पर्‍यो, र उनी भागेर मिद्यानमा गए। त्‍यहाँ उनले यित्रो नाम गरेका पुजाहारीकी छोरीसँग विवाह गरे। जुन कुरा हामी प्रस्‍थान ३:१ मा पाउँदछौँ। मोशाले आफ्‍ना ससुरा यित्रोका भेड़ाबाख्राहरू चराउने गर्दथे। यो खण्‍ड केही विशेष सोचविचार बिना पढ्न सजिलो छ। मोशा मिश्रका राजकुमार थिए। दरवारमा उनले आफ्‍नो युवाअवस्‍था विलासिता र आरामदायी तवरबाट बिताएका थिए तर त्‍यतिबेला मिश्रीहरूले तुच्‍छ ठानेको गोठालोको काम उनी गर्दथे। उनी माथिल्‍लो तहबाट तल्‍लो तहमा झरे। गोठालो भए पनि उनीसँग आफ्‍नै भेड़ाबाख्राहरू थिएनन्। उनले आफ्‍नो बाबुको भेड़ाबाख्रा पनि चराएनन्। उनीसँग ससुराका भेड़ाबाख्राहरू मात्र थिए। होचिएर भए पनि उनले ४० वर्षसम्‍म त्यो जिम्‍मेवारीलाई पूरा गर्दैरहे।

परमेश्‍वरले मोशालाई उच्‍च तहबाट निम्‍न तहमा पुर्‍याउनुभए तापनि पछि अति नै महान् काम दिनुभयो। येशू ख्रिष्‍ट संसारमा नआउनुभएसम्‍म, कुनै मानिसले त्‍यस्‍तो महान् काम गर्नसकेको थिएन। मोशाले इस्राएलीहरूलाई मिश्रदेशबाट निकालेर स्‍वाधिन राष्‍ट्र निर्माण गरे। उनले बाइबलका सुरुका ५ पुस्‍तकहरू पनि लेखे। हाम्रो मुक्तिदाता येशू ख्रीष्‍ट बाहेक संसारको इतिहासमा बढी प्रभाव हुने व्‍यक्ति शायद उनी नै हुनुपर्छ।

दाऊद

दाऊद पुरानो इस्राएल देशको सबैभन्‍दा प्रख्‍यात राजा थिए। नेपाल लगायत संसारका धेरै देशमा लाखौँ-करोडौँ मानिसहरूले आफ्‍नो नाम दाऊद राखेका छन्। सुरुको जीवनमा उनी गोठालो थिए। इस्राएल देशको त्‍यतिबेलाको राजा शाऊललाई उनले आफ्‍नो गोठालो जीवनको अनुभवको बारेमा यसो भने: “हजूर, म मेरा पिताका भेड़ाहरूको हेरचाहा गर्दैआएको छु। जब सिंह अथवा भालुले आएर बगालबाट भेड़ा बोकेर लैजान्‍थ्‍यो, तब म त्‍यसको पछि गई त्‍यसलाई आक्रमण गरेर त्‍यसको मुखबाट त्‍यसका शिकारलाई छुटाउँथेँ। यदि मलाई आक्रमण गर्नलाई त्‍यो फर्क्‍यो भने म त्‍यसको रौं समातेर कुटी-कुटी त्‍यसलाई मार्थें। मैले सिंह र भालु दुवैलाई मारेको छु। यस बेखतनाको पलिश्‍तीको दशा तिनीहरूको भन्‍दा असल हुनेछैन, किनकि त्‍यसले जीवित परमेश्‍वरको सेनालाई विरोध गरेको छ। सिंह र भालुदेखि बचाउनुहुने परमप्रभुले यस पलिश्‍तीको हातदेखि पनि मलाई बचाउनुहुनेछ” (१शमुएल १७: ३४-३७)।

दाऊदको उक्त भनाइबाट हामीले उनको आचरणको बारेमा धेरै कुराहरू बुझ्‍न सक्‍छौँ।

पहिलो कुरा उनीसँग साहस थियो। उनी सिंह र भालु औ त्‍यसपछि उनीभन्‍दा ठूलो र बलियो राक्षससँग भिड्न र लड्न तयार भए।

दोश्रो कुरा उनमा परमेश्‍वरप्रति गहिरो विश्‍वास र भरोसा थियो। केवल परमेश्‍वरको शक्तिबाट उनी जङ्गली जनावर र राक्षससँग लड्न सके र उनले आफ्‍नो जीवन गुमाएनन्।

तेस्रो कुरा उनले आफ्‍नो भेड़ाबाख्राहरूलाई प्रेम गर्थे र तिनको ख्‍याल राख्‍दथे। प्रायजसो गोठालाहरू सिंह र भालु आएको देखे भने भाग्‍छन्। आफ्‍ना भेड़ाबाख्राहरूलाई बचाउनको लागि आफ्‍नो जीवनलाई जोखिममा पार्दैनन्। यस विषयमा दाऊद फरक व्यक्ति थिए। भागेर जानुको सट्टा, आफ्‍ना भेड़ाबाख्राहरूलाई बचाउनको निम्‍ति उनले सिंहलाई पिछा गरेर आक्रमण गर्थे।

परमेश्‍वरले दाऊदलाई गोठालोबाट उठाएर इस्राएल देशको राजा बनाउनुभयो। उनले भेड़ाबाख्राहरूलाई प्रेम र वास्‍ता गर्थे। संसारमा केही त्‍यस्‍ता राजाहरू थिए जसले आफ्‍ना मानिसहरूलाई दाऊदले जस्‍तै वास्‍ता गर्दथे।

येशू

येशूले भन्‍नुभयो “म असल गोठालो हुँ” (यूहन्‍ना १०: ११)।

उहाँले असल गोठालोमा हुनुपर्ने आचरणहरूको वर्णन गर्नुभयो। “असल गोठालोले आफ्‍ना भेड़ाहरूका निम्‍ति आफ्‍नो प्राण अर्पण गर्छ। भाड़ाको मान्‍छेचाहिँ भेड़ाहरूको आफ्‍नै गोठालोजस्‍तो होइन। त्‍यसले त ब्‍वाँसालाई आएको देखेर भेड़ाहरूलाई छोडी त्‍यो भाग्‍छ, र त्‍यसपछि ब्‍वाँसाले भेड़ाहरूलाई गाँजी लैजान्‍छ र तितरबितर पारिदिन्‍छ। त्‍यो भाग्‍छ, किनभने त्‍यो भाड़ाको मान्‍छे हो, त्‍यसले भेड़ाको केही वास्‍ता गर्दैन” (यूहन्‍ना १०:११-१३)। उहाँको कुरा सुन्‍नेहरूले दाऊदलाई सम्‍झन्‍थे।

येशू दाऊदजस्‍तै हुनुहुन्‍थ्‍यो। उहाँले आफ्‍ना भेड़ाहरूलाई प्रेम गर्नुहुन्‍थ्‍यो र उनीहरूको निम्‍ति आफ्‍नो प्राण पनि अर्पण गर्न तयार हुनुहुन्‍थ्‍यो। उहाँले भन्‍नुभयो: “आफ्‍ना मित्रहरूका लागि आफ्‍नो प्राण अर्पण गरिदिनुभन्‍दा ठूलो प्रेम अरू कसैको हुँदैन” (यूहन्‍ना १५:१३)। दाऊदले साहस गरेर आफ्‍ना भेड़ाहरूलाई बचाउनका लागि जङ्गली जनावरसँग लड्ने आँट गरे। त्‍यसैगरी येशूले शैतान र अन्‍धकारको शक्तिसँग लड्ने आँट गर्नुभयो। गोलीयथमाथि विजय गर्नलाई परमेश्‍वरले शक्ति दिन्‍नुहुन्‍छ भन्‍ने दाऊदलाई विश्‍वास थियो। शैतान र मृत्‍युमाथि विजय गर्ने शक्ति परमेश्‍वरले दिनुहुन्‍छ भन्‍ने विश्‍वास येशूलाई पनि थियो।

येशू मोशाजस्‍तै हुनुहुन्‍थ्‍यो। मिश्रदेशको दरवारको राजकुमार भएर मोशाको जीवन सुरु भएको थियो। पछि आफैलाई नम्र तुल्‍याएर मिश्रदेशका प्रत्‍येक मानिसले तुच्‍छ ठानेको काम उनले गरेका थिए। येशूले मानव स्‍वरूप लिनको निम्‍ति स्‍वर्गमा आफ्‍नो पिताको सिंहासन छोड्नुभयो। साधारण काम गर्ने मानिसजस्‍तो भएर उहाँ बस्‍नुभयो। उहाँले आफ्‍ना मानिसहरूको बीचमा कुनै महान् पद ओगट्नु भएन। अन्‍त्‍यमा, उहाँको जीवन घिनलाग्‍दो अपराधीझैँ नाङ्गो गरी काठमा काँटी ठोकिएर सकियो। जसरी परमेश्‍वरले मोशालाई उनका मानिसहरूको निम्‍ति महान् व्‍यक्ति बनाएर उचाल्‍नुभयो, त्‍यसरी नै येशूलाई परमेश्‍वरले स्‍वर्गमा आफ्‍नो दाहिने हाततर्फ राख्‍नुभयो।

सेवकाई

नयाँ करारमा येशूमात्र गोठालो हुनुन्‍थ्‍यो वा उहाँ बाहेक अरू गोठालाहरू पनि थिए ? उहाँको पुनरुत्‍थान भएपछि उहाँले त्‍यो सेवकाइ पत्रुसलाई सुम्‍पिनुभयो। उहाँले पत्रुसलाई तीन पल्‍ट भन्‍नुभयो: “मेरा भेड़ाहरूलाई हेरविचार गर” (यूहन्‍ना २१: १६)।

पावलले एफिसीहरूलाई चिठ्ठी लेख्‍दाखेरि येशूले मण्‍डलीको निम्‍ति गोठालाहरूलाई वरदान स्‍वरूप दिनुभएको कुरा उल्‍लेख गरेका छन्। पावलले भनेका कुरा यिनै हुन्: “उहाँ उच्‍चमा चढिजानुहुँदा कैदलाई बन्‍दी बनाएर लानुभयो र मानिसहरूलाई वरदानहरू दिनुभयो ... अनि उहाँको वरदानहरूचाहिँ यिनै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू कोही प्रचारकहरू, कोही गोठालाहरू (पास्‍टरहरू) र कोही शिक्षकहरू बनुन्” (एफिसी ४: ८, ११)।

केही नेपाली र अङ्ग्रेजी बाइबलमा गोठालाहरू (shepherds) को सट्टामा पास्‍टरहरू लेखिएको छ। अङ्ग्रेजी भाषामा भेड़ाहरूलाई हेरचाह गर्ने मानिसलाई गोठाला (shepherd) र पास्‍टर (pastor)पनि भनिन्‍छ। वास्‍तवमा यी दुई शब्‍दले एउटै अर्थ दिन्‍छ। अहिले shepherd भन्‍ने शब्‍द साधारणतया भेड़ाहरू हेर्नेलाई भनिन्‍छ भने pastor भन्‍ने शब्‍द चर्च (मण्‍डली) चलाउनेलाई भनिन्‍छ। नेपाली भाषामा भएजस्‍तै बाइबलको ग्रीक र हिब्रू भाषामा पनि एउटै शब्‍द गोठालो छ। त्‍यसकारणले येशूले भन्‍नुभयो “म असल गोठालो हुँ” यसरी नै ग्रीक शब्‍द पनि एफिसी ४:११ मा प्रयोग भएको छ। धेरै पश्‍चिमी देशका मण्‍डलीहरूमा एउटा अगुवा हुन्‍छ जसलाई पास्‍टर भनिन्‍छ, जुन कुरा नेपालमा पनि नक्‍कल गरिएको छ। नयाँ करारको सुरुको मण्‍डलीमा हामी त्‍यस्‍तो चलन भेट्दैनौँ। नयाँ करारमा पास्‍टरको अर्थ मण्‍डलीको अगुवा भनेर कहीँ पनि भनिएको छैन। नयाँ करारमा एउटा पास्‍टरले नभएर प्रेरितहरूको समूहले मण्‍डलीको हेरचाह गर्थे। पाँच किसिमका सेवकाइमध्‍ये गोठालाको सेवकाइ येशूद्वारा मण्‍डलीमा दिइएको एक सेवकाइ हो भन्‍ने कुरा हामी थाहा पाउँछौँ।

येशूबाट पाएका वरदानहरूमध्‍ये सबै पाँच प्रकारका सेवकाइहरूमा प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, गोठालाहरू र शिक्षकहरू थिए। प्रेरित अथवा अगमवक्ता हुन्‍छु भनेर कसैले आफूलाई छान्‍न सक्‍दैन। केवल परमेश्‍वरबाट चुनिएका मानिसहरूले मात्र परमेश्‍वरको पवित्र आत्‍माद्वारा अभिषेक भएर यस्‍ता सेवकाइ गर्न सक्‍छन्। यसै प्रकारले गोठालो हुनको निम्‍ति आफैलाई छान्‍न सक्‍दैनन्। केवल परमेश्‍वरबाट चुनिएर र आवश्‍यक क्षमता पाएर मात्रै आफ्‍नो बगालको असल गोठालो हुन सक्‍छन्।

झूटा गोठालाहरू

बाइबलको समयमा असल गोठालाहरू र झूटा गोठालाहरू पनि थिए। जुन कुरा अहिले पनि उस्‍तै छ।

अगमवक्ता इजकिएलले झूटा गोठालाहरूको विरुद्धमा अगमवाणी गरेका थिए। उनका भनाइहरू यस्‍ता छन्: “परमेश्‍वरको यो वचन मकहाँ आयो। हे मानिसको छोरो, इस्राएलका गोठालाहरूका विरुद्धमा यो अगमवाणी तिनीहरूलाई कहेर भन: परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ” (इजकिएल ३४: १, २)।

परमेश्‍वरले इजकिएललाई त्‍यस समयका झूटा गोठालाहरूको विषयमा स्‍पष्‍ट रूपमा वचन दिनुभयो र उहाँले गोठालाहरूले के गरे भन्ने बारेमा सुरुमा बोल्‍नुभयो।

“धिक्‍कार, इस्राएलका गोठालाहरूलाई, जसले आफ्‍नैमात्र वास्‍ता गर्दछन् ! के गोठालाले भेड़ाहरूको वास्‍ता गर्नुपर्ने होइन र ? तिमीहरू दही खान्‍छौ, ऊनको वस्‍त्र लगाउँछौ, मोटा-मोटा पशुहरू मार्छौ,” (३४: २, ३)।

गोठालाहरूले बगाललाई वास्‍ता गर्नुको सट्टा आफ्‍नैमात्र वास्‍ता गर्थे। येशू सबैभन्‍दा उत्तम गोठालो हुनुभएकोले आफ्‍नो जीवन भेड़ाहरूको निम्‍ति अर्पण गर्नुभयो तर झूटा गोठालाहरूले त्‍यसको ठीक विपरित काम गरे। उनीहरूले भेड़ाहरूको जीवन आफ्‍नै स्‍वार्थको निम्‍ति लिए। भेड़ाहरू झूटा गोठालाहरूको निम्‍ति केवल खानु, पिउनु, मोटो-घाटो हुनु तथा सुखसयलको लागिमात्र प्रयोग भए। प्रभू येशूले भन्नुभयो, “तिमीहरूको शरीर मेरो निम्‍ति” होइन तर “यो मेरो शरीर तिमीहरूको निम्‍ति दिइएको हो”

झुटा गोठालाहरूले के गरे सो हामीले माथि हेयौँ भने अब हामी झूटा गोठालाहरूले के गरेनन् त्‍यो देख्‍न सक्‍छौँ।

“तर बगाललाईचाहिँ तिमीहरू वास्‍तै गर्दैनौ। तिमीहरूले दुर्बललाई बलिया पारेका छैनौ, बिरामीलाई निको पारेका छैनौ, घाइतेलाई मलहमपट्टी लगाइदिएका छैनौ। तिमीहरूले बाटो बिराएकालाई बाटोमा ल्‍याएका छैनौ, हराएकालाई खोजेका छैनौ। तिमीहरूले तिनीहरूलाई निर्दयता र कठोरतासाथ शासन गरेका छौ” (३४: ४)।

गोठालाहरूले राम्रोसँग नखुवाएको कारणले गर्दा भेड़ाहरू कमजोर थिए र अझै छन्। झूटा गोठालाहरूसँग भेड़ाहरूको निम्‍ति प्रभुबाट आएको आत्‍मिकी भोजन थिएन र छैन। गोठालाहरूले भेड़ाहरूको वास्‍ता र खोजी नगरेको कारणले भेड़ाहरू विरामी हुनुको साथै हराएर गए। भेड़ाहरूको सेवा गर्ने इच्‍छा गर्नुको सट्टा उल्‍टै उनीहरूमाथि शासन गरे।

अब आखिरमा हामी त्‍यसको नतिजा हेर्न सक्‍छौँ।

“यसैले तिनीहरू छरपष्‍ट भए, किनकि तिनीहरूको गोठालो नै थिएन। जब तिनीहरू छरपष्‍ट भए, तब तिनीहरू जङ्गली जनवारका शिकार भए। मेरा भेड़ाहरू बाटो बिराएर पहाडहरू र हरेक अग्‍लो डाँडामा गए। तिनीहरू सारा पृथ्‍वी भरी नै छरपष्‍ट भए र कसैले तिनीहरूको खोजी अथवा सोधपुछ गरेन” (इजकिएल ३४: ५, ६)।

भेड़ाहरू तितरबितर भई हराएकाले जङ्गली जनवारहरूका शिकार भए।

झूटा गोठाला अथवा पास्‍टरहरू हरेक तवरले मोशा, दाऊद र हाम्रो मुख्‍य असल गोठालो प्रभु येशूभन्‍दा पूर्ण रूपले ठिक विपरित हुन्‍छन्।

झूटा गोठालाहरूले हराएका भेड़ाहरूलाई वास्‍ता (खोजी) गर्दैनन् तर येशूले तिनीहरूलाई नभेट्टाएसम्‍म खोज्नुहुन्‍छ।

झूटा गोठालाहरूले भेड़ाहरूको दु:ख-कष्‍टमा ख्‍याल राख्‍दैनन् तर बिरामी परेका भेड़ाहरूलाई असल गोठालाहरूले निको पार्दछन्।

असल गोठालाहरूले भेडाहरूको उचित सेवा गर्दछन् तर झूटा गोठालाहरूले भेडाहरूमाथि शासन गर्दछन्।

झूटा गोठालाहरूले आफ्‍नो भोजनको लागि भेडाहरूको जीवन लिन्‍छन्, तर येशूले भेडाहरूको जीवन बचाउनको लागि आफ्‍नै जीवन दिनुभयो।

झूटा गोठालाहरूसँग बगालको निम्‍ति चाहिने साँचो प्रेम हुँदैन। उनीहरू आफैलाई मात्र प्रेम गर्दछन्, आफ्‍नै प्रतिष्‍ठा (स्‍थान) र समृद्धिको निम्‍ति विचार गर्दछन्। उनीहरू आफ्‍नै स्‍वार्थ पूरा गर्न चाहन्‍छन्। भेड़ाहरूको जीवन बचाउनको लागि आफूलाई कुनै खतरामा पार्न चाहँदैनन्। येशूले जस्‍तै उनीहरूले आफ्‍नो जीवन भेड़ाहरूको निम्‍ति अर्पण गर्ने इच्‍छा नै गर्दैनन्।

प्रार्थना

परमेश्‍वर, मलाई आफ्‍नो लागि ठूलो पद नखोज्‍ने तर येशू, मोशा र दाऊदजस्‍तै नम्र हृदय भएको गोठालो बनाई सानो तहमा काम गर्ने इच्‍छा दिनुहोस्। मलाई दाऊदजस्‍तै खतरादेखि नडराउने तर भेड़ाहरूको निम्‍ति प्राण पनि दिन सक्‍ने बनाउनुहोस्। विशेष गरी आफ्‍नो जीवन नै भेड़ाहरूको निम्‍ति अर्पण गर्ने येशूजस्‍तै मलाई बनाउनुहोस्। आमेन।।

आमेन।

यो पुस्‍तकलाई रंगिन [Color] छाप्‍ने फाइल

यो पुस्‍तकलाई श्‍याम-स्‍वेत [Black & White] छाप्‍ने फाइल

कसरी छाप्ने