रोटी र दाखरस

जुन रात उहाँ पक्राउ पर्नुभयो त्‍यस रात प्रभु येशूले
रोटी लिनुभयो औ
धन्‍यबाद दिनुभएपछि उहाँले त्‍यो भाँच्‍नुभयो र भन्‍नुभयो

“यो तिमीहरूको निम्‍ति मेरो शरीर हो।
यो मेरो सम्‍झनाको निम्‍ति गर।”

त्‍यसैगरी खाइसक्‍नुभएपछि कचौरा लिएर यसो भन्‍नुभयो

“यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो,
जहिले जहिले तिमीहरू पिउँछौ मेरो सम्‍झनामा यो अक्‍सर गर्नेगर।”


१ कोरन्‍थी ११: २३-२५


प्राय: इसाई समुदायका मानिसहरू एक साथ भेला हुँदा तिनीहरूले रोटी र दाखरस खाने गर्दछन्। धेरैले यो हप्‍तामा (महिनामा) एक पल्‍ट खाने गर्छन् भने कसै कसैले धेरै पटक त कसैले थोरै पटक। कसैले यसलाई प्रभु भोज वा रोटी भचाइ भन्‍ने गर्छन् त कसैले यसलाई प्रभुसँगको पवित्र सङ्गति (Holy Communion) को संज्ञा दिन्‍छन्। क्‍याथोलिकहरूले यसलार्ई मिस्‍सा बलिदान (Mass वा Eucharist) भन्‍ने गर्छन्।

कसैले यसलाई धेरै महत्त्‍वपूर्ण मान्‍छन् त कसैले अलि कम, तर जसले यसमा भाग लिन्‍छन्, तिनीहरूले यो विश्‍वास गर्छन, कि उनीहरूले प्रभु येशूको आज्ञालाई मानिरहेका छन्। यही कुरा उहाँ फेरि नआउञ्‍जेलसम्‍म गरी रहन प्रभुले आज्ञा गर्नु भएको थियो। यसको सुरुवात कसरी भयो भनी हामी अध्‍ययन गरी हेरौँ।

निस्‍तार चाड़

निस्‍तार चाड़ यहूदीहरूले मान्‍ने एउटा विशेष चाड़ थियो, जुन लेवीको पुस्‍तक २५ अध्‍यायमा उल्‍लेखित सात चाड़हरूमध्‍ये एक थियो। यो अति महत्त्‍वपूर्ण वार्षिक उत्‍सव थियो। इस्राएलीहरू मिश्रदेशबाट निस्‍केको रात यो चाड सुरु भएको थियो, त्‍यही दिन उनीहरूको आफ्‍नो देशको जन्‍म भयो। त्‍यो तिनीहरूको स्‍वतन्‍त्रताको दिन थियो। २००७ साल फागुण ७ गते नेपाल स्‍वतन्‍त्र भएको थियो। त्‍यसैले वर्षै पिच्‍छे फागुण ७ गतेलाई राणा शासनबाट स्‍वतन्‍त्र भएको दिनको सम्‍झनामा उत्‍सव मनाइन्‍छ र यो सम्‍पूर्ण देशबासीको लागि महत्त्‍वपूर्ण दिन हो।

धेरै देशहरूले तिनीहरूको आफ्‍नो देशको जन्‍ममा गौरव गर्छन् र आफ्‍ना पुराना कुराहरू अर्थात् इतिहासको सम्‍झना गर्न रुचाउँछन्, तर यस विषयमा इस्राएल देशको दाँजोमा कुनै अरू देश आउन सक्‍दैन। ठूलो होस् वा सानो कुनै पनि देशको इतिहासमा खोज्‍नुहोस्, प्रस्‍थानको पुस्‍तकमा भएको नाटकीय परिवर्तनजस्‍तो घटना अरू कहिँ पनि पाउन सकिँदैन होला भन्‍ने लाग्‍छ।

इस्राएलीहरूले ८०(४००) वर्षभन्‍दा बढी समय मिश्रीहरूको दास भएर बस्‍नु पर्‍यो। अनि परमेश्‍वरले यस्‍तो हस्‍तक्षेप गर्नु भयो, कि जुन इतिहासमा न त पहिले घटेको थियो न त पछि घट्‍ने छ। आफ्‍ना दास मोशाद्वारा विभिन्‍न भयङ्‍कर विपत्तिहरू पठाइकन, इस्राएलीहरूलाई मिश्र देशदेखि छुटकारा दिलाउनु भयो। जबसम्‍म मिश्रका राजा फिरऊन आफै नम्र भएर इस्राएलीहरूलाई मिश्र छोड्न दिएन, तबसम्‍म एक-एक गरी परमेश्‍वरले दश वटा महाँ भयङ्कर विपत्तिहरू पठाउनु भयो। लाल समुद्रलाई उहाँको पराक्रमी हातद्वारा दुई भागमा विभाजित गर्नुभएर इस्राएलीहरूको सामु मिश्री सेनाहरू डुबे र यसरी उनीहरूको आफ्‍नो राष्‍ट्रको जन्‍म भयो। यो साँच्‍चै नै स्‍मरण योग्‍य एक दिन र रात थियो।

प्रस्‍थान १३ अध्‍यायमा मोशाले इस्राएलीहरूलाई आज्ञा दिएको पाइन्‍छ, “दासत्‍वको देश मिश्रबाट छुटकारा पाएको दिनलाई मान्‍नू, किनभने परमेश्‍वरको शक्तिशाली हातद्वारा तिमीहरूले स्‍वतन्‍त्रता पाएको दिन... तिमीहरूले यस दिनलाई सम्‍झना गरेर उत्‍सव मनाउनू, यो दिन म यसकारण मान्‍दछु, किनकि परमेश्‍वरले मिश्रबाट मलाई छुटकारा दिनुभएको दिन भनेर आफ्‍ना छोरा छोरीलाई भनी देऊ। यो आज्ञा हात र निधारमा तिम्रो निम्‍ति एउटा चिन्‍ह हुनेछ, परमेश्‍वरको करार तिम्रो ओठमा हुनेछ। वर्षैपिच्‍छे यो ठहराइएको दिनलाई तिमीहरूले आज्ञाकारी भएर मान्‍नु पर्छ ...। जब कुनै दिन तिम्रो छोराले ‘यसको अर्थ के हो ?’ भनी सोध्‍यो भने त्‍यसलाई भनिदेऊ, ‘यो त्‍यही दिन हो जुन दिन परमेश्‍वरको शक्तिशाली हातद्वारा दासत्‍वको देश मिश्रबाट हामीले छुटकारा पाएका थियौँ’”

यस प्रकार मोशाले परमेश्‍वरबाट उत्‍प्रेरित भएर यहूदीहरूको निम्‍ति निस्‍तार चाड़को स्‍थापना गरे जसमा उनीहरूले हरेक वर्ष परमेश्‍वरले आफ्‍नो जातिको स्‍थापना जसरी गर्नुभयो सो मानून्। मोशाले यसको प्रारम्‍भ गरेको धेरै समयपछि परमेश्‍वरले दिनु भएको निस्‍तार चाड़ र अरू चाड़हरूलाई पछिबाट इस्राएलीहरूले बेवास्‍ता गरी बिर्से। २ राजा २३:२१-२३ मा “करारको यस पुस्‍तकमा आदेश गरेझैँ राजाले मानिसहरूकाई परमप्रभु आफ्‍ना परमेश्‍वरको निस्‍तार चाड़ पालन गर्ने हुकूम गरे। यस्‍तो निस्‍तार चाड़ इस्राएलीहरूमाथि न्‍यायकर्ताहरूले शासन गरेको समयमा औ इस्राएल र यहूदामा राजाहरूले शासन गरेको समयमा पनि कहिल्‍यै मनाएको थिएन। तर योशियाहको शासनको अठाह्रौँ वर्षमा यरूशलेममा परमप्रभुको निम्‍ति यो निस्‍तार चाड़ मनाइयो भन्‍ने राजाले उर्दि दिएको कुरा” हामी पढ्न सक्‍छैँ।

बाबेलमा भएको बन्‍धनको समय र त्‍यसपछिका समयदेखि परिवर्तन आयो। मानिसहरू आफ्‍नो देशबाट टाढा भएर रहँदा आफ्‍नो देशको परिचय वा चिनारी गराउने आवश्‍यकताको महशुस गर्दछन्। व्‍यवस्‍थाको नयाँ अर्थ लगाएर यहूदीहरूका सभाघर स्‍थापना गरिए। व्‍यवस्‍थाका अध्‍यापक एज्राले व्‍यवस्‍थाको पुस्‍तकबाट खुल्‍लम खुल्‍ला पढ़ी तिनीहरूले सुनेका कुराहरूलाई मान्‍न उत्‍साहित गरे। दाऊद राजा र सुलेमान राजाको शासनकालदेखि तिनीहरू कहिल्‍यै पनि एउटा स्‍वतन्‍त्र राज्‍य भएका थिएनन्। तर आजको पचास वर्षअघि यहूदीहरूको आफ्‍नै स्‍वतन्‍त्र राष्‍ट्र इस्राएल देश भयो। त्‍यतिन्‍जेलसम्‍म युनानी र रोमी साम्राज्‍यमा यहूदीहरू तितर बितर भएका थिए। तर उनीहरूले इस्राएल देश र यरूशलेम शहरलाई आफ्‍नै राष्‍ट्रिय चिनारीका रूपमा हेरिरहे।

मोशाको व्‍यवस्‍थाअनुसार निस्‍तार चाड़को समयमा सबै यहूदीहरू परमेश्‍वरको उपस्‍थितिमा यरूशलेममा जानुपर्थ्‍यो। तत्‍काल तितर बितर भएका मानिसहरूका लागि जातीय एकता हुन त्‍यो एउटा अति महत्त्‍वपूर्ण समय थियो। किनकि तिनीहरू आफ्‍नै देशमा पनि एक घृणित बिदेशी साम्राज्‍यको पराधिनमा थिए।

आखिरी भोज

येशूको स्‍वर्गारोहणको अघिल्‍लो रात उहाँले आफ्‍ना चेलाहरूसँग निस्‍तार चाड़ मनाउदै हुनुहुन्‍थ्‍यो र येरूशलेमका शहरभरि हजारौँ मानिसहरूले त्‍यस्‍तै गरिरहेका थिए। प्रसङ्ग वा प्रष्‍ट पनि हो, यो उहाँको त्‍यस प्रख्‍यात वचनको “मेरो सम्‍झनामा, यो अक्‍सर गर्ने गर”

मण्‍डलीले यस अवसर र यी वचनहरूलाई मुख्‍य उत्‍सवको रूपमा मनाउँदछन्। येशूले यो परम्‍परागत विधि मण्‍डलीले सधैँ तथा सबैले मान्‍नू भनी दिनुभयो भनी करोडौँ मानिसहरूलाई सिकाइएको छ, तर के यो ठीक हो त ? यसलाई एक पटक नयाँ प्रकाशको आँखाले हेर्नु हाम्रो कर्तव्‍य हो।

“मेरो सम्‍झनामा यो अक्‍सर गर्ने गर”। येशूको यो वचन पहिलो पल्‍ट सुन्‍नेहरूको लागि यसको के अर्थ थियो ? तिनीहरूले यो सुन्‍दा ईश्‍वरनिन्‍दाजस्‍तो लाग्‍यो। येशूले तिनीहरूको महत्त्‍वपूर्ण धार्मिक र राष्‍ट्रिय चाड़ जो मिश्रबाट तिनीहरूको उल्‍लेखनीय छुटकराको उत्‍सवलाई लिएर यसको अर्थमा पूर्ण रूपले परिवर्तन गरिदिनुभयो। उहाँले प्रभावशाली शब्‍दमा भन्‍नुभयो, “मिश्रदेशबाट निस्‍की आएको विषयलाई पूर्ण रूपले बिर्सिदेऊ। म त्‍योभन्‍दा पनि महत्त्‍वपूर्ण काम गर्दछु अर्थात् छुटकारा, यस कुराले मोशा र मोशाको व्‍यवस्‍थालाई धेरैपछि पार्छ। त्‍यसको सट्टामा अब उप्रान्‍त जबसम्‍म निस्‍तार चाड़ औ रोटी र दाखमद्य लिन्‍छौँ यो मेरो सम्‍झनामा अक्‍सर गर्ने गर”। उहाँको यो वचनले चेलाहरूको मुटु नै थर्कायो होला। यदि कसैले परम्‍परादेखि मान्‍दै आएको धार्मिक नियमलाई परिवर्तन गरिदियो भने र त्‍यो व्‍यक्तिले आफूलाई अघि घटेको घटना र ती व्‍यक्तिहरूभन्‍दा आफूलाई महत्त्‍वपूर्ण भएको प्रमाणित गर्दछ भने हामीलाई कस्‍तो लाग्‍ला ? तथापि तिनीहरूको अन्‍तस्‍करणमा उहाँले बोलेको वचन सत्‍य र ठीक छ भनी लाग्‍यो। अवश्‍य पनि यो नम्र मानिस जससँग तिनीहरूले बितेका तीन वर्ष बिताए, उहाँ मोशाभन्‍दा महान् हुनुहुन्‍थ्‍यो।

येशू कुनै नयाँ विधि स्‍थापना गर्न आउनुभएको थिएन। उहाँले पुरानै विधिलाई नयाँ अर्थ दिएर घोषणा गर्न आउनुभएको थियो। पुरानो रीतिथीतिको ठाउँमा नयाँ रीतिथीति स्‍थापित गर्ने उहाँको उद्देश्‍य थिएन। उहाँ व्‍यवस्‍थालाई नाश गर्न होइन नता त्‍यसको ठाउँमा नयाँ व्‍यवस्‍था ल्‍याउनलाई हो तर व्‍यवस्‍थालाई पूरा गर्न आउनु भएको थियो। यसको अर्थ स्‍वभाविकबाट आत्‍मिक अर्थमा उकास्‍नु हो। पुरानो करारमा भएको निस्‍तार चाड़को अर्थ मिश्र देशमा भएका स्‍वभाविक कमारापनबाट स्‍वभाविक छुटकारा थियो। नयाँ करारमा भएको निस्‍तार चाड़को अर्थ आत्‍मिक कमारापन, जस्‍तै: शैतान, पाप र स्‍वार्थजस्‍ता कुराहरूबाट आत्‍मिक छुटकारा पाउनु हो।

स्‍वभाविक र आत्‍मिक

“हामीहरूको अति अमुल्‍य धार्मिक विधि तिमीले खोस्‍दैछौ” भनेर यहूदीहरूले विरोध गरेझैँ धेरै मानिसहरूले यस विचारको विरोध गर्लान्। अझ उत्तम कुरो दिनको लागि येशूले पुरानोचाहिँ तिनीहरूबाट लिनुभयो अथवा प्रतिविम्‍वको ठाउँमा वास्‍तविक कुरा दिन चाहनुहुन्‍थ्‍यो। पुरानो छायाको करारपछि आउन लागेको कुरा देखाउने पूर्व छायाङ्कन हो। नयाँ करार नै वास्‍तविक भएकोले यो अत्‍यन्‍तै असल छ। येशूले जुन आत्‍मिक वास्‍तविकता सुरु गर्नु हुँदैथियो, त्‍यो यहूदी निस्‍तार चाड़ त्‍यसको प्रतिविम्‍व (छाया) मात्रै थियो।

हामीले सुसमाचारीय पुस्‍तकहरूमा यी कुराहरू बारम्‍बार पढ्दै आइरहेका छौँ- “उहाँले के भन्‍नु भएको हो त्‍यो तिनीहरूले बुझेनन्” । किन यस्‍तो भयो ? येशूले आफ्‍नो अर्थ स्‍पष्‍टसँग बुझाउन सक्‍नुभएन कि ? त्‍यस्‍तो होइन। उहाँ माथिबाटको हुनुहुन्‍थ्‍यो, उहाँका कुरा सुन्‍नेहरू तलका थिए। उहाँ परमेश्‍वरतर्फका हुनुहुन्‍थ्‍यो जो आत्‍मा हुनुहुन्‍छ। उनीहरू अझै प्राकृतिक अर्थात् शारीरिक मनका थिए। उनीहरू रोमी शासनबाट प्राकृतिक (स्‍वभाविक) स्‍वतन्‍त्रता चाहान्‍थे। येशू तिनीहरूलाई पापबाट आत्‍मिक छुटकारा दिन आउनुभएको थियो। उनीहरू ढुङ्गाले बनाएको मन्‍दिरको महिमा शारीरिक आँखाले देख्‍न सक्‍थे। तर मानिसभित्रको आत्‍मिक मन्‍दिर देख्‍न उहाँ अति इच्‍छुक हुनुहुन्‍थ्‍यो।

क्रूशको कुरा शरीरको लागि मृत्‍यु र आत्‍माको लागिचाहिँ जीवनको अर्थ हो। क्रूश शारीरिक कुराको घमण्‍ड गर्नेहरूको लागि बाधा र परमेश्‍वरलाई आत्‍मामा खोज्‍नेहरूको लागि अचम्‍मको छुटकारा हो।

प्रभु येशूलाई विश्‍वास गरेपछि कुनै यहूदीले जातीय घमण्‍ड गर्नु अर्थहीन थियो। निस्‍तार चाड़जस्‍तो र अन्‍य ठूला चाड़हरू पनि केवल छायाभन्‍दा बढ़ी अरू केही थिएनन्। तर स्‍वभाविक जन्‍मभन्‍दा नयाँ आत्‍मिक जन्‍म अति महत्त्‍वपूर्ण हुन्‍छ। संसारिक यरूशलेम एउटा छायामात्र हो। साँचो महिमा स्‍वर्गीय यरूशलेममा हुन्‍छ। मानिसले बनाएको मन्‍दिरलाई परमेश्‍वरले रोमीहरूद्वारा नष्‍ट हुन दिनुभयो। तर स्‍वर्गीय मन्‍दिर सधैँको निम्‍ति रहन दिनुभयो।

हामीहरू शारीरिक आँखाले देखेका कुराहरू त्‍यागेर आत्‍मिक आँखाले देखेका कुराहरूलाई अगाल्‍दछौँ। त्‍यसैले हामी संसारको दृष्‍टिकोणमा मूर्ख तर परमेश्‍वरको दृष्‍टिकोणमा बुद्धिमान छौँ।

धेरैजसो यहूदी मानिसहरूले येशूका सन्‍देशहरूलाई अस्‍वीकार गरे। । “उहाँ आफ्‍ना मानिसहरूकहाँ आउनु भयो तर आफ्‍ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्”। क्रूशको कुरा राष्‍ट्रिय घमण्‍ड वा अरू कुनै पनि घमण्‍डको निम्‍ति मृत्‍यु हो। तिनीहरूले उच्‍च र अदृश्‍य पूर्णताको साटो परमेश्‍वरले विशेष अवसरहरूमा दिनुभएको देखिने विधिहरूलाईमात्र मन पराए। विश्‍वासले बुझ्‍न सकिने महान् कुराहरू नहेरेर, तिनीहरूले स्‍वभाविक आँखाले देखिने कुराहरूलाईमात्र पक्रिराखे।

येशूको समयका यहूदीहरूभन्‍दा हामी स्‍वभावैले असल छौँ भनेर सोच्‍नु ठूलो भूल हो। येशू नै मुक्तिदाता र परमेश्‍वरको पुत्र हुनुहुन्‍छ भनेर विश्‍वास गर्नुमात्र पूर्ण उपलब्‍धि होइन। तपाईं ख्रीष्‍टीय समाजको सदस्‍य भएर सबै धर्म विधि वा चाड़बाड़ पालन गर्ने भएर पनि बितेका समयका यहूदी र फरिसीजस्‍तो अनभिज्ञ रहन सक्‍नुहुन्‍छ। परमेश्‍वरले दिनु भएको व्‍यवस्‍थाका चाड़ र विधिहरूलाई यहूदीहरूले राम्ररी पालन गरिरहे। तिनीहरूले मोशाको व्‍यवस्‍थालाई पछ्याए र स्‍वर्गीय प्रेरणा पाएर पनि पुरानो नियमलाई मानिरहे। येशूले आफ्‍ना चेलाहरूलाई फरिसीहरूझैँ नहुनू भनेर कड़ा चेताउनी दिनु भएको थियो। अहिले आएर हामीहरू बाइबलमा आधार नभएको पश्‍चिमी सभ्‍यताका धार्मिक परम्‍परामा अन्‍धाधुन्‍द रूपमा झुण्‍डिरहेका छौँ।

परमेश्‍वरबाट पाएको प्रकाशले मात्र अन्‍धो आँखालाई खोल्‍न सक्‍छ। येशूले भन्‍नुभएको छ, “म धनी छु, मसित धनसम्‍पत्ति छ, र मलाई केही कुराको खाँचो छैन” भनेर तिमीहरू भन्‍दछौ, तर तिमीलाई थाहै छैन कि तिमी दु:खी, दयनीय, दरिद्र, अन्‍धा र नाङ्गो छौ (प्रकाश ३:१७)।

“यो मेरो शरीर हो”

आखिरी भोजमा येशूले तीन महत्त्‍वपूर्ण कुराहरू भन्‍नुभएको थियो।

(१) “यो मेरो शरीर हो”,

(२) “यो मेरो रगत हो”

(३) “यो मेरो सम्‍झनाको लागि गर्ने गर”

हामी यसलाई एक-एक गरी पालैसँग विचार गर्नेछौँ।

पहिलो वाक्‍य यूहन्‍ना ६:५३-५६ पदहरूमा भएको वचनसँग स्‍पष्‍ट सम्‍बन्‍ध राख्‍दछ। “म साँच्‍चै भन्‍दछु जबसम्‍म मानिसको पुत्रको देह खाँदैनौ र रगत पिँउदैनौ तिमीमा जीवन हुँदैन। मेरो देह खाने र रगत पिउनेसित अनन्‍त जीवन छ र अन्‍त्‍यको दिनमा म त्‍यसलाई जीवित पार्नेछु, किनभने मेरो देह साँच्‍चै खानेकुरो हो, र मेरो रगत साँच्‍चै पिउनेकुरो हो। मेरो देह खाने र मेरो रगत पिउनेचाहिँ ममा रहन्‍छ, र म त्‍यसमा रहन्‍छु”।

त्‍यसअघि येशूले भन्‍नुभयो, “जीवनको रोटी म हुँ, मकहाँ आउने भोकाउने छैन, र ममाथि विश्‍वास गर्ने कहिल्‍यै तिर्खाउने छैन”।

तपाईंलाई कुनै समुदाय मान्‍नेले यसो भन्‍लान्, “यो विधि पालना गर्दा तपाईं येशूलाई खाँदै हुनुहुन्‍छ”। अरूहरूले यसो भन्‍लान्, “बाइबल तपाईंको भोजन हो”। ती दुबै भनाइहरूले येशूलाई उचित स्‍थान दिँदैन। तर दुबैले अदृष्‍यलाई दृष्‍यले पूर्ति गर्दछन्। येशू अर्थात् येशूमात्र जीवनको रोटी हुनुहुन्‍छ, हामीले उहाँलाई नै खानु पर्दछ।

हामीले येशूलाई कसरी खान्‍छौँ त ? म यसको निम्‍ति कुनै विशेष विधि वा सूत्र दिन सक्‍दिन। येशू आत्‍मिक भोजन हुनुहुन्‍छ। आत्‍मिक तह मानसिक तहभन्‍दा धेरै महान् हुन्‍छ। यसलाई बुझाउन नियमहरू बनाएर भन्‍न सकिँदैन। यशैयाको पुस्‍तकमा यस सम्‍बन्‍धमा भनिएको सत्‍यतालाई कसैले आत्‍मिक अर्थमा बुझ्‍ने कोसिस गर्न बाँकी नै रहेको पाइन्‍छ। “किनभने मेरा विचारहरू तिमीहरूका विचार होइनन्। औ तिमीहरूका चाल मेरा चाल होइनन्।” परमप्रभु भन्‍नुहुन्‍छ। “किनकि जसरी आकाश पृथ्‍वीभन्‍दा अग्‍लो छ त्‍यसरी नै मेरो विचार तिमीहरूका विचारभन्‍दा अग्‍लो छ।” यशैया ५५:८,९। जसरी आत्‍मा मनभन्‍दा उच्‍च छ त्‍यसरी नै शरीरभन्‍दा मन उच्‍च हुन्‍छ। आत्‍माले आत्‍मालाई बुझ्‍दछ। आत्‍मिक समझ परमेश्‍वरको प्रकाशबाट आउँछ न कि मनको सोच विचारबाट।

येशूले निकोदेमसलार्ई स्‍पष्‍ट र सरल रूपममा भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही मानिस माथिबाट नयाँगरी नजन्‍मेसम्‍म उसले परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन। कोही पानी र आत्‍माबाट जन्‍मेन भने परमेश्‍वरको राज्‍यमा पस्‍न सक्‍दैन। शरीरले शरीरलाई जन्‍म दिन्‍छ तर आत्‍माले आत्‍मालाई नै जन्‍म दिन्‍छ।”

कोही पनि आत्‍मामा नजन्‍मिकन आत्‍मिक कुराहरू बुझ्‍न सक्‍दैन। मानसिक ज्ञानमा ज्ञानी हुन सक्‍छ तर मानसिकता तल्‍लो तहको कुरा हो। शायद धार्मिक विषयमा निकोदेमस स्‍नातक तहका थिए होलान् तर उनी आत्‍मिक कुरामा अनभिज्ञ र अध्‍याँरोमा नै थिए।

नयाँ जन्‍मले तपाईंलाई प्रारम्‍भिक आत्‍मिक समझ दिन्‍छ। त्‍यसपछि तपाईंले ठीक भोजन खानुभयो भने येशूझैँ बुद्वि र समझमा बढ्दै जानु सक्‍नुहुन्‍छ। तपाईं शिशु, बाल्‍यपन, तरूण अवस्‍थाबाट परिपक्‍क मानिसको रूपमा बढ्दै जानु हुनेछ। आत्‍मिक रूपमा तरल दुधजस्‍तो खानाबाट आत्‍मिक ठोस खानामा तपाईंको प्रगति हुन्‍छ।

आत्‍मिक बाल्‍यपन

आत्‍मिक उन्‍नतिको क्रम शरीरिक उन्‍नतिको क्रमजस्‍तो हुन्‍छ। आत्‍मिक बच्‍चा शरीरिक बच्‍चाजस्‍तै हो। प्राय: त्‍यसले आफै खान सक्‍दैन, आफ्‍नो खाना खानलाई ऊ अरूप्रति निर्भर हुनुपर्छ।

नयाँ करारमा यो दृष्‍टान्‍त धेरै प्रष्‍ट देखिन्‍छ। पावलले कोरन्‍थीहरूलार्ई लेखेका छन, “भाइ हो तिमीहरूसित आत्‍मिकीहरूसँग बोलेझैँ बोल्‍न ता होइन तर शारीरिकहरूसँग ख्रीष्‍टमा काखे बालकझैँ म बोल्‍न सकेँ। मैले तिमीहरूलाई दुधै खुवाएँ, खँदिलो कुरा त होइन किनकि तिमीहरू खान सक्‍दैनथ्‍यौ। अझसम्‍म पनि खान सक्‍दैनौ अथवा तयार छैनौ।” (१ कोरन्‍थी ३:१,२)।

उनले एफिसिहरूलाई पत्र लेखेर यसो भने, “उहाँले नै कुनैलाई प्रेरित, कुनैलाई अगमवक्‍ता, कुनैलाई प्रचारक र कुनैलाई शिक्षक हुनलाई सेवाको काम र ख्रीष्‍टको शरीरको स्‍थापनामा पवित्र जनहरूको सिद्वता हुनको निम्‍ति नियुक्त गर्नुभयो। जबसम्‍म हामी सबै जनाले परमेश्‍वरको पुत्रको ज्ञानको एकता प्राप्‍त गदैनौँ अर्थात् ख्रीष्‍टको पूर्णताको कदको नापसम्‍मको पूरा पाको मानिस हुँदैनौँ।”

धेरै मानिसहरू यी पदमा उल्‍लेखित ५ प्रकारका सेवकाइहरूका बारेमा जान्‍दछन् र त्‍यसको उद्देश्‍यको व्‍याख्‍या पनि गर्न सक्‍दछन्। यो असल र लाभदायक पनि छ किनभने स्‍वर्गारोहण हुनु भएका प्रभु येशूले दिनु भएका यी सेवकाइ अमुल्‍य छन् र हामी यस्‍ता वरदान बिना रहन पनि सक्‍दैनौँ तथापि हामीले यो मुख्‍य शब्‍द “जबसम्‍म” लाई ध्‍यान दिनु पर्दछ। परमेश्‍वरले दिनु भएका यी सेवकाइ नयाँ विश्‍वासीहरूलाई खुवाउनको लागि हो। साँचो प्रभुको सेवकले आत्‍मिक बालकहरूलाई त्‍यस बेलासम्‍म खुवाउनु पर्छ, जबसम्‍म उनीहरू आफै खान सक्‍ने हुँदैनन्। बढी खाने र कम खाने बालकहरू दुबै दयनीय लाग्‍दा हुन्‍छन।

येशूले तीन बर्षसम्‍म आफ्‍ना चेलाहरूलार्ई सिकाउँदै र खुवाउँदै जानुभयो। र त्‍यसपछि भन्‍नु भयो “म जानु नै तिमीहरूको लागि असल छ।” जबसम्‍म उहाँ तिनीहरूसँग शरीरमा सगँसगै हुनुहुन्‍थ्‍यो, तबसम्‍म पवित्र आत्‍मा आउन सक्‍नु हुन्‍नथ्‍यो। उहाँ शरीरमा तिनीहरूसँग होउन्‍जेल तिनीहरूले उहाँमा नै आशा राखीरहन्‍थे। जब उहाँले तिनीहरूलाई छोड्नु भयो, तब तिनीहरू आफैले परमेश्‍वर पितालाई चिन्‍न सके। पावलले पनि त्‍यही प्रक्रिया अपनाए। उनले एफिसस छोड्न अगाडि ३ वर्षसम्‍म एफिसीका विश्‍वासीहरूसँग समय बिताए। उनले १८ महिनासम्‍म कोरीन्‍थीका विश्‍वासीहरूसँग समय बिताए। पावलको पत्रअनुसार उनीहरूका निम्‍ति यो पर्याप्‍त समय थिएन। एफिसीका मानिसहरूको दाँजोमा कोरिन्‍थीहरू परिपक्‍क भएका थिएनन्। उनले कोरीन्‍थीहरूलाई लेखे, “भाइ हो तिमीहरूसित आत्‍मिकीसँग बोलेझैँ बोल्‍न त होइन तर शारीरिकहरूसँग ख्रीष्‍टमा काखे बालकहरूसँगझैँ म बोल्‍न सकेँ। मैले तिमीहरूलाई दुधै खुवाएँ तर खँदिलो कुरा त होइन किनकि तिमीहरू त्‍यो खान सक्‍दैन थियौ र अझसम्‍म पनि खान सक्‍दैनौ।”

आत्‍मिकी परिपक्‍वता

बालकपनबाट किशोर हुँदै हामी पाको मानिस हुनुपर्दछ। यस अवस्‍थाको बिषयमा युहन्‍नाले आफ्‍नो पहिलो पत्रमा लेख्‍दछन्। “तिमीहरूले उहाँबाट पाएको अभिषेक तिमीहरूमा रहिरहन्‍छ, र कसैले तिमीहरूलाई सिकाउने आवश्‍यकता पर्दैन। तर उहाँको अभिषेकले तिमीहरूलाई सबै कुराका विषयमा सिकाउँछ। अनि त्‍यो अभिषेक सत्‍य छ र नक्कली होइन। यस अभिषेकले तिमीहरूलाई सिकाए बमोजिम ख्रीष्‍टमा रहिरहो।” (१ यूहन्‍ना २:२७) यो अवस्‍था येशूबाट सोझै भोजन गर्नु हो। जसको लागि हामीले आत्‍मिकी उत्‍कृष्‍ट इच्‍छा गर्नुपर्दछ। हिब्रू ८:११ मा पनि यस्‍तै विचार पाइन्‍छ। त्‍यसमा नयाँ करारको विषयमा भनिएको छ, “कसैले आफ्‍नो छिमेकीलाई वा दाजु-भाइलाई फेरि यसो भनेर सिकाउनु पर्नेछैन, परमप्रभुलाई चिन, किनभने सानादेखि ठूलासम्‍म सबैले मलाई चिन्‍ने छन्।” आत्‍मिक परिपक्‍वता भनेको अरूको मध्‍यस्‍थता बिना येशूद्वारा परमेश्‍वरसँग अटुट सम्‍बन्‍धमा रहनु हो। हामी सोझै उहाँसँग भोज गर्छै (खान्‍छौँ)। अब हामी कुनै पास्‍टर शिक्षक अथवा सभा र सम्‍मेलनहरूमा भर पर्नु पर्दैन। येशू नै हाम्रो सबै कुरा र सबैमा हुनुहु‍न्‍छ।

आत्‍मिक परिपक्‍वता प्राप्‍त गर्न नसक्‍ने लक्ष होइन, यो सम्‍पूर्ण पापरहित सिद्वता पनि होइन, बरू यो एउटा साधारण आत्‍मिक रूपमा पाको मानिस हो। जसरी शरीरमा पूरा कदमा बढ्न खोज्‍छौँ त्‍यसरी आत्‍मिक परिपक्‍वतामा पनि पुग्‍न खोज्‍नुपर्छ।

ख्रीष्‍टीय अगुवाले विश्‍वासीहरूलाई आफूमाथि भर पर्ने बाल्‍यअवस्‍थामा नै राख्‍न चाहेको बुझिन्‍छ। कतिपय सेवकहरू र पास्‍टरहरूले तिनीहरूका मण्‍डलीका मानिसहरूलाई आफू र मण्‍डली सभाभन्‍दा येशू नै एक मात्र सत्‍य र जिउँदो रोटी हो भनी देखाउदैनन्। तर ख्रीष्‍ट येशूमा भएको महिमित सम्‍पत्तिअनुसार तिमीहरूका सबै अभावलाई पूरा गर्नसक्‍नुहुन्‍छ।

“यो मेरो रगत हो”

येशूको दोस्नो साक्षी थियो “यो मेरो रगत हो, जो धेरैको निम्‍ति पापको प्रायश्‍चितको लागि बगाइन्‍छ” (मत्ती २६: २८) र पहिलो कोरीन्‍थी ११: २५ मा यसरी भनिएको छ, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो।” पुरानो करारमा लगातार रगत बगाइन्‍थ्‍यो, दिनदिनै मन्‍दिरमा बलि चढाइन्‍थ्‍यो, औ सालै पिच्‍छेको निस्‍तार चाड़मा ठूलो सङ्‍ख्‍यामा बलि चढाइन्‍थ्‍यो। पहिलो निस्‍तार चाड़मा ढोकाको चौकसमा रगत लगाइएको थियो र नाश गर्ने दूत आउँदा इस्राएली परिवारहरू त्‍यसबाट बाँचेका थिए।

पुरानो करारको रगतले जे गर्न सक्‍दथ्‍यो, त्‍यो सीमित थियो र हरेक काम बाहिरी रूपमा मात्र थियो। जसले केवल पापलाई छोप्‍दथ्‍यो तर हटाउन भने सक्‍दैनथ्‍यो। छोपिएको पाप नदेखिएकोमा क्षमा भएको हुन्‍थ्‍यो। तैपनि मानिसको हृदय पापपूर्ण नै रहन्‍थ्‍यो र जसको कारण उसको विवेक दोषी नै रहिरह्यो।

प्राय: गरेर रगत वेदीमा, हारून अनि उसको वस्त्रमा र अरू मानिसहरूमा छर्किने गरिन्थ्यो । यसैरी नै पापको प्रायश्‍चित गरिन्‍थ्‍यो। हिब्रू भाषामा ‘किप्‍पुर’ भनेको प्रायश्‍चित हो (योम किप्‍पुर भनेको प्रायश्‍चितको दिन)। किप्‍पुर शब्‍दको अर्थ हो छोप्‍ने। पाप छोपिएको थियो तर हटाइएको थिएन। हामी यो पनि भन्‍न सक्‍छौँ: घैमल बढ़ारेर सुकुल मनि राखेझैँ राखेको थियो। पापको जरालाई कसैले चुनौती गरेन तर यो अपरिवर्तित रह्यो।

येशूको रगत नयाँ करारको रगत थियो। यसलाई पूरै नयाँ प्रकारले लगाइनु पर्दथ्‍यो।“यो पिओ” भनेर येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो। उहाँले रगतमा पखालिनु होइन तर पिउनु भन्‍नुभयो। पखालिनु र पिउनुमा ठूलो अन्‍तर छ। पखालिनु बाहिरबाट हुन्‍छ औ पिउनु भित्रबाट। येशूले आफूलाई क्रूशमा टाँगिन दिनु हुँदा आफूलाई खन्‍याउनु भयो। येशूको रगतले उहाँको जीवनलाई प्रतिनिधित्‍व गर्दछ। उहाँले आफूलाई खन्‍याउनुभयो यसकारण हामीले पिउनैपर्छ। यो पिउनु स्‍वभाविक होइन तर आत्‍मिक हो। हामीले आफूभित्र उहाँको सिद्ध जीवन ग्रहण गरिरहेका छौँ।

जब हामीले साँच्‍चै येशूको रगत पिउछौँ, तब आन्‍तरिक रूपमा पापबाट शुद्ध हुन्‍छौँ। येशूको पापरहित जीवन हामीभित्र प्रवेश भएकोले आदममा भएको पुरानो स्‍वार्थी जीवनलाई भगाइ दिन्‍छ। तब येशूमा हामी नयाँ सृष्‍टि बन्‍दछौँ।

“मेरो सम्‍झनामा”

येशूले आखिरी भोजमा भन्‍नुभएको तेस्रो मुख्‍य कुरा यो थियो, “यो मेरो सम्‍झनामा अक्‍सर गर्ने गर”। पहिलो पटक सुन्‍नेहरूमा यस वचनले प्रभाव पारेको कुरा हामीले पहिले नै बुझिसकेका छौँ। हाम्रो निम्‍ति यसले अहिले के कस्‍तो अर्थ लगाउँछ ? येशूको पहिलो अनुयायीहरूले एउटा ठूलो परिवर्तनको समयमा जीवन व्‍यतित गरेथे। संसारलाई उलट-पुलट पार्ने मानिस तिनीहरू नै हुन् भन्‍ने दोष थियो। तिनीहरूले बिगतका सबै कुराहरू तुरुन्‍तै त्‍यागेका होस् भनी येशू चाहनुहुन्‍थ्‍यो। चेलाहरूले यहूदीहरूको सभाघर धाएर चाड़बाड़हरू मान्‍ने काम गरी नै रहे। धेरै समय पछिसम्‍म प्रेरितको पुस्‍तकमा पावल पेन्‍तिकोसको चाड़मा यरूशलेम फर्कने हतार गरेको (प्रेरित २०:६) र तिनको भाकल पूरा गर्न आफ्‍नो कपाल खौरेको हामी पढ्‍छौँ(प्रेरित १८:१८) ।

क्रमश: पावलको विचारमा परिवर्तन आयो, उनले कलस्‍सीहरूलाई लेख्‍छन्, “यसकारण कुनै मानिसले तिमीलाई खान वा पिउनमा अथवा पर्वको दिनमा वा औंसी कि बिश्रामको दिन मान्‍ने विषयमा ईन्‍साफ गर्न नपाओस योचाँहि आउने कुराका छाया (प्रतिविम्‍व) मात्र हुन्, तर मुल कुराचाहिँ ख्रीष्‍ट हो" (कलस्‍सी २: १६,१७) उनी अझ बढी जोड़ दिएर लेख्‍छन् “तिमीहरू दिनहरू, महिनाहरू, ऋतुहरू र वर्षहरू मान्‍दछौ। मलाई त यस्‍तो लाग्‍छ, कि तिमीहरूका निम्‍ति गरिरहेको मेरो परिश्रम व्‍यर्थ भयो” (गलाती ४: १०-११)।

कसै कसैले हामीलाई पेन्‍तिकोसको दिनमा एक युगबाट अर्को युगमा अचानक परिवर्तनमा पुर्‍याएको कुरा सिकाएका छन्, र भन्‍छन्- त्‍यस समयमा व्‍यवस्‍थाको अन्‍त औ अनुग्रह अथवा मण्‍डली युग आरम्‍भ भयो। आकाशमा अचानक लगिने दिन नआएसम्‍म मण्‍डली युग यथावत भइ नै रहन्‍छ।

मलाई लाग्‍छ परमेश्‍वर आफ्‍नो स्‍वभावमा कुनै यन्‍त्रले अचानक काम गर्नेजस्‍तो हुनुहुन्‍न। उहाँले क्रमश: पुरानो कुरालाई निकाल्‍नु औ नयाँलाई प्रकटमा ल्‍याउनु हुन्‍छ। आप से आप उत्‍पन्‍न पिढीभन्‍दा बरू जन्‍म र वृद्धिचाहिँ उहाँको नियम हो। पुरानो खुइलिन्‍छ अनि झुत्रो भएर जान्‍छ, नयाँ जन्‍मन्‍छ अनि बढ्छ र पाको हुन्‍छ।

मुख्‍य कुराचाहिँ बाहिरको उत्‍सब मनाउनु होइन तर भित्रको अनुभब हो। रोटी र दाखरस खानु साधरण कुरा हो, महत्त्‍वपूर्ण कुरा येशूलाई नै खानु (भोजन गर्नु) हो। "देखिने कुरामा हामी आँखा लगाउँदैनौँ तर नदेखिने कुरामा, देखिने अस्‍थाई हुन्‍छ, तर नदेखिनेचाहिँ अनन्‍त को हुन्‍छ" (२ कोरिन्‍थी ४: १८)।

“जहिले जहिले तिमीहरू यो पिउँछौ मेरो सम्‍झनामा यो अक्‍सर गर्ने गर”। येशूले भन्‍नुभएको यो वचनमा ठीक समय र ठाउँ तोकेर दिएको छैन। यसमा पवित्र आत्‍माले नै अगुवाइ गर्नु पर्दछ। प्रेरितको पुस्‍तकमा हामी पढछौँ कसरी पवित्र आत्‍माले सुरुमा येशूका चेलाहरूलाई यहूदी धर्मका कुराहरूबाट बिस्‍तारै बिस्‍तारै निकाल्‍नु भयो। “पुराना छालाका भाँडाहरूमा नयाँ दाखमद्य राख्‍न सकिँदैन”।

उपसंहार

दुई किसिममध्‍ये कुनै एक किसिमले तपाईं जिउन सक्‍नुहुन्‍छ। देखिने कुरामा तपाईं आफ्‍नो दृष्‍टि लगाएर आफ्‍नो स्‍वभाविक मन अथवा शरीरअनुसार हिड्न सक्‍नु हुन्‍छ। अथवा अदृश्‍यमा तपाईंको हृदय लगाएर आत्‍माअनुसार हिड्न सक्‍नुहुन्‍छ। यी दुईमध्‍ये पहिलोचाहिँ पुरानो करार र दोस्रोचाहिँ नयाँ करारको हिड्‍ने बाटो हो।

जीवित (जीवनको) रोटी मानिसले कुनै चाड़, उत्‍सव वा नियमले दिन सक्‍ने कुरो होइन। यो रोटी येशू आफै हुनुहुन्‍छ। तपाईं उहाँलाई भित्र आत्‍मामा मात्र चिन्‍न र विश्‍वासले उहाँलाई खान (भोजन गर्न) सक्‍नु हुन्‍छ। आत्‍मिक दाखरसचाहिँ, हाम्रो निम्‍ति पोखाइएको येशूको जीवन हो, जसलाई पिएर हामी सन्‍तुष्‍ट हुन्‍छौँ। निस्‍तार चाड़को ठाउँमा प्रभु भोज को विधि स्‍थापित भएको होइन, तर आश्‍चर्यपूर्वक येशूको जीवनमा सिद्ध भएको र एक मृत विधिबाट अमर अनुभवमा परिवर्तन भएको हो।

यसकारण हामी व्‍यवस्‍थाका मृत कार्यहरूलाई त्‍यागेर येशूमा भएको महिमित परिपूर्णताको जीवित वास्‍तविकतामा विश्‍वासद्वारा उहाँलाई प्रसन्न गराउने सिद्ध जीवन जिउन आफूलाई दिइहालौँ।

यो पुस्‍तकलाई रंगिन [Color] छाप्‍ने फाइल

यो पुस्‍तकलाई श्‍याम-स्‍वेत [Black & White] छाप्‍ने फाइल

कसरी छाप्ने