इस्राएलका चाड़-पर्वहरू
र तिनीहरूका
आत्मिक अर्थहरू

परिचय

सबै मुख्य धर्महरूका चाड़-पर्वहरू हुन्छन्। आफूलाई इसाई भनेर चिनाउने मानिसहरूले प्राय: गरी ख्रीष्टमस र ईस्टर मनाउँछन्। केही इसाईहरू जस्तै: रोमन क्याथोलिकहरूले अरू दिनहरूलाई पनि पवित्र मान्छन्। हिन्दूहरूको धेरै प्रकारका चाड़-पर्वहरू छन्, जस्तै: दशैं, तिहार, श्री पञ्चमी आदि। बुद्धिस्ट र मुस्लिमहरूको पनि केही विशेष चाड़-पर्वहरू छन्।

हामीले बाइबल अध्ययन गर्दा यहूदी चाड़-पर्वहरूका विषयमा थुप्रै खण्डहरू भेट्टाउँछौँ, तर इसाई चाड़हरूको विषयमा केही पनि भेट्टाउन सक्दैनौँ। वास्तवमा भन्ने हो भने ख्रीष्टमस र ईस्टर साँचो इसाई चाड़हरू होइनन् तर ती दिनहरू इसाई भेषमा मनाइने पुरानो समयमा अन्यजाति देउताहरूलाई पुज्ने चाड़हरू हुन्। पहिले डिसेम्बर २५ तारीख सूर्य देवतालाई पुज्ने चाड़ थियो। येशू डिसेम्बर महिनामा जन्मनुभएको थिएन। आज-भोलि कुनै धर्ममा विश्वास नराख्ने मानिसहरूले पनि ख्रीष्टमस मनाउँछन्। अर्को पक्ष के हो भने, एल-शद्दाई मण्डलीका विश्वासीहरूले ख्रीष्टमस र ईस्टर मनाउँदैनन्। मैले अङ्ग्रेजी भाषामा यस विषयसँग सम्बन्धित छुट्टै लेख (Church Festivals) लेखेको छु। यस लेखमा चाहिँ इस्राएलको चाड़हरूका विषयमा सकारात्मक विवेचना र तिनीहरूका आत्मिक अर्थलाई जोड़ दिएर केही महत्त्वपूर्ण कुरा लेख्ने जमर्को गर्दैछु।

चाड़-पर्वहरूको विषयमा चर्चा गर्नुभन्दा पहिले तिनीहरूका विषयमा अध्ययन गर्न किन आवश्यक छ भनी बुझ्नुपर्छ। यही प्रश्न हामी धर्मशास्त्रका अरू धेरै खण्डहरू अध्ययन गर्ने क्रममा पनि सोध्न सक्छौँ, जस्तै: करारको सन्दूकको विषयमा किन अध्ययन गर्ने ? लेवीको पुस्तकमा उल्लेख गरिएका बलिदानहरूका विषयमा किन अध्ययन गर्ने ? अथवा, इस्राएलको मानिसहरूका विषयमा लेखिएको लामो इतिहास किन अध्ययन गर्ने ? यस विषयमा प्रेरित पावलले यसरी स्पष्ट उत्तर दिएका छन्- ‘उनीहरूले जस्तै हामीले खराबीको इच्छा नगरौँ भनी यी कुरा हाम्रो चेताउनीको लागि हुन्’ (१ कोरन्थी १०:६)। हामीले बुझ्नुपर्ने कुरा के हो भने, पुरानो करारका चाड़-पर्वहरू साथै यहूदीहरूका इतिहास हाम्रो लागि आत्मिक सत्यताको चित्रहरू हुन्। सम्पूर्ण धर्मशास्त्र सर्वप्रथम स्वयम् येशूप्रति केन्द्रित छ र दोस्रो हामीहरूको जीवन र अनुभवहरूप्रति केन्द्रित छ, जसद्वारा हामी उहाँलाई पछ्याउन र उहाँजस्तै हुने प्रयत्न गर्दछौँ।

यहूदी व्यवस्थामा आधारित सात वटा चाडहरू:


चाड़
महिना
दिन
निस्तार
१४
अखमिरे रोटी
१५-२१
पहिलो उब्जनीको बिटा डोलाउने
 
हप्ताहरू (पेन्तिकोस)
 
तुरही फुक्ने
प्रायश्चितको दिन
१०
छाप्रो-वास (झुप्रो-वास)
१५-२२


अरू चाड़-पर्वहरू पछि थपिँदै गएका हुन्, जस्तै: एस्तरको समयमा पूरीम चाड़ र मक्काबीहरूको समयमा हनुक्काह चाड़ मनाउने प्रचलन सुरु भएको थियो। माथि उल्लेख गरिएका सात वटा चाड़हरूचाहिँ मोशाको व्यवस्थामा उल्लेखित मूल चाड़हरू हुन्।

चाड़-पर्वहरूका मुख्य बाइबलीय आधारहरू :

बाइबलीय आधारचाड़
प्रस्थान १२ अध्यायनिस्तार
प्रस्थान २३:१४-१७सारांश
लेवी १६ अध्यायप्रायश्चितको दिन
लेवी २३ अध्यायसबै चाड़हरू
गन्ती २८:११-२९:४०सबै चाड़हरू
व्यवस्था १६:१-१७सबै चाड़हरू

चाड़-पर्वहरू मुख्य गरी दुइ वटा विषयहरूमा आधारित छन्: खेती-पाती (कृषि) र राष्ट्रको इतिहास। निस्तार चाड़, अखमीरे रोटीको चाड़ र छाप्रो-वासको चाड़ मिश्र देश र उजाड़-स्थानको यात्राको छुटकाराको सम्झना स्वरूप मनाइने ऐतिहासिक स्मरण-उत्सवहरू हुन् भने पहिलो उब्जनीको बिटा डोलाउने, पेन्तिकोस र फेरि छाप्रो-वासको चाड़चाहिँ फसल कटनीको विभिन्न समयहरूमा मनाइने चाड़हरू हुन्। यी दुबै अवस्थाहरूमा मनाइने छाप्रो-वासको चाड़को विषयमा पछि बिस्तृत रूपमा हेर्नेछौँ।

बाइबलमा उल्लेख भएका चाड़हरूलाई तीन वटा समूहहरूमा वर्गिकरण गरिएको देख्न सकिन्छ। यहूदी क्यालेन्डरअनुसार पहिलो महिनामा तीन, तेस्रो महिनामा एक र सातौँ महिनामा तीन वटा चाड़हरू पर्दथे। पहिलो समूहको तीन वटा चाड़हरू (निस्तार चाड़, अखमीरे रोटीको चाड़ र छाप्रो-वासको चाड़) लाई निस्तार चाड़को समूहमा नै राख्न सकिन्छ, जसले हाम्रो आत्मिकी अनुभवहरूको सुरुको अवस्थाको चित्रण गर्छ। त्यस्तै गरी तेस्रो महिनामा पर्ने पेन्तिकोसको चाड़ले उक्त अनुभवपछिको अवस्थापछिको चित्रण गर्छ। र सातौँ महिनामा पर्ने छाप्रो-वास समूहको तीन वटा चाड़हरू (तुरही फुक्ने, प्रायश्चितको दिन र छाप्रो-वास) -ले चाहिँ हाम्रो आत्मिकी परिपक्वताको चित्रण गर्छ। सात पूर्ण रूपमा आत्मिकी सिद्ध सङ्ख्या हो र सातौँ महिना र सातौँ क्रममा पर्ने छाप्रो-वासले परमेश्वरसँग हाम्रो हिँड़ाइको सिद्धतालाई चित्रण गर्छ। सबै इस्राएली पुरुषहरूलाई व्यवस्थाअनुसार वर्षको तीन पटक मुख्य चाड़हरूको अवसरमा यरूशलेममा गई परमेश्वरको सामु खड़ा हुनुपर्ने आज्ञा दिइएको थियो। अहिलेको समयमा पनि धेरै यहूदीहरू त्यस अवसरमा इस्राएलको भ्रमण गर्ने भएकोले अरू देशहरूबाट 'तेल अबिब' जाने हवाइ-जहाजको टिकट पाउन पनि गाह्रो हुन्छ र पाइहाले पनि त्यो धेरै नै महँगो हुने गर्छ

लेवी २३ अध्याय विश्राम दिन (शबाथ) -को बर्णनबाट सुरु हुन्छ। त्यो दिन इस्राएलीहरूले सबै कामबाट छुट्टी लिन्थे। त्यो दिन परमेश्वरको लागि छुट्ट्याइन्थ्यो। सबै चाड़हरूलाई विश्राम दिन (शबाथ) जस्तै मानिन्थ्यो र कुनै पनि काम गरिदैनथ्यो।

व्यवस्थाअनुसार सबै चाड़हरूमा बलिदान गर्नुपर्ने नियम थियो। विशेष गरी निस्तार र छाप्रो-वासको चाड़हरूमा धेरै सङ्ख्यामा पशुहरूका बलिदान गरिन्थ्यो।

‘विश्राम’ र ‘बलिदान’: यी दुइ आवश्यक्ताहरूले हामीलाई आधारभूत महत्त्वपूर्ण कुराहरू सिकाउँछन्। वास्तवमा हामीले कामद्वारा परमेश्वरको लागि केही पनि आर्जन गर्न सक्दैनौँ। सबै चाड़-पर्वहरूको आशिष् येशूको क्रूसको बलिदानबाट आउँदछ। सबै कुराको श्रोत उहाँ हुनुहुन्छ र सबै कुरा उहाँबाट नै आउँछ। हाम्रो प्रयास र मेहनतबाट केही प्राप्त गर्न सक्दैनौँ।

ती चाड़हरूले अर्को महत्त्वपूर्ण कुरा पनि सिकाउँछ। त्यो के हो भने परमेश्वरको निम्ति हामीले आफ्नो क्षेत्रबाट केही बलिदान अवश्य गर्नुपर्छ। त्यसको निम्ति हामीले फाइदा हुने काम र व्यक्तिगत मनोरञ्जनबाट केही समय छुट्ट्याएर परमेश्वरलाई दिनुपर्छ। हामीले गरेको भौतिक बलिदानहरूबाट आत्मिकी लाभहरू पाउँछौँ।

त्यसैले यी चाड़हरू परमेश्वरप्रति हाम्रो आत्मिक उन्नति र वृद्धिलाई देखाउने लेखाचित्रजस्तै हो। हाम्रो आत्मिक यात्रा निस्तार चाड़मा बहाइएको थुमाको रगतबाट सुरु हुन्छ। त्यो यात्रा पेन्तिकोससम्म पुगेपछि, पवित्र आत्मा हामीमाथि खन्याइन्छ र पूर्ण ईश्वरीय उत्तराधिकारको पूर्वानुभव मिल्छ। त्यो यात्राको अन्तिम लक्ष्य छाप्रो-वासको चाड़सम्म पुग्नु हो, जसको विषयमा पछि बिस्तृत रूपमा चर्चा गरिनेछ।

धर्मशास्त्रमा हामीलाई आत्मिक गन्तव्यसम्म पुग्न मद्दत गर्ने अरू नक्साहरू पनि उल्लेख छन्। मिश्र देशदेखि प्रतिज्ञा गरिएको मुलुकसम्मको इस्राएलीहरूको यात्रा प्राय: सबैलाई थाहा छ। विगतमा इस्राएलीहरूले गरेजस्तै, आज हामीले आत्मिकी कनानको भूमिमाथि विजय प्राप्त गर्नुभन्दा अघि लाल समुद्र तर्नुपर्छ, अमालेकीहरूसँग युद्ध गर्नुपर्छ, उजाड़-स्थानलाई पार गर्नुपर्छ र अन्त्यमा यर्दन नदी तर्नुपर्छ।

‘पवित्र वास-स्थान’अर्को महत्त्वपूर्ण नक्सा हो। हामीले त्यसको तीन वटा चोकहरू पार गरेर जानुपर्छ। बाहिरी चोकमा सबै मानिसहरू आ-आफ्नो बलिहरूका साथमा जान सक्थे। पवित्र-स्थानमा पूजाहारीहरू मात्र जान्थे र अन्त्यमा, महा पवित्र-स्थानमा प्रधान पूजाहारीमात्र जान्थे र त्यो पनि वर्षको एक पटक मात्र। महा पवित्र-स्थानमा परमेश्वरको पूर्ण उपस्थिति हुने गर्थ्यो। यी तीन वटा चोकहरू, चाड़हरूको तीन समूहसँग मेल खान्छ भन्ने मेरो विश्वास छ।

येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ”। सबैभन्दा पहिला उहाँ ‘बाटो’ हुनुहुन्छ भनी हामी थाहा गर्छौ। त्यसपछि उहाँमा अझ गहिरिँदा, उहाँ ‘सत्य’ हुनुहुन्छ र  अन्त्यमा उहाँ ‘जीवन’ हुनुहुन्छ भनेर थाहा गर्छौ। कुनै बाटोले गन्तव्यतिर डोर्‍याउँदैन भने त्यसको कुनै प्रयोजन अथवा अर्थ हुँदैन। वास्तवमा भन्ने हो भने, सत्य पनि आफैमा गन्तव्य होइन तर यसले गन्तव्यसम्म पुग्न मद्दत भने गर्छ। ‘जीवन’चाहिँ महान् लक्ष्य हो र हाम्रो यात्राको अन्तिम गन्तव्य हो। मृत्यु भनेको परमेश्वरबाट छुट्टिनु हो तर जीवन भनेको उहाँसँग मिल्नु हो। बाटो, सत्य र जीवन चाड़हरूको तीन समूहसँग मेल खान्छ भनेर पत्ता लगाउनेछौँ।

यी सबै आत्मिक चित्रहरूले ईश्वरीय पवित्र यात्रामा अघि बढ्न सहायता गर्छन्। यो यात्रा गर्न नचाहनेहरूको निम्ति यी चित्रहरूको कुनै मूल्य र मान्यता छैन। यो यात्रामा मुल्य चुकाउनु र बलिदान पनि गर्नुपर्ने हुन्छ। हामीले स्वभाविक आँखाले देखिने कुराहरू बलिदान गर्‍यौँ भने विश्वासको आँखाले प्रकट गरेका आत्मिक कुराहरू प्राप्त गर्न सक्नेछौँ।

केही व्यक्तिहरूले आफ्नो जीवनमा निस्तार-चाड़ अनुभव गर्छन्। परमेश्वरको थुमा तिनीहरूको निम्ति बलिदान हुनुभएको थियो भनी तिनीहरूले थाहा गर्छन्। आफ्ना पापहरू क्षमा भएकोमा खुसी हुन्छन् तर अनइच्छा, अज्ञानता र अनभिज्ञताको कारण तिनीहरू पेन्तिकोसको अनुभव गर्न असफल हुन्छन् र तिनीहरूको यात्रा त्यहीँ रोकिन्छ। कहिले काहीँ तिनीहरूले परमेश्वरसँग त्यस यात्रामा अझ अगाडि जान चाहने व्यक्तिहरूको विरोध गर्छन्। अरू केही व्यक्तिहरू भने परमेश्वरसँगको सुरुको अनुभवपछि, त्योभन्दा अघि बढ़ेर पेन्तिकोस हुँदै पवित्र आत्माको बप्तिस्मा र शक्ति पाउँने उत्कट इच्छा गर्छन्। यहाँ दु:खसाथ भन्नुपर्ने कुरा के हो भने धेरै व्यक्तिहरूले आफ्नो आत्मिकी जीवनमा पेन्तिकोसको अनुभव गरेपछि, त्योभन्दा अगाडि केही पनि छैन भनी विश्वास गर्छन् र उनीहरूको यात्रा रोकिन्छ अर्थात् तिनीहरूको यात्रा उजाड़-स्थानमा नै रोकिन्छ। तिनीहरूले उक्त ठाउँ र प्रतिज्ञा गरिएको मुलुकको बीचमा अवस्थित यर्दन नदी कहिल्यै तर्न सक्दैनन्। खुसीको कुराचाहिँ के हो भने यर्दन नदी पार गरी आफ्नो यात्रालाई निरन्तरता दिँदै येशू ख्रीष्टमा भएर परमेश्वरको महान् बोलावटसम्म पुग्न चाहने व्यक्तिहरू पनि हुन्छन्। छाप्रो-वासको अनुभव गर्ने यस्तै व्यक्तिहरू हुन्।

यो पुस्तकमा मैले जोर दिएर लेख्न चाहेको विषयचाहिँ सातौँ महिनामा पर्ने तीन वटा चाड़हरू- तुरही फुक्ने, प्रायश्चितको दिन र छाप्रो-वासको महत्त्वको बारेमा हो। हामीहरूले यी चाड़हरूको अर्थ पत्ता लगाएर जीवनमा अनुभव गर्नु अति आवश्यक छ।

निस्तार-चाड़

निस्तार-चाड़ पहिलो महिनामा पर्ने मुख्य चाड़ थियो। मिश्रदेशबाट निस्किआएको नाटकीय घटनाको सम्झनामा इस्राएलीहरूले त्यो चाड़ मनाउँथे। मिश्रमा तिनीहरू दास थिए। त्यहाँ निर्दयी नाइकेहरूले तिनीहरूलाई कड़ा काम गर्न जबरजस्ती गर्थे। त्यहाँ बस्दा इस्राएलीहरूका केही पुस्ताहरूले ‘खुसी’ र ‘स्वतन्त्रता’ भनेको के हो भनेर थाह नै नपाई मरे। अन्तमा परमेश्वरले तिनीहरूका पुकार सुन्नुभयो र एक जना छुटकारा गर्ने व्यक्तिलाई पठाउनुभयो। मोशाले तिनीहरूलाई मिश्रबाट निकाल्न अगुवाइ गरे र केही समयपछि तिनीहरू इस्राएलमा पुगे।

तिनीहरू मिश्रबाट निस्की आउने रातमा परमप्रभुको दूतले प्रत्येक मिश्री परिवारको जेठो छोरा मारिदिए। “पाठो मार्नू र त्यसको रगत ढ़ोकाको चौकसमा लगाउनू” भनी मोशाले इस्राएलीहरूलाई निर्देशन दिए। परमप्रभुको दूतले रगत देखेको घरलाई नाघेर गयो र त्यो घरको जेठो छोरालाई मारेन।

यहूदीहरूले आजको दिनसम्म पनि प्रत्येक वर्ष निस्तार-चाड़ मनाउँछन्। तर येशू ख्रीष्टलाई पछ्याउने व्यक्तिहरूले आत्मिक निस्तार-चाड़ मनाउँछन्। आफू मरेर हामीलाई हाम्रो पापबाट बचाउनुहुने येशू, हाम्रो लागि परमेश्वरका थुमा हुनुहुन्छ। अब हाम्रो मृत्युको ‘दण्ड-आज्ञा’ रद्द भइसकेको छ। हामीहरूले सित्तैँमा माफी र क्षमादान पाएका छौँ। परमेश्वरको थुमाले हामीहरूको पाप बोक्नुभएर भयानक दण्ड भोग्नुभयो। पुरानो समयको इस्राएलीहरूजस्तै हामीहरू पनि छुटकारा पाएका मानिसहरू हौँ।

निस्तार-चाड़ परमेश्वरप्रति हाम्रो आत्मिक अनुभवको प्रारम्भ-बिन्दु हो। येशूको रगतद्वारा हामीले उद्धार पाएका छौँ, अर्थात् परमेश्वरले हामीलाई फेरि किन्नुभएको छ। हामीलाई परमेश्वरले सृष्टि गर्नुभएको कारणले गर्दा हामी उहाँकै हौँ। पापको कारण हामी उहाँबाट अलग भयौँ र हरायौँ। परमेश्वरको थुमाले आफैलाई अर्पण गरी आफ्नो रगत बहाएर परमेश्वरको निम्ति हामीलाई फेरि किन्नुभयो। त्यस कारण हामी उहाँकै हौँ र उहाँकै स्वामित्त्वमा छौँ। यो तथ्य हाम्रो आत्मिक अनुभवको महत्त्वपूर्ण आधार हो। परमेश्वरका निम्ति हामी फेरि किनिएका छौँ र हामी उहाँकै हौँ। हामी उहाँका मानिसहरू हौँ र उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ।

अखमिरे रोटीको चाड़

निस्तार चाड़को भोलिपल्टदेखि अखमिरे रोटीको चाड़ सुरु हुन्थ्यो र त्यो चाड़ सात दिनसम्म लगातार मनाइन्थ्यो। त्यसको सुरुवात पनि मिश्रबाट निस्किआएको घटना नै थियो। खमीरले पिठोलाई फुलाउने काम गर्छ। मिश्र छोड्ने समयमा इस्राएलीहरूसँग रोटीमा खमीर हाल्ने समय थिएन। तिनीहरूले अखमिरे रोटी खानुपर्‍यो।

येशूले उहाँका चेलाहरूलाई भन्नुभयो, “ध्यान देओ, फरिसी र सदुकीहरूको खमीरबाट होशियार रहो” (मत्ती १६:५)। फरिसीहरू मोशालाई परमेश्वरले दिनूभएको व्यवस्थाको शिक्षकहरू थिए। तैपनि त्यसमा तिनीहरूले आफ्नै स्वार्थपूर्ण अर्थहरू र अनावश्यक परम्पराहरू थपेका थिए। परिणाम स्वरूप त्यो केही फुलिएको र सुरुवातको अवस्थाभन्दा फरक भइसकेको थियो र त्यसको शुद्धता गुमिसकेको थियो। पावलले कोरिन्थीहरूलाई यसरी लेखे, “यसकारण हामी पुरानो खमीरले, अर्थात् कुकर्म र दुष्टताको खमीरले होइन, तर निष्कपटता र सत्यताको अखमिरे रोटीले चाड़ मनाऔँ” (१ कोरिन्थी ५:८)।

पावलको लागि व्यवस्था यस्तो थियो- “विश्वासद्वारा हामी धर्मी ठहरिन सकौँ भनेर व्यवस्थालाई हाम्रो संरक्षक भई हामीलाई ख्रीष्टसम्म डोर्‍याउने जिम्मा दिइयो” (गलाती ३:२४)। पावलले व्यवस्थाको सबै कुराहरू पूरा गर्न नसकेकोले, उनी आफ्नो पापी स्वभावको निम्ति परमेश्वरबाट दया पाउन रोए। उनले येशूमा क्षमा र पापको छुटकारा पाए। पवित्र आत्माको शक्तिमा उनी व्यवस्थाको सबै आवश्यक्ताहरू पूरा गर्न सफल भए।

फरिसीहरू व्यवस्थाको सहायताले पद, शक्ति र अधिकार जोगाउन चाहन्थे। त्यसको निम्ति तिनीहरूले प्रत्येक आज्ञामा अरू धेरै बूँदाहरू थपे। विश्राम दिनमा कुन काम गर्नुहुन्छ र कुन काम गर्नु हुँदैन भनी तिनीहरूले ठोस नियमहरू बनाए। खेतीको सानोभन्दा सानो उब्जनीको दशांश दिनुपर्छ भन्ने कुरामा तिनीहरूले जोर दिन्थे। तिनीहरूको निम्ति परमेश्वरको अनुग्रह पाउन धेरैभन्दा धेरै व्यवस्थाहरू पालन गर्नुपर्‍थ्यो। त्यस प्रकार तिनीहरूले बनाएका व्यवस्थाका भारीहरू झन्-झन् गह्रौँ हुनथाल्यो। त्यसको विपरीत येशूले भन्नुभयो, “मेरो भारी हलुको छ” (मत्ती ११:३०)।

त्यस प्रकार मानवीय धर्ममा परमेश्वरले कहिल्यै नदिनुभएको तर मानिसले नै बनाएका व्यवस्था र रीति-रिवाजहरू पालन गर्नुपर्ने भयो। येशूले हामीलाई देखाउनुभएको बाटोचाहिँ परिवर्तनपछि हृदयको गहिराइदेखि नै व्यवस्था पालन गर्न सक्षम बनाउनु हो।

पहिलो उब्जनीको बिटा डोलाउने

निस्तार-चाड़पछि शबाथ-दिनको भोलिपल्ट पहिलो उब्जनीको बिटा डोलाउने दिन पथ्‍र्यो। यो चाड़ले सात हप्तापछि पर्ने हप्ताहरूको चाड़ (पेन्तिकोस)-को प्रतीक्षा गर्थ्यो। इस्राएलीहरूलाई यसो भनिएको थियो, “आफ्नो बालीको पहिलो उब्जनीको एक बिटा पूजाहारीकहाँ ल्याउनू। त्यो ग्रहण हुनलाई तिनले त्यो बिटा परमप्रभुको सामुन्ने डोलाऊन्” (लेवी २३:१०,११)।

यस चाड़ले येशूको विषयमा स्पष्ट बताउँछ। वर्ष दिनको हिसाब गर्ने हो भने, उहाँको पुनरुत्थान ठीक यही दिनमा पर्थ्यो। उहाँको विषयमा पावलले यसो भने, “सुतिजानेहरूमध्येमा उहाँचाहिँ प्रथम फल हुनुहुन्छ” (१ कोरिन्थी १५:२०)। येशू प्रथम फलमात्र होइन उत्कृष्ट प्रथम फल हुनुहुन्छ। तर उहाँपछि उहाँजस्‍तै धेरै फलहरू उत्पादन हुनु झन् उत्कृष्ट कुरा हो। यदि भविष्यमा धेरै फलहरू आउँदैछ भने मात्र, पहिलो फलको अस्तित्व र अर्थ रहन्छ। पहिले फलेका फलहरू पछि फल्ने फलहरूभन्दा उच्च गुणस्तरका हुँदैनन्। केवल तिनीहरू अरूभन्दा पहिले नै पाक्छन् (तयार हुन्छन्)। यदि अन्नको पहिलो दाना उच्च गुणस्तरमा पाक्यो, तर पछि फलेकोहरूचाहिँ खानयोग्य भएनन् भने किसान ज्यादै निराश हुन्छ।

परमेश्वरले बनाउनुभएको योजनामा येशू धेरै भाइहरूमध्ये पहिले जन्मनु आवश्यक थियो भन्ने कुरा बुझ्न अति जरुरी छ। येशू एकमात्र बालक भएको उहाँ चाहनुहुन्नथ्यो तर येशूका धेरै भाइ-बहिनीहरू होस् भन्ने कुरा उहाँ चाहनुहुन्थ्यो। वाल्यावस्थालाई हेर्ने हो भने, प्राय: जेठो दाइ उसका भाइ-बहिनीहरूभन्दा ठूलो, बलियो र चलाख हुन्छ। तर जब तिनीहरू बढ्दै गएर परिपक्व हुन्छन्, तिनीहरू बीचको भिन्नता घट्दै जान्छ र अन्त्यमा त्यो हराउँछ। यही सिद्धान्त येशू र हामीहरूमा लागु हुनुपर्छ भन्ने परमेश्वरको योजना धर्मशास्त्रले प्रकाश पारेको छ।

परमेश्वरले हामीलाई यो महान् सत्य कुरा हेर्नसक्ने आँखा र विश्वास गर्नसक्ने हृदय दिऊन् !

हप्ताहरूको चाड़ (पेन्तिकोस)

पहिलो उब्जनीको बिटा डोलाउने दिनको पचास दिन अथवा सात हप्ता र एक दिनपछि हप्ताहरूको चाड़ पर्छ। यो चाड़ नयाँ करारमा पेन्तिकोसको नाउँले परिचित छ, जुन ग्रीक भाषाको ‘पेन्टाकोसिया’ (πεντακοσια) बाट आएको हो र यसको अर्थ ५० हुन्छ। यो चाड़ पहिलो उब्जनीको बिटा डोलाउने चाड़को पूर्णता हो भनेर हामीले बुझिसकेका छौँ। त्यस बेला एउटा बिटा परमप्रभुको सामु डोलाइन्थ्यो। पेन्तिकोसको दिनमा दुइ वटा रोटीहरू परमप्रभुको सामु डोलाइन्थ्यो। एउटा बिटा भनेको येशू हुनुहुन्छ, जो शिर हो। दुइ वटा रोटी भनेको उहाँको शरीर अर्थात् मण्डली हो। एउटा बिटा भनेको येशू हुनुहुन्छ, जो शिर हो। दुइ वटा रोटी भनेको उहाँको शरीर अर्थात् मण्डली हो। यसको अर्थ के हो भने येशू अहिले एक्लो हुनुहुन्न, उहाँ आफ्नो शरीर अर्थात् मण्डलीसँग जोडिएको हुनुहुन्छ।

धर्मशास्त्र अध्ययन गर्दा पेन्तिकोसलाई पहिलो (अगौटे) फलको चाड़ पनि भनिन्छ भन्ने कुरा हामी थाहा पाउँछौँ (लेवी २३:१६)। यो चाड़को पूर्णता भनेको सातौँ महिनामा पर्ने छाप्रोवासको चाड़ हो। अब अगौटे फल सम्बन्धी दुइ वटा चाड़हरू र त्यसको दुइ वटा पूर्णताहरू बारे कसरी बुझ्न सकिन्छ त ? यो परमेश्वरको काम गर्ने तरिका हो। कुनै कुराको समाप्ति वास्तवमा अन्त्य होइन तर कुनै ठूलो कुराको सुरुवात हो। जब एउटा बीउ उम्रिन्छ, तब त्यसले अरू बढ़ी बीउहरू उत्पादन गर्छ। त्यस्तै प्रकारले प्रत्येक नयाँ बीउले अरू धेरै बीउहरू उत्पादन गर्छ र त्यो क्रम निरन्तर बढ्दै जान्छ।

प्रत्येक नयाँ आयाम त्योभन्दा सानो आयाम भएको वस्तुको पूर्णता हो, जस्तै: रेखा बिन्दुको पूर्णता हो। घेरो रेखाको पूर्णता हो। र ठोस वस्तु घेरोको पूर्णता हो। त्यसै प्रकारले हामीहरू पनि एउटा महिमाबाट अर्को महिमा र पवित्र स्थानबाट महा पवित्र-स्थानमा प्रवेश गर्दै जान्छौँ। त्यसैले प्रत्येक नयाँ आशिष् भविष्यमा आउने अर्को आशिष्को बीउ हो।

इस्राएलको सन्तानहरूले मिश्रमा पहिलो निस्तार-चाड़ मनाएको पचास दिनपछि सीयोन पर्वतमा पुगे। परमेश्वरले त्यहाँ गर्नुभएको काम मिश्रमा गर्नुभएको भन्दा कम नाटकीय थिएन। उहाँ आगोमा भएर उक्त पर्वतमा ओर्लेर आउनुभयो। त्यस बेला त्यहाँ गड्याङगुडुरुङ गरी बिजुली चम्क्यो, भुइँचालो गयो र तुरहीको जस्तो आवाज सुनियो। ती सबै घटनाहरू मोशालाई १० आज्ञा दिने कुराको पूर्व-तयारीहरू थिए।

उक्त घटना र प्रेरितको पुस्तकमा उल्लेखित पेन्तिकोसको दिनको घटनामा धेरै समानताहरू छन्। पक्कै पनि ती दुइ घटनाहरू एक-आपसमा जोड़िएका छन्। पेन्तिकोसको दिनमा पहिले ठूलो बतासको झोक्काजस्तै आवाज आयो, त्यसपछि आगोका जिब्राहरू देखिए अनि पवित्र आत्मा ओर्लनुभयो।

सीयोन पर्वतमा घटेका घटनाहरू पुरानो करारको सुरुवात थिए र ती सबै परमेश्वरका चुनिएका (स्वभाविक) मानिस- इस्रएलीहरूसँग सम्बन्धित थिए। अहिले पेन्तिकोसचाहिँ नयाँ करारको सुरुवात हो र यसले परमेश्वरका आत्मिक मानिस- इसाईहरूसँग सम्बन्ध राख्छ।

पेन्तिकोसको घटना मुख्य गरी वरदानहरू र पवित्र आत्माको शक्तिसँग सम्वद्ध छ। हामीलाई थाहा भएसम्‍म, त्यो दिनमा पहिलो पटक मानिसहरूले अन्यभाषाहरूमा बोलेका थिए। त्यसपछिका दिनहरूमा अचम्मको चङ्गाइहरू भए, बुद्धिका वचनहरूद्वारा लुकिएका पापहरू प्रकट गरिए र अचम्म प्रकारले झ्यालखानाको ढ़ोकाहरू उघ्रिए। त्यो महिमित समयमा ईश्वरीय कामहरू प्रकट भएका थिए। परमेश्वरका मानिसहरूद्वारा नै ती सबै कुराहरू प्रदर्शित गरिएका थिए।

त्यस समयमा आत्‍मिक वरदानहरूमात्र होइन, आत्‍मिक सेवकाइका कामहरू पनि थिए। पावलले प्रेरित, अगमवक्ता, पास्टर, शिक्षक र प्रचारकहरूका विषयमा एफिसीहरूलाई लेखेका छन्। परमेश्वरले सेवकाइहरू दिनुभएका उहाँको मण्डली, अहो कति धेरै आशिषित र धन्य ! परमेश्वरका मानिसहरूका जग बलियो पार्न ती सबै कुराहरू अति आवश्यक छन् भनी पावल सरल प्रकारले बताउँछन्। उनी एफिसीहरूलाई ती सबैको उद्देश्य यसरी बताउँछन् : “कि ख्रीष्टको शरीर निर्माण होस्, र सेवाको काम गर्न सन्तहरू सुसज्जित होऊन्, जबसम्म हामी सबैले विश्वासको र परमेश्वरका पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौँ, र परिपक्व मानिस बनी ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौँ। यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्ता नहोऔँ” (एफिसी ४:१२-१४)।

त्यसैले परमेश्वरले सेवकाइ र आत्मिक वरदानहरू दिनुभएको मण्डली धन्यको हो। यस प्रकारको मण्डली मानिसहरूलाई भर्ती गर्ने र निरन्तर अगाड़ि बढ़ाउने काममा संसारिक तरिकाहरूमा भर पर्दैन।

तुरही फुक्ने चाड़

क्यालेण्डर (पात्रो)

यहूदी क्यालेण्डरमा तेस्रो महिनादेखि सातौँ महिनासम्म कुनै चाड़ पर्दैनथ्यो। छाप्रो-वास समूहका तीन वटा चाड़हरू सातौँ महिनामा पर्दथे। तीमध्ये पहिलो- तुरही फुक्ने चाड़ त्यो सातौँ महिनाको प्रथम दिनमा पर्थ्यो।

प्रत्येक चाड़को अवसरमा र महिना सुरु हुने समयमा तुरही फुकिन्थ्यो। तुरही फुक्ने चाड़मा चाहिँ किसिमले तुरही फुकिन्थ्यो। त्यो दिन आफैमा चाड़मात्र होइन, तर त्यसले त्योभन्दा पछि आउने दुइ ठूला चाड़हरूको परिचय पनि दिन्थ्यो। सातौँ महिनाको १०औँ दिन प्रायश्चितको दिन पर्थ्यो भने १५-२२ औँ दिनसम्म छाप्रो-वासको चाड़ हुने गर्थ्यो। तुरही फुक्ने चाड़ले ती दुइ महत्त्वपूर्ण चाड़हरूको आगमनको अग्रिम घोषणा गर्थ्यो। त्यो चाड़ले त्योभन्दा पछि आउने दुइ वटा चाड़हरूतिर अघि बढ्न बोलावट दिन्थ्यो।

यहूदीहरूको धार्मिक-क्यालेण्डरअनुसार नयाँ साल वसन्त ऋतुमा सुरु हुन्थ्यो र तिनीहरूको खेती-पाती सम्बन्धी अर्को नागरिक-क्यालेण्डरअनुसारको नयाँ सालचाहिँ शरद् ऋतुमा सुरु हुन्थ्यो। (नेपालमा बैशाख महिनामा नयाँ साल सुरु हुन्छ तर आर्थिक साल भने श्रावण महिनाबाट सुरु हुन्छ। त्यसैगरी नेवार जातिको 'नेपाल सम्बत्' छ, जुन कात्तिक महिनामा सुरु हुन्छ।) यहूदीहरूको नयाँ नागरिक-साल धार्मिक क्यालेण्डरअनुसार सातौँ महिनाको पहिलो दिनमा सुरु हुन्थ्यो। त्यसैले तुरही फुक्ने चाड़चाहिँ नागरिक क्यलेण्डरको नयाँ साल सुरु हुने दिनमा पर्‍थ्यो भनेर बुझ्नुपर्छ। हामीहरूको लागि यो चाड़ परमेश्वरमा नयाँ आत्मिक सुरुवातको समय हो।

प्राय: संसारिक मानिसहरूले नयाँ सालमा आफ्नो चरित्र र जीवनशैली सुधार गर्ने दृढ़-प्रतिज्ञाहरू गर्छन् तापनि मानवीय इच्छाशक्तिले त्यो कुरा लामो समयसम्म स्थिर गराउन सक्तैनन्।

हामी विश्वासीहरूका निम्ति नयाँ साल विगतका गल्तीहरूको पश्चात्ताप गर्ने र भविष्य परमेश्वरमा पुन: समर्पण गर्ने सुवर्ण अवसर हो। सातौँ महिनाको दशौँ दिनमा पर्ने प्रायश्चितको दिन पाप क्षमा गरिने समय थियो। तुरहीको आवाजचाहिँ पश्चात्ताप र हृदय जाँच गर्ने तयारीको लागि गरिने बोलावट।

सभा

पुरानो करारको समयमा तुरही विभिन्न उद्देश्यहरूका निम्ति प्रयोग गरिन्थ्यो। सबैभन्दा प्रमुख उद्देश्यचाहिँ मानिसहरूलाई भेला गर्नुको निम्ति प्रयोग गरिन्थ्यो। विगतमा पश्चिमी देशको गिर्जाघरहरूमा घन्टा बजाइन्थ्यो र मुश्लिम देशको मस्जिदहरूमा प्रार्थनाको निम्ति आवाज दिइन्थ्यो। ती कामहरू मानिसहरूलाई भेला गर्नको लागि थिए। ध्वनि सम्बन्धी आधुनिक आविष्कारहरू हुनुभन्दा अघि तुरहीको सोर नै टाढ़ासम्म पुर्‍याउन सकिने एकमात्र आवाज थियो। त्यो आवाज इस्राएलीहरू बसेको मरुभूमिको शिविर र तिनीहरू प्रतिज्ञा गरिएको मुलुकमा पुगेपछि बसेका सबै गाउँ-क्षेत्रहरूमा सुनिन्थ्यो।

बाइबल अध्ययन गर्दा मानिसहरूलाई एकत्र गर्न तुरहीको प्रयोग गरिएको पाउँछौँ। गन्ती १० अध्यायमा परमेश्वरले मोशालाई “दुइ वटा चाँदीको तुरहीहरू बनाउनू” भन्नुभयो। त्यो तुरहीहरूका प्रमुख उद्देश्य पनि मानिसहरूलाई भेला गर्नु थियो। अमालेकीहरूसँग लड़ाइँको लागि मानिसहरू जम्मा पार्न गिदोनले तुरही फुके। त्यसै प्रकारले पलिस्तीहरूसँग लड़ाइँको लागि मानिसहरू जम्मा पार्न शाऊलले तुरहीको प्रयोग गरे (१ शमूएल १३:३,४)। सबै चाड़हरूमा मानिसहरूलाई भेला गर्न तुरही फुकिन्थ्यो। येशूले भविष्यमा आफ्ना चुनिएका मानिसहरूलाई जम्मा गर्न स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजसहित आकाशको चारै दिशाबाट पठाउनुहुनेछ (मत्ती २४:३२)।

परमेश्वरले आफ्ना मानिसहरूलाई कहाँ अनि कसरी भेला गर्नुहुन्छ त ? के तिनीहरू गिर्जाघरहरूभित्र नै भेला हुने हो ? अथवा तिनीहरू सार्वजनिक भवनहरूमा भेला हुने कि तिनीहरूको आफ्नै घरहरूमा भेला हुने हो ? के सबै राम्रा-राम्रा विश्वासीहरू छानेर विशेष प्रकारको इसाई-सम्प्रदाय निर्माण गर्नु आवश्यक छ ? मानिसहरूलाई भेला पार्ने विषयमा परमेश्वरको विचार कस्तो होला ?

पुरानो करारमा मानिसहरूको सभाको निम्ति एउटामात्र स्वीकारयोग्य ठाउँ तोकिएको थियो। मरुभूमिमा इस्राएलीहरूलाई मोशाको अघि भेट हुने पालको ढोकामा भेला गराउन तुरही फुकिन्थ्यो। भेट हुने पाल परमेश्वरको उपस्थिति हुने ठाउँ थियो। इस्रएलीहरू प्रतिज्ञा गरिएको मुलुकमा पुगेपछि परमेश्वरले उहाँको नाउँ राख्नको निम्ति विशेष ठाउँ छान्नुभयो। “जुन ठाउँ परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो नाउँ राख्न र स्वयम् वास गर्नलाई तिमीहरूका सबै कुलबाट छान्नुहुन्छ, त्यही ठाउँ तिमीहरूले खोज्नू। त्यही ठाउँमा तिमीहरू जाने गर्नू” (व्यवस्था १२:५)। वास्तवमा त्यो ठाउँ यरूशलेमको मन्दिर थियो। व्यवस्थाको नियमअनुसार सबै वयस्क इस्राएली पुरुषहरू वर्षको तीन पटक मुख्य चाड़हरूको समयमा यरूशलेम जान्थे।

येशूले उहाँका चेलाहरूलाई कहाँ भेला हुन निर्देशन दिनुभयो ? “…जहाँ दुइ कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूका माझमा हुनेछु” (मत्ती १८:२०)। उहाँले आत्मामा नयाँ स्थान तोक्नुभयो। उहाँले यसो भन्नुभएन, “मण्डली-भवनमा जाऊ”। तर उहाँले भन्नुभयो, “मकहाँ आऊ” । उहाँले यसो पनि भन्नुभयो, “त्यो बेला आउँदैछ, जब तिमीहरू नता यस डाँड़ामा, न यरूशलेममा पिताको आराधना गर्नेछौ … उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ ” (यूहन्ना ४:२१)।

पावलले थेसलोनिकीहरूलाई यसरी लेखेका छन् : “भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टका आगमनको विषयमा र उहाँलाई भेट्न हामी एकसाथ भेला हुने विषयमा हामी तिमीहरूलाई बिन्ती गर्दछौँ” (२ थेसलोनिकी २:१)। भेला हुने विषयमा नयाँ करारको महत्त्वपूर्ण सिद्धान्त यो हो– ‘हामी कुनै विशेष ठाउँमा भेला हुँदैनौँ तर एक विशेष व्यक्तिमा भेला हुन्छौँ अर्थात् हामी येशूमा भेला हुन्छौँ'।

परमेश्वरले हामीलाई दिनुभएको हरेक आत्मिक चाड़को लागि यो नियम लागु हुन्‍छ। सातौँ महिनामा पर्ने चाड़हरूको विषयमा यो सिद्धान्त लागु हुन्छ। त्यसैले येशूसँग भेला हुन हामीहरू आ-आफ्नो घर र पालहरूबाट निस्कन अति जरुरी छ।

अहिलेको तुरही फुक्ने चाड़

आज-भोलिको समयमा यो चाड़को विशेष अर्थ र सन्देश छ भनी म विश्वास गर्छु, किनभने परमेश्वर आज पनि नयाँ तरिकाले काम गरिरहनुभएको छ र हाम्रो ध्यान त्यसप्रति खिँच्दै हुनुहुन्छ।

परमेश्वरले येशूलाई संसारमा प्रकट गराउनुभन्दा अघि उहाँले इस्राएल देशमा तुरही फुक्नुभयो। पश्चात्ताप र परमप्रभुको मार्ग तयार पार्न परमेश्वरले बप्तिस्मा दिने यूहन्नालाई पठाउनुभयो। उनी एक तुरही थिए। मलाकीदेखि उनको समयसम्म, करिव ४०० वर्षसम्म अगमवाणी र प्रकाशको कुनै आवाज आएको थिएन। त्यो तुरहीको आवाजले परमेश्वरका मानिसहरूलाई जागृत गरायो र अघि बढ्न बोलावट दियो। त्यस घटनाले परमेश्वरको उद्देश्य पूरा गर्नको निम्ति नयाँ अवस्था सृजना गरेको थियो।

अब फेरि तुरही फुकिँदैछ। परमेश्वरले आफ्ना मानिसहरूलाई भेला हुन र अघि बढ्न बोलावट दिँदै हुनुहुन्छ। त्यसैले हामी परमेश्वरसँगै नयाँ सालमा प्रवेश गर्दर्छौँ भन्ने कुरामा म विश्वास गर्छु।

प्रायश्चितको दिन

भूमिका

हिब्रू भाषामा योम किप्पूर (Yom Kippur) भनिने प्रायश्चितको दिन रमाइलो चाड़भन्दापछि आउने अलि गम्भिर प्रकारको छुट्टै चाड़ थियो। कहिले-काहीँ परमेश्वरको तरिकामा यस्तो ढ़ाँचा देख्न सकिन्छ- 'बालक जन्मको खुसीभन्दा पहिले प्रशव वेदनाको कष्ट अवश्य आउँछ।' “आँसु रातभरि मात्र बग्छ, तर बिहान आनन्द आउँदछ” (भ.सं. ३०:५)। पुनरुत्थानपछि स्वर्गारोहण भएर पिताकहाँ जानुभन्दा पहिले येशूले पनि विभिन्न कष्टहरू भोगेर मर्नु परेको थियो।

प्रायश्चितको दिन अरू चाड़हरूभन्दा फरक भए तापनि प्रत्येक वर्ष अनिवार्य रूपमा मनाउनु नै पर्ने चाड़ थियो। त्यो चाड़ नमनाउने व्यक्तिलाई व्यवस्थाअनुसार समाजबाट बहिष्कार गरिन्थ्यो (लेवी २३:२९)।

त्यो चाड़ पृथक हुनुको अर्को कारण के थियो भने, त्यो चाड़ अरू चाड़हरूजस्तै खेती-पाती र राष्ट्रिय उत्सवको सम्झनाजस्ता कुराहरूमा सम्बन्धित थिएन तर पापजस्तो गम्भिर विषयसँग सम्बन्धित चाड़ थियो। त्यो उपवास बस्ने र प्रायश्चित गर्ने समय थियो।

यहूदी परम्पराअनुसार तुरही फुक्ने चाड़देखि प्रायश्चितको दिनसम्मको दश दिनहरूलाई तयारीको दिनहरू मानिन्थे। ती दिनहरूमा तिनीहरूले आफैलाई जाँच्ने गर्थे। तुरही फुक्ने चाड़ यहूदी क्यालेण्डरको नयाँ सालको सुरुमा पर्थ्यो र त्यसको लगत्तै आउने प्रायश्चितको दिनमा विगतको वर्षमा गरेका सबै पापहरू मेटाइन्थ्यो।

प्रत्येक वर्ष, प्रायश्चितको दिनमा प्रधान पूजाहारीले आफू लगाएत सबै इस्राएलीहरूको निम्ति प्रायश्चित गर्न मन्दिरको महा पवित्र-स्थानमा जान्थे। त्यस दिनमा तिनीहरूका सबै पापहरू धोइन्थ्यो। "किनभने त्यसै दिन तिमीहरूलाई शुद्ध पार्नलाई तिमीहरूका निम्ति प्रायश्चित गरिन्छ। तब परमप्रभुको सामुन्ने सबै पापबाट तिमीहरू शुद्ध हुनेछौ" (लेवी १६:३०)।

स्वतन्त्रता र छुटकारा

छाप्रो-वासको चाड़मा ठूलो आशिष् पाउन पाप धोइएको हुनु आवश्यक हुन्छ। हामीले पाप गरेका छौँ र परमेश्वरलाई चोट पुर्याएका छौँ भन्ने कुरा उहाँसँग हाम्रो सम्बन्ध सुरुवात भएपछि थाहा पाउँछौँ। निस्तारको थुमा हाम्रै उद्धार र क्षमादानको निम्ति बलिदान हुनुभएको कुरा बुझेपछि हामीले हृदय र विवेकमा ठूलो सान्त्वना पाउछौँ। त्यसपछि आनन्दित भएर हाम्रो निम्ति परमेश्वरको व्यवस्था र पवित्र आत्मको शक्ति हाम्रो जीवनमा अनुभव गर्छौ। जब हामी बिस्तारै पापले हाम्रो जीवनलाई नियन्त्रण गरेको कुरा पत्ता लगाउछौँ, तब हामी त्यस कुराले झस्कन थाल्छौँ। यस विषयमा पावलले भनेका छन्, कि ऊ असल गर्न चाहन्थ्यो तर सक्दैनथ्यो। ऊ खराब कुरा गर्न चाहँदैनथ्यो तर त्यही गर्थ्यो (रोमी ७:१८-२०)। उसले क्षमादानभन्दा पनि ठूलो कुराको आवश्यक्ता छ भनी महसुस गर्यो। आज हामीलाई पनि भित्रैदेखिको सफाइ आवश्यक छ। हामीमा वास गर्नुहुने परमेश्वरको शक्तिद्वारा छुटकारा पाउन आवश्यक छ। हाम्रो जीवनलाई बाँधिराख्ने थोकहरूलाई तोड्नु नै पर्दछ। प्रायश्चितको दिनमा हामीले भेट्टाउन सक्ने कुराहरू यिनै हुन्।

प्रत्येक सात वर्षको प्रायश्चितको दिनको घटनाहरूले पूर्ण रूपमा क्षमादान र पुन: स्थापनाको सिद्धान्तलाई जोर दिएको देख्न सकिन्छ। त्यस दिनमा प्रत्येक हिब्रू दासलाई स्वतन्त्र गरिन्थ्यो। सात गुणा सात अर्थात् ४९ वर्षपछि आउने प्रायश्चितको दिनको उत्सव झन् बढ़ी महत्त्वपूर्ण हुन्थ्यो। त्यो विशेष प्रायश्चितको दिनमा हिब्रू लगाएत सबै विदेशी दासहरूलाई स्वतन्त्र गरिन्थ्यो। अर्को महत्त्वपूर्ण कुराचाहिँ के हो भने, बिक्री गरिएका जग्गा-जमिन पनि त्यस दिन पुरानो मालिकलाई नै फिर्ता गरिन्थ्यो। त्यस समयका यहूदी र त्यहाँ भएका विदेशीहरूका लागि ती व्यवस्थाहरू अति सुन्दर थिए। त्यतिमात्र होइन, त्यस घटनाले पावलले रोमी ८ अध्यायमा वर्णन गरेजस्तै अझै ठूलो कुरातर्फ सङ्केत गर्छ। उनी यसो भन्दछन्- “म विचार गर्दछु, कि हामीमा जुन महिमा प्रकट गरिनेछ, त्यससँग वर्तमान समयका कष्टहरू तुलना गर्न योग्य छैनन्। सृष्टि बड़ो उत्कण्ठाले परमेश्वरका पुत्रहरू प्रकट हुने कुराको प्रतीक्षा गर्छ। सृष्टि व्यर्थताको वशमा पारियो, त्यसको आफ्नै इच्छाले होइन, तर उहाँको इच्छाले, जसले त्यसलाई वशमा पार्नुभयो, यसै आशामा, कि सृष्टि त्यसको आफ्नै विनाशको बन्धनबाट मुक्त गराइनेछ, र त्यसले पनि परमेश्वरका सन्तानको महिमित स्वतन्त्रता प्राप्त गर्नेछ। हामी जान्दछौँ, सारा सृष्टि अहिलेसम्म एकसाथ प्रसववेदनाको आर्तनाद गरिरहेछ” (रोमी ८:२२)। यस खण्डमा पावलले भन्न खोजेका कुरा के हो भने, पहिले परमेश्वरका छोराहरूले यस प्रकारको अचम्मको स्वतन्त्रता पाउनेछन्, त्यसपछि अरू सबै सृष्टिले त्यो कुरा पाउनेछन्। यस घटनामा हिब्रू दासहरूचाहिँ पहिले स्वतन्त्र हुने परमेश्वरका छोराहरूका चित्रहरू हुन् भने विदेशी दासहरूचाहिँ पछि स्वतन्त्र पारिने बाँकी रहेका सबै सृष्टिको चित्रहरू हुन्।

हामीलाई यो सत्यता ग्रहण र विश्वास गर्नु धेरै नै कठीन छ। यसपछि उल्लेख हुने तथ्यहरूले यस विषयमा अझ बढ़ी गवाही दिनेछन्। ४९ वर्षको विशेष उत्सवमा १ अतिरिक्त वर्ष थपेर ५० वर्षको विशेष उत्सव बनाइयो। उक्त ५० वर्षलाई ५० ले गुणा गरेमा २,५०० वर्ष हुन्छ। अब अनुमान लगाउनुहोस्, कि आदमको पतनको २,५०० वर्षपछि के भएको थियो ? इस्राएलीहरू मिश्रबाट ठीक त्यही समयमा प्रस्थान गरेका थिए। दासहरूलाई स्वतन्त्र गरिएको त्यो महान् ऐतिहासिक घटना थियो। ८० औँ त्यसप्रकारका उत्सवहरू पार गरेपछि अर्थात् आदमको पतनको ४,००० (८०×५०) वर्ष बितेपछि झन् ठूलो घटना घटेको थियो। त्यो के हो भने, आदमको पापको कारणले बन्धनमा परेको र पतन भएको सृष्टिलाई स्वतन्त्र गर्न ठीक त्यही समयमा येशू क्रूसमा मर्नुभयो।

दु:ख-कष्ट र अपमान

अब कसरी कुनै महिला वा पुरुष मुक्त हुन सक्छ त ? पावल यसरी उत्तर दिन्छन्- “किनभने जो मरेको छ, त्यो पापबाट मुक्त भएको छ” (रोमी ६:७)। हामीहरूको भौतिक मृत्युले सबै संसारिक थोकहरूबाट सदाको लागि पूर्ण रूपमा अलग गर्छ। मरेका व्यक्तिहरूले कुनै पाप गर्दैनन्। भौतिक रूपमा मरेपछिमात्र मानिस पापबाट स्वतन्त्र हुनसक्छ भनी केही व्यक्तिहरू भन्दछन् तर पावल यस विषयमा अर्कै कुरा बताउँछन्। येशूसँगै मरेर, गाड़िएर बौरिउठेपछि मात्र पापबाट स्वतन्त्र हुन सकिन्छ भनी उनी रोमी ६ अध्यायमा बताउँछन्। हामीलाई स्वतन्त्र पार्ने त्यही मृत्युको विषयमा प्रायश्चितको चाड़ले बताउँछ र छाप्रो-वासको चाड़ले चाहिँ पुनरुत्थानको विषयमा बताउँछ।

हाम्रो आत्मिक अनुभवमा त्यो मृत्युले के अर्थ दिन्छ त ? तपाईंले बाइबलमा महान् व्यक्तिहरूको जीवन अध्ययन गर्नुभयो भने, तिनीहरू सबै मृत्यको छाया भएर जानुपरेको कुरा देख्न सक्नुहुन्छ। योसेफ पक्षपातमा परेर दोषी ठहरिएपछि विदेशको खाड़लमा फ्याँकिए, अनि उसका जवान अवस्थाका सबै सपनाहरू चकनाचुर भए। फारोको दाहिने हात भएर आफ्ना मानिसहरूलाई अनिकाल र मृत्युबाट छुटकारा गराउनुभन्दा अघि उनले धेरै दु:ख-कष्टहरू भोग्नुपर्यो।

मोशाले पनि आफ्नो इच्छा र आकंक्षाहरूको मृत्यु भएको कुराको अनुभव गर्न पर्यो। उसले मिश्रको उच्च पदबाट तल झरेर सीनै पर्वतको मरुभूमिमा गोठालोजस्तो तुच्छ ठानिएको काम गर्न पर्यो। त्यो दु:ख-कष्ट र अपमानपछि धर्मशास्त्रमा उल्लेख गरिएको परमेश्वरको शक्ति प्रकट भयो। इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउँदा आफ्नो महान् शक्तिमा परमेश्वरले धेरै आश्चर्यकर्महरू गर्नुभयो त्यसपछि मोशाले बाइबलमा उल्लेख गरिएकाहरूमध्ये सबैभन्दा ठूलो प्रकाश पाए। बाइबलको सुरुको ५ पुस्तकहरू- उत्पत्ति, प्रस्थान, लेवी, गन्ती र व्यवस्था उनीद्वारा नै लेखिएको थियो।

दाऊद इस्राएलको सिंहासनमा विराजमान हुनुभन्दा अघि शाऊलको क्रोधबाट बच्न गुफाहरूमा लुक्नुपर्यो। त्यस समय उनले घर नभएका मानिसहरूसँग सङ्गत गर्नुपर्यो। उनलाई परमेश्वरले उच्च पारेर इतिहासको प्रख्यात राजा बनाउनुभन्दा अघि आफ्नो देश त्यागेर आफ्ना मानिसहरूका शत्रु पलिस्तीहरूसँग बस्नुपर्यो।

आशिष् र उच्च पारिने समय आउनुभन्दा पहिले ती व्यक्तिहरूले धेरै दु:ख-कष्टहरू पाए। तिनीहरूका जीवनमा आएका ती दु:ख-कष्टहरू विनाकारण र विनाउद्देश्यका थिएनन्। परमेश्वरले तिनीहरूका घमण्ड, व्यक्तिगत इच्छा र चाहनाहरूको अन्त्य गर्न दु:ख-कष्टहरूलाई प्रयोग गर्नुभयो। फलस्वरूप तिनीहरूका हृदयमा भएका त्यस प्रकारका संसारिक कुराहरू मरेर गए। त्यसपछि तिनीहरूका आफ्ना जीवन आफ्नै होइन रहेछ भन्ने कुरा तिनीहरूले बुझ्न सके। त्यसपछिमात्र तिनीहरू हरसमय परमेश्वरको निम्ति उपलब्ध हुने उहाँका मानिसहरू बने। तिनीहरूका जीवनमा भएका संसारिक थोकहरूका मृत्यचाहिँ धार्मिकतामा जिउन र परमेश्वरका आशिष्को भागिदार हुन आवश्यक योग्यता थियो।

येशूले उहाँका चेलाहरूलाई संसारिक मान सम्मान खोज्नुहुँदैन भनी सिकाउनुभयो। “तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट निकालिदिनेछन्। वास्तवमा यस्तो समय आइरहेछ, जब तिमीहरूलाई हत्या गर्नेले परमेश्वरको सेवा गर्दैछु भनी ठान्नेछ” (यूहन्ना १६:२)। साँच्चै नै ती चेलाहरूलाई आफैले आराधना गर्ने परमेश्वरको नै सेवा गर्न उत्साही देखिने आफ्नै समाजका मानिसहरूबाट विरोध र तिरस्कार भयो। हामीले बुझ्नुपर्ने कुरा के हो भने, येशूलाई पछ्याउन चाहने व्यक्तिको जीवनमा निश्चित रूपमा दु:ख-कष्टहरू आउँछन्। बाहिरबाट हेर्दा यस प्रकारका दु:ख-कष्ट कसैमा बढ़ी र कसैमा कम देखिन्छ तर हामीलाई कस्तो प्रकारको बाटोबाट हिँडाउन आवश्यक छ भन्ने कुरा परमेश्वरलाई राम्रोसँग थाहा छ। त्यसकारण समस्याहरू आइपर्दा हामी कहिल्यै पनि निरास हुनुहुँदैन। अर्को कुरा के हो भने, हामीभन्दा सजिलो जीवनशैली र फरक बाटोबाट हिँड़िरहेका व्यक्तिहरूसँग आफूलाई तुलना पनि गर्नुहुँदैन। क्यान्सरको रोगीले डाक्टरको छुरालाई स्वागत गरेजस्तो हामीले समस्याहरूलाई स्वागत गर्नुपर्छ। ती सबै समस्याहरू स्वर्गीय पिताले असल उद्देश्य र अभिप्रायसहित उहाँका सन्तानहरूमा पठाउनुभएको हो भनी विश्वास गर्नुपर्छ। हाम्रो जीवनमा भएका पापहरू हटाउन सर्वशक्तिमान् परमेश्वरको त्योभन्दा अर्को तरिका छैन।

दु:ख-कष्टको विषयमा हामीले अर्को विचारधारालाई पनि अपनाउनुपर्छ। त्यो के हो भने, पेन्तिकोसको दिन घरको माथिल्लो तल्लामा जम्मा भएका १२० जना मानिसहरूका ठूलो समूह भोजमा सहभागी भएर दाखमद्यले मातिएकाजस्ता देखिन्थे तर प्रायश्चितको दिनमा चाहिँ प्रधान पूजाहारी एक्लै महा पवित्र-स्थानमा जान्थे। दु:ख-कष्ट आइपर्दा योसेफ, मोशा र दाऊद एक्लै थिए। येशूले क्रूसमा प्राण त्याग्नुभन्दा अघि यसरी कराउनुभयो, “हे पिता, तपाईंले मलाई किन त्याग्नुभएको छ ?” यी घटनाहरूबाट बुझ्नुपर्ने कुरा के हो भने, पेन्तिकोसमा हाम्रो मानिसहरूसँग रमाइलो सङ्गति हुन्छ तर प्रायश्चितको दिनमा चाहिँ परमेश्वरसँग एक्लै हिँड्नुपर्छ।

त्यो प्रायश्चितको गम्भिर दिन यहूदीहरू उपवास बसी आफ्नो हृदय नम्र बनाउँथे। त्यस चाड़को समाप्ति अचम्म प्रकारको हुन्थ्यो। त्यस समय तिनीहरूले क्षमा पाउने मात्र होइन तर सबै पापहरू धोइएर पूर्ण रूपमा स्वतन्त्र हुन्थे र आउनेवाला रमाइलो चाड़को निम्ति तयार हुन्थे। पावल भन्दछन्, कि सृष्टि बड़ो उत्कण्ठाले परमेश्वरका पुत्रहरू प्रकट हुने कुराको प्रतीक्षा गर्छ (रोमी ८:१९)। त्यसैले प्रायश्चितको दिनको सफाइ, शुद्धता र स्वतन्त्रतालाई पार गरेर छाप्रो-वासको चाड़सम्म आइपुग्नेहरू नै परमेश्वरका वास्तविक पुत्रहरू हुन्।

छाप्रो-वासको चाड़

कटनीको चाड़

छाप्रो-वास (झुप्रो-वास) को चाड़लाई अन्न भित्र्याउने चाड़ पनि भनिन्छ (प्रस्थान २३:१६)। यो पूर्ण कटनीको चाड़ हो, जसलाई परमेश्वरका उद्देश्यहरूका पराकाष्टा भन्न सकिन्छ।

यदि किसानले कटनी गर्न पाएन भने उसले गरेको परिश्रमको कुनै महत्त्व हुँदैन। कटनीको समयमा खेतहरू अन्नले भरि-भराउ हुनेछन् भन्ने कुरा थाहा भएकोले नै उसले बढ्दै गरेको अन्न-बालीको खुसीसाथ रेख-देख गर्छ। कटनीविना बीऊ रोप्ने, पानी हाल्ने र झारपातहरू हटाउन गरेको परिश्रमहरू समयको बरबादीमात्र हुन्छ। परमेश्वर किसान हुनुहुन्छ भनी येशूले यसैसँग सम्बन्धित आत्मिक कुरा भन्नुभयो। कटनीमाथि विश्वास नगर्ने व्यक्तिहरूले परमेश्वरका उद्देश्यहरू बुझ्न कठीन छ। त्यस्ता व्यक्तिहरूलाई यी कुराहरूका कुनै मूल्य र अर्थ छैन।

हाम्रो व्यक्तिगत जीवनमा यही सिद्धान्त लागु हुन्छ। जीवनमा घटेका धेरै घटनाहरूका अर्थ हामी बुझ्न सक्दैनौँ। हाम्रो निम्ति निराश र दु:खका परिस्थितिहरू आवश्यक कुराहरू होइनन् जस्ता देखिन्छन्। बोटमा फल नलागेसम्म रमाउन सकिँदैन। हाम्रो व्यक्तिगत कटनीको समय आएपछि सबै कुराहरू फरक हुँदै जान्छन्। हामीले भोगेका परीक्षाहरूका अर्थ र उद्देश्य बुझेपछिमात्र रमाउन र आनन्द मनाउन सकिन्छ।

हाम्रो व्यक्तिगत जीवनभन्दा माथि मण्डलीको फराकिलो स्तरमा पनि यही साँचो सिद्धान्त लागु हुन्छ। परमेश्वरका मानिसहरूलाई हेर्दा धेरै जना अन्यौलमा परेका देखिन्छन्। यहाँ येशूको वचनको केही अंश पूरा भएको देखिन्छ। फसलको समयसम्म दुवैलाई सँगसँगै बढ्न देओ। फसलको बेलामा कटनी गर्नेहरूलाई भन्नेछु, “पहिले सामा उखेलेर जलाउनलाई बिटा बाँध, तर गहूँचाहिँ मेरो ढुकुटीमा राख।” (मत्ती १३:३०)। कहिले काहीँ परमेश्वरका मानिसहरू भेला हुँदा विश्वासी र अविश्वासीहरू सँगै हुन्छन्। कहिले काहीँ हामीभित्र पनि विश्वास र अविश्वासको भावनाहरू मिश्रित रूपमा रहेको पाउँदछौँ।

मण्डलीभन्दा अझ माथि संसारको फराकिलो स्तरमा हेर्ने हो भने अरू धेरै अन्यौलताहरू पाइन्छन्। धेरै अविश्वासीहरूले संसारमा भइरहेका रक्तपात, भोकमरी र विभिन्न दु:ख-कष्टहरूतिर सङ्केत गरी यस्तो प्रश्न गर्छन्- “यस्तो परिस्थितिमा पनि कुनै परमेश्वरको अस्तित्व हुन सक्छ र ?” त्यस्तो अवस्थामा हामी यसरी उत्तर दिन सक्छौँ- “परमेश्वरका उद्देश्य र योजनाहरू कटनीको समयभन्दा अघि लुकिएका हुन्छन्।” जकरिया १४:१६ अनुसार अन्यजातिहरू पनि सर्वशक्तिमान् परमप्रभु महाराजालाई आराधना गर्न र छाप्रो-वासको चाड़ मान्नलाई यरूशलेममा जाने समय आउनेछ। “कि सृष्टि त्यसको आफ्नै विनाशको बन्धनबाट मुक्त गराइनेछ, र त्यसले पनि परमेश्वरका सन्तानको महिमित स्वतन्त्रता प्राप्त गर्नेछ” (रोमी ८:२१)।

पूर्णताको चाड़

छाप्रो-वासको चाड़ सातौँ क्रमको चाड़ हो र यो सातौँ महिनामा नै पर्छ। यो चाड़ सात दिनसम्म रहन्थ्यो र आठौँ दिनमा विशेष गम्भिर सभा गरेर त्यसको अन्त्य हुन्थ्यो। यहाँ सङ्ख्या सात महत्त्वपूर्ण रूपले सम्बन्धित छ। यो आत्मिक पूर्णता र सिद्धताको सङ्ख्या हो। यो चाड़ कटनीको पूर्ण रूप हो जसको सुरुवात पेन्तिकोसबाट हुन्छ। यो चाड़ले येशूमा हाम्रो आत्मिक अनुभवको पूर्णताको प्रतिनिधित्व गर्छ भनी हामीले बुझ्नुपर्छ।

प्रत्येक चाड़ विश्राम अथवा शबाथको समयमा हुन्छ। त्यसैले सातौँ चाड़लाई शबाथहरूका शबाथ अथवा चाड़हरूका चाड़ भन्न सकिन्छ। जसरी महा पवित्र-स्थानचाहिँ पवित्र-स्थानको तुलनामा अझै पवित्र थियो, त्यसैगरी अरू चाड़हरूका तुलनामा छाप्रो-वासको चाड़ महान् चाड़ हो। यस चाड़सँग तुलना गर्दा अरू चाड़हरू सामान्य लाग्छन्।

प्रत्येक चाड़लाई तुरही फुकेर घोषणा गरिन्थ्यो। छाप्रो-वासको चाड़ अति महत्त्वपूर्ण भएकोले यसको अघि आउने तुरही फुक्ने समय आफैमा छुट्टै चाड़ थियो। राजाहरूका राजा भनेको धेरै राजाहरूमध्ये प्रमुख राजा हो। प्रभुहरूका प्रभु भनेको धेरै प्रभुहरूमध्ये प्रमुख प्रभु हो। उत्सवहरूका उत्सव धेरै उत्सवहरूमध्ये विशेष उत्सव हो भन्ने कुरा हामीले बुझिसकेका छौँ। त्यसैले छाप्रो-वासको चाड़को महिमाको तुलनामा अरू चाड़हरूका महिमा फीकाजस्तो देखिन्छ।

हामीहरू परमेश्वरका उद्देश्यहरूका महान् पराकाष्टातिर अघि बढ़िरहेका छौँ भन्ने तथ्य यस कुराबाट हामी बुझ्नसक्छौँ। परमेश्वरले हामीलाई नयाँ करारको समयको मण्डलीको असल अवस्थाबाट फेरि पछाड़ितिर डोर्याउनुहुन्न। उहाँ पहिलेका सबै कुराहरूभन्दा अझ महान् कुराहरूप्रति अघि बढ्दै हुनुहुन्छ।

हामीले छाप्रो-वासको चाड़लाई निस्तार चाड़सँग तुलना गर्नुपर्छ। निस्तार चाड़मा यहूदीहरूले मिश्रमा बसेको समयको स्मरण गर्थे। तिनीहरूलाई मिश्रीहरूका दासी अवस्थाबाट परमेश्वरले मोशाद्वारा छुटकारा गरी स्वतन्त्र गराउनुभयो। तिनीहरूले आफ्नो दासी अवस्था र स्वतन्त्र अवस्थामा के फरक छ भनी तुलना गर्थे। छाप्रो-वासको चाड़मा तिनीहरूले मरुभूमिमा बसेको समयको सम्झना गर्थे। प्रतिज्ञा गरिएको मुलुकमा इस्राएलीहरूसँग बस्ने घर, आफ्नै जमिन र नियमित खाना उपलब्ध थियो तर मरुभूमिमा हुँदा ती कुराहरू एकदमै फरक थिए। तिनीहरू त्यहाँ एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सरिरहन्थे र स्वर्गबाट मन्न पठाउनुहुने परमेश्वरमा भर पर्थे। अब कुनचाहिँ कुरा असल हो ? के स्वर्गबाट पठाइएको मन्न खाएर मरुभूमिमा बस्नु असल हो ? अथवा, परमेश्वरले जुटाउनुभएको इस्राएलको मलिलो भूमिमा बस्नु असल हो ? हामी उत्तर दिन सक्छौँ- "प्रतिज्ञा गरिएको भूमिमा बस्नु नै असल हो।"

मरुभूमिमा घटेका आश्चर्यकर्महरू, सीनै पर्वतको विजुली चम्काइ, चट्टानबाट जोडसित निस्केको पानी र बट्टै चराहरू परमेश्वरले गर्नुभएको अचम्मको प्रवन्धहरू थिए। इस्राएलीहरूका निम्ति ती कुराहरू अनुभव गर्न पाउनु छुट्टै विशेष सौभाग्य थियो। ती कुराहरू मिश्रको दासत्वभन्दा धेरै नै असल थिए तर मरुभूमिचाहिँ परमेश्वरले उहाँका मानिसहरूका लागि बनाउनुभएको योजनाअनुसार स्थाइ ठाउँ थिएन। तिनीहरू त्यो ठाउँ पार गरेर अझ अगाड़ि जानुपर्थ्यो।

इस्राएलीहरू प्रतिज्ञा गरिएको मुलुकमा पुगेपछि स्वर्गबाट आउने मन्न रोकियो। मरुभूमिको आश्चर्यकर्महरू त्यसपछि समाप्त भए। यस कुरासँग मिल्ने आत्मिक अनुभव के हो ? नयाँ करारमा के कुरा रोकिनेछ भनी उल्लेख छ ? “प्रेम कहिल्यै अन्त्य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्द हुनेछन्, ज्ञान टलिजानेछ। हाम्रो ज्ञान अपूर्ण छ, हाम्रो अगमवाणी अपूर्ण छ। तर जब सिद्धताचाहिँ आउनेछ, तब अपूर्णता टलिजानेछ। जब म बालक थिएँ, तब बालकजस्तै बोल्थेँ, बालकले जस्तो विचार गर्थे, बालकले जस्तै तर्क गर्थेँ, तर जब म जवान भएँ, तब वालकको चाल छोड़िदिएँ। अहिले हामी ऐनामा जस्तै धमिलोसँग देख्छौँ, तर त्यस बेलाचाहिँ छर्लङ्ग देख्नेछौँ। अहिले म थोरै मात्र बुझ्दछु, त्यस बेलाचाहिँ पूरै बुझ्नेछु, जसरी म पनि पूर्ण रूपले चिनिएको छु” (१ कोरिन्थी १३:८-१२)।

सिद्धता आएपछि, आत्माको वरदानहरू (अन्यभाषा, ज्ञान र अगमवाणी) बितेर जानेछन् भनी पावल स्पष्टसँग भन्दछन्। आत्माको वरदानहरू हाम्रो आत्मिक कमजोरीलाई माथि उठाई परमेश्वरको क्षेत्रमा अस्थाइ रूपमा लैजाने आकस्मिक उत्प्रेरणाहरू हुन् । ती घटनाहरू एक क्षणको लागि धेरै माथिसम्म पुगेर तुरुन्तै तल झर्ने विद्युतको आकस्मिक उच्च झड्काजस्तो मात्र हुन्। येशूमा यस्तो कुरा कहिल्यै पनि भएन, किनभने उहाँलाई त्यो आवश्यक थिएन। उहाँ परमेश्वरमा नै हुनुहुन्थ्यो। आत्माको ती महत्त्वपूर्ण वरदानहरू परमेश्वरका निम्ति सबैभन्दा असल भने होइनन्। ती कुराहरू अपरिपक्व र ख्रीष्ट तिनीहरूमा वास गर्नुहुन्छ भन्ने कुरा नबुझ्ने व्यक्तिहरूका लागि गरिएका दयापूर्ण प्रवन्धहरू थिए।

पावलले “अहिले हामी ऐनामा जस्तै धमिलोसँग देख्छौँ, तर त्यस बेलाचाहिँ छर्लङ्ग देखिन्छौ” भने। परमेश्वरले मोशाको बारेमा भनेका यी कुराहरू निश्चय उसको मनमा थियो: “जब तिमीहरूका बीचमा परमप्रभुको कुनै अगमवक्ता छ, तब म त्यससँग दर्शनमा आफैलाई प्रकट गर्छु, त्यससँग सपनामा कुरा गर्छु। तर मेरो दास मोशासित म त्यसो गर्दिनँ। त्यो त मेरो सबै घरानामा विश्वासी छ। त्यससँग म गुप्त रीतिले होइन, तर आमनेसामने प्रष्टसँग बात गर्छु, र मेरो स्वरूप त्यसले हेर्छ” (गन्ती १२:६-८)।

मोशा आत्माको प्रेरणादायी वरदानहरूबाट गहिरो ज्ञान र परमेश्वरको अनुभवतिर बढ्दै गएका थिए। पावलले कोरिन्थीहरूलाई पहिलो पत्र लेखेको समय परमेश्वरको अनुभवमा मोशा पुगेको स्थानमा उनी नपुगेको जस्तो देखिन्छ। निश्चय त्यो उनले सुरुमा लेखेको पत्र थियो र यदि बीस वर्षपछि उनले त्यो पत्र लेखेका भए फरक प्रकारले लेख्ने थिए।

उनले झ्यालखानाबाट फिलिप्पीहरूलाई पनि त्यस्तै कुरा लेखेका छन्। “मैले यी सबै अघिबाटै प्राप्त गरिसकेको छु, अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर ती कुराहरूलाई पक्रनको निम्ति म अघि बढ़िरहेको छु, जुन कुराको निम्ति ख्रीष्टले मलाई पक्रनुभयो। भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा काम गर्दछु, कि पछाड़िका कुराहरू बिर्सेर र अगाड़िका कुराहरूतिर जोड़सँग लम्कँदै ख्रीष्ट येशूमा परमेश्वरको स्वर्गीय बोलावटमा पाइने पुरस्कारको निम्ति निशानातिर म जोड़लसँग अगि बढ्दछु” (फिलिप्पी ३:१२-१४)।

'आत्मिक अनुभवमा हामी पावलभन्दा पनि अगाड़ि जान सक्छौँ' भनेर भन्यौँ भने केही व्यक्तिहरूले यस भनाइलाई ईश्वर-निन्दा ठान्न सक्छन्। तर हामीले तिनीहरूलाई यस्तो प्रश्न सोध्नै पर्छ- 'के बाइबलका पात्रहरू सिद्ध छन् ? के तिनीहरूलाई सबै कुरा थाहा थियो ? के तिनीहरूले कहिल्यै तोड्न नसकिने अनन्त आत्मिक रेकर्ड बनाएका थिए ?' हाम्रो परमेश्वर वृद्धि, प्रगति र उन्नतिको परमेश्वर हुनुहुन्छ। पावल दमस्कसको बाटोमा जाँदै गर्दा नाटकीय ढङ्गले परिवर्तन भएका थिए। उनको त्यो अनुभव परमेश्वरसँगको हिँडाइँको सुरुवात थियो। उनी त्यही दिनदेखि बुद्धिमा, समझशक्तिमा र परमेश्वरको ज्ञानमा बढ्न थाले। त्योभन्दा पनि बढी उनी प्रेम, आनन्द र शान्तिमा वृद्धि हुँदै गए। प्रेरितको पुस्तक र उनको पत्रहरूको अध्ययनबाट उनको त्यो वृद्धिको मात्रा पत्ता लगाउन सकिन्छ। उनी वृद्धि हुँदै गएर परमेश्वरका एक असल सेवक बने र उनले आफ्नो जीवनभरि उहाँको सेवा गरे। उनले लेखेका पत्रहरूद्वारा अहिले पनि लाखौँ व्यक्तिहरूका सेवा गरिरहेका छन्। परमेश्वर अहिले पनि वृद्धि, प्रगति र स्पष्ट प्रकाश दिने परमेश्वर हुनुहुन्छ। त्यसैले भविष्यमा पावलभन्दा पनि अगाड़ि जानसक्ने सन्त जन्मन सक्नेछ भन्ने तर्कमा विश्वास गर्न सकिन्छ। यस प्रकारको विचार गर्नु ईश्वरनिन्दा होइन तर स्वभाविक आत्मिक विवेक हो।

सधैँ परमेश्वरसँग सिद्ध सहभागिता गर्दै कसैले नाघ्न नसक्ने गरी असल जीवन जिउने व्यक्ति बाइबलमा येशूमात्र हुनुहुन्छ भन्ने कुरामा म विश्वास गर्छु।

पेन्तिकोसको चाड़ वरदान र चिन्हहरूका क्षेत्रसँग सम्बन्धित छ। यो चाड़ गृष्म ऋतुको सुरुवातमा पर्छ। आत्मिक वरदानहरू आत्मिक फलभन्दा धेरै नै फरक छ। वरदानहरू तुरुन्तै दिइन्छन् तर फल परिपक्व हुन र पाक्न लामो समय लाग्छ। गृष्म ऋतुको तातो वातावरण सही सकेपछिमात्र त्यो पूर्ण अवस्थामा पुग्छ। चिन्हहरू आफैमा कुनै मुल्यका होइनन् तर तिनीहरूले गर्ने सङ्केत र नतिजाचाहिँ वास्तविक मूल्य हो। यी सबै कुराहरू पूर्ण रूपको फल निस्किआउनेछ भन्ने कुराको चिन्हहरू हुन्। पाकेको फल प्राप्त गर्न हामीहरूले गृष्म ऋतुको गरम वातावरण सहनु अति आवश्यक छ।

छाप्रो-वास

छाप्रो-वासको चाड़मा फसल कटनी र राष्ट्रिय सम्झना, यी दुइ मुख्य विषयहरूलाई एक गरिन्छ। त्यो चाड़ सात दिनसम्म मनाइन्थ्यो। “आफ्नो खला र दाखको कोलबाट सबै कुरा बटुलिसकेपछि तिमीहरूले सात दिनसम्म छाप्रो-वासको चाड़ मान्नू” (व्यवस्था १६:१३)। फसल कटनीको काम सकिएपछि त्यो उत्सव मनाउने समय हुन्थ्यो। त्यो चाड़ मनाउने तरिका अलि फरक प्रकारको थियो (यहूदीहरूले यो चाड़ अहिलेको समयमा पुरानो तरिकालाई अलि परिवर्तन गरेर मनाउँछन् )। परमेश्वरले यहूदीहरूलाई खजुर र लहरे-पीपलको हाँगाबाट झूप्रोहरू बनाउनू र सात दिनसम्म ती झूप्रोहरूमा बस्नू भनी भन्नुभयो। तिनीहरूले चालीस वर्षसम्म पालमा बसेर भौँतारिदै हिँडेको सम्झनामा त्यो काम गर्थे।

छाप्रो-वास भन्ने शब्दले पालमा जीविका चलाउने अस्थाइ बसोवासलाई बुझाउँछ। धर्मशास्त्रमा यसले मानव शरीरको चित्रण गर्छ र यस संसारमा मानिसको जीवन छोटो छ भन्ने कुरालाई पनि प्रतिविम्वित गर्छ। हाम्रो शरीर छाप्रो-वासजस्तै हो भनी पावल बताउँछन्। यूहन्ना १:१४ ले यसो भन्दछ, "अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो "'उहाँ हामीमा छाप्रो-वास जस्तै गरी बस्नुभयो' भन्ने यो पदको पछिल्लो खण्डको वास्तविक शाब्दिक अर्थ हुन्छ। ‘येशू मानिसको शरीरमा अस्थाइ रूपमा बस्नको लागि मात्र आउनुभएको थियो’ भन्ने यो पदको अर्थ हुन्छ। उहाँ छाप्रो-वासको चाड़को समयमा नै जन्मनुभएको थियो भन्ने बारेमा बलियो प्रमाणहरू पाइन्छन्। यी सबै कुराहरूले के देखाउँछन् भने, छाप्रो-वासको चाड़को महिमाहरू मानिसको यही जीवनमा पूरा हुनुपर्दछ। परमेश्वरका सन्तानहरू मानवीय शरीरमा नै हुँदा, उहाँ तिनीहरूको जीवनमा वास गर्नुहुन्छ। यो चाड़ले भविष्यमा हुने स्वर्गीय महिमाहरूको विषयमा बताउँदैन तर यही पृथ्वीमा हुने महिमाको बारेमा बताउँछ। भविष्यमा हामीले हाम्रो मरणशील शरीरहरूलाई छोड़ेपछिको अवस्था पक्कै पनि अहिले हामीले कल्पना गर्नेभन्दा धेरै नै असल हुनेछ तर अहिले मानवीय शरीरको अवस्थामा नै अनुभव गर्न सकिने महिमाहरूका विषयमा छाप्रो-वासको चाड़ले बताउँछ।

आफ्नो मृत्युभन्दा केही समयअघि येशूले उहाँ र उहाँको पिता आएर तिनीहरूमा वास गर्नुहुनेछ भनी चेलाहरूलाई भन्नुभयो। ‘परमेश्वर र हामीमा हामी उहाँमा वास गर्ने’ महत्त्वपूर्ण कुरा नै परमेश्वरमा हामीले अनुभव गर्ने अति उत्तम कुरा हो। दुइ वटा फरक तरल पदार्थहरू एक आपसमा मिसिएर एक हुन्छन् अनि तिनीहरूले पहिलेको परिचय गुमाउँछन्। ती दुई पदार्थहरू एक भइसकेपछि तिनीहरूलाई चिन्न नै सकिँदैन। चियामा दुध मिसाएपछि, ती दुबै वस्तुहरूले आफ्नो सुरुको परिचयलाई गुमाउँछन् र दुध चियामा हो कि चिया दुधमा हो भनेर छुट्ट्याउन सकिँदैन। येशू र हाम्रो सम्बन्ध पनि यस्तै प्रकारको हुन्छ। उहाँ र हामी एक भएपछि मानिसहरूले हामीलाई हेर्दाखेरि उहाँलाई देख्नेछन्।

जिउँदो पानी

नयाँ करारमा छाप्रो-वासको चाड़को विषयमा यूहन्ना ७ अध्यायमा मात्र उल्लेख गरिएको पाइन्छ। त्यो अध्यायको सुरुवातमा उहाँका चेलाहरूले कर लगाउँदा पनि येशू चाड़ मनाउन यरूशलेम जान मान्नुभएन, तर समय अझै अएको छैन भनी उहाँले तिनीहरूलाई भन्नुभयो। चाड़को समय आधाजसो बितिसकेपछि मात्र उहाँ यरूशलेममा देखा पर्नुभयो र चाड़को अन्तिम तथा प्रमुख, विशेष दिनमा उहाँले अचम्मको घोषणा गर्नुभयो : “यदि कोही तिर्खायो भने त्यो मकहाँ आओस् र पिओस्। जसले ममाथि विश्वास गर्दछ, धर्मशास्त्रले भनेअनुसार त्यसको अन्तस्करणबाट जिउँदो पानीका खोलाहरू बगिनिस्कनेछन्” (यूहन्ना ७:३७,३८ )।

येशूले हामीभित्र भएको जीवनको श्रोतको विषयमा स्पष्ट गरी बताउनुहुन्छ। उक्त कुरा उहाँ हामीभित्र नै वास गर्नुहुन्छ भन्ने कुराको प्रत्यक्ष नतिजा हो। आशिष् पाउनको लागि हामीले मानिसहरूलाई अरू कुनै बाहिरी श्रोततिर लैजानु आवश्यक छैन। कहिले काहीँ मानिसहरूले आत्मिक लाभ पाऊन् भन्ने हेतुले हामी उनीहरूलाई भेटघाट, सङ्गति, सम्मेलन वा यस्तै अरू आत्मिक ठाउँहरूमा जान र असल पुस्तकहरू पढ्न प्रोत्साहन दिन्छौँ। तर दु:ख लाग्दो कुरा के हो भने हामीभित्र नै भएको जीवनको श्रोतले तिनीहरूका आवश्यकताहरू पूरा गर्न सकेको छैन।

परमेश्वरसँगको हाम्रो सुरुको अवस्थामा हामी चन्द्रमाजस्तै हुन्छौँ। चन्द्रमाले सूर्यको प्रकाशलाई प्रतिविम्वित गरी मधुरो प्रकाश पृथ्वीमा पठाउँछ। आफ्नै महिमा नभएकोले हामीले परमेश्वरको महिमा प्रतिविम्वित गर्छौं। कुनै साँचो ज्योति नभएकोले, हामी सूर्यको ज्योति अरूहरूलाई प्रदान गरिदिन्छौँ। अन्धकारभन्दा चन्द्रमाले दिने प्रकाश असल हो तर सूर्यले दिने तेजिलो प्रकाशको तुलनामा त्यो केही पनि होइन। सूर्यको ज्योतिले उज्यालो र न्यानोमात्र दिनेमात्र होइन निको पार्ने काम पनि गर्दछ। येशूले निरन्तर बग्ने जिउँदो पानीको विषयमा बताउनुभयो। बग्ने भन्नाले निरन्तर भइरहने प्रकृयालाई बुझाउँछ। नदी दिन-रात नरोकीकन बगिरहन्छ। यसरी बगिरहनु प्रकृतिको स्वभाविक नियम हो। त्यस्तै प्रकारले येशूबाट पनि कहिले नरोकिने जिउँदो पानी उहाँको वरिपरि भएकाहरूले प्रशस्त रूपमा पाउने गरी निरन्तर बगिरहन्छ भन्ने कुरामा म विश्वस्त छु। छाप्रो-वासको चाड़मा उहाँलाई खोज्ने र पछ्याउनेहरूलाई यो उहाँको प्रतिज्ञा हो।

जब जीवनको पानी पूरा बेगसँग परमेश्वरका पुत्रहरूबाट बाहिर निस्कन्छ, तब प्रकाशको पुस्तकको अन्तिम अध्यायमा यूहन्नाले देखेको दर्शन पूरा हुनेछ। त्यसैले यो संसारको राष्ट्रहरूको चङ्गाइ र निको हुने समय आउन बाँकी नै छ।

निष्कर्ष

परमेश्वरले उहाँका दास मोशाद्वारा इस्राएलीहरूलाई दिनुभएका सातवटा चाड़हरूका विषयमा हामीले अध्ययन गरेका छौँ। प्रत्येक चाड़को आत्मिकी अनुभवबाट भएर हामी अघि बढ्नुपर्छ भन्ने कुरा हामीले थाहा गरेका छौँ। त्यो कुरा आंशिक सत्यता मात्र हो, तर पूर्ण सत्यता भने होइन। ठूलो भवन बनाउनको लागि त्यसलाई थाम्ने बलियो जग निर्माण गर्न अति आवश्यक हुन्छ। परमेश्वरसँगको निरन्तर हिँडाइमा हाम्रो आत्मिक जग अपरिवर्तनशील रहँदैन तर त्यो झन्-झन् बलियो हुँदै जान्छ। हामीले निस्तार चाड़लाई कहिल्यै पछाड़ि छोड्नु हुँदैन। हामीले हाम्रो मुक्तिलाई अझ गहिरोसँग अनुभव गर्दै जानुपर्छ। पेन्तिकोसको अनुभव र वरदानहरू हराएर जाँदैनन् बरु त्यसको सट्टामा ती कुराहरू परमेश्वरसँगको निरन्तर अनुभवमा झन् सुदृढ हुँदै जान्छन्।

परमेश्वरका महान् महिमा र कामहरू अगाड़ि पनि छन् भन्ने कुरा थाहा गरेर हामी अघि बढ्नुपर्छ। हामीले विगतका महिमाहरूलाई फेरि अनुभव गर्ने कोसिस गर्नु हुँदैन र वर्तमान समयमा हामीसँग भएका राम्रा कुराहरूमा अड्किएर बस्नु पनि हुँदैन। अहिले हामीसँग भएका राम्रा कुराहरूलाई सजिलै त्याग्न सक्नुपर्छ, अनि मात्र भविष्यमा अझ असल र उत्तम कुराहरू प्राप्त गर्न सक्नेछौँ। त्यसैले हामी येशू ख्रीष्टमा रहेर परमेश्वरका महान् बोलावटको पुरस्कार पाउन पावलजस्तै निसानातिर अघि बढ्दै जानुपर्छ (फिलिप्पी ३:१४)।


यो पुस्‍तकलाई रंगिन [Color] छाप्‍ने फाइल

यो पुस्‍तकलाई श्‍याम-स्‍वेत [Black & White] छाप्‍ने फाइल

कसरी छाप्ने