सामरी स्‍त्री

प्रस्‍तावना

यूहन्‍नाको सुसमाचारको चौथो अध्‍यायमा सामरी स्‍त्रीको परिचित कथा छ। हाम्रो पहिलो हेराइमा देखिने धर्मशास्‍त्रका अन्‍य भागहरूका जस्‍तै धेरै तथ्‍य यस कथामा पनि पाइन्‍छ। यसको सतहमुनि रहेको आत्‍मिक सत्‍यता र प्रकाशको खानी खनेर निकालिन प्रतीक्षित (बाँकी) छ। सत्‍यताको बहुमूल्‍य रत्‍नहरू यसभित्र छिपेर रहेका छन् जसलाई हामीले सयौंपटक पढे तापनि छापिएका शब्‍दहरूभन्‍दा अरू बढी केही देख्‍तैनौँ। मैले धर्मशास्त्रको यस खण्डमा भित्रैसम्‍म लुकेर बसेका ती रत्‍नहरू पाउने आशा राखेको छु ।

मानिसको सङ्ख्‍या

हामी उक्त खण्डको पहिलो तीन पदहरूबाट शुरू गरौँ, “जब यूहन्‍नाभन्‍दा येशूले धेरै चेलाहरू बनाउँदैहुनुहुन्‍छ, र बप्‍तिस्‍मा पनि दिँदैहुनुहुन्‍छ भन्‍ने फरिसीहरूले सुने भनी प्रभुले थाहा पाउनुभयो, (तापनि येशू आफैले त होइन तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिन्‍थे) तब उहाँ यहूदिया छोडेर फेरि गालीलमा जानुभयो।”

फरिसीहरू येशूले बप्‍तिस्‍मा दिने मानिसहरूको सङ्ख्‍यामा चासो राख्‍दथे, किनभने सङ्ख्‍या तिनीहरूको लागि महत्त्‍वपूर्ण थियो। शारीरिक (संसारिक) मानिसले सेवकाइलाई बाहिरी रूपमा प्रभाव पार्ने कुराहरूमा चासो राख्‍तछन् र तथ्‍याङ्कमा प्रशन्‍न हुन्‍छन्, जस्‍तै : कति मानिसले प्रभुलाई ग्रहण गरे ? कति मण्‍डलीमा आए ? "प्रभाव पार्ने साक्षी" बनिनका लागि देख्‍न सकिने केही प्रमाणहरू छन् त ? कति प्रतिष्‍ठित स्‍थानीय मानिसहरूले चासो लिए ? कति जनाले बप्‍तिस्‍मा लिए ? इत्‍यादि।

१ इतिहास २१:१ मा हामी पढ्छौँ, कि शैतानले इस्राएलको विरुद्धमा उठेर दाऊदलाई आफ्‍नो प्रजाको सङ्ख्‍यालिन सुर्‍यायो र दाऊद त्‍यस परीक्षामा परे। जब कि योआब, तिनका अभक्ति (इस्राएलीहरूको परमेश्‍वरमा विश्‍वास नगर्ने ) सेना अध्‍यक्षले त्‍यसो गर्न उचित ठानेनन्। दाऊद आफ्‍नो सैन्‍यदलको शक्तिमा सुरक्षित हुनका लागि कति जवानहरूलाई भेला गर्न सकिँदो रहेछ भनी जान्‍न चाहन्‍थे। तिनले त्‍यसबेला आफ्‍नो मित्र जोनाथनको वचनलाई बिर्से। उनले यसो भनेका थिए, “सङ्ख्‍या धेरै होस् वा थोरै त्‍यसले प्रभुलाई काम गर्नबाट रोक्‍न सक्‍दैन।” तब तिनी आफ्‍नो हतियार बोक्‍नेलाई साथमा लिई पलिस्‍तीहरूलाई पराजित गर्न निस्‍के (१ शमूएल १४:६)। दाऊद एक्‍लैले पलिस्‍ती वीर गोल्‍यतलाई मारेको आफ्‍नै अनुभवलाई बिर्सेका थिए। परिणामस्‍वरूप, परमेश्‍वरको इन्‍साफ इस्राएलमाथि आइलाग्‍यो र दाऊदले आफ्‍नो पाप स्‍वीकार गर्दै यसो भने, “मैले यो काम गरेर ठूलो पाप गरें।”

फरिसीहरू येशू र बप्‍तिस्‍मा दिने यूहन्‍नाद्वारा बप्‍तिस्‍मा भएका मानिसहरूको सङ्ख्‍या तुलना गर्दै थिए। त्‍यस अवस्‍थाप्रति येशूको प्रतिक्रिया कस्‍तो थियो ? जवाफ सरल भए तापनि छक्‍कै पार्ने खालको छ- उहाँ त्‍यो ठाउँबाट निस्‍की अन्‍तै जानुभयो। धेरै आधुनिक प्रचारकहरूले त्‍यसो गर्दैनन्। के तिनीहरू शहरमा भएको सफल सेवकाइलाई त्‍यागेर नयाँ ठाउँमा प्रतिस्‍पर्धा गर्न चाहन्‍थे होलान् त? हुनसक्‍छ, येशू र उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिन ठ्याम्‍मै बन्‍द गरे होलान्, तर सुसमाचारको पुस्‍तकमा त्यसपछि त्‍यसो गरेको अर्को कुनै विवरण पाइँदैन।

२ पदमा हामी पढ्छौँ, “आफैले त होइन तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिन्‍थे।” पावलले पनि यस उदाहरणलाई पच्‍छ्याएका छन्‌ (१को १:१४-१७)। न ता तिनी न येशू आफै उचालिन चाहन्‍थे वा उचालिन आवश्‍यक नै थियो। उहाँहरू प्रमुख स्‍थान अरूहरूले पाएकोमा प्रसन्‍न थिए। प्रशंसा गर्ने भीडको सामुन्‍ने आफूलाई प्रदर्शन गर्नुभन्‍दा आफ्‍नो सेवकाइको परिणामहरू गुप्‍तमा राख्‍नु अति असल हुन्‍छ।

जात र लिङ्ग

येशू यहूदियामा भइरहेको आत्‍मिक जागृति र त्‍यहाँको ठूलो भीडलाई छोडेर सामरियाको बाटो हुँदै गालीलतिर लाग्‍नुभयो, त्‍यहाँको अवस्‍था साह्रै राम्रो देखिदैनथ्‍यो। तिनका चेलाहरू शहरतर्फ भोजन किन्‍न जाँदा उहाँ थकित भई याकूबको इनारको डीलमा बस्‍नुभएको थियो। एउटी सामरी स्‍त्री पानी भर्न त्‍यहाँ आइन्। सामरीहरू जात गएका मानिस थिए, तिनीहरूका पितापुर्खा यहूदी नै भए तापनि आफूकहाँ बस्‍न आउने अन्‍यजातिसँग विवाह गरेका थिए। त्यसैकारण यहूदीहरूले तिनीहरूलाई तिरस्‍कार गरी सबै सम्‍बन्‍धबाट तर्किन (छुट्ट्याउन) कोसिस गरे।

येशूले तिनलाई “पानी पिउन देऊ” भन्‍नुहुँदा उहाँले दुईवटा परम्‍पराहरूलाई भंग गर्दैहुनुहुन्‍थ्‍यो। पहिलो- उहाँ अपरिचित स्‍त्रीसँग वातचित गर्नु र दोस्रो- पराइको हातबाट पानी पिउन माग्‍नु। पावल गलातीहरूलाई यसरी लेख्‍तछन्, “अब यहूदी, ग्रीक, कमारा, फुक्‍का, नर र नारीमा भेद छैन, किनभने तिमीहरू सबै ख्रीष्‍ट येशूमा एउटै छौ” (गलाती ३:२८)। यी दुबै भेदभावहरू पुरानो करारमा ज्‍यादै महत्त्‍वपूर्ण मानिन्‍थ्‍यो अनि आज पनि नेपालमा कतै-कतै त्‍यस्‍तो नराम्रो चलन छ। येशूले ती अन्‍यजाति स्‍त्रीसँग आत्‍मिक विषयहरूमा वातचित गर्नुहुँदा उहाँ दुबै भेदभावहरूप्रति असहमत हुनुभयो।

अचम्‍मको वार्तालाप यस प्रकार छ:

आत्‍मिक समझ

सामरी स्‍त्रीले उहाँलाई भनी, “तपाईं यहूदी भएर म सामरी स्‍त्रीको हातबाट कसरी पानी पिउनुहुन्‍छ?” ” येशूले जवाफ दिनुभयो, “तिमीले परमेश्‍वरको वरदान र मलाई पानी पिउन देऊ, भनेर तिमीलाई भन्‍ने को हो ? उसलाई चिनेकी भए तिमीले उसँग माग्‍ने थियौ र उसले तिमीलाई जीवनको पानी दिने थियो।” त्‍यस स्‍त्रीले उहाँलाई भनीन, “हजूर तपाईंसँग उघाउने भाँडो छैन। इनार गहिरो छ, तब कहाँबाट तपाईंसित त्‍यो जीवनको पानी आउँछ ? के तपाईं हाम्रा पुर्खा याकूबभन्‍दा ठूलो हुनुहुन्‍छ ?” तिनी येशूले भनिरहनुभएको कुरा बुझ्‍न असमर्थ थिइन्। उहाँ आत्‍मिक ‘जिउँदो पानीको’ बारेमा कुरा गर्दैहुनुहुन्‍थ्‍यो तर तिनी स्‍वभाविक पानीको बारेमा मात्र विचार गर्न सक्‍थिन्।

सम्‍भवत: धर्मशास्‍त्रको अन्‍य भागहरूभन्‍दा यूहन्‍नाको सुसमाचार पढ्दा, हामी स्‍वभाविक विचारले यसलाई कदापि बुझ्‍नसक्‍तैनौँ। यशैया लेख्दछन्, “किनभने मेरा विचारहरू तिमीहरूका विचार होइनन्। तिमीहरूका चाल मेरा चालहरू होइनन्, परमप्रभु भन्‍नुहुन्‍छ। किनकि जसरी आकाश पृथ्‍वीभन्‍दा अग्‍लो छ, त्‍यसरी नै मेरो चाल तिमीहरूको चालभन्‍दा र मेरा विचार तिमीहरूको विचारभन्‍दा अग्‍लो छ” (यशैया ५५:८, ९)। यूहन्‍ना ३ अध्‍यायको अन्‍त्‍यमा त्‍यससँग मिल्‍दो जुल्‍दो शब्‍दहरू देखिन्‍छ अनि लगतै हामीले विचार गरिरहेको अनुच्‍छेदतिर बढ्छ, “माथिबाट आउने सबैभन्‍दा माथिका हुन्। पृथ्‍वीबाट आउने पृथ्‍वीकै हो, र पृथ्‍वीकै कुरा बोल्‍छ। स्‍वर्गबाट आउने सबैभन्‍दा माथिका हुन् ......उहाँको गवाही कसैले ग्रहण गर्दैनन् .....किनभने जसलाई परमेश्‍वरले पठाउनुभयो, त्‍यसले परमेश्‍वरकै वचनहरू बोल्‍दछ” (यूहन्‍ना ३:३१-३४)।

येशू माथिबाटको हुनुहुन्‍थ्‍यो। उहाँका विचार र वचनहरू परमेश्‍वरका विचार र वचनहरू थिए। हाम्रा विचारहरू उहाँका आत्‍माद्वारा नविकरण गरिएको र परिर्वतन भएको छ भने हामी उहाँले भन्‍नु र गर्नुभएका कुरा बुझ्‍छौँ।। “.........उहाँले के भन्‍दै हुनुहुन्‍थ्‍यो, तिनीहरूले बुझ्‍न सकेनन्” यदि हाम्रा विचार नयाँ गरिँदैन भने, हाम्रा लागि उपयुक्त होऊन् भनी लेखिएको सुसमाचारका शब्‍दहरू पनि त्‍यस्‍तै हुनेछन्।

पुरानो करारको मध्‍यस्‍थकर्ता मोशा भएजस्‍तै येशू नयाँ करारको मध्‍यस्‍थकर्ता हुनुहुन्‍थ्‍यो। नयाँ करार स्‍वर्गीय र आत्‍मिक करार हो। पुरानो करारले मुख्‍यत: सांसारिक र स्‍वभाविक प्रचलनलाई अंगालेको थियो। पुरानो कुरा स्‍वभाविक मानिसले बुझ्‍न सक्‍ने खालको थियो तर नयाँचाहिँ आत्‍मिक समझ भएका मानिसहरूद्वारा मात्र बुझ्‍न सकिन्‍छ। पुरानो स्‍भाविक स्‍पष्‍टताको स्‍थान नयाँ आत्‍मिक स्‍पष्‍टताले लिएको छ। स्‍वभाविक जन्‍मद्वारा अब्राहामको सन्‍तान हुनेहरूभन्‍दा आत्‍मामा नयाँ जन्‍म पाउनेहरू नै साँचो यहूदीहरू हुन्।

याकूबको इनार

येशूले व्‍याख्‍या गर्दै भन्‍नुभयो, “यो पानी पिउने फेरि तिर्खाउनेछ तर मैले दिने त्‍यो पानी जसले पिउँला त्‍यो कहिल्‍यै तिर्खाउनेछैन। तर जुन पानी म त्‍यसलाई दिनेछु, त्‍यो पानी त्‍यसमा, अनन्‍त जीवनसम्‍म उम्रिरहने पानीको मूल बनिनेछ।”

हामी येशू र त्‍यस स्‍त्रीका शब्‍दहरूका बीच कति धेरै अचम्‍मको अन्‍तर पाउँछौँ। तिनी टाढाबाट हिँडेर थाकेको अवस्‍थामा पानी उघाउने भाँडो लिएर आउनेहरूका लागि मात्र प्राप्‍त हुने गहिरो इनारको पुरानो करारको दुर्लभ पानीको बारेमा बताउँछिन्‌ तर उहाँ, सँधै नजिकै रहेको नयाँ र अनन्‍तसम्‍म निरन्‍तर रहिरहने मूल आत्‍मिकी श्रोतको विषयमा बोल्‍दैहुनुहुन्‍थ्‍यो। मध्‍यान्‍हको प्रचण्‍ड गर्मीमा हिँडेर एक दिनलाई मात्र पुग्‍ने पानी लिन जान हामीलाई कति समय लाग्‍ला?

१५ पदमा स्‍त्रीले उहाँलाई भनी, “हजूर मलाई त्‍यही पानी दिनुहोस् र म तिर्खाउने छैनँ, र यहाँ पानी भर्नलाई आउनुपर्दैन।” अझ पनि तिनले येशूका कुरा बुझिनन् अनि सम्‍भवत: त्‍यो तिनको ठाडो जवाफ थियो। येशूले प्रसङ्ग बदलेर भन्‍नुभयो, “जाऊ र तिम्रा लोग्‍नेलाई बोलाएर ल्‍याऊ !” त्‍यस स्‍त्रीले भनी, “मेरो लोग्‍ने छैन।” येशूले त्‍यसलाई भन्‍नुभयो, “मेरो लोग्‍ने छैन भनी तिमीले ठीकै भन्‍यौ, किनभने तिम्रा पाँचवटा लोग्‍ने भइसकेका छन्‌, र जो अहिले तिमीसित छ, त्‍यो तिम्रो लोग्‍ने होइन। तिमीले यो साँचो भनेकी हौ।”

स्‍त्रीले त्‍यो कुराचाहिँ बुझिन् किनभने वचनले तिनको अनैतिक जीवनलाई प्रकट गर्‍यो र ती सबै येशूमा परमेश्‍वरको शक्तिको प्रदर्शन थियो। येशूलाई तिनले नचिने तापनि उहाँले तिनलाई चिनिसकेको तिनले थाहा पाइन्‌। तिनी साधारण मानिससित होइन तर परमेश्‍वरसित बोल्‍दैथिइन र परमेश्‍वर तिनीसँग बोल्‍दै हुनुहुन्‍थ्‍यो। तिनको विवेक तुरुन्तै चेतनशील भयो र धर्मको विषयमा कुरा गर्न थालिन्‌।

कुन सम्‍प्रदाय?

“हजूर, तपाईं अगमवक्ता हुनुहुन्‍छ भनी म थाहा पाउँछु, हाम्रा पुर्खाले यस डाँडामा (गेराजिम) पूजा गरे र तपाईंहरू (यहूदीहरू) भन्‍नुहुन्‍छ, कि पुज्‍नपर्ने स्‍थान यरूशलेम हो।” यस्‍ता कुरा हामीले कति पटक सुनेका छौँ? तपाईं जाँदै गर्ने सङ्गति वा मण्‍डलीमा यस्‍ता विषयमा लामा-लामा छलफल हुन्‍छन्। ती दिनहरूमा पनि यो कुनै नौलो कुरा मानिदैनथ्‍यो। धेरै समयअघि यहोशूले इस्राएलको निम्‍ति आशिष्‌को कामना गरेको यस गेराजिम डाँडामा सामरीहरूले शताब्‍दीऔँदेखि पूजा गरिरहेका थिए। दाऊदले तिनको राजधानीमा सुलेमानले मन्‍दिर बनाएको दिनदेखि यहूदीहरूले यरूशलेममा परमेश्‍वरलाई पुज्‍दै आइरहेका थिए। यी दुई स्‍थानहरूमध्‍ये येशूले कुनचाहिँलाई ठीक भन्‍नुभयो अथवा उहाँको विचारमा कुनचाहिँ ठाउँ पवित्र थियो?

आज पनि ठीक उही अवस्‍था छ। तपाईं क्‍याथोलिक हुनुहुन्‍छ कि प्रोटेस्‍टेन्‍ट? तपाईं परम्‍परागत सम्‍प्रदायमा जान्‍नुहुन्‍छ कि घरेलु सङ्‍गतिमा? तपाईं कहाँ आराधना गर्न जानुहुन्‍छ सो हामीले जानेकै हुनुपर्छ। तपाईं हाम्रो झुण्‍डको हुनुहुन्‍छ कि अर्कै झुण्‍डको? तपाईसँग हाम्रो सङ्‍गति सुरक्षित हुनसक्‍छ कि सक्‍दैन? इत्‍यादि।

येशूले तिनलाई दिनुभएको अचम्‍मै लाग्‍ने जवाफ हेरौं, “ए नारी, मलाई विश्‍वास गर, त्‍यो बेला आउँदैछ, जब तिमीहरू न त यस डाँडामा, न यरूशलेममा, पितालाई पुज्‍नेछौ।” परमेश्‍वरसँग गेराजिम र यरूशलेमभन्‍दा अझ उच्‍च कुराहरू छन्‌। विगतमा यी दुबै स्‍थानहरू परमेश्‍वरद्वारा आशिषित भएका थिए, तर ती दुबै ठाउँहरू बितेरजाने पुरानो कुराको एक भागमात्र थियो।

येशूले यहाँ एउटा मूलभूत कुरा भन्‍नुभएको थियो। किनभने शताब्‍दीऔँदेखि यरूशलेमचाहिँ यहूदी धर्म, राष्‍ट्रिय चाहना र आशाको केन्‍द्र थियो र आजसम्‍म पनि यथावतै छ। उक्त कुरा परमेश्‍वरकै आज्ञाको कारण भएको थियो। त्‍यो ठाउँ परमेश्‍वरले आफ्‍नो नाउँ राख्‍न छान्‍नुभएको र यहूदी धर्मावलम्‍बीहरूको तीर्थस्‍थान थियो। जस्‍तै: हिन्‍दूहरू तीर्थधामको लागि मुक्तिनाथ र वनारस, मुस्‍लिमहरू मक्‍का मदिना र बुद्ध धर्मावलम्‍बीहरू लुम्‍बिनी जान्‍छन्। त्‍यस्‍तै प्रत्‍येक धार्मिक यहूदी जो जति जान सक्‍दथे परमेश्‍वरको महान् चाँडहरू मनाउँन एक वर्षमा तीन पटक यरूशलेम जाने गर्दथे। त्‍यो मानवीय परम्‍परामात्र थिएन तर पुरानो नियममा परमेश्‍वरले दिनुभएको आज्ञा थियो। येशूले अन्‍तिम आज्ञा घोषणा गर्दै शताब्‍दीऔँदेखि चलिआएको परम्‍परालाई मेटाउँदै हुनुहुन्‍थ्‍यो। यहूदी बाइबल (पुरानो नियम) ले भन्‍छ, "ए, यरूशलेम यदि मैले तँलाई बिर्सेभने मेरो दाहिने हातले तेरो धूर्ततालाई बिर्सने छ" (भजन १३७: ३)।

के येशूलाई धर्मशास्‍त्रको ज्ञान थिएन् र? निश्‍चय नै उहाँलाई त्‍यो थाहा थियो र उहाँले त्‍यसको आत्‍मिक अर्थलाई प्रष्‍ट पनि पार्नुभयो। उहाँ माथिबाटको हुनुहुन्‍थ्‍यो र परमेश्‍वरको वचन बोल्‍नुभयो अनि उहाँलाई थाहा थियो कि त्‍यो देखिने यरूशलेम वास्‍तविक स्‍वर्गीय यरूशलेमको सांसारिक छाया (प्रतिविम्‍व) भन्‍दा बढ्ता केही थिएन।

के येशूले सामरिया र यरूशलेम दुबै समान हुन् भन्‍न खोज्‍नुभएको हो त ? अवश्‍य होइन ! उहाँले खुलस्‍त रूपमा भन्‍नुभयो, "तिमीहरूले जे जान्‍दैनौ त्‍यो पुज्‍दछौ, हामी जे जान्‍दछौँ सो पुज्‍दछौँ, किनभने मुक्तिचाहिँ यहूदीबाट छ" (२२ पद)। त्‍यसै गरी, हिजोआजका मानिसहरूले सोचेजस्‍तै सबै सम्‍प्रदायहरू समान हुन्‌ भनी हामी भन्‍न सक्‍दैनौँ। मानिसहरूले धर्मशास्‍त्रमा सच्‍चाइको खोजी गरे, पवित्र आत्‍माको अगुवाइमा प्रोटेस्‍टेन्‍टवादको जन्‍म भएको थियो। त्‍यसै गरी पतन भएको मण्‍डलीबाट परमेश्‍वरको अगुवाइमा मेथोडिस्‍टवाद छुट्टियो। सत्‍य र अनुभवीहरूको आश्‍चर्यजनक पुनर्स्‍थापनाको लागि असल विश्‍वासीहरू एल-शद्दाइ र पेन्‍टिकोस्‍टल अभियान जो प्राचीन मण्‍डलीको समयदेखि समूल (सतावटको कारणले गर्दा) लोप भएका थिए।

तापनि, येशू नयाँ नियमको प्रतीक्षामा हुनुहुन्‍थ्‍यो, “तर बेला आउँछ, र अहिल्‍यै हो, जब साँचोसँग पुज्‍नेहरू पितालाई आत्‍मा र सत्‍यतामा पुज्‍नेछन्। किनकि पिताले उहाँलाई पुज्‍नेहरू यस्‍तै चाहनुहुन्‍छ। परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ, र उहाँलाई पुज्‍नेहरूले आत्‍मा र सत्‍यतामा पुज्‍नुपर्दछ” (यूहन्‍ना ४: २३,२४)। के त्‍यो नयाँ नियम आइपुग्‍यो त ? येशूले भन्‍नुभयो, “तर बेला आइरहेछ र अहिले नै हो ......” साँच्‍चै भनौँ भने आएको छैन, तर पुरानो नियमका सन्‍तहरूझैं विश्‍वासैद्वारा जिउनेहरू आफ्‍नो समयभन्‍दा अघि बढ्‍न सक्‍छन्। बहुसङ्‍ख्‍यकहरूका लागि यो नयाँ नियम भविष्‍य नै थियो तर यस नयाँ क्षेत्रभित्र प्रवेश गर्नेहरूका निम्‍ति सुन्‍दर वर्तमान छ। यसकारण अब म विश्‍वास गर्छु, कि नयाँ नियम आइरहेछ र अहिले नै हो।

आत्‍मामा

“आत्‍मामा” येशूले यसको के अर्थ लगाउनु हुन्‍छ?

आत्‍माको विरोधाभास शरीरसँग छ। पुरानो करार शरीरिक करार थियो। त्‍यो स्‍वभाविक आँखाले प्रत्‍येक कुरा देख्‍न सकिने अनि स्‍वभाविक विचारले स्‍पष्‍ट बुझ्‍न सकिने स्‍वभाविक नियम थियो। यहूदीहरू अरूहरूबाट स्‍पष्‍टसँग छुट्‍ट्याउन सकिने स्‍वभाविक मानिसहरू थिए। यहूदी परिवारले स्‍वभाविक जन्‍मबाट पुरानो करारका अधिकारलाई स्‍वत: प्राप्‍त गर्थे। नयाँ करार आत्‍मिक करार हो, आत्‍मिक जन्‍मद्वारा यसमा प्रवेश पाइन्‍छ। “तपाईं पानी र आत्‍माले नजन्‍मिएसम्‍म स्‍वर्गको राज्‍यमा प्रवेश गर्न सक्‍नुहुन्‍न।” आत्‍मिक जन्‍म स्‍वभाविक आँखाले देख्‍न सकिँदैन। यो बतासजस्‍तै छ किनकि, “बतास जता इच्‍छा गर्छ बहन्‍छ। तिमीले त्‍यसको आवाज सुन्‍छौ, तर कहाँबाट आउँछ र कता जान्‍छ त्‍यो जान्‍दैनौ। आत्‍माबाट जन्‍मेको हरेक त्‍यस्‍तै हुन्‍छ” (यूहन्‍ना ३: ८)।

पुरानो करारको पूजाहारीले आफ्‍ना पूर्खाहरूबाट पाएको स्‍वभाविक वंशावलीअनुसार नै सेवाहरू सञ्‍चालन गर्थे। तिनीहरू को हुन भनी सबैलाई थाहा हुन्‍थ्‍यो। नयाँ करारका पुजाहारीहरू मानिसहरूद्वारा होइन तर परमेश्‍वरद्वारा अभिषेक पाएका आत्‍मिक पूजाहारीहरू हुन्। तिनीहरूलाई विशेष पहिरन वा उपाधिद्वारा परिचय दिन पर्दैन तर आत्‍मिक मानिसले आत्‍मामा मात्र जान्‍न र चिन्‍न सक्‍छ।।

पुरानो करारको मन्‍दिर प्राकृतिक ढुङ्गाहरूद्वारा निर्मित स्‍वभाविक भवन थियो। नयाँ करारको मन्‍दिर स्‍वभाविक सामग्रीहरूद्वारा होइन, तर परमेश्‍वरले दिनुभएको अचम्‍मको आत्‍मिक एकताद्वारा एक आपसमा मिली आत्‍मिक जीवित पत्‍थरहरूद्वारा निर्माण गरिएको हुन्‍छ।

पुरानो करारका विशेष दिनहरूमा मनाइने स्‍वभाविक चाड़हरू जसमा सबैजना सजिलै बर्सेनी सहभागी हुन्‍थे। परमेश्‍वरले आत्‍माद्वारा अर्थ खोली दिनुहुने हुँदा हामीले ती चाडहरूको अर्थ थाहा पाउन र आनन्‍द मनाउन सकिने आत्‍मिक वरदानहरू नै नयाँ चाड़हरू हुन्।

नयाँ करारका यी कुनै पनि महान् आत्‍मिक वास्‍तविकताहरू स्‍वभाविक (साधारण) मनले ठीकसँग चिन्‍न र जान्‍न सकिँदैन। “स्‍वभाविक (साधारण) मानिसले परमेश्‍वरको आत्‍माका कुराहरू ग्रहण गर्न सक्‍तैन, किनकि ती आत्‍मिक रीतिले जाँचिएका हुन्‍छन्” (१को २:१४)।

....... र सत्‍यतामा

“सत्‍यतामा" - येशूले यसको के अर्थ लाउनुहुन्‍छ?

सत्‍यताको लागि प्रयोग गरिएको ग्रीक शब्‍द αληθεια (अलेथैया) मा पनि वास्‍तविकताको सार्थकता छ। पुरानो करारका बलिदानहरू र धार्मिक विधिहरू आउने कुराको छाया मात्र थिए (हिब्रू ८:५ र १०:१ पढ्नुहोस्)। नयाँ करार वास्‍तविक कुरा हो। कुनै छाया मौलिकताको राम्रो नकलमात्र हो तर मूलतत्त्‍व भने होइन। एउटा चित्रलाई नै हेरौँ, यो आफैमा कुनै मूल्‍यको नहुन सक्‍छ तर पनि यसले कुनै वास्‍तिविक कुरालाई देखाइरहेको हुन्‍छ। घरबाट टाढा रहँदा केही नहुनुभन्‍दा परिवारको एउटा फोटो हुनु पनि एक प्रकारले राम्रै हो तर त्‍यसले पूर्णरूपमा सन्‍तुष्‍टि भने दिन सक्‍दैन्, किनभने त्‍यो जीवनरहितको सम्‍झनामात्र हो। अपरिचित व्‍यक्तिको एउटा फोटोले तपाईंलाई बाहिरी चिनारी दिनसक्‍छ तर प्रत्‍यक्ष नभेटेसम्‍म तपाईं उक्त व्‍यक्तिको वास्‍तविकता थाहा गर्न सक्‍नुहुन्‍न। त्‍यसरी नै पुरानो करार आत्‍मिक वास्‍तविकताहरूको उत्‍कृष्‍ट नमूनारूपी चित्र र फोटोमात्र थियो; तर आफैमा चाहिँ कुनै मूल्‍यको थिएन। “किनकि साँढे र बोकाहरूको रगतले पापहरण गर्न असम्‍भव छ” (हिब्रू १०:४)। परमेश्‍वरको निष्‍कलङ्क साँचो थुमा येशूको रगत नै वास्‍तविक यथार्थ हो।

आँखाले देख्‍न, कानले सुन्‍न र हातले छुन सकिने कुराहरू कुनै व्यक्तिको स्‍वभाविक मनको लागि वास्‍तविक र मौलिक कुराहरू हुन्‌। आत्‍मिक क्षेत्र छायादार र अनिश्‍चित छ, परमेश्‍वरको लागि यो ज्‍यादै विपरित छ, किनभने परमेश्‍वर आफै आत्‍मा हुनुहुन्‍छ। आत्‍माका कुराहरू ठोस, चिरस्‍थायी र वास्‍तविक हुन्‍छन्। सम्‍पूर्ण भौतिक क्षेत्र परिवर्तनशील (अस्‍थायी) छ र यसको उद्देश्‍य अनुरूप काम पूरा भइसकेपछि त्‍यो बितेर जानेछ। सत्‍यता र वास्‍तविक कुराहरू पुरानो करारको बलिदान र औपचारिकताहरूमा भर पर्दैन, तर ख्रीष्‍टिय जगतमा केही मात्रामा उक्त कुराहरू विद्यमान होला तर आत्‍मिक क्षेत्रमा भने त्यो टाढै रहन्‍छ।

हामीले यूहन्‍नाको सुसमाचार पूरै अध्‍यन गरी सत्‍य र सत्‍यताका वचनहरूका रहस्‍य अझ बढी सिक्‍न सक्‍छौँ“किनभने मेरो देह साँच्‍चिकै खानेकुरा हो , र मेरो रगत साँच्‍चिकै पिउने कुरा हो” (यूहन्‍ना ६:५५)। “र तिमीहरूले सत्‍य के हो, सो जान्‍नेछौं, र सत्‍यले तिमीहरूलाई स्‍वतन्‍त्र तुल्‍याउने छ”(यूहन्‍ना ८:३२)। “.....सत्‍य......मनै हुँ”(यूहन्‍ना १४:६)। “साँचो दाखको बोट मनै हुँ”(यूहन्‍ना १५:१) “त्‍यसैको निम्‍ति गवाही दिउँ भनेर म यस संसारमा आएको हुँ। जो सत्‍यको छ, हरेकले मेरो सोर सुन्‍छ” (यूहन्‍ना १८: ३७) अनि पिलातसले प्रश्‍न गर्दै भने, “सत्‍य के हो?”

आउनुहुने मसीह

यूहन्‍ना ४:२५ मा स्‍त्री भविष्‍यतर्फ यसरी लक्षित हुन्‍छिन् “म जान्‍दछु कि ख्रीष्‍ट भनिने मसीह आउनुहुन्‍छ र जब उहाँ आउनुहुन्‍छ तब उहाँले नै हामीलाई सबै कुरा बताउनुहुनेछ।” अरू मानिसहरूजस्‍तै तिनी पनि भविष्‍यप्रति आशामुखि भई अतितका कुराहरूमा नै (याकूबको इनार) अभिरुचि राख्‍दथिन्।

केही हदसम्‍म अतित र भविष्‍य दुबैलाई समान रूपमा हेर्न उचित हुन्‍छ। परमेश्‍वरले योजना गर्नुभएको केही कामलाई हामीले जानेको भए उहाँले भत्‍काउँदै गर्नु भएकोलाई निर्माण गर्न र विरोधमा उहाँले निर्माण गर्नु हुँदै गरेकोलाई सजिलैसँग बिगार्न कोसिस गर्ने थिएनौँ। “दर्शन विनाका मानिसहरू नष्‍ट हुन्‍छन्।” वर्तमान परमेश्‍वरसँग असल मार्गमा हिँड्‍नु हो भने हामीलाई भविष्‍यको निम्‍ति परमेश्‍वरबाट पाएका आन्‍तरिक अगमवाणीको आवश्‍यकता पर्छ। अनि यो हामीलाई भविष्‍यवारे सिकाइएको कुरामा प्रश्‍नै नगरिकन भर पर्ने कुराजस्‍तो छैन। हिजो-आजका धेरै मानिसहरूले जस्‍तै त्‍यस स्‍त्रीले पनि मसीह आउनुहुने कुरालाई दृढ विश्‍वास गरिन् तर त्‍यो तिनको जीवन परिवर्तन गर्ने वा उहाँ तिनकै अगाडि उभिनुहुँदा उहाँलाई चिन्‍न सहयोग गर्ने विश्‍वास भने थिएन। तिनको समयका अरू थोरै मानिसले मसीह आउनुहुनेछ भनी विश्‍वास गर्थे, उहाँ आउनुहुँदा ती मध्‍येकै केहीले उहाँलाई क्रूसमा झुण्‍ड्याए। आज पनि त्‍यस्‍तै अवस्‍था छ भन्‍ने कुरामा मलाई झिनो शंका लाग्‍छ।।

“तिमीसित बोल्‍ने, म, उही हुँ ,” भन्‍ने येशूका यी तीखा शब्‍दले त्‍यस स्‍त्रीलाई भविष्‍यका कुराबाट वर्तमानमा ल्‍यायो। येशू “म हुँ” हुनुहुन्‍छ, म हुनेछु पनि होइन नता म थिएँ , तर “म हुँ”भन्‍ने नै हो। तिनकै लागिचाहिँ, प्रकाशको समय अहिले (वर्तमान) थियो।

येशूले स्‍वयम् आफ्‍नै प्रकाश दिनुभएको थियो र प्रतिक्रियालाई हेर्दा तिनले सहर्ष स्‍वीकार गरिन्‌ भनी भन्‍न सक्‍छौँ। तिनले आफ्‍नो प्रयोगको निम्‍ति चलाउदै गरेको पुरानो गाग्रो छोडीन् र शहरमा फर्की गएर आफूले भर्खरै पाएका मसीहलाई भेट गराउन अरुहरूलाई ल्‍याईन्। येशू भिडलाई छोडेर एउटी पापी, दलित स्‍त्रीलाई आफ्‍नो अमूल्‍य समय दिन तयार हुनुभयो। परिणाम चाहिँ तिनले मात्र नभै, अरु धेरैले पनि उहाँलाई स्‍वीकार्न सके।

यस प्रकार त्‍यस स्‍त्रीले वर्तमान प्रकाशको क्षेत्रमा प्रवेश पाइन्‌। परमेश्‍वरलाई चिन्‍छु भन्‍ने पुरुष वा स्‍त्रीको निम्‍ति यो एउटा जाँच हो। के उहाँ आजको पनि परमेश्‍वर हुनुहुन्‍छ? हिजो-आजको भाषा बोल्‍नुहुन्‍छ? आजको समस्‍या र आवश्‍यकताहरू पूरा गर्न सक्‍नुहुन्‍छ? केही मानिसहरू हिजोका लडाइँ लड्‌ने प्रयासमा आफ्‍ना जीवन नै बिताउँछन्। तिनीहरू पहिलो युगका इसाईहरूका दिन फर्काउन चाहन्‍छन्। परमेश्‍वर मरेकाहरूका होइन तर जीवितहरूका परमेश्‍वर हुनुहुन्‍छ, भूत र भविष्यका मात्र होइन तर वर्तमानका पनि परमेश्‍वर हुनहुन्‍छ।

आफ्‍नो पुस्‍ताको जीवनपर्यन्‍त सेवा गर्दै सदाको लागि सुत्‍ने दाऊदजस्‍तै प्रत्‍येक सन्‍तप्रति हामी परमेश्‍वरमा धन्‍यवाद चढाउछौँ। हाम्रो पुस्‍ताको सेवा गर्ने समय यही हो तर तिनीहरूको पुस्‍ताको होइन। येशूले त्‍यस स्‍त्रीलाई भन्‍नु भएको “तिमीसित बोल्‍ने, म उही हुँ” भन्‍ने वचन यदि हामीले आफ्‍नो निम्‍ति सुन्‍यौँ भने हामी पनि यो काम अवश्‍य गर्न सक्‍छौँ।

यो पुस्‍तकलाई रंगिन [Colour] छाप्‍ने फाइल

यो पुस्‍तकलाई श्‍याम-स्‍वेत [Black & White] छाप्‍ने फाइल

कसरी छाप्ने