सूर्य अँध्‍यारोमा र चन्‍द्र रक्तमा परिवर्तन हुनेछन्‌

परिचय

हालसालैको कुरा हो, (सेप्‍टेम्बर २०१५) चन्द्रमा क्रमैसँग चारपटक रगतजस्तो रातो देखिएको घटनाले इसाई समुदाय र थुप्रै सञ्‍चारका माध्यमहरूलाई आकर्षित गर्‍यो। अचम्‍मलाग्‍दो कुरा के हो भने चन्द्रमा रगतजस्तो देखिएको ती घटनाहरू पेशाक (निस्तारचाड) र सुकोथ (छाप्रोवासको चाड) जस्ता यहूदी प्रमुख चाडहरूको दिनमा परेका थिए। सधैँझैँ केही मानिसहरूले अब संसारको अन्त हुनेछ अथवा सायद कुनै उल्कापिण्ड पृथ्वीमा ठोक्‍किनेछ भनी विचार गरे। त्यस्तै गरी केही मानिसहरूले अब विश्‍वासीहरू उठाई लगिनेछन् भनी अनुमान लगाए र सायद संसारमा अर्को ठूलो आर्थिक मन्दी आउनेछ भनी अरू मानिसहरूले अनुमान लगाए। अवस्था यस्तोसम्म भयो कि “अहिले कुनै उल्कापिण्ड वा पुछ्रेतारा पृथ्वीमा ठोक्‍किने जानकारी हामीसँग छैन; तसर्थ त्यस किसिमको ठूलो दुर्घटनाको सम्भावना अति न्युन छ” भनी नासा (NASA)ले ती घटनाहरूको बारेमा बिज्ञप्‍ति जारी गर्नुपर्‍यो।

चन्द्रमा रक्तमा परिवर्तन हुनु भनेको के हो? धेरै मानिसहरूलाई यसको बारेमा केही थाहा छैन! पहिलोपटक अगमवक्ता योएलले यसो भने, “सूर्य अँध्‍यारोमा र चन्‍द्र रक्तमा परिवर्तन हुनेछन्‌” (योएल २:३१) र त्यसको केही शताब्दीहरूपछि पत्रुसले पेन्तिकोसको दिनमा प्रचार गर्दा योएलले भनेका ती शब्दहरू उद्धृत गरे।

हामीले यी शब्दहरूलाई शाब्दिकरूपमा बुझ्न कोसिस गर्नुपर्ने हो कि? के परमेश्‍वरले चन्द्रमालाई रगतमा परिवर्तन गर्न सक्‍नुहुन्थ्यो? के परमेश्‍वरले चन्द्रमालाई रगतमा बदल्नुहुन्थ्यो?

हामीलाई छक्‍क पार्ने कुरा के हो भने यी शब्दहरूले प्रत्येक वर्ष हुने केही सामान्य घटनाहरूलाई व्याख्या गर्छ। खग्रास सूर्य-ग्रहण लाग्दा सूर्य अँध्यारो हुन्छ। त्यस्तै किसिमले चन्द्र-ग्रहण लाग्दा चन्द्रमा रातो हुन्छ, र त्यसलाई चन्द्र रक्तमा परिवर्तन भएको भनिन्छ। किन हामी यस्ता ग्रहणहरू घरी-घरी देख्दैनौँ? ग्रहण लागेको बेलामा के हुन्छ र त्यो कसरी हुन्छ भन्‍ने कुरा अब हेरौँ।

ग्रहण

सूर्य-ग्रहण

ग्रह तथा उप-ग्रहहरूले सूर्यलाई परिक्रमा गर्ने क्रममा चन्द्रमा सूर्य र पृथ्वीको ठीक बीचमा आउँदा सूर्य-ग्रहण लाग्छ। त्यस्तो अवस्थामा चन्द्रमाको छाया पृथ्वीको सतहमा पर्छ। सूर्य-ग्रहण लागेको बेलामा सूर्य अँध्यारो हुन्छ (देखिन्छ) तर त्यस किसिमको चन्द्रमाको छाया प्रत्यक्षरूपमा पृथ्वीको अति सानो भूभागमा मात्र पर्छ। उक्त छाया करिब १०० माइल फराकिलो हुने गर्छ। यसको मतलब सूर्य-ग्रहण वर्षको दुई-तीनपटक हुने भए तापनि ०.५% पृथ्वीको सतहबाट मात्रै त्यो दृश्य देखिन्छ। खग्रास सूर्य-ग्रहण ७.५ मिनेटसम्म रहन सक्छ र एउटा मुलुकबाट खग्रास सूर्य-ग्रहण देखिँदा अर्को मुलुकबाट नदेखिन पनि सक्छ।

चन्द्र-ग्रहण

आफ्नो कक्षमा परिक्रमा गर्दैजाँदा, पृथ्वी सूर्य र चन्द्रमाको ठीक बीचमा पर्दा चन्द्र-ग्रहण लाग्छ। त्यतिबेला पृथ्वीको छाया चन्द्रमाको सतहमा पर्छ। पृथ्वी चन्द्रमाभन्दा निकै ठूलो भएकोले गर्दा चन्द्र-ग्रहण १०७ मिनेटसम्म रहन सक्छ। सूर्यको किरण पृथ्वीको वायुमण्डलमा परावर्तित भएर जाँदा रातो देखिन्छ र त्यो रातो किरण चन्द्रमाको सतहमा ठोक्‍किन्छ। सूर्य उदाउने र अस्ताउने बेलामा रातो देखिनुको कारण यही प्रक्रियाले गर्दा हो भनी वैज्ञानिकहरू बताउँछन्। यसरी चन्द्र-ग्रहण लागेको बेलामा चन्द्रमाको रङ्ग रातो हुन्छ, जसलाई चन्द्र रक्ततमा परिवर्तन भएको भनिन्छ। रातको समयमा आधा पृथ्वीको जुनसुकै ठाउँबाट चन्द्र-ग्रहण देखिन्छ। तैपनि प्राय: हामी त्यो दृश्य हेर्न असफल हुन्छौँ किनभने त्यतिबेला हामी निदाएका हुन्छौँ अथवा घरभित्र हुन्छौँ अथवा चन्द्रमालाई बादलले ढाकेको हुन्छ! पूर्णिमाको रातमा मात्र खग्रास चन्द्र-ग्रहण लाग्छ। पेशाक (निस्तारचाड) र सुकोथ (छाप्रोवासको चाड) सधैँ पूर्णिमाको समयमा पर्छन्; यसर्थ यी यहूदी चाडहरूमा खग्रास चन्द्र-ग्रहण लाग्‍नु विशेष वा ठूलो संयोग होइन।

पेन्तिकोसको दिनमा के भयो?

सन् २०१५ सेप्टेम्बर महिनामा अन्तिम पटक चन्द्रमा रगतजस्तो हुँदा कुनै नाटकीय घटना घटेन। त्यतिबेला संसारको अन्त भएन र कुनै मानिस उठाई लगिएको खबर पनि मैले पाइनँ। तर सन् ३३ को पेन्तिकोसको चाडमा पत्रुसले योएल अगमवक्ताको शब्दहरू उद्धृत गर्दा भने परिस्थिति एकदमै फरक थियो। बाइबलमा उल्लेखित त्यतिबेलाको नाटकीय घटनाहरूले यरूशलेमलाई हल्लाइदिएको थियो र त्यसको प्रभाव अहिलेसम्म परिरहेको छ।

येशू क्रूसमा बलिदान हुनुभएको ५०औँ दिन उहाँको अनुयायीहरू प्रार्थना गर्न घरमा जम्मा भएका थिए। अचानक शक्तिशाली बतासको झोक्‍काले त्यो घर भरियो र तिनीहरू पवित्र आत्माले भरिए। आफ्नो अगुवालाई सार्वजनिकरूपमा मृत्युदण्ड दिएकोले गर्दा घरबाहिर निस्किन पनि डराउने ती १२० जना महिला र पुरुषहरूको समूह पेन्तिकोसको चाड मनाउन विभिन्‍न ठाउँबाट यरूशलेम आएका तीर्थयात्रीहरूकहाँ गई अभूतपूर्ण साहासको साथ तिनीहरूका भाषाहरूमा परमेश्‍वरको प्रशंसा गर्न थाले। त्यतिबेला ती गालील निवासी साधारण यहूदीहरूलाई के भएको थियो? त्यहाँ तुरुन्तै ठूलो भीड जम्मा भयो र धेरैले तिनीहरू रक्सीले मातिएका हुनुपर्छ भनी निष्कर्ष निकाले।

तब पत्रुस खडा भएर तिनीहरूको माझमा बोल्न थाले। तिनले आफ्नो भाषणमा अगमवक्ता योएलले भनेका शब्दहरू उल्लेख गर्दै भीडलाई सम्बोधन गरे, जुन कुरा ती मानिसहरूलाई थाहा थियो।

योएल अगमवक्ताले भनेका कुराहरू यस्ता थिए : “आखिरी दिनहरूमा यस्‍तो हुनेछ भनी परमेश्‍वर भन्‍नुहुन्‍छ, म सबै मानिसहरूमाथि मेरा आत्‍मा खन्‍याइदिनेछु, र तिमीहरूका छोराहरू, र तिमीहरूका छोरीहरूले अगमवाणी बोल्‍नेछन्‌, र तिमीहरूका युवकहरूले दर्शन देख्‍नेछन्‌, र तिमीहरूका बूढ़ापाकाहरू स्‍वप्‍नदर्शी हुनेछन्‌। हो, म आफ्‍ना दास-दासीहरूमाथि ती दिनमा मेरा आत्‍मा खन्‍याइदिनेछु, र तिनीहरूले अगमवाणी बोल्‍नेछन्‌। माथि आकाशमा म अचम्‍मका काम र तल पृथ्‍वीमा चिन्‍हहरू देखाउनेछु, अर्थात्‌ रगत, आगो, र धूवाँको मुस्‍लो। परमप्रभुको महान्‌ र गौरवमय दिन आउन अगाडि सूर्य अन्‍धकारमा र चन्‍द्र रक्तमा परिवर्तन हुनेछन्‌। अनि जसले परमप्रभुको नाउँ लिनेछ, त्‍यसले उद्धार पाउनेछ” (प्रेरित २:१७-२१)। यो खण्ड पत्रुसले योएल २:२८-३२ बाट उद्धृत गरेका थिए।

योएलले बोलेका यी शब्दहरू असाधारण किसिमका अगमवाणी थिए। प्राचीन समयहरूमा महान् राष्टिय अगुवा कहलाइएका मोशा, दाऊद र एलिया अनि अन्य केही अगमवक्ताहरूमाथि पवित्र आत्मा आउनुभयो। तर अति साधारण मानिसहरू पनि पवित्र आत्माले भरिनेछन् भनी योएलले अगमवाणी गरे। जवान अवस्थाका पुरुष र महिलाहरूले अगमवाणी बोल्नेछन्, अनि पुरुष र महिला दास-दासीहरूमाथि परमेश्‍वरले आफ्नो आत्मा खन्याउन लाग्‍नुभएको थियो। यस्ता कुराहरू पहिले कहिले पनि सुनिएको थिएन। के केटीहरूले अगमवाणी बोल्ने? अनि दास-दासीहरूले पवित्र आत्मा पाउने? सायद योएल पागल भएका हुन् कि?

योएलको अगमवाणी पूरा नभईकन ६ शताब्दीहरू बितेर गयो र अन्तमा पेन्तिकोसको उक्त महत्वपूर्ण दिन आयो।

योएलले गरेको अगमवाणीमा “सूर्य अन्‍धकारमा र चन्‍द्र रक्तमा परिवर्तन हुनेछन्” भन्‍ने शब्दहरू पाइन्छन्।

यो कुराले हामीलाई साधारण प्रश्‍नतिर डोर्‍याउँछ। यी चिन्हहरूको पेन्तिकोसको दिनसँग के सम्भावित सम्बन्ध हुन सक्थ्यो? निस्तारचाड र छाप्रोवासको चाडमा भएझैँ पेन्तिकोसको चाडमा खग्रास चन्द्र-ग्रहण वा सूर्य-ग्रहण लाग्‍न सक्दैन किनभने पेन्तिकोसको चाड सधैँ यहूदी महिनाको छैठौँ दिनमा पर्छ र त्यसबेला चन्द्रमाको गोलो आकार पूरा भएको हुँदैन।

अझ अर्को कुरा के हो भने प्रत्येक वर्षमा दुई-तीनपटक घटिरहने यस्ता घटनाहरू कसरी चिन्हहरू हुन सक्छन्? इतिहासमा एक-दुई पटक घट्ने घटनाहरू, जस्तै: विश्‍व-युद्ध अथवा यहूदीहरू इस्राएलमा फर्कीआएको घटनालाई स्पष्ट चिन्हको रूपमा स्वीकार गर्न सकिन्छ। अरू शताब्दीहरूझैँ पहिलो शताब्दीमा पनि करिब २५० पटक सूर्य-ग्रहण र चन्द्र-ग्रहण लागेको थियो। ती सबै ग्रहणहरूमध्ये कसरी पत्रुसले दुइ वटालाई चिन्हको रूपमा छान्‍न सके होलान्?

पत्रुस र योएलले भनेका “सूर्य अन्‍धकारमा र चन्‍द्र रक्तमा परिवर्तन हुनेछन्” भन्‍ने शब्दहरूको सम्भावित अर्थ के हुन सक्थ्यो त? त्यसलाई पत्ता लगाउन हामीले उक्त खण्डलाई कि गहिरो गरी, कि अति उच्‍चमा लगेर हेर्न आवश्यक छ।

सूर्य अँध्यारोमा परिवर्तन हुनेछ

स्वभाविकरूपमा भन्‍ने हो भने सूर्य यो संसारको ज्योति हो। यसको प्रकाश पृथ्वीमा उत्पादित प्रकाशभन्दा असीमितरूपमा चम्किलो छ। यद्यपि सूर्य हामीबाट ९ करोड माइल टाढा भए तापनि हाम्रो आँखाले यसलाई एक क्षण हेर्न पनि गाह्रो हुन्छ। यो संसारमा भएका कुनै प्रकाशलाई यससँग तुलना गर्न सकिँदैन। प्रत्यक्ष वा अप्रत्यक्षरूपमा अरू सबै प्रकाशहरू यसैबाट प्राप्‍त हुने गर्छ।

येशूले “म संसारको ज्योति हुँ” भन्‍नुभयो। येशूको रूप परिवर्तन हुँदा उहाँ पत्रुस, याकूब र यूहन्‍नासँग उच्‍च पहाडमा हुनुहुन्थ्यो र त्यहाँ हामी यसरी पढ्छौँ: “तिनीहरूका सामुन्‍ने उहाँको रूप परिवर्तन भयो। उहाँको चेहरा सूर्यझैँ चम्‍क्‍यो” (मत्ती १७:२)। यूहन्‍नाले पत्मोस टापुमा येशूको दर्शन पाउँदा यसरी व्याख्या गरेका छन्: “उहाँको मुहारचाहिँ पूरा तेजमा चम्‍केको सूर्यजस्‍तै थियो” (प्रकाश १:१६)। मलाकीले पनि यस्तै कुरा लेखेका छन्: “तर मेरो नाउँको आदर गर्ने तिमीहरूमाथि चाहिँ धार्मिकताको सूर्य आफ्‍ना पखेटामा आरोग्‍यता लिएर उदाउनेछ” (मलाकी ४:२)।

येशू साँचो सूर्य हुनुहुन्छ; उहाँ संसारको ज्योति हुनुहुन्छ। “सूर्य अँध्यारोमा परिवर्तन हुनेछ” भनी पत्रुसले योएल अगमवक्ताको शब्दहरूलाई हुबहु उद्धृत गरे। के यी शब्दहरूले स्वभाविकरूपमा आकाशमा देखिने सूर्यतिर नभई साँचो सूर्य, येशूतिर सङ्केत गर्छ? के येशू ‘अँध्यारोमा परिवर्नत’ हुनुभयो त? हो! उहाँ क्रूसमा टाँगिनुहुँदा ठ्याक्‍कै त्यस्तै भएको थियो। हाम्रो पापको भयङ्कर बोझ उहाँले लिनुभयो र त्यो पाप परमेश्‍वर पिता र येशूको बीचमा आयो, जसले गर्दा उहाँको ज्योति अँध्यारोमा परिवर्तन भयो। यस कुरालाई मत्ती, मर्कूस र लूकाले आफ्ना पुस्तकहरूमा उल्लेख गरेका छन। “अब मध्‍याह्नदेखि तीन बजेसम्‍म सारा देशमा अन्‍धकार भयो” (मत्ती २७:४५)। येशू, जो साँचो सूर्य हुनुहुन्छ, उहाँ त्यतिबेला अँध्यारोमा परिवर्तन हुनुभयो!

चन्द्रमा रक्तमा परिवर्तन हुनेछ

‘चन्द्रमा रक्तमा परिवर्तन हुनेछ’ भनेको चाहिँ के हो? यदि सूर्य येशू हुनुहुन्थ्यो भने चन्द्रमा के थियो त? चन्द्रमाको आफ्नै प्रकाश हुँदैन। यसले केवल सूर्यको प्रकाशलाई परावर्तित गर्छ। सूर्यको तुलनामा यसको ज्योति निकै कमजोर हुन्छ। दिउँसो आकाशमा निकै चम्किलो सूर्य हुने भएकोले गर्दा त्यसलाई देख्‍न कठिन हुन्छ। रातको समयमा आकाशमा चन्द्रमा हुँदा त्यसको ज्योतिले तपाईं कता जाँदैहुनुहुन्छ भनी देख्‍न सकिन्छ तर त्यो ज्योतिले रङ्गहरू छुट्‍ट्याउन सकिँदैन। प्रायजसो यसलाई देख्‍न पनि मुस्किल हुन्छ। यसले सूर्यले जस्तै गरी जीवन दिन सक्दैन।

चन्द्रमालाई कोसँग तुलना गर्न सकिन्छ त? बप्‍तिस्मा दिने यूहन्‍नासँग तुलाना गर्दा कसो होला? यदि येशू सूर्य हुनुहुन्थ्यो भने, यूहन्‍ना चन्द्र थिए त? यूहन्‍ना १ अध्यायमा हामी यसरी पढ्छौँ: “उहाँमा (येशूमा) जीवन थियो, र त्‍यो जीवन मानिसहरूको ज्योति थियो... परमेश्‍वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्‍ना थियो... उनीद्वारा सबैले विश्‍वास गरून्‌ भनेर त्‍यस ज्‍योतिको गवाही दिन उनी साक्षी भई आए... उनी आफै त्यो ज्‍योति थिएनन्‌, तर त्‍यस ज्‍योतिको गवाही दिन आए” (यूहन्‍ना १:४, ६, ७, ८)।

जसरी चन्द्रमाले सूर्यको गवाही दिन्छ, त्यसरी नै यूहन्‍नाले येशूको गवाही दिए।

यूहन्‍नाले आफूलाई येशूसँग तुलना गर्दै यसो भने: “उहाँका जुत्ताको फित्ता खोल्‍ने योग्‍यको म छैनँ” (यूहन्‍ना १:२७)। येशूले यूहन्‍नाको बारेमा बोल्नुहुँदा यसो भन्‍नुभयो: “म तिमीहरूलाई भन्‍दछु, ‘स्‍त्रीहरूबाट जन्‍मेकामध्‍ये यूहन्‍नाभन्‍दा महान्‌ कोही छैन, तापनि जो परमेश्‍वरको राज्‍यमा सानोभन्‍दा सानो छ, त्‍यो तिनीभन्‍दा अझ महान्‌ हुन्‍छ’” (लूका ७:२८)। यूहन्‍नाको सेवकाइ विशेष अनि अद्वितीय थियो, तर येशूलाई देखाइदिनु नै उसको सम्पूर्ण उद्देश्य थियो। उसले बोलेका शब्दहरूलाई हेरौँ: “हेर, संसारको पाप उठाइलैजाने परमेश्‍वरका थुमा” (यूहन्‍ना १:२९); यी शब्दहरू नै उसको सम्पूर्ण प्रचारको सारंश हुन्। येशूसँग तिनको सम्बन्धलाई सूर्य र चन्द्रमाको दृष्टान्तले स्पष्ट पारेको छ। यूहन्‍नाको प्रचार अभियान पूरा भएपछि हेरोदद्वारा तिनी झ्यालखानमा परे र पछि उसको हत्या गरियो। यस प्रकार चन्द्रमा रगतमा परिवर्तन भयो!

यसर्थ, योएलको अगमवाणी तिनको बुझाइभन्दा धेरै टाढा पुग्यो र सायद त्यो पत्रुसको बुझाइभन्दा पनि निकै टाढाको कुरा हुन सक्छ। सूर्य अँध्यारोमा र चन्द्र रक्तमा परिवर्तन नभईकन पवित्र आत्मा खन्याउने काम हुन सकेन। त्यसको निम्ति पहिले बप्‍तिस्मा दिने यूहन्‍ना आफ्नो गवाही पूरा गरेर अलग हुनुपर्थ्यो। अनि पवित्र आत्मा आउनुभन्दा पहिले येशू मर्नु, बौरी उठ्नु र पिताकहाँ फर्किजानु आवश्यक थियो।

प्रभुको दिन

हामीले योएलको अगमवाणीको अर्को पक्षलाई हेर्नु आवश्यक छ: परमप्रभुको त्‍यो महान्‌ र भयङ्कर दिन आउनुभन्‍दा अघि सूर्य अँध्‍यारोमा र चन्‍द्र रक्तमा परिवर्तन हुनेछन्‌।”

त्यसो हो भने प्रभुको दिन कहिले हो? के त्यो पेन्तिकोसको दिनमा आयो? अधिकांश मानिसहरूले ‘होइन’ भन्‍ने जवाफ दिन्छन्। वास्तवमा थेसलोनिकीहरूलाई लेखेको पत्रमा पावलले त्यस्तो किसिमको विचारलाई विशेषरूपमा इन्कार गर्दछन्: “कसैले कुनै किसिमले तिमीहरूलाई धोका नदेओस्‌। किनकि पहिले विद्रोह नभएसम्‍म पापको मानिस, अर्थात्‌ सर्वनाशको छोरो प्रकट नभएसम्‍म त्‍यो दिन आउनेछैन” (२ थेसलोनिकी २:२-३ हेर्नुहोस्)।

के त्यो महान् दिन अहिले आएको छ? पावलले बताएको ‘धर्मत्याग’ अहिले आएको छ भन्‍ने कुरामा थोरै मानिसहरूले सङ्का गर्दछन्। के सूर्य र चन्द्रमाको सम्बन्धमा अझ अरू चिन्हहरू छन्? के पेन्तिकोसको दिनदेखि अहिलेसम्म तिनीहरू निरन्तर चम्केका छन्? अथवा के सूर्य अँध्यारोमा परिवर्तन भएको छ? र चन्द्रमा फेरि रगतमा परिवर्तन भएको छ?

के सूर्य निरन्तर चम्मेको छ?

अब हामीले येशूका प्रथम अनुयायीहरू यूहन्‍नाजस्तो चन्द्रमा थिए कि स्वयम् येशूजस्तो सूर्य थिए भनी सोध्‍नैपर्छ।

येशूले आफ्नो बारेमा अचम्मलाग्‍दो कुरा भन्‍नुभयो: “म संसारको ज्योति हुँ” (यूहन्‍ना ८:१२)। अनि उहाँले आफ्ना चेलाहरूका बारेमा के भन्‍नुभयो? “तिमीहरू प्रत्येक जहाँ जान्छौ, सानो मैनबत्ती भएर मेरो प्रकाश फैलाउँदै जाओ!” होइन! उहाँले कदापि त्यसो भन्‍नुभएन। उहाँले आफ्नो बारेमा जे भन्‍नुभयो, आफ्ना चेलाहरूका बारेमा पनि ठ्याक्‍कै त्यस्तै कुरा भन्‍नुभयो: “तिमीहरू संसारको ज्योति हौ” (मत्ती ५:१४)।

येशूले आफ्ना चेलाहरूलाई कहिले पनि आफूभन्दा तल राख्‍नुभएन। उहाँका यी शब्दहरूले उक्त सत्यतालाई घरी-घरी प्रकट गर्दछन्:

येशूले आफ्ना चेलाहरूप्रति असाधारण किसिमले भरोसा गर्नुभएको थियो; अथवा पवित्र आत्माले तिनीहरूमा गर्न लाग्‍नुभएको काममा उहाँले भरोसा गर्नुभएको थियो। यदि उहाँ संसारको ज्योति हुनुहुन्थ्यो भने तिनीहरू पनि संसारको ज्योति थिए। यदि उहाँ सूर्य हुनुहुन्थ्यो भने तिनीहरू पनि पक्‍कै सूर्य थिए।

के पत्रुस, पावल, यूहन्‍ना र नयाँ करारका अरू चेलाहरूले आफ्ना मालिकको ती उच्‍च अपेक्षाहरू पूरा गरे? के तिनीहरू संसारको ज्योति थिए? के तिनीहरू सूर्यझैँ चम्किए? पक्‍कै तिनीहरूले त्यो काम गरे भनी म विश्‍वास गर्छु।

के सूर्य नरोकीकन निरन्तर त्यो दिनदेखि आजको दिनसम्‍म चम्केको छ? अवश्य छैन! अहिलेको अवस्था त झण्डै विपरीत छ! येशूको प्रथम चेलाहरू पृथ्वीबाट बिदा भएपछि नयाँ करारको समयमा नै बादलहरूले सूर्यलाई ढाक्‍न थाल्यो। पछिल्ला शताब्दीहरूमा अन्धकार यति बढ्न थाल्यो, कि पृथ्वीबाट सूर्यको प्रकाश झण्डै पूर्णरूपमा हराइसकेको थियो। फेरि एकपटक सूर्य अँध्यारोमा परिवर्तन भयो।

के चन्द्रमा चम्किरह्यो त?

के विगतका २००० वर्षदेखि चन्द्रमा निरन्तर चम्किरहेको छ?

भजनसङ्ग्रह ८९:३७ मा चन्द्रमालाई ‘आकाशमा रहेको विश्‍वसनीय साक्षी’ भनी बताइएको छ। यूहन्‍ना ५ अध्यायमा आफ्नो विषयमा साक्षी दिने तीन वटा कुराहरू येशूले बताउनुभयो।

बप्‍तिस्मा दिने यूहन्‍ना, येशूले गर्नुभएका आश्‍चर्यकर्महरू र पवित्र धर्मशास्त्र - यी सबै चन्द्रमाजस्ता थिए; र तिनीहरूले आफूलाई टाढा राखेर सूर्य हुनुभएको येशूलाई देखाउँदै उहाँको गवाही दिए। धेरै शताब्दीहरूसम्म तिनीहरूले प्रकाश दिन बन्द गरे। यूहन्‍नाजस्ता अगमवाणीका आवाजहरू चुपचाप भए। आश्‍चर्यकर्महरू र चिन्हहरू प्राय: पूर्णरूपमा बन्द भए। एक हजार वर्षसम्म धर्मशास्‍त्र केवल ल्याटिन भाषामा सीमित रह्यो र केही धर्मगुरुहरूबाहेक अरूले त्यसलाई पढ्न पाएनन्। युरेपेली भाषाहरूमा पनि त्यसको अनुवाद हुन सकेन। येशूको साक्षी दिन चन्द्रमाझैँ चम्किनुपर्ने मण्डलीले त्यसो गर्नुको सट्टामा सत्यको लागि आवाज उठाउने थोरै साक्षी हुन चाहने मानिसहरूलाई पनि चुप गराउने वा मार्ने काम गर्न थाल्यो। यतिसम्म भयो, कि इतिहासकारहरूले उक्त दु:खलाग्‍दो समयलाई अन्धकारको युग भनेका छन्।

इसाई इतिहासमा भएको सुधारवादको आन्दोलन(Reformation)पछि चन्द्रमा फेरि चम्कन थालेको छ। कहिले पूर्णिमाको गोलो जूनजस्तो, कहिले अर्धचन्द्रजस्तो अनि कहिले सानो हँसिया आकारको जस्तो भएर चन्द्रमा चम्किरहेको छ; तर जे भए पनि पहिलेजस्तो पूरै अँध्यारो हुन पाएको छैन। अगमवाणीका आवाजहरूले फेरि सत्यको घोषणा गरिरहेका छन्। विश्‍वभरि नै आश्‍चर्यकर्महरू र चिन्हहरू भइरहेका छन्; र सम्पूर्ण धर्मशास्‍त्र संसारको ५०० भन्दा बढी भाषाहरूमा अनुवाद भइसकेका छन्। लामो समयको अन्धकारपछि चन्द्रमा फेरि चम्किरहेको छ।

प्रभुको दिनको चिन्हहरू

यसर्थ योएलको अगमवाणी दोस्रोपटक पूरा भएको छ: सूर्य फेरि अँध्यारोमा परिवर्तन भएको छ अनि चन्द्र फेरि रक्तमा परिवर्तन भएको छ। पावलले बताएको महान् धर्मत्याग प्रकट भइसकेको कुरामा कुनै सङ्का छैन। प्रभुको दिन अहिले आएको छ भन्‍ने बारेमा के अरू चिन्हहरू छन्? त्यस्ता धेरै चिन्हहरू छन् भनी म विश्‍वास गर्छु। केही चिन्हहरू यहाँ उल्लेख गरिएका छन्:

त्यसैले प्रभुको दिन पक्‍कै आएको छ भनी म विश्‍वास गर्छु।

परिपूर्णता

प्रभुको दिनको समयमा के-के हुन्छ? मैले यो छोटो लेखमा चर्चा गरेको कुराहरूभन्दा त्यसबेला निकै धेरै कुराहरू हुन्छन्! म यस लेखमा सूर्य र चन्द्रमासम्बन्धी कुराहरूलाई मात्र निरन्तरता दिनेछु।

के येशू सूर्य हुनुहुन्छ? के उहाँ आउनेवाला हुनुहुन्छ? के त्यो सूर्य फेरि आफ्नो पूर्ण महिमामा चम्किनेछ?

येशू चाँडै आउँदैहुनुहुन्छ भनी धेरै मानिसहरूले विश्‍वास गर्छन्। म पनि त्यस कुरामा सहमत छु; तर उहाँ पेन्तिकोसको दिनमा आउनुभएझैँ गरी आउँदैहुनुहुन्छ भनी म ठान्छु। त्यतिबेला चेलाहरूले अपेक्षा गरेझैँ गरी उहाँ भौतिक शरीरमा आउनुभएन । त्यसैगरी फेरि आउनुहुँदा उहाँ आत्मामा अनि उहाँका जनहरूको शक्तिमा आउनुहुनेछ (प्रभुको आगमन हेर्नुहोस्)।

आफ्नो मृत्युभन्दा अघि येशूले चेलाहरूसँग प्रतिज्ञा गर्नुभयो, कि उहाँ फेरि आउनुहुनेछ र तिनीहरूलाई आफूमा लिनुहुनेछ। के उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो? यदि तपाईं भौतिक शरीरलाई विचार गर्नुहुन्छ भने, त्यो पक्‍कै होइन। यदि पेन्तिकोसको दिनमा उहाँ आत्मिकरूपमा आउनुभयो भनी विश्‍वास गर्नुहुन्छ भने, पक्‍कै उहाँले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो।

त्यतिबेला उहाँ पेन्तिकोसको चाडको समयमा आउनुभयो। अब उहाँ छाप्रोवासको चाडमा आउँदैहुनुहुन्छ (इस्राएलको चाडहरू हेर्नुहोस्)। त्यतिबेला मण्डली युगको सुरुवात भयो तर अब आउनुहुँदा राज्य युगको सुरुवात हुनेछ।

येशूले उक्त समयको बारेमा यसरी बताउनु भयो: “तब धर्मी जनहरू आफ्‍ना पिताको राज्‍यमा सूर्यजस्‍ता चम्‍किला हुनेछन्‌” (मत्ती १३:४३)।

पत्रुसले यसरी लेखेका छन्: “हामीसित भएका अगमवक्ताहरूको वचन अझ निश्‍चित भएको छ। झिसमिसे उज्‍यालो नहोउञ्‍जेल र तिमीहरूका हृदयमा बिहानको तारा नउदाउञ्‍जेल अन्‍धकारमा बलिरहेको दियोलाई झैँ तिमीहरूले त्‍यस वचनलाई ध्‍यान दियौ भने असल गर्नेछौ” (२ पत्रुस १:१९)। बिहानको तारा हाम्रो हृदयमा उदाउँदै छ। (वास्तवमा बिहानको तारा भनेको शुक्र ग्रह हो र यो ग्रह आकाशमा अरू ताराहरूभन्दा बढी चम्किलो देखिन्छ। शुक्र ग्रह पूर्वमा देखा परेपछि सूर्यदय हुदैछ भनी हामी थाहा पाउँछौँ।)

पावल अलि फरक ढाँचामा यसो भन्दछन्: “म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्‍यससँग वर्तमान समयका कष्‍टहरू तुलना गर्न योग्‍य छैनन्‌। सृष्‍टि बड़ो उत्‍कण्‍ठाले परमेश्‍वरका पुत्रहरू प्रकट हुने कुराको प्रतीक्षा गर्छ” (रोमी ८:१८, १९)।

अहिले आत्मिकरूपमा संसारभरि नै चन्द्रमाको प्रकाश सूर्यको प्रकाशमा परिवर्नत भइरहेको छ भनी म विश्‍वास गर्छु। चिसो र जीवनरहित चन्द्रमाको प्रकाशलाई न्यानो र जीवन दिने सूर्यको प्रकाशले बिस्तारै प्रतिस्थापित गर्दैछ।

सारंश

“आदिमा परमेश्‍वरले आकाश र पृथ्‍वी सृष्‍टि गर्नुभयो... अनि परमेश्‍वरले भन्‍नुभयो, अन्‍तरिक्षमा दिन र रात छुट्ट्याउनलाई ज्‍योतिहरू होऊन्‌। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू छुट्ट्याउन चिन्‍हको रूपमा काम गरून्‌... अनि परमेश्‍वरले दुई विशाल ज्‍योतिहरू बनाउनुभयो– ठूलो ज्‍योति दिनमाथि प्रभुत्‍व गर्न, र सानो ज्‍योति रातमाथि प्रभुत्‍व गर्न” (उत्पत्ति १:१, १४, १६)।

परमेश्‍वरले चिन्हहरूको निम्ति सूर्य र चन्द्रमालाई सृष्टि गर्नुभयो। तिनीहरूले पृथ्वीमा दुई किसिमका प्राकृतिक प्रकाश प्रदान गर्छन्; तर तिनीहरू दुई किसिमका आत्मिक प्रकाशको चिन्हहरू हुन्।

इतिहासको अधिकांश भागलाई हेर्ने हो भने संसारको अधिकांश भागहरूमा आत्मिकी अन्धकार थियो। संसारमा ज्योति ल्याउनको निम्ति परमेश्‍वरले यहूदीहरू र विशेष गरी तिनीहरूका अगमवक्ताहरू र तिनीहरूकै धर्मशास्‍त्रलाई रोज्नुभयो। तैपनि त्यो चन्द्रमाको प्रकाश मात्र थियो र त्यो प्रकाश संसारको सानो भागमा मात्र पुग्यो। तिनीहरूको अन्तिम अगमवक्ता, बप्‍तिस्मा दिने यूहन्‍नाले आत्मिकी सूर्यको घोषणा गरे, जो येशू मसिह हुनुहुन्थ्यो। सूर्यको प्रकाशले चन्द्रमाको प्रकाशलाई प्रतिस्थापित गर्‍यो। अनि स्वर्गको राज्य नजिकै थियो!

पेन्तिकोसको दिनमा परमेश्‍वरले आफ्नो आत्मा खन्याउनुभयो। त्योभन्दा पहिले त्यस्तो घटना कहिल्यै भएको थिएन। त्यसबेला केही मानिसहरूले प्रभुको दिन र परमेश्‍वरको राज्य आएको छ भनी विचार गरे। तर त्यो समय अझै आएको थिएन। यद्यपि त्यो कुरा सुन्दर भए तापनि लामो समयसम्म टिकेन। पृथ्वी फेरि अन्धकारमा परिवर्तन भयो।

धेरै शताब्दीहरूसम्म अन्धकार भएपछि चन्द्रमा फेरि चम्कन थाल्यो। बाइबल युरोपेली राष्ट्रहरूका विभिन्‍न भाषाहरूमा अनुवाद गरियो र सत्यको ज्ञान युरोपभरि फैलिन थाल्यो र त्यहाँबाट बाँकी संसारमा फैलिन थाल्यो। तैपनि अझै त्यो चन्द्रमाको प्रकाश मात्र थियो।

अब अन्तमा सूर्य चम्किन सुरु गरिरहेको छ। प्रभुको दिन आएको छ र परमेश्‍वरको राज्य नजिकै छ! यशैयाले अगमवाणीको यस्ता कुराहरू बोले: “हेर्‌, अँध्‍यारोले पृथ्‍वीलाई, र घोर अँध्‍यारोले मानिसहरूलाई ढाकेको छ, तर परमप्रभु तँमाथि चम्‍कनुहुन्‍छ, र उहाँको महिमा तँमाथि प्रकट हुन्‍छ। जाति-जाति तेरो प्रकाशमा र राजाहरू तेरो प्रभातको ज्‍योतिमा आउनेछन्‌” (यशैया ६०:२-३)।

जसै यी दिनहरूमा यो संसार अँध्यारो हुँदैछ, परमेश्‍वरको जनहरूको प्रकाश झन् चम्किलो हुँदैछ। अन्तत्वगत्वा, त्यो चम्किलो प्रकाश अन्धकारमाथि विजयी हुनेछ र परमेश्‍वरको राज्य पूर्णरूपमा आउनेछ।

आमिन।

यो पुस्‍तकलाई रंगिन [Color] छाप्‍ने फाइल

यो पुस्‍तकलाई श्‍याम-स्‍वेत [Black & White] छाप्‍ने फाइल

कसरी छाप्ने