नयाँ करार

परिचय

हामीसँग भएको बाइबल दुई भागमा बिभाजन गरिएको छ, यसलाई पुरानो नियम र नयाँ नियम भनी नामाकरण गरिएको छ। यी दुई नामहरू परमेश्‍वरले यर्मिया अगमवक्तासँग बोल्‍नुभएपछि आएको सत्‍य तथ्‍य सुस्‍पष्‍ट छ। परमप्रभु भन्नुहुन्‍छ, “म इस्राएलको घराना र याकूबको घरानासित नयाँ करार बाँध्‍नेछु।” नेपाली बाइबलमा ‘नियम’ र ‘करार’ एउटै मूल शब्‍दबाट भिन्‍दा-भिन्‍दै रूपमा अनुवाद भई आएका छन्। नेपालीमा ‘नियम’ र ‘करार’ एउटै मूल शब्‍दबाट भिन्‍दा-भिन्‍दै रुपमा अनुबाद भै आएका छन्।

मेरो विचारमा प्राय: इसाईहरू पुरानो करारअनुरूप नै जिई रहेका छन्। निश्‍चय तिनीहरू नयाँ करार पढ्छन र तिनीहरूको शिक्षा यसको विषय-सूचीमा आधारित हुन्‍छ, तर तिनीहरूको जीवन र अनुभवका थुप्रै पक्षहरू भने नयाँ करारका भन्‍दा पुरानो करारअनुसार हुन्‍छन्। दुई करारबीच भिन्नताको उचित ज्ञान हुनुचाहिँ वास्‍तविक रूपमा आत्‍मिक वृद्धिलाई जीवन्‍त तुल्‍याउनु हो।

म विश्‍वस्‍त छु, कि बाइबलको तत्‍कालिन समयमा त्यो कुरा सत्‍य थियो। ती दिनहरूमा पनि कुनै-कुनै विश्‍वासीहरू येशूले उहाँकै रगतबाट प्रारम्‍भ गर्नुभएको नयाँ करार ग्रहण गर्न र अनुभवको पूर्णतामा आउन असफल भएका थिए। अर्को अर्थमा भन्नुपर्दा, पुरानो करारका धेरैजसो परमेश्‍वरका भक्तहरूले तिनीहरूका पालामा पाइने मौकाहरूभन्‍दा पनि परमेश्‍वरका गहिरा-गहिरा कुराहरूको अनुभव गरे। वास्‍तवमा तिनीहरू नयाँ करारको मार्गमा हिँड़ेका थिए।

नयाँ करारको शर्तको सम्बन्‍धमा यर्मिया ३१:३१-३४ पदहरूमा दिइएको छ। त्यहाँ यसरी लेखिएको छ- , परमप्रभु भन्नुहुन्‍छ, “हेर, दिन आउँदैछ, जब म इस्राएलको घराना र याकूबका घरानासित नयाँ करार बाँध्‍नेछु, त्‍यो करार मैले तिनीहरुका पिता-पुर्खाहरुलाई हातमा समातेर मिश्र देशदेखि निकालेर ल्‍याएको बेलामा तिनीहरुसित बाँधेको करार हुनेछैन, जुन करार तिनीहरुले भङ्ग गरे, यद्यपि म तिनीहरुका स्‍वामी थिएँ,” परमप्रभु भन्नुहुन्‍छ। तर ती दिनपछि जुन करार म इस्राएलको घरानासित बाँध्‍नेछु, त्‍यो यही हो, म मेरो व्यवस्‍था तिनीहरूको अन्‍तस्‍करणमा हालिदिनेछु, तिनीहरूको हृदयमा म त्‍यो लेखिदिनेछु। औ म तिनीहरूका परमेश्‍वर हुनेछु, तिनीहरू मेरा प्रजा हुनेछन्। कसैले आफ्‍नो छिमेकीलाई वा दाज्‍यू-भाइलाई फेरि यसो भनेर सिकाउनु पर्नेछैन, ‘परमप्रभुलाई चिन,’ किनभने सानादेखि ठूलासम्‍म सबैले मलाई चिन्नेछन्, किनकि म तिनीहरूका अपराध क्षमा गर्नेछु, र म तिनीहरूका पापलाई फेरि कहिल्‍यै सम्‍झनेछैनँ।”

यो खण्‍ड हिब्रू ८:८-१२ पदहरूमा पनि उल्लेख गरिएको छ। हिब्रूहरूलाई लेखिएको पत्रको धेरै भाग नयाँ करारको विषयवस्‍तुसँग सम्‍बन्‍धित छ र अझ बढी अध्‍ययनको लागि उपयोगी छ।

परमेश्‍वरलाई नयाँ करारको प्रतिज्ञा गर्न किन आवश्‍यक थियो त?

व्‍यवस्‍था

परमेश्‍वरले इस्राएलीहरूलाई मिश्र देशबाट निकालेर ल्‍याउँदा उहाँले पहिलो करार दिनुभएको थियो। त्‍यो पहिलो करार व्‍यवस्‍थामा आधारित थियो। त्यही व्‍यवस्‍था दस आज्ञामा संक्षिप्‍त गरिएको र प्रस्‍थान, लेवी, गन्‍ती र व्‍यवस्‍थाका पुस्‍तकहरूमा विस्‍तृत गरिएको छ। यी पुस्‍तकहरू - उत्‍पत्तिसहित पुरानो करारको मुख्‍य पुस्‍तकहरू हुन् र यिनीहरूलाई ‘तोराह’ (व्‍यवस्‍था) भनिन्‍छ।

परमेश्‍वरले मोशाद्वारा दिनुभएको व्‍यवस्‍था त्‍यो न्‍यायोचित र उपयोगी परिवेशमा जिई रहेका मानिसहरूको भन्‍दा उत्‍कृष्‍ट थियो। तिनीहरू आधुनिक विचारअनुसार कट्टर मानिसहरू थिए। बोक्‍सी, व्यभिचारी, बलात्‍कारी, हत्यारा, आमा-बुबालाई हिर्काउने र अन्‍य अपराधहरू गर्नेहरूलाई मृत्‍यु-दण्‍ड दिनू भनी व्‍यवस्‍थामा उल्लेख गरिएको छ। निर्दोष व्यक्तिहरू खुल्ला र स्‍वतन्‍त्रसाथ हिँडेको देख्‍दा, दोषी मानिसहरूमा डर उत्‍पन्न हुँदो हो। यदि आजसम्‍म पनि व्‍यवस्‍था पालन गर्नुपर्ने भएको भएदेखि यसले सुखी समाजलाई आगुवाइ गर्ने थियो भन्ने विषयमा मलाई त शङ्का लाग्‍छ।

ती व्‍यवस्‍थाहरू सर्वोत्तम हुँदाहुँदै पनि धर्मी मानिसहरूलाई कुनै प्रभाव पार्न सकेन। व्‍यवस्‍था दिइएको लगभग एक हजार वर्षपछि परमेश्‍वरको इन्‍साफ पहिले इस्राएल र त्‍यसपछि यहूदामाथि हुन आयो। तिनीहरूले परमेश्‍वरका सम्‍पूर्ण आज्ञाहरू उल्लङ्घन गरे र पुरानो करारको आफ्‍नो जिम्‍मेवारी पूरा गर्न असफल भए। सबैभन्‍दा पहिले तिनीहरूले परमेश्‍वरको प्रथम आज्ञाकै उल्लङ्घन गरे र परमेश्‍वरबाट तर्किएर अन्‍य देवी-देवताहरूको पूजा गर्न थाले। त्‍यसकारण अश्‍शुरीहरू र बेबिलोनीहरू आई तिनीहरूका भूमिलाई सर्वनास पारे। तिनीहरूले यरूशलेमलाई नाश पारी इस्राएलीहरूलाई कैदी बनाई लगे।

इस्राएलको इतिहास हेर्दा त्‍यसै घडी यर्मियाले परमेश्‍वरको नयाँ करारको विषयमा घोषणा गरेका थिए।

मूल समस्‍या भनेको परमेश्‍वरले दिनुभएको व्‍यवस्‍थामा नभएर मानवीय स्‍वभावमा नै आधारित थियो। यर्मिया भन्‍छन्,“हृदय सबै कुराभन्‍दा छली हुन्‍छ, त्‍यो अति भ्रष्‍ट हुन्‍छ।” नयाँ करारको सार्थकता भनेको परमेश्‍वरको प्रतिज्ञाले मानिसको हृदय परिवर्तन हुनु हो। “म मेरो व्‍यवस्‍था तिनीहरुको अन्‍तस्‍करणमा हालिदिनेछु, तिनीहरुको हृदयमा म त्‍यो लेखिदिनेछु।” जबसम्‍म मानव हृदय घमण्‍डी, अभिलाषी र व्‍यभिचारी हुन्‍छ, तबसम्‍म व्‍यवस्‍था पालना गर्न प्राय: असम्‍भव छ। हाम्रा अनुशासन, परिश्रम र कार्य दक्षताले त्यसमा कुनै मुल्‍य राख्‍दैन। त्‍यसैले मानिसहरूको कार्यशैली परमेश्‍वरको इच्‍छा, योजना र मागको बिरुद्धमा हुन्‍छ।

धेरै मानिसहरूले यो कुरा पत्तै लगाउन सक्दैनन्। हुनसक्‍छ, तिनीहरूले साँचो परिवर्तनको अनुभव गरेका होलान्, खराब बानीहरू त्‍यागेको होलान् र तिनीहरूको जीवनशैलीमा आमूल परिवर्तन आएको पनि हुनसक्‍छ तर ती सबै कुराहरू भए तापनि आफूभित्रको दुष्‍टता भने पहिलाभन्‍दा बढि नै हुन सक्‍छ।

पावल ज्‍यादै अचम्‍मसँग दमीशकको बाटोमा परिवर्तन भएका थिए। उनको जीवनशैली पूर्ण रूपमा बदलिएको थियो। पहिला जुन उत्‍साह र जोशले इसाईहरूलाई सताउन हिँडेका थिए पछि त्‍यही उत्‍साह र जोशमा सुसमाचार प्रचार गर्ने थाले। त्यस समय उनको समस्‍याहरूको अन्‍त होइन बरु सुरु हुँदैथियो। रोमी ७ अध्‍यायमा उनी भन्‍दछन् कि कसरी उनले व्‍यवस्‍था पालन गर्न भरमग्‍दुर कोसिस गरे तापनि पूर्ण रूपमा पालन गर्न सकेनन्।

उक्त खण्डमा उनले आफ्‍नो जीवन परिवर्तन हुनुभन्‍दा अगाडिका दिनहरूको विषयमा भनी रहेको जस्‍तो लाग्‍दैन। दमिशकको बाटोमा येशूसँग अचानक भेट भैसकेपछिको उनको जीवनमा ती सङ्घर्षमय समस्‍याहरू आएको हुनुपर्छ भन्ने मेरो धारणा छ। अन्‍तत उनले विजय हासिल गरी यसरी घोषणा गरे, “ख्रीष्‍ट येशूमा जीवनको आत्‍माको व्‍यवस्‍थाले मलाई पाप र मृत्‍युको व्‍यवस्‍थाबाट स्‍वतन्‍त्र गराएको छ। व्‍यवस्‍थाले जे गर्न सकेन ... पमेश्‍वरले गर्नुभयो।” रोमी ८ अध्‍यायमा उनले पत्ता लगाएका विजयको नयाँ तरिकालाई बर्णन गरेका छन्।

परमेश्‍वरका व्‍यवस्‍था हृदयमा लेखिनुको अर्थ के हो त ? यो कुरा मानव स्‍वभावको पूर्ण परिवर्तन हुनुबाहेक अर्को कुनै कुरा होइन। यो त एउटा इश्‍वरीय आश्‍चर्यजनक काम हो। तपाईंले कुकुरलाई तालीम दिएर माग्‍न, उभिन र किसिम किसिमका खेलहरू खेल्‍न सिकाउन सक्‍नुहुन्‍छ। धिरजी भएर अनि इनाम दिएर कुकुरको अफ्‍नै स्‍वभाव विपरित काम पनि गराउन सक्‍नहुन्‍छ। यी सबै थोक गरे तापनि ‘कुकुर’ कुकुर नै हो र यसको आफ्‍नो प्राकृतिक स्‍वभावमा कहिल्‍यै पनि परिवर्तन गर्न सक्‍नुहुन्न। हाम्रो भनाइ पनि छ कि “गधालाई धोएर गाई बनाउन सकिन्न” र “बाह्र वर्ष कुकुरको पुच्‍छर ढुँग्रोमा राखे पनि उस्‍ताको उस्‍तै।”

परमेश्‍वरले मानिसको स्‍वभावको पुन: निर्माण गर्नुहुन्‍छ जसले गर्दा उहाँका व्‍यवस्‍थाहरूअनुसार काम गर्ने स्‍वभाव स्‍वत: हामीमा आउँछ। पत्रुसले यही सत्‍यताको सम्‍बन्‍धमा यसरी भन्‍दछन्, “जसबाट उहाँले हामीलाई उहाँको अनमोल र ज्‍यादै ठूलो प्रतिज्ञाहरू मञ्‍जूर गर्नुभएको छ, यस संसारको अभिलाषाबाट हुने विनासबाट उम्‍केर तिमीहरू ईश्‍वरीय स्‍वभावको सम्‍भागी होऔ” (२ पत्रुस १: ८)। पशु कहिल्‍यै पनि मानिस बन्न सक्‍दैन, तर मानिसचाहिँ परमेश्‍वरको अनुग्रहबाट ईश्‍वरीय स्‍वभावमा परिवर्तन हुन सक्‍छ।

स्‍वभावैले मानवहृदय पापी छ। विविध तत्त्‍वहरूले मुख्‍य तथ्‍यलाई नै अस्‍पष्‍ट पार्नसक्‍छ। सार्वजनिक हितको लागि दिइएका दबाबहरू, असल पालन-पोषण तथा हुर्काइ, असल मित्रहरू र प्रभावकारी कुराहरू, ठीक अनि उचित धार्मिक कार्यहरूको कारणले बाहिरी सुधार त होला तर यी कुनै पनि कुराहरूले हृदयको आमूल परिवर्तन गर्न सक्‍दैन। आत्‍मामा भएको नयाँ जन्‍म नै माथि उल्‍लेख गरिएका कुराहरूको लागि नयाँ करारको सार हो।

शिक्षकहरू

व्‍यवस्‍थाको सम्‍बन्‍धमा बोलिसकेपछि यर्मियाले शिक्षाको विषयमा यसो भन्‍दछन्, “कसैले आफ्‍नो छिमेकीलाई वा दाज्‍यू-भाइलाई फेरि यसो भनेर सिकाउनु पर्नेछैन, ‘परमप्रभुलाई चिन,’ किनभने सानादेखि ठूलासम्‍म सबैले मलाई चिन्नेछन्”। यर्मियाको यस भनाइलाई यहुन्नाले अझ जोड़ दिएर स्‍पष्‍टसाथ यसरी भन्‍दछन् “तिमीहरुलाई कसैले सिकाउनु पर्ने आवस्‍यकता पर्दैन ... उहाँको अभिषेकले तिमीहरुलाई सबै कुराको विषयमा सिकाउँछ ...” (१ यहून्ना २: २७)।

आधारभूत रूपमा सम्‍पूर्ण मानवीय शिक्षा पुरानो करारको स्‍वाभवअनुरूप नै भएको पाइन्‍छ। मानिसद्वारा दिएको शिक्षा बाहिरी प्रभावको लागि मात्र उपयोगी हुन्‍छ। नयाँ करारको शिक्षा पवित्र आत्‍माद्वारा दिइएको हो र यसैकारण यो आन्‍तरिक छ। येशूले आफ्‍ना चेलाहरूलाई भन्नुभयो, “म जानू नै तिमीहरूको निम्‍ति फाइदा छ। किनभने म गइनँ भने शान्‍तिदाता तिमीहरूकहाँ आउनुहुने छैन ... तिमीहरूलाई भन्ने मसँग अझ धेरै कुराहरू छन्, तर अहिले तिमीहरू सहन सक्‍दैनौ। तै पनि जब उहाँ अर्थात् सत्‍यका आत्‍मा आउनुहुनेछ, तब उहाँले सबै सत्‍यमा तिमीहरूलाई बाटो देखाउनुहुनेछ” (यहून्ना १६: ७, १२, १३)। येशूले यो भन्‍दै हुनुहुन्‍थ्‍यो, उहाँको आफ्‍नै शिक्षाभन्‍दा तिनीहरूमा बास गर्नुहुने पवित्र आत्‍माको शिक्षा नै चेलाहरूका लागि उत्तम छ भनेर। फलस्‍वरूप सबै मानवीय बाहिरी शिक्षाहरूमा पनि त्‍यसको राम्रो प्रभाव पर्न गयो। येशू ख्रीष्‍ट संसारकै श्रेष्‍ठ शिक्षक हुनुभए तापनि पवित्र आत्‍मा नै अझ उत्तम शिक्षक हुनुहुनेवाला हुनुहुन्‍थ्‍यो। उहाँले प्रत्‍यक्षरूपमा गरेका कामहरू हुँदाहुँदै पनि अब तिनीहरू बाहिरी कुराहरूबाट भित्री (आन्‍तरीक) कुराहरूमा परिवर्तन हुन तयार थिए।

हामी येशूको र मोशाको वचन तुलना गरी हेरौँ - “मेरो मृत्‍युपछि तिमीहरु अवश्‍य भ्रष्‍ट बनेर मैले आदेश गरेको मार्गबाट तर्केर जानेछौ” (व्‍यवस्‍था ३१: २९)। यो पुरानो करारको यथार्थ चित्रण थियो र आज पनि धेरै जसो इसाईहरु पुरानै अवस्‍थामा छन्। शिक्षक र अगुवा बिना प्रत्‍येक कुरा टुक्रिएर नाश हुन्‍छ।

हामी उही कुरा योएलको भविष्‍यवाणीमा पनि पाउँछौँ, जसलाई पत्रुसद्वारा पेन्‍तिकोसको दिनमा भनिएको थियो: “आखिरी दिनमा यस्‍तो हुनेछ भनि परमेश्‍वर भन्नुहुन्‍छ, म सबैको शरीरमाथि आफ्‍नो आत्‍मा खन्‍याईदिनेछु, औ तिमीहरुका छोराहरु ... छोरीहरु ... जवानहरु ... बूढा-पाकाहरु ... दासहरु ...दासीहरु ...।” सबै मानिसले अर्थात् अति तल्लो दर्जाको अनपढ नोकर्नीसम्‍मले पनि परमेश्‍वरको भित्री प्रकाश : ईश्‍वरीय व्‍यक्तित्‍व र महान् अनुभव स्‍वयम् परमेश्‍वरबाटै सोझै पाउन सक्‍छन्। त्यही बेलादेखी महान् शिक्षकहरू र अगुवाहरूमा भर परिरहन पर्ने अवस्‍थाको अन्‍त भयो।

“म जानु नै तिमीहरुको निम्‍ति फाइदा छ” भन्ने येशूको वचनभन्‍दा, “मेरो मृत्‍युपछि भ्रष्‍ट भएर जानेछौ।” भन्ने मोशाको वचनमा धेरैजसो धार्मिक अगुवाहरू आत्‍माको नजिक रहने अवधारणा पाइन्‍छ। उनीहरू अति महत्त्‍वपूर्ण अनुभव चान्‍छन्। उनीहरूको बगालको फाइदाको लागि सकेसम्‍म उन्‍मुक्त हुन्‍छन् तर नयाँ करारको खास अर्थ बुझाइको अभावमा नै हुन्‍छन्। पवित्र आत्‍माको जोगाइ राख्‍ने शक्तिमा विश्‍वास पनि गर्दैनन्। अझ खराब कुरा त कोही पनि उनीहरूमा भर नपर्ने हो कि भनी, कतै आफ्‍नो पद-प्रतिष्‍ठा, आयस्रोत र शुरक्षा नै बन्‍द होला कि भनेर यसलाई जोगाउने ध्‍याउन्नमा हुन्‍छन्।

त्‍यसो भए नयाँ करारमा शिक्षकको स्‍थान के हुनसक्‍छ? हामी यस प्रश्‍नको उत्तर एफिसी ४:११-१६ मा पाउँछौँ। यहाँ शिक्षकलाई पाँच सेवकाइमध्‍ये एक भनी जनाइएको छ। जुन ख्रीष्‍टको स्‍वर्गारोहण पश्‍चात् उहाँको मण्‍डलीलाई दिइएको हो - प्रेरितहरू, अगमवक्ताहरू, गोठालाहरू, शिक्षकहरू र प्रचारकहरू। पावल भन्‍दछन्, यी सेवकाइहरूको उद्देश्‍य नयाँ विश्‍वासीहरूलाई धोखामा पार्नबाट जोगाउनु र ख्रीष्‍टको शरीरलाई परिपक्‍वतामा ल्‍याउनु हो।

प्राय: नयाँ विश्‍वासीहरू नयाँ करारमा सोझै पाइला चाल्‍न असमर्थ हुन्‍छन्। सर्वप्रथम तिनीहरूले पुरानो करारको अनुभव गरेकै हुनुपर्दछ। आजको जस्‍तै नयाँ नियमको समयमा पनि नयाँ विश्‍वासीहरू मूर्तिपूजक परिवारबाट आएका हुन्‍थे जसले पुरानो करारलाई ठ्याम्‍मै जान्‍दैनथे। तर उनीहरू पनि व्‍यवस्‍थामुनि नै हुनु पर्दछ। यसैलाई पावल यसरी उल्लेख गर्छन्, “हामीलाई ख्रीष्‍टमा ल्‍याउनलाई व्‍यवस्‍था त हाम्रो जिम्‍मावाल भएको छ।” अझ पावल यसलाई यसरी स्‍पष्‍ट गर्दछन्, ““हकवाला बालक छउञ्‍जेल, ऊ सबै थोकका मालिक भए तापनि नोकरभन्‍दा फरक हुँदैन, तर बाबुचाहिँले ठहराएको समयसम्‍म ऊ संरक्षक र कारिन्‍दाहरूका अधीनमा हुन्‍छ” (गालाती ४: १,२)।

नयाँ विश्‍वासीहरू सजिलैसँग धोखाको शिकार बन्न पुग्‍दछन्। हामी यस्‍तो समयमा बाँचिरहेका छौँ, जुन समयमा थुप्रै झुटा अगमवक्ताहरू हुनेछन् भनी येशूले भन्नुभएको थियो। नयाँ विश्‍वासीहरू र अरूहरू जसमा छुट्याउन सक्‍ने ज्ञान हुनु पर्ने हो तर प्राय: भेड़ाको भेषमा आउने ब्‍वाँसालाई चिन्नु धेरै कठिन हुन्‍छ। किनभने तिनीहरूले आत्‍माहरू छुट्याउने तालिम पाएका हुँदैनन्। यदि हामीसँग भएको धर्मशास्‍त्रका पाँच सेवकाइहरूलाई हाम्रो माझमा राम्रोसँग सञ्‍चालन गयौँ भने धोखा दिन आउनेहरूलाई पक्कै पनि असजिलो हुनेछ। यस्ता शुद्ध सेवकाइहरूको अभावको कारणले गर्दा नै धेरै इसाईहरू आत्‍मिक रूपमा बाल्‍यावास्‍थामा नै छन्, जहाँ तिनीहरू सजिलैसँग झुटा र गलत शिक्षाको शिकार बनिन पुग्‍दछन्।

धेरै इसाई परिवारमा जन्‍मेका छोरा-छोरीहरू यस्‍तै अवस्‍थामा छन्। तिनीहरू आफै नयाँ करारको मार्गमा हिड्न सकिरहेका छैनन्। तिनीहरूलाई सिकाउनु, अनुशासित गर्नु र व्‍यवस्‍था तिनीहरूको जीवनमा लागू गर्ने काम पनि हामीहरूले गरेको हुनुपर्छ। यद्यपि तिनीहरूले येशूलाई पक्का पछ्याउने इच्‍छा गरे तापनि हामी तिनीहरूलाई व्‍यवस्‍थाबाट स्‍वतन्‍त्र गरेर उनीहरूलाई जे गर्न मन लाग्‍छ त्‍यही गर्न दिन सक्‍दैनौँ। तिनीहरू यसको लागि अझ तयार छैनन्। पहिला तिनीहरूले आज्ञाकारी भई बाहिरी व्‍यवस्‍थाको शिक्षा हासिल गर्नुपर्छ।

आत्‍मिक परिपक्कतामा नआएसम्‍म नयाँ विश्‍वासीहरूलाई पुरानो करारको अनुभवबाट बाहिर ल्‍याउनका निम्‍ति पास्‍टरहरू र शिक्षकहरूको आवश्‍यकता पर्दछ। तब मात्र नयाँ करारको परिपूर्णतामा तिनीहरू चल्‍न सक्‍छन्। त्‍यसपछि मात्र पास्‍टरहरू र शिक्षकहरूको काम पनि सकिन्‍छ। अनि ती विश्‍वासीहरू अन्‍य सन्‍तहरूसँग सङ्गतिमा निरन्‍तर आनन्‍दित हुन सक्‍छन्। पहिलेभन्‍दा अझ विशिष्‍ट र गहिरो तहको सङ्‍गतिमा र अरूले उनीहरूलाई सिकाउनु पर्ने सट्टामा उनीहरूले नै अरू नयाँ विश्‍वासीहरूलाई सिकाउने र पास्‍टरको काम गर्छन् तर ऊ आफैलाई शिक्षकको आवश्‍यकता नपर्ने हुन्‍छ।

धर्मशास्‍त्र

ढुङ्गामा लेखिएको व्‍यवस्‍था पछि गएर कागजमा उतारियो। त्‍यो नै पुरानो करारको जग हो। अब हाम्रो हृदयमा लेखिएको व्‍यवस्‍था नै नयाँ करारको आधार हो। पुरानो करारमा धर्मशास्‍त्रले निश्‍चित व्‍यवस्‍थाहरू र दैनिक जीवन-यापनको लागि नियम दिइएको थियो। हामीलाई नयाँ करारको अनुभवमा पनि धर्मशास्‍त्रको आवश्‍यकता पर्छ त? यदि आवश्‍यकता पर्छ भने, यसको स्‍थान के हुन सक्‍छ त?

येशूको बारेमा पनि केही प्रश्‍नहरू राख्‍दै प्रारम्‍भ गरौँ - येशूलाई धर्मशास्‍त्रको आवश्‍यकता पर्थ्‍यो ? उहाँको जीवनमा यसको स्‍थान के थियो ? यी प्रश्‍नको उत्तर हो- उहाँलाई धर्मशास्‍त्रको आवश्‍यकता थिएन भनी म विश्‍वास गर्छु। परमेश्‍वरको व्‍यवस्‍था उहाँको हृदयमा पूर्ण रूपमा लेखिएको थियो। उहाँको सिद्ध सम्‍बन्‍ध पिता (परमेश्‍वर) सँग थियो र त्‍यसलाई टेवा पुर्‍याउन कुनै पनि बाहिरी कुराको आवश्‍यकता थिएन। यसरी पितासँगको अखण्‍ड सङ्गति उहाँको जीवनमा सुरुदेखि अन्‍त्‍यसम्‍म नै थियो। उहाँले उजाड़ स्‍थानमा शैतानसँगको वाद-विवादमा धर्मशास्‍त्रबाटै बोल्‍नुभएको थियो। उहाँलाई त्‍यसको आवश्‍यकता थियो वा थिएन मलाई थाहा छैन। फरिसीहरूसँग सामना गर्नुपर्दा उहाँले धर्मशास्‍त्रलाई नै प्रयोग गर्नुभयो। उहाँले इम्‍माउसको बाटोमा धर्मशास्‍त्रबाट आफ्‍ना चेलाहरूलाई व्‍याख्‍या गरी दिनुभयो। जसै उहाँले धर्मशास्‍त्रमा आफ्‍नो मनको प्रतिविम्‍व देख्‍नुभयो, उहाँ प्रशन्न हुनुभयो भन्ने विषयमा म निसन्‍देह छु। उहाँले धर्मशास्‍त्रलाई, “सिकाउन, अर्ती दिन, सच्‍याउन र उचित जीवन यापन गर्नलाई उपयोगी” पाउनुभयो। तर आफ्‍नै लागिचाहिँ धर्मशास्‍त्रको अवश्‍यकता पर्थ्‍यो भन्ने कुरामा भने म विश्‍वास गर्दिन।

येशू हाम्रो प्रभु र मुक्तिदाता हुनुहुन्‍छ, साथै हाम्रो लागि एक उत्तम नमूना र उदाहरण पनि हुनुहुन्‍छ। परमेश्‍वर हाम्रा पिता, हामीहरू येशूजस्‍तै भएको चाहनुहुन्‍छ। हामीहरू नयाँ करारको पूर्णतामा हुनेछौँ र धर्मशास्‍त्रको पढाइले यो प्राप्‍त हुनसक्‍छ भन्ने विचार गलत छ। न येशूले निरन्‍तर धर्मशास्‍त्र अध्‍ययन गरेर पूर्णता पाउनुभयो न त हामीले नै पाउन सक्‍छौँ। उहाँले आफ्‍नो गुणहरू आफ्‍नो पिताबाट पाउनुभएको थियो र हामीले पनि त्‍यसरी नै पाउनेछौँ।

धर्मशास्‍त्रको पढाइले मात्र हाम्रो हृदयमा त्‍यसका कुराहरु लेखाउन सक्‍दैन। यदि हामीमा सम्‍झने शक्ति राम्रो छ भने यो हाम्रो मस्‍तिष्‍कमा रहन सम्‍भव छ, तर त्‍यो कुरा भने त्‍यस्‍तो होइन। वरु यस्‍ले अर्को काम पो गर्छ त। जब परमेश्‍वरले आफ्‍नो व्‍यवस्‍था हाम्रो हृदयमा लेखिदिनुहुन्‍छ तब हामी धर्मशास्‍त्र जान्‍दछौ र हामीमा अगाडीनै भएका कुरा थाहा गर्न सक्‍छौं। येशू जस्‍तै, यसलाई बुझेर हामी आनन्‍दीत हुन्‍छौं। हामी पनि धर्मशास्‍त्र “सिकाउन, अर्ती दिन, सच्‍याउन र उचित जीवन यापन गर्नलाई उपयोगी भएको” पाउंछौं। हामी धर्मशास्‍त्रलाई सिकाउन, र तालिम दिन, अर्ती दिन, अन्‍धकारको कामलाई देखाइदिन र आफ्‍नै र अरुको सुधार गर्नलाई प्रयोग गर्न सक्‍छौं। यदि हामीलाई कारागारमा हाली दियो र बाइबल खोसीयो भने पनि निसन्‍देह धर्मशास्‍त्र गुमाएको महसुस गर्नेछौं। तर हाम्रा आत्‍मिक जीवन बाइबलमा भरपरेको हुंदैन।

बाइबललाई ‘परमेश्‍वरको वचन’ अथवा ‘वचन’ मात्र भनी उल्लेख गरिनु नै प्रशस्‍त गलत अर्थ लगाइएको कारण बन्न पुगेको छ। बाइबल आफैले पनि कहिल्‍यै पनि यसरी भनेको छैन। यसले आफैलाई धर्मशास्‍त्र भनी उल्लेख गरेको छ र जब यो परमेश्‍वरको वचनको अर्थमा लिइन्‍छ तब पूर्ण रूपमा अर्थ फरक हुन्‍छ। यदि तपाईं यसमा शङ्का गर्नुहुन्‍छ भने बाइबल शब्‍दकोष खोजेर हेर्नुहोस्। प्रेरित १७:११मा यस्‍तो लेखिएको छ, “तिनीहरूले वचन ग्रहण गरे र धर्मशास्‍त्रमा खोजी गर्थे” यहाँ वचन स्‍पष्‍ट रूपमा धर्मशास्‍त्रभन्‍दा भिन्न छ। त्‍यसै गरी हामी “वचन देह हुन आयो” भनी पढ्‍छौँ र स्‍पष्‍टै छ, कि देह हुन आएको वचन बाइबल थिएन।

अन्‍य तीन वटा पदहरु बाइबलमा उल्‍लेख गरेको पाइन्‍छ। “मानिस भोजनले मात्र होइन तर परमेश्‍वरको मुखबाट निस्‍केको हरेक वचनले बाँच्‍तछ।” “आत्‍माको तरवार जोचाहिँ परमेश्‍वरको वचन हो।” एफिसी ६ अध्‍यायमा हतियार खण्‍ड “परमेश्‍वरको वचन जीवित र प्रवल र कुनै दुई-धारे तरवारभन्‍दा पनि धारिलो छ।” यी उल्‍लेखित पदहरू धर्मशास्‍त्रको अर्थमा लिने हो भने यसैलाई पुरानो करारको व्‍याख्‍यामा बढी जोड़ दिन खोजिएको जस्‍तो हुन्‍छ। बाइबलको पुरानो करारको धारणाअनुरूप विश्‍वास गर्नु र शिक्षा दिनुले मात्र कहिल्‍यै पनि नयाँ करारको अनुभवमा डोर्‍याउँदैन। नत्रता हामी तिनीहरूजस्‍तै हुनेछौँ, जसलाई येशूले भन्नुभयो, “तिमी व्‍यवस्‍थाका अध्‍यापकहरूलाई धिक्‍कार। किनकि तिमीहरुले ज्ञानको साँचो लगिहाल्‍यौ। तिमीहरु आफै पनि भित्र पसेनौ र पस्‍नेहरुलाई पनि तिमीहरुले रोक्‍यौ” (लूका ११: ५२)।

यदि परमेश्‍वरको वचनको अर्थ बाइबल होइन भने यसको अर्थ के हो त ? जब हामी पहिलेका धारणाहरू त्‍याग्‍छौँ, तब हामीले यस प्रश्‍नको जवाफ पाउन थाल्‍छौँ। ग्रीक भाषामा ‘लोगोस’ भन्ने शब्‍दको फराकिलो अर्थ छ। तर यो शब्‍द वचन र विचारमा केन्‍द्रित छ। परमेश्‍वरले जे भन्नुहुन्‍छ र सोच्‍नुहुन्‍छ त्‍यही उहाँको वचन अथवा ‘लोगोस’ हो। यो उहाँको आफ्‍नै विचार वा शब्‍दकोषको सृजना हो। परमेश्‍वरले बोलीद्वारा नै सम्‍पूर्ण सृष्‍टि गर्नुभयो। उहाँ प्राचीन अगमवक्ताहरूसँग औ ती अगमवक्ताहरूद्वारा मानिसहरूसँग बोल्‍नुभयो। उहाँ आफ्‍ना पुत्र येशू ख्रीष्‍टमा एवम् येशू ख्रीष्‍टद्वारा बोल्‍नुभयो। आज उहाँ आफ्‍ना मानिसहरूमा र तिनीहरूद्वारा बोल्‍नुहुन्‍छ। यी सबै उहाँकै वचन हुन्। जब उहाँको वचन हामीकहाँ आउँछ त्‍यो हाम्रो लागि जीवनको भोजन हुन आउँछ औ त्‍यो अत्‍यन्‍तै शक्तिशाली र हाम्रो हृदयमा गड़्छ। यो आत्‍माको तरवार हो। यो कहिल्‍यै व्‍यर्थ भई फर्कदैन, तर जुन उद्देश्‍यको लागि पठाइएको छ, त्‍यसलाई पूरा गर्दछ।

कृपया गलत नठान्नुहोला- मैले धर्मशास्‍त्रको अधिकार अथवा प्रेरणाको खण्‍डन गरिरहेको छैन। मेरो प्रयास नयाँ करारमा यसको स्‍थानलाई स्‍पष्‍ट पार्न खोज्‍नु मात्र हो। येशूले यसलाई जुन स्‍थान दिनुभयो साथै बाइबल आफैले दिएको स्‍थान म पनि दिन चाहान्‍छु।

अन्‍य परिवर्तनहरू:-

नयाँ करारको साथ-साथै अरू के परिवर्तनहरू आए ? जसै हामी अध्‍ययन गर्दछौँ, परमेश्‍वरको मार्ग र उहाँको तरिकाहरू सम्‍बन्‍धी नयाँ-नयाँ कुराहरू पत्ता लगाई सङ्गति गर्न थाल्‍दछौँ। कहिले काहीँ त यति साधारणजस्‍तो हुन्‍छ, कि जसको विषयमा हामीले लामो समयसम्‍म चालै नपाएको पनि हुन सक्‍छ र हामी छक्क पर्न सक्‍छौँ।

यसरी हामीले देखेका छौँ, कि देखिने र बाहिरी व्‍यवस्‍थाबाट जो भित्री र अदृष्‍य अवस्‍थामा हामी सरी सकेका छौँ। त्‍यसरी नै बाहिरी मानवीय शिक्षकहरूको सट्टामा भित्री र सधैँ बास गर्नुहुने परमेश्‍वरका आत्‍माले उक्त स्‍थान लिनुहुन्‍छ।

अब हामी हेर्नेछौँ कि नयाँ करारले अन्‍य थुप्रै समानान्‍तर एवम् सम्‍बन्‍धित परिवर्तनहरू ल्‍याएको छ। हामी परमेश्‍वरका नयाँ जाति भएको कुरामा मध्‍यनजर राख्‍दै विचार गर्न सुरु गरौँ। ।

नयाँ जाति

पुरानो करारको युगमा परमेश्‍वरले पृथ्‍वीका धेरै जातिहरूबाट एउटा खास जातिलाई छान्नुभयो। तिनीहरू इस्राएलका मानिसहरू थिए। त्‍यो विशेष जातिबाट इसहाक र याकूब हुँदै अब्राहमका सन्‍तानहरू पछि ‘यहूदी’ नामले चिनिए। आजको दिनसम्‍म पनि स्‍वभावैले तिनीहरू परमेश्‍वरले छान्नुभएको जाति हुन्। यद्यपि कुनै मानिस यहूदी मतमा परिवर्तन भएर यहूदी बन्न सक्‍छ तर यस जातिको सदस्‍य बन्न सरल विधिचाहिँ यहूदी आमाको कोखबाट शारीरिक जन्‍म लिनु हो।

जब मसिह (ख्रीष्‍ट) इस्राएलमा आउनुभयो, त्‍यस देशका अगुवाहरू र बहुसङ्ख्‍यक यहूदीहरूले उहाँलाई इन्‍कार गरे। अझ बहुसङ्ख्‍यक यहूदीहरूले सुरुको मण्‍डलीको शक्तिशाली र शुद्ध गवाहीलाई समेत इन्‍कार गरे। यसकारण परमेश्‍वरको इन्‍साफ यहूदीहरूमा खनियो र इ.सं. ७० मा रोमीहरूले यरूशलेममा आक्रमण गरी लुटपाट मच्‍चाए। त्‍यसपछि तिनीहरू पृथ्‍वीको अन्‍य विभिन्न भागहरूमा तितर-बितर भै भाग्‍न बाध्‍य भए। तिनीहरूले शारीरिक यातना र आत्‍मिक अन्‍धोपनमा लगभग १९०० वर्षसम्‍म एउटा राष्‍ट्रदेखि अर्को राष्‍ट्रमा भौंतारिँदै हिँडे, तर तिनीहरूले कहिल्‍यै पनि स्‍थायी विश्राम पाएनन्।

यो शताब्‍दीले पनि यहूदीहरूको जीवनमा भएको असमान प्रशस्‍त नाटकीय घटनाहरू देखायो। जब तिनीहरूको लामो प्रवासको अन्‍त्‍य भयो, तबदेखि नै तिनीहरूको आत्‍मिक अन्‍धोपन बिस्‍तारै हट्न थाल्‍यो। हिटलरको नर-संहारले विश्‍वलाई नै स्‍तब्‍ध बनायो र त्‍यसको लगतै आधुनिक इस्राएलको जन्‍म भयो र आश्‍चर्यजनक रूपमा तिनीहरू बाँचिरहे।

यहूदी जातिको उपलब्‍धिहरू तिनीहरूको कूल जनसङ्ख्‍याको अनुपातभन्‍दा धेरै छ। तिनीहरूले विश्‍वलाई धर्मशास्‍त्र, साम्‍यवाद र आणाविक हात-हतियारहरू दिए। तिनीहरूको शैक्षिक, वैज्ञानिक र कलाकृति सम्‍बन्‍धी उत्‍कृष्‍ट उपलब्‍धिहरू ज्‍यादै आश्‍चर्यलाग्‍दो छ। तिनीहरू नै परमेश्‍वरका मानिसहरू र उहाँमा विशेष लक्ष्‍य भएका जाति हुन् भनी यी कुराहरूले प्रमाणित गर्दछ।

तिनीहरूमा अदभूत् रूपले परमेश्‍वरको शक्तिको प्रदर्शन भएको थियो तापनि इस्राएलीहरू पुरानो करारको स्‍वभाविक मानिसहरूभन्‍दा असल भएनन्। त्‍यो दिन एउटा महान् दिन थियो जब यहोवे परमेश्‍वरले आफ्‍नो शक्तिद्वारा इस्राएलीहरूलाई मिश्र देशबाट निकाली ल्‍याउनु भएको थियो। त्‍यो दिन महान् दिन थियो जब येशूले उहाँका नयाँ करारका मानिसहरूलाई हात फैलाएर आफ्‍नो शरीरको सबै रगत बगाएर पापबाट स्‍वतन्‍त्र गर्नुभयो।

स्‍वभाविक जन्‍मद्वारा नै पुरानो करारमा मानिसको दर्जामा प्रवेश पाइन्‍थ्‍यो तर आत्‍मिक जन्‍मले मात्र हामीलाई नयाँ करारमा प्रवेश गराउँदछ। जो जति परमेश्‍वरको आत्‍माद्वारा जन्‍मन्‍छन् तिनीहरू मात्र परमेश्‍वरका सन्‍तान हुन पाउने नयाँ जाति हुन्। यसरी नयाँ जन्‍मले मात्र हामीलाई परमेश्‍वरका छोरा-छोरीहरू बनाउन सक्‍छ।

यहाँ हामी यस कुरामा अलि जोड़ दिऔँ - बप्‍तिस्‍माले, कुनै झुण्‍डले, अथवा सम्‍प्रदायको सदस्‍यताले, हाम्रो असल कार्यले, राष्‍ट्रियताले, वर्णले, धर्मले अथवा कुनै पनि मानवीय कुराहरूले कसैलाई पनि परमेश्‍वरको नयाँ करारको विशेष जातिको सदस्‍य बनाउन सक्‍दैन। नयाँ करारमा आउनलाई एउटै मात्र उपाय हो- ‘नयाँ जन्‍म’।

यो आत्‍मिक जातिको केही सदस्‍यहरूमा प्रत्‍यक्ष स्‍वभाविक वरदानहरू छन्। खास गरी परमेश्‍वरले यस संसारको गरिब र कमजोरहरूलाई उहाँको कामको निम्‍ति छान्नुभयो। पावल हामीलाई यसरी स्‍मरण गराउँदछन्, “शरीरअनुसार धेरै जना बुद्धिमान, धेरै जना शक्तिमान, धेरै जना खानदानीलाई बोलावट भएको छैन। तर बुद्धिमानहरूलाई शर्ममा पार्नलाई परमेश्‍वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो, र शक्तिशाली कुराहरूलाई शर्ममा पार्नलाई परमेश्‍वरले संसारका निर्बल कुराहरूलाई चुन्नुभयो” (१ कोरिन्‍थी १: २६, २७)।

अब परमेश्‍वरको नयाँ जातिसँग आत्‍मिक वरदानहरू र शक्तिहरू छन्। यीमध्‍ये धैरेजसो शारीरिक आँखाको लागि अदृश्‍य र स्‍वभाविक विचारबाट छिपेर रहेका हुन्‍छन् तथापि तिनीहरूबाट प्राप्‍त गर्न सकिने सत्‍य फाइदाहरू ज्‍यादै ठूला छन्। जबसम्‍म स्‍वर्गका पुस्‍तकहरू खोलिँदैनन् र त्‍यसको गुप्‍त कुराहरूमा प्रकाश पारिँदैन, तबसम्‍म आत्‍मिक भेदहरू र परमेश्‍वरमा असङ्ख्‍य नम्र स्‍त्री-पुरुषहरूका विजयहरू तिनीहरूको साथी-सहयोगीहरूबाट लुकिएकै अवस्‍थामा हुनेछन्। केवल अनन्‍तताले मात्र मानव जातिको लागि चिरस्‍थायी भलाइ र मुक्ति ल्‍याएको देखाउनेछ।

परमेश्‍वरको पुरानो करारमा चुनिएको जातिको सदस्‍यको रूपमा जन्‍मिन पाउनु शौभाग्‍यको कुरा थियो। त्‍यसै गरी आत्‍मिक जन्‍मद्वारा नयाँ करारमा परमेश्‍वरको सन्‍तानको रूपमा जन्‍मिनु पहिलोभन्‍दा अझ उत्तम अवसर हो। परमेश्‍वरको प्रशंसा होस्, स्‍वभाविक जन्‍मपछि, आत्‍मिक जन्‍मद्वारा उहाँका मानिसहरूको सङ्ख्‍या दिन-प्रतिदिन बृद्धि भइरहेको छ।

नयाँ पूजाहारीपन

नयाँ करारमा केवल नयाँ जाति मात्र छैनन् तर नयाँ पूजाहारीगीरी पनि छन्। पुरानो करारको पूजाहारीहरू लेवी कुलबाट र हारुनका परिवारबाट ल्‍याइएका हुन्‍थे। तिनीहरूको पवित्र स्‍थान र मन्‍दिरको कामको सम्‍बन्‍धमा स्‍पष्‍ट उल्‍लेख भएको थियो जसरी तिनीहरूले परमेश्‍वर र मानिसका बीच मध्‍यस्‍थताको सेवा गर्दथे। हिब्रू ७ अध्‍यायले यस कुरालाई यसरी स्‍पष्‍ट पार्दछ, कि नयाँ करारमा नयाँ पूजाहारी पद छ, जुन पुरानोभन्‍दा अति उत्तम छ। यस नयाँ दर्जालाई मल्‍कीसेदेकको दर्जा भनिन्‍छ। नयाँ दर्जाअनुसार प्रधान पूजाहारी येशू नै हुनुहुन्‍छ।

लेवी पूजाहारी पदको सदस्‍यता वंशअनुसार बुबाबाट छोरामा सर्दथ्‍यो। यस चलनको परिणाम सधैँ असल भएन। ‘पुरोहितको छोराले जजमानी नै गर्छ र ‘जस्‍तो बाबु उस्‍तै छोरा हुन्‍छ’ भनेर’ भन्न सकिन्न। पूजाहारी एलीका छोराहरू पूर्ण रूपले नै भ्रष्‍ट थिए। शमूएलका छोराहरू पनि त्‍यति असल थिएनन्। पुर्ख्‍यौलीअनुसारको स्‍वभाविक अधिकार त्‍यति भरपर्दा हुँदैन। जस्‍तै भए तापनि लेवी पूजाहारीको सिद्धान्‍त कामचलाउ र पुजाहारी कस्‍तो हुनुपर्छ भन्ने धारणाको लागि दृष्‍टान्‍त दिनू पर्याप्‍त थियो। परमेश्‍वरले मल्‍कीसेदेक पूजाहारी पदको नयाँ दर्जा स्‍थापित नभएसम्‍म त्‍यसको प्रयोग गर्नुभयो।

हिब्रू ७:३ मा मल्‍कीसेदेकको बारेमा उल्‍लेख गरिएको छ, “विनापिता, विनामाता, विनावंशाबली, नता दिनको आदि, न जीवनको अन्‍त भएका तर परमेश्‍वरको पुत्रजस्‍तो तुल्‍याइएका उनी निरन्‍तर पूजाहारी भइरहन्‍छन।” येशू यही नयाँ पूजाहारी पदमा प्रवेश गर्नुभयो ता कि “शारीरिक आज्ञाको व्‍यवस्‍था बमोजिम होइन, तर अविनाशी जीवनको शक्तिअनुसार पूजाहारी बनिनुभएको हो” (हिब्रू ७:१६)। उहाँको पालन-पोषण गर्ने पिता यूसुफ पूजाहारी भएको कारणले होइन, न त मण्‍डलीको समितिले स्‍वीकार गरेकोले, तर परमेश्‍वरकै नियुक्तिद्वारा उल्लेखित पूजाहारी पदमा प्रवेश गर्नुभयो। साधारणतया स्‍पष्‍ट रूपमा भन्नुपर्दा उहाँ पूजाहारी पदको कामको लागि अति उपयुक्त हुनुहुन्‍थ्‍यो। उहाँको नियुक्ति धार्मिक विधिमात्र थिएन तर उहाँको बप्‍तिस्‍मामा परमेश्‍वरको यस्‍तो उद्‍घोषण भएको थियो, “यिनी मेरा प्‍यारा पुत्र हुन, जससँग म प्रसन्न अति छु।” त्‍यसपछि उहाँमा पवित्र आत्‍मा ढुकुरको रूपमा ओर्लनुभयो।

लेवी पूजाहारीहरूले विशेष उद्देश्‍यअनुरूप सेवा गरेका थिए। उनीहरूको पदमा धेरै जना इमान्‍दार धर्मी मानिस भए तापनि पौराणिक एकलेसियाका पूजाहारीहरू त खास हुनुपर्ने पूजाहारीहरूको एउटा नमूना मात्र थिए। मल्‍कीसेदेक पूजाहारीकै स्‍तरमा परमेश्‍वरले नयाँ करारको पूजाहारी विधिपूर्वक नियुक्त गर्नुभएको छ। उहाँले तिनलाई महान् प्रधान पूजाहारी बनाउनुभएको थियो। उहाँको कामको लागि छान्नुभएको र नियुक्त गर्नुभएकाहरूलाई उहाँले पवित्र आत्‍माले अभिषेक गर्नहुन्‍छु।

मल्कीचेदेकको पूजाहारीपन हेर्नुहोला।

नयाँ भवन

नयाँ करारमा नयाँ जाति, नयाँ पूजाहारीहरू र नयाँ भवन पनि छ। इस्राएल राज्‍यको इतिहासको चरम सीमामा सुलेमान राजाले पहिलो महान् मन्‍दिरको निर्मान गरे। दाऊद राजाको फौजले जहाँ गए त्‍यहीँ विजय प्राप्‍त गरे। फलस्‍वरूप सुलेमानको पालामा शान्‍ति र समृद्धि आएको थियो। उनले आफ्‍नो शक्ति परमेश्‍वरको भवन बनाउनलाई लगाए। तर त्यो मन्‍दिर बनाउने आज्ञा परमेश्‍वरले दिनुभएको थिएन। उहाँले मोशालाई पवित्र स्‍थान बनाउनको निम्‍ति आवश्‍यक ढाँचाको निर्देशन दिनुभएको थियो। दाउदको असल विचार थियो र त्‍यसलाई सुलेमानको जीवनकालमा पूरा गर्ने अनुमति परमेश्‍वरले दिनुभयो।

परमेश्‍वरले त्‍यस मन्‍दिरलाई अति उच्च आदर दिनुभएन र उज्‍जियाह राजाको शासन कालमा भुकम्‍पबाट त्‍यसलाई नष्‍ट हुन दिनुभयो। इस्राएलीहरू कैदी अवस्‍थामा हुँदा नबूकदनेसर राजाले त्‍यसलाई जलाएर भस्‍म पारिदिए। फेरि बाबेल प्रवासबाट फर्की आएकाहरूले त्‍यसको पुन: निर्माण गरे। अन्‍तिओकस एपिफनेसले यसै स्‍थानमा जुपिटर देवताको सालिक राखे र पवित्र वेदीमा सुँगुरको बलि चढाएर त्‍यसलाई अपवित्र पारिदिए। त्‍यसपछि दुष्‍ट राजा हेरोदद्वारा भब्‍य आकारमा मन्‍दिर पुन: निर्माण गरियो। त्‍यही मन्‍दिर येशूको समयसम्‍म पनि विद्यमान थियो।

यहुदीहरूले त्‍यसताका मन्‍दिरलाई ज्‍यादै श्रद्धा र आदर दिन्‍थे। येशू, स्‍तिफनस र पावललाई त्‍यस मन्‍दिरको आदर नगरेकाले ईश्‍वर निन्‍दाको दोष लगाइएको थियो। जब येशूका चेलाहरूले कानेखुसी गर्दैथिए, उहाँले भन्नुभयो, “तिमीहरु यी ठूला भवनहरु देख्‍दछौ? एउटा ढुङ्गा पनि नछोडी, यी सबै भत्‍काइनेछन्।”

परमेश्‍वरको विचारचाहिँ अर्को नयाँ करारको मन्‍दिर बनाउनेतर्फ थियो। “हातले बनाएका भवनहरूमा सर्वोच्‍च परमेश्‍वर वास गर्नहुन्न” भनेर स्‍तिफनसले भनेको थिए (प्रेरित ७:४७) र त्‍यही भाषणको कारणले गर्दा उनी येशूका निम्‍ति पहिलो सहिद बन्न पुगे। ईश्‍वरीय योजना अति उच्च थियो। उहाँको वास्‍तविक मन्‍दिर मानव जाति नै हुनु पर्ने थियो। उहाँ इँटा र ढुङ्गाले बनेको भवनमा होइन तर रगत र मासुले बनेको मन्‍दिरमा बस्‍न चाहनुहुन्‍छ। नयाँ नियम यस्‍तै सन्‍देशले भरिएको छ, “तिमीहरु पवित्र आत्‍माका मन्‍दिर हौ।” परमेश्‍वरले आराधना गर्ने विशेष भवन चाहनुहुन्‍छ भन्ने विचार सदाको लागि सिद्धिएको छ। उक्त संसारिक मन्‍दिरको बारेमा येशूले अन्‍तिम अगमवाणी दिनुभएको थियो। रोमी फौजले इ.सं. ७० मा मन्‍दिरको जगमा लुकाइएको सुन खोज्‍दा एउटा ढुङ्गामाथि अर्को ढुङ्गा नराखी सबै भत्‍काए। यसरी येशूले गर्नुभएको अगमवाणी अक्षरस (एक-एक गरी) पूरा भयो।

हिन्‍दु धर्मलम्‍बी र बौद्धमार्गीहरूका देवता मन्‍दिरमा बस्‍छन्। मुस्‍लिम धर्मलम्‍बीहरूको पनि मस्‍जिद छ जुन पवित्र मानिन्‍छ। हाम्रो मण्‍डली भवनको के अर्थ छ त ? के यी पनि अरू मन्‍दिरजस्‍तै पवित्र ठाउँ हुन् त ? निश्‍चय पनि होइन। हामी विश्‍वासीहरू आ-आफ्‍नो घरमा भेला भएर, रुखमूनि भेला भएर, नदी किनारमा भेला भएर, अथवा मण्‍डली घरमा नै रहेर येशू ख्रिष्‍टको नाममा भेला भएर सङ्गति गर्छौं भने उहाँ हामीहरूको बीचमा आउनुहुन्‍छ। मण्‍डली भनेको घर होइन। हामी आफै परमेश्‍वरका पवित्र मन्‍दिर हौँ। मण्‍डली-भवन (घर) अन्‍य इँटा र ढुङ्गाले बनेको घरभन्‍दा फरक छैन।

बेलायतमा भएका प्राय: चर्चहरू त पहिले अन्‍य देवी देवताको पूजा गर्ने ठाउँजस्‍तै बनाइएका छन्। पुरानो करारको समयमा पनि त्‍यही चाल थियो। इस्राएलको इतिहासको लामो अवधिसम्‍म यहोवेको उच्च स्‍थानहरूमै आराधना गरियो जहाँ अगाडि अन्‍यजातिहरूले बलिदान चढ़ाउने गर्थे। शामूएल अगमवक्ताले पनि त्‍यसै गरेको देखिन्‍छ। निशन्‍देह परमेश्‍वरले उनको हृदय हेर्नुभयो। त्‍यसैले उनका बलिदानहरू ग्रहण गर्नुभयो। त्‍यसै प्रकारले यहूदाका विभिन्न धर्मी राजाहरूले सो धर्मको पालना गरे। हिजकियाह राजाचाहीँ अन्‍य राजाहरूको तुलनामा फरक थिए जसले ती स्‍थानहरू नष्‍ट गरे। परमेश्‍वरले उनको विषयमा यसरी घोषणा गर्नुभयो, “यहूदाका सबै राजाहरूमध्‍ये तिनका पछि आउने अथवा तिनी अघि जाने कुनै पनि तिनीजस्‍ता भएनन्। तिनी परमप्रभुका भक्त भइरहे ...यसैले परमप्रभु तिनीसँग रहनुभयो ..” (२ राजा १८: ५-७)।

नयाँ चाड़हरू

चाड़हरूका विषयमा हेर्दाखेरी हामीले पहिलेका जस्‍तै नियमहरू फेरि पाउँछौँ। परमेश्‍वरले पुरानो करारमा चाड़हरूको स्‍थापना गर्नुभयो। ती चाड़हरूममध्‍ये निस्‍तार, पेन्‍तिकोस र झुप्रो-बासका चाड़हरू प्रमुख हुन्। उहाँले मोशाद्वारा इस्राएलीहरूलाई वर्षमा तीन पटक यरूशलेम गई ती चाड़हरू पालना गर्ने आदेश दिनुभयो। ती चाड़हरू मान्नुपर्दा समय, परिश्रम र ठूलो खर्चको आवश्‍यकता पर्दथ्‍यो। धेरै शताब्‍दीदेखि तिनीहरूमध्‍ये धेरैले चाड़हरू मान्न बिर्सिसकेका थिए। पछि आएर राजा हिजकियाह, राजा योशियाह र शिक्षक एज्राले यी चाड़हरूको फेरि ध्‍यान दिलाई त्‍यसको पालना गर्न मानिसहरूलाई निर्देशन दिए।

येशूसँग मानिसलाई दिनको लागि अझ उत्तम कुरा थियो। उहाँले पुरानो चाड़हरूलाई नयाँ करारको पूर्णतामा ल्‍याउनुभयो। पावल यसरी बयान गर्छन्, “हाम्रो निस्‍तार चाड़को बलिदान भै सकेको छ, जो ख्रीष्‍ट हुनुहुन्‍छ। यस कारण हामी नता पुरानो खमीरले न कुकर्म र दुष्‍टताको खमीरले तर निष्‍कपट र सत्‍यताको अखमिरी रोटीले चाड़ मनाऔँ” (१ कोरिन्‍थी ५: ७,८)। अझ उत्तम मनभित्रका चाड़हरूका अर्थ पत्ता लगाएपछि क्रमिक रूपमा येशूका सुरुका चेलाहरू ती पुराना करारका चाड़हरूबाट टाढिँदै गएका थिए।

पुरानो मण्‍डलीहरू, विशेष गरी रोमी सम्राट कन्‍स्‍टन्‍टिनको अधीनमा स्‍थापित भएपछि, मण्‍डलीले नयाँ करारको यथार्थतालाई गुमाए अनि फेरि मुर्तिपूजा गर्न सुरु गरे, जुन परमेश्‍वरले आज्ञा नगरेको कुरा थियो। ख्रीष्‍टमस, ईष्‍टर र मण्‍डलीसँग सम्‍बन्‍धित अन्‍य चाड़हरू सबै मूर्तिपूजक धर्महरूमा आधारित छन्।

इस्राएलका चाड़-पर्वहरू हेनर्नुहोस।

नयाँ विश्राम दिन

विश्रामको दिन पनि अन्‍य चाड़हरूजस्‍तै नै हो। विश्राम दिनको बारेमा परमेश्‍वर र इस्राएली जातिबीच पवित्र करार स्‍थापित गरिएको थियो। विश्राम दिन सप्‍ताहको सातौं दिन - शनिबार थियो। हिब्रू लेखक स्‍पष्‍ट पार्छन् कि विश्राम दिन कुनै पनि बार र दिनमा निर्भर हुनु आत्‍मिक आराम होइन। उनी यसरी भन्‍दछन्, “किनकि उहाँको विश्राममा प्रवेश गर्नेले परमेश्‍वर आफैले गर्नुभए झैँ आफ्‍नो कामबाट त्‍यसले पनि विश्राम लिनुपर्छ। यसकारण हामी त्‍यस विश्राममा प्रवेश गर्नलाई प्रयत्‍न गरौँ र त्‍यही अनाज्ञाकारीको उदाहरणमा कोही मानिस पतित नहोस” (हिब्रू ४: ९-११)।

यस्‍ता कुराहरू नबुझेर मण्‍डलीले यहुदीहरूजस्‍तो शनिबार नमानेर अन्‍यजातीहरूजस्‍तै आइतबारलाई विश्राम दिनको रूपमा मान्न लाग्‍यो। त्‍यो नियम मानिसहरूबाट त स्‍वीकारियो तर परमेश्‍वरको निगाहचाहिँ गुमायो र सम्‍झनाको लागि हप्‍ताको पहिलो दिन आइतबारलाई मुख्‍य दिन भनी मान्न थाले। यसप्रकार मण्‍डली बिस्‍तारै बहकिन थाल्‍यो।

सार-संक्षेप

हामीले व्‍यवस्‍था, शिक्षकहरू, धर्मशास्‍त्र, जाति, पूजाहारी, भवनहरू, चाड़हरू र विश्राम दिनको बारेमा हेरिसकेका छौँ। उपोरोक्त प्रत्‍येक विषयवस्‍तुमा तीनवटा समान विशेषताहरू पाइन्‍छन्, ती हुन्-

पुरानो करारमा सकली शिक्षकहरू थिए। अनि हामीमा वास गर्नुहुने गौरवमय पवित्र आत्‍मा शिक्षक हुनुहुन्‍छ। मण्‍डलीमा पवित्र आत्‍माको स्‍थान ओगटेर विभिन्न प्रदर्शन र आश्चर्य कामहरू गर्दै झुटा शिक्षकहरूको प्रवेश भएको छ। परमेश्‍वरले आफ्‍नो जातिहरूलाई उचित र असल व्‍यवस्‍था दिनुभयो। पछि अझ असल व्‍यवस्‍था मानिसको हृदयमा लेखिएको भित्री व्‍यवस्‍था दिनुभयो। शताब्‍दीऔँदेखि मानिसहरू आफ्‍नै मानवीय व्‍यवस्‍था, धार्मिक अनुष्‍ठान र प्रार्थना-पुस्‍तकहरूतर्फ फर्केको देख्‍दा दु:ख लाग्‍छ। त्‍यसो गर्न परमेश्‍वरले मानिसलाई प्रेरणा दिनुभएको थिएन। अब्राहामदेखी इसहाक, याकूब हुँदै जन्‍मिएको सन्‍तान नै पुरानो करारको यहूदी जाति हो। नयाँ करारको जातिचाहिँ परमेश्‍वरको आत्‍माबाट जन्‍मिएका र उहाँलाई अनुसरण गर्ने मानिसहरू हुन् र त्‍यसको आधार बप्‍तिस्‍मा र मण्‍डलीको सदस्‍यता नै भएको हामी देख्‍दछौँ। प्राय: हामीले लेवी पूजाहारीहरूजस्‍ता, मल्‍कीसेदेक पूजाहारीजस्‍ता मण्‍डलीमा नक्कली पूजाहारीहरू देख्‍ने गर्दछौँ। पुरानो करारको मन्‍दिर र पवित्र स्‍थानलाई नयाँ करारमा अनौठो मानवीय मन्‍दिर बनाएको र पछि आएर मूर्तिपूजा गरिने भवनहरूलाई नै परमेश्‍वरको घरको रूपमा घोषणा गरिएको पनि थाहा पायौँ। परमप्रभुले पहिले निस्‍तार, पेन्‍तिकोस र झुप्रो-बास भन्ने चाड़हरू दिनुभएको थियो तर नयाँ करारमा चाहिँ आत्‍मिक चाड़हरू थिए। ख्रीष्‍टमस र ईष्‍टर उहाँले दिनुभएको चाड़हरू होइनन्। अन्‍तमा भन्‍नुपर्दा पुरानो करारको विश्राम दिन, नयाँ करारको आत्‍मिकी विश्राम र मूर्तिपूजाको रूपमा मण्‍डलीले मान्‍दै आएको विभिन्‍न चाड़हरू र आइतबारको बारेमा पनि हामीले प्रष्‍ट रूपमा हेर्न सक्‍यौँ।

येशूले आफ्‍नो रगतद्वारा नयाँ करारको उद्‍घाटन गर्नुभयो। उहाँको प्रथम चेलाहरूले यस विशेष अवसरमा जिउने क्रममा आफ्‍नो जीवन नै बलिदान गरे। हिब्रूहरूलाई पठाइएको पत्रमा विवादस्‍पद कुरालाई स्‍पष्‍ट पारी बलियो बनाउन बिस्‍तृत रूपमा लेखिएको छ। यसले पुरानै जीवनतर्फ फर्कन चाहनेहरूलाई प्रशस्‍त चेतावनी दिँदछ। हिब्रूको पत्रको हरेक पाता नै यस प्रसङ्ग र शिर्षकसँग सुहाउँदो छ। अन्‍तमा हिब्रू १२:१८ - २४ को खण्‍डहरू उल्लेख गर्दै मेरो लेख समाप्‍त गर्दछु।

“किनकि छुनुहुने, आगो बलिरहेको, कालो बादल ... नजीक आएका छैनौ। तर तिमीहरू ता सियोन डाँड़ामा, स्‍वर्गीय यरूशलेम, अर्थात् जीवित परमेश्‍वरको शहरमा, अनगिन्‍ती स्‍वर्गदूतहरूका सेनामा, स्‍वर्गमा नाउँ दर्ता भएका पहिला गनिएकाहरूको सर्व साधारण समाज र मण्‍डलीकहाँ, सबका न्‍यायकर्ता परमेश्‍वरकहाँ, सिद्ध भएका धार्मिक मानिसहरूका आत्‍मा, नयाँ करारका मध्‍यस्‍थ येशूकहाँ र हाबिलको भन्‍दा राम्ररी बोल्‍ने रगतको छिट्कामा आएका छौ। होसियार बस, बोल्‍नुहुनेलाई तिमीहरूले अस्‍वीकार नगर।”

यो पुस्‍तकलाई रंगिन [Colour] छाप्‍ने फाइल

यो पुस्‍तकलाई श्‍याम-स्‍वेत [Black & White] छाप्‍ने फाइल

कसरी छाप्न‍