पुनर्स्थापनाको वर्ष

परिचय

परमेश्‍वरले पुरानो करारमा इस्राएलीहरूलाई पुनर्स्थापनाको वर्ष मनाउने असामान्य किसिमको विधि दिनुभयो । प्रायः मानिसहरूले जीवनमा एकपटक मात्र त्यो उत्सव मनाउँथे र केहीले चाहिँ त्यो जीवनमा एकपटक पनि अनुभव गर्न पाउँदैनथे किनभने पुनर्स्थापनाको वर्ष हरेक ५० वर्षमा एकचोटि आउँथ्यो ।

पुनर्स्थापनाको वर्षमा दासत्वमा परेका इस्राएलीहरूलाई स्वतन्त्र गरिन्थ्यो र बिक्री गरिएको जमिन सुरुको मालिकलाई फिर्ता गरिन्थ्यो । यसको अर्थ कुनै पनि इस्राएली व्यक्ति स्थायीरूपमा दास हुनु पर्दैनथ्यो र त्यसैगरी कुनै इस्राएलीले आफ्नो उत्तराधिकार (पैत्रिक सम्पत्ति) सदाको निम्ति गुमाउनु पर्दैनथ्यो ।

“पुनर्स्थापना” भन्ने शब्दलाई अङ्ग्रेजी बाइबलमा “जुबली” (jubilee) भनेर प्रयोग गरिएको छ र त्यो मूल हिब्रू भाषाको “योबेल” (yobel - יֹּובֵל) भन्ने शब्दलाई अनुवाद गरिएको हो । त्यसको शाब्दिक अर्थ “तुरहीको आवाज” हुन्छ । पुनर्स्थापनाको वर्ष सुरु भयो भनी घोषणा गर्न प्रायश्‍चितको दिनमा तुरहीहरू फुकिन्थे । कुनै कारणवश बाइबल अनुवादकहरूले हिब्रू भाषको योबेल भन्ने शब्दलाई ठीक प्रकारले अङ्ग्रेजीमा अनुवाद गरेनन् र त्यसको सट्टामा त्यहाँ तिनीहरूले जुबली (jubilee) भन्ने शब्द राखे । त्यसकारण त्यो शब्द अङ्ग्रेजी बाइबलमा प्रचलित भयो र परिणामस्वरूप हिब्रू भाषाअनुसार त्यहाँ “तुरहीहरूको वर्ष” (The year of Trumpets) हुनु पर्नेमा “जुबलीको वर्ष” (The year of Jubilee) हुन पुग्यो ।

हिन्दी बाइबलमा जुबली (Jubilee) भन्ने अङ्ग्रेजी शब्द प्रयोग गरिएको छ तर नेपाली बाइबलमा “पुनर्स्थापना” भन्ने शब्द प्रयोग गरिएको छ, र यसले केही हदसम्म त्यस वर्षमा हुने घटनाहरू वर्णन गर्छ तर खासै त्यो सही अनुवादचाहिँ होइन । अब हाम्रो मनमा यस्ता प्रश्‍नहरू आउँछन् : किन ती बाइबल अनुवादकहरूले हिब्रू शब्द “योबेल” ठीक प्रकारले अनुवाद गरेनन् ? अनि किन बाइबलमा “तुरहीहरूको वर्ष” (The year of Trumpets) भनी लेखिएन ? पुनर्स्थापनाको वर्षको बारेमा बुझ्नको लागि हामीले पहिले शबाथको अर्थ के हो भनी हेर्नु पर्दछ ।

शबाथ (विश्राम दिन)

शबाथ अथवा विश्राम दिन मान्नु परमेश्‍वरले आफ्ना जन इस्राएलीहरूलाई मोशाद्वारा दिनुभएको औपचारिक व्यवस्थाको एक भाग थियो । साधारणतया हामी शबाथ भनेको हप्ताको एक दिन हो भनी विचार गर्दछौँ तर गहिरिएर हेर्ने हो भने धर्मशास्त्रमा यसको अति फराकिले अर्थ भेट्टाउँछौँ । धर्मशास्त्रले हामीलाई शबाथ भनेको हप्ताको सातौँ दिन मात्र हो भनी सिकाउँदैन । इस्राएलीहरूको पात्रोमा उल्लिखित सात वटा चाडहरू पनि शबाथहरू नै थिए । सातौँ महिना शबाथ महिनाजस्तै थियो । त्यस्तैगरी सातौँ वर्ष शबाथ वर्ष थियो र ४९औँ वर्षचाहिँ अति विशेष वर्ष थियो, जसलाई पुनर्स्थापनाको वर्ष भनिन्थ्यो । इस्राएलीहरूले मान्ने औपचारिक व्यवस्थाहरूमध्ये शबाथ दिन अति नै महत्वपूर्ण हो किनभने यो दिन मान्‍नू भनी १० आज्ञामा स्पष्ट लेखिएको छ ।

पौराणिक कालको इस्राएलमा शबाथ दिनलाई अहिले हाम्रो शनिबारझैँ हप्ताको सातौँ दिनको रूपमा लिइने गरिन्थ्यो । त्यस दिनमा इस्राएलीहरू सबै कामबाट अलग रहन्थे । त्यो कुरा तिनीहरू र तिनीहरूका यहवे परमेश्‍वरको बीचमा स्थापित करारको चिन्ह थियो, र त्यसले तिनीहरूलाई वरिपरिका अरू जातिका मानिसहरूभन्दा फरक बनाएको थियो ।

शबाथ दिन पवित्र राख्‍नु पर्छ भनी परमेश्‍वरले भन्‍नुभयो । साधारणरूपमा भन्ने हो भने त्यस दिनलाई अलग राखिन्थ्यो अथवा त्यो हप्ताको अरू दिनहरूभन्दा फरक थियो । त्यसलाई विश्राम दिनको रूपमा अलग गरिएको थियो । शबाथ दिनमा विश्राम लिने अवधारणा नै पुरानो करारको अरू सबै चाडहरूको आधार (जग) हो । चाडका दिनहरूमा इस्राएलीहरूलाई कुनै किसिमको अनावश्यक काम गर्न अनुमति थिएन ।

वार्षिक चाडहरू

निस्तार चाडको ७ हप्तापछि पेन्तिकोसको चाड आउँथ्यो । यसर्थ सात गुणा सात दिनहरूपछि त्यो दिन पर्दथ्यो । त्यस दिनलाई शबाथहरूको शबाथ भनिन्थ्यो । त्यसैले पेन्तिकोस अति विशेष किसिमको शबाथ थियो ।

हिब्रू पात्रोअनुसार सातौँ महिनालाई विशेष महिनाको रूपमा लिइने गरिन्थ्यो । त्यस महिनामा तीन वटा चाडहरू र चार अतिरिक्त शबाथहरू पर्दथे । सातौँ महिनाको पहिलो दिनमा तुरही फुक्‍ने चाड (The Festival of Trumpets) पर्दथ्यो र त्यस दिनलाई पनि शबाथ मानिन्थ्यो । त्यसैगरी त्यो महिनाको दशौँ दिनमा पनि शबाथ हुन्थ्यो, र उक्त महान् दिनलाई “योम किप्पुर” (Yom Kippur) अथवा प्रायश्‍चितको चाड (Day of Atonement) भनिन्थ्यो । सातौँ महिनाको १५औँ दिनदेखि ८ दिनसम्म इस्राएलीहरूले छाप्रोवासको चाड (The Festival of Tabernacle) मनाउँथे । उक्त चाडको पहिलो र अन्तिम दिनलाई पनि शबाथ दिनको रूपमा लिइन्थ्यो ।

यहाँ हामी हप्ताको सातौँ दिन मात्र विशेष दिन होइन तर सातौँ महिनालाई पनि विशेष महिनाको रूपमा देख्छौँ किनभने त्यस महिनामा ३ चाडहरू र अरू ४ शबाथ दिनहरू पर्दथे ।

शबाथ वर्षहरू

पुरानो समयको इस्राएलमा सातौँ दिन विशेष हुन्थ्यो अनि सातौँ महिना पनि विशेष हुन्थ्यो । त्यति मात्र होइन सातौँ वर्ष पनि विशेष हुने गर्थ्यो र त्यसलाई शबाथ वर्ष भनिन्थ्यो । लेवी २५:१–४ मा हामी यसरी पढ्छौँ : परमप्रभुले सीनै पर्वतमा मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई यसो भन्‌: “मैले तिमीहरूलाई दिने देशमा तिमीहरू पुगेपछि भूमिले पनि परमप्रभुको निम्‍ति एउटा शबाथ मनाओस्‌। छ वर्ष आफ्‍नो खेत रोप्‍नू। छ वर्ष आफ्‍ना दाखबारीहरू छिँवल्‍नू, र तिनका फलहरू बटुल्‍नू। तर सातौँ वर्षमा भूमिलाई विशेष शबाथ होस्‌– परमप्रभुको निम्‍ति एउटा शबाथ। सातौँ वर्षमा तिमीहरूले खेत नरोप्‍नू, दाखबारी नछिँवल्‍नू ।”

पुरुष, महिला, मालिक, नोकर र जनावरहरू सबैका निम्ति विश्राम गर्ने दिन शबाथ थियो । सातौँ वर्षमा चाहिँ खेतीपाती गर्ने जमिनलाई पनि विश्राम गर्न दिइन्थ्यो ।

२४ घण्टामा किन मानिसले ८ घण्टा सुत्‍न आवश्यक छ ? ती ८ घण्टाहरूमा मानिसको शरीरभित्र के–के हुन्छ ? वैज्ञानिकहरूले अझै पनि त्यस प्रश्‍नको स्पष्ट उत्तर दिन सक्दैनन् । हामीलाई खाना किन आवश्यक छ भनेर हामी बुझ्छौँ तर किन हामीलाई सुत्‍न आवश्यक छ ? सबैले विश्राम लिनुपर्ने गरी परमेश्‍वरले सृष्टिको संरचना बनाउनुभएको छ । उहाँले त्यसलाई फरक किसिमले बनाउन सक्‍नुहुन्थ्यो तर आफ्नो सृष्टिलाई विश्राम लिनुपर्ने ढाँचामा निर्माण गर्ने कुरा उहाँले रोज्नुभयो । महत्वपूर्ण आत्मिक पाठ सिकाउन अनि उक्त कुरा प्रदर्शन गर्नको निम्ति उहाँले त्यसो गर्नुभयो ।

जुबलीहरू (पुनर्स्थापनाहरू)

अब हामी यस लेखको मुख्य भागमा प्रवेश गर्दैछौँ । लेवी २५:८–५५ मा पुनर्स्थापनाको वर्षहरूको बारेमा व्याख्या गरिएको छ । त्यसमध्ये केही पदहरूले यसो भन्दछ: “तिमीहरूले आफ्‍नो लागि सात शबाथका वर्षहरू, अर्थात्‌ सात गुणा सात वर्ष गन्‍नू। तब सात शबाथका वर्ष, अर्थात्‌ उनन्‍चास वर्ष हुनेछ। अनि सातौँ महिनाको दशौँ दिन चर्को बज्‍ने तुरही बजाउन लगाउनू। प्रायश्‍चितको दिनमा तिमीहरूको देशभरि त्‍यो तुरही बजाउन लगाउनू। पचासौँ वर्षलाई पवित्र मान्‍नू, र सारा देशका बासिन्‍दाहरूलाई स्‍वतन्‍त्रताको घोषणा गर्नू। त्‍यो तिमीहरूका लागि पुनर्स्‍थापनको वर्ष होस्‌, र हरेक मानिस आफ्‍नो जग्‍गाजमिन र आफ्‍नो परिवारमा फर्कोस्‌। त्‍यो पचासौँ वर्ष तिमीहरूको निम्‍ति पुनर्स्‍थापनको वर्ष हुनेछ। त्‍यो वर्ष तिमीहरूले केही नरोप्‍नू, अनि आफै उम्रेका अन्‍नबालीहरूको कटनी नगर्नू, नछिँवलेका लहराहरूबाट दाखहरू जम्‍मा नगर्नू। किनभने यो पुनर्स्‍थापनको वर्ष हो। त्‍यो तिमीहरूका लागि पवित्र होस्‌। खेतमा आफै उम्रेको उब्‍जनी तिमीहरूले त्‍यस वर्ष खानेछौ। त्‍यस पुनर्स्‍थापनको वर्षमा हरेक मानिस आफ्‍नो जग्‍गाजमिनमा फर्कोस्‌।”

पेन्तिकोसको दिनजस्तै पुनर्स्थापनाको वर्ष पनि शबाथहरूका शबाथ हो । यो विशेष वर्षहरूमध्ये विशेष वर्ष हो । प्रायश्‍चितको महान् दिन यसको परमउत्कर्ष अथवा उच्च बिन्दु हो । जीवनमा एकचोटि आउने उक्त महत्वपूर्ण दिनमा के–के हुन्थ्यो त ? त्यसबेला सारा इस्राएलभरि तुरहीहरू फुकिन्थे र दुई वटा अचम्मलाग्दा कुराहरू हुन्थे ।

जबसम्म हामी उक्त कुराको ऐतिहासिक पृष्ठभूमि बुझ्दैनौँ, तबसम्म त्यसको पूर्ण प्रभावलाई बुझ्न सक्दैनौँ । मिश्रदेशबाट प्रस्थान गर्नुभन्दा ८० वर्ष अघिसम्म इस्राएलीहरूले स्वतन्त्रता र सम्पत्तिबिना त्यस ठाउँमा दासत्वको जीवन जिइरहेका थिए । कनान देशमा पुगेपछि यहोशूले तिनीहरूका जाति र घरानाअनुसार भूभि विभाजन गरिदिए र तिनीहरूले आफ्नो उत्तराधिकार प्राप्त गरे । तिनीहरूमध्ये सबैभन्दा पाको उमेरको पुरुष उक्त भूमिको मालिक हुन्थ्यो । त्यो भूमि तिनीहरूको स्थायी सम्पत्ति हुन्थ्यो, जुन त्यो घरानाले कहिले पनि गुमाउनु पर्दैनथ्यो । यदि कुनै मानिस गरिब भयो भने उसले त्यो भूमिको केही भाग अथवा सबै बेच्न सक्थ्यो तर त्यो अस्थायीरूपमा मात्र लागु हुन्थ्यो । पुनर्स्थापनाको वर्षमा त्यो भूमि उक्त व्यक्ति अथवा उसको सन्तानहरूमा फर्केर आउँथ्यो । यदि कुनै व्यक्ति अति गरिब भएर आफ्नो ऋण चुक्ता गर्न सकेन भने त्यसको निम्ति उसले आफैलाई दास हुनको निम्ति मालिकलाई बेच्न सक्थ्यो । यहाँ फेरि हामीले बुझ्नुपर्ने कुरा के हो भने त्यो दासत्व पनि सधैँको निम्ति नभएर केही निश्‍चित समयको लागि मात्र लागु हुन्थ्यो । पुनर्स्थापनाको वर्षमा पश्‍चातापको महान् दिन आएपछि त्यो व्यक्ति स्वतन्त्र हुन्थ्यो र उसले आफ्नो सबै सम्पत्ति फिर्ता पाउँथ्यो ।

त्यो साँच्चै अति सुन्दर व्यवस्था थियो ! अहिले संसारका गरिब मुलुकहरूका भूमिहीन कमारा-कमारीहरू यस्तो नियम भएको ठाउँमा बस्‍न पाए कति खुसी हुन्थे होलान् ! करिब एक दशकअघि नेपाल सरकारले अरूको घरमा कमारा-कमारी भएर बसेका पश्‍चिमी नेपालका धेरै मानिसहरूलाई स्वतन्त्रता दिलायो तर अफसोसको कुरा स्वतन्त्र भएपछि तिनीहरूको अवस्था झन् खराब हुँदैगयो किनभने खानेकुरा उब्जाउन तिनीहरूको कुनै जमिन थिएन , रुपैयाँ-पैसा कमाउन रोजगारीको व्यवस्था पनि थिएन र जिबिका चलाउने आधारभूत कुराहरू पनि थिएन । तर परमेश्‍वरले दिनुभएको व्यवस्थाअनुसार जब इस्राएलका दासहरू स्वतन्त्र हुन्थे, तिनीहरूले भूमि प्राप्त गर्थे ताकि त्यहाँ काम गरेर तिनीहरूले आफ्नो परिवारको लागि खानेकुरा उब्जाउन सक्थे ।

शबाथहरू, चाडहरू, शबाथ वर्षहरू र पुनर्स्थापनाको वर्षहरू परमेश्‍वरले पुरानो करारका इस्राएलको निम्ति दिनुभएको व्यवस्थाहरू थिए, र ती कुराहरू पढ्न अनि अध्ययन गर्न गाह्रो छैन । तर हामी त्योभन्दा अघि बढेर त्यसको अर्थ खोज्नु पर्छ । ती पुनर्स्थापनासम्बन्धी ऐतिहासिक व्यवस्थाहरूको महत्व के हो भनी हामीले प्रश्‍न गर्नुपर्छ र आजभन्दा करिब ३५०० वर्षअघि घोषणा गरिएका ती व्यवस्थाहरूले अहिले हामीलाई के आत्मिक अर्थ दिन्छ भनी पत्ता लगाउनु पर्छ ।

मोशाको समयपछि इस्राएलीहरूले कति लामो समयसम्म पुनर्स्थापनाको वर्ष पालना गरे भन्ने कुरा इतिहासमा उल्लेख गरिएको छैन । बाइबलमा हेर्ने हो भने गन्तीको पुस्तकभन्दा पछि त्यसको चर्चा गरिएको पाइँदैन । तैपनि बाइबलको कालक्रम अध्ययन गर्ने हो भने परमेश्‍वरले विशेष पुनर्स्थापनाको वर्षहरू मनाउनुभएको अनि त्यसबेला महत्वपूर्ण घटनाहरू घटाउनुभएको तथ्य प्रकट हुन्छ तर यो कुरा इस्राएलका मानिसहरूलाई थाहा छैन । बाइबलको इतिहासलाई हेर्ने हो भने पाँच वटा अति महत्वपूर्ण घटनाहरू ठ्याक्कै पुनर्स्थापनाको वर्षहरूमा परेको देखिन्छ । (मैले Bible Chronology भन्ने लेखमा बाइबलका घटनाहरूको समय तालिका र त्यसको कालक्रमबारे चर्चा गरेको छु । त्यसैले फेरि त्यसलाई यहाँ दोहोर्‍याइरहन म उचित ठान्दिनँ ।)

अब हामी ती पाँच महान् पुनर्स्थापना वर्षका घटनाहरूलाई हेर्नेछौँ अनि स्वतन्त्रता र उत्तराधिकारको पुनर्स्थापना, यी दुई मुख्य कुराहरू कसरी पूरा भए भनी हेर्नेछौँ ।

बिगतका पुनर्स्थापना वर्षहरू

निस्तार चाडको ७ हप्तापछि पेन्तिकोसको दिन आउँथ्यो भन्ने कुरा मैले बताइसकेको छु । त्यो दिन निस्तार चाडको पचासौँ दिनमा पर्थ्यो । त्यस्तै गरी ७ वटा शबाथ वर्षहरूपछि अर्थात् ४९ वर्षपछि पुनर्स्थापनाको वर्ष आउँथ्यो । त्यो ४९औँ वर्षको प्रायश्‍चितको दिनमा सुरु हुन्थ्यो र ५०औँ वर्षको प्रायश्‍चितको दिनमा अन्त हुन्थ्यो । परमेश्‍वरले ४९ वर्षलाई ५० भनी गन्नु भयो । त्यसैगरी उहाँले ४९० वर्षलाई ५०० अनि १९६० लाई २००० भनी गन्नुहुन्छ ।

अब्राहामको जन्म

परमेश्‍वरले ठहराउनुभएको उल्लेखनीय पहिलो पुनर्स्थापना भनेको अब्राहामको जन्म हो (जुन कुरा प्राय: मानिसहरूलाई थाहा छैन) । आदमको समयदेखि हिसाब गर्ने हो भने अब्राहामको जन्म २००० वर्षमा अर्थात् ४० पुनर्स्थापना वर्षहरूमा पर्दछ ।

विगतमा घटेको साधारण अनि महत्वहीन घटनाले भविष्यमा कस्तो महत्व राख्‍नेछ भन्ने विषयमा हामी बढाइ–चढाइ गरी भन्‍न सक्दैनौँ । अब्राहामको जन्म सारा सृष्टिको लागि परमेश्‍वरको छुटकारा दिने उद्देश्यको (योजनाको) सुरुवात थियो । अब्राहामबिना इस्राएलको अस्तित्व हुने थिएन अनि त्यसैगरी तिनीबिना मोशा, व्यवस्था, मिश्रदेश अथवा बेबिलोनबाट प्रस्थान पनि हुने थिएन । साँच्चै भन्ने हो भने अब्राहाम नभएको भए येशू पनि हुनुहुने थिएन । त्यसकारण अब्राहामलाई परमेश्‍वरको नयाँ सुरुवात भन्न सकिन्छ ।

कल्दीहरू बस्‍ने बेबिलोनको ऊर भन्ने ठाउँमा अब्राहामको जन्म भएको थियो । त्यो भ्रष्ट ठाउँ भएकोले परमेश्‍वरले पहिले तिनलाई त्यहाँबाट बाहिर निकाल्न बोलावट दिनुभयो । परमेश्‍वरले अब्राहामलाई भन्नुभएको पहिलो शब्दहरू यस्ता थिए: “तेरो देश र तेरा कुटुम्‍ब तथा तेरा पिताका घरबाट निस्‍केर जुन देश म तँलाई देखाउँछु त्‍यहाँ जा।”

यहाँ हामीले पुनर्स्थापनाको बिउ भेट्टाउँछौँ । परमेश्‍वरले आज्ञा दिनुभएपछि अब्राहामले बेबिलोन भन्ने ठाउँ छोडे (त्यही ठाउँमा पछि यहूदीहरू बन्धनमा परे), अनि परमेश्‍वरले उत्तराधिकारी बनाउन खोज्नुभएको देशतिर तिनी गए । अब हामी यहाँ दुई मुख्य विषयहरू हेर्नेछौँ – दासत्वबाट स्वतन्त्र र उत्तराधिकारको सम्पत्ति । यी दुई कुराहरू दोहोरिएर भविष्यमा भएका महान् पुनर्स्थापनाहरूलाई हेरौँ ।

प्रस्थान

हामीलाई छक्क पार्ने कुरा के हो भने प्रस्थानको समय आदमदेखि ठ्याक्कै ५०औँ पुनर्स्थापनामा परेको थियो । शबाथहरूको शबाथ भएको कारणले गर्दा पुनर्स्थापनाको वर्ष विशेष वर्ष हो । अब ५०औँ पुनर्स्थापनाचाहिँ के हो त ? यसलाई हामी पुनर्स्थापनाहरूको पुनर्स्थापना अथवा शबाथहरूको शबाथहरूको शबाथहरूको शबाथ भन्नसक्छौँ । गणितीय भाषामा यसलाई (शबाथ)४ भनिन्छ । आदमदेखि २५०० वर्षपछि अर्थात् पुनर्स्थापनाहरूको पुनर्स्थापनामा के भयो त ? त्यो त्यही समय हो, जुनबेला इस्राएलीहरू मिश्रदेशबाट निस्केर आएका थिए ! वास्तवमा भन्ने हो भने त्यो अचम्मको शबाथ थियो किनभने त्यसबेला इस्राएलीहरूले मिश्रदेशको कडा परिश्रमबाट विश्राम गर्न पाएका थिए । त्यसको साथै त्यतिबेला पुनर्स्थापनासम्बन्धी बाइबलको व्यवस्थाले अन्तिम अनि महत्वपूर्ण पूर्णता पायो । त्यसबेला पुनर्स्थापनाको वर्षमा हुने दुई ठूला कुराहरू अचम्म रीतिले पूरा भए । उक्त प्रस्थान संसारका दासहरूलाई स्वतन्त्र गरिएको अति नै ठूलो घटना थियो र त्यो कनानको भूमि त्यसको आधिकारिक मालिकहरूलाई फिर्ता गर्ने प्रक्रियाको सुरुवात पनि थियो । परमेश्‍वरले कनानको भूमि अब्राहाम र तिनका सन्तानहरूलाई दिने प्रतिज्ञा गर्नुभएको थियो । त्यसकारण मिश्रबाट स्वतन्त्र भएपछि इस्राएलीहरूलाई कनानमा गई आफ्नो उत्तराधिकारलाई दाबी गर्ने मार्ग खुल्ला भयो ।

मिश्रबाट प्रस्थान गरेको ५० दिनपछि अर्थात् पेन्तिकोसको दिनमा इस्राएलीहरू सिनै पर्वतमा आइपुगे । प्रस्थान १९:१६ मा हामी यसरी पढ्छौँ: “तेस्रो दिन जब बिहान भयो तब पर्वतमा गड़्याङगुडुरुङ भयो र बिजुली चम्‍क्‍यो र बाक्‍लो बादल पर्वतमा उठ्यो र तुरहीको अति चर्को आवाज सुनियो। छाउनीमा भएका सबै जनहरू थरथर कामे।”

त्यो अचम्मको प्राकृतिक घटना अरू केही नभई पुनर्स्थापनाको वर्षमा फुकिने तुरहीको आवाज थियो !

अब यस विषयमा म के भन्‍न चाहन्छु भने मानव इतिहासमा दासहरू छुटकारा भएको त्यो महान् घटना थियो र त्यो साँचो हो भनेर प्रकृतिले बताएको थियो । तर पछि यस्तो दिन आयो जब येशूको रूप परिवर्तन भएको बेला मोशा र एलिया पहाडमा देखा परी उक्त प्रस्थानको बारेमा कुरा गरे (यो शाब्दिक अनुवाद हो), जुन कुरा चाँडै नै यरूशलेममा पूरा हुन गइरहेको थियो (लूका ९:३१) । मोशाले इस्राएलीहरूलाई अगुवाइ गरी मिश्रदेशबाट प्रस्थान गरेको घटना भौतिक दासत्वको छुटकारा थियो भने येशूले अगुवाइ गर्नुभएको प्रस्थानचाहिँ पाप र शैतानको दासत्वको आत्मिक छुटकारा थियो। येशूले गर्नुभएको काम उक्त पुरानो ऐतिहासिक घटनाभन्दा ठूलो, फराकिलो र टाढासम्म फैलिने खालको थियो । मानिसलाई भयानक अनि डरलाग्दो दासत्वबाट छुटकारा दिन महान् प्रस्थानको अगुवाइ गर्नुभएको हुनाले यशूलाई यहाँ महान् मोशाको रूपमा देख्दछौँ ।

सलोमनको मन्दिरको समर्पण

प्रस्थानको ५०० वर्षपछि इस्राएलको राष्ट्रिय इतिहास उच्च बिन्दुमा आइपुग्यो । उक्त ५०० वर्षहरूमा मोशाको नेतृत्वमा इस्राएलीहरू मरुभूमिमा यताउत भौंतारिए र अन्तमा यहोशूको नेतृत्वमा तिनीहरू कनानमाथि विजयी भई त्यहाँ प्रवेश गरे । केही शतब्दीसम्म तिनीहरू न्यायकर्ताहरूका अधिनमा रहे र त्यसपछि तिनीहरूले तीन जना महान् राजाहरू पाए । राजा शाऊलले तिनीहरूका सबैभन्दा शक्तिशाली सत्रु अमालेकीहरूलाई पराजित बनाए । शाऊलले स्थापित गरेका जगमाथि टेकेर राजा दाऊदले अझ अघि बढ्दै अरू विजयहरू प्राप्त गरे । दाऊदले गरेका विजयका फलहरूमाथि सलोमग आनन्दित भए अनि तिनले थुप्रै धन–सम्पत्ति जम्मा गरी महान् भवन बनाउने काममा ध्यान दिए ।

सलोमनले मन्दिर अथवा परमेश्‍वरको घर निर्माण गर्ने सुन्दर अवसर पाए । त्यो मन्दिर निर्माणको काम सकेर परमेश्‍वरमा समर्पण गर्ने समारोह कति महान् अनि कति सुन्दर थियो होला ! त्यो उपलक्ष्य छाप्रोवासको चाडको समयमा परेको थियो। आदमदेखि हिसाब गर्दा त्यो ६०औँ पुनर्स्थापनाको वर्षमा परेको थियो (तर त्यो सलोमनलाई थाहा थिएन) । उक्त विशेष उपलक्ष्यमा पवित्र आत्मा ठूलो शक्तिमा तल ओर्लिआउनुभयो र परमेश्‍वरको महिमाको उपस्थितिले गर्दा पूजाहारीहरूले त्यहाँ सेवा गर्न सकेनन् (१ राजा ८:११) ।

इतिहासलाई हेर्ने हो भने प्रस्थानको समयमा सुरु भएको सबै कुराको पूर्णता त्यही घडी थियो । त्यसबेला इस्राएलीहरूले केही समयसम्म पूर्णरूपमा स्वतन्त्र भई आफ्नै भूमिमा बसोवास गरे । त्यो अवस्था लामो समयसम्म रहन सकेन किनभने तिनीहरूले तुरुन्तै त्यस भूमि गुमाउनु पर्‍यो र बीसौँ शताब्दीमा आएर मात्र तिनीहरूले फेरि आफ्नो पहिचान फिर्ता पाई इस्राएल राष्ट्रलाई पुनर्स्थापित गराए । तिनीहरूको इतिहासलाई केलाउने हो भने त्योभन्दा अघि तिनीहरूले मिश्रीहरू, कनानीहरू, मिद्यानीहरू र पलिस्तीहरूबाट धेरै अत्याचार सहनुपर्‍यो । त्यसपछि तिनीहरूले सिरियालीहरू, अस्सूरीहरू, बेबिलोनीहरू, फारसीहरू, ग्रीकहरू र अन्तमा रोमीहरूबाट धेरै दुःख–कष्ट भोग्‍नुपर्‍यो (बीसौँ शताब्दीमा हिटलरले करीब ६०,००,००० यहूदीहरूलाई एउटै चिहानमा मारे) । तर यहाँ स्मरणीय कुरा के छ भने दाऊद र सलोमन राजाको शासनकालमा चाहिँ छोटो अवधिको लागि भए पनि तिनीहरू पूर्णरूपमा स्वतन्त्र थिए । उक्त समयमा परमेश्‍वरले तिनीहरूलाई सबै सत्रुहरूबाट छुटकारा दिनुभएर केही समय विश्राम गर्न दिनुभयो र त्यसबेला तिनीहरू धन–सम्पत्ति र उत्तराधिकार पाएर पूर्णरूपमा आनन्दित भएका थिए ।

बेबिलोनबाट फिर्ता

त्यसपछिको ५०० वर्षसम्म इस्राएलको पतन भयो र इस्राएलीहरूले फेरि दुःखका दिनहरू सहनुपर्‍यो । अनि त्यसको अन्तमा विश्‍वासै गर्न नसकिने घटना घट्यो । कहिल्यै झूटो नबोल्नुहुने परमेश्‍वरले अब्राहामलाई इस्राएलको भूमि सधैँको निम्ति दिनेछु भनी दुईपटक प्रतिज्ञा गर्नुभएको थियो (उत्पत्ति १७:९ र ४८:४) । त्यो प्रतिज्ञा अचम्म प्रकारले पूरा भयो । बिदेशी भूमिको लामो दासत्वबाट मुक्त भएका इस्राएलीहरू आफ्नै राज्यमा शक्तिशाली अनि स्वतन्त्र भई जिइरहेका बेलामा फेरि तिनीहरू बिदेशीहरूको बन्धनमा परे । त्यसबेला परमेश्‍वरको प्रतिज्ञा के भएको थियो त?

उक्त बन्धनचाहिँ तिनीहरूले मिश्रदेशमा बिताएको समयभन्दा निकै फरक थियो । पापको परिणामस्वरूप तिनीहरूले त्यो न्याय भोग्‍नुपरेको थियो । विशेष गरी परमेश्‍वरका जनहरूले अरू देवीदेवताहरूको आराधना गरेको कारण त्यो न्याय आइपरेको थियो । त्यो इस्राएलीहरूले गरेका धार्मिक पापको न्याय थियो ।

धर्मशास्त्रमा बेबिलोनले मानवनिर्मित धर्मको चित्रण गर्छ । परमेश्‍वरका साँचो जनहरूलाई मानव-निर्मित, मानव-केन्द्रित अनि मानव-नियन्त्रित धर्मले शताब्दिऔँसम्म बन्धनमा राख्यो ।

दानिएल र नहेम्याहले उपवास बसी आफ्नो अनि आफ्ना मानिसहरूका पापहरू रुँदै स्वीकार (पश्‍चाताप) गरे र त्यसको परिणामस्वरूप परमेश्‍वरले तिनीहरूलाई छुटकारा दिन मञ्जुर गर्नुभयो । फारसका राजा कोरेसले यहूदीहरू यरूशलेममा फर्केर गई मन्दिर पुनर्निर्माण गरून् भन्ने उर्दी जाहेर गरे (एज्रा १:१–५) । आदमदेखि हिसाब गर्ने हो भने उक्त उर्दी निकालिएको समय ७०औँ पुनर्स्थापनामा परेको थियो । यहाँ फेरि एकपटक पुनर्स्थापनाको मूल्य-मान्यता पूरा भएको देख्दछौँ । त्यसपछि बन्धनमा परेका इस्राएलीहरू स्वतन्त्र भए र तिनीहरूले आफ्नो उत्तराधिकार फिर्ता पाए ।

बेबिलोनको बन्धनबाट छुटकारा पाएको घटनाले शाब्दिकरूपमा आत्मिकी बेबिलोनको छुटकाराभन्दा अति ठूलो कुरालाई चित्रण गर्छ । (मैले यस विषयमा बेबिलोन भन्ने छुट्टै लेख लेखेको छु ।)

येशूको मृत्यु र पुनरुत्थान

यहूदीहरू बेबिलोनको कब्जाबाट फिर्ता भएको ४९० (यसलाई ५०० मानौँ) वर्षपछि नयाँ करारको समय आयो । यस समयअवधिको बारेमा दानिएलको भविष्यवाणीमा स्पष्ट चर्चा गरिएको छ: “तिम्रो जाति र तिम्रो पवित्र सहरको निम्‍ति अपराध खतम पार्न, पाप समाप्‍त गर्न, दुष्‍टताको लागि प्रायश्‍चित गर्न, अनन्‍त धार्मिकता ल्‍याउन, दर्शन र अगमवाणीलाई मोहोर लगाएर बन्‍द गर्न र महापवित्रस्‍थानलाई अभिषेक गर्न सत्तरी “सातहरू”* को आदेश तोकिएको छ” (दानिएल ९:२४) ।

यो भविष्यवाणी पूरा हुनको निम्ति के घटना घट्यो त ? यसको निम्ति इतिहासमा घटेका सबै घटनाहरूभन्दा महान् घटना घट्यो – येशू ख्रीष्टको मृत्यु अनि पुनरुत्थान ! आदमदेखि हिसाब गर्दैआउने हो भने त्यो घटना झण्डै ८०औँ पुनर्स्थापनामा पर्छ । बाइबलीय दृष्टिकोणले हेर्ने हो भने सङ्ख्या ८ र त्यसको गुणात्मक सङ्ख्याहरू विशेष गरी येशू र उहाँका पुनरुत्थानसँग सम्बन्धित छन् ।

प्रस्थानको दिनमा परमेश्‍वरका सन्तानहरू मिश्रदेशबाट स्वतन्त्र भएका थिए । ७० वर्षपछि बेबिलोनको बन्धनमा परेका यहूदीहरू स्वतन्त्र भए । पुनरुत्थानको दिनमा येशू मृत्युबाट स्वतन्त्र हुनुभयो । मत्ती २७:५२–५३ मा यसरी लेखिएको छ: “चिहानहरू उघारिए, र सुतिगएका धेरै सन्‍तहरूका मृत शरीर जीवित भई उठे, र तिनीहरू चिहानहरूबाट निस्‍के, र मृतकबाट येशूको पुनरुत्‍थान भएपछि तिनीहरू पवित्र सहरमा प्रवेश गरे र धेरैकहाँ देखा परे। ”

त्यो कुरा अघिल्ला सबै पुनर्स्थापनाहरूमध्ये अति उच्च र श्रेष्ठ अभिव्यक्ति (प्रकटीकरण) थियो । त्यसबेला स्वयम् येशू आखिरी बन्धनबाट स्वतन्त्र हुनुभएको थियो । पुनरुत्थानद्वारा उहाँ मृत्युमाथि विजयी हुनुभयो र सारा सृष्टिको निम्ति उहाँले छुटकाराको मार्ग खोलिदिनुभयो ।

पुनर्स्थापनाको वर्षको स्पष्ट सङ्केत गर्दै येशूले आफ्नो सेवकाइ सुरु गर्नुभयो । नासरतको सभाघरमा उहाँले यशैयाको पुस्तकबाट यी शब्दहरू पढ्नुभयो: “परमप्रभुका आत्‍मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्‍ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र अन्‍धाहरूलाई दृष्‍टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्‍वतन्‍त्र गराउनका निम्‍ति, र परमप्रभुका प्रसन्‍नताको वर्ष घोषणा गर्नका निम्‍ति उहाँले मलाई पठाउनुभएको छ” (यशैया ६१:१–२ र लूका ४:१८–१९) । बन्धनमा परेकाहरूलाई स्वतन्त्रता दिने अनि अत्याचारमा परेकाहरूलाई छुटकारा दिने र परमप्रभुको प्रसन्नताको वर्ष घोषणा गर्ने कुराहरू येशूले भन्नुभयो । उहाँले घोषणा गर्नुभएको वर्षको अर्थ पुनर्स्थापनाको वर्षबाहेक अरू के हुनसक्छ ? यस्तो कुरा घोषणा गर्नुभएपछि उहाँ पाप, रोग र शैतानको बन्धनमा परेका थुप्रै मानिसहरूलाई छुटकारा दिन जानुभयो । स्वयम् उहाँ मृत्युको साङ्लाबाट मुक्त हुनुभएपछि ती सबै कुरा चरमसीमामा (उत्कर्षमा) पुग्यो । त्यो घटनाको ५० दिनपछि पेन्तिकोसको महिमित दिनमा उहाँका अनुयायीहरू सबै किसिमका डरबाट मुक्त भए । त्यसपछि उहाँका चेलाहरू संसारका सबैतिर गएर बन्धनमा परेकाहरूलाई छुटकारा दिँदै उक्त स्वतन्त्रताको बारेमा घोषणा गर्न थाले । तिनीहरू जहाँ–जहाँ गए, त्यहाँ-त्यहाँ स्वर्गीय उक्तराधिकारको बारेमा पनि प्रचार गर्न थाले ।

इस पुस्तक मुद्रण के लिए रंगिन [Colour] फ़ाइल

इस पुस्तक मुद्रण के लिए श्‍याम-स्‍वेत [Black & White] फ़ाइल