नयाँ करारको आज्ञाहरू

परिचय

म जवान विश्‍वासी हुँदा, मलाई बाइबल परमेश्‍वरको वचन हो भनी बताइएको थियो। यसमा भएको हरेक शब्दले मलाई व्यक्तिगत रूपमा सम्बोधन गर्छ भनी ठानेर मैले बाइबल पढ्‍नुपर्थ्यो। "प्रार्थना गर्दा, तिमीले परमेश्‍वरसँग कुरा गर्छौ", अनि "बाइबल पढ्दा, परमेश्‍वर तिमीसँग बोल्‍नुहुन्छ" भनी तिनीहरूले मलाई भन्‍ने गर्थे।

बाइबल प्रतिज्ञाहरू र आज्ञाहरूले भरिपूर्ण छ। ती सबै आज्ञाहरू पालन गर्नुपर्छ, र सबै प्रतिज्ञाहरू दाबी गर्नुपर्छ भनी मलाई बताइएको थियो।

तिनीहरूले भनेका कुराहरूलाई बाइबलले पुष्टि गरेको देखिन्छ।

योहोशू १:८ ले भन्छः “व्‍यवस्‍थाको यो पुस्‍तक तेरो ओठबाट नहटोस्‌, तर त्‍यसमाथि तैंले दिनरात ध्‍यान गर्नू अनि त्‍यसमा लेखिएका सबै कुरा होशियारीसाथ पालन गर्नू, र तेरा सबै मार्गहरूमा तैंले उन्‍नति गर्नेछस्‌ र सफलता पाउनेछस्‌।”

भजनसंग्रह १ ले पनि त्यस्तै कुरा बताउँछः “धन्‍य हो त्‍यो मानिस ... परमप्रभुको व्‍यवस्‍थामा नै त्‍यो खुशी रहन्‍छ, त्‍यसले दिनरात उहाँकै व्‍यवस्‍थामा मनन गर्छ। त्‍यो खोलाको किनारमा रोपेको बोटजस्‍तै हुन्‍छ, जसले आफ्‍नो ऋतुमा फल दिन्‍छ, अनि जसको पात कहिल्‍यै ओइलाउँदैन। त्‍यसले जे पनि गर्छ, त्‍यसमा त्‍यो सफल हुन्‍छ।”

यहाँ, पक्‍कै, सफल आत्मिक जीवनको सुत्र उल्लेख गरिएको थियो।

केही वर्षपछि, मैले धर्मशास्‍त्र अध्ययन गर्दैजाँदा, यी दुबै आज्ञाहरू पुरानो करारमा भएको देखेँ। नयाँ करारमा त्यस किसिमका आज्ञाहरू कतै उल्लेख गरिएको थिएन। पत्रुस, पावल, यूहन्‍ना, अथवा स्वयम् येशूले पनि धर्मशास्‍त्र अध्ययन गर, र त्यहाँ भएका सबै आज्ञाहरू पालन गर अथवा प्रतिज्ञाहरू दाबी गर भनी कसैलाई कहिल्यै भन्‍नुभएन।

हामीले यहाँ बुझ्‍नुपर्ने कुरा के हो भने, पुरानो करारको हिब्रू धर्मशास्‍त्र विशेषगरी व्यवस्थामा (तोरामा) आधारित थियो भने नयाँ करारचाहिँ पवित्र आत्मामा आधारित थियो।

यो लेखमा, म नयाँ करारमा उल्लिखित आज्ञाहरूमा विशेष ध्यान दिन चाहन्छु। मैले अर्को छुट्टै लेखमा नयाँ करारमा उल्लिखित प्रतिज्ञाहरूबारे लेख्‍ने विचार गर्दैछु।

बाइबलको आज्ञाहरू

बाइबलमा परेमश्‍वरले आफ्ना जनहरूलाई दिनुभएको थुप्रै आज्ञाहरू छन्। के ती सबै आज्ञाहरू अहिले हाम्रा लागि हुन्? हो, ती सबै आज्ञाहरू हाम्रै लागि दिइएका हुन् भनी धेरै मानिसहरूले विश्‍वास गर्ने गर्छन्।

धेरै वर्षपहिले मैले प्रख्यात क्रिकेट खेलाडी र अग्रगामी मिसेनरी C.T. Studd को जीवनी पढेको थिएँ। उहाँले चीन, भारत र अफ्रिकामा गई प्रभुको सेवा गर्नुभयो र त्यसको साथै उहाँले WEC, Worldwide Evangelical Crusade भन्‍ने संस्था पनि स्थापना गर्नुभयो। उहाँ जवान हुनुहुँदा आफूले पालन गरेका बाइबलका आज्ञाहरूलाई पक्‍का गर्न ती खण्डहरूलाई रातो कलमले चिन्‍ह लगाउनु हुन्थ्यो। उहाँले बाइबलमा “आफूसँग भएका सबैथोक बिक्री गरेर गरिबहरूलाई देऊ” भन्‍ने आज्ञा पढ्‍नुभयो, र त्यसप्रति आज्ञाकारी भएर आफ्नो पुर्ख्यौली सम्पत्ति गरिबहरूलाई बाँडिदिनुभयो। त्यसपछि उहाँले बाइबलमा येशूको यस्ता शब्दहरू भेट्टाउनुभयो, “सारा संसारमा जाऊ र सारा सृष्टिलाई सुसमाचार प्रचार गर।” यस आज्ञाप्रति आज्ञाकारी हुँदै उहाँ मिसेनरी बनेर चीनमा जानुभयो।

परमेश्‍वरले C.T. Studd लाई अचम्मको आशिष् दिनुभएर उहाँको राज्य विस्तारको काममा प्रयोग गर्नुभयो, तर हामीले उहाँको त्यही उदाहरणलाई पछ्याउँदै बाइबलमा उल्लिखित सबै आज्ञाहरू मेरो लागि हुन् भनी ती सबै पालन गर्न खोज्‍नु ठिक हो त?

पहिले हामी येशूको मुखबाट निस्केका यी दुई आज्ञाहरूलाइ ध्यान दिनेछौँ।

“महान् आज्ञा”

“सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर” (मर्कूस १६:१५)।

यो बाइबलमा उल्लिखित प्रसिद्ध आज्ञाहरूमध्ये एक हो।

येशूले लूका २४:४७ र प्रेरित १:८ त्यस्तै किसिमका आज्ञाहरू दिनुभयो। यी आज्ञाहरूलाई सामूहिकरूपमा "महान् आज्ञा" भनेर बुझिन्छ, तर यो नाम नयाँ करारमा कतै उल्लेख गरिएको छैन।

मत्ती २८: १८- २० मा येशूले चेलाहरूलाई यसो भन्‍नुभयो: “गएर सबै देशका जातिहरूलाई सिकाओ।”

येशूले लूका २४:४७ प्रेरित १:८ त्यस्तै किसिमका आज्ञाहरू दिनुभयो। यी आज्ञाहरूलाई सामूहिकरूपमा “महान् आज्ञा” भनेर बुझिन्छ, तर यो नाम नयाँ करारमा कतै उल्लेख गरिएको पाइँदैन।

के "महान् आज्ञा" सबै विश्‍वासीहरूका लागि हो?! सारा संसारमा सुसमाचार प्रचार गर्न हामीले सकेसम्म आफ्नो भूमिका निभाउनै पर्छ। हामीलाई सधैँ सिकाइएको कुरा यही हो।

तर यसलाई अझै गहिरोरूपमा हेरौँ। पुनरुत्थानपछि येशूले यो आज्ञा बाँकी रहेका ११ जना चेलाहरूलाई दिनुभयो। उहाँले सुसमाचार प्रचार गर्न, बिरामी निको पार्न, भूतहरू धपाउन र मरेकोलाई बौराई उठाउने तालिम दिनको लागि ती मानिसहरूसँग ३ वर्ष बिताउनुभएको थियो। त्यतिबेला तिनीहरू उहाँले दिन लाग्‍नुभएको कामको निम्ति सम्पूर्ण तालिम पाएर तयार भएका थिए।

तर ती सबै तालिम दिनुभएपछि उहाँले चेलाहरूलाई “माथिबाट शक्ति प्राप्‍त नगरुञ्‍जेल तिमीहरू यही शहरमा बसिरहो” भन्‍नुभयो (लूका २४:४९)। पवित्र आत्माको भरपूरीबिना ती चेलाहरूले उहाँका आज्ञाहरू पूरा गर्न सकेनन्।

के अहिले येशूमा विश्‍वास गर्ने सबै मानिसहरूले सुसमाचार प्रचार गर्न, बिरामी निको पार्न, भूतहरू धपाउन र मरेकोलाई बौराई उठाउनको लागि सुरुका चेलाहरूले जस्तै ३ वर्षको तालिम पाएका छन् त? अनि के तिनीहरू सबै पवित्र आत्माले भरिएका छन्? यदि होइन भने, कसरी तिनीहरूले “महान् आज्ञा” पूरा गर्नेछन्! तिनीहरू उक्त कामको निम्ति योग्य भइसकेका छैनन्!

के पत्रुस, याकूब र यूहन्‍नाले आफ्ना पाठकहरूलाई पत्रहरू लेख्दा “महान् आज्ञा” दिए? उनीहरूले लेखेका कुनै पनि पत्रमा यसको बारेमा चर्चा गरिएको छैन। पावलका पत्रहरूमा पनि यस किसिमको आज्ञा उल्लेख छैन।

मत्ती २२:३७-३८ मा येशूले अर्कै "महान् आज्ञा"को बारेमा बताउनुभयो: “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नू। महान् र प्रथम आज्ञा यही हो”

पावलको मिसेनरी यात्राहरू

पावल नयाँ करारको महान् प्रचारक थिए। के पत्रुसले उनलाई येशूको शब्दहरू र “महान् आज्ञा” बताएकोले त्यसो भएको हो? होइन। साँच्‍चै भन्‍ने हो भने पावलले जीवन परिवर्तनपछि ३ वर्षसम्म ११ जना प्रेरितहरू कसैलाई भेटेनन्, र पछि उनले पत्रुसलाई छोटो समयको लागि भेटेका थिए भनी हामीलाई बताउँछन् (गलाती १:१७-१८)।

त्यसो हो भने पावलले किन र कसरी रोमी साम्राज्यमा सुसमाचार प्रचार गर्ने काम सुरु गरे त? प्रेरित १३:२ पढ्नुहोस्; त्यहाँ यसरी लेखिएको छ: पवित्र आत्माले भन्‍नुभयो,“मेरो निम्ति बारनाबास र शाऊललाई त्यस कामको लागि अलग्ग गर, जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु।” पावलको लागि प्रचार गर्नुपर्ने आज्ञा येशूको मुखबाट अथवा धर्मशास्‍त्रबाट आएन, तर प्रत्यक्षरूपमा एन्टिओखियाको मण्डलीद्वारा पवित्र आत्माबाट आयो।

प्रचार गर्ने र शिक्षा दिने कामको निम्ति पावल धर्मशास्‍त्रको ज्ञान र पवित्र आत्माको व्यक्तिगत अनुभवबाट असल किसिमले सुसज्‍जित भएका थिए।

पावलको निम्ति एउटा मिसेनरी यात्रा यथेष्ट थिएन। उनले दोस्रो मिसेनरी यात्रामा जानुपर्ने आज्ञा कसरी प्राप्‍त गरे त? उनले त्यसको निम्ति कुनै आज्ञा पाएनन्! प्रेरित १५:३६ पल्टाउनुहोस्! केही दिनपछि पावलले बारनाबासलाई भने, ‘आऊ, जुन-जुन सहरमा प्रभुको वचन हामीले परचार गरेका थियौं ती सहरहरूमा फर्केर गई भाइहरूलाई भेट गरौं र तिनीहरू के-कस्ता छन् हेरौं।’।

यहाँ परमेश्वरबाट आज्ञा आएको कुरा लेखिएको छैन! यो त पावलको मनमा आएको विचार मात्र थियो!

के पावल दोस्रो मिसेनरी यात्रामा निस्किनु ठिक थियो? के उनले प्रभुबाट आउने स्पष्ट निर्देशनलाई पर्खनु पर्दैनथ्यो? अथवा के उनलाई पठाउनको निम्ति पहिलेको जस्तो मण्डलीको अर्को वचनको निर्देशन आवश्यक थिएन?

यहाँ हामीले निकै महत्वपूर्ण पाठ सिक्दछौँ। नयाँ करारमा उल्लिखित परमेश्‍वरको आज्ञाले पुरानो करारको आज्ञाभन्दा निकै फरक तरिकाले काम गर्दछ। पुरानो करारमा परमेश्‍वरको आज्ञाहरू बाहिरबाट आउने गर्थ्यो– त्यो धर्मशास्‍त्र अथवा अगमवक्ताहरूद्वारा आउने गर्थ्यो। नयाँ करारमा परमेश्‍वरको आज्ञाहरू भित्रबाट आउँछन्। वास्तवमा उहाँले आफ्ना आज्ञाहरू हामीभित्र राख्‍नुहुन्छ। उहाँले हामीभित्र उहाँको इच्छा पूरा गर्ने चाहना हालिदिनुहुन्छ, यसर्थ कहिलेकाहिँ हामीले उहाँको इच्छा पूरा गरेका छौँ भनी हामी जान्दैनौँ। यो आफ्नै विचार हो भनी हामीले सोच्छौँ। उहाँले हामीलाई ख्रीष्टको मन दिनुहुन्छ।

सुसमाचार सुनाउन जाऊ भन्‍ने आज्ञा दिनुको सट्‍टामा परमेश्‍वरले पावललाई भित्रैबाट प्रचार गर्ने उत्कट इच्छा दिनुभयो। पावल भन्दछन्, “किनकि यदि मैले सुसमाचार प्रचार गरेँ भने त्यसमा मैले घमण्ड गर्ने केही कारण छैन। किनकि यसो गर्न म बाध्य छु। यदि सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्‍कार छ!” (१ कोरिन्थी ९:१६)।

पावलले एफिसी ४:७-११ मा चर्चा गरेको पाँच वटा वरदानहरूमध्ये सुसमाचार प्रचार गर्नु एउटा हो। अरू चार वटा बरदानहरूचाहिँ प्रेरितहरू, अगमवक्ताहरू, गोठालाहरू र शिक्षकहरू हुन्। परमेश्‍वरले अहिले मानिसहरूलाई अगमवक्ता बन भनेर आज्ञा दिनुहुन्‍न बरु त्यसो गर्नुको सट्टामा उनीहरूभित्र अगमवाणीको सेवकाइहरू हालिदिनुहुन्छ। उहाँले मानिसहरूलाई गोठालाहरू (पास्टरहरू) बन्‍ने आज्ञा दिनुहुन्‍न। उहाँले तिनीहरूका हृदयमा पास्टरीय सेवकाइ हालिदिनुहुन्छ।

यी सबै कुराहरू येशूको जीवनमा स्पष्ट देख्‍न सकिन्छ, र उहाँ हाम्रो नम्ति नयाँ करारमा उत्तम नमुना हुनुहुन्छ। परमेश्‍वरले उहाँलाई बाहिरी आज्ञा दिनुभएन। येशूले गर्नुभएको हरेक कुरा पवित्र आत्माको आन्तरिक अगुवाइमा गरिएको थियो। उहाँले जे गर्न चाहनुहुन्थ्यो, त्यो गर्नुहुन्थ्यो। परमेश्‍वरले उहाँलाई कुनै निर्देशन दिनुभएन। उहाँलाई त्यो आवश्यक थिएन। येशूले गर्न चाहनुभएको हरेक कुरा परमेश्‍वरको इच्छाअनुसार थियो।

पावलले तिमोथीलाई, जो शिक्षक थिए यसो भने, “सबै धर्मशास्‍त्र परमेश्‍वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक छ। ” २ तिमोथी ३:१५-१७ हेर्नुहोस्। पावलले आफ्नो लागि धर्मशास्‍त्र यसरी नै प्रयोग गरे, तर उनले तिमोथीलाई पत्र लेख्दा धर्मशास्‍त्रमा उल्लिखित आज्ञाहरू पालन गर अथवा त्यहाँका प्रतिज्ञाहरू दाबी गर भनी भनेनन्।

एक-अर्कालाई प्रेम गर

येशूले यो आज्ञा चेलाहरूको निम्ति तीन पटक दोहोर्‍याउनुभयो।

यहाँ अचम्मलाग्दो कुरा के छ भने, पत्रुस र यूहन्‍नाले येशूले डाँडाको उपदेशमा दिनुभएको कुनै शिक्षालाई दोहोर्‍याएनन्, तर उहाँको प्रेमको आज्ञाचाहिँ थुप्रैपटक दोहोर्‍याएका छन्:

१ पत्रुस ३:८, १ यूहन्‍ना ३:२३, १ यूहन्‍ना ४:७, १ यूहन्‍ना ४:११-१२ पनि हेर्नुहोस्।

पावलले पनि प्रेमको आज्ञालाई थुप्रै पटक दोहोर्‍याएका छन्: रोमी १२:१०, रोमी १३:८, एफिसी ४:२ हेर्नुहोस्।

येशूको साथै पत्रुस, पावल र यूहन्‍नाले आफ्नो पाठकहरूलाई एकले अर्कोलाई प्रेम गर्नुपर्छ भनी शिक्षा दिए। तर कसरी? मलाई लाग्छ सम्पूर्ण बाइबलमा यो नै सबैभन्दा कठिन आज्ञा हो! कसरी हामीले यो आज्ञा पालना गर्न सक्छौँ त?

पावलले हामीलाई एकमात्र उपाय बताउँछन्: “हामीलाई दिइएका पवित्र आत्माद्वारा परमेश्‍वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ” (रोमी ५:५)। उनले थेसलोनिकीहरूलाई यस्तै खलाको कुरा लेखे: “तर भाइहरूप्रतिका प्रेमको विषयमा कसैले तिमीहरूलाई लेख्‍न खाँचो छैन, किनकि एक-अर्कालाई प्रेम गर्नू भन्‍ने तिमीहरू आफैले पनि परमेश्‍वरबाट शिक्षा पाएका छौँ” (१ थेसलोनिकी ४:९)।

यदि परमेश्‍वरले त्यो प्रेम हाम्रा हृदयमा राखिदिनुभयो भने मात्र हामी एकले अर्कालाई प्रेम गर्न सक्छौँ।

नयाँ करारको समय

नयाँ करारको समयमा कति जनासँग नयाँ करार बाइबल थियो? कोहीसँग थिएन! नयाँ करारको अधिकांश भागहरू त त्यतिबेला लेखिएकै थिएन। केही विशेष व्यक्तिहरूले पत्रुस अथवा पावलबाट पत्रहरू प्राप्‍त गरे। कोरिन्थी र थेसलोनिकीका विश्‍वासीहरूसँग त्यस्ता दुई पत्रहरू थिए!

केही यहूदीहरूसँग त्यतिबेला उनीहरूका सभाघरहरूमा तोराको मुठ्ठा र अरू केही हिब्रू लेखहरू थिए।

१९औँ शताब्दीसम्म थोरै मानिसहरूका हातमा बाइबल थियो र धेरै मानिसहरूसँग आजको दिनसम्म बाइबल छैन।

त्यसो हो भने, ती सबै मानिसहरूले बाइबलमा उल्लिखित आज्ञाहरू कसरी पालना गरे अथवा परमेश्‍वरले तिनीहरूलाई दिनुभएको प्रतिज्ञाहरू कसरी दाबी गरे त? उत्तर: आफ्नो जीवनको आधारशिला बनाउन तिनीहरूसँग बाइबल थिएन; त्यसको सट्टामा तिनीहरूले आफ्नो जीवन येशू र पवित्र आत्मामा आधारित पार्नुपर्थ्यो।

डाँडाको उपदेश

मत्तीको सुसमाचारको ५ देखि ७ अध्यायहरूलाई सामान्यतया 'डाँडको उपदेश' भनिन्छ।

उक्त उपदेशमा येशूले पुरानो करारको केही कठिन शिक्षाहरूले लिनुभएर तिनीहरूलाई अझ धेरै कठिन तुल्याउनुभयो!

के चेलाहरूले ती आज्ञाहरू पालना गरे? तिनीहरूले ती आज्ञाहरू पालना गर्नेछन् भनी के येशूले गम्भीर रूपमा अपेक्षा गर्नुभयो? ती चेलाहरू उहाँको आज्ञाहरू पालना गर्न घरी-घरी असफल भए। किन? किनभने जुन आत्मा येशूमा थियो, त्यो अझै तिनीहरूलाई दिइएको थिएन।

येशूका अरू आज्ञाहरू पालना गर्न लगभग असम्भव थियो!

पेन्तिकोसको दिनमा हरेक कुरा परिवर्तन भयो। जुन आत्माले येशूलाई सिद्ध जीवन जिउन सामर्थ्य दिएको थियो, त्यही आत्मा प्रतिक्षा गरिरहेका चेलाहरूमा आउनुभयो।

यसबाट हामी यो कुरा सिक्छौँ, कि येशूको मुखबाट निस्कने आज्ञाहरूले तिनीहरूलाई उहाँको आज्ञाहरू पालना गर्ने शक्ति प्रदान गर्दछ।

सुरुमा येशूको भौतिक मुखबाट निस्केका असम्भव किसिमका बाहिरी आज्ञाहरू भएका शब्दहरू अब तिनीहरूको हृदयमा आन्तिरिक आज्ञाहरूका रूपमा लेखिए। ती आज्ञाहरू उनीहरूको नयाँ स्वभाव भयो।

निष्कर्ष

हाम्रो जीवन बाइबलमा आधारित हुनुपर्छ भनी धेरैलाई सिकाइएको थियो। हामीले बाइबलको आज्ञाहरू पालना गर्नुपर्छ अनि त्यहाँ उल्लिखित प्रतिज्ञाहरू दाबी गर्न सक्‍नेछौँ।

हामीले भजनसङ्ग्रह ११९:११ मा उल्लेखित यी शब्दहरूअनुसार बाइबलको पदहरूलाई कण्ठ गर्नुपर्छ,“तपाईंको विरुद्धमा पाप नगरूँ भनेर , तपाईंको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु।”।

यी शिक्षाहरू असल थिए र त्यसले आशिष ल्याउँथ्यो, तर हामीले बुझ्‍नुपर्ने महत्वपूर्ण कुरा के हो भने ती पुरानो करारको शिक्षाहरू थिए।

पुरानो करार असल करार थियो, तर अरू मानिसहरूझैँ यहूदीहरूसँग पनि पापपूर्ण हृदय भएकोले ती आज्ञाहरू पालाना गर्न असफल भए। अगमवक्ता यर्मियाद्वारा परमेश्‍वरले भन्‍नुभयो, कि उहाँले नयाँ करार ल्याउनुहुनेछ जुन उहाँले आफ्नो जनहरूका हृदयमा लेखिदिनुहुनेछ (यर्मिया ३१:३१-३३ ) हेर्नुहोस्। उहाँले तिनीहरूका पापपूर्ण स्वभावहरू हटाई दिनुभएर स्वभाविक रूपमा उहाँका व्यवस्थाहरू पालना गर्ने हृदय राखिदिनुहुनेछ।/p>

यो कुरा उहाँले आफ्नो पुत्र, हाम्रो मुक्तिदाता येशू ख्रीष्टको मृत्यु र पुनरुत्थाद्वारा पूरा गर्नुभयो।

अनुवादक - शमूएल श्रेष्ठ।