नयाँ करार

परिचय

हामीसँग भएको बाइबल दुई भागमा बिभाजन गरिएको छ, यसलाई पुरानो नियम र नयाँ नियम भनी नामाकरण गरिएको छ। यी दुई नामहरू परमेश्‍वरले यर्मिया अगमवक्तासँग बोल्‍नुभएको वचन बाट आएको तथ्‍य स्‍पष्‍ट छ। परमप्रभु भन्नुहुन्‍छ, “म इस्राएलको घराना र याकूबको घरानासित नयाँ करार बाँध्‍नेछु।” नेपाली बाइबलमा ‘नियम’ र ‘करार’ एउटै मूल शब्‍दबाट भिन्‍दा-भिन्‍दै रूपमा अनुवाद भई आएका छन्।

मेरो विचारमा प्राय: इसाईहरू पुरानो करारअनुरूप नै जिई रहेका छन्। निश्‍चय तिनीहरू नयाँ करार पढ्छन र तिनीहरूले दिने शिक्षा यसैको विषय-वस्तुमा आधारित हुन्‍छ, तर तिनीहरूको जीवन र अनुभवका थुप्रै पक्षहरू भने नयाँ करारका भन्‍दा पुरानो करारअनुसार हुन्‍छन्। दुई करारबीच भिन्नताको उचित ज्ञान हुनुचाहिँ वास्‍तविक आत्‍मिक वृद्धिको लागि महत्त्वपुर्ण हुन्छ।

म विश्‍वस्‍त छु, कि बाइबलको समयमा त्यो कुरा सत्‍य थियो। नया करारको समयमा पनि कुनै-कुनै विश्‍वासीहरू येशूले उहाँकै रगतबाट प्रारम्‍भ गर्नुभएको नयाँ करारको पूर्णता ग्रहण गर्न र अनुभव मा आउन असफल भएका थिए। अर्को तिर, पुरानो करारका धेरैजसो परमेश्‍वरका भक्तहरूले तिनीहरूका पालामा पाइने मौकाबाट बाहिर निस्केर परमेश्‍वरका गहिरा-गहिरा कुराहरूको अनुभव गरे। वास्‍तवमा तिनीहरू नयाँ करारको मार्गमा हिँड़ेका थिए।

नयाँ करारको शर्तको सम्बन्‍धमा यर्मिया ३१:३१-३४ पदहरूमा दिइएको छ। त्यहाँ यसरी लेखिएको छ- , परमप्रभु भन्नुहुन्‍छ, “हेर, दिन आउँदैछ, जब म इस्राएलको घराना र याकूबका घरानासित नयाँ करार बाँध्‍नेछु, त्‍यो करार मैले तिनीहरुका पिता-पुर्खाहरुलाई हातमा समातेर मिश्र देशदेखि निकालेर ल्‍याएको बेलामा तिनीहरुसित बाँधेको करार हुनेछैन, जुन करार तिनीहरुले भङ्ग गरे, यद्यपि म तिनीहरुका स्‍वामी थिएँ,” परमप्रभु भन्नुहुन्‍छ। तर ती दिनपछि जुन करार म इस्राएलको घरानासित बाँध्‍नेछु, त्‍यो यही हो, म मेरो व्यवस्‍था तिनीहरूको अन्‍तस्‍करणमा हालिदिनेछु, तिनीहरूको हृदयमा म त्‍यो लेखिदिनेछु। औ म तिनीहरूका परमेश्‍वर हुनेछु, तिनीहरू मेरा प्रजा हुनेछन्। कसैले आफ्‍नो छिमेकीलाई वा दाज्‍यू-भाइलाई फेरि यसो भनेर सिकाउनु पर्नेछैन, ‘परमप्रभुलाई चिन,’ किनभने सानादेखि ठूलासम्‍म सबैले मलाई चिन्नेछन्, किनकि म तिनीहरूका अपराध क्षमा गर्नेछु, र म तिनीहरूका पापलाई फेरि कहिल्‍यै सम्‍झनेछैनँ।”

यिर्मयाको यो खण्‍ड हिब्रू ८:८-१२ पदहरूमा पनि उद्धृत गरिएको छ। हिब्रूहरूलाई लेखिएको पत्रको धेरै भाग नयाँ करारको विषयवस्‍तुसँग सम्‍बन्‍धित छ र अझ बढी अध्‍ययनको लागि उपयोगी छ।

परमेश्‍वरलाई नयाँ करार बाँध्न किन आवश्‍यक थियो त?

यस विषय लाई हामी निम्नलिखीत शिर्षकहरु अन्तर्गत विचार गर्ने छौं : व्यवस्था, शिक्षक, धर्मशास्त्र, जातिहरू, पुजाहारीगिरी, भवनहरु, पर्वहरुविश्राम दिन.

व्‍यवस्‍था

परमेश्‍वरले इस्राएलीहरूलाई मिश्र देशबाट निकालेर ल्‍याउँदा उहाँले पहिलो करार बाँध्नुभएको थियो। त्‍यो पहिलो करार व्‍यवस्‍थामा आधारित थियो। त्यही व्‍यवस्‍था दस आज्ञामा संक्षिप्‍त गरिएको र प्रस्‍थान, लेवी, गन्‍ती र व्‍यवस्‍थाका पुस्‍तकहरूमा विस्‍तृत गरिएको छ। यी पुस्‍तकहरू - उत्‍पत्तिसहित पुरानो करारको मुख्‍य पुस्‍तकहरू हुन् र यिनीहरूलाई ‘तोराह’ (व्‍यवस्‍था) भनिन्‍छ।

परमेश्‍वरले मोशाद्वारा दिनुभएको व्‍यवस्‍था धार्मिक र न्‍यायोचित थियो र छिमेकी देश का मानिसहरू धार्मिक नियम भन्‍दा उत्‍कृष्‍ट थियो। व्यवस्था आधुनिक विचारअनुसार कठोर थियो। बोक्‍सी, व्यभिचारी, बलात्‍कारी, हत्यारा, आमा-बुबालाई हिर्काउने र अन्‍य अपराधहरू गर्नेहरूलाई व्‍यवस्‍थामा मृत्‍यु-दण्‍डको प्रावधान थियो। यदि आजसम्‍म पनि त्यही व्‍यवस्‍था लागु भएको भएदेखि समाज धेरै आनन्दित हुन्थ्यो जस्तो मलाई लाग्छ । दोषी मानिसहरूमा डर उत्‍पन्न हुन्थ्यो र निर्दोष व्यक्तिहरू सडकमा खुल्ला र स्‍वतन्‍त्रसाथ हिँड्थे ।

ती व्‍यवस्‍थाहरू सर्वोत्तम हुँदाहुँदै पनि यसबाट मानिस धर्मी बन्न सकेनन् । व्‍यवस्‍था दिइएको लगभग एक हजार वर्षपछि परमेश्‍वरको इन्‍साफ पहिले इस्राएल र त्‍यसपछि यहूदामाथि हुन आयो। तिनीहरूले परमेश्‍वरका सम्‍पूर्ण आज्ञाहरू उल्लङ्घन गरे र पुरानो करारको आफ्‍नो जिम्‍मेवारी पूरा गर्न असफल भए। सबैभन्‍दा पहिले तिनीहरूले परमेश्‍वरको प्रथम आज्ञाकै उल्लङ्घन गरे र परमेश्‍वरबाट तर्किएर अन्‍य देवी-देवताहरूको पूजा गर्न थाले। त्‍यसकारण अश्‍शुरीहरू र बेबिलोनीहरू आई तिनीहरूका भूमिलाई सर्वनास पारे। तिनीहरूले यरूशलेमलाई नाश पारी इस्राएलीहरूलाई कैदी बनाई लगे।

इस्राएलको इतिहासको यसै दुखद घडीमा यर्मियाले परमेश्‍वरको नयाँ करारको प्रतिग्याको विषयमा घोषणा गरेका थिए।

मूल समस्‍या भनेको परमेश्‍वरले दिनुभएको व्‍यवस्‍थामा नभएर मानवीय स्‍वभावमा नै आधारित थियो। यर्मिया भन्‍छन्,“हृदय सबै कुराभन्‍दा छली हुन्‍छ, त्‍यो अति भ्रष्‍ट हुन्‍छ।” नयाँ करारको सार भनेको मानिसको हृदय परिवर्तन गर्ने परमेश्‍वरको प्रतिज्ञा हो। “म मेरो व्‍यवस्‍था तिनीहरुको अन्‍तस्‍करणमा हालिदिनेछु, तिनीहरुको हृदयमा म त्‍यो लेखिदिनेछु।” जबसम्‍म मानव हृदय घमण्‍डी, लोभी र मुर्तीपुजक हुन्‍छ, तबसम्‍म जति अनुशासन, उत्साह र अभ्यास गरे पनि व्‍यवस्‍था पालना गर्न प्राय: असम्‍भव छ। यसको आफ्नै आन्तरिक कार्य शैली हुन्छ जो परमेश्‍वरको इच्छाको बिरुद्धमा हुन्‍छ।

धेरै मानिसहरूले यो कुरा पत्तै लगाउन सक्दैनन्। हुनसक्‍छ, तिनीहरूले साँचो परिवर्तनको अनुभव गरेका होलान्, खराब बानीहरू त्‍यागेको होलान् र तिनीहरूको जीवनशैलीमा आमूल परिवर्तन आएको पनि हुनसक्‍छ तर ती सबै कुराहरू भए तापनि आफूभित्रको दुष्‍टता भने पहिला जस्तै रही रहन सक्‍छ।

पावल नाटकीय रुपमा दमीशकको बाटोमा परिवर्तन भएका थिए। उनको जीवनको दिशा पूर्ण रूपमा बदलिएको थियो। पहिला जुन उत्‍साह र जोशले इसाईहरूलाई सताउन हिँडेका थिए पछि त्‍यही उत्‍साह र जोशमा सुसमाचार प्रचार गर्ने थाले। तर उनको समस्‍याहरूको अन्‍त भएको थिएन बरु शुरु हुँदैथियो। रोमी ७ अध्‍यायमा उनी भन्‍दछन् कि कसरी उनले व्‍यवस्‍था पालन गर्न भरमग्‍दुर कोसिस गरे तापनि पूर्ण रूपमा पालन गर्न सकेनन्।

उक्त खण्डमा उनले आफ्‍नो जीवन परिवर्तन हुनुभन्‍दा अगाडिका दिनहरूको विषयमा भनी रहेको जस्‍तो लाग्‍दैन। दमिशकको बाटोमा येशूसँग अचानक भेट भैसकेपछिको उनको जीवनमा ती सङ्घर्षमय समस्‍याहरू आएको हुनुपर्छ भन्ने मेरो धारणा छ। अन्‍तत उनले विजय हासिल गरी यसरी घोषणा गरे, “ख्रीष्‍ट येशूमा जीवनको आत्‍माको व्‍यवस्‍थाले मलाई पाप र मृत्‍युको व्‍यवस्‍थाबाट स्‍वतन्‍त्र गराएको छ। व्‍यवस्‍थाले जे गर्न सकेन ... पमेश्‍वरले गर्नुभयो।” रोमी ८ अध्‍यायमा उनले पत्ता लगाएका विजयको नयाँ तरिकालाई बर्णन गरेका छन्।

परमेश्‍वरका व्‍यवस्‍था हृदयमा लेखिनुको अर्थ के हो ? यो कुरा मानव स्‍वभावको पूर्ण परिवर्तन हुनुबाहेक अर्को कुनै कुरा होइन। यो त एउटा अलौकिक आश्चर्यकर्म हो। तपाईंले कुकुरलाई तालीम दिएर माग्‍न, उभिन र किसिम किसिमका खेलहरू खेल्‍न सिकाउन सक्‍नुहुन्‍छ। धिरजी भएर अनि इनाम दिएर कुकुरको अफ्‍नै स्‍वभाव विपरित काम पनि गराउन सक्‍नहुन्‍छ। यी सबै थोक गरे तापनि ‘कुकुर’ कुकुर नै हो र यसको आफ्‍नो प्राकृतिक स्‍वभावमा कहिल्‍यै पनि परिवर्तन गर्न सक्‍नुहुन्न। हाम्रो भनाइ पनि छ कि “गधालाई धोएर गाई बनाउन सकिन्न” र “बाह्र वर्ष कुकुरको पुच्‍छर ढुँग्रोमा राखे पनि उस्‍ताको उस्‍तै।”

परमेश्‍वरले मानिसको स्‍वभावको पुन: निर्माण गर्नुहुन्‍छ जसले गर्दा उहाँका व्‍यवस्‍थाहरूअनुसार काम गर्ने स्‍वभाव स्‍वत: हामीमा आउँछ। पत्रुसले यही सत्‍यताको सम्‍बन्‍धमा यसरी भन्‍दछन्, “जसबाट उहाँले हामीलाई उहाँको अनमोल र ज्‍यादै ठूलो प्रतिज्ञाहरू मञ्‍जूर गर्नुभएको छ, यस संसारको अभिलाषाबाट हुने विनासबाट उम्‍केर तिमीहरू ईश्‍वरीय स्‍वभावको सम्‍भागी होऔ” (२ पत्रुस १: ८)। पशु कहिल्‍यै पनि मानिस बन्न सक्‍दैन, तर मानिसचाहिँ परमेश्‍वरको अनुग्रहबाट ईश्‍वरीय स्‍वभावमा परिवर्तन हुन सक्‍छ।

स्‍वभावैले मानवहृदय पापी छ। विभीन्न कुराहरुले यस बुनियादी तथ्‍यलाई अस्‍पष्‍ट पार्नसक्‍छन्। सार्वजनिक हितको लागि दिइएका दबाबहरू, असल पालन-पोषण, असल मित्रहरू र तिनका प्रभाव र धार्मिक घमण्ड को कारणले बाहिरी सुधार त होला तर यी कुनै पनि कुराहरूले हृदय परिवर्तन गर्न सक्‍दैन। आत्‍मामा भएको नयाँ जन्‍मले मात्र हृदय परीवर्तन गर्न सक्छ र यही नयाँ करारको प्रतिग्याको सार हो।

शिक्षकहरू

व्‍यवस्‍थाको सम्‍बन्‍धमा बोलिसकेपछि यर्मियाले शिक्षादिने विषयमा यसो भन्‍दछन्, “कसैले आफ्‍नो छिमेकीलाई वा दाज्‍यू-भाइलाई फेरि यसो भनेर सिकाउनु पर्नेछैन, ‘परमप्रभुलाई चिन,’ किनभने सानादेखि ठूलासम्‍म सबैले मलाई चिन्नेछन्”। यर्मियाको यस भनाइलाई यहुन्नाले अझ जोड़ दिएर स्‍पष्‍टसाथ यसरी भन्‍दछन् “तिमीहरुलाई कसैले सिकाउनु पर्ने आवस्‍यकता पर्दैन ... उहाँको अभिषेकले तिमीहरुलाई सबै कुराको विषयमा सिकाउँछ ...” (१ यहून्ना २: २७)।

आधारभूत रूपमा सम्‍पूर्ण मानवीय शिक्षा स्वभाविक रुपमा पुरानो करारको अनुरूप नै भएको पाइन्‍छ। यो शिक्षा मानिसद्वारा दिएको र बाहिरी रुपमा मात्र उपयोगी हुन्‍छ। नयाँ करारको शिक्षा पवित्र आत्‍माद्वारा दिइएको हुन्छ र यो आन्‍तरिक हुन्छ। येशूले आफ्‍ना चेलाहरूलाई भन्नुभयो,“म जानू नै तिमीहरूको निम्‍ति फाइदा छ। किनभने म गइनँ भने शान्‍तिदाता तिमीहरूकहाँ आउनुहुने छैन ... तिमीहरूलाई भन्ने मसँग अझ धेरै कुराहरू छन्, तर अहिले तिमीहरू सहन सक्‍दैनौ। तै पनि जब उहाँ अर्थात् सत्‍यका आत्‍मा आउनुहुनेछ, तब उहाँले सबै सत्‍यमा तिमीहरूलाई बाटो देखाउनुहुनेछ” (यहून्ना १६: ७, १२, १३)। येशूले यसो भन्‍दै हुनुहुन्‍थ्‍यो, तिनीहरूमा बास गर्नुहुने पवित्र आत्‍माको शिक्षा नै चेलाहरूका लागि उहाँको आफ्‍नै शिक्षाभन्‍दा जो अन्य सबै मानवीय शिक्षा जस्तै बाहिरी हुन्छ, उत्तम हुनेछ । येशू ख्रीष्‍ट संसारकै श्रेष्‍ठ शिक्षक हुनुभए तापनि पवित्र आत्‍मा अझ उत्तम शिक्षक हुनुहुन्‍थ्‍यो। प्रत्‍यक्षरूपमा देखिने कुराहरू हुँदाहुँदै पनि अब तिनीहरू बाहिरी कुराहरूबाट भित्री (आन्‍तरीक) कुराहरूमा परिवर्तन हुन तयार थिए।

हामी येशूको र मोशाको वचनमा अन्तर हेरौँ - “मेरो मृत्‍युपछि तिमीहरु अवश्‍य भ्रष्‍ट बनेर मैले आदेश गरेको मार्गबाट तर्केर जानेछौ” (व्‍यवस्‍था ३१: २९)। यो पुरानो करारको अवस्था थियो (र आज पनि धेरै जसो इसाईहरूको यस्तै अवस्‍था छ); शिक्षक र अगुवा बिना प्रत्‍येक कुरा झरेर टुक्रिन्‍छ।

हामी यस्तै भिन्नता योएलको अगमवाणीमा पनि पाउँछौँ, जसलाई पत्रुसद्वारा पेन्‍तिकोसको दिनमा उधृत गरिएको थियो: “आखिरी दिनमा यस्‍तो हुनेछ भनि परमेश्‍वर भन्नुहुन्‍छ, म सबैको शरीरमाथि आफ्‍नो आत्‍मा खन्‍याईदिनेछु, औ तिमीहरुका छोराहरु ... छोरीहरु ... जवानहरु ... बूढा-पाकाहरु ... दासहरु ...दासीहरु ...।” सबै मानिसले समेत अति तल्लो दर्जाको अनपढ नोकर्नीले पनि परमेश्‍वर बाट सोझै व्यक्तिगत भित्री प्रकाश ईश्‍वरीय व्‍यक्तिगत अनुभव पाउन सक्‍छन्। महान् शिक्षकहरू र धर्मगुरुहरूमा भर परिरहन पर्ने अवस्‍थाको अन्‍त भएको छ।

धेरैजसो धर्मगुरुहरू को मन “म जानु नै तिमीहरुको निम्‍ति फाइदा छ” भन्ने येशूको वचनभन्‍दा, “मेरो मृत्‍युपछि भ्रष्‍ट भएर जानेछौ।” भन्ने मोशाको वचनको नजिक रहेको पाइन्‍छ। उनीहरू आफु अति महत्त्‍वपूर्ण भएको इच्छा गर्दछन्। उनीहरूको बगालको फाइदाको लागि सकेसम्‍म फिक्री गर्छन् तर नयाँ करारको खास अर्थ बुझ्न असमर्थ हुन्‍छन् र सुरक्षा दिने पवित्र आत्‍माको शक्तिमा विश्‍वास पनि गर्दैनन्। यो भन्दा पनि नराम्रो कुरा त के भने, यदि कोही पनि उनीहरूमा भर परेन भने आफ्‍नो पद, आयस्रोत र सुरक्षा गुमाइन्छ कि भनेर बढी चिन्ता गर्छन् ।

त्‍यसो भए नयाँ करारमा शिक्षकहरुको स्‍थान के हो? हामी यस प्रश्‍नको उत्तर एफिसी ४:११-१६ मा पाउँछौँ। यहाँ शिक्षकलाई पाँच सेवकाइमध्‍ये एक भनी जनाइएको छ, जुन स्‍वर्गारोहण हुनु भएको ख्रीष्‍टले आफ्नो मण्‍डलीलाई दिनुभएको हो - प्रेरितहरू, अगमवक्ताहरू, गोठालाहरू, शिक्षकहरू र प्रचारकहरू। पावल भन्‍दछन्, यी सेवकाइहरूको उद्देश्‍य नयाँ विश्‍वासीहरूलाई धोखामा पार्नबाट जोगाउनु र ख्रीष्‍टको शरीरलाई परिपक्‍वतामा ल्‍याउनु हो।

प्राय: नयाँ विश्‍वासीहरू नयाँ करारमा सोझै पाइला चाल्‍न असमर्थ हुन्‍छन्। सर्वप्रथम तिनीहरूले पुरानो करारको अनुभव गरेकै हुनुपर्दछ। आजको जस्‍तै नयाँ नियमको समयमा पनि नयाँ विश्‍वासीहरू मूर्तिपूजक परिवारबाट आएका हुन्‍थे जसले पुरानो करारलाई ठ्याम्‍मै जान्‍दैनथे। तर उनीहरू पनि व्‍यवस्‍थाको अधीनमा आउन आवश्यक थियो जसलाई पावलले यसरी उल्लेख गर्छन्, “हामीलाई ख्रीष्‍टमा ल्‍याउनलाई व्‍यवस्‍था त हाम्रो जिम्‍मावाल भएको छ।” पावलले यसलाई यसरी स्‍पष्‍ट पारेका थिये, “हकवाला बालक छउञ्‍जेल, ऊ सबै थोकका मालिक भए तापनि नोकरभन्‍दा फरक हुँदैन, तर बाबुचाहिँले ठहराएको समयसम्‍म ऊ संरक्षक र कारिन्‍दाहरूका अधीनमा हुन्‍छ” (गालाती ४: १,२)।

नयाँ विश्‍वासीहरू सजिलैसँग धोखाको शिकार बन्न सक्छन्। हामी यस्‍तो समयमा बाँचिरहेका छौँ, जुन समयमा थुप्रै झुटा अगमवक्ताहरू हुनेछन् भनी येशूले भन्नुभएको थियो। नयाँ विश्‍वासीहरूकोलागि (र अरूहरू जसमा छुट्याउन सक्‍ने ज्ञान हुनु पर्ने हो) प्राय: भेड़ाको भेषमा आउने ब्‍वाँसालाई चिन्नु धेरै कठिन हुन्‍छ। किनभने तिनीहरूको ग्यानेन्द्रीयले आत्‍माहरू छुट्याउन अभ्यास गरेका हुँदैनन्। यदि धर्मशास्‍त्रका पाँच सेवकाइहरूलाई हाम्रो माझमा राम्रोसँग सञ्‍चालन गयौँ भने धोखा दिनेहरुलाई पक्कै पनि सजिलो हुनेछैन। यस्ता सही सेवकाइहरूको अभावको कारणले धेरै इसाईहरू आत्‍मिक रूपमा बाल्‍यावास्‍थामा नै रहन्छन्, जहाँ तिनीहरू सजिलै झुठा र गलत शिक्षाको शिकार हुन्छन्।

धेरै इसाई आमा बुवाका छोरा-छोरीहरू यस्‍तै अवस्‍थामा छन्। तिनीहरू अझै नयाँ करारको मार्गमा हिड्न सकिरहेका छैनन्। हामीले तिनीहरूलाई सिकाउन, अनुशासित गर्न र व्‍यवस्‍था तिनीहरूको जीवनमा लागू गर्न आवश्यक छ। यद्यपि तिनीहरूले येशूलाई पछ्याउने पक्का इच्‍छा गरे तापनि हामी तिनीहरूलाई व्‍यवस्‍थाबाट स्‍वतन्‍त्र गरेर जे गर्न मन लाग्‍छ त्‍यही गर्न स्वीकृति दिन सक्‍दैनौँ। तिनीहरू यसको लागि अझ तयार छैनन्। पहिला तिनीहरूले बाहिरी व्‍यवस्‍था पालन गर्न आज्ञाकारी हुनु पर्छ।

आत्‍मिक परिपक्कतामा नआएसम्‍म नयाँ विश्‍वासीहरूलाई पुरानो करार पालन गर्ने अनुभव पारगरी बाहिर ल्याउनका निम्‍ति पास्‍टरहरू र शिक्षकहरूको आवश्‍यकता पर्दछ र तिनीहरू नयाँ करारको पूर्णतामा चल्‍न सक्‍छन्। त्‍यसपछि पास्‍टरहरू र शिक्षकहरूको काम सकिन्‍छ। अनि ती विश्‍वासीहरू अन्‍य सन्‍तहरूसँग सङ्गतिमा निरन्‍तर आनन्‍दित हुन सक्‍छन् (जुन पहिलेभन्‍दा अझ आशिषीत र गहिरो तहको सङ्‍गति हुन्छ) र उनीहरूले अरू नयाँ विश्‍वासीहरूलाई सिकाउन्छन् र हेर चाह गर्छन् तर उनीहरु आफैलाई शिक्षकको आवश्‍यकता पर्दैन।

धर्मशास्‍त्र

ढुङ्गामा लेखिएको व्‍यवस्‍थाको कागजमा विस्तृत रुपमा व्याख्या गरीयो र त्‍यो नै पुरानो करारको जग भयो। जबकि हाम्रो हृदयमा लेखिएको व्‍यवस्‍था नयाँ करारको आधार हो। पुरानो करारमा दैनिक जीवन-यापनको लागि धर्मशास्‍त्रले निश्‍चित व्‍यवस्‍थाहरू र नियम दिइएको थियो। के हामीलाई नयाँ करारको अनुभवमा पनि धर्मशास्‍त्रको आवश्‍यकता पर्छ र? यदि आवश्‍यकता पर्छ भने, यसको स्‍थान के हो?

आउनुस, येशूको विषयमा पनि यस्तै प्रश्‍नहरू राखेर आरम्‍भ गरौँ । के येशूलाई धर्मशास्‍त्रको आवश्‍यकता थियो ? उहाँको जीवनमा यसको स्‍थान के थियो ? मलाई लाग्छ उहाँलाई धर्मशास्‍त्रको आवश्‍यकता थिएन । परमेश्‍वरको व्‍यवस्‍था उहाँको हृदयमा पूर्ण रूपमा लेखिएको थियो। उहाँको सम्‍बन्‍ध पिता (परमेश्‍वर) सँग अटुट थियो र त्‍यसलाई टेवा पुर्‍याउन कुनै पनि बाहिरी कुराको आवश्‍यकता थिएन। येशूले जीवन भरीनै पितासँगको अखण्‍ड सङ्गतिमा हिडडुल गर्नु भयो । उहाँले उजाड़ स्‍थानमा शैतानसँगको वाद-विवादमा धर्मशास्‍त्रबाट उधृत गर्नु भएको थियो। उहाँलाई त्‍यसको आवश्‍यकता थियो वा थिएन मलाई थाहा छैन। फरिसीहरूको सामना गर्दा उहाँले धर्मशास्‍त्रलाई नै उधृत गर्नुभयो। उहाँले इम्‍माउसको बाटोमा धर्मशास्‍त्रबाट आफ्‍ना चेलाहरूलाई अर्थ खोली दिनुभयो। उहाँले धर्मशास्‍त्रमा आफ्‍नो मनको प्रतिविम्‍व देखेर उल्लसित हुनुभयो भन्ने विषयमा मलाई कुनै सन्देह छैन। उहाँले धर्मशास्‍त्रलाई, “सिकाउन, अर्ती दिन, सच्‍याउन र उचित जीवन यापन गर्नलाई उपयोगी” रहेको पाउनुभयो। तर उहाँको आफ्‍नै लागिचाहिँ धर्मशास्‍त्रको आवश्‍यकता थियो जस्तो मलाई लाग्दैन।

येशू हाम्रो प्रभु र मुक्तिदाता हुनुहुन्‍छ, साथै हाम्रो लागि एक उत्तम नमूना र उदाहरण पनि हुनुहुन्‍छ। परमेश्‍वर हाम्रा पिता, हामीहरू येशूजस्‍तै भएको चाहनुहुन्‍छ र हामीहरू नयाँ करारको पूर्णतामा यस्तै हुनेछौँ । धर्मशास्‍त्रको कठीन पढाइले यो प्राप्‍त हुनसक्‍छ भन्ने विचार गलत हो। न येशूले निरन्‍तर धर्मशास्‍त्र अध्‍ययन गरेर पूर्णता पाउनुभयो न त हामीले नै पाउन सक्‍छौँ। उहाँले आफ्‍नो चरित्र उत्तराधिकारमा आफ्‍नो पिताबाट पाउनुभएको थियो र हामीले पनि त्‍यसरी नै पाउनेछौँ।

धर्मशास्‍त्रको पढाइले त्‍यसमा भएका कुराहरू हाम्रो अन्तस्करणमा लेखाउन सक्‍दैन। यदि हाम्रो समझशक्ति राम्रो छ भने यो हाम्रो मस्‍तिष्‍कमा रहन सम्‍भव छ, तर त्‍यो भिन्दै कुरा हो। वरु यस्‍ले यसको विपरीत काम गर्छ । जब परमेश्‍वरले आफ्‍नो व्‍यवस्‍था हाम्रो हृदयमा लेखिदिनुहुन्‍छ तब हामी धर्मशास्‍त्र पढ्दा त्यसमा लेखिएका कुरा हामी भित्र अगाडीदेखिनै भएको थाह गर्छौ। येशू जस्‍तै, यसलाई बुझेर हामीपनि आनन्‍दीत हुन्‍छौं। हामी पनि धर्मशास्‍त्र “सिकाउन, अर्ती दिन, सच्‍याउन र उचित जीवन यापन गर्नलाई उपयोगी भएको” पाउंछौं। हामी धर्मशास्‍त्रलाई सिकाउन र तालिम दिन, अर्ती दिन र अन्‍धकारको कामलाई देखाइदिन र आफ्‍नै र अरुको सुधार गर्नलाई उपयोग गर्न सक्‍छौं। यदि हामीलाई कारागारमा हाली दियो र बाइबल खोसीयो भने निसन्‍देह धर्मशास्‍त्र गुमाएको महसुस गर्नेछौं, तर हाम्रा आत्‍मिक जीवन बाइबलमा भरपरेको हुंदैन। यसले हाम्रो हृदयमा भएका कुराहरु प्रतिबिम्बीत गर्छ तर परमेश्वरले धर्मशास्त्रलाई हाम्रो अन्तस्करणमा लेखने साधनको रुपमा उपयोग गर्नु हुन्न, उहाँले यो काम पवित्र आत्मा द्वारा गर्नु हुन्छ।

बाइबललाई ‘परमेश्‍वरको वचन’ अथवा ‘वचन’ मात्र भनी उल्लेख गरिनाले प्रशस्‍त गलतफहमी भएको छ। बाइबल आफैले कहिल्‍यै पनि यसरी भनेको छैन। यसले आफैलाई धर्मशास्‍त्र भनी उल्लेख गरेको छ र भिन्दै अर्थमा ‘परमेश्‍वरको वचन’ भनेर सम्बोधन गरिएको छ। यदि तपाईं यसमा शङ्का गर्नुहुन्‍छ भने बाइबल शब्‍दकोष खोजेर हेर्नुहोस्। प्रेरित १७:११मा यस्‍तो लेखिएको छ, “तिनीहरूले वचन ग्रहण गरे र धर्मशास्‍त्रमा खोजी गर्थे” यहाँ वचन स्‍पष्‍ट रूपमा धर्मशास्‍त्र भन्‍दा भिन्न छ। त्‍यसै गरी जब हामी “वचन देह हुन आयो” भनी पढ्‍छौँ तब स्‍पष्‍टै छ, कि देह हुन आएको वचन बाइबल होईन।

अरु तीन वटा पदहरू प्राय: बाइबल को स्थानमा उधृत गरेको पाइन्‍छ। “मानिस भोजनले मात्र होइन तर परमेश्‍वरको मुखबाट निस्‍केको हरेक वचनले बाँच्‍तछ।” “आत्‍माको तरवार जोचाहिँ परमेश्‍वरको वचन हो।” एफिसी ६ अध्‍यायमा हतियार खण्‍ड “परमेश्‍वरको वचन जीवित र प्रवल र कुनै दुई-धारे तरवारभन्‍दा पनि धारिलो छ।” यी पदहरूलाई धर्मशास्‍त्रको अर्थमा लिने हो भने यसलाई बलजफती पुरानो करारको आधारमा अनुवाद गर्न खोजने जस्तै हो। बाइबलको पुरानो करारको धारणाअनुरूप विश्‍वास गर्नु र शिक्षा दिनुले कहिल्‍यै पनि नयाँ करारको अनुभवमा डोर्‍याउँदैन। बरु हामी तिनीहरूजस्‍तै हुनेछौँ, जसलाई येशूले भन्नुभयो, “तिमी व्‍यवस्‍थाका अध्‍यापकहरूलाई धिक्‍कार। किनकि तिमीहरुले ज्ञानको साँचो लगिहाल्‍यौ। तिमीहरु आफै पनि भित्र पसेनौ र पस्‍नेहरुलाई पनि तिमीहरुले रोक्‍यौ” (लूका ११: ५२)।

यदि परमेश्‍वरको वचन भनेको बाइबल होइन भने यसको अर्थ के हो ? जब हामी पुर्वाग्रहयुक्त धारणाहरू त्‍याग्‍छौँ, तब हामीले यस प्रश्‍नको उत्तर पाउन थाल्‍छौँ। ग्रीक भाषामा ‘लोगोस’ भन्ने शब्‍दको अर्थ व्यापक छ। तर यो शब्द र विचारको परिकल्पनामा केन्‍द्रित छ। परमेश्‍वरले जे भन्नुहुन्‍छ र सोच्‍नुहुन्‍छ त्‍यही उहाँको वचन अथवा ‘लोगोस’ हो। यो उहाँको सन्देश वा विचार हो जसको उत्पत्ति उहाँ बाटै हुन्छ। परमेश्‍वरले वचनद्वारा नै सम्‍पूर्ण ब्रम्हाण्डको सृष्‍टि गर्नुभयो। उहाँले प्राचीनकालमा अगमवक्ताहरूसँग औ ती अगमवक्ताहरूद्वारा मानिसहरूसँग बोल्‍नुभयो। उहाँ आफ्‍ना पुत्र येशू ख्रीष्‍टमा एवम् येशू ख्रीष्‍टद्वारा बोल्‍नुभयो। आज उहाँ आफ्‍ना मानिसहरूसँग र तिनीहरूद्वारा बोल्‍नुहुन्‍छ। यी सबै उहाँकै वचन हुन्। जब उहाँको वचन हामीकहाँ आउँछ त्‍यो हाम्रो लागि जीवनको भोजन हो जसबाट हामी जिवीत रहन्छौं । औ त्‍यो अत्‍यन्‍तै शक्तिशाली हुन्छ र हाम्रो हृदयमा गड़्छ। यो आत्‍माको तरवार हो। यो कहिल्‍यै व्‍यर्थ भई उहाँमा फर्कदैन, तर जुन उद्देश्‍यको लागि पठाइएको छ, त्‍यसलाई पूरा गर्दछ।

कृपया गलत नठान्नुहोला- मैले धर्मशास्‍त्रको अधिकार अथवा प्रेरणाको खण्‍डन गरिरहेको छैन। मेरो प्रयास नयाँ करारमा यसको स्‍थानलाई स्‍पष्‍ट पार्न खोज्‍नु मात्र हो। येशूले यसलाई जुन स्‍थान दिनुभयो साथै बाइबल आफैले दिएको स्‍थान म पनि दिन चाहान्‍छु।

धर्मशास्त्र र परमेश्वरको वचन हेर्नुहोस्।

अन्‍य परिवर्तनहरू

नयाँ करारसंग अरू कुन कुन परिवर्तनहरू आउँछन् ? जसै हामी यो विषय अध्‍ययन गर्दछौँ, परमेश्‍वरको मार्गमा एउटा अचम्मको निरन्तरता थाह पाउँछौं । कहिले काहीँ त हामी छक्क पर्छौं कि यति साधारण कुरा पनि यति लामो समयसम्‍म हामीले कसरी चालै नपाएको।

जसरी हामीले देखेका छौँ, कि दृश्य र बाहिरी व्‍यवस्‍थाबाट भित्री र अदृष्‍य अवस्‍थामा आइपुगेका छौँ। त्‍यसरी नै बाहिरी मानवीय शिक्षकहरूको स्‍थान भित्री र अन्तस्करणमा बास गर्नुहुने परमेश्वरको आत्‍माले उक्त लिनुभएको छ।

अब हामी हेर्नेछौँ कि नयाँ करारले अन्‍य थुप्रै समानान्‍तर एवम् सम्‍बन्‍धित परिवर्तनहरू ल्‍याएको छ। हामी परमेश्‍वरको नयाँ जातिको विषयमा विचार गर्दै सुरु गर्नेछौं।

नयाँ जाति

पुरानो करार अन्तर्गत परमेश्‍वरले पृथ्‍वीका सबै जातिहरूबाट एउटा विशेष जातिलाई छान्नुभयो। तिनीहरू इस्राएलीहरू थिए जो अब्राहम, इसहाक र याकूबका वंशज थिये र पछि ‘यहूदी’ जातिको रुपमा चिनिए। आज सम्‍म पनि तिनीहरू सांसारिक रुपमा परमेश्‍वरले छान्नुभएको जाति हुन्। यद्यपि कुनै मानिस यहूदी मतमा परिवर्तन भएर यहूदी बन्न सक्‍छ तर यस जातिको सदस्‍य बन्न सरल विधिचाहिँ यहूदी आमाको कोखबाट शारीरिक जन्‍म लिनु हो।

जब मसिह (ख्रीष्‍ट) इस्राएलमा आउनुभयो, त्‍यस देशका अगुवाहरू र बहुसङ्ख्‍यक यहूदीहरूले उहाँलाई इन्‍कार गरे। पछि पनि बहुसङ्ख्‍यक यहूदीहरूले सुरुको मण्‍डलीको शक्तिशाली र शुद्ध गवाहीलाई समेत इन्‍कार गरे। यसकारण परमेश्‍वरको इन्‍साफ यहूदीहरूमा खनियो र इ.सं. ७० मा रोमीहरूले यरूशलेममा आक्रमण गरी नष्ट गरे र यहूदिहरू पृथ्‍वीको विभिन्न भागमा तितर-बितर भए। छानियेको त्यो विशेष जाति माथि शारीरिक यातना र आत्‍मिक अन्‍धोपनमा रही रह्यो र लगभग १९०० वर्षसम्‍म एउटा राष्‍ट्रदेखि अर्को राष्‍ट्रमा भौंतारिँदै हिँडे, तर तिनीहरूले कहिल्‍यै पनि विश्राम पाएनन्।

अघिलो शताब्‍दीले यहूदीहरूको जीवनमा एउटा आश्चर्यजनक नाटकीय घटनाहरू भए र तिनीहरूको लामो प्रवासको अन्‍त्‍य भएको छ, र तिनीहरूको आत्‍मिक अन्‍धोपन बिस्‍तारै हट्न थालेको छ। हिटलरको नर-संहारले विश्‍वलाई नै स्‍तब्‍ध बनाएको थियो र त्‍यस पछि आधुनिक इस्राएलको जन्‍म र अस्तित्वले आश्‍चर्यमा पारेको छ।

यहूदी जातिको उपलब्‍धिहरू तिनीहरूको कूल जनसङ्ख्‍याको अनुपातभन्‍दा अतिनै धेरै छ। तिनीहरूले विश्‍वलाई धर्मशास्‍त्र, साम्‍यवाद र आणाविक हात-हतियारहरू दिएका छन्। तिनीहरूको शैक्षिक, वैज्ञानिक र कलाको क्षेत्रका उपलब्‍धिहरू ज्‍यादै आश्‍चर्यलाग्‍दो छ। तिनीहरू परमेश्‍वरका विशेष उद्देश्य भएकाविशेष मानिसहरू हुन् भनी यी कुराहरूले प्रमाणित गर्दछन्।

तिनीहरू माझ परमेश्‍वरको शक्तिको अदभूत् रूपले प्रदर्शन भएको भएपनि शरीर अनुसारको इस्राएल पुरानो करार अनुसारको मानिसहरूनै रही रहे। त्‍यो एउटा महान् दिन थियो जब यहोवे परमेश्‍वरले आफ्‍नो हाथ बढाएर शक्तिशाली सामर्थद्वारा पुरानो करारका मानिसहरूलाई मिश्र देशबाट निकाली ल्‍याउनु भएको थियो। त्‍यो पनि महान् दिन थियो जब येशूले आफ्नो हात फैलाएर र रगत बगाएर उहाँका नयाँ करारका मानिसहरूलाई र पापबाट स्‍वतन्‍त्र गर्नुभयो।

शरीर अनुसारको जन्‍मद्वारा पुरानो करारमा मानिसको दर्जामा प्रवेश पाइन्छ । र आत्मिक जन्‍मले नयाँ करारमा । जो जति र ती मात्र जो परमेश्‍वरको आत्‍माद्वारा जन्‍मन्‍छन्, उहाँका नयाँ जाति हुन्। नयाँ जन्‍मले मात्र हामीलाई परमेश्‍वरका छोरा-छोरीहरू बनाउन सक्‍छ।

यहाँ हामी यस कुरामा अलि जोड़ दिऔँ - बप्‍तिस्‍माले, कुनै झुण्‍ड अथवा सम्‍प्रदायको सदस्‍यताले, हाम्रो असल कार्यले, राष्‍ट्रियताले, वर्णले, धर्मले अथवा कुनै पनि मानवीय कुराहरूले कसैलाई पनि परमेश्‍वरको नयाँ करार अनुसारको विशेष जातिको सदस्‍य बनाउन सक्‍दैन। यसमा प्रवेश गर्ने एउटै मात्र उपाय हो- ‘नयाँ जन्‍म’।

यस आत्‍मिक जातिका केही सदस्‍यहरूमा विलक्षण स्‍वभाविक वरदानहरू छन्। परमेश्‍वरले खास गरी यस संसारका गरिब र कमजोरहरूलाई छान्नुभएको छ। पावलले हामीलाई स्‍मरण गराउँदछन्, “शरीरअनुसार धेरै जना बुद्धिमान, धेरै जना शक्तिमान, धेरै जना खानदानीलाई बोलावट भएको छैन। तर बुद्धिमानहरूलाई शर्ममा पार्नलाई परमेश्‍वरले संसारका मूर्ख कुराहरूलाई छान्नुभयो, र शक्तिशाली कुराहरूलाई शर्ममा पार्नलाई परमेश्‍वरले संसारका निर्बल कुराहरूलाई चुन्नुभयो” (१ कोरिन्‍थी १: २६, २७)।

बरु परमेश्‍वरको नयाँ जातिसँग आत्‍मिक वरदानहरू र शक्तिहरू छन्। यीमध्‍ये धैरेजसो शारीरिक आँखाको लागि अदृश्‍य र स्‍वभाविक विचारबाट लुकेर रहेका हुन्‍छन् । तथापि यीनका प्रत्यक्ष लाभहरू ज्‍यादै व्यापक छन्। जबसम्‍म स्‍वर्गका पुस्‍तकहरू खोलिँदैनन् र तीनमा रहेका गुप्‍त कुराहरू ज्योतिमा ल्याइंदैनन्, तबसम्‍म परमेश्‍वरमा असङ्ख्‍य नम्र स्‍त्री-पुरुषहरूका आत्‍मिक संघर्षहरु र विजयहरू तिनीहरूको साथी-सहयोगीहरूबाट लुकिएकै अवस्‍थामा रहनेछन्। मानव जातिको लागि चिरस्‍थायी भलाइ कसले गरेको छ, केवल अनन्‍तले मात्र देखाउनेछ।

परमेश्‍वरको पुरानो करार अन्तर्गत चुनिएको जातिको सदस्‍यको रूपमा शरीर अनुसार जन्‍मिन पाउनु सौभाग्‍यको कुरा हो। त्‍यसै गरी आत्‍मिक जन्‍मद्वारा नयाँ करार अन्तर्गत परमेश्‍वरको सन्‍तानको रूपमा जन्‍मिनु अझ ठुलो सौभाग्य हो। परमेश्‍वरको प्रशंसा होस्, शारीरिक जन्‍म द्वारा र आत्‍मिक जन्‍मद्वारा उहाँका मानिसहरूको सङ्ख्‍या दिन-प्रतिदिन बृद्धि भइरहेको छ।

नयाँ पूजाहारीपन

नयाँ करारमा केवल नयाँ जाति मात्र हैन तर नयाँ पूजाहारीगीरी पनि छ। पुरानो करारको पूजाहारीहरू लेवी कुलबाट र हारुनका परिवारबाट ल्‍याइएका हुन्‍थे। तम्बु र मन्‍दिर भित्र तिनीहरुले गर्नु पर्ने काम कर्तव्य सम्‍बन्‍धमा स्‍पष्‍ट पारिएको थियो, जसरी तिनीहरूले परमेश्‍वर र मानिसका बीच मध्‍यस्‍थभै सेवा गर्दथे। हिब्रू ७ अध्‍यायले यस कुरालाई पुरै स्‍पष्‍ट पार्दछ, कि नयाँ करार अन्तर्गत नयाँ पूजाहारीगिरी छ, जुन पुरानोभन्‍दा अति उत्तम छ। यस नयाँ दर्जालाई मल्‍कीसेदेकको दर्जा भनिन्‍छ र यस अनुसार प्रधान पूजाहारी येशू हुनुहुन्‍छ।

लेवी वंशीय पूजाहारीगिरीको सदस्‍यता पुर्खौली थियो र बुबा पछि स्वत: यो पद छोराले पाउंथे। यस प्रचलनको परिणाम सधैँ राम्रो हुन्दैनथ्यो। ‘पुरोहितको छोराले जजमानी नै गर्छ’ र ‘जस्‍तो बाबु उस्‍तै छोरा हुन्‍छ’ भनेर भन्न सकिन्न। पूजाहारी एलीका छोराहरू अति नै भ्रष्‍ट थिए र शमूएलका छोराहरू पनि त्‍यति असल थिएनन्। पुर्ख्‍यौली अनुसारको उत्तराधिकार त्‍यति भरपर्दो हुँदैन। जे भएपनि लेवी वंशको पूजाहारीगिरी व्यावहारिक र पुजाहारीगिरीको परिकाल्पना लाई दरशाउन पर्याप्त थियो साथै परमेश्‍वरले मल्‍कीसेदेकको दर्जा अनुसारको पूजाहारीगिरी स्‍थापित नभएसम्‍म त्‍यसको उपयोग गर्नुभयो।

हिब्रू ७:३ मा मल्‍कीसेदेकको बारेमा यसरी वर्णन गरिएको छ, “विनापिता, विनामाता, विनावंशाबली, नता दिनको आदि, न जीवनको अन्‍त भएका तर परमेश्‍वरको पुत्रजस्‍तो तुल्‍याइएका उनी निरन्‍तर पूजाहारी भइरहन्‍छन।” येशू यही नयाँ पूजाहारी पदमा प्रवेश गर्नुभयो जो कि “शारीरिक आज्ञाको व्‍यवस्‍था बमोजिम होइन, तर अविनाशी जीवनको शक्तिअनुसार पूजाहारी बनिनुभएको हो” (हिब्रू ७:१६)। उहाँको पालन-पोषण गर्ने पिता यूसुफ पूजाहारी भएको कारणले होइन, न त कुनै धार्मिक समितिले स्‍वीकार गरेकोले, तर परमेश्‍वरकै नियुक्तिद्वारा। उहाँ पूजाहारी पदको कार्य विवरण अनुसार यसको लागि अति उपयुक्त हुनुहुन्‍थ्‍यो। उहाँको अभिषेक कुनै धार्मिक विधि थिएन तर उहाँको बप्‍तिस्‍माको समय परमेश्‍वरले गर्नु भएको उद्‍घोषणा थियो “यिनी मेरा प्‍यारा पुत्र हुन, जससँग म प्रसन्न अति छु।” त्‍यसपछि उहाँमाथि पवित्र आत्‍मा ढुकुरको रूपमा ओर्लनुभयो।

लेवी वंशीय पूजाहारीगिरीले आफ्नो उद्देश्‍य पूरा गरेका छन्। धार्मिक पुजाहारीगिरी यसको नकल मात्र हुन् (उनीहरूको बीचमा धेरै जना इमान्‍दार धर्मी मानिस भए पनि)। परमेश्‍वरले मल्‍कीसेदेकको दर्जा अनुसार नयाँ करार अन्तर्गत पूजाहारीहरु नियुक्त गर्नु हुन्छ जसरी उहाँले तिनका महान् प्रधान पूजाहारी नियुक्त गर्नुभएको थियो। उहाँको कामको लागि छान्नुभएको र नियुक्त गर्नुभएकाहरूलाई उहाँले पवित्र आत्‍माले अभिषेक गर्नहुन्‍छु।

मल्कीचेदेकको पूजाहारीपन हेर्नुहोला।

नयाँ भवन

नयाँ करार अन्तर्गत नयाँ जाति, नयाँ पूजाहारीगिरी र नयाँ भवन पनि छ।

इस्राएलको राष्ट्रीय इतिहासको उत्कर्षमा सुलेमान राजाले पहिलो विशाल मन्‍दिरको निर्मान गरे। दाऊद राजाको फौजले पाएको व्यापक विजयको फलस्‍वरूप आएको शान्‍ति र समृद्धिको सुलेमान राजाले उपभोग गरी रहेका थिए । उनले आफ्‍नो शक्ति परमेश्‍वरको भवन बनाउनलाई उपयोग गरे। परमेश्वरले मोशालाई पवित्र तम्बु बनाउनको निम्‍ति आवश्‍यक निर्देशन दिनुभएको थियो तर त्यो मन्‍दिर बनाउने आज्ञा दिनुभएको थिएन। यो दाउदको असल विचार थियो जसलाई पूरा गर्ने अनुमति परमेश्‍वरले सुलेमानलाई दिनुभयो।

परमेश्‍वरले त्‍यस मन्‍दिरलाई धेरै महत्त्व दिनुभएन र उज्‍जियाह राजाको शासन कालमा भुकम्‍पबाट त्‍यसलाई नष्‍ट हुन दिनुभयो। इस्राएलीहरूलाई कैद गरी लैजाने समयमा नबूकदनेसर राजाले त्‍यसलाई जलाएर माटोमा मिलाइ दिए। फेरि बाबेल प्रवासबाट फर्की आएकाहरूले त्‍यसको पुन: निर्माण गरे। अन्‍तिओकस एपिफनेसले यसै स्‍थानमा जुपिटर देवताको सालिक राखे र पवित्र वेदीमा सुँगुरको बलि चढाएर त्‍यसलाई अपवित्र पारिदिए। त्‍यसपछि दुष्‍ट राजा हेरोदद्वारा भब्‍य स्वरुप भएको मन्‍दिर पुन: निर्माण गरियो जुन येशूको समयसम्‍म पनि विद्यमान थियो।

यहुदीहरूले त्‍यसताका मन्‍दिरलाई ज्‍यादै श्रद्धा र आदर दिन्‍थे। येशू, स्‍तिफनस र पावललाई त्‍यस मन्‍दिरको आदर नगरेकाले ईश्‍वर निन्‍दाको दोष लगाइएको थियो। जब येशूका चेलाहरूले यसको भव्यताको गुणगान गर्दैथिए, उहाँले भन्नुभयो, “तिमीहरु यी ठूला भवनहरु देख्‍दछौ? एउटा ढुङ्गा पनि नछोडी, यी सबै भत्‍काइनेछन्।”

परमेश्‍वरको मन चाहिँ अर्को मन्‍दिर - नयाँ करारको मन्दिर बनाउनेतर्फ थियो। “हातले बनाएका भवनहरूमा सर्वोच्‍च परमेश्‍वर वास गर्नहुन्न” भनेर स्‍तिफनसले आफ्नो प्रवचनमा भनेका थिए (प्रेरित ७:४७) जसले गर्दा उनी येशूका निम्‍ति पहिलो सहिद बन्न पुगे। ईश्‍वरीय योजना अति उच्च थियो। उहाँको वास्‍तविक मन्‍दिर मानव जाति बाट बनेको हुनु पर्ने थियो। उहाँ इँटा र ढुङ्गाले बनेको भवनमा होइन तर रगत र मासुले बनेको मन्‍दिरमा बस्ने इच्छा गर्नुभएको थियो। नयाँ नियम यस्‍तै सन्‍देशले भरिएको छ, “तिमीहरु पवित्र आत्‍माका मन्‍दिर हौ।” परमेश्‍वरले आराधना गर्ने विशेष भवन चाहनुहुन्‍छ भन्ने विचारको सदाको लागि अन्त भएको छ। उक्त संसारिक मन्‍दिरको बारेमा येशूले अन्‍तिम अगमवाणी दिनुभएको थियो। रोमी फौजले इ.सं. ७० मा मन्‍दिरको जगमा लुकाइएको सुन खोज्‍दा एउटा ढुङ्गामाथि अर्को ढुङ्गा नराखी सबै भत्‍काए र येशूले गर्नुभएको अगमवाणी अक्षरस (एक-एक गरी) पूरा भयो।

हिन्‍दु धर्मलम्‍बी र बौद्धमार्गीहरूका देवता मन्‍दिरमा बस्‍छन्। मुस्‍लिम धर्मलम्‍बीहरूको पनि मस्‍जिद छ जुन पवित्र मानिन्‍छ। हाम्रो मण्‍डली भवनको के अर्थ छ त ? के यी पनि अरू मन्‍दिरजस्‍तै पवित्र ठाउँ हुन् त ? निश्‍चय पनि होइन। हामी विश्‍वासीहरू आ-आफ्‍नो घरमा भेला भएर, रुखमूनि भेला भएर, नदी किनारमा भेला भएर, अथवा मण्‍डली घरमा नै रहेर येशू ख्रिष्‍टको नाममा भेला भएर सङ्गति गर्छौं भने उहाँ हामीहरूको बीचमा आउनुहुन्‍छ। मण्‍डली भनेको घर होइन। हामी आफै परमेश्‍वरका पवित्र मन्‍दिर हौँ। मण्‍डली-भवन (घर) अन्‍य इँटा र ढुङ्गाले बनेको घरभन्‍दा फरक छैन।

बेलायतमा भएका प्राय: चर्चहरू त पहिले अन्‍य देवी देवताको पूजा गर्ने ठाउँमा बनाइएका छन्। पुरानो करारको समयमा पनि यस्तै अवस्था थियो। इस्राएलको इतिहासमा लामो अवधिसम्‍म यहोवेको आराधना उच्च स्‍थानहरूमै गरियो जहाँ पहिले अन्‍यजातिहरूले बलिदान चढ़ाउने गर्थे। शामूएल अगमवक्ताले पनि त्‍यसै गरेको देखिन्‍छ। निशन्‍देह परमेश्‍वरले उनको हृदय हेर्नुभयो। त्‍यसैले उनका बलिदानहरू ग्रहण गर्नुभयो। त्‍यसै प्रकारले यहूदाका विभिन्न धर्मी राजाहरूले पनि यस्तो प्रचलन लाइ स्वीकृति दिये। हिजकियाह राजाचाहीँ आफ्नो पुर्खाहरूको स्तर भन्दा माथि उठेर ती उच्चस्‍थानहरू नष्‍ट गरे। परमेश्‍वरले उनको विषयमा यसरी घोषणा गर्नुभयो, “यहूदाका सबै राजाहरूमध्‍ये तिनका पछि आउने अथवा तिनी अघि जाने कुनै पनि तिनीजस्‍ता भएनन्। तिनी परमप्रभुका भक्त भइरहे ...यसैले परमप्रभु तिनीसँग रहनुभयो ..” (२ राजा १८: ५-७)।

नयाँ चाड़हरू

चाड़हरूका विषयमा विचार गर्दा हामीले पहिलेका जस्‍तै नियमहरू फेरि पाउँछौँ। परमेश्‍वरले पुरानो करार अन्तर्गत चाड़हरूको स्‍थापना गर्नुभयो। ती चाड़हरूममध्‍ये निस्‍तार, पेन्‍तिकोस र झुप्रो-बासका चाड़हरू प्रमुख थिए। उहाँले मोशाद्वारा इस्राएलीहरूलाई वर्षमा तीन पटक यरूशलेम गई ती चाड़हरू मनाउन आदेश दिनुभयो। विश्वासयोग्य भै ती चाड़हरू मान्नुपर्दा समय, परिश्रम र ठूलो खर्चको आवश्‍यकता पर्दथ्‍यो र धेरै शताब्‍दीसम्म तिनीहरूमध्‍ये धेरैले चाड़हरू मान्न बिर्सिसकेका थिए। पछि आएर राजा हिजकियाह, राजा योशियाह र शास्त्री एज्राले यी चाड़हरू फेरि पुनर्जीवित पारेर त्‍यसको पालना गर्न मानिसहरूलाई निर्देशन दिए।

येशूसँग मानिसलाई दिनको लागि अझ उत्तम कुरा थियो। उहाँले पुरानो चाड़हरूको नयाँ करार अन्तर्गत परिपूर्णता ल्‍याउनुभयो। पावल यसरी बयान गर्छन्, “हाम्रो निस्‍तार चाड़को बलिदान भै सकेको छ, जो ख्रीष्‍ट हुनुहुन्‍छ। यस कारण हामी नता पुरानो खमीरले न कुकर्म र दुष्‍टताको खमीरले तर निष्‍कपट र सत्‍यताको अखमिरी रोटीले चाड़ मनाऔँ” (१ कोरिन्‍थी ५: ७,८)। अन्तस्करण भित्रका अझ उत्तम चाड़हरू पत्ता लगाएपछि क्रमिक रूपमा येशूका प्रथम चेलाहरू ती पुराना करारका चाड़हरूबाट टाढिँदै गएका थिए। यसको बारेमा इस्राएलका चाड़-पर्वहरूरोटी र दाखरस हेर्नुहोला।

संस्थागत मण्‍डलीहरू, विशेष गरी रोमी सम्राट कन्‍स्‍टन्‍टिनको अधीनमा स्‍थापित भएपछि, नयाँ करारको यथार्थतालाई गुमाएर फेरि अन्यजातिका चाडहरु मान्न थाले, जुन परमेश्‍वरले कैले पनि आग्या गर्नु भएको थिएन। ख्रीष्‍टमस, ईष्‍टर र मण्‍डलीसँग सम्‍बन्‍धित अन्‍य चाड़हरू सबै मूर्तिपूजक धर्महरूमा आधारित छन्। Please see Christmas and other Festivals.

नयाँ विश्राम दिन

विश्राम दिनको समस्या पनि अन्‍य चाड़हरूजस्‍तै हो। परमेश्‍वर र इस्राएली जातिबीच पवित्र करार अन्तर्गत विश्राम दिन स्‍थापित गरिएको थियो। विश्राम दिन सप्‍ताहको सातौं दिन - शनिबार थियो। हिब्रू को लेखकले स्‍पष्‍ट देखेका थिए कि विश्राम दिनले आत्मिक विश्राम लाई दर्शाउंछ जुन कुनै पनि बार वा दिनमा भर पर्दैन। यसको विषयमा उनी यसरी भन्‍दछन्, “किनकि उहाँको विश्राममा प्रवेश गर्नेले परमेश्‍वर आफैले गर्नुभए झैँ आफ्‍नो कामबाट त्‍यसले पनि विश्राम लिनुपर्छ। यसकारण हामी त्‍यस विश्राममा प्रवेश गर्नलाई प्रयत्‍न गरौँ र त्‍यही अनाज्ञाकारीको उदाहरणमा कोही मानिस पतित नहोस” (हिब्रू ४: ९-११)।

यस्‍ता कुराहरू नबुझेर मण्‍डलीले यहुदीहरूजस्‍तो शनिबार नमानेर अन्‍यजातीहरूजस्‍तै आइतबारलाई विश्राम दिनको रूपमा मान्न लाग्‍यो। त्‍यो नियम मानिसहरूबाट त स्‍वीकारियो तर परमेश्‍वरको निगाहचाहिँ गुमायो र सम्‍झनाको लागि हप्‍ताको पहिलो दिन आइतबारलाई मुख्‍य दिन भनी मान्न थाले। यसप्रकार मण्‍डली बिस्‍तारै बहकिन थाल्‍यो।

सार-संक्षेप

हामीले व्‍यवस्‍था, शिक्षकहरू, धर्मशास्‍त्र, जाति, पूजाहारी, भवनहरू, चाड़हरू र विश्राम दिनको बारेमा हेरिसकेका छौँ। उपोरोक्त प्रत्‍येक विषयवस्‍तुमा तीनवटा समान विशेषताहरू पाइन्‍छन्, ती हुन्:-

पुरानो करारमा सकली शिक्षकहरू थिए, त्यस पछि हाम्रो हृदयभित्र वास गर्नुहुने शिक्षकको गौरवमय वास्तविकता, अन्तमा बहुआयामी प्रदर्शन का साथ नकली धार्मिक पदक्रम। परमेश्‍वरले आफ्‍नो मानिसहरूलाई धार्मीक र असल व्‍यवस्‍था दिनुभयो, त्यस पछि मानिसको हृदयमा लेखिएको भित्री व्‍यवस्‍थाको आश्चर्यजनक वास्तविकता। त्यस पछि शताब्‍दीऔँ सम्म मानिसहरू आफ्‍नै मानवीय व्‍यवस्‍था, धार्मिक अनुष्‍ठान र प्रार्थना-पुस्‍तकहरूतर्फ फर्केको दु:खद अवस्था लाई हेर्छौ जो गर्न परमेश्‍वरले मानिसलाई प्रेरणा दिनुभएको थिएन। अब्राहाम, इसहाक, याकूब को सन्‍तानलाई पुरानो करारको जातिको रुपमा, नयाँ करारको जातिचाहिँ परमेश्‍वरको आत्‍माबाट जन्‍मिएका र अन्तमा बप्‍तिस्‍मा र मण्‍डलीको सदस्‍यतामा आधारित एउटा नकली जातिको रुपमा पाउँछौं । हामीले लेवी वंशीय पूजाहारीगिरी, मल्‍कीसेदेकको दर्जा अनुसारको पूजाहारीगिरी र धार्मिक पूजाहारीगिरी देख्दछौं। पुरानो करारको तम्बू र मन्दिर, त्यस पछि अझ बढी तेज भएको नयाँ करारको अति उत्तम मानवीय मन्‍दिर र अन्तमा आएर मूर्तिपूजा गरिने भवनहरू जसलाई परमेश्‍वरको घरको रूपमा घोषणा गरिएको थियो। हामीले लेवी वंशीय छाया चाड, नयाँ करारमा अन्तर्गत तिनको वास्तविकता र मुर्तीपुजाक हरुको नकली चाडहरु पनि पाउँछौं। अन्तमा पुरानो करार अन्तर्गतको विश्राम दिन, नयाँ करार अन्तर्गतको आत्‍मिक विश्राम र नकली मण्डलीले मानेको आइतबारको बारेमा पनि हामीले हेर्यौं।

येशूले आफ्‍नो रगतद्वारा नयाँ करारको आरम्भ गर्नुभयो। उहाँको प्रथम चेलाहरू मध्ये धेरैले यस बाटोमा हिडने सौभाग्य पाएकोमा आफ्‍नो जीवन नै बलिदान गरे। यस संघर्षमा चेलाहरुलाई बलियो पार्न का लागि हिब्रूहरूको पत्र लेखिएको थियो। यसले पुरानै जीवनतर्फ फर्कन चाहनेहरूलाई प्रशस्‍त चेतावनी दिँदछ। हिब्रूको पत्रको हरेक अध्याय नै यस विषयको लागि महत्त्वपुर्ण छ। अन्‍तमा हिब्रू १२:१८ - २४ को खण्‍डहरू उल्लेख गर्दै मेरो लेख समाप्‍त गर्दछु।

“किनकि छुनुहुने, आगो बलिरहेको, कालो बादल ... नजीक आएका छैनौ। तर तिमीहरू ता सियोन डाँड़ामा, स्‍वर्गीय यरूशलेम, अर्थात् जीवित परमेश्‍वरको शहरमा, अनगिन्‍ती स्‍वर्गदूतहरूका सेनामा, स्‍वर्गमा नाउँ दर्ता भएका पहिला गनिएकाहरूको सर्व साधारण समाज र मण्‍डलीकहाँ, सबका न्‍यायकर्ता परमेश्‍वरकहाँ, सिद्ध भएका धार्मिक मानिसहरूका आत्‍मा, नयाँ करारका मध्‍यस्‍थ येशूकहाँ र हाबिलको भन्‍दा राम्ररी बोल्‍ने रगतको छिट्कामा आएका छौ। होसियार बस, बोल्‍नुहुनेलाई तिमीहरूले अस्‍वीकार नगर।”

यो पुस्‍तकलाई रंगिन [Colour] छाप्‍ने फाइल

यो पुस्‍तकलाई श्‍याम-स्‍वेत [Black & White] छाप्‍ने फाइल

कसरी छाप्ने