मोशा र पुत्रत्‍वको बाटो

परिचय

पुरानो नियममा भएका व्यक्तिहरूमध्‍ये मोशाको विशेष महत्त्व छ। मोशाभन्‍दा अघि र मोशा भन्‍दा पछि धेरै महान् व्यक्तिहरू आए, तर एक हजार वर्षसम्‍म व्यवस्‍थाको पुस्‍तकमा लेखिएका अन्‍तिम शब्‍दहरू ठीक ठहरिए, “त्‍यस समयदेखि इस्राएलीहरूमा मोशाजस्‍तो कोही अगमवक्ता खड़ा भएको छैन, उनलाई परमप्रभुले घनिष्‍ठसित जान्‍नुहुन्‍थ्‍यो ...” त्‍यसपछि उनको आफ्‍नै अगमवाणी पुरा भयो, “परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूमध्‍येबाट मजस्‍तै एउटा अगमवक्ता खड़ा गर्नुहुनेछ। तिमीहरूले तिनको कुरा सुन्‍नू” (व्यव १८:१५)।

उनको महानताको रहस्‍य के थियो? येशूसँग उनको समानता। पुरानो नियममा भएका व्‍यक्तिहरूमध्‍ये मोशाबाहेक अरू कोही पनि येशूजस्‍तो भएनन्।

संसारमा मोशा र येशूजस्‍तो व्‍यक्तिहरूको आवश्‍यकता छ। यहाँ राजनीतिज्ञहरू, धार्मिक नेताहरू अथवा वैज्ञानिकहरूको अभाव छैन। यी धेरै छन्, तर तिनीहरूले यहाँको समस्‍याहरू समाधान गर्न सक्‍दैनन्। परमेश्‍वरका पुत्रहरू बाहेक अरू कसैबाट यो हुन सक्‍तैन। रोमी ८:१८-२३ सम्‍ममा पावलले यो सत्‍यतालाई यस प्रकारले व्‍यक्त गर्दछन्: “सृष्‍टिको उत्‍कट आशाले परमेश्‍वरका छोराहरू प्रकट हुनआउँने बाटो हेर्दछ ... सारा सृष्‍टि पनि साथसाथै पीड़ाले सुस्‍केरा हाल्‍दै प्रसव वेदनामा अहिलेसम्‍म परेको छ।” पावलले पत्र लेख्‍दा त संसारको अवस्‍था यस्‍तो थियो भने, अहिले झन बिग्रिदै गएको छ।

येशू परमेश्‍वरको जेठो पुत्र हुनुहुन्‍थ्‍यो। उहाँको जीवनले संसारमा परमेश्‍वरलाई पूर्ण रूपमा प्रकट गराएको थियो। उहाँको नाममात्र सुनेकाहरू पनि उहाँको तीन वर्षको छोटो सेवकाइ, उहाँको जीवन, मृत्‍यु र पुनरुत्‍थानबाट आज पनि प्रभावित हुन्‍छन्। तर उहाँको जीवन एक पटकको लागि मात्र, कहिले नदोहोरिने, एक्‍लो घटना होस् भन्‍ने परमेश्‍वरको इच्‍छा थिएन। यसको विकरीत, परमेश्‍वरको लागि उहाँ पहिलो फलहरूमा प्रथम हुनुहुन्‍थ्‍यो। उहाँको पछि आउनेहरू को लागि उहाँ दिशा निर्देशन गर्ने चिन्‍ह हुनुहुन्‍थ्‍यो। सारा संसारको पापको लागि परमेश्‍वरको पापरहित थुमाको रूपमा भएको उहाँको मृत्‍यु निस्‍चय नै पूर्ण र एकमात्र उपाय थियो। तर पवित्र आत्‍माको सामर्थ्‍यमा व्‍यतीत गरिएको उहाँको जीवनको उद्देश्‍य एकाधिकार नभै उहाँजस्‍तै धेरै हुन सकून् भन्ने थियो।

त्‍यो जीवनको नमूना हामी मोशाको जीवनमा हेर्छौं। पुरानो नियममा भएका व्‍यक्तिहरूमध्‍ये मोशाको जीवन र प्रभु येशूको जीवनमा बढ़ी समानता थियो। जसै हामी परमेश्‍वरको छोराहरू प्रकट हुने विशेष समयतिर अग्रसर हुँदैछौँ, यदि हामी पुत्रत्‍वको बाटो हिँड्दैछौँ भने, मोशाको जीवनमा हाम्रो आफ्‍नै अनुभवसँग मिल्‍दो धेरै कुराहरू भेट्टाउन सक्‍छौँ।

यो अध्‍ययनमा मैले मोशाको जीवनका केही घटनाहरू लिएर प्रभु येशूको जीवनमा घटेका त्‍यस्‍तै वा अन्‍य घटनाहरूको तुलना गरेको छु। जसरी हामी त्‍यो बाटोमा अघि बढ्दै जान्‍छौँ, त्‍यसरी नै ती कुराहरूको अर्थ बुझेर, परमेश्‍वरले हाम्रो जीवनमा गर्न लाग्‍नुभएका कामहरूको पनि महत्त्व स्‍पष्‍ट गरी थाहा पाउनेछौँ।

मोशाको जन्‍म

धर्मशास्‍त्रमा धेरै अलौकिक जन्‍महरूको उल्‍लेख गरिएको छ। प्रभु येशूको जन्‍मजस्‍तै इसहाक, शिम्‍सोन र बप्‍तिस्‍मा दिने यूहन्ना, सबैको जन्‍म स्‍वर्गदूतहरूद्वारा घोषणा गरिएको थियो। तर मोशाको जन्‍म र प्रभु येशूको जन्‍ममा अर्कै समानता थियो। दुवै जनाको जन्‍ममा एक हजार पाँच सय वर्षको अन्‍तराल भए पनि घटेका दु:खद घटनाले दुवैको जन्‍मलाई एक अर्कासँग आवद्ध गरेका छन्। दुवै समयमा दुष्‍ट राजाहरूले आ-आफ्‍नो राज सिंहासन जोगाउन असङ्ख्‍य बच्‍चाहरूको हत्‍या गर्न आदेश दिएका थिए। प्रत्‍येक नवजात् हिब्रू बालक मारियोस् भनी फिरौनले आज्ञा गरेका थिए भने दुई वर्ष मुनिका प्रत्‍येक बालक मारिउन् भनी हेरोदले हुकुम गरेका थिए।

प्रकाशको पुस्‍तकको १२:४ मा यस्‍तै अर्को घटनाको बर्णन गरिएको छ।“त्‍यो ठूलो रातो अजिङ्गरजस्‍तो पशु सुत्‍केरी हुन लागेकी स्‍त्री को अघि उभिए र जन्‍माए पछि त्‍यसको छोरोलाई निल्‍नलाई पर्खिरहेको छ।” इस्राएलको इतिहासमा यस्‍तै दुई अन्‍य घटना भएको हामी हेर्छौं। लाल समुद्र पार गरी देशको प्रादुर्भाव भएको केही दिन भित्रै परमेश्‍वरले रक्षा नगर्नु भएको भए असङ्ख्‍य अमालेकीहरूले खतम पार्ने थिए। तीन हजार पाँच सय वर्षपछि इस्राएल देशको पुनर्जन्‍म भएपछि पनि पुन: संयुक्त अरब सेनाले आक्रमण गरे र पुन: आश्‍चर्यजनक रूपमा यो देश जोगियो।

यी पाँचै जन्‍महरू जस्‍तै: मोशाको जन्‍म, येशूको जन्‍म, प्रकाशमा उल्‍लेखित बालकको जन्‍म, र इस्राएलको जन्‍म, र पुनर्जन्‍म - यी सबैले हामीलाई एउटै पाठ सिकाउँछन्। जन्‍म - विशेष गरी एउटा छोराको जन्‍म - लाई शैतानले विरोध गर्दछ। हरेक पटक उसको क्रोध र घृणा देखा पर्छ; हरेक पटक परमेश्‍वरले हस्‍तक्षेप गर्नुहुन्‍छ र बालकलाई सुरक्षित स्‍थानमा लगिन्‍छ।

यो बालक को हो? मोशा यसको अघि हिँड्ने र येशू यसको शिर हुनुन्‍छ। परमेश्‍वर का सन्‍तान, जसका जन्‍म भैसकेका छन् तर अझ प्रकट गरिएका छैनन्, जो येशूसँगै सिंहासनमा भाग लिन बोलाइएका छन् र जाति-जाति माथि फलामको डन्‍डाले शासन गर्नेछन्; यिनीहरू नै यस बालकको शरीर हुन्।

परमेश्‍वरको छोरीहरू को विषयमा के भन्‍ने? यो बालकभित्र स्‍त्रीहरू पनि पर्दछन्? हामी यो सोध्‍न पनि सक्‍छौँ - के मण्‍डलीभित्र, जो ख्रीष्‍टको दुलही हो, पुरुष पनि सम्मिलित छन्? के “बेश्‍याहरूकी आमा, बेस्‍या, त्‍यो महान् बेबिलोन” भित्र पुरुषहरू पनि छन्? यी सबै प्रस्‍न को उत्तरमा म “हो नै हो” भन्‍छु। धर्मशास्‍त्रमा पुरुषले “आत्‍मा” लाई र स्‍त्रीले “शरीर” लाई देखाउँछ। आत्‍माको भरमा हिँड्ने स्‍त्री वा पुरुष, दुवै आत्‍मिक रूपमा पुरुष नै हुन्। शरीरअनुसार जिउने स्‍त्री वा पुरुष, दुवै आत्‍मिक रूपमा स्‍त्री नै हुन्। यसकारण स्‍वाभाविक रूपमा स्‍त्री वा पुरुष जे भए पनि आत्‍मिक रूपमा जीउने व्यक्तिहरू नै परमेश्‍वरका छोराहरू हुन्।

यी छोराहरूको जन्‍मलाई शत्रुले विरोध गर्नेछ तर यिनीहरू बाँच्‍ने नै छन् किनभने परमेश्‍वरबाट जन्‍मेको जेसुकैले पनि संसारलाई जित्‍ने छ।

उनको नाउँ

अब हामी “मोशा” नाउँको अर्थ विचार गर्नेछौँ। “मैले उनलाई पानीबाट निकालेँ” भनेर राजकुमारीले उनको यो नाउँ राखिन् (प्रस्‍थान २: १०)। मोशा शब्‍दको अर्थ हो “निकाल्‍ने”। यसमा हामी दुई कुराहरू हेर्दछौं। पहिलो कुरा उनी आफै मिश्र देशको पानीबाट निकालिए। मिश्रको पानीले संसारिक र शारीरिक कुराहरू जनाउंछ। मोशालाई परमेश्‍वरले निकालेर स्‍वर्गीय स्‍थानमा राख्‍नुभयो। त्‍यसपछि मोशा आफैले अरूलाई निकाल्‍न सक्‍ने भए। ठूलो कष्‍ट र विरोधको सामना गर्दै मोशाले इस्राएलीहरूलाई मिश्र देशबाट बाहिर निकालेका थिए।

यहाँ पनि हामी मोशालाई उनको महान् उत्तराधिकारी येशूजस्‍तै र पनि उनको विपरीत भेट्टाउँछौँ। येशू माथि बाटको हुनुहुन्‍थ्‍यो। मोशा, हामीजस्‍तै, तल बाटका (यस संसारको) थिए। हामी शरीरीक पानी (अभिलाषाहरू) बाट बाहिर निकालिनु आवश्‍यक छ। येशूको लागि यसको आवश्‍यकता थिएन। उहाँ अरूहरूलाई बाहिर निकालेर माथि लैजानको लागि माथिबाट आउनु भएको हो।

त्‍यो बालक जसको विषयमा हामीले अघि नै हेरिसकेका छौँ, त्‍यसलाई पनि माथि परमेश्‍वर र उहाँको सिंहासनमा लगिन्‍छ।

नम्रता

मोशा राजदरबारमा आराम र विलासपूर्ण जीवन बिताइरहेको बेला परमेश्‍वरका लोगहरू मिश्री अधिकारीहरूको अधीनमा बड़ो कष्‍ट पाइरहेको थिए। मोशा चालीस वर्षको हुँदा उनको मनमा यी मानिसहरूको लागि केही असल गरौँ भन्‍ने विचार आउन लाग्‍यो। बिगतमा यूसुफ भन्‍ने राष्‍ट्रिय प्रसिद्धी भएको व्यक्तिले जेलखानाबाट निस्‍केर आफ्‍ना लोगहरूको साथै सम्‍पूर्ण मिश्र देशलाई अनिकालबाट बचाएका थिए। मोशालाई उनको सम्झना भयो। मोशाको शिक्षा र राजदरबारमा रहेको स्‍थानले गर्दा यी व्यक्तिहरूको सहायता यूसुफभन्‍दा राम्ररी गर्नसक्‍दथे।

परमेश्‍वरको समय अझ आएको थिएन। येशूजस्‍तै यूसुफ पनि ३० वर्षको उमेरमा फिरौनको दरबारमा आएर आफ्‍नो सेवकाइ आरम्‍भ गरे। तर मोशा १० वर्ष जेठो भए पनि त्‍यस अवस्‍थामा आउन अर्को ४० वर्ष लागेको थियो। आफ्‍नो जातिलाई सहायता गर्न उनको प्रयास पूर्ण बिफल भयो। राजदरबारमा रहेर उनले केही पनि गर्न सकेनन्। अधिकारको आरम्‍भिक श्रोत उनले थाहा पाउनु परेको थियो।

यो अवस्‍थामा मोशाले दुई किसिमको अधिकार पाएका थिए। एक - स्‍थानको अधिकार, दोश्रो - ज्ञानको अधिकार। उनी राजकुमार थिए र “मिश्रीहरूको सबै ज्ञानमा निपुण” थिए। धेरै व्यक्तिले आज पनि मानवीय अधिकारको आधारमा परमेश्‍वरको सेवा गर्न चाहन्‍छन्। समाजमा प्रतिष्‍ठा, उच्‍च अध्‍ययन तथा धर्मशास्‍त्रको ज्ञान पाएर परमेश्‍वरको वचन प्रचार गर्नभन्‍दा राम्रो के हुन सक्‍छ र? नाम र प्रतिष्‍ठा पाएका व्यक्तिहरूप्रति जन साधारण सजिलै आकर्षित हुन सक्‍दछन्।

मोशाको लागि सम्‍पूर्ण मानवीय अधिकार खोसिएर येशूजस्‍तै नम्रताको बाटो हिड्नु पर्ने आवश्‍यक थियो।

फिलीप्‍पी २ मा हामी यी असल शब्‍दहरू पाउँछौँ: “तिमीहरूमा यो मन होस्, जो ख्रीष्‍टमा पनि थियो। उहाँले परमेश्‍वरको स्‍वरूपमा भएर परमेश्‍वरसितै बराबरको हुनालाई, जोगाइराख्‍ने धनजस्‍तो सम्‍झनुभएन, तर आफुलाई रित्‍याइकन कमाराको रूप लिएर मानिसहरूको समानतामा हुनुभयो। औ रूपमा मानिसजस्‍तो भएर मृत्‍युसम्‍मै आज्ञाकारी हुनुभयो, क्रूसको मृत्‍युसम्‍मै आफूलाई होच्‍याउनुभयो।”

हाम्रो सीमित ज्ञानले यस ओरालोको गहिराइ सजिलै बुझ्‍न सक्तैन। परमेश्‍वरको लागि मानिस रूप लिएर मानव शरीरमा थुनिनु सजिलो थिएन। येशूले आफुलाई अझ बढ़ी होच्‍याउनुभयो। विशाल रोममा उनको जन्‍म भएन, यरूशलेममा पनि न भएर स्‍यानो बेतलेहेममा भएको हो ; राजदरबार अथवा भव्य भवनमा नभएर एउटा गोठमा भएको हो। एथेन्‍सजस्‍तो शिक्षाको महान् केन्‍द्रमा उनको पालनपोषण भएन तर नासरथजस्‍तो सानो शहरमा उहाँ हुर्कनुभयो। उहाँले विशेष शिक्षा वा महत्त्वपूर्ण काम पाउँनु भएन। तीन वर्षको सानो समय घुमन्‍ते प्रचारकको काम गर्नुभन्‍दा अघि उहाँले आफ्‍नो प्रौढ़ावस्‍थाको तीन चौथाइ समय सिकर्मीको काम गरी बिताउनु भयो। उनका चेलाहरू यरूशलेमका युवा शिक्षित समुदायका नभै गलीलका साधारण मानिसहरू थिए। संसारको दृष्‍टिकोणमा अपराधीको रूपमा उनको मृत्‍यु भएको र उनी असफल भए। परमेश्‍वरको पुत्रको लागि यो कस्‍तो बाटो !

पुरानो नियममा अरू सबैभन्‍दा मोशाले मात्र यस्‍तो बाटो हिँडेका छन्। कष्‍टमा परेको आफ्‍ना दाज्‍यू भाइको लागि उनले राजदरबारको सबै सुखलाई त्‍यागे। एउटा मिश्रीले एक जना हिब्रूलाई पिटेको देखेर मोशाले त्‍यो मिश्रीको हत्‍या गरे। अधिकांश व्यक्तिले त्‍यस्‍तै किसिमले शरीरको सामर्थ्यमा परमेश्‍वरको सेवा गर्ने प्रयास गर्दछन्। यसको फल राम्रो भएन। मोशाले मिद्यान देशमा भागेर जानु परेको थियो। त्‍यहाँ उनले गोठालोको काममात्र पाउन सके जो उनले बाल्‍यकालदेखि पाएको शिक्षाअनुसार ‘सानो काम’ थियो। उत्‍पत्ति ४६:३४ अनुसार “मिश्रीहरू सबै गोठालाहरूलाई तुच्‍छ ठान्दथे।”

हाम्रो मनमा गोठालाहरूको राम्रो चित्रण हुन्‍छ। यो येशूको एउटा नाम पनि हो। हाम्रो कल्‍पनामा साना-साना पाठाहरू घाममा हरियो चौरमा उफ्रिरहेका हुन्छन्। चित्रहरूमा प्राय: यस्‍तै देखाइएको हुन्‍छ। तर धेरै देशहरूमा अहिले भएजस्‍तै मिश्रीहरूको लागि गोठालो भनेको फोहोर, संस्‍कारहीन, अशिक्षीत र घुमन्‍ते मानिस हो। मोशा गोठालो भएका थिए।

कुनै पनि पेशा तुच्‍छ हुँदैन तर भारतमा कतिपय जातिहरू यस्‍ता छन् जो अछुत मानिन्‍छन् साथै नेपालमा दमाई, पोड़ेजस्‍ता जातिहरू छन् जो सबभन्‍दा तल गनिन्‍छन्। बाहुन सबभन्‍दा माथिल्‍लो जातिमा आउँछ। मोशाले आफ्‍नो माथिल्‍लो अवस्‍थालाई त्‍यागेर अछुत अवस्‍थालाई स्‍वीकारेका थिए।

त्‍यतिमात्र होइन। हामी पढ्छौँ, “मोशाले आफ्‍नो ससुरा यित्रो को भेड़ा बाख्रा चराउँथे।” उनको आफ्‍नो होइन, अफ्‍नो बाबुका भेड़ा बाख्रा पनि होइन तर उनकी पत्‍नीको बुबाको ! अनि यिनी मिश्रका राजकुमार थिए !!

अफ्‍नो छोरोको नाउँ गेर्शोम - ‘विदेशमा प्रवासी’ राख्‍दा उनले आफ्‍नो मनको बेदना व्यक्त गरेका थिए। यूसुफले पनि प्रवासमा बस्‍दा साहस पूर्वक आफ्‍नो जेठो छोरोको नाउँ मनश्‍शे राखेका थिए जसको अर्थ हो ‘बिर्सन लगाउनु’। उनले भने “परमेश्‍वरले मेरा सबै कष्‍ट र मेरो घरानालाई बिर्सन लगाउनुभएको छ।” त्‍यस्तै दोश्रो छोरोको नाउँ एप्रैम - ‘फलवन्‍त’ - राख्‍दा उनले भने“मेरो कष्‍टको देशमा परमेश्‍वरले मलाई फलवन्‍त बनाउनुभएको छ।”

यूसुफले आफ्‍नो प्रवासमा कल्‍पनातीत उन्नति गरेका थिए। यसको विपरीत कमसेकम वर्तमानमा मोशाको लागि ओरालो मात्र थियो। भविष्‍यमा मोशा यूसुफभन्‍दा पनि माथिल्‍लो स्‍थानमा पुग्‍नु पर्ने थियो। तर पहिले उनले येशूजस्‍तै कष्‍टको बाटो हिड्नु पर्ने आवश्‍यक थियो र गेर्शोम - ‘प्रबासी’ - हुनु जरुरी थियो।

४० वर्ष सम्‍म, जबसम्‍म ठूलो मानिस बन्ने सबै आशा वा इच्‍छा नष्‍ट भएन, मोशाले नम्रताको जीवन बिताउनु पर्यो। यो बाटो कष्‍टप्रद भए पनि फलरहित थिएन। पछि हामी पढ्छौँ, “संसारमा भएका सबै मानिसहरूमा मोशाजस्‍तो नम्र अरू कोही भएन” (गन्‍ती १२: ३)। युवावस्‍थामा मोशा नम्र थिएनन्। स्‍वाभाविक रूपमा कोही पनि नम्र हुँदैन, खासगरी राजदरबारमा पालन पोषण भएका व्यक्तिहरूमा त झन् नम्रता हुँदैन। गरीबहरू प्राय: नम्र हुन्‍छन्। परमेश्‍वरले मोशाको जीवनबाट स्‍वाभिमान हटाउनु भयो र उनको हृदयमा येशूको जस्‍तो असल चरित्रको निर्माण गर्नुभयो।

अधिकांश व्यक्ति पुत्रत्‍वको अधिकार र लाभप्रति आकर्षित हुन्‍छन् तर पहिले नम्रताको बाटो हिड्नु पर्छ त्‍यो थाहा पाउँदैनन्। यदि हामीले येशूसँग सँगै शासनामा सम्भागी भयौँ भनेमात्र अन्‍तमा उहाँसँग सँगै राज्‍य पनि गर्नेछौँ। पुत्रत्‍व आफ्‍नो अहम् पूरा गर्ने बाटो होइन। यसको विपरीत यो अहम्‌को मृत्‍यु हो। पहिले पुरानो मनुष्‍यत्‍व (स्‍वभाव) ख्रीष्‍टसँग सँगै क्रूसमा मरसिकेको हुनुपर्छ।

सृजनशील सेवकाइ

हामीले मोशाको तयारीको बारेमा विचार गर्‍यौँ। अब हामी उनको सेवकाइको बारेमा विचार गर्नेछौँ।

मोशा आत्‍मिक अग्रणी अगुवा थिए। अरूले बसालेको जगमाथि मोशाले बनाउनुभएन। परमेश्‍वरले मोशालाई दिनुभएको काम अरूले कहिल्‍यै गरेका थिएनन्। यो एकदम नयाँ काम थियो र अति ठूलो काम थियो।

येशूको बारेमा “परमेश्‍वर र सबै मानिसहरूका सामने काम र वचनमा शक्तिमान् अगमवक्ता हुनुहुन्‍थ्‍यो” भनेर लेखिएको छ (लूका २४: १९)। मोशा पनि यस्‍तै मानिस थिए। मिश्रमा उनले लौरो तेर्साउँदा आइपरेका विपत्तिहरू सबै मानिसको आँखा अगाडि प्रत्‍यक्ष थियो। ती विपत्तिहरू प्रभावकारी भए र सम्‍पूर्ण मिश्रवासीहरू मोशाले गरेका काम हेरी भयभीत भएका थिए।

उनले बोलेका कुराहरू तुरुन्‍तै प्रभाव पार्ने नभएर पनि भविष्‍यका लागि अति प्रभावकारी थिए। पहिले परमेश्‍वरले यस संसारमा आफ्‍नो बारेमा प्रकाश दिन छान्नुभएको जाति अर्थात् इस्राएल जातिको लागि मोशाले जग बसाले। त्‍यसपछि परमेश्‍वरले मोशाद्वारा बोल्‍नुभएका वचनहरू आजसम्‍म संसारका पचास प्रतिसत मानिसका लागि बुनियादी नैतिक नियम बनेका छन्।

मोशाको जीवन र सेवकाइ को महत्त्व र प्रभाव पूर्णतया बुझ्‍न हाम्रो लागि धेरै कठीन छ। अघि उल्‍लेख गरिएझैं व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएको छ, “त्‍यस समयदेखि इस्राएलीहरूमा मोशाजस्‍तो कोही अगमवक्ता खड़ा भएको छैन, उनलाई परमप्रभुले घनिष्‍टसित जान्‍नुहुन्‍थ्‍यो।” मोशाले आफै पनि भनेको छन् “परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरू मध्‍येबाट मजस्‍तै एउटा अगमवक्ता खड़ा गर्नुहुनेछ। तिमीहरूले तिनको कुरा सुन्‍नू।” (व्‍यवस्‍था १८: १५)। येशूभन्‍दा अघि आएका अगमवक्ताहरू मध्‍ये कसैसँग पनि मोशाको तुलना गर्न सकिँदैन।

पुरानो नियममा मोशापछि आएका सन्‍तहरू मोशाका पछिलाग्‍नेहरूमात्र थिए। एलियाको जीवनमा हामी यो प्रष्‍ट हेर्दछौँ। एलिया परमेश्‍वरको महान् सेवक भए पनि प्राथमिक रूपमा उनी एक पुनर्स्थापक थिए। उनको सेवकाइको लक्ष्‍य मानिसहरूलाई पुन: मोशाको व्‍यवस्‍थामा फर्काउनु थियो। मानिसहरू मोशाले दिएका नियमहरू भंग गरी अन्‍य देवी-देवता को पूजातिर लागेका थिए। एलियाले ती मानिसहरूलाई तिनीहरूका परमेश्‍वर यहवेतिर फर्कन चुनौती दिएका थिए। बाल देवताका अगमवक्ताहरूलाई मृत्‍युदण्‍ड दिँदा एलियाले मोशाको व्‍यवस्‍थामा उल्‍लेख भएका आज्ञा पालन गरेको हुन्।

वास्‍तवमा मोशाको व्‍यस्‍था पालन गर्ने प्रत्‍येक व्यक्तिले यस्‍तै गर्नु पर्ने थियो। यशैयादेखि मलाकीसम्‍म सबै अगमवक्ताहरूले इस्राएलीहरूलाई मोशाको व्‍यवस्‍था पालन गर्न अर्ति दिएका हुन्। मलाकीको पुस्‍तकको अन्‍तमा लेखिएको छ, “मेरो दास मोशाको व्‍यवस्‍थाको सम्झना गर ...।”

प्रभु येशूले दिनुभएका शिक्षा र गर्नुभएका आश्‍चर्य कर्महरू पनि नयाँ र क्रन्‍तिकारी थिए। उहाँलाई गिरफ्तार गर्न गएकाहरूले भने, “यी व्यक्तिजस्‍तो शिक्षा कसैले पनि कहिल्‍यै दिएनन्।” उनले बोलेको वचन र उनको कामले सधैं उनको पछि लाग्‍नेहरूलाई आश्‍चर्य चकित पार्दथ्‍यो। उहाँले अब के गर्नुहुन्‍छ वा के भनुहुन्‍छ, चेलाहरूले बुझ्‍न सकेनन्। उहाँ पूर्णरूपमा सृजनशील हुनुहुन्‍थ्‍यो।

उहाँले मानिसहरूलाई मोशाको व्‍यवस्‍थातिर फर्काउनुभएन। उहाँले बोल्‍नुभएको वचनले मोशाले बसालेको जग नै नष्‍ट गर्नेजस्‍तो लाग्‍दथ्‍यो। तैपनि उहाँ नष्‍ट गर्नलाई होइन तर पूरा गर्नलाई आउँनुभएको थियो। काश ! म २००० वर्ष अघिको समयमा फर्केर इ.सं.३० मा एउटा यहूदीको रूपमा धर्मशास्‍त्रको पूर्ण ज्ञान भएको मानिस र मण्डलीको सम्‍पूर्ण रीतिथितिदेखि अन्‍जान भएको मानिस हुन्‍थेँ। त्‍यस अवास्‍थामा येशूले दिनुभएको शिक्षाको मेरो लागि के अर्थ हुन्‍थ्‍यो? म कसरी आफ्‍नो प्रतिक्रिया व्यक्त गर्ने थिएँ?

प्रभु येशूको सेवकाइको प्रभावको मुल्‍याङ्कन गर्दै यूहन्नाले आफ्‍नो सुसमाचारको अन्‍तमा यस्‍तो निष्‍कर्षमा पुगेको छन्, “येशूले गर्नुभएका अरुपनि धेरै काम छन्, जुन एक एक गरी लेखिएको भए, म सम्‍झन्‍छु, ती लेखिएका पुस्‍तकहरू संसारैभरी पनि अटाउनेथिएन।”

पवित्र आत्‍माको अगुवाइ थाह नपाउनेहरूले सधैँ अरूको नक्कल गरी हिँड्छन्। अरूले गरेका कामहरू हेरेर यी व्यक्तिहरू त्‍यस्‍तै गर्ने प्रयास गर्दछन्। मानिसहरूबाट सिकेका कुराहरूमात्र यी व्यक्तिहरूले अरूलाई सिकाउन सक्‍छन्। रोमी ८:१४ मा पावलले लेखेका छन्, “परमेश्‍वरको आत्‍माले डोर्‍याएकाहरूमात्र परमेश्‍वरका छोराहरू हुन्।” परमेश्‍वर सृजनशील हुनुहुन्‍छ, यसकारण पवित्र आत्‍मा पनि सृजनशील हुनुहुन्‍छ। परमेश्‍वरका आत्‍माले डोर्‍याइएकाहरू पनि सृजनशील हुनेछन्। उनीहरूको सृजनशीलता स्‍वाभाविक गुणमा आधारित न भएर परमेश्‍वरको प्रेरणामा आधारित हुन्‍छ। प्राकृतिक रूपमा सृजनशीलता मानव कल्‍पनामा आधारित हुन्‍छ। तर पुत्रत्‍वको सृजनशीलता स्‍वयम् परमेश्‍वरको सृजनशीलता हुनेछ।

छुटकारा दिने सेवकाइ

मोशा, येशू र परमेश्‍वरको छोराहरूमा रहेको एउटा अर्को समानताको बारेमा पनि हामी विचार गर्नेछौँ। सबै छुटकारा दिनको लागि पठाइएका छन्। मोशाले दासत्वमा रहेको इस्राएलीहरूलाई छुटकारा दिए

लूकाको सुसमाचार लेखिएअनुसार येशूले यशैया अगमवक्ताको पुस्‍तकबाट एउटा भाग पढ़ेर आफ्‍नो सेवकाइ आरम्‍भ गर्नुभयो जहाँ उहाँको कामको बर्णन गरिएको छ। त्‍यहाँ लेखिएको छ, “कैदीहरूलाई छुटकाराको घोषणा”“अत्‍याचारमा परेकाहरूलाई अमलेख गराउनाको निम्‍ति।” युहन्ना को सुसमाचारको ८: ३२ मा उहाँले भन्नुभयो, “पुत्रले तिमीहरूलाई स्‍वतन्‍त्र गरायो भने तिमीहरू निश्‍चय स्‍वतन्‍त्र हुनेछौ।” र ४ पदपछि “पुत्रले तिमीहरूलाई स्‍वतन्‍त्र गरायो भने तिमीहरू निस्‍चय स्‍वतन्‍त्र हुनेछौं।” गलाती ५ मा पावलले लेखेका छन् “स्‍वतन्‍त्रतासाथ ख्रीष्‍टले हामीलाई निर्बन्‍ध तुल्‍याउनुभयो। यसकारण दह्रो भएर खड़ा होओ, र फेरि बन्‍धनको जुवामा नअल्‍मलिऔ।”

रोमीहरूको पत्रको ८ अध्‍यायमा पुत्रत्‍वको विषयमा कुरा गर्दा २१ पदमा यस्‍तो लेखिएको पाउँछौँ, “परमेश्‍वरको सन्‍तानको महिमाको स्‍वतन्‍त्रतामा सृष्‍टि आफैले पनि विनाशको बन्‍धनबाट छुटकारा पाउनेछ।” स्‍वतन्‍त्रता पुत्रत्‍वको सार हो।

परमेश्‍वरको आत्‍माको छुटकारा दिने सामर्थले हाम्रो आफ्‍नो जीवनमा काम गरेर हामीलाई स्‍वतन्‍त्रता भएको हामीले हेर्न र अनुभव गर्न अपेक्षा गर्नुपर्छ। जसे उहाँले हामीलाई आउनलागेको सारा सृष्‍टिको ठूलो छुटकाराको लागि तयार गरी रहनुभएको छ, जान अन्‍जान सबै किसिमका साङ्ला र बन्‍धनहरू टुट्ने र नष्‍ट हुनेछन्।

विशेष बोलावट

मोशाको जीवनमा घटेको एउटा चाखलाग्‍दो र शिक्षाप्रद घटना गन्‍तीको पुस्‍तकको १२ अध्‍यायमा लेखिएको छ। मिरीयम र हारुनले यस्‍तो भन्‍दै मोशाप्रति आफ्‍नो आक्रोस देखाए “के परमेश्‍वरले मोशाद्वारा मात्र बोल्‍नुभएको छ र? के उहाँले हामीद्वारा बोल्‍नुभएको छैन र?” उनीहरूको भनाइ ठीकै थियो। दुवै जना परमेश्‍वरको सेवामा धेरै समयदेखि लागेका थिए। फिरौनको दरबारमा उभिँदा हरून मोशाको प्रवक्ता भै बोलेका थिए र पछि मुख्‍य पूजाहारीमा नियुक्त भएका थिए। स्‍त्रीहरूसँग गाउँदै र नाच्‍दै तिनीहरूको अघि-अघि लागेकी कारण मिरीयमलाई अगमबादिनी भनिएको छ (प्रस्‍थान १५:२०)। उनीहरूले भनेको कुरा सत्‍य हो। परमेश्‍वरले तिनीहरूद्वारा बोल्‍नुभएको हो। तर त्‍यसकारणले मात्र उनीहरू मोशाको बराबरी गर्न सक्तैनथे।

यसै अध्‍यायको ३ पदमा लेखिएको छ, “मोशाचाहिँ पृथ्‍वीभरिमा सबैभन्‍दा बिनम्र व्यक्ति थिए।” मोशाको जीवनमा घटेको कतिपय घटनाहरूले उनलाई बिनम्र बनाएका थिए। ४० वर्षको उमेरमा उनमा घमण्‍ड भए पनि ८० वर्षको उमेरसम्‍म पुग्‍दा उनी अर्कै व्यक्ति भए। मिरीयम र हारुनले पनि आ-आफ्‍नो जीवनमा पवित्र आत्‍माको काम अनुभव गरेका थिए होलान्। तर उनीहरूको व्‍यवहारले देखाएअनुसार उनीहरूको जीवनमा परमेश्‍वरको गाहिरो काम भएको देखिँदैन।

त्‍यसपछि परमेश्‍वरले तीनैजनालाई भेट हुने पालमा बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो “अब मेरो कुरा सुन्, तिमीहरूको बीचमा कुनै अगमवक्ता छ भने, म त्‍यससँग दर्शनमा आफैलाई प्रकट गर्नेछु। अथवा त्‍यससँग सपनामा कुरा गर्नेछु। तर मेरो दास मोशासित त म त्‍यस्‍तो गर्दिनँ। उ ता मेरो सबै घरानामा विश्‍वासी छ। त्‍यससँग म गुप्‍त रीतिले होइन तर आमने सामने प्रकट बात गर्छु, र मेरो स्‍वरूप त्‍यसले हेर्छ।”

यहाँ हामी हारुन र मिरीयमजस्‍ता अगमवक्ताहरू र मोशाजस्‍ता परमेश्‍वरका मानिस बीच स्‍पष्‍ट भिन्नता देख्‍दछौँ।

परमेश्‍वरको वचन वा परमेश्‍वरको बाटोको अल्‍पज्ञान भएकाहरूको लागि अगमबाणी बोल्‍ने वा अन्‍य आत्‍मिक वरदान उपयोग गर्ने व्यक्तिहरू आत्‍मिक वीर पुरुष हुन सक्‍छन्। तर यो सत्‍य होइन। यो थाह पाउनका लागि हामीलाई धर्मशास्‍त्रको ठूलो ज्ञान वा विश्‍वासी जीवनको लामो अनुभवको आवश्‍यक्ता पर्दैन। राजा शाऊलले आरम्‍भिक जीवनमा अगमवक्ताहरूका साथ अगमबाणी गरेका थिए। पछि उनी अनाज्ञाकारी भए र त्‍यागिए। त्‍यसपछि दुष्‍टात्‍माले उनलाई सतायो। चङ्गाइ र अन्‍य आश्‍चर्यकर्मको सेवकाइमा पहिले परमेश्‍वरबाट उपयोग भएका व्यक्तिहरू पछि ठूलो ठूलो पापमा पर्न सक्‍दछन्।

मोशाले परमेश्‍वरलाई जुन किसीमले चिनेका थिए, मिरीयम, हारुन र अन्‍य अगमवक्ताहरूले चिन्न सकेका थिएनन्। कुनै व्यक्तिले हुलाकबाट एउटा चिट्ठी पाएजस्‍तै यी व्यक्तिहरूले परमेश्‍वरको वचन वा दर्शन पाउन सम्भव थियो। परमेश्‍वरले निश्‍चय नै यी व्यक्तिहरूद्वारा बोल्‍नुभएको थियो तर मोशासँग परमेश्‍वरले सोझै, “आमने सामने कुरा गर्नुहुन्‍थ्‍यो जसरी कुनै व्यक्तिले आफ्‍नो मित्रसित कुरा गर्दछन्” (प्रस्‍थान ३३: ११)।

नयाँ नियममा उल्‍लेखित यस्‍तै एउटा घटना हेरौँ। मर्कूसको सुसमाचारको १०:३७ - ४० मा याकूब र यूहन्नाले येशूलाई भने “गुरुज्‍यू, तपाईंको महिमामा हामीमा एकजना तपाईंको दाहिनेपट्टि र अर्को देब्रेपट्टि बस्‍न पाउने हामीलाई मञ्‍जुरी दिनुहोस्”। तर येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू के माग्‍दछौं, त्‍यो तिमीहरू जान्‍दैनौ। के जुन कचौरा म पिउँछु, त्‍यो तिमीहरू पिउनसक्‍छौ? अथवा जुन बप्‍तिस्‍मा लिएको छु, के त्‍यो बप्‍तिस्‍माले तिमीहरू बप्‍तिस्‍मा लिनसक्‍छौ?” अनि तिनीहरूले उहाँलाई भने, “हामी सक्‍छौँौं।” येशूले तिनीहरूलाई भन्नुभयो, “जुन कचौरा म पिउँछु, त्‍यो तिमीहरू पिउनेछौ र जुन बप्‍तिस्‍म मैले लिएको छु, त्‍यो बप्‍तिस्‍म तिमीहरू लिनेछौ, तर मेरो दाहिनेपट्टि र मेरो देब्रेपट्टि बस्‍नदिनुचाहिँ मैले दिने होइन, यो ता जस जसका निम्‍ति तयार भइराखेको छ, तिनीहरूकै निम्‍ति हो।”

मिरीयम र हारुनजस्‍तै याकूब र यूहन्नाले पनि ठूलो पदको इच्‍छा गरेका थिए। दुई महत्त्वपूर्ण कुराहरू तिनीहरूले बुझ्‍न सकेनन्।

पहिलो कुरा, प्रभु येशूसँगै राज्‍य गर्नु चाहनेहरूले पहिले उहाँसँगै शासना पनि भोग्‍नुपर्छ। प्रकाशको १४ अध्‍यायमा, सियोन डाँड़ामा थुमासँग उभिएका १,४४,००० ती हुन् जो थुमालाई पछ्याएका छन्। उनका शासना र हेलामा सहभागी नभएसम्‍म उनको सिंहासनमा भाग लिन सम्‍भव छैन।

येशूको शासनाको बारेमा विचार गर्दा स्‍वाभविक रूपमा हामी उनको जीवनको अन्‍तिम घड़ीलाई विचार गछौँ। जब हामी उहाँसँग सँगै दु:ख उठाउने कुरा विचार गर्छौं तब हामी साम्‍यवादी तथा अरू देशहरूमा प्रभु येशूको कारण जेलखानामा परेका र सतावट सही रहेको विश्‍वासी दाज्‍यू भाइ अथवा दिदी बहिनीहरूलाई सम्झन्‍छौँ। हामी यस प्रकारले विचार गर्दा ठीकै गर्छौं र धर्मशास्‍त्रमा लेखिएको पनि छ, “परमप्रभुको दृष्‍टिमा उहाँका भक्तहरूको मृत्‍यु अनमोल छ” (भजन ११६: १५)।

तर उहाँले भोग्‍नु परेको शासनाको गहिरो पक्ष पनि छ। शारीरिक यातना, हामीले बुझेसम्‍म, उहाँको जीवनको अन्‍तिम २४ घण्‍टासम्‍म मात्र सीमित थियो। आत्‍मिक शासना यस पृथ्‍वीमा उहाँले बिताउनुभएको ३३ वर्ष सम्‍मनै उहाँले सहीराख्‍नु परेको थियो। “उहाँ आफ्‍नैकहाँ आउनुभयो र आफ्‍नैहरूले उहाँलाई ग्रहण गरेनन्” (यूहन्ना १:११)। “पापीहरूबाट उहाँको विरुद्धमा भएको यतिका विवादहरू सहनुहुनेलाई विचार गर ..” (हिब्रू १२: ३)। मोशाले पनि, अन्‍यजातिबाट होइन तर परमेश्‍वरका जनहरूबाट आएको विरोधद्वारा यस्‍तै शासना सहेका थिए। पुत्रत्‍वकोलागि बोलावट पाएका प्रत्‍येक व्यक्तिले यही बाटो हिड्नु पर्छ।

दोश्रो कुरो, परमेश्‍वरद्वारा छानिएकाहरूले मात्र येशूसँग राज्‍य गर्नेछन। येशूले प्रष्‍ट गरी भन्नुभयो,“मेरो दाहिनेपट्टि र मेरो देब्रेपट्टि बस्‍नदिनुचाहिँ मैले दिने होइन, यो ता जस जसका निम्‍ति तैयार भइराखेको छ, तिनीहरूकै निम्‍ति हो।” मानिसले स्‍वाभाविक रूपमा बढी उत्‍पादन गर्ने विचार गर्दछ। मेसिनद्वारा एकै किसिमका सैकड़ौँ र हजारौँ वस्‍त्रहरू उत्‍पादन हुन्‍छन्। तर परमेश्‍वरले विभिन्न रूपमा सृष्‍टि गर्नुहुन्‍छ। यहाँसम्‍म कि हिउँका दुई टुक्राहरू पनि एकजस्‍तो हुँदैनन्।

धर्मशास्‍त्रले यही शिक्षा दिन्‍छ, कि विभिन्न व्यक्तिहरूको भिन्‍दा-भिन्‍दै बोलावट छन्। समानता खोज्‍ने मानवीय स्‍वभावले यो सत्‍यतालाई सजिलै स्‍वीकार गर्न सक्तैन। मालिक र दास, स्‍त्री र पुरुष, आमाबाबु र छोराछोरी, सबै समान हुनुपर्छ। तर माटोको ढिकाबाट आफ्‍नो इच्‍छा अनुसारको भाड़ो बनाउने सामर्थ्‍य भएको कुमालेजस्‍तै परमेश्‍वर हुनुहुन्‍छ। उहाँले ठहराउनुभएको बोलावटमा नम्रतासाथ हिँड्नु हाम्रो उत्तरदायित्‍व हो।

पुरानो करार अन्‍तर्गत परमेश्‍वरले काम गर्ने विशेष तरिका थियो। पृथ्‍वीमा भएका अनगिन्‍ती प्राणीहरूबाट उहाँले एउटा विशेष जातिलाई छान्नुभयो। त्‍यस इस्राएल जातिबाट लेवी भन्ने गोत्रलाई उहाँले विशेष उदेश्‍यको लागि रोज्‍नुभयो। तीमध्‍ये उहाँले कतिलाई पुजाहारी र एक जनालाई मुख्‍य पुजाहारी हुनलाई नियुक्त गर्नुभयो।

परमेश्‍वरको नयाँ व्यवस्‍थामा समानताको नियम छैन तर ठूलो हुनेले सबैको सेवा गर्नु पर्नेछ।

उत्तराधिकार

पुरानो नियमको इतिहासमा क्रमिकता छैन। परमेश्‍वरले छान्नुभएका महान् व्यक्तिहरू जस्‍तै: अब्राहाम, यूसुफ र दाउदसँग सँगै आशिष् आएको तर यी व्यक्तिहरूको अन्‍तसँग सँगै आशिष् पनि सकिएको देखिन्‍छ। मृत्‍युसँगै यीनका कामको पनि अन्‍त हुन्‍थ्‍यो। मण्‍डलीको इतिहास पनि यस्‍तै छ।

मोशा र एलिया २ मुख्‍य अपवाद छन्। मोशाले पहिले ७० प्राचीनहरूको शिरमा हात राखे र परमेश्‍वरको आत्‍मा उनीहरूमाथि ओर्ली आउनुभयो। पछि उनले यहोशूको शिरमा हात राखे। यहोशूले मोशाको उत्तराधिकारी भएर त्‍यो कामलाई पूरा गरे।

यस्‍तै, अग्‍निमय रथमा एलिया स्‍वर्ग जाँदा एलिशामाथि उनको खाष्‍टो झर्‍यो। एलियाको आत्‍मा एलिशामाथि आएको सबैले थाहा पाए किनभने एलियाले गरेका आश्‍चर्यकर्महरूको दोब्‍बर आश्‍चर्यकर्महरू एलिशाले गरे।

यस्‍तो हुँदा हुँदै पनि मोशाले भनेका अन्‍तिम शब्‍दहरू उत्‍साह जनक थिएनन्। “मेरो मृत्‍युपछि तिमीहरू अवश्‍य भ्रष्‍ट बनेर मैले आदेश गरेको मार्गबाट तर्केर जानेछौ। तिमीहरूले परमप्रभुको दृष्‍टिमा दुष्‍ट काम गरेर उहाँलाई क्रोधित तुल्‍याएको हुनाले पछि तिमीहरूमाथि विपत्ति आइपर्नेछ” (व्‍यवस्‍था ३१: २९)।

यसको विपरीत येशूले भन्नुभयो “म जानु नै तिमीहरूको निम्‍ति फाइदा छ। किनभने म गइनँ भने, शान्‍तिदाता तिमीहरूकहाँ आउनुहुनेछैन ...” (यूहन्ना १६: ७)।

पुन: उत्‍पादन गर्ने क्षमता बीउमा हुन्‍छ र बीउ पुरुषमा हुन्‍छ। जब परमेश्‍वरका छोराहरू आत्‍माको सामर्थमा जीउँछन, अरूहरूलाई दयनीय अवस्‍थामा रही आफूमा निर्भर रहन सिकाउँदैनन्। तर येशूजस्‍तै आफ्‍ना उत्तराधिकारीहरूलाई आफ्‍नो आत्‍मा दिएर आफू बिदा लिनेछन।

मोशाको मृत्‍यु

येशूजस्‍तै मोशाको पनि जन्‍म र मृत्‍यु दुवै विशेष किसिमले भए। व्‍यवस्‍थाको पुस्‍तकको अन्‍तिम अध्‍यायमा लेखिएको छ मोआबको देशमा बेतपोरको सामने एउटा बेंसीमा परमेश्‍वरले मोशालाई गाड्नुभयो। तर कसैलाई आजसम्‍म उनको चिहान थाह छैन। यहूदाको पत्रमा लेखिएको छ प्रधान दूत माइकलले मोशाको लाशको विषयमा शैतानसँग विवाद गरेका थिए र हेर्मोन डाँड़ामाथि हामी मोशालाई पुनरुत्थानको नयाँ शरीरमा येशूसँग कुरा गरीरहेको देख्‍दछौँ।

मोशाको मृत्‍यु हुनुभन्‍दा अघि ऊ एकसय बीस वर्षको उमेर हुँदा पनि उसको शरीरको बल र आँखाको ज्‍योति क्षीण भएको थिएन। सङ्घर्ष गरेर ऊसलाई आफ्नो गाँस बनाउनु अथवा त्यसै छोडिदिनु, यी दुबै काम मृत्युको लागि पनि अति कठीन थियो।

मृत्‍यु त्‍यो अन्‍तिम शत्रु हो जो नष्‍ट गरिन्‍छ। हनोक र एलिया दुवै जनाले मृत्‍युलाई पराजित गरी सोझै परमेश्‍वरको उपस्‍थितिमा पुगेका थिए। परमेश्‍वरले हाम्रो लागि के राख्‍नुभएको छ? जित्‍नेहरूले के जित्‍नेछन्? मलाई थाहा छैन तर मैले बाइबलमा यो पढ़ेको छु, “यो नाशमानले अविनाशी र यो मरणशीलले जीवन धारण गर्नेछ। मृत्‍यु विजयमा निलिन्‍छ”। आमीन।

उपसंहार

जहाँबाट मैले आरम्‍भ गरेको थिएँ त्‍यहीँ अन्‍त गर्नेछु। योसँग भएको भन्‍दा राम्रो कुराहरू संसारलाई चाहिन्‍छ। यो लेखिँदै गर्दा अफ्रिकाका र एशियाका करोड़ौँ मानिसहरू गरीबी र भोकले सताइएका छन्। लाखौँ मानिसहरू देशमा लडाइँको कारण देश छोडेर शरणार्थी शिविरमा बसिरहेका छन्। धनी राष्‍ट्रका मानिसहरू शरीरिक कष्‍टको साटो आत्‍मिकी कष्‍टबाट सताइएका छन्। पारीवारीक एकता तोडिएको छ र धेरै मानिसहरू मानसिक चिन्‍तबाट ग्रसीत छन्। मानव जातिसँग आफ्नो आवश्यकता पूरा गर्न पहिलेको भन्दा बढी श्रोत र साधन भएको समयमा यस्ता कुराहरू भइरहेका छन्।

हामीले हेरेको यो अवस्‍था विश्‍वव्‍यापि रूपमा मानिसले सहनु परेको कष्‍ट हो। पावलले यस अवस्‍थाको बर्णन रोमी ८:१९-२३ मा गरेका छन्। परमेश्‍वरको छोराहरू, जो अहिले तैयार पारिँदैछन्, उनीहरूको प्रकटीकरणको लागि सारा सृष्‍टिले प्रसव बेदनामा सुस्‍केरा हाल्‍दै पर्खिरहेको छ। मरुभूमिमा मोशाको तयारीको समायमा इस्राएलीहरू पनि आफ्‍नो पीड़ामा यस्‍तै किसिमले सुस्‍केरा हाल्‍दै थिए। परमेश्‍वरद्वारा निश्चित समयमा मोशा आएर उनीहरूलाई मिश्रदेशबाट बाहिर निकालेर स्‍वतन्त्र गरिदिए।

मानवीय व्‍यवस्‍था, प्रजातन्त्र होस् वा अधिनायकवाद, कहिले पनि संसारको समस्‍या समाधान गर्न सक्तैन। ईस्‍वरीय राज्‍य व्‍यवस्‍थाले मात्र न्‍याय, शान्‍ति र समृद्धि ल्‍याउन सक्‍दछ। अहिले परमेश्‍वरले तयार गरिरहनुभएका आफ्‍ना छोराहरूद्वारा उहाँले शासन गर्नुहुनेछ। येशू उनीहरूको नमूना र शिर हुनुहुन्‍छ। उहाँको शरीरको रूपमा उनीहरू देखा पर्ने समय नजीक आइरहेको छ।

पुत्रत्‍वको बाटो हिड्ने प्रत्‍येकको लागि तयारीको समय हो। यो सजिलो छैन। यो बाटो लामो छ, साँघुरो छ र शरीरको लागि कठीन छ। आदमको सन्‍तानलाई परमेश्‍वरको छोराको रूपमा रूपान्‍तर हुन महान् सर्जनले गहिरो र दु:खदायी चीरफाड़ गर्नु पर्ने हुन्‍छ। तर हामीले धीरजपूर्वक सँगै सह्‍यौँ भने पाइने पुरस्‍कार अति ठूलो छ। उहाँको अगाड़ि राखिएको आनन्‍दको खातिर येशूले शर्म नमानी क्रूसको मृत्‍युलाई सहनुभयो। मिश्रको सम्‍पत्तिभन्‍दा येशूको शासनालाई मोशाले बहुमूल्‍य ठाने। पुत्रत्‍वको बाटोमा हिँड्दा हामीले पनि वर्त्तमानको कष्‍टभन्‍दा पनि हाम्रो अगाडि राखिएको महिमालाई हेरौँ।

  • Moses in English
  • Home Page

    यो पुस्‍तकलाई रंगिन [Color] छाप्‍ने फाइल

    यो पुस्‍तकलाई श्‍याम-स्‍वेत [Black & White] छाप्‍ने फाइल

    कसरी छाप्ने