प्रभुको आगमन

परिचय

कुनै कुनै इसाई मण्‍डली वा सङ्गतिले प्रभु येशू ख्रीष्‍टको “दोश्रो आगमन” लाई धेरै महत्त्‍वपूर्ण मान्‍छन्। तिनीहरूको प्राय: हरेक सभामा, यस आउँदो घटनाको विषयमा एक न एक पल्‍ट सुन्‍न पाइन्‍छ। कहिले काहीँ त पूरै भाषण (प्रवचन) नै प्रभु येशूको “दोश्रो आगमन” कै बारेमा दिइन्‍छ। अरू मण्‍डलीहरूमा भने, अर्कै हुँदो रहेछ। बाइबलमा लेखिएअनुसार “दोश्रो आगमन”को विषयमा धेरैजसो मण्‍डलीका विश्‍वासीहरूमा धेरै शिक्षाको अभाव रहेको छ।

कति मानिसहरूको निम्‍ति यो सन्‍देश नै नयाँ हुनसक्‍छ, अरूहरूको निम्‍ति भने पुन: जाँच गर्ने मौका हुन्‍छ। बाइबलका कतिवटा खण्‍डमा हेर्दा जहाँनिर प्रभुको “दोश्रो आगमन” को बारेमा उल्‍लेख गरिएको छ, त्‍यहाँ पहिला पढ्दा, जस्‍तो देखिन्‍छ, सहीमा त्‍यो हो कि होइन फेरि हेरौँ। “दोश्रो आगमन” भन्‍ने शब्‍द-समूहलाई मैले उद्धृत-चिन्‍हभित्र राखिदिएको छु। कसैलाई अचम्‍म पनि लाग्‍ला, किनभने “दोश्रो आगमन” भन्‍ने शब्द नयाँ करारमा कहीँ पनि लेखिएको छैन।

त्‍यसबेला जे-जस्‍तो विचार थियो त्‍यसलाई हालको विचारसित दाज्‍यौँ भने, धेरै सहायता पाउँछौँ। त्‍यस समयका फरिसीहरूले मशीहको बाटो हेरिरहेका थिए, त्‍यतिमात्र होइन, मशीह कसरी आउनुहुन्‍छ, कस्‍ता-कस्‍ता काम गर्नुहुन्‍छ सो पनि ठोकेरै भन्‍थे, र पनि येशू मशीह जब आउनुभयो फरिसीहरूले उहाँलाई चिनेनन्। हाम्रा मशीहचाहिँ बेथलेहेममा जन्‍मनुहुन्‍छ भनी धर्मशास्‍त्रबाट ढुक्कै भएर मानिसहरूलाई भन्‍थे तर यथार्थमा येशू अन्‍य ठाँउ नासरतबाट आउनु भएको हुँदा उहाँलाई अस्‍वीकार गर्ने एउटा मुख्‍य कारण थियो।

प्रभुका चेलाहरूले हप्‍तौँ-हप्‍ता धर्मशास्‍त्र सुन्‍दै आएका थिए र उनीहरूलाई धर्मशास्‍त्रको निकै ज्ञान थियो। तर फरिसीहरूलाई जतिको ज्ञान तिनीहरूलाई थिएन। धर्मशास्‍त्रको ज्ञान कम भए पनि पत्रुसले येशूलाई मशीह भनेर चिने। धेरै ज्ञान भएका फरिसीहरूले चाहिँ उहाँलाई चिनेनन्। के फरिसीहरूले भन्‍दा पत्रुसले बढी ध्‍यान लगाएर धर्मशास्‍त्र अध्‍ययन गरेका थिए, वा अझै होशियारीसँग सबै हेरेका थिए ? होइन, पत्रुस प्रभु येशूतिर आकर्षित भएका थिए र परमेश्‍वरबाटै तिनले प्रकाश पाएका थिए। प्रभु येशूलाई पत्रुसले भने “तपाईं ख्रीष्‍ट हुनुहुन्‍छ जीवित परमेश्‍वरको पुत्र।” र येशूले तिनलाई उत्तर दिनुभयो “योनाको छोरा सिमोन, तिमी धन्‍य हौ। किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्‍वर्गमा हुनुहुने मेरा पिताले यो प्रकाश गरी दिनुभएको हो” (मति १६: १६)।

आज पनि, त्‍यतिबेलाजस्‍तै, जुन कुरा जबसम्‍म परमेश्‍वरबाट प्रकाश पाउदैनौँ, केही पनि जानेका हुँदैनौँ। जे जति हामीले हाम्रा अन्‍तर आत्‍माबाट सिक्‍छौँ त्‍यसलाई धर्मशास्‍त्रले पुष्‍टि गर्दछ।

अगमवाणीहरू कसरी पूरा भइरहेछ

परमेश्‍वरले आफ्‍ना दास अगमवक्ताहरूलाई भविष्‍यमा आउन लागेका कुरा प्रकट गर्नुहुन्‍छ। पुरानो करार पढ्दा सो छर्लङ्ग भएको देखिन्‍छ तर कुनै-कुनै अगमवाणीहरू सुन्‍नेले चिताएको भन्‍दा बेग्‍लै किसिमले पूरा हुन गए। अगमवाणी पूरा भएको ठाउँमा परमेश्‍वरका विचार हाम्रा विचारभन्‍दा उच्‍च भएको स्‍पष्‍टसित बुझ्‍छौँ। यसकारण अगमवाणीहरू कसरी पूरा हुन आए सो हेरौँ।

उत्‍पत्तिको पुस्‍तकदेखि नै आउनुहुने मशीहका अगमवाणीहरू लेखिएका छन्। हव्‍वालाई परमेश्‍वरले भन्‍नुभयो, “स्‍त्रीको सन्‍तानले सर्पको टाउको कुच्‍चाउनेछ”। परमेश्‍वरको यस्‍तो वचनले हव्‍वाको मन शान्‍त भएको थियो। तिनले हौसला पाएकी थिइन्। तर त्‍यो अगमवाणी कसरी पूरा हुने तिनलाई केही ज्ञान थिएन, तिनले वास्‍तविक लड़ाइँ सम्‍झेकी हुन सक्‍छ। यतिकै सर्पहरू मरिरहेको तिनले कल्‍पना गर्न सक्‍थिन्। त्‍यो अगमवाणी पूरा भइसकेको हेर्दा हामीलाई स्‍पष्‍ट हुन्‍छ। दुष्‍टलाई दमन गर्न परमेश्‍वरले उठाउनुभएको कदमहरू हव्‍वाको कल्‍पनाभन्‍दा धेरै उच्‍च छन्। तिनको धेरैपछि आउने सन्‍तानले अन्‍धकारको शक्तिलाई चकनाचूर पार्नुभयो। तरवारको लड़ाइँ गरेर होइन, कुनै हात हतियार चलाएर होइन, तर आफ्‍नै प्राण बलिदान चढ़ाएर संसारको पाप हटाउने उहाँ भइदिनुभयो।

अब्राहामलाई परमेश्‍वरले भन्‍नुभयो, “तेरा सन्‍तानको वृद्धि गरेर आकाशका अनगिन्‍ती तारा र समुद्रको बालुवासरह म तुल्‍याउनेछु। तेरै सन्‍तानद्वारा पृथ्‍वीका सबै जाति आशिर्वादी हुनेछन्”। अचेल लाखौँ मानिसहरूले अब्राहाम हाम्रै पुर्खा हुन् भनेर भन्‍दछन्। सायद अब्राहामले पनि सन्‍तानको प्रतिज्ञा यस्‍तै नै सम्‍झेका थिए होला। चार हजार वर्ष बितिसक्यो। परमेश्‍वरको नजर त अनगिन्‍ती आत्‍मिक सन्‍तानमाथि पो परेको रहेछ, जुन सन्‍तानले अब्राहामले जस्‍तै विश्‍वास गरेका छन्। अब्राहामले पहिले बुझेको भन्‍दा पूरा भइसकेको अगमवाणी कति उत्तम र उच्‍च छ।

मोशालाई परमेश्‍वरले भन्‍नुभयो,“तैँले खड़ा गरेजस्‍तै तेरा दाज्‍यू भाइहरूमध्‍येबाट एउटा अगमवक्ता खडा गर्नेछु”। आत्‍मिक दृष्‍टिकोणले हेर्दा, प्रभु येशू र मोशा कता-कता एकै देखिन्‍छ। तर अर्को दृष्‍टिकोणले हेर्दा त प्रभु येशू बेग्‍लै हुनुहुन्‍छ र धेरैले नासरतको येशू र मोशामा मिल्‍ने कुरा देख्‍दै देखेनन्। मोशाले के गरे ? मिश्र देशको दासत्‍वको भारी र बन्‍धनबाट आफ्‍ना मानिसहरूलाई छुटकारा दिए। येशूले के गर्नुभयो ? रोमी साम्राज्‍यको बन्‍धनबाट त छुटकारा दिनुभएन तर पिठ्युमा परेको पापको झन् डरलाग्‍दो जुवा र शैतानको बन्‍धनबाट आफ्‍ना मानिसहरूलाई प्रभु येशूले छुटकारा दिनुभयो।

दाऊद राजालाई परमेश्‍वरले “तेरो राजकीय सिंहासन सधैँको निम्‍ति स्‍थिर गर्छु” भन्‍ने प्रतिज्ञा गर्नुभयो। अहो, मेरो सन्‍तानहरू सदा सर्वदा यहाँ यरूशलेमको मेरो गद्दीमा बस्‍न पाउने भनेर दाऊद कस्‍तो रमाएका थिए होलान्। यो प्रतिज्ञा त बेग्‍लै प्रकारले पूरा हुन गयो, तर उनले कल्‍पना गरेको भन्‍दा धेरै उच्‍च थियो। कति सय वर्ष तिनका सन्‍तानले राज्‍य त गरे, तर सधैँभरिलाई होइन। यरूशलेममा ठूलो दुर्घटना भयो। बेबिलोनीहरूले धेरै वर्षसम्‍म नगरको वरिपरि घेरो हालेर पर्खाल भत्‍काए। त्‍यस बेलाको यहूदी राजा सिदिकयाहका आँखा फोरिदिए र तिनलाई साँङ्लोले बाँधेर बेबिलोनको कैदमा हाले। राज-दरबार र घरहरू जलाइ दिएर यरूशलेम ध्‍वंश पारे। परमेश्‍वरले दिनुभएको अगमवाणी के भयो त ? दाऊदका सुन-चाँदीले बनिएको सिंहासन भत्ता-भुङ्गै भयो, तर दाऊदको आत्‍मिक सिंहासनमा प्रभु येशू सदा काल शासन गर्नुहुन्‍छ। साथै उहाँको सन्‍तगणले उहाँसँगै शासन गर्नेछन्, जबसम्‍म सारा शत्रुहरूलाई उहाँले दमन गर्नुहुनेछ। यस संसारको यरूशलेम शताब्‍दी-शताब्‍दीसम्‍म अन्‍यजातिहरूले कुल्‍चीमिल्‍ची गरिरहेको छन्। त्‍यहाँको सिंहासन रित्तै छ। तर स्‍वर्गीय यरूशलेमको गद्दीमा प्रभु येशू राज्‍य गर्नुहुन्‍छ। यसरी अगमवाणी पूरा भएको दाऊदले चिताएको भन्‍दा धेरै उत्तम छ।

यी चार अगमवाणी कसरी पूरा हुन गए, सो हेर्दा, प्रभु येशूको फेरि आउनुहुने प्रतिज्ञा पूरा हुँदा उदेकको हुन्‍छ भनेर प्रतीक्षा गर्न सक्‍छौँ। परमेश्‍वरको योजना पूरा गर्नु हामी सक्‍दोभर अगाडि बढ्नुपर्ने हो। परमेश्‍वरको योजना पूरा भइसकेपछि मात्रै हामीले पक्का बुझ्‍न सकौँला। त्‍यतिबेला यी सबै हामीले चिताएको भन्‍दा अझै महान् र आश्‍चर्यजनक रहेछन् भनेर चाल पाउनेछौँ।

म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु

कुनै कुरा सिक्‍नु हो भने प्रभु येशूबाटै शुरु गर्नु सर्वश्रेष्‍ठ हो। आफ्‍नो आगमनको विषयमा प्रभु येशू आफैले के भन्‍नुभयो? उहाँको जीवन, मृत्‍यु र पुनरुत्‍थानसँग कस्‍तो सम्‍बन्‍ध होला?

यूहन्‍ना १४:२,३ बाट अध्‍ययन गर्न थालौँ। यहाँनिर प्रभु येशूले आफ्‍नो आगमनको बारेमा बताउनुभयो जुन सजिलैसँग बुझ्‍न सकिने कुरा देखिन्‍छ। “मेरा पिताको घरमा बस्‍ने ठाउँहरू धेरै छन्। त्‍यसो नभए, के म तिमीहरूलाई भन्‍नेथिएँ र, कि तिमीहरूका निम्‍ति ठाउँ तयार पार्न म गइरहेछु ? अनि गएर मैले तिमीहरूका निम्‍ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्‍यहाँ तिमीहरू पनि हुनेछौ”।

यी पदहरू आखिरी भोजमा प्रभु येशूले दिनुभएको लामो वृतान्‍तको शुरुतिर यूहन्‍नाले लेखिराखेको भेटाउँछौँ। कुन प्रसङ्गमा यो भन्‍नुभयो सो बुझ्‍नलाई यी पदको अघि पछि लेखिएका कुरामा पनि ध्‍यान गरौँ।

व्‍याकुल हृदय

यूहन्‍ना १४:१ पदमा यसरी पढ्छौँ: “तिमीहरूको हृदय व्‍याकुल नहोस्। तिमीहरू परमेश्‍वरमाथि विश्‍वास गर्दछौ, ममाथि पनि विश्‍वास गर।” चेलाहरूमाथि ठूलो मानसिक आघात पर्न आँटेको थियो। प्रभु येशू तिनीहरूदेखि शारीरिक रूपले अलग्‍गिन आँटनुभएको थियो। भविष्‍यमा आउने पीड़ा खप्‍नलाई प्रभु येशूले चेलाहरूलाई तयार पारिराख्‍नुको साथै सान्‍त्‍वना दिइरहनुभएको थियो। फर्केर आउँछु र तिमीहरूलाई स्‍वर्ग लैजान्‍छु भनरे प्रतिज्ञा गर्नुभयो। दुइ हजार वर्ष बितिसके। यो सान्‍त्‍वना र प्रतिज्ञा के भयो त ? मानिलिनुहोस् कुनै एउटा साथीले भन्‍छ, “म तिमीलाई भेट्न आउँछु” र अल्‍याङ-टल्‍याङ गर्छ भने ऊ आउनुभन्‍दा पहिले मेरो मृत्‍यु भइसक्‍छ। त्‍यसको धेरै दिन पछि पो बल्‍लबल्‍ल ऊ मेरो घरमा आइपुग्‍छ भने त्‍यसले प्रतिज्ञा पूरा गरेको हो ? कहिले हुन्‍थ्‍यो र ? जसरी हितोपदेश १३:१२ मा लेखिएको छ, “आशा विलम्‍ब हुँदा मन मर्छ, तर इच्‍छा पूरा हुनु जीवनको रुख हो।”

अब चेलाहरूपट्टि फर्कौं। स्‍वर्गारोहणपछि प्रभु येशू प्राकृतिक रूपले फर्केर आउनुभएन। के ती चेलाहरू जीवनभरि दु:खित भएर बसे ? हामीचाहिँ प्रभु नफर्किन्‍जेल दु:खित भएर बस्‍ने ? प्रेरितहरूका काम र सन्‍तगणको जीवनी पढ्दा अहिलेसम्‍म कोही पनि विचलित भएर बसेको देख्‍दैनौँ। प्रभु येशू बन्‍दी हुनुभयो, मुद्दामा पर्नुभयो, मारिनुभयो, त्‍यतिबेला चेलाहरू व्‍याकुल भएका थिए। तर प्रभु येशू बौरी उठ्नुभयो, चेलाहरूसित हिड्नुभयो र बातचित गर्नुभयो। पचास दिनपछि पवित्र आत्‍मा तिनीहरूमा उदेकको शक्तिको साथ आउनुभयो र त्‍यसपछि तिनीहरूको हृदय विचलित भएन। तिनीहरूले प्रभु येशूलाई आफ्‍नो साथमा हुनुभएको महसुस गरे। उहाँलाई आँखाले नदेखे पनि तिनीहरूभित्रै बास बस्‍नुभएको थियो। पत्‍याउन नसकिने कुरा तिनीहरूले गुमाएको भन्‍दा प्राप्‍त गरेको मात्रा ठूलो थियो।

येशू कहाँ जाँदैहुनुहुन्‍थ्‍यो?

यूहन्‍ना १४:४,५मा पढ्छौँ, “जहाँ म गइरहेछु, तिमीहरू त्‍यहाँ जाने बाटो चिन्‍छौ।” थोमाले उहाँलाई भने, “हे प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्‍छ, हामी जान्‍दैनौँ, तब हामीले बाटो कसरी चिन्‍ने ?”

आजकलका धेरै विश्‍वासीहरूले जस्‍तै थोमाले पनि प्रभु येशूको कुरा बुझेनन्। तिनी मूर्ख नै भएका त होइन तर सारा मानव-जातिलाई ढाक्‍ने अन्‍धकारले थोमाको मनलाई पनि ढाकेको थियो। प्रभुको यो कुरा थोमालेझैँ अरू चेलाहरूले पनि बुझेनन् तर थोमाले मात्र नहिचकिचाई प्रभुलाई सोधे। थोमाले प्रभुले भनेको कुरा थप जानकारीसहित विस्‍तृत रूपमा नबुझेजस्‍तै, हामीले पनि उहाँको वचन नबुझेको हुन सक्‍छौँ।

यूहन्ना १४:९,१० मा येशूले चेलाहरूलाई यसरी बुझाउनुभयो, “जसले मलाई देखेको छ, त्‍यसले पितालाई देखेको छ। म पितामा छु, र पिता ममा हुनुहुन्‍छ भनेर के तिमी विश्‍वास गर्दैनौ?”(यूहन्ना १०:३० मा, “पिता र म एक हौँ” भनेर प्रभुले भनिसक्‍नुभएको थियो।)

पिताकहाँ जाने र पितासँग एकै भएको कुरा भनिसकेपछि, पवित्र आत्‍माको बारेमा येशू यसरी बोल्‍न लाग्‍नुभयो, “म पितासँग बिन्‍ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्‍लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ। उहाँ सत्‍यका आत्‍मा हुनुहुन्‍छ, जसलाई संसारले ग्रहण गर्न सक्‍दैन, किनभने संसारले उहाँलाई नता देख्‍छ न चिन्‍छ। तिमीहरू उहाँलाई चिन्‍छौ, किनभने उहाँ तिमीहरूसँग वास गर्नुहुन्‍छ, र उहाँ तिमीहरूमा रहनुहुनेछ।” यी शब्‍दहरू बोलेपछि तुरुन्‍तै येशूले १८ पदमा यसरी प्रतिज्ञा गर्नुभयो, “म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ। म तिमीहरूकहाँ आउनेछु”। यसको लगतै पछि, २३ पदमा, “मेरा पिताले त्‍यसलाई प्रेम गर्नुहुनेछ, र हामी त्‍यसकहाँ आउनेछौँ, र त्‍यससँग वास गर्नेछौँ।”

१४ अध्‍यायमा तीनचोटि येशूले फेरि आउँछु भन्‍नुभएको हामीले सुनिसक्‍यौँ।

यी तीन वाक्‍यका छुट्टा-छुट्टै अर्थ हुन सक्‍दैन। तेश्रो वाक्‍यमा येशूले “हामी” भन्‍ने शब्‍द प्रयोग गर्नुभयो। त्‍यसो भन्‍नुको अर्थ आफैमात्र नभएर, पिता पनि आउनुहुन्‍छ भन्‍ने हो। यो लामो वृतान्‍तमा पवित्र आत्‍मा आउनुहुने कुरा येशूले दोहोर्‍याउनुभयो। भिन्‍दा-भिन्‍दै आगमन हुने हो त ? म विश्‍वास गर्छु, यी आगमनहरू सबै एउटै हुन्। पेन्‍तिकोसको दिनमा भएको पवित्र आत्‍माको आगमन पिताको हो र पुत्रको पनि थियो।

२ र ३ पद फेरि पढेर हेरौँ: “मेरा पिताको घरमा बस्‍ने ठाउँहरू धेरै छन्। त्‍यसो नभए, के म तिमीहरूलाई भन्‍ने थिइन, कि तिमीहरूका निम्‍ति ठाउँ तयार पार्न म गइरहेछु ? अनि गएर मैले तिमीहरूका निम्‍ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्‍यहाँ तिमीहरू पनि हुनेछौ।”

शारीरिक रूपमा येशू आफ्‍ना चेलाहरूलाई छोड्न लाग्‍नुभएको थियो। तर उहाँ र उहाँका पिता आएर तिनीहरूमा आफ्‍ना वासस्‍थान बनाउन लाग्‍नुभएको थियो। यी वासस्‍थानहरूचाहिँ आकाशमा भएका ठूला ठूला घरहरू होइनन्। वासस्‍थान त उहाँका विश्‍वासीहरूका हृदय हुन्, अथवा हामी नै ती वासस्‍थान हौँ।

“जहाँ म छु, त्‍यहाँ तिमीहरू पनि हुनेछौ”। भनेर येशूले भन्‍नुभयो। याद गर्नुहोस्- “जहाँ म हुनेछु,” भनेर भन्‍नुभएन तर यसो भन्‍नुभयो- “जहाँ म छु”।तीन वर्षअघि गालीलमा भेट भएको दिनदेखि प्रभु येशू र उहाँका चेलाहरू शारीरिक रूपमा एउटै ठाउँमा थिए। आत्‍मिक रूपमा भने एउटै ठाउँमा थिएनन्। भेट्ने बित्तिकै उहाँ हामीहरूभन्‍दा उच्‍च हुनुहुन्‍छ भनेर चेलाहरूले चाल पाइहाले। ”जहाँ म छु, त्‍यहाँ तिमीहरू पनि हुनेछौ।” कस्‍तो उदेकको प्रतिज्ञा ! सोची हेर्नुहोस् त, महिमित आत्‍मिक सत्‍यतामा आज हुन पाउनु त भविष्‍यमा एउटा आकाशमा प्राकृतिक भवन हुनुभन्‍दा उत्तम हो।

बादल

अब बादलको बारेमा विचार गरौँ। बाइबलमा पाँचजना बेग्‍ला-बेग्‍लै व्‍यक्ति लगायत येशू र उहाँको आगमनको सम्‍बन्‍धमा बादलको बारेमा कुरा गर्छन्। पहिलो व्‍यक्ति दानिएल अगमवक्ता हुन् र अरू तिनजनाले पनि दानिएलकै टिप्‍पणी गर्छन्।

१. दानिएलले भने: “राती मैले मेरो दर्शनमा हेरेँ, र त्‍यहाँ मेरो सामु आकाशका बादलका साथ आइरहनुभएको एक जना मानिसको पुत्रजस्‍तै हुनुहुन्‍थ्‍यो। उहाँ ती अति प्राचीनकहाँ आउनुभयो, र उहाँकै सामु उपस्‍थित गराइनुभयो” (दान ७: १३)।

२. येशूले भन्‍नुभयो: “तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्‍नेछन्” (मत्ती २४: ३०)।

३. दुई जना स्‍वर्गदूतले येशू बादलमा स्‍वर्ग जानुभएपछि, भने: “गालीलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ ? यही येशू, जो तिमीहरूबाट स्‍वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्‍वर्गमा जानुभएको देख्‍यौ, त्‍यसरी नै उहाँ फेरि आउनुहुनेछ” (प्रेरित १: ११)।

४. पावलले लेखेका छन्: “तब हामी बाँचिरहेका र छोड़िएकाहरू प्रभुलाई आकाशमा भेट्न तिनीहरूका साथसाथै बादलमा उठाइ लगिनेछौँ” (१ थेस ४: १७)।

५. यूहन्‍नाले लेखेका छन्: “हेर, उहाँ बादलहरूसाथ आउँदैहुनुहुन्‍छ, र हरेक आँखाले उहाँलाई देख्‍नेछ” (प्रकाश १: ७)।

यी सबै पदहरू पढ़ेर प्रश्‍न सोध्‍न सक्‍छौँ- मानिसको पुत्रको आगमनमा बादलको किन यस्‍तो विशेषता ? बादल के हो ? बादल वास्तवमा बाफ अर्थात् पानीका अणुहरू हुन्। हिजो आज हावाई जहाज़मा उड्दा बादलको बीचमा अनि त्‍योभन्‍दा झन् माथि पनि उड्न सकिन्‍छ। प्रभु येशूको आगमनमा पानीको बाफको यत्रो भाग हुन सक्‍ला त ?

बादलको विषयमा अझै बुझ्‍ने चेष्‍टा गरौँ। बादल त चोखो पानीले बनिएका हुन्‍छन्। घामको तापमा समुद्र र जमिनको पानी बाफ बनिन्‍छ। समुद्रको नुनिलो पानीमा केही पनि उम्रदैन र जमिनको पानी पनि हिलैसरि हुनसक्‍छ, त्‍यो बाफ बन्‍दा पानी शुद्ध भएर आकाशमा अडिएको हुन्‍छ। आकाशबाट सो स्‍वच्‍छ पानी जमिनमा परेर सृष्‍टिलाई नयाँ जीवन दिन्‍छ।

यो हामीमा परमेश्‍वरले गर्नुभएको कामको कस्‍तो राम्रो उपमा छ ! हाम्रो स्‍वभाव समुद्रको पानीजस्‍तो फोहोर, विषालु, पिउनै नहुने हुन्‍छ। परमेश्‍वरले आफ्‍नो प्रेमको तापले हामीलाई माथि खिचेर र शुद्ध पारेर येशूसँग स्‍वर्गीय स्‍थानहरूमा बसाल्‍नुहुन्‍छ। हामीजस्‍तालाई परमेश्‍वरले जीवन दिने चोखो पानी तुल्‍याउनुहुन्‍छ। त्‍यही जीवन उहाँले हामीहरूबाटै अरू मानिसहरूमाथि खन्‍याउनुहुन्‍छ।

पानीको प्राकृतिक बाफमा येशू आउनुहुन्‍न। उहाँका पवित्र जनहरूभित्र र बाहिर साथ दिँदै आउनुहुन्‍छ। “हेर, परमप्रभु आफ्‍ना असङ्ख्‍य पवित्र जनहरूसँग आउनुभयो” भनेर हेनोकको अगमवाणी को वचन यहूदाको पत्रमा लेखिएको छ (१४ पद)। हिब्रू १२:१ मा यस्‍तो लेखिएको छ, “यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले ...”। यसरी बादलसँग आउनु र पवित्र जनहरूसँग आउनु भनेके कुरा एउटै हो।

परमेश्‍वरको वासस्‍थान बादलमा हुन्‍छ भनेर उहिलेका मानिसहरूले सम्‍झनु स्‍वभाविक नै हो। मानिसहरूले सीमित रूपमा मात्र परमेश्‍वरलाई चिने र परमेश्‍वरले त्‍यो सीमित र अपूरो विचार पूरा हुन दिनुभयो। अहिले हामी पूर्ण प्रकाश र ज्ञानको युगमा छौँ। अनि यसमा हामी अघि बढ्नै पर्छ। परमेश्‍वर बादलमा रहनुहुन्न तर बादल सन्‍तहरू हुन् अनि सन्‍तहरूमा परमेश्‍वर वास गर्नुहुन्‍छ।

जाड़ो ठाउँमा बस्‍ने मानिसहरू बादल लागेको त्‍यत्ति रुचाउँदैनन्। बादलले त चिसो पानी ल्‍याउँछ, जाड़ो हुन्‍छ, र जीवन धेरै नरमाइलो हुन्‍छ। तर इस्राएलजस्‍तो सुख्‍खा र गरम देशमा भने बादल धेरै प्‍यारो कुरा हुनजान्‍छ। यसले त वृष्‍टि ल्‍याउँछ, केही नउम्रने ठाउँमा उब्‍जनी हुन्‍छ, ढकमक्क फुल फुल्‍छ, अनि जुन ठाउँमा रुखोपना र मृत्‍युमात्र थियो त्‍यहाँ जीवन, वृद्धि, र हरियाली देखापर्छ।

बादल त सन्‍तगण दर्शाउने राम्रो चित्र हो। जो येशूजस्‍ता छन् तिनीहरू उहाँले गरेको काम गर्दछन्। तिनीहरू आफै स्‍वर्गीय स्‍थानहरूमा रहन्‍छन् र पृथ्‍वीमा रहनेहरूमा जीवन, स्‍वास्‍थ्‍य र आशिष् ल्‍याउँछन्।

हरेक आँखाले उहाँलाई देख्‍नेछ

“हेर उहाँ बादलहरसाथ आउँदैहुनुहुन्‍छ र हरेक आँखाले उहाँलाई देख्‍नेछ” (प्रकाश १: ७)। अनुमान गर्नुहोस्- यी वचनहरू अक्षरश: लियौँ भने, के येशू संसारका सबै ठाँउहरूमा एउटै समयमा देखापर्नु हुन्‍छ ? र हरेक देशमा बादल लागेको दिन हुन्‍छ ? यसलाई हामीले कसरी बुझ्‍नु ? या कसैको सल्‍लाह दिएअनुसार टेलिभिनमा देखा पर्नुहुन्‍छ ? र के विश्‍वका सबै मानिसले एकै साथ एउटै समयमा देख्‍न सकिन्‍छ ?

यो सत्‍य हो, कि परमेश्‍वरसँग सबै कुरा सम्‍भव हुन्‍छ, तर धेरै जसो, परमेश्‍वरले आफ्‍नो कामलाई आफ्‍नै विधि, धर्मशास्‍त्र र विचारमा सीमित राख्‍नुहुन्‍छ। सारा संसारका पर्वतहरूमा, मैदानहरूमा, समुद्रहरूमा, जताततै पनि, परमेश्‍वरले बादल लगाउन सक्‍नुहुन्‍छ अनि बादलमा येशू देखा पर्न सक्‍नुहुन्‍छ। मानिलिनुहोस् इस्राएलमा येशू बादलमा देखा पर्नुभयो र संसारका सबै समाचार-सम्‍वाददाताहरू त्‍यहाँ जम्‍मा भए भने, तिनीहरू सबैले येशूलाई आ-आफ्‍ना टेलिभिनमा एकसाथ देखाउन सक्‍थे। परमेश्‍वरले यस्‍तो गराउन सक्‍नुहुन्‍छ। तर परमेश्‍वरको स्‍वभावसित यस प्रकारको काम गर्ने तरिका मिल्‍दैन।

सत्‍यचाँहि असल र महान् हुन्‍छ भनी म विश्‍वास गर्छु। उहाँ बादलमा आउनुहुन्‍छ र हरेक आँखाले उहाँलाई देख्‍छ भनी म विश्‍वास गर्छु। बादल भनेको ती सन्‍तगण हुन् जसलाई प्रभुले पुर्ण रूपले शुद्ध स्‍वच्‍छ पारिसक्‍नुभएको छ, जोहरू विश्‍वास गरेर पूरै बदली भइसकेका छन् र उचालिएर स्‍वर्गीय स्‍थानहरूमा बसिसकेका छन्।

केही ग्रीकहरू आएर फिलिप र अन्‍द्रियासलाई भने,“हजुर, हामी येशूलाई देख्‍न चाहन्‍छौँ।” यसको जानकारी पाएर येशूले भन्‍नुभयो, (यूहन्‍ना १२:२४) “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, गहुँको दाना माटोमा परेर मरेन भने त्‍यो एक्‍लो रहन्‍छ। तर त्‍यो मर्‍यो भने त्‍यसले धेरै फल फलाउँछ।” जमिनमा खसेर मर्ने पहिलो दाना येशू हुनुहुन्‍छ, अनि त्‍यसपछि धेरै गुणा बढ्ता फलेकाचाहिँ येशूमाथि विश्‍वास गरेर परिवर्तित भएका सन्‍तानहरू हुन्। गालीलको नासरतका येशूबाट परमेश्‍वर संसारमा प्रकट हुनुभयो। उहाँ अझै के चाहनुहुन्‍छ र कसरी प्रकट हुनुहुन्‍छ ? प्रत्‍येक नर र नारीमा, बुढ़ा-पाकामा, जवानहरूमा, एशिया निवासीमा, यूरोप निवासीमा, अफ्रिका निवासीमा साथ-साथै यहुदीहरूमा उहाँ आफैलाइ प्रकट गर्न चाहनुहुन्‍छ। उहाँ ज्ञानीहरूमा कि लाटा सुदाहरूमा, बलियाहरूमा कि कमजोरहरूमा, विद्वानहरूमा कि अनपढहरूमा, अनि यस्‍तै अरू धेरै प्रकारले मानव जाति बनिन्‍छ।

यस बारे पावलले रोमीको पत्र ८ अध्‍यायमा लेखेका छन्, सारा सृष्‍टिले नै कुरी रहेको छ, स्‍वर्गबाट कुनै किसिमको प्रकाश होस् भन्‍ने हेतुले होइन, तर यसै संसारमा मान्‍छेको सन्‍तानबाट उहाँको रूप प्रगट होस् भनेर।

स्‍वर्गदुतहरूको शब्‍द

आफ्‍नो आगमनको विषयमा येशूले जे भन्‍नुभएको थियो त्‍यसैबाट हामीले शुरु गरेको कुरा ठीक भयो। अब अरूहरूले के भनेका छन् सो पनि हेरौँ। धेरैचोटि हामीले पावलबाट बुझ्‍न सकेका कुरा महत्त्‍वपूर्ण ठान्‍छौँ, र त्‍यसैमा येशूले भन्‍नुभएको कुरालाई मिलाउन खोज्‍दा रहेछौँ। वास्‍तवमा पावल आफैले के भन्‍छन् ? म त ऐनामा धमिलोसँग देख्‍दछु भनेर भन्‍छन्। तर येशू ख्रीष्‍टले त आमुन्‍ने सामुन्‍ने देख्‍नुहुन्‍छ।

प्रेरित १:११मा येशूका चेलाहरूलाई स्‍वर्गदूतले भनेका कुरा लेखिएका छन्, “ए गालीलका मानिस हो, तिमीहरू किन स्‍वर्गतिर हेर्दै छौ ? यही येशू, जो तिमीहरूसँगबाट स्‍वर्गारोहण हुनुभएको छ, र अहिले जसरी तिमीहरूले उहाँलाई स्‍वर्गतिर गइरहनु भएको देख्‍यौ, त्‍यसरी नै उहाँ फेरि आउनुहुनेछ।”

ती स्‍वर्गदूतहरूले के भनेका होलान् ? तिनीहरूले येशू कति हजार वर्षपछि जसरी जानुभएको थियो त्‍यसरी शरीरमै फर्कनुहुन्‍छ भने भनेका थिए ?

येशू बौरी उठनुभएपछि, स्‍वर्गमा उचालिनुभन्‍दा अलिकअघि चेलाहरूसँग बातचीत गरिरहनुभएको थियो। चेलाहरूले सोधे, “हे प्रभु, के तपाईंले यसै बखत इस्राएललाई राज्‍य फिर्ता गराइदिनेछ?” त्‍यस बेला येशूले तिनीहरूलाई पवित्र आत्‍माको बारेमा पो बताउन लाग्‍नुभएको थियो। “पिताले गर्नुभएको प्रतिज्ञा पूरा नभएसम्‍म यरूशलेममै बसिरहो”“पवित्र आत्‍मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ”“अबका थोरै दिनमा यी कुरा हुन्‍छ” भनेर भन्‍नुभयो।

थोरै दिनमा भइहाल्‍ने कुरा बताउँदै चेलाहरूलाई येशूले सान्‍त्‍वना दिइरहनुभएको थियो। स्‍वर्गदूतहरूको कुरा के हो त ? थोरै दिन होइन, धरै सालपछि पो भनेर स्‍वर्गदूतहरूले प्रभुको कुरा उल्‍टाउँथे र ? येशूले भर्खरै भनिसक्‍नु भएको कुरालाई ती स्‍वर्गदूतहरूले पुष्‍टि दिनु पर्ने नै हो। स्‍वर्गदूतहरूले चेलाहरूलाई प्रभुका कुरादेखि तर्काउन खोजेका हुनै सक्‍दैन। त्‍यसो हो भने, स्‍वर्गदूतहरूले भनेका कुरा स्‍पष्‍ट गरी बुझ्‍ने प्रयास गरौँ न त !

येशू जसरी स्‍वर्ग जानुभयो, त्‍यसरी नै फर्किहाल्‍नुहुने भएको भए, आकाशतिर हेरेको हेरेकै गर्नु ठीकै हुन्‍थ्‍यो।

उहाँको स्‍वर्गरोहणमा प्रभु येशू बादलमा अल्‍पिनुभयो। सो बादल बाफको अथवा महिमाको हुनसक्‍थ्‍यो। पेन्‍तिकोसको दिनमा प्रभु येशू बादलमा फेरि देखा पर्नुभयो। चेलाहरूले बाफकै बादल चिताएको होलान् तर त्‍यो बादल बाफको थिएन। त्‍यो बादल प्रेरितहरू आफै र प्रभुलाई पछ्याउने अरूहरू पनि थिए। ती चेलाहरू शरीरमै हुँदा आत्‍मिक हिसाबले स्‍वर्गीय स्‍थानमा उचालिएको साक्षीका बादल बनिसकेका थिए। स्‍वर्गदूतले भनेका यही येशूलाई तिनीहरूको जीवनमा अरूहरूले देख्‍न लागे। साढ़े तीन वर्षसम्‍म तिनीहरूसँग हिँड्नुहुने र बोल्‍नुहुने येशू तिनीहरूभित्र वास गर्नुभएर आफैले उनीहरूद्वारा प्रकट गर्न लाग्‍नुभयो। साक्षीको स्‍वर्गीय बादलमा ठूलो महिमासित उहाँ प्रकट हुनुभयो।

येशूको पहिलो आगमन जसै बेथलेहेममा जन्‍मनुभएको एउटा ठूलो अचम्‍मको घटना थियो, जसको घोषणा गर्नलाई लाखौँ स्‍वर्गदूतहरू खटाइएका थिए। पेन्‍तिकोसको दिनमा उहाँको आत्‍मिक आगमन झन् सामर्थी र झन् उदेकको हुन गयो। जब प्रभुको अन्‍तिम आगमन हुन्‍छ, त्‍यतिबेला चाल पाउनेछौँ; पेन्‍तिकोसको दिनको घटना त उहाँको कटनीको अगौटे फल पो रहेछ, जसबारे कसैले कल्‍पनै गर्न सकेको थिएन र विचारै गर्न सकेको थिएन।

अन्‍त्‍यमा, नियालेर हेर्दा अझै के देख्‍छौँ ? त्‍यस भनाइमा ती स्‍वर्गदूतहरूले चेलाहरूलाई केही झपारेकोजस्‍तो सम्‍बोधन ? चेलाहरूलाई तिनीहरूले भने, “हे परमेश्‍वरका भक्तहरू हो”, अथवा “हे प्रभु येशूलाई पछ्याउनेहरू हो” भनेनन् तर यसो भने, “हे गालीलका मानिसहरू हो”। अचेलका मानिसहरूजस्‍तै, ती चेलाहरूले शारीरिक रूपमा मात्र सम्‍झिरहेका थिए। यसैले तिनीहरू “गालीलका मानिसहरू” मात्र कहलाइए।

हामीले भन्‍न खोजेकोचाहिँ पेन्‍तिकोसको दिनमा येशूको आगमन पूरा भइसक्‍यो, कि अझ पूरा हुन बाँकी नै छ ? अथवा दुवै नै। पेन्‍तिकोसको दिनमा येशू आउनुभयो। त्‍यतिबेला चेलाहरूसँग शारीरिक रूपमा गालीलको धुलो बाटोमा सँगै हिड्दाको भन्‍दा आत्‍मिक रूपमा यसरी आउनुभएको झन् उदेकको र अझ उत्तम हुनु गयो।

पेन्‍तिकोसको दनिमा भएको आगमन उहाँको प्रतिज्ञाको अन्‍तिम पूर्ण भएको त होइन। बरु त्‍यो आउने ठूलो सम्‍पूर्णताको एउटा अंशमात्र थियो। अब उहाँ सम्‍पूर्णतामा आउनुहुँदा। के हुने हो, सो हेरिहेरौँ।

पावलको अर्ति

थिस्‍सलोनिहरूलाई पावलको पहिलो पत्र ४: १५ - १७, “प्रभुको वचनद्वारा हामी तिमीहरूलाई घोषणा गर्छौं, कि हामी जो जीवित छौँ र प्रभुको पुनरागमनसम्‍म बाँचिरहन्‍छौँ, सुतिगएकाहरूलाई कुनै किसिमले पनि उछिन्‍नेछैनौँ। किनकि प्रभु स्‍वयम् हुकुमको गर्जनसित, प्रधान स्‍वर्गदूतको आवाज र परमेश्‍वरका तुरहीको सोरसित स्‍वर्गबाट ओर्लनहुनेछ, र ख्रीष्‍टमा मरेकाहरूचाहिँ पहिले बौरि उठनेछन्। तब हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेट्न साथसाथै बादलमा उठाइ लगिनेछौँ, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौँ।”

यी माथि लेखिएका वचन विषयहरूलाई धेरै बाइबल पाठकहरूले शरीरमै घट्ने घटना भनेर पूरा विश्‍वास गरेका हुन्‍छन्। येशू शरीरमा नै बादलमा भेट्न आउनुहुन्‍छ र सन्‍तगण सबै शारीरिक अवस्‍थामा उठाइएर उहाँलाई भेट्न जान्‍छन्। पावलले थिस्‍सलोनिहरूलाई यी सब कुरा भन्‍नु अगाड़ि, मरी गएका सन्‍तहरूको विषयमा कुरा गरिरहेका थिए। यसैले ती मरिगएका सन्‍तहरू शारीरिक हिसाबले नै बौरी उठ्छन् भनेर पत्‍यार गर्न त केही अनौठो कुरा होइन। यसको आत्‍मिक अर्थ पनि हुन सक्‍छ। पावललाई लेख्‍दा लेख्‍दै प्रभुले यस प्रकारको आगमवाणी किन दिनुभयो ? शारीरिकभन्‍दा आत्‍मिक अर्थ हेरौँ भनेर पावलले हामीलाई डोर्‍याइरहेका जस्‍तो मलाई लाग्‍छ।

कोरिन्‍थीहरूलाई पावलले त्‍यस्‍तै प्रकारले लेखेका छन्, १ को १५: ५१, ५२, “हेर, म तिमीहरूलाई रहस्‍य भन्‍दछु, हामी सबै सुत्‍दैनौँ, तर हामी सबैको परिवर्तन हुनेछ। एकै क्षणमा आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा। किनभने, तुरही बज्‍नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन्। अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ”।

रहस्‍य र आश्‍चर्य काम दुइटा बेग्‍ला बेग्‍लै कुरा हुन्। बुझ्‍नु गाह्रो कुरालाई रहस्‍य भनिन्‍छ। पत्‍याउन गाह्रो कुरालाईचाहिँ आश्‍चर्य काम भनिन्‍छ, जस्‍तै: चिहानहरूबाट थुप्रै मुर्दाहरू जीवित भएर जर्‍याक-जुरुक्क उठेका रहस्‍य नभनेर आश्‍चर्य काम भन्‍नुपर्छ। त्‍यो बुझ्‍नु गाह्रो छैन, पत्‍याउनु गाह्रो छ। आत्‍मिक हिसाबले माथि उचालिने र जीवन हेरफेर हुने कुरा पत्‍याउनु गाह्रो नभए पनि, बुझ्‍नु गाह्रो पर्छ, यो रहस्‍य हो। बाइबलको स्‍वभाविक अर्थ खोलाइ पत्‍याउनु गाह्रो भए पनि बुझ्‍नु उस्‍तो गाह्रो पर्दैन। यसैले यसलाई रहस्‍य भन्‍नु सकिँदैन। आत्‍मिक विचारले अर्थ खोल्‍दा पत्‍याउनु गाह्रो नपर्ला तर बुझ्‍नु अति नै गाह्रो हुन्‍छ। साधारण मनले बुझ्‍नु नसकिने कुरा रहस्‍य हो। मैले के भन्‍न खोजेको हो भने, शरीरमा हामीहरू स्‍वाट्टै माथि उठाइ लगिने कुरातिर नलागेर बरु बाइबलमा पावलले लेखेको आत्‍मिक अर्थ खोज्‍न ध्‍यान लगाऔँ।

यस पाठमा भएका भिन्‍दा-भिन्‍दै स-साना वाक्‍यहरूलाई हेरौँ। धर्मशास्‍त्रमा भएका ३ मुख्‍य घटनाहरूलाई हेयौँ भने हामीलाई बुझ्‍न धेरै सजिलो पर्छ।

प्रभु स्‍वयम् स्‍वर्गबाट ओर्लनुहुनेछ

यी तीनैवटा स्‍वर्गीय महान् घटनाहरूमा प्रभु परमेश्‍वर संसारमा ओर्लेर आउनुभएको पाउँछौँ। इस्राएलीहरूलाई परमेश्‍वरले आफ्‍नै प्रकाश दिनुहुँदा पहिलोचोटि सिनै पर्वतमा ओर्लिनुभयो। येशूले मानव रूप धारण गरेर बेथलेहेममा जन्‍मनुहुँदा परमेश्‍वर फेरि ओर्लिनुभयो। पेन्‍तिकोसको दिनमा परमेश्‍वर फेरि संसारमा ओर्लिनुभयो। यी जम्‍मै घटनाहरू मान्‍छेहरूको कल्‍पनाभन्‍दा बाहिरका कुरा हुन्। तीनै पटक परमेश्‍वर ओर्लिनुभयो। मानिसहरूलाई माथि उकास्‍न परमेश्‍वर ओर्लिनुभयो। तीनै चोटि मान्‍छेहरूले कल्‍पना नै गर्न नसक्‍ने ठूलो घटना घटेको हो। परमेश्‍वर अझै यस धर्तीमा ओर्लिनु बाँकि नै छ, अनि त्‍यो घटना कल्‍पना गरेको भन्‍दा झन् विशाल र धेरैलाई महान् हुनजान्‍छ।

हुकुमको गर्जनसित

परमप्रभु जब ओर्लनुभयो उहाँ बोल्‍नुभयो। सिनै पर्वतमा उहाँले दश आज्ञा दिनुभयो। वचनबाटै उहाँले प्रकाश दिनुभयो। मोशाको मुखबाट परमप्रभुको वचन सुनियो। येशूको जन्‍म भएको बेलामा गब्रिएल दूतद्वारा परमेश्‍वर मरियमसित बोल्‍नुभयो। तिनकी गर्भमा वचन देहदारी हुनगयो। पेन्‍तिकोसको दिनमा त्‍यहाँ जम्‍मा भएको चेलाहरूका जिब्रा खकुला पारिए, र अघिभन्‍दा धेरै सामर्थी भएर परमेश्‍वरको वचन तिनीहरूले सुनाए।

यी तीनै घटनामा परमेश्‍वरको हुकुमले सारा पृथ्‍वीलाई प्रभाव पायो। दस आज्ञा, प्रभु येशूको सुसमाचार, र पेन्‍तिकोसको दिनको प्रभाव, ती सबै नै सारा संसारभरि फैलिएर गएका छन्। प्रभुको आगमन र उहाँको उपस्‍थितिले संसारमा झन् ठूलो प्रभाव पार्नेछ।

प्रधान स्‍वर्गदूतको आवाजसित

धर्मशास्‍त्रले प्रधान स्‍वर्गदूतहरूको बारेमा थोरै कुरा मात्रै भनेको छन्। मिखाएलको विषयमा सफासँग उल्लेख गरिएको छ, अनि मानी आएको कुराबाट हेर्दा दश आज्ञा मिखाएलको मुखबाट सुनाइए भनेर भनेको छ, जसको बारेमा प्रेरित ७:३८ मा पहिलो सहिद स्‍तिफनसले भनेका छन्। अर्को प्रधान स्‍वर्गदूत गब्रिएलले प्रभु येशूको जन्‍मको घोषणा गर्ने सौभाग्‍य पाएका थिए। १ थिस्‍सलोनिकी ४:१६मा भएका प्रधान स्‍वर्गदूत गब्रिएल नै भनेर धेरैले मान्‍छन्।

परमेश्‍वरको तुरहीको सोरसित

परमप्रभुका ठूला ठूला चाड़हरूको घोषणा गर्दा तुरही प्रयोग गरिन्‍थ्‍यो। मिश्र देशबाट इस्राएलीहरूले छुटकारा पाएको पचासौँ दिनमा सिनै पर्वतको ठूलो घटना घटेको थियो। यसले अर्को पचास दिनको कुरा देखाएको जस्‍तो बुझिन्‍छ। त्‍यसले पेन्‍तिकोसको दिन देखाउँछ, जो येशूको पुनरुत्‍थानको पचास दिनपछि भएको थियो। सिनै पर्वतमा लामो समयसम्‍म तुरही जोरले बज्‍यो। त्‍यो पेन्‍तिकोसको दिनमा पनि एक प्रकारले आत्‍मिक तुरही बजेको जस्‍तो भान हुन्‍छ। येशूले उहाँको आगमनमा तुरही बज्‍ने कुरा बताउनुभएको छ (मत्ती २४:३१)।

ख्रीष्‍टमा मरेकाहरूचाहिँ पहिले बौरिउठनेछन्

रोमीहरूलाई पावलले यसरी लेखेका छन्, “यसकारण बप्‍तिस्‍माद्वारा हामी उहाँसँगै गाड़ियौँ, ताकि जसरी पिताको महिमाद्वारा ख्रीष्‍ट मरेकाहरूबाट जीवित पारिनुभयो, त्‍यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँडौँ। यदि उहाँको मृत्‍युमा हामी उहाँसँग एउटै भएका छौँ भने, उहाँको पुनरुत्‍थानमा पनि निश्‍चय नै हामी उहाँसँगै एक हुनेछौँ” (रोमी ६: ४, ५) तिनले हाम्रो यो काँचो शरीरको मृत्‍युको कुरा गरेका थिएनन् तर हाम्रो आत्‍माले कसरी जीवन र मृत्‍युको अनुभव गर्छ त्‍यही कुरा गरिरहेका थिए।

म विश्‍वास गर्छु, कि हामीहरू धेरै जना अहिले मृत्‍युको अनुभव गरिरहे छौँ। मृत्‍युको अनुभव गरेपछि पुनरुत्‍थान को पनि अनुभव गर्छौं। प्रभु येशूसित राज्‍य गर्नअघि उहाँको कष्‍ट र मृत्‍युको अनुभव त गर्नै पर्‍यो नि। संसार र आफ्‍नै निम्‍ति हामीहरू मर्नै पर्छ। यस संसारको अलिकति पनि दाबी हाम्रो जीवनमा रह्यो भने यस संसारमाथि शासन गर्न सक्‍दैनौँ। शरीरमा मरिगएकाहरूमाथि संसारको कुनै किसिमको दाबी हुन सक्‍दैन। यसको दस्‍तुर र कानुनले केही प्रभाव पार्न सक्‍दैन। ती सबै बितेर गइसके। प्रभुसित आत्‍मामा मर्नेहरू पनि यसरी नै सबै प्रभावदेखि मुक्त भइसकेका हुन्‍छन्।

हामी बाँचिरहेका र छोडिएकाहरू प्रभुलाई आकाशमा भेटन साथसाथै बादलमा उठाइलगिनेछौँ, र यसरी हामी सधैँ प्रभुसँग रहनेछौँ।

के हामी येशूलाई आकाशमा प्राकृतिक हावामा भेट्छौँ ? ग्रीक भाषामा आत्‍मालाई ‘पन्‍युमा’ भनिन्‍छ। पन्‍युमाको पहिलो अर्थ हावा हुन्‍छ। हामीले अघि नै हेरिहाल्‍यौँ, बादल भनेको ती सन्‍तगण हुन् जसलाई प्रभुले चोख्‍याउनुभयो र माथि उठाउनुभयो। आकाश अथवा हावाले भरिएको ठाउँचाहिँ, माथि देखिने ठाउँ नभएर, जहाँ आत्‍मा हुनुहुन्‍छ त्‍यही ठाउँ नै हो। अर्को शब्‍दमा भनौँ भने हामी अरू सन्‍तगणसित आत्‍मामा प्रभुको साथमा हुन्‍छौँ।

परुसिया

ग्रीक भाषामा ‘परुसिया’ (παρουσια) शब्‍दको अर्थ “आएको र साथ भएको” हो। नयाँ करारमा धेरै मात्रामा परुसियाको अर्थ “आगमन” भनिएको छ। वास्‍तवमा परुसियाको शाब्‍दिक अर्थचाहिँ “साथमा भएको” हो। पहिले कोही नआइकन कसैलाई साथ हुनु भन्न सकिँदैन। यसैले परुसियाको अर्थ “आगमन” भनेर चलाइएको छ।

कहिले काँही परमेश्‍वरले धर्मशास्‍त्रको वचन पूर्ण नभएसम्‍म त्‍यसले एउटाभन्‍दा बढी अर्थ राख्‍छ भनी विश्‍वास गर्छु। परुसियाको शाब्‍दिक अर्थचाहिँ “साथमा भएको” हो। परमेश्‍वरले प्रकट नगरुञ्‍लसम्‍म त्‍यो पूर्ण सत्‍य एउटा रहस्‍यमात्र रहन्‍छ। परुसिया शब्‍दको चित्त बुझ्‍दो अनुवाद “आगमन” र “उपस्‍थिति” दुबै हुन्‍छ। यदि उपस्‍थिति शब्‍द नै अनुवाद स्‍वीकार गयौँ भने मलाई लाग्‍छ हामीले परमेश्‍वरको अभिप्रायलाई अझ सफासँग बुझेका हुनेछौँ। येशूको आगमनभन्‍दा उहाँको उपस्‍थिति अझ महान् हुन्‍छ।

मत्ति २८:२०मा येशूले गर्नुभएको पछिल्लो प्रतिज्ञा पनि त यही नै हो,“हेर, म युगको अन्‍त्‍यसम्‍म सधैँ तिमीहरूका साथमा छु”। शरीरमै आउनुभएको बेलामा येशू उहाँलाई पछ्याउनेहरूको साथमा हुनुभयो। उहाँको चेलाहरूको विजयमा, कष्‍टमा शताब्‍दीऔँ शताब्‍दीदेखि लिएर अहिलेसम्‍म उहाँले साथ हामीलाई दिइरहनुभएको छ। अहिले हामीमा, हाम्रोसाथ उहाँ निसन्‍देह हुनुहुन्‍छ, तर एक दिन उहाँ साथमा हुनुभएको झन् ठूलो प्रभावको साथ हामीले अनुभव गर्नेछौँ। एफिसीहरूलाई पत्र लेख्‍दा चौथो पदमा पावलले के लेखे ? “तिमीहरूले पाउने ठूलो हिस्‍साको बैना अहिले नै पाइसकेका छौ।” भन्‍नुको अर्थ, पेन्‍तिकोसको दिन त साँच्‍चै उदेकको थियो। संसारले त्‍यति बेलासम्‍म नदेखेको अनुभव गरि रहेथ्‍यो, अघि भएका घटनाहरूभन्‍दा त्‍यो दिनको घटना अझ ठूलो थियो। तर आउने दिनको तुलनामा त त्‍यो पनि साधारण हुन जान्‍छ।

निष्‍कर्ष

शाब्‍दिक शारीरिक व्‍यक्तिगत रूपले प्रभु येशू दोश्रो चोटि आउनुहुन्‍छ भन्‍ने शिक्षा लाखौँ मसिहीहरूले पाएका हुन्‍छन्। धर्मशास्‍त्रका यस्‍ता विशेष पदहरूमा दोश्रो आगमनको शिक्षा आधारित भएको हुन्‍छ:

यस अध्‍ययनमा शारीरिक हिसाबले भन्‍दा आत्‍मिक हिसाबले धर्मशास्‍त्र कसरी पुर्ण हुन्‍छ सो हेर्‍यौँ।

मान्‍छेको मनमा शङ्का भरिदिनलाई यो भनेको होइन तर येशूले जे गर्नुभएको थियो त्‍यही अनुकरण गरेको मात्र हो।

खमिरदेखि होशियार बस भनेर उहाँले भन्‍नुभयो। चेलाहरूले खाने रोटी पो सम्‍झे। येशूले त फरिसीहरूको शिक्षा बारे भनिरहनुभएको थियो। यी मन्‍दिरलाई भत्‍काइदेओ, र म तीन दिनमा यसलाई खड़ा पर्छु भनेर जब येशूले भन्‍नुभयो त्‍यो ढुङ्गा मुढ़ाले बनिएको मन्‍दिरको कुरा गर्नुभएको थिएन। उहाँले आफ्‍नै शरीर जो परमेश्‍वरको असल मन्‍दिर हो अर्थमा भनिरहनुभएको थियो।

उहिलेको मण्‍डलीका धेरै सदस्‍यहरूले येशूसँग शरीरमै भेटेर परस्‍पर बात चित गरे। प्रभुको स्‍वर्गारोहण पछि, अघिका भएका विचारहरूलाई त्‍याग्‍नु कत्ति गाह्रो पर्‍यो होला।

शरीरमा येशू माथिबाट लिनलाई तल आउनुहुन्‍छ र सन्‍तगणलाई तलबाट भेट्नलाई माथि उठाइन्‍छन् भन्‍ने कुरा विश्‍वासले मात्र मानिलिन सक्‍छौँ। तर यसलाई जाँचेर हेरौँ, यो विश्‍वासै हो कि कुनै सिद्धान्‍त पालन गरेको मात्रै ?

जिउँदो विश्‍वास के हो त? आउँदा घटनाहरूको सूचि होइन, बाइबलबाट बोक्रेशिक्षा निकालेर त्‍यसैमा कट्टर हुनु पनि होइन। विश्‍वास भनेको त उहाँको वचन सुन्‍नु अनि त्‍यसैलाई पालन गर्नु हो।

एक किसिमको शिक्षालाई बलियो गरि समातेर बसेको साँचो विश्‍वास होइन। त्‍यसरी एउटै शिक्षामा अडियल बस्‍नु त केवल कुनै साम्‍प्रदायको सदस्‍य बनेको मात्र हो जसले अरू बेग्‍लै विचार भएका विश्‍वासीलाई विश्‍वासी नै गन्‍दैनन्।

धर्मशास्‍त्रको साँचो आत्‍मिक अर्थ बुझेर त्‍यसैको अनुसार चल्‍यौँ भने हाम्रो विश्‍वास र हाम्रो प्रभुसँगको हिँड़ाइ दरिलो हुनजान्‍छ।

एफिसी धर्मशास्‍त्रमा लेखिएको अनुग्रह हाम्रो जीवनमा परमप्रभुले पूरा गरून्। “तिमीहरूको हृदयका आँखा चहकिलो भएर उहाँको बोलावटको आशा के हो, र पवित्र जनहरूमा उहाँको अधिकारको महिमाको सम्‍पत्ति के हो भनेर तिमीहरूले जान्नसक र उहाँको बलको सामर्थ्‍यको कार्यअनुसार हामी विश्‍वास गर्नेहरूतर्फ उहाँको शक्तिको अत्‍यन्‍त महानता के हो” (१: १८, १९)।

यो पुस्‍तकलाई रंगिन [Color] छाप्‍ने फाइल

यो पुस्‍तकलाई श्‍याम-स्‍वेत [Black & White] छाप्‍ने फाइल

कसरी छाप्ने