शाऊल र दाऊद

परिचय

शाऊल र दाऊद इस्राएलका क्रमश: पहिलो र दोस्रो राजाहरू थिए। ती दुबै राजाहरू महान् र अति वीर थिए। शाऊल राजाले आमोनीहरूमाथि विजय प्राप्‍त गरी आमालेकीहरूका जुवा भाँचेर इस्राएलको जग बसाले। शाऊल राजापछि दाऊद राजाले पलिश्‍तीहरू, मोआबीहरू, आरामीहरू, एदोमीहरू र अरूहरूमाथि पनि विजय प्राप्‍त गरेर विशाल साम्राज्‍य आफ्‍नो आधीनमा पारे। शाऊल राजा र दाऊद राजा दुबै परमेश्‍वरबाट चुनिएका र उहाँको आत्‍माको शक्तिको अनुभव पाएका विशेष व्‍यक्तिहरू थिए। तर ती दवै जनाले पाप गरेका थिए, उनीहरू सिद्ध थिएनन्। दुबै जना समान थिए, यहाँसम्‍म कि दुबै जना हेर्नमा उस्‍तै देखिन्‍थे। दाऊद राजाले व्‍यभिचार र हत्‍या गरे तापनि उनको पाप परमेश्‍वरमा क्षमा भयो र उनलाई परमेश्‍वरले ग्रहण गर्नुभयो, तर शाऊल राजाले दाऊदको जस्‍तो ठूलो पाप गरेको थिएनन् (मानिसको दृष्‍टिमा) तापनि उनी परमेश्‍वरबाट इन्‍कार गरिए।

जब हामी यी दुई राजाहरूको इतिहासको तुलना गर्छौं, तब यो सम्‍भव छ, कि तिनीहरूको चरित्रको प्रभाव परेका मानिसहरू हाम्रो वरि-परि देखिन्‍छन्, अझ मुख्‍य कुरो त हामीहरू नै त्‍यसमा पर्न सक्‍छौँ।

बाइबलमा शाऊलमात्र यस्‍तो व्‍यक्ति थियो, जसको जीवनको सुरुवात आनन्‍दमय तर अन्‍त दु:खमा पुगेर टुङ्गियो। सुरु-सुरुमा उसको जीवनमा परमेश्‍वरको आशिष् र शक्ति थियो, तर अन्‍तमा ऊ स्वयम् आफू र अफ्‍ना छोराहरू लड़ाइँमा मारिनुभन्‍दा अघि दुष्‍ट आत्‍माद्वारा चलाइएको र त्‍यसपछि बोक्‍सीकहाँ सहायता माग्‍न गएका थिए।

तर शाऊलको विपरीत दाऊदले धेरै वर्षसम्‍म दु:ख र संकट भोगे। शाऊलद्वारा उनी सताइए साथै जनावारलाईझैँ शाऊलले उनलाई सिकार गरे। त्‍यसैले दाऊद शरण लिन पलिश्‍तीहरूकहाँ जानु पर्‍यो, तर परमेश्‍वरले दाऊदलाई ती सबै परीक्षाहरूबाट जोगाउनुभयो र अन्‍तमा उनले इस्राएल राज्‍यको सिंहासन प्राप्‍त गरे। साथै उनका सबै शत्रुहरूमाथि परमेश्‍वरले दाऊदलाई विजयी बनाउनु भयो।

शाऊल मरेर गए तर दाऊद जीवित रहिरहे। त्‍यसैले, दाऊदको नाम नयाँ करारमा ६० पटक लेखिएको छ र येशू ख्रीष्‍टको नामपछि नयाँ करारको पहिलो पुस्‍तक मत्तीमा दाऊदको नाम पहिले आउँछ (ग्रीक बाइबलमा) र प्रकाशको पुस्‍तकको अन्‍तमा पनि दाऊद राजाको नाम लेखिएको छ (प्रकाश २२:१६)। तर शाऊल राजाको नाम नयाँ करारमा कतै पनि लेखिएको पाउँदैनौँ। प्रेरित पावल र राजा शाऊल दुबै जना बिन्‍यामीन कुलबाट आएका थिए। पावलको पहिलो नाम शाऊल थियो तर पछि उनले अफ्‍नो नाम पावल राखे।

आज पनि दाऊदको देश इस्राएलमा इस्राएलीहरूले “दावीद मेलेख इस्राएल हाई हाई” भनेर गीत गाउँछन् अर्थात् “इस्राएलको राजा दाऊद जीवित छन्।” दाऊद राजा आज पनि जीवित छन् जसको गीत संसारका प्राय: सबै भाषाहरूमा गाइन्‍छ। यी सबै कुरामा दाऊद जीवित छन् तर मुख्‍य कुराचाहिँ परमेश्‍वरले दाऊदको राज्‍यको सिंहासन सधैँ रहने प्रतिज्ञा गर्नुभयो। त्‍यही सिंहासन आज मुक्तिदाताको सिंहासन हो, जो अनन्‍त जीवन दिनको लागि आउनुभयो।

शाऊलको बोलावट

पहिलो शमूएलको पुस्‍तक ९ र १० अध्‍यायले हामीलाई शाऊलको बोलावट बारे जानकारी दिन्‍छ। शाऊल चुनिएको र सुन्‍दर व्‍यक्ति थिए। इस्राएलका मानिसहरू उनका कुमसम्‍म मात्र पुग्‍ने भएकोले उनी एक उच्‍च कदका पुरुष थि। (१शमूएल ९: २)।

एक दिन शाऊल र उनको नोकर उनका बाबुको हराएका गधाहरू खोजि गरिरहेका थिए, तर उनीहरूले भेट्न सकेनन्। शाऊलले घर फर्कौं भनेर आफ्‍नो नोकरलाई भने तर त्‍यस नोकरले परमेश्‍वरको एक जना मानिसलाई भेट्नको लागि अनुरोध गर्‍यो। जब तिनीहरूले शमूएल अगमवक्तालाई भेटे तब शमूएलले गधाहरू तिम्रा बाबुले पाइसके भनेर खबर दिए, साथै शमूएलले शाऊललाई परमेश्‍वरको बोलावट बारे भन्‍न सुरु गरे।

त्‍यसको भोलिपल्‍ट शमूएल अगमवक्ताले शाऊललाई तेलले अभिषेक गर्दै भने, “परमप्रभुले तपाईंलाई अफ्‍नो प्रजा इस्राएलमाथि राजा अभिषेक गर्नुभएको छ?” (१ शमूएल १०: १)। त्‍यसपछि शमूएलले शाऊललाई घर फर्कंदा बाटोमा के के हुन्‍छ भन्‍ने कुरा सबै बताइदिए। जुन कुरा शमूएलले भविष्‍यवाणी गरेका थिए ती सबै कुरा पूरा भयो।

शाऊलले शमूएलबाट बिदा लिएपछि परमेश्‍वरले शाऊलको हृदय परिवर्तन गर्नुभयो। त्‍यही दिनमा शाऊलले अगमवक्ताहरूको एक दललाई भेटे र त्‍यसै समयमा परमेश्‍वरको आत्‍मा शाऊलमा उत्रनुभयो र शाऊलले अगमवक्ताहरूको बीचमा अगमवाणी गरे।

तब शमूएल अगमवक्ताले इस्राएली जातिहरूलाई उनीहरूको राजा चुन्नको निम्‍ति जम्‍मा गराए। हुन त परमेश्‍वरले शाऊललाई राजा हुनको निम्‍ति चुनिसक्‍नुभएको थियो, तर पनि शमूएलले इस्राएलीहरूलाई गोला हालेर राजा चुन्न लगाए र शाऊल नै राजा चुनिए किनकि शाऊल परमेश्‍वरबाट राजा हुनको लागि पहिले नै बोलाइएका व्‍यक्ति थिए। जब इस्राएलीहरूले गोलाद्वारा शाऊललाई राजा चुने, त्‍यस समयमा तिनी त्‍यहाँ थिएनन्। तिनी लाजले गर्दा समानहरूको बीचमा लुकेका थिए, तर परमेश्‍वरले शाऊल कहाँ लुकेका छन् भन्ने कुरा मानिसहरूको बीचमा प्रकट गराउनुभयो। पछि उनीहरूले शाऊललाई भेटे। त्‍यसपछि ।“हाम्रा राजा अमर रहून्” भन्‍दै खुशीसाथ नारा लगाए

परमेश्‍वरबाट भएको शाऊलको बोलावट निश्‍चय थियो, उनको त्‍यसमा कुनै शंका थिएन। शाऊललाई राजा चुन्नमा प्रत्‍येक स-साना कुराहरूमा पनि परमेश्‍वरको हात थियो।

शाऊलको विजय

१शमूएलको पुस्‍तक ११ अध्‍यायमा शाऊलको पहिलो युद्धको वर्णन पाउन सकिन्‍छ। आम्‍मोनीहरूका राजा नाहाशले इस्राएल देशको याबेश गिलाद भन्ने ठाउँलाई आक्रमण गरेर घेरे। परमेश्‍वरको आत्‍मा शाऊलमा उत्रनुभयो, त्‍यसपछि शाऊलले इस्राएलीहरूलाई लड़ाइँको लागि तयारी हुन आज्ञा गरे। सारा इस्राएलीहरू लड़ाइँको लागि तयार भए र त्‍यस लड़ाइँमा शाऊलको ठूलो विजय भयो। त्‍यसले गर्दा सबै इस्राएलीहरू शाऊलसँग खुशी भए र त्‍यस समयमा उनको विरुद्धमा कोही पनि थिएनन्।

हिब्रू भाषामा नाहाशको अर्थ ‘सर्प’ भन्ने बुझिन्‍छ। सर्पको अर्थ बाइबलमा शैतान हो। १ यूहन्ना २:१४ मा यसरी लेखिएको छ, “हे युवक हो, मैले तिमीहरूलाई लेखेको छु, किनभने तिमीहरू बलिया छौ, र परमेश्‍वरको वचन तिमीहरूमा रहन्‍छ, र तिमीहरूले त्‍यस दुष्‍टलाई जितेका छौ।” इस्राएलीहरू आफ्‍ना राजादेखि ज्‍यादै खुशी थिए र १ शमूएल ११ अध्‍यायको अन्‍तिम पदले यसरी भन्‍दछ, “शाऊल र सबै इस्राएलीहरूले ठूलो हर्षमा त्‍यो उत्‍सव मनाए।”

मानिसको नजरमा सबै कुराहरू असलै असल हुँदैनन् र खराबै खराब पनि हुँदैनन्। शाऊल, नाहाश र इस्राएलका मानिसहरूभन्‍दा शमूएल छुट्टै स्‍वभावका मानिस थिए। शमूएल उनीहरूको आनन्‍दमा नता खुशी थिए नता दु:खी नै थिए। किनकि शाऊललाई परमेश्‍वरले बोलाएको कुरा शमूएललाई पक्का थाहा थियो तापनि शमूएलले तिनीहरूलाई भने, “राजा मागेर तिमीहरूले परमप्रभुको दृष्‍टिमा कस्‍तो खराबी गरेका रहेछौ ” (१ शमू. १२:१७)। मानिसहरूको नजरमा ती सबै कुराहरू राम्रो देखिन्‍थ्‍यो तर शमूएलको नजरमा त्‍यो राम्रो थिएन किनकि शमूएल परमेश्‍वरको दृष्‍टिकोणले हेर्थे।

ठूला ठूला विजयहरू आत्‍मिक परिपक्‍वताको निम्‍ति प्रमाण नभई, त्‍यस्‍ता विजयहरू त आत्‍मिक यूवा अवस्‍थामा पनि हुन सक्‍छ। हामी शाऊलजस्‍तो लड़ाइँमा वीरमात्र नभएर शमूएलजस्‍तो परमेश्‍वरलाई चिन्ने र उहाँको आवाज सुन्ने व्‍यक्ति हुनु पर्छ।

शाऊलले गरेको पाप

शाऊलले अर्को लड़ाइँ पलीश्‍तीहरूसगँ लडे (१ शमू १३)। पलीश्‍ती सैनीकहरू ठूलो सङ्ख्‍यामा इस्राएलमा पसेको देखेर इस्राएली सैनिकहरू शाऊललाई छोडेर भाग्‍न थाले। शाऊलले शमूएललाई परमेश्‍वरको निम्‍ति बलिदान चढाउनको लागि ७ दिनसम्‍म पर्खिरहे, तर शमूएल आइपुगेनन्। त्‍यसै कारण शाऊल आफैले परमप्रभुको निम्‍ति बलिदान चढाए। बलिदान चढाइसक्‍नेबित्तिकै शमूएल आइपुगे। परमेश्‍वरलाई बलिदान चढाउने काम शाऊलको थिएन। उनी केवल राजा हुनको लागि मात्र चुनिएका थिए। परमेश्‍वर प्रतिको भक्तिको कारणले होइन तर पलीश्‍ती सेनाहरूको डरको कारण उनले बलिदान गरेका थिए। जब ती सबै कुरा शमूएलले देखे तब उनले शाऊललाई हकार्दै भने, “अब तिम्रो राज्‍य निरन्‍तर रहने छैन। परमप्रभु आफैले रुचाउनुभएको मानिसलाई खोज्‍नुहुनेछ र तिनलाई नै आफ्‍नो प्रजामाथि राजा नियुक्त गर्नुहुनेछ किनभने तिमीले परमप्रभुको आज्ञापालन गरेनौ” (१ शमू १३: १४)।

शाऊललाई अर्को एउटा ठूलो परीक्षा त्‍यतिबेला आयो, जब परमेश्‍वरले शमूएल अगमवक्ताद्वारा अमालेकीहरूलाई नष्‍ट गर्ने आज्ञा गर्नुभयो।

अमालेकीहरू सार्‍है कठोर र सबै कुरा नष्‍ट गर्ने हृदय भएका मानिसहरू थिए। इस्राएलीहरू मिश्र देशबाट आएको समयमा पनि अमालेकीहरूले झण्‍डै उनीहरूको कुल नै मेटाइदिएका थिए। परमप्रभुले मोशालाई भन्नुभयो, “यो कुरा सम्‍झनाको निम्‍ति पुस्‍तकमा लेख र त्‍यो येहोशूलाई बताइदे, म अमालेकको स्‍मृति आकाशमुनिदेखि बिलकुलै मेटाइदिनेछु।” परमेश्‍वरको नजरमा तिनीहरू नष्‍ट हुन जरुरी थियो। किनकि त्‍यो इस्राएल देशलगाएत अरू देशको भलाइको निम्‍ति पनि अमालेकीहरू नष्‍ट हुन अवश्‍यक थियो जसले सबै देशहरूलाई सताएका थिए। यदि परमेश्‍वरले दुष्‍टलाई कहिले र कसरी नष्‍ट गर्नू भन्ने आज्ञालाई हामीले पालन गरेनौँ भने, निश्‍चय नै हामी त्‍यसको निम्‍ति सताइनेछौँ।

प्राय:जसो ठूलो भूमि अमालेकीहरूको अधीनमा थियो। शाऊलले ती सबै जितेर स्‍वतन्‍त्र गरिदिए, तर अरू मानिसहरूको भनाइमा लागेर उनले अमालेकीहरूका राजा अगागलाई मारेनन् साथै राम्रा र असल-असल गाई वस्‍तुहरूलाई नष्‍ट गरेनन्। तर केही मोल नभएकाहरूलाईचाहिँ तिनले नाश गरे। त्‍यसरी उनले परमेश्‍वरको आज्ञा जानेर पनि पालन गरेनन्। शाऊलले गरेको पाप परमेश्‍वरले शमूएललाई देखाउनुभयो र शमूएलले शाऊललाई चेतावनी दिए। शाऊलले शमूएललाई यसो भनेर अभिवादन गरे, “परमप्रभुको आशिष तपाईंमा रहोस्। मैले परमप्रभुको आज्ञा पालन गरें।” (१ शमू १५: १३)।

शाऊलको भनाइमा मीठो प्रतिउत्तर दिँदै शमूएलले भने: “होमबलि र बलिदानभन्‍दा बेसी परमप्रभुले आज्ञापालन नै रुचाउनु हुन्न र ? आज्ञापालन बलिदानभन्‍दा उत्तम हो, र उहाँको वचन मान्नु साँढे र भेड़ाको बोसोभन्‍दा असल हो। उहाँको आज्ञा उल्लङ्घन गर्नु मंत्र-तंत्रको पापजस्‍तै हो, हठी हुनु मूर्तिपूजा गर्नुजस्‍तै खराब हो।”(१ शमू १५: २२,२३)।

शाऊलको हृदय कस्‍तो छ भन्ने कुरा उसले तल भनेको शब्‍द पढेर थाहा पाउन सकिन्‍छ : “मैले पाप गरेँ। मैले परमप्रभुको आज्ञा तपाईंको वचनको वास्‍ता गरिनँ। म मानिसहरूसँग डराएँ, र तिनीहरूको कुरा मानेँ।” (२४) त्‍यसपछि उनले भने, “मैले पाप गरेँ तर कृपा गरी मेरो प्रजाका बुढा प्रधानहरू र इस्राएलको सामने एक पल्‍ट मात्र मेरो इज्‍जत गरिदिनुहोस्, मसँग आउनुहोस्, र म परमप्रभु तपाईंका परमेश्‍वरको सामु दण्‍डवत् गर्नेछु।” (१ शमू १५: ३०)।

शाऊलले मुख्‍य प्राथमिकता मानिसहरूको भिडलाई दिए, परमेश्‍वरलाई होइन। यदि उनी अगमवक्ताहरूको भीड़मा भएको भए उनी अगमवाणी गर्न सक्‍थे। मानिसहरूले उनलाई लड़ाइँमा छोड्दा पनि उनले मानिसमाथि नै भरोसा राखे तर परमेश्‍वरमा भरोसा राखेनन्। मानिसहरूको भीड़ले लड़ाइँमा विभिन्न समानहरू लुट्दा पनि तिनीहरूलाई रोक्‍न सकेनन्। यसरी शाऊल आफैलाई परमेश्‍वरले इन्‍कार गरेको कुरा थाहा थियो तर मानिसहरूलाई त्‍यो कुरा भन्न चाहँदैनथे।

बाबेलका मानिसहरूले पनि शाऊलले जस्‍तै मानिसहरूमाथि भरोसा राखे। तिनीहरूले भने, “लौ हामी आफ्‍नो नाम राखौँ नत्रता हामीलाई पृथ्‍वीभरि जताततै छरिनुपर्नेछ।” परमेश्‍वरलाई इन्‍कार गरेर मानिसहरूबाट सुरक्षा लिए। आज पनि जहाँ मानिसहरूको बहुमत छ त्‍यही कुरालाई मान्‍यता दिइन्‍छ तर सत्‍य कुरा के हो त्‍यो थाहा पाउन चाहँदैनन्।

दाऊदको बोलावट

यहाँ शमूएल दाऊदलाई राजा अभिषेक गर्न तयारी गर्दैछन्। दाऊदमा राजा अभिषेक हुनलाई शाऊलको जस्‍तो कुनै अचम्‍मको चिन्‍हहरू त थिएनन्, तर भित्री रूपमा निश्‍चय केही कुराहरू थियो। कहिले काहीँ नाटक सधारण भए तापनि त्‍यसको सांकेतिक घटनाहरू महत्त्‍पूर्ण हुन्‍छन्।

शमूएल यिशैको घरमा गए र उनका ८ जना छोराहरू सबैलाई एक-एक गरी हेर्न लागे। एलीआब यिशैका जेठो छोरा थिए, उनी हेर्नमा शाऊलजस्‍तै अग्‍ला र सुन्‍दर थिए। तर शमूएलले भने, “मानिसले रूप हेरिकन विचार गर्छ तर परमप्रभुले हृदय हेरिकन विचार गर्नुहुन्‍छ” (१ शमू १६: ७)। यो शाऊलको जीवनबाट प्रमाणित भएको छ। शमूएलले दाऊदबाहेक यिशैका सबै छोराहरूलाई हेरिसकेपछि कुनै पनि राजा हुने योग्‍यका देखेनन्। अन्‍तमा यिशैले बाहिर काम गर्दै गरेका कान्‍छा छोरा दाऊदलाई बोलाए। शमूएलले त्‍यो भेड़ा गोठाला दाऊदलाई राजा चुने। परमेश्‍वरले दाऊदलाई बोलाउँदा उनी शाऊलजस्‍तो हराएको गधा खोजीरहेका थिएनन् तर मोशाजस्‍तै भेड़ा चराइरहेका थिए। यदि नयाँ करारमा हेर्ने हो भने येशू ख्रीष्‍ट आफै असल गोठालो हुनुहुन्‍छ र त्‍यसैगरी यहाँ दाऊद र मोशामा पनि येशू ख्रीष्‍टजस्‍तै गोठालाको उदाहरण पाइन्‍छ। दाऊदमाथि परमेश्‍वरको आत्‍मा उत्रनुभयो तर शाऊलमाथि दुष्‍ट आत्‍मा ल्‍याउनुभयो।

गोल्‍यत

अब यस भन्‍दा अगाडि शाऊलको कथा ज्‍यादै निराश लाग्‍दो छ, पलीश्‍तीहरू इस्राएल देशमा फेरि पस्‍दछन्। त्‍यस पटक इस्राएलीहरूलाई दबाब दिन गोल्‍यत देखा पर्दछ। गोल्‍यतले शाऊल र उनका मानिसहरूलाई लड्न आऊ भनेर धम्‍की दिन्‍छ। यहाँ शाऊल गोल्‍यतसँग लड्न सक्‍नुपर्थ्‍यो किनकि उनी मात्र गोल्‍यतजस्‍तो बलिया र अग्‍ला व्‍यक्ति थिए। तर त्‍यसको साटो उनी र उनका सेनाहरू गोल्‍यतदेखि डरले थर-थर कामे।

दाऊद परमेश्‍वरका मानिस थिए तर शाऊल जमातहरूका मानिस थिए। दाऊदले गोल्‍यतको धम्‍की सुनेर यो जवाफ दिए, “जीवित परमेश्‍वरको सेनालाई तुच्‍छ भन्ने त्‍यो बेखतने पलिश्‍तीचाहिँ को हो र ?” (१ शमू १७: २६)। दाऊदका जेठा दाइ एलीआबले उनलाई गाली गरे साथै शाऊलले पनि “गोल्‍यतसँग लड्न सक्‍दैनस्” भनी उनलाई निराश बनाउने प्रयत्‍न गरे। दाऊदलाई राजा, दाजुहरू, सेनाहरू र अरू कसैले, कुनै प्रभाव पार्न सकेनन् किनकि उनी परमेश्‍वरबाट चलाइएका व्‍यक्ति थिए। दाऊदको जीवनमा परमेश्‍वरले पहिले नै आफ्‍नो शक्ति देखाइ सक्‍नुभएको थियो। सिंह र भालुले भेड़ाको बगाललाई खान आएको बेला दाऊदले अक्रमण गरेर भेडाहरूलाई बचाएको समयदेखि नै उनले परमेश्‍वरको शक्तिको अनुभव गरिसकेका थिए।

दाऊद परमेश्‍वरको शक्तिमा गोल्‍यतसँग लड्न गए। उनले भूइँबाट ढुङ्गा टिपेर घुयेँत्रोद्वारा गोल्‍यतमाथि प्रहार गरी विजयी भए।

तर शाऊलले गोल्‍यतको विरुद्धमा केही पनि गर्न सकेका थिएनन्। एक प्रकारले भन्‍ने हो भने शाऊल गोल्‍यतजस्‍तै थिए तर पनि लड्नलाई भने उनी दुर्बल थिए। केही मण्‍डलीहरूमा पनि यस्‍तै संसारिक समस्‍याहरू छन्। तिनीहरू संसारले जस्‍तै सोच्‍दछन्, संसारले जस्‍तै काम गर्दछन् र संसारिक मानिसहरूले जस्‍तै जीवन यापन गर्दछन्। त्‍यसैकारणले पनि केही मण्‍डलीहरू आत्‍मामा दुर्बल भएर संसारको विरुद्धमा उठ्न सक्‍दैनन्। तर दाऊद एक्‍लै परमेश्‍वरको आत्‍मा र शक्तिद्वारा चलाइएका व्‍यक्ति थिए। त्‍यसैले उनको विरुद्धमा जस्‍तै समस्‍या आइपरे पनि केही कठिन थिएन।

जब दाऊद गोल्‍यतलाई मारेर फर्किए, त्‍यो उनको निम्‍ति शुभ समय थियो। शाऊलको सामुन्ने उनको इज्‍जत बढेको थियो। केही समयपछि महिलाहरू गीत गाउन थाले, “शाऊलले हजारौं हजारलाई ध्‍वंश गरे तर दाऊदले त लाखौंलाई गरे।” (१ शमू १८: ७)। भीड़हरूले शाऊल राजाको प्रशंसा गर्नुको सट्टामा दाऊदको प्रशंसा गरे। त्‍यसकारण शाऊल राजा दाऊदको विरुद्धमा डाही बने। तब दाऊदको दु:खको दिन सुरु हुन थाल्‍यो।

पवित्र आत्‍मा कि दुष्‍ट आत्‍मा?

अब हामी केही महत्त्‍वपूर्ण कुराहरू बयान गरिएको हेर्नेछौँ।। “परमेश्‍वरतर्फको दुष्‍ट आत्‍मा शाऊलमाथि उत्रियो र उनी अगमवाणि बोल्‍न थाले।” (१ शमू १८: १० हीब्रू बाइबल अनुसार) (१ शमू १८:१० हिब्रू बाइबलअनुसार) १ शमू १०:१०मा शाऊलको बोलावटको बारेमा यसरी लेखिएको छ, “परमेश्‍वरतर्फको आत्‍मा शाऊलमाथि उत्रियो र उनी अगमवाणि बोल्‍न थाले।” हिब्रू बाइबलअनुसार यी दुबै पदहरू (१शमू १०:१० र १ शमू १८:१०) मा ‘दुष्‍ट’ शब्‍द बाहेक अरू शब्‍दहरू उस्‍तै छन्।

हामी यहाँ एउटै मानिसमा बिभिन्न आत्‍माद्वारा प्रभावित भएर अगमवाणि गर्ने काम गरेको देख्‍दछौँ। कुनै कुनै मानिसले सुरु-सुरुमा प्रभुको आत्‍माद्वारा पाएको वरदान चलाए पनि केही समयपछि दुष्‍ट आत्‍माद्वारा नक्कली वरदान पनि चलाउन सक्‍छ। पत्रुसले पनि “तपाईं जीवित परमेश्‍वरको पुत्र ख्रीष्‍ट हुनुहुन्‍छ” भन्ने परमेश्‍वरबाट प्रकाश पाएको थियो। तर केही क्षणपछि प्रभुले संसारको पापको निम्‍ति भोग्‍नुपर्ने दु:ख नभोग्‍नुहोस् भनेर उहाँलाई हप्‍काउँदै रोक्‍न खोजे। त्‍योचाहिँ शैतानको आत्‍मा थियो। त्‍यसैले “ए शैतान मेरो सामुनेबाट हटिजा” भनेर येशूले पत्रुसलाई हकार्नुभयो (मत्ती १६: १७-२३)।

के आज पनि यी माथिका जस्‍तै घटनाहरू घटेका छैनन् त ? के रोगीहरूमाथि हात राखेर चङ्गाइ गर्ने सबै प्रचारकहरू परमेश्‍वरको आत्‍माद्वारा मात्रै चलाइएका छन् त ? के मानिसहरूको प्रशंसा पाउने लालषा गरेका छैनन् ? के तिनीहरूको बीचमा शाऊलको जस्‍तै आत्‍मा त छैन ?

शाऊलले कसरी दाऊदलाई खेदो गरेर सतायो भन्ने कुरा तलको शब्‍दमा वर्णन गरिएको पाइन्‍छ।

शाऊलले मर्नको एक रातअघि आफ्‍नो हृदयमा जे थियो त्‍यही काम प्रकट गरेर देखायो। उनी ‘बोक्‍सी’ कहाँ गए। पहिले नै शमूएलले उनलाई हठी हुनु मंत्र-तंत्र गर्नुजस्‍तै पाप हो भनेर चेताउनी दिएका थिए। उनको विचारमा अगाग राजालाई नमार्नू कुनै पाप देखिँदैन थियो, तर परमेश्‍वरको दृष्‍टिमा त्‍यो आज्ञा उल्लङ्घन थियो। अन्‍तमा शाऊल मद्दत खोज्‍न दुष्‍टआत्‍मा कहाँ गए, त्‍यो उनले गरेको पापको अन्‍तिम फल थियो।

पापको जरा (सुरु) अदनको बगैँचामा भएको आज्ञा उल्लङ्घन नै थियो। जसरी परिवारमा आज्ञाकारिताको आवश्‍यकता पर्दछ, त्‍यसरी नै परमेश्‍वरको निम्‍ति अगाडि बढ्न आज्ञाकारिता पहिलो आवश्‍यकता हो, जसको अभावले गर्दा नतिजा नियमहीन हुन्‍छ। आज पनि यो संसार यसरी नै चलेको छ। हामीचाहिँ संसारले भन्‍दा छुट्टै बाटो लिएर परमेश्‍वरको आज्ञाकारितामा हिड्नु पर्दछ।

त्‍यसरी भोलीपल्‍ट नै शाऊलको कथा पलीश्‍तीहरूसँगको लड़ाइँमा मुल्‍यहीन मृत्‍युमा टुङ्गिन्‍छ। उनका तीन जना छोराहरू पनि उनीसँगै मरे।

शाऊलको सन्‍तान

जोनाथन शाऊलका छोरा, दाऊदको अति घनिष्‍ट मित्र थिए। त्‍यसैले शाऊल र दाऊदको बीचमा दोधारको रूपमा उभिएको उनलाई पाउदछौँ। दाऊद र जोनाथन दुबै समान थिए। जब पलिश्‍तीहरूको अगाडि सारा इस्राएलीहरू डरले थर-थर कामे तब जोनाथन आफ्‍नो एक जना हतियार बोक्‍ने मानिसमात्र साथमा लिएर पलिश्‍तीहरूको विरुद्धमा लडे र पलिश्‍तीहरू भागे। जोनाथन दाऊदजस्‍तै विश्‍वासयोग्‍य र अति सहासी व्‍यक्ति थिए। दाऊदले गोल्‍यतलाई मारेर फर्केपछि “जोनाथनले दाऊदलाई आफैलाईझैँ हृदयले प्रेम गरे” (१शमू १८:२)।

जोनाथनले दाऊदलाई प्रेम गर्नु उसको इच्‍छाको विपरीत थियो, किनकि जोनाथनले पाउने राज सिंहासनको अधिकार गुमाउन आँटेका थिए। यदि दाऊद साधारण राजा भएको भए शाऊल र उनका सबै सन्‍तानहरूलाई अवश्‍य मार्नेथिए।

जोनाथन दाऊदसँग जिउँदो रहन सकेनन् तर शाऊलसँगै मरे। उनी दाऊदको धेरै नजिकका साथी थिए, तर किन उनी दाऊदको सिंहासनमा सँगै रहन सकेनन् ?

एक समयमा जोनाथनको जीवनमा दुई वटा बाटोहरू उनका अगाडि आए। दाऊद बाहिर वनमा थिए। जोनाथन शाऊलसँग दरबारमा थिए। त्‍यसैले जोनाथनले दाऊदलाई भेटेर भने, “यदि तपाईं दरबारमा आउनुभयो भने पिताज्‍यूले मार्नुहुनेछ” भनि दाऊदलाई भनिदिए। शाऊल दाऊददेखि क्रोधित भएकोले जोनाथनले दाऊदलाई भाग्‍ने सल्लाह दिएका थिए। त्‍यसैले दाऊद भागे र जोनाथन दरबारमा फर्किए। जोनाथनले दाऊदलाई अति माया गर्थे तापनि उनी आफ्‍नो बाबुसँग नै बसे। जोनाथन दाऊदसँगै घुम्‍थे, दु:ख र दरिद्रताको जीवनमा सहभागी बन्न सक्‍थे तर उनी दरबारको सुख सयलमा फर्किए।

यसकारण हामी पनि हिब्रू १३:१३ अनुसार येशू ख्रीष्‍टको निम्‍ति निन्‍दा सहेर छाउनी बाहिरै उहाँकहाँ जाने बाटो रोजेका छौँ कि ? अथवा, मानिसहरूको छाउनी र सुरक्षामा रहने बाटो रोजेका छौँ ?

जोनाथनको बहिनी मीकल आफ्‍नो पति दाऊदलाई प्रेम गर्थिन, त्‍यसैले तिनले एक पटक दाऊदलाई बचाइन् तर मीकल पनि आफ्‍नो बाबु शाऊलजस्‍तै मानिसहरूको बहुमतलाई मान्‍थिन्। दाऊदले परमेश्‍वरको सन्‍दूक यरूशलेममा ल्‍याएपछि आफ्‍नो राजाको पोशाक फुकालेर परमेश्‍वरको सामु बढो जोशले नाचे। तर त्‍यति नै बेला मीकल भने दाऊदको नाच देखेर उनलाई तुच्‍छ ठानिन् र दाऊदलाई हकारिन्। त्‍यसकारण परमेश्‍वरले मीकललाई पनि शाऊलको जस्‍तै दण्‍ड दिनुभयो। तिनले मृत्‍युको होइन, तर जीवन भरि नै बाँझी स्‍त्री भएर बाँच्‍नु पर्ने दण्‍ड पाइन्।

दाऊदले गरेको पाप

शाऊलले जस्‍तै दाऊदले पनि पाप गरेका थिए। दाऊदले उरीयाहको पत्‍नी बतशेवा स्‍त्रीसँग व्‍यभिचार गरे। आफ्‍नो पाप छोप्‍नुको लागि उरीयाहलाई लड़ाइँमा पठाएर मार्न लगाए। नातान अगमवक्ता उनले गरेको पापको अवगत गराउन उनीकहाँ आए र हप्‍काए। त्‍यति बेला उनको प्रतिक्रिया शाऊलको भन्‍दा भिन्‍दै प्रकारको थियो। उनमा पश्‍चात्तापपूर्ण हृदय थियो। तर शाऊलले जानी जानीकन परमेश्‍वरको आज्ञा उल्लङ्घन गरे। शाऊल आफ्‍नो पाप मानिसहरूले नदेखून् भनेर लुकाउन चहान्‍थे, तर दाऊदचाहिँ आफूले गरेको पाप परमेश्‍वरमा पश्‍चात्ताप गर्न चहान्‍थे। दाऊदले आफ्‍नो पापको पश्‍चात्ताप भजनसंग्रह ५१मा व्‍यक्त गरेका छन्। उनले आफ्‍नो हृदयको अवस्‍था यसरी व्‍यक्त गरेका छन्, “तपाईंको विरुद्धमा केवल तपाईंकै विरुद्धमा मैले पाप गरेको छु, र तपाईंको दृष्‍टिमा जो खराब छ त्‍यही गरेको छु।” (४)।

शाऊलले सुरुदेखि नै परमेश्‍वरको आज्ञा उल्लङ्घन गरेर ठूलो पाप गर्दै आएका थिए र उनले कहिल्‍यै साँचो रूपमा परमेश्‍वरसँग पश्‍चात्ताप गरेनन्। दाऊदको पाप शारीरीक अभिलाषाले गर्दा भएको थियो। उनले आफ्‍नो पापको निम्‍ति पश्‍चात्तापको फल क्षमा मात्र होइन तर भजनसंग्रह ५१ लेखेर आज असङ्ख्‍य मानिसहरूको बीचमा आफ्‍नो आशिष् छोडेका छन्।

उपसंहार

धर्मशास्‍त्रमा तीन पटक भिन्‍दा भिन्‍दै शब्‍दहरूले हामीलाई जीवन र मृत्‍युको बाटोको अर्थ लगाउँदछ। हितोपदेशमा लेखेको छ, “कुनै बाटो मानिसलाई सोझोजस्‍तै लाग्‍छ, तापनि अन्‍तमा त्‍यसले मृत्‍युमा पुयाउँदछ।” यो पदलाई जोड दिएर बाइबलका अरू दुई पुस्‍तकहरूमा पनि राखिएका छन्। मत्तीको सुसमचारमा यसरी लेखिएको छ, “साँघुरो ढोकोबाट भित्र पस किनभने विनाशमा पुर्‍याउने ढोका फराकिलो र बाटो चौढा हुन्‍छ, र यसबाट भित्र पस्‍ने धेरै हुन्‍छन्। किनभने त्‍यो ढोका साँघुरो हुन्‍छ र त्‍यो बाटो असजिलो हुन्‍छ, जसले जीवनमा पुर्‍याउँछ, र त्‍यो भेट्टाउने थोरै हुन्‍छन् ” (मत्ती ७: १३)। व्‍यवस्‍थामा पनि यसरी लेखिएको छ, “हेर आज मैले तिमीहरूको अघी जीवन र हीत अनी मृत्‍यु र अहीत राखेको छु” (व्‍यवस्‍था ३०: १५)।

शाऊल आफूले हिँडेको बाटो जहिले पनि ठीक ठान्‍थे तर त्‍यसले मृत्‍यु र नष्‍टको मार्गतिर डोर्‍याएको थियो। उनले हिँडेको बाटो बहुमतको फराकिलो औ संसारिक मानिसहरू हिड्ने बाटोजस्‍तो थियो।

दाऊदले हिँडेको बाटो पनि केही हदसम्‍म गलत देखिन्‍थ्‍यो। गोल्‍यतजस्‍तो शक्तिशाली व्‍यक्तिसँग लड्न जानु मूर्खता देखिन्‍थ्‍यो। दाऊदले आफ्‍ना विरोधी शाऊललाई दुई पटक मार्ने मौका पाउँदा पनि मारेनन्। त्‍यसैले दाऊदलाई आफन्‍तहरूले बहुलाको संज्ञा दिए र त्‍यसपछि उनी एक्‍लै हिड्नु पर्ने भयो। उनी व्‍यक्तिगत रूपमा परमेश्‍वरसँगको सङ्गति र जीवनमा पुर्‍याउने साँघुरो बाटोमा हिँडे।

शाऊल र दाऊदको कथा शमूएलको पुस्‍तकहरुमा पाईन्‍छ । बिशेष गरि १ शमुएलको ८ - २०, २८, ३१ र २ शमूएल ६, ११, १२ अध्‍याय पढनुहोस। “म ता तिनीहरूले जीवन पाउन र त्‍यो प्रशस्‍त मात्रामा पाउन भनी आएँ।”

उहाँ हाम्रो जीवनमा कहिले पनि नसुक्‍ने जिउँदो पानीको मुहान हुनुहुन्‍छ। हामी उहाँकहाँ पिउन जानु पर्छ र त्‍यो पानी हामीबाट अनन्‍त जीवनसम्‍म रहिरहने पानीको मूल बन्‍नेछ।

यो पुस्‍तकलाई मुद्रण को लागि रंगिन [Color] छाप्‍ने फाइल

यो पुस्‍तकलाई मुद्रण को लागि श्‍याम-स्‍वेत [Black & White] छाप्‍ने फाइल

कसरी छाप्ने