सारा सृष्टिको मेल-मिलाप

‘उहाँको आफ्‍नो सारा पूर्णता ख्रीष्‍टमा वास गरेकोमा परमेश्‍वर प्रसन्‍न हुनुभयो,
र परमेश्‍वरले उहाँको क्रूसको रगतद्वारा शान्‍ति गराएर पृथ्‍वीको होस्, वा स्‍वर्गको होस्,
उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्‍याउनुभयो’।

कल १: १९, २०

परिचय

विश्‍वास नगर्ने मानिसहरूको अन्‍तिम स्‍थितिको बारेमा, हामीले बाइबल पढ्दा एक आपसमा मेल नखाने कुराजस्‍तो देख्‍दछौँ।

बाइबलका केही पदहरूअनुसार सबै मानव जातिले अन्‍तमा मुक्ति पाउनेछन्। यी पदहरू अहिले हेरौँ :

अन्‍य पदहरूअनुसार विश्‍वास नगर्ने मानिसहरू सदा सर्वदा नरकमा रहनेछन् :

हामी कसरी बाइबलका यी असहमत खण्‍डहरूलाई एक आपसमा मेल खाएको देख्‍न सक्‍छौँ त ?

समस्‍त मानव जातिको मुक्ति

हामी पहिले पूरा मानव जातिले मुक्ति पाउनेछन् भन्ने बाइबलका केही खण्‍डहरू हेरौँ। कुनै एउटा पद मात्रै हेरेर हामी निश्‍चित हुन सक्‍तैनौँ, तर यस विषयका धेरै पदहरू हेरेर हामीले ठोस प्रमाण पाउन सक्‍छौँ।

प्रकाश ५:१३ ले भन्‍छ: ‘अनि स्‍वर्गमा, पृथ्‍वीमा, समुद्र र त्‍यहाँ भएको हरेक प्राणिले यसो भनिरहेको मैले सुनेँ, “सिंहासनमा विराजमान हुनुहुनेलाई र थुमालाई स्‍तुति, सम्‍मान, महिमा, र सामर्थ्‍य सदासर्बदा होस्।”’ परमेश्‍वरद्वारा सृजिएको हरेक प्राणीले उहाँको प्रशंसा गरेको सुनिन्‍छ। यदि समस्‍त मानव जातिको ९० प्रतिशतले नरकमा डरलाग्‍दो यातना सधैँको लागि भोग्‍नुपर्छ भने यो कसरी संभव हुन सक्‍छ ?

१ कोर १५:२२-२४ पदमा सबैले मुक्ति पाउनेछन् भनेर स्‍पष्‍टसँग लेखिएको छ। ‘किनकि जसरी आदममा सबै मर्दछन्, त्‍यसै गरी ख्रीष्‍टमा सबै जीवित पारिनेछन्। तर हरेक आ-आफ्‍नै क्रमअनुसार - ख्रीष्‍टचाहिँ अगौटे फल, त्‍यसपछि उहाँको पुनरागमनमा ख्रीष्‍टका आफ्‍नैहरू। तब अन्‍त्‍य आउनेछ, जब उहाँले हरेक शासन, हरेक अख्‍तियार र शक्ति नष्‍ट पारेर परमेश्‍वर, अर्थात् पितालाई राज्‍य सुम्‍पिदिनुहुनेछ।’ बाइबलका केही शिक्षकहरू ‘ख्रीष्‍टमा हुने सबै जीवित पारिनेछन्’ भनेर यो पदको अर्थ बुझाइदिन्‍छन्। तर पावलले त्‍यस अर्थमा लेखेका होइनन्। खाली ‘ख्रीष्‍टमा सबै जीवित पारिनेछन्’ लेखेका थिए तापनि सबैले एकै समयमा होइन न त यो युगमा नै हो। मुक्ति सबैको लागि यो जीवनमा नहुन सक्‍छ, तर पछि आउने युगहरूमा पाउनेछन्।

यसको बारेमा १ पत्रुस ३:१९-२० मा अझै राम्रो प्रमाण पाइन्‍छ : ‘यसै आत्‍मामा उहाँ (ख्रीष्‍ट) जानुभयो र कैदमा परेका आत्‍माहरूलाई पनि प्रचार गर्नुभयो। ती आत्‍माहरूले प्राचीनकालमा आज्ञापालन गरेनन्, जब नोआको समयमा जहाज बनाउँदा परमेश्‍वरले धैर्य गरी पर्खिनुभएको थियो।’ शायद यी पदहरू बुझ्‍न गाह्रो हुन सक्‍छ तर १ पत्रुस ४:६ पद हेर्दा केही स्‍पष्‍ट हुन्‍छ: ‘यसैकारण मृतकहरूलाई पनि सुसमाचार सुनाइयो, ताकि तिनीहरूले मानिसहरूजस्‍तै शरीरमा इन्‍साफ पाए तापनि आत्‍मामा तिनीहरू परमेश्‍वरजस्‍तै जिऊन्।’ पत्रुसले चाहिँ प्राचीन समयका धार्मिक जनहरूका बारेमा होइन तर पापीहरूको बारेमा लेखेका हुन्। ती मानिसहरू कस्‍ता थिए ? ‘तिनीहरूका हृदयका विचारको जुनसुकै भावना निरन्‍तर खराबै मात्र भएको परमप्रभुले देख्‍नुभयो’ (उत्‍पत्ति ६: ५)। यस्‍ता अपराधीहरू संसारमा हुंदाखेरि होइन तर मरेपछि मात्र आत्‍मिक जीवन पाउँछन्।

यस सम्‍बन्‍धमा कल १:१६,१९,२० धरै महत्त्‍वपूर्ण छ : ‘उहाँमा नै सबै थोक सृष्‍टि भएका थिए। स्‍वर्गमा र पृथ्‍वीमाथि भएका दृश्‍य र अदृश्‍य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्‍वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारै र उहाँकै निम्‍ति सृजिएका हुन्। . . . किनकि उहाँको आफ्‍नो सारा पूर्णता ख्रीष्‍टमा बास गरेकोमा परमेश्‍वर प्रसन्‍न हुनुभयो, र परमेश्‍वरले उहाँको क्रूसको रगतद्वारा शान्‍ति गराएर पृथ्‍वीको होस्, वा स्‍वर्गको होस्, उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्‍याउनुभयो।’ परमेश्‍वरले सबै थोक सृजनुभयो र सबै थोक येशूद्वारा आफैसँग मेल मिलाप गराउनुभयो भनेर यी पदहरूले स्‍पष्‍टसँग भन्‍दछन्। जुन आत्‍माहरू अहिलेचाहिँ दुष्‍ट छन् अन्‍तमा उहाँले तिनीहरूलाई पनि मिलापमा ल्‍याउनुहुनेछ।

हामी अर्को पद पनि हेरौँ: ‘परमेश्‍वर . . . सबै मानिसका, विशेष गरी उहाँमाथि विश्‍वास गर्नेहरूका मुक्तिदाता हुनुहुन्‍छ’ (१ तिम ४: १०)। भनेको मतलब के हो? परमेश्‍वरले सबै मानिसहरू बचाउनुहुन्‍छ, तर विशेष रितीले विश्‍वासीहरूलाई बचाउनुहुन्‍छ। विश्‍वासीहरूले अहिले यो जीवनमा पापदेखि, रोगदेखि अनि यो जीवनका अरू दुष्‍ट कुराहरूदेखि पनि मुक्ति पाउन सक्‍छन् तर विश्‍वास नगर्नेहरूले यो जीवनपछि मात्रै मुक्ति पाउँछन् भन्‍ने अर्थ लाग्‍छ।

अझै अर्को पद पनि हेरौँ: सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्‍ति हुन्। उहाँलाई नै सदा सर्बदा महिमा होस्। आमिन।’ (रोम ११: ३६)। यस खण्‍डमा ९० प्रतिशत नरक जाने शैतानको निम्‍ति र बाँकी १० प्रतिशतचाहिँ परमेश्‍वरको निम्‍ति हुन् भनी लेखेको छैन। सम्‍पूर्ण, सत प्रतिशत सबै थोक उहाँकै निम्‍ति हुन्।

अनन्‍त दण्‍ड

पहिलो दृष्‍टिमा अनन्‍त दण्‍डको शिक्षा पूरा बाइबलको शिक्षासँग मिल्‍ने कुरा हो।अनन्‍त दण्‍ड, अनन्‍त आगो, अनन्‍त विनाश, यी सबै कुरा बाइबलमा पढ्न पाइन्‍छ। प्रकाशको पुस्‍तकमा “पशु र त्‍यसको मूर्तिलाई पुज्‍नेहरू” को बारेमा “तिनीहरूका यातनाको धूवाँ सदासर्वदा मास्‍तिर गइरहनेछ” भन्ने कुरा हामी पढ्छौँ।

धर्मशास्‍त्रमा विश्‍वास गर्नेहरूले यस्‍ता कुराहरूलाई गम्‍भिरताका साथ लिने हो भने त मानव जातिका असङ्ख्‍य सदस्‍यहरूले सदासर्वदा यातना सहनु कस्‍तो डरलाग्‍दो कुरा हुन्‍छ होला। यदि परमेश्‍वर हाम्रो प्रेमी पिता हुनुहुन्‍छ भने यस्‍तो कुरा कसरी हुन सक्‍छ ? विश्‍वास नगर्नेहरू निश्‍चय सदासर्वदा नरकमा बस्‍छन् भन्‍ने बाइबलको ठोस शिक्षा हो कि होइन त ? मैले यस लेखमा उपरोक्त प्रश्‍नको उत्तर दिने प्रयास गरेको छु।

“आइओण” र “आईओणिओस”

बाइबलमा अनन्‍त दण्‍डको शिक्षा आईओणिओस (αιωνιος - aionios) भन्ने युनानी भाषाको शब्‍दको अर्थमा आधारित छ । यो शब्‍दको अनवाद हाम्रो नेपाली बाइबलमा ‘अनन्‍त’ भनी गरिएको छ। यो आईओणिओस भन्ने शब्‍द ‘आइओण’ (αιων - aion) भन्ने युनानी नाम (शब्‍द) बाट आएको विशेषण हो। नेपाली भाषामा उल्‍था गर्दा ‘आइओण’ को अर्थ ‘युग’ हो।

यो ‘आईओणिओस’ भन्ने शब्‍दको अर्थ निश्‍चय ‘अनन्‍त’ हो त ? कि यसको अर्थ ‘युगसम्‍म हुने’ पनि हुन सक्‍छ ? यदि आइओण को अर्थ ‘युग’ हुन्‍छ भने, आईओणिओस को अर्थ ‘युगसम्‍म हुने’ भन्‍ने हाम्रो विचार हुनुपर्छ। ‘मासिक’को अर्थ महिनामा एक पल्‍ट हुन्‍छ, ‘वार्षिक’को अर्थ वर्षमा एक पल्‍ट हुन्‍छ। त्‍यसकरण आईओणिओस को अर्थ अनन्‍त होइन तर ‘युगसम्‍म हुने’ हुनुपर्दछ।

तर खास गरी विद्वान् व्यक्तिहरू कसरी मूल बाइबलमा युनानी शब्‍दहरू को अर्थ बुझ्‍न सक्‍छन् त ? अंग्रेजी भाषा हो भने, हामी अंग्रेजी बोल्‍नेहरूलाई सोध्‍न सक्‍छौँ। तर युनानी भाषाचाहिँ लोप भैसकेको छ। अहिले यो भाषा बोल्‍ने मानिस कोही पनि छैन। शब्‍दको अर्थ सफा छैन भने, बाइबलमा अन्‍य ठाउँमा कसरी प्रयोग भएको छ, हेरेमा झन् स्‍पष्‍ट हुन्‍छ।

आईओणिओस भन्ने विशेषण (शब्‍द) मूल युनानी बाइबलमा ७० पल्‍ट प्रयोग भएको छ। जसमा ४२ पल्‍ट आईओणिओस ‘जीवन’ भन्ने शब्‍द समेत पाइन्‍छ। नेपाली बाइबलमा यो अनन्‍त जीवन हो। बाँकी २८ पल्‍ट आईओणिओस भिन्‍दा भिन्‍दै नाम (शब्‍द) हरूसँग आउँछ। यसमा आगो, दण्‍ड, पाप, परमेश्‍वर, आत्‍मा, महिमा, मुक्ति, सुसमाचार इत्‍यादि नामहरू छन्। अथवा नेपालीमा अनन्‍त आगो, अनन्‍त दण्‍ड, अनन्‍त पाप, अनन्‍त परमेश्‍वर, अनन्‍त आत्‍मा इत्‍यादि।

नयाँ नियमका तीनवटा अनुच्‍छेदमा आईओणिओस को अर्थ अनन्‍त हुन सक्‍तैन। अब हामी यी पदहरू हेरौं। ‘त्‍यस रहस्‍यको प्रकाशबमोजिम, जो युग-युगदेखि गुप्‍त रहेको थियो’ (रोमी १६:२५)। शब्‍द-शब्‍द वा जस्‍ताको तस्‍तै अनुवाद गर्दा यसको अर्थ ‘आईओणिओस समयहरूसम्‍म गुप्‍त रहेको थियो’ हुन आउँछ। यो पदमा आईओणिओस को अर्थ अनन्‍त हुन सक्‍तैन, ‘युगहरूसम्‍म’ हुनु पर्ने हो।

२ तिमोथी १: ९ पदमा हामी ‘आईओणिओस समयहरूभन्‍दा अघि’ लेखिएको पढ्छौँ।‘ नेपाली बाइबलमा यसको अनुवाद ’युग-युग अघि‘ छ। तीतस १: २ पदमा फेरि हामी ’आईओणिओस समयहरूभन्‍दा अघि’ पाउँछौँ। नेपाली बाइबलमा यसको अनुवाद ‘अनन्‍त कालदेखि’ भनेर अनुवाद गरिएको पाइन्‍छ। अंग्रेजी NIV बाइबलमा यसको अनुवाद ‘Before the beginning of time’ छ।

नयाँ नियमका यी तीनवटा अनुच्‍छेदहरू पढेर अर्थ लगउँदा कम्तीको पनि आईओणिओस को मतलब अनन्‍त नभएर ‘युगसम्‍म’ हुनैपर्छ।

फेरि मत्ती २५:४६ हेरौँ: ‘तब यिनीहरू अनन्‍त दण्‍डको भागी हुनेछन्, तर धर्मी जनहरू अनन्‍त जीवनमा प्रवेश गर्नेछन्’। दण्‍ड अनन्‍त छैन, तर युगसम्‍म मात्रै छ भने, जीवन पनि अनन्‍त छैन तर युगसम्‍म मात्रै छ भनेर विचार गर्न सकिन्‍छ। मेरो विचारमा दण्‍डचाहिँ युगसम्‍म मात्रै छ, जीवन युगसम्‍म छ, अनन्‍त पनि छ।

यूहन्‍ना १७: ३ मा येशूले भन्‍नुभयो: ‘अनन्‍त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्‍य परमेश्‍वरलाई चिनून्, र तपाईंले पठाउनुभएको येशू ख्रीष्‍टलाई चिनून्।’ अनन्‍त जीवन मरेपछि पाउने कुरा होइन, तर अहिले पाउन सकिने कुरा हो। हामी आफैले अनन्‍त जीवन पाएको कुरामा निश्‍चित हुनुपर्छ।

सदासर्वदा

नेपाली बाइबलमा सदासर्वदा भन्‍ने शब्‍द धेरै पल्‍ट प्रयोग गरिएको पाइन्‍छ। युनानी भाषामा यो “आईओण सम्‍म” अथवा “आईओण हरूका आईओण हरूसम्‍म” हो। अंग्रेजी बाइबलहरूमा यो “for ever” अथवा “for ever and ever” प्रयोग भएको छ। “आईओण” को ठीक अर्थ त युग हो। त्‍यसकारण सदासर्वदाको सट्टामा युगसम्‍म अथवा युगौँ-युग भनेर अनुवाद गर्नु राम्रो हुन्‍थ्‍यो।

प्रकाश १४:११ पद फेरि हेरौँ: ‘तिनीहरूका यातनाको धुवाँ सदासर्बदा मास्‍तिर गइरहनेछ’। त्‍यो कुरा पनि प्रकाश १९: ३ मा आउँछ: ‘त्‍यो महानगरी (बेबिलोन) जलेको धूवाँ सदासर्वदा मास्‍तिर गइरहन्‍छ’। प्राचीन शहर बेबिलोन आजको इराक भन्‍ने देशमा थियो। त्‍यसको भग्‍नावशेष आजसम्‍म रहेकोछ, तर धूवाँ भने त्‍यहाँ छैन। यसरी हेर्दाखेरी ‘तिनीहरूका यातनाको धूवाँ’ लामो समयसम्‍म हुनसक्‍छ, तर सदा सर्वदा भने होइन रहेछ।

धनी मानिस र लाजरस

लूका १६ अध्‍यायको ‘धनी मानिस र लाजरस’ को कथा अहिले हेरौँ। मरेपछि यी दुई जनालाई के भयो, एकजना स्‍वर्ग गयो, अर्को नरक गयो कि? ‘यी सबै कुराबाहेक यहाँबाट तँकहाँ पारि जान खोज्‍नेहरू जान नसकून् र त्‍यहाँबाट यहाँ हामीकहाँ वारि आउन पनि नसकून् भनेर हामीहरू र तिमीहरूका बीचमा अति गहिरो धाँदो छ’ भनी लेखेको हामी पढ्छौँ। दण्‍डचाहिँ अनन्‍त छैन भने, यो कथाको अर्थ के हो ? हामी यसलाई राम्रो ध्‍यान दिऊँ।

येशूले कस-कसलाई यो कथा सुनाउनुभयो? लूका १६: १४ पदमा यस्‍तो छ: ‘धनका लोभी फरिसीहरूले यी सबै कुरा सुनेर उहाँको उपहास गरे।’ फरिसीहरू त्‍यस समयको धर्मी जातका मानिसहरू थिए। तिनीहरू बाइबल (पुरानो नियम) पढ्थे, प्रार्थना पनि गर्थे अनि आफैलाई अरूभन्‍दा असल ठान्‍थे। अरूहरूलाईभन्‍दा उनीहरूलाई आत्‍मिक कुरा सिक्‍ने राम्रो मौका थियो। यस कथामा धनी मानिसचाहिँ फरिसीहरूको नमूना थियो। बाहिर बस्‍ने भिख माग्‍ने झुत्रेझाम्रे लाजरसचाहिँ आत्‍मिक कुरा नसुनेका र नबुझ्‍ने अन्‍यजातिहरूको उदाहरण थियो।

गरीब लाजरस मरेपछि स्‍वर्गदूतहरूले त्‍यसलाई लगेर अब्राहामको काखमा राखे। स्‍वर्गमा लगेर राखिएको होइन तर अब्राहामको काखमा लगेर राखिएको भनेर लेखिएको छ। यो अज्ञानी अन्‍यजाति मानिस यहूदीहरूको पिता अब्राहामको काखमा पुग्‍यो तर धनी मानिस, जो पक्का यहूदी हो अब्राहामको छोरा भए तापनि नरकमा गयो। यो कुरा सुनेर फरिसीहरूलाई खुबै नराम्रो लाग्‍यो होला। २६ पदमा ‘बीच बीचमा अति गहिरो धाँदो थियो’ भनेर अब्राहामले भने। प्राय: २००० वर्षदेखि यहूदीहरू र अन्‍यजातिहरूको बीचमा गहिरो धाँदो जस्‍तो भएको छ। पश्‍चिमी देशहरूमा ख्रीष्‍टको नाम लिएर ख्रीष्‍टय मण्‍डलीले यहूदीहरूलाई ठूलो सतावट दिएका थिए अनि यसले गर्दा यहूदीहरूले ख्रीष्‍टीयन धर्मलाई घृणा गरेका छन्। धनी मानिस जस्‍तो यहूदीहरूले ठूलो दु:ख पाएका छन्। निश्‍चय नै बीचमा गहिरो धाँदो भएको छ।

यो धाँदो जस्‍तोसुकै भए तापनि डाँड़ा उखल्‍नु सक्‍ने परमेश्‍वरले धाँदो पनि भर्न सक्‍नुहुन्‍छ। यी वर्षहरूमा धेरै यहूदीहरू अब्राहामको काखमा फर्केर आफ्‍नो जातको मशिह येशूमा विश्‍वास गरिरहेका छन्। ख्रीष्‍टीय मण्‍डलीहरूका धेरै सदस्‍यहरूले आफैलाई अब्राहामका सन्‍तान ठान्‍ने भए तापनि वास्‍तवमा उनीहरू र परमेश्‍वरको बीचमा गहिरो धाँदो छ।

ख्रीष्‍टीय मण्‍डलीको शिक्षा

के विश्‍वासीहरूले शुरुदेखि नै अनन्‍त दण्‍डको शिक्षा दिएका छैनन् र ? यस कुरामा सबै विश्‍वासीहरू सहमत छन् कि छैनन् त ? शुरुमा भिन्‍दा भिन्‍दै विचारहरू थिए। कसैले दण्‍ड अनन्‍तसम्‍म हुन्‍छ भनी सिकाए भने अरूले अन्‍तमा सबैले मुक्ति पाउने नै छन् भनेर सिकाए। बिगत ५०० वर्षदेखि यता बाइबलचाहिँ संसारका धेरैजसो भाषामा अनुवाद गरिएको छ। त्‍योभन्‍दा अघि अंग्रेजीमा पनि थिएन। खालि हिब्रू, ग्रीक र ल्‍याटीन भाषामा मात्र थियो। मण्‍डलीको डरको कारण प्राय: अनुवादकहरूले गलत अनुवाद गरे। युगसम्‍मको सट्टामा सदासर्वदा लेखे। त्‍यसो भए तापनि कसै कसैले सबैको मुक्ति हुन्‍छ भनी विश्‍वास गरे।

हामीले मण्‍डलीको इतिहासको बारेमा केही कुरा सिक्‍नुपर्छ। केही शताब्‍दीअघि मण्‍डली एकदम खराब हुँदै गएको थियो। गिर्जाघरहरूमा मूर्तिहरू राख्‍थे, मरियमको पूजा गर्थे, पूजाहारीहरूले पाप क्षमाको लागि पैसा माग्‍थे, कसैले पनि बाइबल पढ़ेनन्, सुसमाचारको प्रचार पनि गरेनन्। नेपाल लगायत धेरै देशहरूमा सुसमाचार पुग्‍ने कुरा भएन। त्‍यस समयका शिक्षाहरूमा धेरै गलत कुराहरू सिकाइयो।

प्रभु येशू ख्रीष्‍टको पक्का सुसमाचार प्रचार नहुँदा कुसमाचार बन्‍यो। मुक्ति, चङ्गाइ, छुटकारा, प्रेम भन्‍ने कुरा नबुझेर त्‍यसका सट्टामा मानिसहरूलाई नरकलोकको धम्‍की मात्रै दिइयो। जस्‍तै “तिमी गिर्जाघरमा आउँदैनौ भने, निश्‍चय नरक जान्‍छौ” भनेर पूजाहारीहरूले भन्‍ने गर्थे। मानिसहरूलाई प्रभु येशूको प्रेमले आकर्षित गर्न नसकेर, उनीहरूलाई नरकको डर देखाउन पर्‍यो। यस प्रकारका मण्‍डलीका अगुवाहरूलाई अनन्‍त दण्‍डको कुरा सुनाउन राम्रो लाग्‍थ्‍यो।

मृत्‍युपछिको दण्‍ड

येशू ख्रीष्‍टलाई इन्‍कार गर्नेहरूले दण्‍ड पाउनेछन् भनेर नयाँ नियममा स्‍पष्‍ट छ। यो कुरा निश्‍चय छ भनेर येशू र सबै प्रेरितहरूले सिकाए। परमेश्‍वरले पश्‍चताप नगरेका पापीहरूलाई ग्रहण गर्न सक्‍नुहुन्‍न। सक्‍नुहुन्‍थ्‍यो भने उहाँ धर्मी र पवित्र पनि हुनुहुने थिएन। अब विश्‍वास नगर्नेलाई मरेपछि के हुन्‍छ त्‍यो हामी हेरौँ।

मत्ती १८:८,९ मा हामी ‘आईओणिओस आगो’ र ‘नरकको आगोको’ बारेमा पढ्‍छौँ। फेरि प्रकाशको पुस्‍तकमा हामी आगोको कुण्‍ड पाउँछौँ। आगोको दुइवटा कामहरू छन् - नाश पार्ने र शुद्ध पार्ने। मलाकी ३: २,३ हेरौँ: ‘उहाँ (परमेश्‍वर) सुनारको आगो र धोबीको साबूनजस्‍तै हुनुहुन्‍छ। उहाँ चाँदी खार्ने र सफा गर्नेजस्‍तो गरी बस्‍नुहुनेछ’ र हिब्रू १२: २९: ‘हाम्रा परमेश्‍वर भस्‍म पार्ने आगो हुनुहुन्‍छ।’ भनी लेखिएको छ। उहाँले देहका दुष्‍ट काम जलाई दिनुहुन्‍छ र आत्‍मा चोखो तुल्‍याउनुहुन्‍छ। हाम्रो आत्‍मिक बप्‍तिस्‍मा पनि आगो र पवित्र आत्‍माको बप्‍तिस्‍मा हो। हामी पापी भएकोले सबैलाई शुद्ध पार्न आगो चाहिन्‍छ । कोहीले यही जीवनमा आगोको अनुभव गर्छन् भने त कोहीले मरेपछि। अन्‍तमा परमेश्‍वरको पूरा सृष्‍टि फेरि चोखो पार्नु हुने नै छ।

परमेश्‍वरको न्‍यायको सिलसिलामा हामी बाइबलमा ११पल्‍ट ‘आगो र गन्‍धक’ को बारेमा लेखिएको पाउँछौँ। प्रकाश २१:८ मा यसरी लेखिएको छ: ‘तर डरपोकहरू, अविश्‍वासीहरू, घिनलाग्‍दा भएकाहरू, हत्‍याराहरू, ब्‍यभिचारीहरू, जादुगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्‍नेहरू सबैको हिस्‍सा आगो र गन्‍धक दन्‍कने कुण्‍डमा हुनेछ।’ आगोको कामचाहिँ शुद्ध पार्ने हो भने गन्‍धकको काम पनि त्‍यस्‍तै हो। प्राचीन समयमा औषधिको काममा गन्‍धक प्रयोग गरिन्‍थ्‍यो र अहिले पनि सफा गर्न गन्‍धक प्रयोगमा आउँछ। गन्‍धक केही दशक अगाडिसम्‍म पनि प्रयोग भएको पाउँदा र नेपालका दुर्गम स्‍थानहरूमा गन्‍धक प्रयोग गरिएको पाइन्‍छ। यसरी परमेश्‍वरको न्‍यायको मतलब नाश पार्नु नभएर शुद्ध पार्नु हुन आउँदछ।

परमेश्‍वरको महान्‌ योजना

परमेश्‍वरले सूर्य, चन्‍द्र, ताराहरू, संसार र त्‍यसमा भएका सबै र विशेष गरी मानव जाति सृजनुभयो। यसो गर्नुमा उहाँको महान् योजना के थियो होला ? सकेसम्‍म हामीले बुझ्‍न कोसिस गर्नुपर्छ।

हामीले सिकेअनुसार आदम र हव्‍वा शैतानको पासोमा परेर पाप गरे। उनीहरूबाट पाप र मृत्‍यु पूरा मानव जातिमा सर्‍यो। हामी सबैलाई बचाउनलाई हाम्रो प्रभु येशू संसारमा आएर आफ्‍नो प्राण क्रूसमा दिनुभयो तर थोरै मानिसहरूलाई मात्र बचाउनुभयो। यो संसारका अधिक मानिसहरू शैतानको हातमा रहेर जिउँछन् र मरेपछि सदा सर्वदा कल्‍पना गर्नु नसक्‍ने यातना सहनेछन् भन्‍ने कुरामा मैले पनि विश्‍वास गर्थें।

तर त्‍यस्‍तै हो भने कसले जित्‍यो त ? परमेश्‍वरले जित्‍नुभयो कि शैतानले जित्‍यो ? कुनचाहिँ ठूलो छ? अरू धर्महरूमा भएका देवताहरू बराबर जस्‍ता छन्। कोही असल छन् कोही दुष्‍ट छन् तर उति धेरै फरक पर्दैन। सबैलाई पूजिन सक्‍छन् तर हाम्रोलागि त्‍यस्‍तो हुन सक्‍दैन। हाम्रो ईश्‍वर सर्वशक्तिमान हुनुहुन्‍छ। शैतान खालि उहाँको हातको हतियारमात्र हो। शैतानले उहाँको अनुमति नपाई केही पनि गर्न सक्तैन।

के हामी बाइबलमा दुष्‍टता को स्‍थान बुझ्‍न सक्‍छौँ ? रोमी ८:२०,२१ हेरौँ: ‘सृष्‍टि व्‍यर्थताको वशमा पारियो। त्‍यसको आफ्‍नै इच्‍छाले होइन, तर उहाँको इच्‍छाले, जसले त्‍यसलाई वशमा पार्नुभयो, यसै आशामा, कि सृष्‍टि त्‍यसको आफ्‍नै विनाशको बन्‍धनबाट मुक्त गराइनेछ, र त्‍यसले पनि परमेश्‍वरका सन्‍तानको महिमित स्‍वतन्‍त्रता प्राप्‍त गर्नेछ।’ यो अनुच्‍छेदमा परमेश्‍वरले सृष्‍टिको पतनको पूरा जिम्‍मेवार आफैमाथि लिनुहुन्‍छ। उहाँ आफैले सृष्‍टिले परमेश्‍वरका सन्‍तानको महिमित स्‍वतन्‍त्रता पाओस् भनेर त्‍यसलाई व्‍यर्थताको वशमा पार्नुभयो। उहाँको योजना त्यही‍ थियो। शैतानले पहिलो युद्धमा जितेको कुरा आउँदैन। सबै कुरा परमेश्‍वरको हातमा नै थियो।

यसको सिलासिलमा यशैया ४५ अध्‍याय पढ्‍नु राम्रो हुन्‍छ। ५ पदमा ‘म परमप्रभु हुँ। मबाहेक अरु कोही छैन, म बाहेक अरु कोही परमेश्‍वर छैन।’ र ७ पदमा: ‘मैले उज्‍यालो बनाएँ, र अँध्‍यारोलाई सृष्‍टि गरेँ। म उन्‍नति ल्‍याउँछु, र दुष्‍टता सृष्‍टि गर्छु।’ असल र खराब दुवै आफ्‍नो अभिप्राय (लक्ष्‍य) को लागि उहाँले सृजनुभयो र सबै कुरा उहाँको हातमा छ।

पुरानो करारको हबकुक भन्‍ने अगमवक्ताले यस्‍तो कुरा बुझ्‍न कोसिस गरे। हबकुक १:५,६ हेर्नुहोस : ‘जाति - जातिहरूलाई नियालेर हेर्। तिनीहरूलाई हेरेर छक्‍क पर्। किनभने म तेरा दिनमा यस्‍तो काम गर्छु, जो तँलाई भने पनि विश्‍वास गर्नेछैनस्। म बेबिलोनीहरूलाई खड़ा गरिरहेछु, त्‍यो निष्‍ठुर र उग्र जाति, जो अर्काको बासस्‍थान खोस्‍न सारा प्थ्‍वीभरि नै बढ़ेर जान्‍छ। तिनीहरू डरलाग्‍दा र भयानक मानिसहरू छन्।’ इस्राएल देशमा न्‍याय गर्नु र सुधार्नलाई परमेश्‍वरले कड़ा र दुष्‍ट मानिसहरू खड़ा गराउनुभयो। यस्‍तो कुरा बुझ्‍नु हबकुकलाई कठिन थियो। हामीलाई पनि गाह्रो छ।

प्रस्‍थान ९: १६ र रोमी ९: १७ मा परमेश्‍वर फारोलाई भनुहुन्‍छ: ‘मेरो शक्ति प्रकट गर्ने अभिप्रायले नै मैले तँलाई खड़ा गरेँ।’ मुक्तिदाता नआउँजेलसम्‍म परमेश्‍वरका मानिसहरू निष्‍ठुर कैद र दासत्‍वमा राख्‍ने शैतानजस्‍तो फारोचहिँ दुष्‍ट राजा थियो। तर त्‍यसलाई खड़ा गर्ने शैतान थिएन परमेश्‍वर नै हुनुहुन्‍थयो। रोमी ९ अध्‍यायमा यो उदाहरण दिएर पावलले परमेश्‍वरको सर्वोच्चताका बारेमा शिक्षा दिन्‍छन्।

शैतान, दुष्‍ट मानिसहरू, दुष्‍ट राष्‍ट्रहरू सबै परमेश्‍वरको हातमा भएकाले उहाँको अभिप्राय पूरा गर्ने सामग्रीमात्रै हुन्। यस्‍तो कुरा राम्रोसित बुझ्‍यौँ भने अरू कुरा पनि हामीलाई बुझ्‍न सजिलो हुन्‍छ । परमेश्‍वरले पूरा सृष्‍टि पाप र अन्‍धकारमा डुबाउनुभयो। फेरि त्‍यसपछि समस्‍त मानव जातिले दुष्‍टता चिनेर र असल छानेपछि उहाँले सृष्‍टिलाई फेरि उठाउनुहुन्‍छ।

हाम्रो प्रभु येशूमा हामी यही नमूना देख्‍छौँ। उहाँ सबैभन्‍दा उच्‍च स्‍थानदेखि कदम कदममा सबैभन्‍दा होचोमा जानुभयो। त्‍यसपछि फेरि उहाँलाई तलदेखि सबैभन्‍दा उच्‍चमा उठाएर परमेश्‍वरले येशूलाई आफ्‍नो दाहिने हाततर्फ बसाल्‍नुभयो।

उपसंहार

हामीले यस्‍तो नयाँ कुरा बुझेपछि हाम्रो परमेश्‍वरप्रति र मानिसप्रति भएको विचारमा के प्रभाव पार्छ ?

के मानिसहरूलाई अनन्‍त सजायको धम्‍की नदिएर हामी पापीहरूलाई आफ्‍ना दुष्‍ट बाटोमा बढ्न उत्‍साह दिन्‍छौँ ? होइन । ‘जीवित परमेश्‍वरको हातमा पर्नु डरलाग्‍दो कुरो हो’ (हिब्रु १०: ३१) भन्‍ने कुरा रहन्‍छ। आफ्‍नो जीवन पाप र अन्‍धकारमा बिताउनुभन्‍दा प्रभु येशूको सङ्गति र परमेश्‍वरसँगको एकतामा हिड्‍नु निश्‍चय नै असल कुरा हो। पावलको प्रचारमा बढ़ी उत्‍साह दिनुको कारण नरकको डरले होइन तर परमेश्‍वरको डर र ख्रीष्‍टको प्रेमले थियो (२ को ५:११,१४,२०)। मानव जातिलाई खाली नरक जाने पापीहरूको रूपमा हामी अहिले देख्‍दैनौँ। हरेक व्‍यक्तिको लागि परमेश्‍वरको उद्देश्‍य र अभिप्राय छ जो पूरा हुन आवश्‍यक छ। यो बुझेर हाम्रो मानिसप्रति भएको प्रेम बढ्‍नेछ।

यस्‍तो नयाँ प्रकाश पाएपछि हामी कसरी परमेश्‍वरलाई हेर्छौं ? पहिले नै उहाँको शक्ति हामीले सोचेको भन्‍दा पनि एकदम ठूलो रूपमा देख्‍छौँ। उहाँ सर्वोच्च हुनुहुन्‍छ र आफ्‍नो पूरा सृष्‍टिमाथि उहाँको पूर्ण नियन्‍त्रण छ। दोश्रो कुरा उहाँको बुद्धि हामी नयाँ र महिमित रूपले देख्‍दछौँ। हामीले अहिलेसम्‍म सोचेको भन्‍दा उहाँका अभिप्रायहरू अति गहिरो र बुद्धिमान छन्। तेश्रो कुरा हामी उहाँको प्रेमको नयाँ दर्शन पाउँछौँ। उहाँले करोडौँ मानव जातिका एक एक व्‍यक्तिलाई साँच्‍चै नै प्रेम गर्नुहुन्‍छ। अनि अन्‍तमा हरेकलाई बचाउनुहुनेछ। ‘आहा! परमेश्‍वरको बैभव र बुद्धि र ज्ञान कति गहिरो! उहाँका इन्‍साफहरू कति अगम र उहाँका मार्ग बुझ्‍न नसकिने! ... किनकि सबै थोक उहाँबाट उहाँद्वारा र उहाँकै निम्‍ति हुन्। उहाँलाई नै सदासर्बदा महिमा होस्। आमिन’ (रोमी ११: ३३, ३६)।

अर्को कुरा

पुरानो समयको योना नामक अगमवक्ता अनकनाउँदो रूपले निनवे शहरमा गएर ‘अबको चालीस दिनमा निनवे नष्‍ट हुनेछ’ भनेर प्रचार गरे। अचम्‍म रीतिले शहरका मानिसहरूले उनका कुरा सुनेर पश्‍चाताप गरे, उपवास बसे र परमेश्‍वरमा विश्‍वास राखे। परमेश्‍वरले सबैलाई क्षमा दिनुभयो अनि शहर नष्‍ट गर्नुभएन। योनाको प्रतिक्रिया कस्‍तो थियो होला? ‘योनालाई यो साह्रै मन परेन, र तिनलाई रीस उठ्यो’ (योना ४: १) परमेश्‍वरले योनालाई भन्‍नुभयो, ‘निनवे शहरमा एक लाख बीस हजारभन्‍दा बढ्ता मानिसहरू छन्, जसले दाहिने र देब्रे हातै चिन्‍न सक्‍दैनन्, र त्‍यसमा धेरै गाई-बस्‍तुहरू पनि छन्। के मैले त्‍यस ठूलो शहरको निम्‍ति फिक्री नगरूँ ?’ (योना ४: ११)।

पापीहरूको सजाय अनन्‍त र उनीहरूको यातना सधैँको लागि हो भनेर अहिलेसम्‍म तपाईंको विश्‍वास भएको भए, तर अहिले त्‍यो कुरा गल्‍ती रहेछ भनेर बुझ्‍नुभयो भने, तपाईंको प्रतिक्रिया कस्‍तो होला ?परमेश्‍वरको प्रेम र दया नयाँ रूप देखेर तपाईंको मन दुख्‍छ कि ? अझ उहाँको अनुग्रह र भलाइ तपाईंले सम्‍झेको भन्‍दा विशाल देखेर, तपाईंको मन नयाँ आनन्‍दले रमाउँछ ?

यो पुस्‍तकलाई रंगिन [Color] छाप्‍ने फाइल

यो पुस्‍तकलाई श्‍याम-स्‍वेत [Black & White] छाप्‍ने फाइल

कसरी छाप्ने