परमेश्‍वरको इन्साफ

अनन्त न्याय

परिचय

बाइबल पढ्ने हरेक व्यक्तिले परमेश्‍वर न्यायी परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्छ। बाइबलले यस तथ्यलाई धेरै पटक बताउँछ।

अनन्त दण्डसम्बन्धी परम्परागत शिक्षामा विश्‍वास गर्नेहरूसँग विशेष गरी परमेश्‍वरको इन्साफको बलियो विश्‍वास हुन्छ। उहाँले पापलाई अवश्य दण्ड दिनुहुन्छ भनी तिनीहरू भन्दछन्, किनभने उहाँ न्यायी परमेश्‍वर हुनुहुन्छ।

इन्साफको स्वभावलाई अझै गहिरो रूपमा हेरौँ, र पापीहरूका लागि अनन्त यातनाको दण्ड उचित छ कि छैन भनी पत्ता लगाऔँ।

बाइबलमा उल्लिखित इन्साफ

बाइबलमा दण्ड सधैँ मानिसले गरेको अपराधको समानुपातिक हुनेगर्थ्यो‒ न धेरै, न थोरै।

मानवीय इन्साफ

सभ्य समाजहरूमा दिइने दण्ड जहिले पनि अपराधको समानुपातिक हुन्छ।

हत्याको लागि मृत्युदण्ड अथवा आजीवन कारावासको सजाय दिइन्छ।

बलत्कार र हिंसाजन्य अपराधहरूका लागि सामान्यतया उचित समयसम्म कारावासमा राखिन्छ।

सानो-तिनो चोरीको निम्ति जरिवाना तिराउने अथवा समुदायमा सेवा गर्न लगाइन्छ।

सवारी सम्बन्धी अपराधहरूका लागि जरिवाना तिराइन्छ, अनि गम्भीर अवस्थाहरूमा चाहिँ चालकलाई सवारी चलाउन निलम्वन अथवा सवारी चालक अनुमति पत्र खारेज गरिन्छ।

सर्वसाधारण जनतालाई हानि-नोक्सनिबाट जोगाउन र अरूहरूलाई यस्तै किसिमका अपराधहरू गर्न निरुत्साहित पार्न उचित दण्ड-सजाय आवश्यक पर्छ तर त्यो सँधै उचित र अपराधसँग समानुपातिक हुनुपर्छ। सानो-तिनो अपराधमा कसैलाई पनि आजीवन कारावासको दण्ड दिइँदैन।

परम्परागत शिक्षा

परम्परागत शिक्षाले यो कुरा बताउँछ, कि जो-जो मानिसहरूले आफ्ना पापहरू स्वीकार गरेर येशूमा विश्‍वास राख्छन्, उनीहरूलाई क्षमा दिइनेछ, र उनीहरू स्वर्गमा आनन्द गर्दै अनन्तसम्म बस्‍नेछन्, किनकि येशूले तिनीहरूको पापको दण्ड बोक्‍नुभएको छ; तर परमेश्‍वरको न्यायले यो कुरा माग गर्दछ, कि येशूमा विश्‍वास नगर्नेहरूले आफ्नो पापको दण्ड भोग्‍नुपर्छ। बाइबलअनुसार यो दण्ड भनेको अनन्तसम्म नरकमा आगो र गन्धकमा यातना भोग्‍नु हो भनी तिनीहरू भन्दछन्।

परम्परागत शिक्षाअनुसार सबै विश्‍वासीहरूलाई दिइने इनाम एउटै छ: स्वर्गमा अनन्त आनन्द। आफ्नो सम्पूर्ण जीवन येशूमा विश्‍वास गरेर उहाँलाई पछ्याउने मानिसहरू र सम्पूर्ण जीवन पापमा बिताएर अन्तमा मृत्यु-शैयामा पश्‍चाताप गर्ने मानिसहरूले पाउने इनाम एउटै छ। के यो न्याय हो?

यसको विपरित, येशूमा विश्‍वास नगर्ने सबै मानिसहरूको सजाय पनि एउटै छ: अनन्त यातना। केही मानिसहरू ७० अथवा ८० वर्षसम्म बाँचेका हुन्छन्। अरूहरूचाहिँ बाल्यकाल अथवा युवावस्थामा नै मरेका हुन्छन्। सबैको लागि एउटै सजाय दिनु न्याय हो?

केही मानिसहरूले धेरै खराब जीवन बिताएका छन् र तिनीहरू हजारौं अथवा लाखौं मानिसहरूको मृत्युको लागि जिम्मेवार छन्। अरू मानिसहरूले चाहिँ तुलनात्‍मक रूपमा राम्रो जीवन बिताएका छन् र तिनीहरूले अरूहरूलाई मद्दत गरेका छन्। ती सबैलाई एउटै सजाय दिनु न्याय हो?

केही मानिसहरू स्वतन्त्र देशहरूमा हुर्केका छन् जहाँ सुसमाचार प्रचार गरिने गरिन्छ र स्कूलहरूमा बाइबल पढाइन्छ, तैपनि तिनीहरूले येशूलाई स्वीकार गरेका छैनन्। अरू मानिसहरूचाहिँ अरू धर्महरू मान्‍ने अथवा साम्यवादी मुलुकहरूमा हुर्केका छन् र तिनीहरूले येशूको नाम सुन्‍न पनि पाएका छैनन्। ती सबै किसिमका मानिसहरूलाई एउटै सजाय दिनु न्याय हो?

के महात्मा गान्धी र एडोल्फ हिटलरले आउने जीवनमा यस्तै अनन्त यातना भोग्‍नेछन् भनी तपाईं विचार गर्नुहुन्छ?

बाइबल

के बाइबलले अविश्‍वासीहरूलाई दिइने अनन्त दण्डको सिद्धान्तलाई साँच्‍चै समर्थन गर्छ? होइन! वास्तवमा यो सिद्धान्त बाइबलको ग्रीक र हिब्रू भाषाको पदहरूको गलत अनुवादमा आधारित छ।

नेपालि बाइबलमा ‘अनन्त’भन्‍ने शब्द र‘सदा सर्वदा’भन्‍ने वाक्यांश उल्लेख भए तापनि ग्रीक अथवा हिब्रू भाषामा त्यस्ता अर्थहरू दिने शब्दहरू छैनन्। ग्रीक शब्द (आाओनिओस्) जसलाई धेरैजसो बाइबल अनुवादहरूले ‘अनन्त’भने अनुवाद गरेका छन्, त्यो ग्रीक शब्द αἰων (आाओन) को विशेषण हो जसको अर्थ युग हो। यसको शाब्दिक अर्थ ‘युगसम्म रहन्छ’हो। त्यसै गरी, ‘सदा सर्वदा’ भनेर अनुवाद गरिएका ग्रीक शब्दहरूको शाब्दिक अर्थ ‘युगौं युगहरू’हो ।

(यी ग्रीक र हिब्रू शब्दहरूको गहिरो व्याख्या बुझ्‍न यो हेर्नुहोस् Αἰων and עֹלָֽם (olam)Ever, Eon, Aἰων and Olamविश्वव्यापी मेलमिलाप पनि हेर्नुहोस्।)

त्यसो हो भने, परमेश्‍वरको न्यायले पापीहरूलाई दण्ड दिने कुरा माग गर्छ; तर उक्त न्यायले त्यो दण्ड तिनीहरूका पापहरूको समानुपातिक हुनुपर्छ भनी माग गर्दछ।

यस वर्तमान संसारमा मानिसले जतिसुकै गम्भीर पाप गरे तापनि सीमित समयको उक्त पापको लागि कहिले अन्त नहुने अनन्तकाल भयावह याताना दिनु न्यायोचित हुँदैन। त्यसैगरी सबै विश्‍वासीहरूलाई एउटै इनाम दिनु र सबै अविश्‍वासीहरूलाई एउटै दण्ड दिनु परमेश्‍वरको ईश्‍वरीय इन्साफअनुसार न्यायोचित छैन।

निष्कर्ष

बाइबललाई परम्परागत रूपमा व्याख्या गर्नेहरूले भन्दछन्, कि येशूमा साँचो विश्‍वास गर्ने सबै मानिसहरू मरेपछि स्वर्गमा गएर अनन्तसम्म पूर्ण आनन्दमा बिताउनेछन्; अविश्‍वासीहरूले चाहिँ नरकमा अनन्तकालसम्म कहिले अन्त नहुने यातना भोग्‍नेछन्।

बाइबलबाट आएको जस्तो देखिने यो सिद्धान्त न्यायको दृष्टिकोणबाट हेर्ने हो भने पूर्ण रूपमा विपरीत छ। सबै किसिमका अविश्‍वासीहरूका लागि एउटै अनन्त दण्ड‒ चाहे तिनीहरूको जीवन लामो होस् अथवा छोटो होस्, चाहे तिनीहरूले साना पापहरू गरेका हुन् अथवा ठूला पापहरू गरेका हुन्, तिनीहरूले सुसमाचार सुनेका हुन् अथवा नसुनेका हुन्‒ न्यायी परमेश्‍वरबाट एकै किसिमको इन्साफ हुनु पूर्ण रूपमा असम्भव छ।

सत्य कुरा यो हो, कि ग्रीक अथवा हिब्रू भाषामा ‘अनन्त’ अथवा ‘सदा सर्वदा’ भन्‍ने अर्थ दिने कुनै शब्दहरू नै छैनन्। त्यसैले मानिसले अनन्त दण्ड पाउने परम्परागत शिक्षा सही होइन अनि यो गलत शिक्षा ग्रीक र हिब्रू शब्दहरूको गलत अनुवादमा आधारित छ।

अन्तमा, हामीले यो प्रश्‍न गर्नैपर्छ: समयको अर्थ के हो? परमेश्‍वरले सबै थोक समय र स्थानको क्षेत्रमा सृष्टि गर्नुभयो। मृत्युपछि हामी भौतिक क्षेत्रबाट आत्माको क्षेत्रमा प्रवेश गर्दछौँ। उक्त क्षेत्रमा, यो संसारको सूर्य र चन्द्रमासँग सम्बन्धित दिन, वर्ष र महिना भन्‍ने शब्दहरूले अर्थ गुमाउँछ। त्यतिबेला ‘अनन्त’ भन्‍ने शब्दले पनि अर्थ गुमाउँछ। मृत्युपछि हामी आत्मिक क्षेत्रमा प्रवेश गर्दछौँ जुन हाम्रो सांसारिक समझभन्दा बाहिर छ। त्यहाँ, परमेश्‍वरको सिद्ध न्याय पूर्ण रूपमा लागु हुनेछ।

अनुवादक - शमूएल श्रेष्ठ।