इसाई धर्म र इस्लाम धर्ममा

हिंसा

अनि

येशू र मोहमदको

भिन्‍नताहरू

परिचय

दु:खलाग्दो कुरा के हो भने, विगतको २००० वर्षभरि इसाई हुँ भन्‍ने थोरै मानिसहरूले मात्र येशू ख्रीष्टलाई साँचोरूपमा पछ्याएका छन्; नत्रता अहिले यो संसार निकै फरक स्थान हुने थियो।

खुसीको कुरा के हो भने, विगतको १४०० वर्षभरि मुसालमान हुँ भन्‍ने थोरै मानिसहरूले मात्र मोहमदलाई साँचोरूपमा पछ्याएका छन्; नत्रता अहिले यो संसार निकै फरक स्थान हुने थियो।

यो लेखमा म यही भनाइहरूलाई व्याख्या गर्नेछु।

के सबै धर्महरू लगभग उस्तै हुन्? धेरै मानिसहरूले यसरी नै विचार गर्ने गर्छन्। पहिलो दृष्टिमा इसाई धर्म र इस्लाम धर्म उस्तै देखिन्छन्। (इसाई अनि मुसलमान हुँ भनी दाबी गर्ने व्यक्तिहरूको लागि म यहाँ यी दुई शब्दहरूलाई फराकिलो अर्थमा प्रयोग गर्दैछु)। बाहिरबाट हेर्दा ती दुवैको नैतिक मूल्य-मान्यताहरू उस्तै देखिन्छन्। ती दुवै धर्महरूले संसारलाई अधिन गर्ने (शासन गर्ने) लक्ष्य राख्छन्। ती दुवै धर्महरूमा हिंसात्मक समयहरू थिए। मोहमदको नाउँमा गरिने आधुनिक आतङ्कवादको बारेमा अहिले हरेक व्यक्तिलाई थाहा छ। इसाई धर्मको इतिहासले क्रुसेडहरू (Crusades), इन्क्‍वीजिसन (Inquisition) र हलोकास्ट (Holocaust) जस्ता हिंसात्मक कुराहरूलाई समेट्छ, जसको बारेमा म पछि कुरा गर्नेछु। हिन्दु र बौद्ध धर्मको तुलनामा इसाई र इस्लाम धर्मका अनुयायीहरूको सङ्ख्या निकै धेरै छ र तिनीहरूले एक-अर्कालाई आफ्नो प्रतिद्वन्द्वी ठान्छन्। हालसालैको तथ्याङ्कअनुसार संसारमा अहिले करिब दुई अरब तीस करोड इसाईहरू छन् भने मुसलमानहरूको सङ्ख्याचाहिँ एक अरब साठी करोड छ (फेरि म यहाँ यी दुई शब्दहरूलाई फराकिलो अर्थमा भन्दैछु)।

ती दुई अरब तीस करोड इसाईहरूमध्ये कति जनाले येशूलाई साँचोरूपमा पछ्याउँछन् होला? अनि एक अरब साठी करोड मुसलमानहरूमध्ये कति जनाले महोमदलाई साँचोरूपमा पछ्याउँछन् होला?

के ती इसाईहरूले बाइबलको शिक्षाहरूलाई विश्‍वासयोग्यरूपमा पछ्याउँछन् त? के ती मुसलमानहरूले कुरानको शिक्षाहरूलाई विश्‍वासयोग्यरूपमा पछ्याउँछन् त?

यी प्रश्‍नहरूको उत्तर दिनको लागि म यी दुई धर्महरूका चार वटा पक्षहरूलाई तुलना गर्नेछु:

आधुनिक अभिव्यक्ति

इसाई र इस्लाम धर्म दुवैको आधुनिक अभिव्यक्तिहरूमा थुप्रै भिन्‍तनाहरू छन्।

अहिले सयौँ-हजारौँ सम्प्रदायहरूले इसाई हुँ भनी दाबी गर्छन्, र तीमध्ये केहीले, जस्तै: मर्मनहरू र यहोवाको साक्षीहरूले सत्य आफूसँग मात्र छ भनी एकलौटीरूपमा दाबी गर्छन्।

इस्लाम धर्ममा हाँगा-बिँगाहरू निकै थोरै छन्। त्यसमा मुख्य दुई समूहहरू छन्- सुन्‍नी (Sunni) समूहमा करिव ८५% मुसलमानहरू पर्दछन् भने शिया (Shia) समूहमा चाहिँ १५% पर्दछन्। सुफी (Sufi), अहमादिस (Ahmadis) र अलाबाइटस् (Alawites) जस्ता समूहहरूमा पर्ने मुसलमानहरूको सङ्ख्या निकै थोरै छ।

हिंसाको प्रयोग गरेर आफ्‍नो विश्‍वासलाई फैलाउनुपर्छ भनी अल्पसङ्ख्यामा पर्ने थोरै मुसलमानहरूमा विश्‍वास गर्दछन्, तर विश्‍वव्यापीरूपमा विनाश र विध्‍वंस मच्‍चाउन ती अल्पसङ्ख्याका व्यक्तिहरू पर्याप्‍त छन्। एक अरब साठी करोडको १% एक करोड साठी लाख हुन्छ! The Religion of Peace भन्‍ने वेवसाइटको अभिलेखअनुसार संसारमा मुसलमानहरूले हरेक दिन ४-५ वटा नृशंसतापूर्ण घटनाहरू घटाउँछन्। त्यस्ता घोर दुष्टतापूर्ण नृशंसतापूर्ण घटनाहरू मुसलमान देशहरूमा मात्र होइन इसाई मुलुकहरूमा पनि हुने गर्दछन्।

केहि अफ्रिकी मुलुकहरूमा इसाई मिलेसियाहरूको अस्तित्व छ; जस्तै: सेन्ट्रल अफ्रिकन रिपब्लिक, नाइजेरिया, युगाण्डा, सिरिया र इराक आदि। प्राय: ती समूहहरू मुसलमानहरूको विरुद्धमा आफूलाई सुरक्षा गर्नको निम्ति अस्तित्वमा रहेका छन् भन्‍ने गरिन्छ।

इसाई हुँ भनी दाबी गर्नेहरू पनि हिंसाका केही क्रियाकलापहरूप्रति जिम्मेवार छन्, तर त्यो मुसलमानहरूले गरेजस्तो होइन। (Christian Terrorism भन्‍ने वेवसाइटले इसाईहरूद्वारा हुने आतङ्कवादका घटनाहरूलाई प्रस्तुत गरेको छ, र त्यसले ऐतिहासिक र समकालिन दुवै खालका आतङ्कवादलाई समेट्छ।)

के त्यस्ता हिंसात्मक क्रियाकलापहरू गर्ने मुसलमानहरू र इसाईहरू आफ्नो-आफ्नो धर्मअनुसार साँचो ठहर्छन्? तिनीहरूको इतिहास, तिनीहरूको पवित्र पुस्तकहरू र तिनीहरूको संस्थापकहरूका प्रकाशद्वारा हामी यो प्रश्‍नको उत्तर पत्ता लगाउनेछौँ।

इतिहास

यी दुई धर्मका इतिहासको थुप्रै खण्डहरू रगतले भिजेको छ। क्रूसेड (धर्मयुद्ध) र ख्रीष्टको नाउँमा गरिने अरू किसिमका हिंसात्मक घटनाहरूको बारेमा धेरै मानिसहरूले सुनेका छन्। तर इस्लाम धर्मको इतिहासमा भएका हिंसात्मक घटनाहरूबारे चाहिँ थोरै मानिसहरूले मात्र जान्दछन्।

अब हामी यी दुई धर्महरूका केही ऐतिहासिक पक्षहरूलाई केलाउनेछौँ। त्यसको निम्ति हामीले इसाई धर्मको इतिहासलाई अघिल्लो भाग र पछिल्लो भाग गरी दुई भागमा विभाजन गर्नैपर्छ।

इसाई धर्मको पछिल्लो भागको इतिहास

इसाई धर्मको पछिल्लो भागको इतिहासले छक्‍कै पार्ने हिंसात्मक घटनाहरूलाई समेट्छ। तीमध्ये सबैभन्दा खराब कुरा इन्क्‍वीजिसन (Inquisition) हो। इन्क्‍वीजिसन भनेको रोमन क्याथोलिक मण्डलीअन्तर्गत यस्तो संस्था थियो, जसको उद्देश्य 'झूटा शिक्षा'को विरुद्धमा लड्नु थियो। यहाँ याद गर्नुपर्ने कुरा के छ भने, त्यतिबेला झूटा शिक्षा भन्‍नाले रोमन क्याथोलिक मण्डलीको शिक्षासँग सहमत नहुने जुनसुकै शिक्षालाई बुझाउँथ्यो। इन्क्‍वीजिसनको अवधि ७०० वर्षसम्म रह्यो (बाह्रौँ शताब्दीदेखि उन्‍नाइसौँ शताब्दीसम्म) र त्यतिबेला थुप्रै मानिसहरू, मुख्यगरी यहूदीहरू र प्रोटेस्टेण्टहरूलाई यातना दिने अनि मार्ने काम भयो। केही इतिहासकारहरूको भनाइअनुसार त्यतिबेला ५ करोड मानिसहरू मारिएको हुनुपर्छ। अरूहरूले चाहिँ केही हजार मानिसहरू मात्र मारिएका थिए भन्छन्। यस सन्दर्भमा प्रोटेस्टेण्ट र रोमन क्याथोलिक इतिहासकारहरू एक आपसमा असहमत हुनु कुनै अचम्मको कुरा होइन।

क्रुसेडहरू भनेको मुसलमानहरूको विरुद्धमा इसाईहरूले गर्ने सैनिक अभियानहरू थिए। मुसलमानहरूले विजय हासिल गरेको इस्राएललाई तिनीहरूको हातबाट फिर्ता लिन पोपले युरोपका मुलुकहरूलाई त्यहाँ जान आह्वान गरे। तसर्थ बेलायत, फ्रान्स, इटाली र स्पेनका सैनिकहरू इस्राएलमाथि विजय गर्न त्यता गए। जाँदैगर्दा बाटोमा तिनीहरूले ठूलो सङ्ख्यामा यहूदीहरूको हत्या गरे अनि इस्राएलमा पुगेपछि तिनीहरूले थुप्रै मुसलमानहरूलाई मारे। ती सबै काम तिनीहरूले ख्रीष्टको नाउँमा गरे। करिब २०० वर्षको अवधिमा (११औँ शताब्दीदेखि १३औँ शताब्दीसम्म) भएका त्यस्ता युद्धहरूमा १० देखि ३० लाख मानिसहरूको मृत्यु भयो।

हलोकास्टमा केवल इसाई भएको कारणले युरोपमा ६० लाख यहूदीहरू र अन्य धेरै मानिसहरू मारिए; तर इन्क्‍वीजिसन र क्रुसेडहरूमा जस्तो ती हिंसात्मक क्रियाकलापहरू ख्रीष्टको नाउँमा गरिएको थिएन।

केही मानिसहरूले युरेपेली साम्राज्यहरूमा इसाई धर्म फैलिँदै गएको कुरालाई देखाउनेछन्। बेलायत, फ्रान्स, स्पेन, पोर्चुगल र हल्याण्डजस्ता मुलुकहरूका समुद्रपारी फरक-फरक आकारमा आफ्ना-आफ्ना साम्राज्यहरू थिए। ती सबै ठाउँहरू तिनीहरूले शक्ति प्रयोग गरेर विजय हासिल गरेका थिए। प्रोटेस्टेण्ट र क्याथोलिक दुवै खाले मिसेनरीहरूलाई विजय दिलाउन सेनाहरूले साथ दिन्थे। त्यसपछि विजय प्राप्‍त गरेका मुलुकहरूमा तिनीहरूले किसिम-किसिमका इसाई विश्‍वासलाई फैलाए। जेजस्तो गरी तिनीहरूले विजय प्राप्‍त गरे तापनि साँचो इसाई विश्‍वास फैलाउने कुरामाथि चाहिँ तिनीहरूले विजय पाउन सकेनन्। तिनीहरू विजयी भएका मुलुकका मानिसहरू त्यतिबेला आ-आफ्नै धर्म अँगाल्न स्वतन्त्र थिए।

इतिहासलाई हेर्ने हो भने प्रोटेस्टेण्टहरू र क्याथोलिकहरू दुवै इसाईहरू भए तापनि एकले अर्काको विरुद्धमा युद्ध गरेका छन् अनि त्यति मात्र होइन तिनीहरू एक पक्षले अर्को पक्षका मानिसहरूलाई जिउँदै जलाएका छन्।

के त्यस्ता हिंसात्मक विजयहरू बाइबलको शिक्षाअनुसार थिए त? के येशूले आफ्नो सन्देश फैलाउन चेलाहरूलाई त्यसै गर्न हौसला दिनुभएको थियो?

इसाई धर्मको सुरुको इतिहास

सुरुको इसाई इतिहासमा थुप्रै रगत बहाइएको थियो। त्यो रगत अरूको नभएर स्वयम् इसाईहरूकै रगत थियो! येशूका थुप्रै अनुयायीहरूले आफ्नो विश्‍वासलाई आफ्नै रगतले छाप लगाए। नयाँ करारले हामीलाई स्तिफनस र याकूब सहिद भएको कुराहरू बताउँछ। रोमी साम्राज्यको विभिन्‍न स्थानहरू पटक-पटक इसाईहरूमाथि सतावट हुने गर्थ्यो र पछि सम्राट कन्स्टाटिनले इसाई धर्मलाई रोमी साम्राज्यको औपचारिक राष्ट्रिय धर्म घोषणा नगरेसम्म त्यस्ता दु:खदायी घटनाहरू निरन्तर चलिरहे।

त्यतबेलाको इतिहासमा इसाईहरूले अरू धर्मका मानिसहरूलाई मारेको कुनै अभिलेख पाइँदैन। यहाँसम्म कि आत्म-रक्षा गर्न र आफ्नो विश्‍वास फैलाउनको निम्ति शक्ति प्रयोग भएको घटना सुरुको इसाई इतिहासमा कहीँ पनि उल्लेख छैन।

त्यतिबेला प्राय: सबै सुरूका इसाईहरू येशू ख्रीष्टको साँचो अनुयायीहरू थिए।

इस्लाम धर्मको इतिहास

मुसलमानहरूको इतिहास सुरुदेखि नै रगतले भिजिको छ।

मोहमद आफ्ना मानिसहरूलाई लडाइँमा डोर्‍याउने सैनिक कप्‍तान थिए। मृत्यु हुने बेलासम्ममा तिनी अरबी प्रायदीपहरूमाथि विजयी भइसकेका थिए।

त्यसपछिका शताब्दीहरूमा मुसलमानहरूले मध्य-पूर्वको सबै क्षेत्रहरू अनि त्यसैगरी उत्तरी अफ्रिका, स्पेन, पर्सिया र अन्तमा भारत र त्योभन्दा पूर्वका मुलुकहरूमाथि विजय हासिल गर्दैगए। ती ठाउँहरूमा बसोबास गर्ने मानिसहरूसँग तीन वटा विकल्पहरू थिए : (१) इस्लाम धर्म अँगाल्नु, (२) दोस्रो दर्जाको नागरिक भई जिज्या (Jizya) भन्‍ने कर तिर्नु (तर यदि तिनीहरू इसाई अथवा यहूदी भए मात्र त्यो मौका पाउँथे), अथवा (३) मर्नु।

मुसलमानहरूले विजय पाएका मुलुकहरूमा मानिसहरूले पहिलेदेखि मानिआएका इसाई धर्म, हिन्दु धर्म, बौद्ध धर्म र अन्यजातिहरूले मान्‍ने अरू धर्महरू प्राय: पूर्णरूपमा मेटियो। तिनीहरूले विजय हासिल गर्ने क्रममा लाखौँ-करोडौँ मानिसहरू मारिए।

Tears of Jihad भन्‍ने वेवसाइटले इस्लाम धर्म र जिहादको कारणले मर्ने मानिसहरूको तथ्याङ्क दिएको छ:

Middle East Forum भन्‍ने अर्को वेवसाइटले मुसलमानहरूले १२०० वर्षको अवधिमा भारतमा ६० करोड मानिसहरू मारे भनी दाबी गर्दछ।

त्यस किसिमका ऐतिहासिक तथ्याङ्कहरूमध्ये कुन सही र भरपर्दो छ भनी ठोकुवा गर्न सकिँदैन। केही मुसलमानहरूले यस कुरामा विवाद गर्दछन्; तर जेजस्तो भए तापनि त्यस्ता तथ्याङ्कहरूलाई दश भाग गरेर त्यसको एक भागलाई मात्र हेर्ने हो भने पनि त्यो भयङ्कर देखिन्छ।

के ती सबै हिंसा र विजयहरू कुरानको शिक्षाहरूअनुसार नै थिए त? के आफ्नो सन्देश फैलाउनको निम्ति मोहमदले आफ्ना अनुयायीहरूलाई त्यसै गर्न उत्साह दिएका थिए?

पवित्र पुस्तकहरू

के बाइबल र कुरानले हिंसात्मक क्रियाकलाहरू गर्न अनुमति दिन्छ अथवा त्यसो गर्न ती पुस्तकहरूले उत्साह दिन्छन्?

इस्लाम शान्तिको धर्म हो कि हिंसाको धर्म हो? इसाई धर्म शान्तिको धर्म हो कि हिंसाको धर्म हो?

इसाई धर्मको सन्दर्भमा हामीले पुरानो करार र नयाँ करारको भिन्‍नतालाई स्पष्टसँग बुझ्‍नैपर्छ।

पुरानो करार

पुरानो करारमा जातिसंहार (genocide) गर्ने आज्ञाहरू छन् भन्‍ने कुरा सुनेर मानिसहरू छक्‍क पर्न सक्छन्।

यहोशूको अगुवाइमा इस्राएलीहरू कनान देशमा प्रवेश गरेपछि, त्यस ठाउँमा बसोबास गर्ने मानिसहरूलाई नास पार्नू भनी तिनीहरूलाई भनियो: “जब तिमीहरू अधिकार गर्न भनी जान लागेको देशमा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई ल्‍याउनुहुन्‍छ, र तिमीहरूभन्‍दा असङ्ख्‍य र सामर्थी यी सात जाति, हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूलाई तिमीहरूका सामुन्‍नेबाट उहाँले धपाउनुहुन्‍छ, अनि जब परमप्रभु तिमीहरूका परमेश्‍वरले उनीहरूलाई तिमीहरूको अधीनमा पारिदिनुहुन्‍छ र तिमीहरूले उनीहरूलाई परास्‍त गरेका हुन्‍छौ, तब तिमीहरूले उनीहरूलाई सम्‍पूर्ण नाश गर्नू। तिमीहरूले उनीहरूसित सम्‍झौता नगर्नू। उनीहरूलाई नटिठ्याउनू” (व्यवस्था ७:१,२)।

तिनीहरूको इतिहास हेर्दैजाँदा पछि शमूएल अगमवक्ता यस्तो सन्देश लिएर राजा शाऊलकहाँ गए: “अब अमालेकीहरूमाथि जाइलागेर उनीहरूलाई नाश गर्‌, र उनीहरूका सबै धन-सम्‍पत्ति नाश गर्‌, एउटै थोक पनि नछोड्‌, र सबैलाई खतम पार्‌। उनीहरूका पुरुष, स्‍त्री, केटाकेटीहरू, दूध खाने बालकहरू, गाई-गोरु, भेड़ाबाख्रा, ऊँट र गधा सबैलाई नाश गर्‌” (१ शमूएल १५:३)।

यस्ता आज्ञाहरूले अहिलेका आधुनिक कानहरूलाई भयभित पार्छ, तर यहाँ एउटा कुरालाई स्पष्ट पार्नैपर्छ: ती कुराहरू तिनीहरूको इतिहासको कुनै विशेष समयको निम्ति इस्राएलीहरूलाई दिइएको विशेष आज्ञाहरू थिए। त्यतिबेला इस्राएलीहरूलाई हित्ती, गिर्गाशी, एमोरी र पछि गएर अमालेकीजस्ता विशेष जातिहरूलाई नास गर्ने आज्ञा दिइएको थियो। यी कुराहरू सबै समयको निम्ति सबै मानिसहरूलाई दिइएको साधारण आज्ञाहरू होइनन्। अरू मुलुकका मानिसहरूसँग युद्ध गर्नको निम्ति इसाईहरू र यहूदीहरूले यस्ता कुराहरूलाई कहिल्यै प्रयोग गरेनन्।

केही अपराधहरूको निम्ति मृत्यु दण्ड दिनू भनी पुरानो करारले स्पष्ट आज्ञा दिँदछ, तर त्यो न्यायको निम्ति हो र कुनै मानिसको व्यक्तिगत क्रियाकलापको लागि होइन।

नयाँ करार

नयाँ करारमा सबै हिंसालाई येशूले यी शब्दहरूद्वारा रद्द गर्नुभयो: “तिमीहरूले यसो भनेको सुनेका छौ, ‘तिम्रो छिमेकीलाई प्रेम गर, र तिम्रो शत्रुलाई घृणा गर।‘ तर म तिमीहरूलाई भन्‍दछु, आफ्‍ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्‍ति प्रार्थना गर” (मत्ती ५:४३,४४)।

पावलले एफिसीका मानिसहरूलाई उस्तै कुराहरू लेखेका छन्: “दियाबलसका युक्तिहरूका विरुद्धमा खड़ा हुन सक्‍नलाई परमेश्‍वरका सारा हातहतियार धारण गर। किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्‍धकारका सांसारिक शासकहरूका विरुद्ध र स्‍वर्गीय स्‍थानहरूमा भएका दुष्‍ट्याइँका आत्‍मिक सेनाहरूका विरुद्ध हो” (एफिसी ६:११,१२)।

पावलको शिक्षाअनुसार येशू ख्रीष्टका अनुयायीहरूको लडाइँ भनेको शारीरिक होइन तर आत्मिक हो। यो एउटा मात्र यस्तो किसिमको शिक्षा समिटिएको खण्ड होइन, वास्तवमा सम्पूर्ण नयाँ करारको अभिप्राय नै यही हो।

त्यसकारण हामी निश्‍चिन्त भएर भन्‍न सक्छौँ, कि शुद्ध आत्मारक्षा गर्नुभन्दा बाहिरका हिंसात्मक क्रियाकलाप नयाँ करारको शिक्षाहरूको पूर्णरूपमा विरुद्ध हुन्छ।

क्रुसेडहरू र इन्क्‍कीजिससनको लागि बाइबलले कुनै हालतमा समर्थन गर्दैन। हलोकास्टलाई पनि यसले समर्थन गर्दैन। शक्ति प्रयोग गरेर सुसमाचार फैलाउनुपर्छ भनेर बाइबलले कहीँ पनि सल्लाह दिएको छैन। यहूदीहरूलाई सतावट दिनुपर्छ र तिनीहरूलाई जबरजस्ती इसाई बनाउनु पर्छ भनी बाइबलमा कहीँ पनि लेखिएको छैन। यस किसिमका सबै क्रियाकलापहरू पूर्णरूपमा नयाँ करारको विपरीत हुन्छ।

कुरान

कुरानमा उल्लित १०० भन्दा बढी पदहरूले स्पष्टसँग हिंसाको निम्ति हौसला दिन्छ।

The Religion of Peace भन्‍ने वेवसाइटले ३० भन्दा बढी त्यस्ता पदहरूको सूची अनि त्यसको पृष्ठभूमि र सन्दर्भ उल्लेख गरेको छ। तीमध्ये केही यहाँ उद्धरण गरेको छु।

यी सबै पदहरूले सबै मुसलमानहरूलाई सबै समयमा प्रत्यक्षरूपमा हिंसात्मक काम आज्ञा दिँदछ। यी कुराहरू पुरानो करार बाइबलमा उल्लेखित हिंसात्मक पदहरूभन्दा विपरीत छन् किनभने त्यहाँ उल्लेखित कुराहरू इस्राएलीहरूको निम्ति विशेष समय र स्थानको लागि दिइएका विशेष आज्ञाहरू मात्र हुन्।

मुसलमान शिक्षकहरूले विशेष गरी गैर-मुसलमान श्रोताहरूसँग बोल्दा, इस्लाम धर्म शान्तिको धर्म हो भन्‍ने गर्छन्। मुसलमानहरूलाई अप्रसन्‍न पार्न नचाहने राजनैतिक दलका नेताहरूले खुसीसाथ त्यस्तै कुरा भन्‍ने गर्छन्। कुरानले आत्मारक्षाको निम्ति लड्ने कुरालाई मात्र समर्थन गर्छ भनी तिनीहरूले भन्‍ने गर्छन्। कुरानको केही खण्डहरूले त्यस किसिमले बताउन सक्छ, तर माथि उल्लेखित पदहरूले पूर्णरूपमा आत्मारक्षाभन्दा बाहिर गई हिंसात्मक क्रियाकलापहरूलाई खुल्लमखुल्ला हौसला दिन्छन्।

धर्मका संस्थापकहरू

कुनै धर्मलाई बुझ्नको निम्ति त्यसको धर्मशास्‍त्रहरू महत्वपूर्ण हुन्छन्, र त्योभन्दा पनि त्यो धर्मको संस्थापकहरूको जीवन र चरित्रहरू अझ महत्वपूर्ण हुन्छन्। शब्दले भन्दा कामले ठूलो सोरमा बोल्दछ। येशू र मोहमद दुवैजना तिनीहरूका अनुयायीहरूका निम्ति असल उदाहरण र नमुना हुन्। इसाईहरू येशूजस्तै हुनुपर्छ अनि मुसलमानहरूचाहिँ मोहमदजस्तै हुनुपर्छ। येशू र मोहमदभन्दा निकै फरक खालका दुई व्यक्तिहरू भेट्टाउन कठिन हुनेछ। ती दुई व्यक्तिहरूको जीवन र चरित्रहरूलाई विभिन्‍न परप्रेक्ष्यद्वारा तुलना गर्न सकिन्छ, तर यस लेखमा म निरन्तर हिंसाको पक्षमा केन्द्रित भइरहनेछु। अब ती दुई व्यक्तिहरूलाई हामी पालैपालो हेर्नेछौँ।

येशू

के येशूको जीवनमा हिंसा थियो? हो! यस पृथ्वीमा हुनुहुँदा उहाँको जीवनको अन्तिम भाग हिंसात्मक थियो। हिंसाले रगत बगाउने र मृत्युतिर लैजाने कुरालाई बुझाउँछ। येशूको जीवनमा ठिक त्यस्तै भएको थियो। आफ्नै मानिसहरूले धोका दिएर उहाँलाई रोमीहरूको हातमा सुम्पिदिए अनि त्यसपछि उहाँलाई क्रूसमा किला ठोकेर झुण्ड्याइयो।

उहाँको आफ्नै जीवनशैलीचाहिँ हिंसाको विपरीत थियो। येशूले आफ्नो मुख्य अभियानलाई शब्दहरूमा यसरी ब्याख्या गर्नुयभयो: “चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्‌, र त्‍यो प्रशस्‍त मात्रामा पाऊन्‌ भन्‍ने हेतुले आएँ” (यूहन्‍ना १०:१०)।

यी शब्दहरूलाई पूर्णरूपमा उहाँले पूरा गर्नुभयो। तीन वर्षको छोटो सेवकाइ अवधिमा, उहाँले ठूलो सङ्ख्यामा रोगी बिरामीहरूलाई निको पार्नुभयो; त्यसैगरी धेरैलाई दुष्ट आत्माको बन्धनबाट स्वतन्त्र पार्नुभयो; थुप्रै भोकाएका मानिसहरूलाई तृप्‍त हुने गरी खुवाउनुभयो; अनि केही मरेका मानिसहरूलाई उहाँले जिउँदो तुल्याउनुभयो।

आफ्नो मृत्यु र पुनरुत्थानपछि आफ्ना अनुयायीहरूले त्योभन्दा ठूलो कामहरू गर्नेछन् भनी उहाँले अपेक्षा गर्नुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो: “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, जसले मलाई विश्‍वास गर्दछ, त्‍यसले मैले गरेका काम पनि गर्नेछ, र तीभन्‍दा ठूला काम गर्नेछ, किनभने म पिताकहाँ गइरहेछु” (यूहन्‍ना १४:१२)।

उहाँका धेरै अनुयायीहरूले त्यो दिनदेखि आजसम्म उहाँका यी शब्दहरूलाई पूरा गरेका छन्। के तिनीहरूले येशूले भन्दा ठूला काम गरेका छन् त? यस विषयलाई मैले चिन्‍ह र आश्‍चर्य कामहरू भन्ने अर्को लेखमा व्याख्या गरेको छु।

ती सबै कुराहरू हिंसा, रगत बगाउनु र मृत्युभन्दा विपरीत हुन्, जसले इसाई धर्म र इस्लाम धर्ममा ठूलो भूमिका निभिएको छ।

मोहमद

येशूको जीवनभन्दा मोहमदको जीवन ठ्याक्‍कै उल्टो छ। उसको जीवन हिंसाले भरिएको थियो। म यहाँ त्यसको चारवटा पक्षहरूलाई चर्चा गर्नेछु।

क्याराभानमा गरेको धावाहरू (Caravan Raids): मक्‍का भन्‍ने सहरका मानिसहरूले उसको शिक्षालाई तिरस्कार गरेपछि मोहमद र उसका अनुयायीहरू जबरजस्ती त्यहाँबाट भाग्‍नुपरेको थियो। तिनीहरू त्यहाँबाट मदिना भन्‍ने ठाउँमा गई क्याराभान धावाहरूद्वारा आफूलाई समर्थन गर्न थाले। कहिलेकाहिँ त्यस्ता धावाहरूमा क्याराभान चालकहरू मारिन्थे।

मोहमदको अभियानहरू र युद्धहरू: Expeditions of Muhammad भन्‍ने वेवसाइटले मोहमदले सञ्‍चालन गरेको र भाग लिए को १०० वटा अभियानहरू र युद्धहरूको सूची दिएको छ। उसले पहिले मक्‍कामाथि विजय गर्‍यो अनि त्यसपछि मृत्युभन्दा पहिले तिनले प्राय: सबै अरवी प्रायदीपहरूमाथि विजय हासिल गर्‍यो।

यहूदीहरूको हत्या (Slaughter of Jews) : मोहमद र उसका मानिसहरूले Banu Qurayza भन्‍ने यहूदी जातिका मानिसहरूलाई २५ दिनसम्म बन्दी बनाएर राखे। अन्तमा तिनीहरूले आत्मसमर्पण गरे पनि मोहमदले तिनीहरूमध्ये कम्तीमा ६०० जनालाई मृत्युदण्ड दिन आज्ञा दियो र त्यहाँका निर्दोष महिलाहरू र बालबच्‍चाहरूलाई दास बनाएर लग्यो।

हत्या: Killings Ordered or Supported by Muhammad भन्‍ने वेवसाइटले मोहमदले मृत्युदण्ड दिनु भनी आज्ञा गरेका ४३ वटा मानिसहरूको समूहरूको अभिलेख राखेको छ। मानिसहरूले उसको इज्‍जत नगरेको र उप्रति हाँसेको जस्ता साधारण कारणले गर्दा मोहमदले तिनीहरूलाई मृत्युदण्ड दिएका थिए। त्यसबाहेक व्यभिचार र धर्मत्याग गरेको अथवा यहूदी भएको कारणले गर्दा मानिसहरू मारिए।

मोहमदले ती सबै कामहरू गरेका थिए भनी मुसलमानहरूको वेवसाइटहरूले स्वीकार गर्छन्,तर त्यसलाई सफाइ दिन तिनीहरूले पक्‍कै विभिन्‍न कारणहरू भेट्टाएका छन्।

येशूका यी शब्दहरूलाई म फेरि दोहोर्‍याउँछु: “चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्‌, र त्‍यो प्रशस्‍त मात्रामा पाऊन्‌ भन्‍ने हेतुले आएँ।”

यो कुरा याद गर्नुहोस्, कि मोहमदको जीवनलाई मुसलमानहरूले अनिवार्यरूपमा पछ्याउनुपर्ने उदाहरण बनाइएको छ।

निष्कर्ष

धेरै मानिसहरूले, विशेष गरी मुसलमानहरूले इसाई धर्म र इस्लाम धर्ममा भएका हिंसात्मक घटनाहरू बराबर छन् भन्‍ने गर्छन्। यो कुरा तिनीहरूले इसाई इतिहासमा आधारित भएर भन्छन्; जस्तै: क्रुसेडहरू, इन्क्‍वीजिसन र युरोपमा भएका धार्मिक युद्धहरूलाई तिनीहरूले चर्चा गर्छन्। त्यसको साथै पुरानो करारमा उल्लेखित हिंसासम्बन्धी थुप्रै खण्डहरूद्वारा तिनीहरूले यसलाई पुष्टि गर्न खोज्छन्। तिनीहरूको यस किसिमका तर्क-वितर्कमा भएको ठूलो भूल के हो भने ती सबै हिंसात्मक कुराहरू नयाँ करारको शिक्षाभन्दा विपरीत छन्। त्यसैगरी ती कुराहरू येशू ख्रीष्टको शिक्षाहरूभन्दा पूर्णरूपमा विपरीत छन्। सत्रुहरूसँग युद्ध गर्नू, तिनीहरूलाई यातना दिनू अथवा मार्नू भनी येशूले आफ्ना अनुयायीहरूलाई कहिल्यै भन्‍नुभएन बरु त्यसको साटो उहाँले यसो भन्‍नुभयो, “आफ्ना सत्रुहरूलाई प्रेम गर!”

इतिहासमा उल्लेखित र वर्तमानमा घटिरहेका इस्लामिक हिंसात्मक क्रियाकलापलाई कुरान र मोहमदको जीवनले पूर्णरूपमा समर्थन गर्छ। मोहमदले सुरु गरेको अभियानलाई निरन्तरता दिनकै निम्ति मुसलमानहरूले उत्तर अफ्रिका, मध्यपूर्व र एसियाको ठूलो भूभागमाथि विजय गरे। कुरानले दिएको शिक्षाहरूलाई पूरा गर्नको निम्ति तिनीहरूले ठूलो सङ्ख्यामा ‘अविश्‍वासीहरू’को हत्या गरे।

के इस्लाम धर्म शान्तिको धर्म हो? इस्लाम धर्मको आधुनिक प्रकटिकरण, त्यसको इतिहास, त्यसको पवित्र पुस्तक र त्यसको संस्थापक – यी चार वटै कुराहरूले हामीलाई यस प्रश्‍नको स्पष्ट उत्तर दिन्छ: होइन! इस्लाम धर्म शान्तिको धर्म पक्‍कै होइन!

मोहमदको सबैभन्दा नजिकका अनुयायीहरू को-को हुन्? विभिन्‍न देशहरूमा बसोबास गर्ने ठूलो सङ्ख्याका शान्ति-प्रिय अनि देशको नियम-कानुन राम्रोसँग पालना गर्ने मुसलमानहरू मोहमदको साँचो अनुयायीहरू होइनन्। उसको अति नजिकका अनुयायीहरू त इस्लामिक स्टेट (ISIS, Islamic State)का लडाकूहरू बनेका छन्।

के इसाई धर्म शान्तिको धर्म हो? यसको इतिहासको केही भागहरू, विशेष गरी क्रुसेडहरू र इन्क्‍वीजिसन डरलाग्दो किसिमले हिंसात्मक थिए; तर ती नयाँ करार र येशू ख्रीष्टको शिक्षाहरूभन्दा पूर्णरूपमा विपरीत छन्।

अब म आफ्नो सुरुको भनाइहरूलाई यसरी स्पष्ट पार्न चाहन्छु:

खुसीको कुरा के हो भने मुसलमान हुँ भन्‍ने थोरै मानिसहरू विगतको १४०० वर्षभरि मोहमदको साँचो अनुयायी भएका छन्; नत्र भने संसार अहिले निकै फरक स्थान हुनेथियो: सबै गैर-मुसलमानहरू कि दोस्रो दर्जाको नागरिक हुन्थे कि तिनीहरू मारिन्थे; मोहमद अथवा कुरानको आलोचना गर्नेहरू मारिन्थे; महिलाहरू अशिक्षित अवस्थामा हुन्थे; तिनीहरूले शिरदेखि पाउसम्म ढाकेर पुरुषहरूको मनोरञ्‍जनको साधन भई जिउनुपर्थ्यो; अनि सबै समलिङ्गीहरू मारिन्थे।

दु:खलाग्दो कुरा के हो भने इसाई हुँ भन्‍ने थोरै मानिसहरू विगतकको २००० वर्षभरि येशू ख्रीष्टको साँचो अनुयायी भएका छन्; नत्रभने संसार अहिले निकै फरक स्थान हुने थियो – पृथ्वी स्वर्गलोकजस्तो भइसक्थ्यो; लडाइँ-झगडा संसारबाट हराइसकेको हुन्थ्यो; सैनिकहरूको अस्तित्व भए तापनि तिनीहरू थोरै मात्र हुन्थे; प्रहरीहरूले चाहिँ मोटर गाडीहरूको व्यवस्था मात्र मिलाउँथे; थोरै डाक्टर र नर्सहरूको खाँचो पर्थ्यो; अनिकाल र भोकमरी हुँदैनथ्यो अनि अहिले परमेश्‍वरको राज्य पृथ्वीमा आइसकेको हुन्थ्यो।


अझै पढ्नुपर्ने कुराहरू

पवित्र बाइबल
कुरान
इन्टरनेटमा भएका लेखहरू
सयौँ वेवसाइटहरूले यी दुई धर्महरूलाई तुलना गरेका छन्। प्राय: वेवसाइटहरूले (इसाई र मुसलमान) मैले यहाँ बताएका तथ्याङ्कहरूलाई समर्थन गर्नेछन्। तैपनि, तिनीहरूको व्याख्या भने निकै फरक हुन सक्छ।

अनुवादक : श्याम श्रेष्ठ

यो पुस्‍तकलाई रंगिन [Color] छाप्‍ने फाइल

यो पुस्‍तकलाई श्‍याम-स्‍वेत [Black & White] छाप्‍ने फाइल

कसरी छाप्ने