इँटाहरू र पत्थरहरू

परिचय

बाबेलको धरहरा इँटाहरूद्वारा बनिएको थियो।

राजा सलोमनद्वारा निर्माण गरिएको परमेश्‍वरको मन्दिरचाहिँ पत्थरहरूद्वारा बनिएको थियो।

इँटाहरू र पत्थरहरूमा के फरक छ?

इँटाहरू मानिसद्वारा बनिएका हुन्छन् र त्यसलाई ठूलो मात्रामा उत्पादन गरिन्छ। तिनीहरू सबैको आकार एउटै हुन्छ र प्राय: तिनीहरूको रङ्ग पनि उस्तै हुन्छ। हरेक इँटा अर्को इँटासँग ठ्याक्‍कै मिल्छ।

पत्थरहरू परमेश्‍वरद्वारा बनिएका हुन्। तिनीहरू सबै फरक-फरक आकार र स्वरूपका हुन्छन्। तिनीहरू केही ठूला हुन्छन् अनि केही साना हुन्छन् अनि तिनीहरू विभिन्‍न रङ्गहरूका हुन्छन्। कुनै पनि दुई पत्थरहरू उस्तै हुँदैनन्।

परमेश्‍वरद्वारा बनिएको हो अथवा मानिसद्वारा बनिएको हो?

परमेश्‍वरले बनाउनुहुने हरेक थोक अद्वितीय हुन्छ।

संसारमा थुप्रै प्रजातिका रूख-बिरूवाहरू छन्, तर एउटै प्रजातिका रूख-बिरूवाहरू पनि एक अर्कोदेखि फरक हुन्छन्। प्रत्येकको आकार र स्वरूप फरक हुन्छ। त्यसैगरी जनावरहरू पनि थुप्रै प्रजातिहरूका हुन्छन् तर एउटा प्रजातिअन्तर्गत पर्ने दुई जनावरहरू एक अर्कोसँग मिल्दैनन्। हरेक कुकुर, हरेक घोडा र हरेक गाई अद्वितीय हुन्छ। मैले यस्तो कुरा सुनेको छु, कि हिउँको हरेक पत्रलाई सुक्ष्मदर्शक यन्‍त्रद्वारा हेरियो भने त्यसको बनावट फरक-फरक देखिन्छ। संसारको हरेक मानिस एक अर्कोदेखि पृथक छ भनी यहाँ बताइरहनु आवश्यक ठान्दिनँ। यो ग्रहमा अहिले करिब ८ अरब मानिसहरू छन्, तर अचम्म लाग्‍ने कुरा के हो भने हामी सबै फरक-फरक छौँ!

परमेश्‍वरसँग असीमित परिकल्पना, विविधता र सृजनात्मक क्षमता छ।

मानिसले अहिलेको एक्‍काइसौँ शताब्दीमा प्राय: हरेक थोक ठूलो मात्रामा उत्पादन गर्ने गर्छ। त्यसरी बनाइएका वस्तुहरू प्राय: उस्तै हुन्छन्।

एउटै कम्पनीमा बनिएका गाडीहरूको बाहिरी रङ्ग फरक हुन सक्छ, तर त्यो बाहेक तिनीहरूको भिन्‍नता भनेको अगाडि र पछाडि राखिने नम्बर प्लेट मात्र हो। अक्सर मेरो कम्प्युटर अथवा स्मार्ट फोन र तपाईंको कम्प्युटर अथवा स्मार्ट फोन उस्तै हुन्छन्। प्राय: हरेक पसलमा यस्ता खालका वस्तुहरू राखिएका हुन्छन्।

बाबेलको धरहरा र परमेश्‍वरको मन्दिर

बाबेलको धरहराको अर्थ के हो? बाबेल (בָּבֶל) भन्‍ने हिब्रू शब्दको अर्थ खलबल हो। बाइबलमा हेर्दै जाँदा पछि दानिएल र प्रकाशको पुस्तकमा त्यसको निम्ति ग्रीक शब्द, बेबिलोन (Βαβυλων) भन्‍ने शब्द प्रयोग गरिएको भेटिन्छ।

अधिकांश बाइबल टिप्पणीहरूअनुसार बाबेल अथवा बेबिलोनले मानव-निर्मित झूटो मण्डलीलाई चित्रण गर्दछ। केही मानिसहरूले विशेष गरी बेबिलोनलाई रोमन क्याथोलिक मण्डलीको रूपमा हेर्छन्। अरूहरूले चाहिँ अझ फराकिलो रूपमा त्यसलाई मानव-निर्मित झूटा धर्महरूको रूपमा चित्रण गर्छन्। (मैले यस विषयमा बेबिलोन भन्‍ने छुट्टै लेख लेखेको छु।)

पुरानो करारको मन्दिर राजा सलोमनद्वारा करिब इ.पू. ९०० तिर निर्माण गरिएको थियो। बेबिलोनको राजा नबुकदनेसरद्वारा इ.पू. ५८७ मा त्यसलाई नष्ट पारियो। ७० वर्षपछि त्यसलाई पुनर्निर्माण गरियो र पछि गएर इ.सं. ७० मा त्यसलाई रोमीहरूले नष्ट गरे। यहूदीहरूका निम्ति यो मन्दिर परमेश्‍वरको वासस्थान थियो।

किन परमेश्‍वरले आफ्नो मन्दिर नष्ट हुन दिनुभयो? स्तिफनस र पावल दुवैले यो प्रश्‍नको उत्तर दिएका छन्। आफ्नो मृत्युभन्दा थोरै समयअघि स्तिफनसले भने, “हातले बनाएका भवनहरूमा परमेश्‍वर वास गर्नुहुन्‍न” (प्रेरित ७:४८)। पावलले चाहिँ यसरी लेखे: “के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्‍वरका मन्‍दिर हौ, र परमेश्‍वरका पवित्र आत्‍मा तिमीहरूमा वास गर्नुहुन्‍छ?” (१ कोरिन्थी ३:१६)।

पृथ्वीमा मन्दिरलाई आफ्नो स्थायी वासस्थान बनाउन परमेश्‍वरले कहिल्यै अभिप्राय राख्‍नुभएन। उहाँसँग त्योभन्दा अति उच्‍च योजना थियो। उहाँको साँचो मन्दिर पवित्र आत्मा पाएका मानिसहरूद्वारा बनिएको हुन्छ। यो जीवित पत्थरहरूद्वारा निर्माण भएको हुन्छ। उहाँ हामीमा वास गर्नुहुन्छ भने, उक्त मन्दिर तपाईं र म नै हौँ ।

पुरानो करार

हिब्रू ११ अध्यायमा पुरानो करारका केही नायकहरूको नाउँहरू उल्लेख गरिएका छन्।

परमेश्‍वरको सेवा गर्न आफूले के गर्नु पर्छ भनी पत्ता लगाउन तिनीहरूमध्ये कसैले पनि बाइबल पढेनन्, किनभने त्यतिबेला पढ्नको लागि अहिलेको जस्तो बाइबल उपलब्ध थिएन। तिनीहरूले अरूले गरेको कामको अनुकरण पनि गरेनन्। तिनीहरू प्रत्येकले अरूको भन्दा पूर्णरूपमा फरक काम गरे। वास्तवमा भन्‍ने हो भने तिनीहरू फरक-फरक आकार र स्वरूपका पत्थरहरू थिए।

नोआले जहाज बनाए। किन तिनले त्यो काम गरे? किनभने परमेश्‍वरले नै तिनलाई त्यसो गर भन्‍नुभयो अनि तिनले उहाँको आवाज सुनेर, त्यसको आज्ञापालन गरे। आफ्नो लागि आएको परमेश्‍वरको वचनमा विश्‍वास गरी तिनले त्यो काम गरे।

अब्राहामले त्योभन्दा निकै फरक काम गरे। तिनले ऊर सहरमा भएको आफ्नो आरामदायी घर-जग्गा, कुल-घरना र पुर्खाहरूलाई त्यागेर जीवनको बाँकी भाग नयाँ ठाउँहरूमा गई पालहरूमा बसोवास गरी बिताए।

योसेफ मिश्रदेशको प्रधानमन्त्री भई मिश्रीहरू र आफ्ना मानिसहरूलाई अनिकालबाट बचाए।

मोशा परमेश्‍वरको मन्दिरको शक्तिशाली पत्थर थिए। ४० वर्षसम्म उजाडस्थानमा बसेपछि तिनी फर्केर मिश्रदेशमा गई परमेश्‍वरका जनहरूलाई त्यहाँबाट प्रतिज्ञाको भूमितिर डोर्‍याए। त्यति मात्र होइन, पवित्र आत्माको प्रेरणामा तिनले पुरानो करारको सुरुका आधारभूत पुस्तकहरू पनि लेखे।

दाऊदले राजा र शक्तिशाली योद्धा भएर आफ्ना मानिसहरूलाई महान् बनाए।

सलोमनले परमेश्‍वरको निम्ति मन्दिर निर्माण गरे।

पुरानो करारको ती सन्तहरूमा हामीले व्यापक विविधता पाउँछौँ। तिनीहरूमध्ये कसैले पनि पूर्ववर्ती मानिसहरूको नक्‍कल गरेनन्। तिनीहरू सबैले फरक-फरक कामहरू गरे। तर तिनीहरूमा केही कुराहरूचाहिँ समान थिए। त्यो के हो भने, तिनीहरू सबैले परमेश्‍वरको आवाज सुने; तिनीहरू सबैले विश्‍वासमा उहाँप्रति प्रतिक्रिया जनाए; र तिनीहरू सबै जना पवित्र आत्माद्वारा डोर्‍याइएका थिए। तिनीहरू मृत इँटाहरू थिएनन्; तिनीहरू त जीवित पत्थरहरू थिए।

नयाँ करार

नयाँ करारका सन्तहरू एक अर्कोसँग मिल्दा-जुल्दा होलान् भनी हामीले अपेक्षा गरेका हुन सक्छौँ। त्यसो हो भने हामी गलत हुनेछौँ!

नयाँ करारको मुख्य लेखकहरू- पत्रुस, पावल र यूहन्‍नासँग फरक-फरक सन्देशहरू थिए। तिनीहरू प्रत्येकसँग पवित्र आत्माबाट आएको अद्वितीय किसिमको व्यक्तिगत प्रकाश थियो।

पत्रुस र यूहन्‍ना दुवै जना येशूको सुरुका बाह्र चेलाहरूमा पर्ने मानिसहरू थिए। तीन वर्षसम्म तिनीहरूले उहाँका शिक्षाहरू सुने अनि उहाँले गर्नुभएका आश्‍चर्यकर्महरू अवलोकन गरे। तिनीहरूले लेखेका पत्रहरू येशूले बोल्नुभएका शब्दहरू र उहाँका आश्‍चर्यकर्महरूको विवरणहरूले भरिएका छन् भनी तपाईंले विचार गर्नुहुन्छ कि? अचम्मलाग्दो कुरा के हो भने तिनीहरूको पत्रमा न उहाँका शब्दहरू उद्‍धृत गरिका छन्, न त उहाँका बारेमा कुनै कुरा उल्लेख गरिएको छ। बरु ती पत्रहरूमा तिनीहरूले परमेश्‍वरबाट प्रत्यक्षरूपमा प्राप्‍त गरेका आफ्‍नै व्यक्तिगत प्रकाशहरू उल्लेख गरेका छन्।

दमस्कस जाने बाटोमा पावलले येशूसँग नाटकीय ढङ्गमा भेट गरेका थिए। त्यसपछि तिनले के गरे त? हामीले यस्तो कुरा अपेक्षा गरेका हुनसक्छौँ, कि आफ्नो नयाँ उद्धारकर्ताको बारेमा सिक्‍न तिनी पत्रुस अथवा यूहन्‍ना अथवा येशूको अरू कुनै चेलाकहाँ गए होलान्। तर तिनले कदापि त्यसो गरेनन्। त्यसो गर्नुको सट्टामा तिनी अरब देशमा गए र त्यहाँबाट फर्केर दमस्कसमा आए। तीन वर्ष बितेपछि मात्र पत्रुससँग भेट गर्न तिनी माथि यरूशलेममा गए र उनीसँग १५ दिन बसे। तपाईंले यस घटनालाई पावलकै शब्दहरूमा गलाती १:१५-१९मा पढ्न सक्‍नु हुन्छ।

तिनले यसको यस्तो कारण दिन्छन्: “भाइ हो, तिमीहरूले यो जान भन्‍ने म चाहन्‍छु, कि मैले प्रचार गरेको सुसमाचार मानिसको सुसमाचार होइन। किनकि मैले यो कुनै मानिसबाट पाएको होइनँ, न मलाई यो सिकाइएको थियो, तर येशू ख्रीष्‍टको प्रकाशद्वारा मैले यो पाएको हुँ” (गलाती १:११,१२)।

जुन पवित्र आत्माले पावललाई प्रेरणा दिनुभयो, उही पवित्र आत्माले पत्रुस, पावल, यूहन्‍ना र नयाँ करारको अरू लेखहरूलाई प्रेरणा दिनुभयो। तर तिनीहरू सबै उहाँको कामको निम्ति फरक-फरक भाँडाहरू थिए, र येशू तिनीहरू प्रत्येककहाँ फरक-फरकरूपमा प्रकट हुनुभयो।

इन्द्रेनी सात वटा रङ्गहरूद्वारा बनिएको हुन्छ- रातो, सुन्तला, पहेलो, हरियो, अस्मानी र बैजनी। यी सात वटा रङ्गहरूलाई एकै ठाउँमा मिलाउँदा शुद्ध सेतो ज्योति बन्छ। परमेश्‍वरको सत्यताको शुद्ध तथा चम्किलो सेतो ज्योति पवित्र आत्माले भरिएका मानवीय भाँडाहरूभित्र प्रवेश गर्दा, थुप्रै किसिमका रङ्गहरूमा टुक्रिन्छ।

येशू

येशू पूर्णरूपमा अद्वितीय व्यक्ति हुनुहुन्थ्यो।

उहाँले पुरानो करारको महान् अगमवक्ता मोशाको अनुकरण गर्ने प्रयास गर्नुभएन। आफूभन्दा अगाडि अनि पछाडि आएका अरू सबै धार्मिक अगुवाहरूभन्दा उहाँ पूर्णरूपमा पृथक हुनुहुन्थ्यो।

उहाँको जीवन विविधताले भरिएको थियो। उहाँ कन्याबाट जन्मनुभयो; उहाँले पानीलाई दाखमद्यमा परिणत गर्नुभयो; बिरामीहरूलाई निको पार्नुभयो; मरेकाहरूलाई उठाउनुभयो; पानीमाथि हिँड्नुभयो; थोरै माछा र रोटीद्वारा ५००० भन्दा बढीलाई खुवाउनुभयो; आँधीलाई शान्त तुल्याउनुभयो; अचम्मको शिक्षाहरू दिनुभयो; र उहाँ कलबरीको क्रूसमा मर्नुभयो अनि मृत्युबाट बौरी उठ्नुभयो! त्यसपछि उहाँ स्वर्गारोहण भएर परमेश्‍वरको दाहिने हातपट्टि विराजमान् हुनुभयो।

उहाँले आफूले भेटेका हरेक व्यक्तिलाई उपयुक्त ढङ्गले फरक-फरक सन्देशहरू दिनुभयो। उहाँले निकोदेमसलाई फेरि नयाँ गरी जन्मनु पर्छ भन्‍नुभयो (यूहन्‍ना ३:३)। उहाँले सामरियाको स्‍त्रीलाई “मलाई पानी देऊ” भन्‍नुभयो (यूहन्‍ना ४:७)। उहाँले यहूदीहरूलाई “म स्वर्गबाट ओर्लिआएको जिउँदो रोटी हुँ” भन्‍नुभयो (यूहन्‍ना ६:५१)।

कसरी र किन येशू अरू सबै मानिसहरूभन्दा निकै फरक हुनुभयो? अनि उहाँको जीवनमा यति धेरै विविधता किन भयो? यसको उत्तर साधारण छ। किनभने उहाँ पूर्ण र निरन्तररूपमा पवित्र आत्माद्वारा डोर्‍याइनुभयो। पवित्र आत्मासँग असीमित विविधाता र परमेश्‍वरको सृजनात्मक क्षमता छ। उहाँ सबै जीवित पत्थरहरूभन्दा महान् हुनुहुन्थ्यो। भजनले भन्दछ, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्‍यो” (भजन ११८:२२)।

ख्रीष्टको शरीर

विश्‍वासीहरू ख्रीष्टको शरीर हुन् भनी पावल बताउँछन्। उनले कोरिन्थीहरूलाई यसरी लेखे: “तिमीहरू ख्रीष्‍टका शरीर हौ, र हरेक त्‍यसका अङ्गहरू हौ” (१ कोरिन्थी १२:२७)। शरीरको विभिन्‍न अङ्गहरूमा ठूलो भिन्‍नता छ, र तिनीहरू एक-अर्काप्रति निर्भर हुन्छन् भन्‍ने कुरालाई पावल जोर दिन्छन्।

शरीरमा आँखाहरू, कानहरू, मुख, हातहरू र गोडाहरू हुन्छन् अनि थुप्रै अरू अङ्गहरूचाहिँ त्यसभित्र लुकिएका हुन्छन्। सामान्य जीवन जिउनको लागि ती सबै अङ्गहरू अति नै महत्वपूर्ण हुन्छन्। कुनै अङ्गले अर्को अङ्गलाई प्रतिस्थापन गर्न सक्दैन। देख्‍न नसक्‍ने, सुन्‍न नसक्‍ने, बोल्न नसक्‍ने अथवा हिँड्न नसक्‍ने मानिसहरू हामी सबैले जान्दछौँ। सायद हामीले हातहरू चलाउन नसक्‍ने मानिसहरू पनि चिनेका छौँ होला। ती मानिसहरूको काम गर्ने क्षमतामा गम्भीर सीमितपनाहरू हुन्छन् र जीवनभरि तिनीहरूले ठूला बेफाइदाहरू भोग्छन्।

के हामीले परम्परागत मण्डलीमा आँखाहरू, कानहरू, हातहरू र गोडाहरू सँगै मिलेर काम गरिरहेका देखेका छौँ? के हामीले परमेश्‍वरका मन्दिरको जीवित पत्थरहरू एक-अर्कासँग फरक भए तापनि एकता रही सुन्दर ढङ्गमा जोडिरएका देखेका छौँ? अथवा हामीले मुख्य गरी बाबेलको धराहराको मृत इँटाहरू मात्र देखेका छौँ?

हामीले अफसोस मान्दै यो कुरा स्वीकार गर्नैपर्छ, कि हामीले बिगतमा मुख्य गरी एक अर्कोसँग मिल्दा-जुल्दा बाबेलको मृत इँटाहरू मात्र देखेका छौँ। तर अहिले संसारभरि परमेश्‍वरले नयाँ तरिकाहरूद्वारा काम गर्दैहुनुहुन्छ र ख्रीष्टको शरीरको जीवित पत्थरहरू प्रकट हुँदैगरेका दृश्यहरू हामी देख्‍न थालेका छौँ। उक्त शरीरको आँखाहरू, कानहरू, मुख, हातहरू र गोडाहरू- यी सबै अङ्गहरूले सही प्रकारले सम्पूर्णरूपमा काम गर्ने समय पक्‍कै आउनेछ भनी म विश्‍वास गर्दछु। ख्रीष्टको सम्पूर्ण शरीर त्यसको सारा विविधतामा प्रकट हुँदा, यो संसारले छक्‍क पर्दै ठूलो सास फेर्नेछ भनी म विश्‍वास गर्दछु। पावलले रोमीहरूलाई लेखे: “म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्‍यससँग वर्तमान समयका कष्‍टहरू तुलना गर्न योग्‍य छैनन्‌। सृष्‍टि बड़ो उत्‍कण्‍ठाले परमेश्‍वरका पुत्रहरू प्रकट हुने कुराको प्रतीक्षा गर्छ ...” (रोमी ८:१८-२३मा पूरै खण्ड हेर्नुहोस्।) तसर्थ, सृष्टिले प्रतीक्षा गरिरहेको ती कुराहरू पूर्ण हुने समय एक दिन अवश्य आउनेछ।

स्वर्गारोहण हुनुभएको ख्रीष्टले आफ्नो शरीरलाई दिनुभएको वरदानरूपी पाँच सेवकाइहरूको बारेमा पावलले एफिसीहरूलाई लेखे। उनले लेखेका शब्दहरू यी नै हुन्: “कि ख्रीष्टको शरीर निर्माण होस्‌ र सेवाको काम गर्न सन्‍तहरू सुसज्‍जित होऊन्‌, जबसम्‍म हामी सबैले विश्‍वासको र परमेश्‍वरका पुत्रको ज्ञानको एकता प्राप्‍त गर्दैनौं, र परिपक्‍व मानिस बनी ख्रीष्‍टका पूर्णताको नापसम्‍म पुग्‍दैनौं” (एफिसी ४:१२,१३)।

के हामीले आफ्नो मण्डलीमा प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, गोठालाहरू र शिक्षकहरू काम गरिरहेका देखेका छौँ? अथवा हामीले बेबिलोनका पास्टर र पूजाहारीहरूलाई मात्र देखेका छौँ? हामीले मृत इँटाहरू देखेका छौँ, कि जीवित पत्थरहरू देखेका छौँ?

खुसीको कुरा के हो भने भविष्यमा हुने कुराहरू विगतको भन्दा निकै फरक हुनेछ। परमेश्‍वरले नयाँ-नयाँ कामहरू गर्दैहुनुहुन्छ। उहाँले ख्रीष्टको शरीरमा यी पाँच सेवकाइहरूलाई पुनर्स्थापित गर्दैहुनुहुन्छ। (मैले लेखेको पाँच सेवकाइहरू भन्‍ने लेख हेर्नुहोस्।)

एक रूपता

कसरी हामीले इँटाहरू बन्‍ने कुराबाट अलग भएर जीवित पत्थरहरू बन्‍न सक्छौँ?

पावलले लेखे: “यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक” (रोमी १२:२)।

संसारले एकरूपताको माग गर्छ।

बालककालदेखि नै हाम्रो समझलाई आफ्नो पारिवारिक सोच-विचार, समाजहरू र आफू जन्मिएको ठाउँको धर्महरूले त्यसैअनुसारको ढाँचा दिएको छ। त्यसैगरी हाम्रो समझलाई समाचार-पत्रहरू, रेडियो, टेलिभिजन र विशेष गरी जवानहरूलाई इन्टरनेटको सामाजिक सञ्‍जालले गहिरोरूपमा प्रभाव पारी त्यसैअनुरूपको ढाँचामा ढालेको छ।

यी सबै कुराहरूले हामीलाई सांसारिक ढाँचातिर लैजान्छ। यी सबै कुराहरूले हामीलाई इँटाहरूको ढाँचातिर लैजान्छ।

हरेक मानवीय संस्थाले हामीलाई त्यसको सदस्यहरूको एकरूपताको ढाँचामा ढाल्न चाहन्छ- चाहे त्यो धार्मिक होस्, शैक्षिक होस्, राजनैतिक होस् अथवा आर्थिक होस्।

कहिलेकाहिँ यस्तो एकरूपता मुख्यगरी बाहिरी कुराहरूमा हुन्छ। धेरै सङ्घ-संस्थाहरूले आफ्ना सदस्यहरूले एउटै खालको लुगा लगाएको चाहन्छन्। विभिन्‍न धर्मका पूजाहारी अनि धर्मगुरुहरू उस्तै रङ्ग र ढाँचाका पोशाक लगाउँछन्। ठूलो सङ्ख्याका मुस्लिम महिलाहरूले आँखाहरू मात्र देखिने गरी कालो कपडाले सम्पूर्ण शरीर ढाक्‍ने गर्छन्। बाहिरबाट हेर्दा तिनीहरू एक-अर्कोसँग उस्तै देखिन्छन्। सैनिक सङ्गठनको कुरा गर्ने हो भने तिनीहरूका सिपाहीहरूले उस्तै खालको पोशाक पहिरिने कुरामा जोर दिन्छन्। विशेष गरी जवानहरूलाई पहिरनको ढाँचा र बनावटले बलियोसँग पक्रिन्छ।

केही सङ्घ-संस्थाहरूले बाहिरी एकरूपताभन्दा अझ बढी प्रभाव पार्न चाहन्छन्। तिनीहरूले उच्‍च अवस्थामा पुगेर आफ्ना सदस्यहरूको आत्मा, समझ र शरीरमाथि पूर्णरूपमा नियन्त्रण गर्न चाहन्छन्।

संसारमा यस्ता मुलुकहरू पनि छन्, जहाँ एकरूपतामा नआउने मानिसहरूलाई गम्भीर सजायँ र सतावट मात्र होइन मृत्युदण्ड पनि दिइने गरिन्छ।

रूपान्तरण

कसरी हामी “यो संसारको ढाँचाबाट” अलग हुन सक्छौँ? यसबारे पावलका शब्दहरू के-कस्ता छन्? “यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक” (रोमी १२:२)।

पावलका शब्दहरू बप्‍तिस्मा दिने यूहन्‍ना र येशूको सुरुका यी सार्वजनिक शब्दहरूसँग मेल खान्छन्: “पश्‍चात्ताप गर, किनभने स्‍वर्गको राज्‍य नजिक आएको छ” (मत्ती ३:२ र ४:१७)।

पश्‍चाताप भन्‍ने शब्द ग्रीक शब्द μετανοεω (मेटानोइयो) बाट आएको हो, जसको अर्थ फरक किसिमले विचार गर्नु अथवा मन परिवर्तन गर्नु हो।

समस्याचाहिँ हाम्रो मनमा छ। हामीले झूट कुराहरूलाई विश्‍वास गरेका छौँ। ती झूटहरूलाई हामीले कसरी हटाउन सक्छौँ? येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरूले सत्य जान्‍नेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ” (यूहन्‍ना ८:३२)। सत्यले झूटलाई नास गर्छ। यो कसरी हुनेछ भन्‍ने कुरा पछि उहाँले आफ्ना चेलाहरूलाई व्याख्या गर्नुभयो, “जब उहाँ, अर्थात्‌ सत्‍यका आत्‍मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्‍यतामा डोर्‍याउनुहुनेछ” (यूहन्‍ना १६:१३)।

ती झूटहरू के-के हुन् त? हामीले मुख्य गरी तीन किसिमका झूटहरूलाई ध्यान दिनेछौँ: परमेश्‍वरको बारेमा झूट, हाम्रो बारेमा झूट र दुष्टबाट आउने झूट।

परमेश्‍वरको बारेमा झूट

हामीहरूमध्ये धेरै जना परमेश्‍वरको बारेमा थुप्रै झूटा अवधारणाहरू लिएर हुर्कियौँ। हाम्रो पृष्ठभूमि चाहे यहूदी होस्, हिन्दू होस्, मुस्लिम होस्, नास्तिक होस् अथवा चाहे नामधारी इसाई होस्, हामीसँग साँचो परमेश्‍वरको ज्ञान थिएन। उहाँ हामीबाट धेरै टाढा हुनुहुन्थ्यो अथवा उहाँको अस्तित्व नै छैन भनी हामीमध्ये केहीले विचार गर्‍यौँ। अरूहरूले चाहिँ उहाँलाई प्रशन्‍न तुल्याउन विभिन्‍न किसिमका धार्मिक रीरि-रिवाज र उत्सवहरू मनाउनु पर्छ भनी विचार गरे।

धेरै धर्महरूले परमेश्‍वरको बारेमा झूटो अवधारणा सिकाउँछ। उहाँ रिसालु न्यायधीस हुनुहुन्छ र कसैले उहाँले तोक्‍नुभएको मापदण्डहरू पूरा गर्दैन भने अथवा उहाँले खुसी पार्न ठिक रीति-रिवाजहरू पालन गर्दैन भने तिनीहरूलाई दोष लगाउन उहाँ पर्खिरहनुभएको छ। उहाँले अधिकांश मानवजातिलाई दोषी ठहर्‍याएर नरकको अनन्त यातना दिनुहुन्छ। परमेश्‍वरले यी दिनहरूमा कुनै आश्‍चर्यकर्महरू गर्नु हुन्‍न, आदि इत्यादि।

हामीले पवित्र आत्मालाई ग्रहण गर्छौँ भने, उहाँले हामीलाई परमेश्‍वरको साँचो स्वभाव प्रकट गर्न थाल्‍नुहुन्छ। उहाँ सर्वशक्तिमान्, सर्वज्ञानी, सर्वव्यापि र सार्वभौम सम्पन्‍न परमेश्‍वर हुनुहुन्छ। आफ्नो सारा सृष्टिप्रति उहाँ प्रेमले भरिपूर्ण हुनुहुन्छ। “उहाँले कोही पनि नास भएको चाहनु हुन्‍न तर सबैले पश्‍चाताप गरेर आफूकहाँ आऊन् भन्‍ने उहाँको इच्छा छ” (२ पत्रुस ३:९)। यो ज्ञान हाम्रो दिमागमा मात्र आउने होइन, तर यसको गहिरो अनुभव हुनुपर्छ।

हाम्रो बारेमा झूटहरू

मानिसहरू आफ्नै बारेमा थुप्रै झूटहरू लिएर हुर्कन्छन्। “म अरूहरूभन्दा उच्‍च हुँ।” “म अरूहरूभन्दा निच हुँ।” अनि त्योभन्दा पनि गम्भीर कुराचाहिँ यो हो- “म पापी होइन र मलाई परमेश्‍वर अथवा येशू ख्रीष्टको आवश्यक्ता छैन।”

येशूकहाँ आएपछि हाम्रो धेरै झूटहरू सजिलै हराएर जान्छन्। हामीले आफू पापी भएकोले, मुक्तिदाताको खाँचो छ भनी जानेका छौँ। तैपनि, कहिलेकाहिँ स्पष्ट नदेखिने थुप्रै झूटहरू हामीमा रहिरहन्छन्; जस्तै: “परमेश्‍वरले मलाई प्रेम गर्नु हुन्‍न”; “उहाँको सामु म असल र योग्य छैन”; अथवा “म कहिल्यै पापमाथि विजयी हुन सक्दिनँ” आदि। येशूले भन्‍नुभयो, "तिमीहरूले सत्य जान्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ" (यूहन्‍ना ८:३२)। हरेक झूटको लागि उपयुक्त उत्तर त्यही हो।

दुष्टबाट आउने झूट

येशूले भन्‍नुभयो, कि शैतान “झूट र झूटको पिता हो” (यूहन्‍ना ८:३४)।

शैतानले मानिसहरूलाई बताउने पहिलो झूट भनेको उसको अस्तित्व छैन भनेर विश्‍वास गराउनु हो। येशूकहाँ आएपछि प्राय: मानिसहरूले शैतानको अस्तित्व छ भनी तुरुन्तै पत्ता लगाउँछन्, तर अक्सर तिनीहरू त्यसको युक्तिको बारेमा चाहिँ अनभिज्ञ रहन्छन्।

अगमवक्ता जकरियाले यस्तो दृश्य देखे: “तब उहाँले प्रधान पूजाहारी यहोशूलाई परमप्रभुका दूतको सामुन्‍ने उभिरहेका र शैतान तिनको विरोध गर्नलाई तिनको दाहिने हाततिर उभिरहेको मलाई देखाउनुभयो” (जकरीया ३:१)। शैतान (שָּׂטָן) भन्‍ने हिब्रू शब्दको अर्थ ‘दोष लगाउने’ हो र ग्रीकमा त्यसलाई दियावलस (διαβολος) भनिन्छ र यसको अर्थ ‘निन्दा गर्ने’ हुन्छ।

प्रकाश १२:१० मा हामी यसरी पढ्छौँ, “हाम्रा भाइहरूलाई दोष लगाउने, जसले हाम्रा परमेश्‍वरको सामुन्‍ने तिनीहरूलाई दिनरात दोष लगाउँछ, त्‍यो तल फ्‍याँकिएको छ।”

येशूकहाँ आएपछि, र विशेषगरी पवित्र आत्माको बप्‍तिस्माको अनुभव गरेपछि, हामीले झूट र दोष लगाउनेको रूपमा शैतानसँग सामना गर्न थाल्छौँ। त्यसले हामीलाई हाम्रो समझमा आक्रमण गर्छ। त्यसले हामी प्रत्येकको कमजोरी के हो भनी जान्दछ। त्यसले केही मानिसहरूलाई उनीहरू आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूभन्दा असल छन् भनी भन्छ। अरूहरूलाई चाहिँ त्यसले उनीहरू व्यर्थ छन् भनी भन्छ। त्यसले येशूलाई के उहाँ साँच्‍चै परमेश्‍वरको पुत्र हुनुहुन्छ त भनी प्रश्‍न गर्‍यो। येशूले झैँ, त्यस्ता अवस्थाहरूमा हामीले त्यसलाई चिनेर, त्यसको झूटलाई इन्कार गर्नु पर्छ। येशूले धर्मशास्‍त्रबाट त्योसँग मुकबिला गर्नुभएकोले हामीले पनि त्यसै गर्न सिक्‍नु पर्छ।

अन्य झूटहरू

‘हाम्रो मनलाई नवीकरण गरी रूपान्तरण हुने’ विषय निकै गहन छ, र यो लेखमा मैले त्यसको सतह मात्र खोतलेको छु। मेरा सम्पूर्ण पुस्तकहरू र वेवसाइटमा भएका पाठ्य-सामग्रीहरू त्यसैको बारेमा लेखिएका छन्।

हरेकले धेरै मात्रामा होस् अथवा थोरै मात्रामा होस्, आफ्नो परिवार, स्कुल र कलेजको आफ्ना समकालिन मित्रहरू, सामाजिक समूहहरू, आफ्नो धर्म, सञ्‍चारको माध्यमहरू र अन्य थुप्रै श्रोतहरूबाट विभिन्‍न झूटहरू सिक्छ। हाम्रो मनबाट झूटहरू हटाउन पवित्र आत्माले विभिन्‍न किसिमले काम गर्नुहुन्छ, र “हामीलाई सत्यतातिर डोर्‍याउनु हुन्छ” (यूहन्‍ना १६:१३)।

बाइबलले दुइ किसिमको मनको बारेमा बताउँछ: पशूको मन र ख्रीष्टको मन। स्वभाविकरूपमा हामीसँग पशुको मन हुन्छ; अनि परमेश्‍वरको अनुग्रह र पवित्र आत्माको कामद्वारा हामीले ख्रीष्टको मन प्राप्‍त गर्दछौँ (६६६ र ८८८ हेर्नुहोस् )।

निष्कर्ष

पूरा दुई दिनसम्म ख्रीष्टको भौतिक शरीर चिहानभित्र गाडिएको थियो। तेस्रो दिनमा कात्रोहरू चिहानमै छोडेर उहाँ मृतकबाट बौरी उठ्नुभयो। “प्रभुका निम्ति एक दिन हजार वर्ष जस्तै हुन्छ” भनी २ पत्रुस ३:८ ले बताउँछ। त्यसको मतलब उहाँको दुई दिन २,००० वर्ष हुन आउँछ! जसरी येशूको भौतिक शरीर कात्रोले ढाकिएर पूरा दुई दिनसम्म चिहानमा बितायो, त्यसरी नै ख्रीष्टको आत्मिक शरीरले कात्रोले ढाकिएको अवस्थामा २,००० वर्ष बितायो भनी म विश्‍वास गर्छु। तर अब म यो कुरामा विश्‍वास गर्छु, कि मृत्युको समय सकियो र पुनरुत्थानको समय आएको छ। (Bible Chronology लेख हेर्नुहोस्।)

होशेले दोहोरो पुनरुत्थान हुन्छ भनी (ख्रीष्टको भौतिक शरीर र आत्मिक शरीर) अगमवाणी गरेका छन्, “दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ, तेस्रो दिन उहाँले हामीलाई पुन: खड़ा गर्नुहुनेछ, र हामी उहाँकै सामने जीवित रहनेछौँ” (होशे ६:२)।

त्यो तेस्रो दिन अब आएको छ!

परमेश्‍वरका जनहरूले यो संसारको ढाँचालाई त्यागेर आफ्नो मनलाई नवीकरण गर्दै रूपान्तरण हुँदैछन्।

बाबेलको मृत इँटाहरूलाई परमेश्‍वरको मन्दिरको जीवित पत्थरहरूले प्रतिस्थापन गर्ने काम हुँदैछ।

आमेन!

अनुवादक: श्याम श्रेष्ठ

यो पुस्‍तकलाई रंगिन [Color] छाप्‍ने फाइल

यो पुस्‍तकलाई श्‍याम-स्‍वेत [Black & White] छाप्‍ने फाइल

कसरी छाप्ने