बेबिलोन

बेबिलोनको उत्‍पत्ति

बाइबलको पहिलो पुस्‍तक उत्‍पत्ति र अन्‍तिम पुस्‍तक प्रकाशमा हामी बेबिलोन शहरको बारेमा पढ्छौँ। उत्‍पत्तिले हिब्रू नाउँ बाबेल चलाएको छ भने प्रकाशले ग्रीक नाउँ बेबिलोन चलाएको छ। बाबेल र बेबिलोनको विषय एउटै छ, जुन हामी सोझै धर्मशात्रबाट हेर्न सक्‍छौँ। यसको उद्‍गमचाहिँ उत्‍पत्ति ११अध्‍यायमा उल्‍लेख गरिएको छ। यशैयाका दुई अध्‍यायहरू- १३ र १४ अनि यर्मियाका दुई लामा अध्‍यायहरू- ५० र ५१ले बेबिलोनको इन्‍साफको बारेमा विस्‍तृत रूपमा बताएको छ। दानिएलको पुस्‍तक बेबिलोनमा लेखिएको थियो। एज्रा, नहेम्‍याह, हाग्‍गै र जकरियाका पुस्‍तकहरूमा मुख्‍यत: बेबिलोनबाट फर्किएको र यरूशलेमको पुन: र्निमाणबारे लेखिएको छ। प्रकाशको पुस्‍तकको अन्‍त्‍यतिर बेबिलोनको इन्‍साफ र विनाशको वर्णनले भरिएको दुई पूर्ण अध्‍यायहरू (१८ र १९) पाउँछौँ। अन्‍त्‍यमा, प्रकाश १८: ४,५ मा बाहिर निस्‍कने आज्ञा दिइएको छ: “हे मेरो मानिस हो, त्‍यसबाट निस्‍केर आओ। त्‍यसका पापसँग तिमीहरूको केही सङ्गत हुन नपाओस्। त्‍यसका विपत्तिहरू तिमीहरूले भोग्‍न नपरोस्। किनभने त्‍यसका पापहरू स्‍वर्गसम्‍मै चुल्‍लिएका छन् र परमेश्‍वरले त्‍यसका अधर्महरू सम्‍झनु भएको छ।” यदि हामीले बाबेल अथवा बेबिलोन के हो भनी जानेनौँ भने, त्‍यसलाई मान्‍न त परै जाओस् बुझ्‍न पनि सक्‍ने छैनौँ।

यस विषयमा ‘नियमित मण्‍डली गई’ प्रभुभोज, बप्‍तिस्‍मा र थुप्रै शीर्षकहरूसँग परिचित हुनुभन्‍दा अन्‍य धेरै गम्‍भीर शिक्षाहरू उल्‍लेख छन्। परमेश्‍वरले धर्मशास्‍त्रमा जोड दिएर राख्‍नुभएको कुराहरूप्रति हामीले बेवास्‍ता देखाउनु हुँदैन। आउनुहोस् हामी उत्‍पत्ति ११ अध्‍याय पढेर अझ सावधानीपूर्वक घटनाहरूलाई जाँच गरौँ।

परमेश्‍वरको वचन र मानिसको योजना

यस ऐतिहासिक विषयमा हामीले जान्‍नुपर्ने तथ्‍य कुराहरूमध्‍ये यो काम गर्ने परमेश्‍वरले आज्ञा दिनुभएको थिएन। यो सबै मानिसको आफ्‍नो विचारअनुसार भएको थियो। उत्‍पत्तिको अर्को अध्‍याय ज्‍यादै भिन्‍न प्रकारको छ। परमप्रभुले अब्राहामलाई भन्‍नुभयो, “जा”, , भन्‍ने वचनहरूसँग सुरु हुँदछ। अब्राहामले कल्‍दीहरूको ऊर भन्‍ने ठाँउमा जान तिनको आफ्‍नै प्रयत्‍न नभै परमेश्‍वरको आज्ञामा भएको थियो। हुनसक्‍छ तिनी आफ्‍नो इच्‍छा विपरित निस्‍के होलान् तर तिनलाई परमेश्‍वरले आशिष् दिनुभयो र अहिले इतिहासकै महान् पात्रको स्‍थानमा राख्‍नुभएको छ। मोशाले तिनको आफ्‍नै प्रयत्‍नमा इस्राएलीहरूको उद्धार गर्न खोज्‍दा तिनी तुरुन्‍तै समस्‍यामा परे र मिद्यानतर्फ भाग्‍न बाध्‍य भए। ४० वर्षपछि तिनी आफ्‍नो इच्‍छा विपरित फर्किए, तर परमेश्‍वरको आज्ञामा तिनले शक्तिशाली उद्धारको कार्यलाई पूरा गरे। परमेश्‍वरको आज्ञामा काम गर्नेहरू र आशिषित हुनेहरूको अन्‍य थुप्रै घटनाहरू छन्। परमेश्‍वरले उहाँको आफ्‍नै योजनालाई मात्र आशिष् दिनुहुन्‍छ। येशूले भन्‍नुभयो, “मेरो पिताले नरोपेको हरेक बोट उखेलिनेछ”(मत्ती १५:१३)। हामी त्‍यस पदलाई यस पदसँग तुलना गर्न सक्‍छौँ,“देहबाट जन्‍मेको देह हो र आत्‍माबाट जन्‍मेको आत्‍मा हो” (यूहन्‍ना ३:६) । परमेश्‍वरले आफ्‍नै इच्‍छाले गर्नु भएको कामलाई मात्र आशिष् दिनुहुन्‍छ। येशूको जीवनको सार्थकता भन्‍नु नै उहाँले बोल्‍नुभएका हरेक वचन र गर्नु भएका हरेक काम उहाँका पिताको मनबाट (योजनाबाट) आएको थियो।

यहून्‍नाको पुस्‍तकको सुरु यी वचनबाट हुँदछ, “आदिमा वचन थियो.....सबै थोक उहाँबाट हुनआए” (यूहन्‍ना १:१)। उत्‍पत्तिको पहिलो अध्‍यायले परमेश्‍वरको वचनमा उहाँको सिर्जनशील शक्तिको महानता देखाएको छ। उहाँले वचन बोल्‍नुहुँदा संसारको सृष्‍टि भयो, उहाँ मौन बस्‍नुहुँदा केही पनि भएन। परमेश्‍वर अब्राहामसँग बोल्‍नुहुँदा अब्राहामले पनि प्रतिक्रिया देखाए र यही नै सबै मानव जातिको लागि परमेश्‍वरको महान् उद्धारपूर्ण योजनाको आरम्‍भ थियो। बाबेल धरहराको महान् मानवीय काम चाँडै नै धराशायी भयो।

निर्माणका सामग्रीहरू

यस कथामा हामीले देख्‍ने अर्को कुराचाहिँ निर्माण सामग्रीको छनौट हो। “लौ, हामीहरू ईंट बनाएर पोलौँ।” यी ईंटहरूको अर्थ छ। पहिलो- तिनीहरू माटोबाट बनेको हुन्छन् ‍‍अनि माटोको अर्थ मानवीय स्‍वभाव हो। धर्मशास्‍त्रमा माटोको भाँडोमा ईश्‍वरीय महिमा रहेको राम्रो प्रतीकात्‍मक अर्थ छ; तर माटो र मानवीय स्‍वभाव, निर्माण सामग्रीजस्‍तै पूर्णत: गलत छ। वेदी र पुरानो नियमको मन्‍दिर प्राकृतिक वस्‍तु- ढुङ्गाद्वारा बनेको थियो तर मानवबाट थिएन।

दोस्रो- ईँटहरू असङ्ख्‍य उत्‍पादन गरिएका हुन्‍छन्। प्राय: तिनीहरू सबै एउटै आकार-प्रकारका हुन्‍छन्। अक्‍सर मानव धर्मको परिणाम पनि यस्‍तै हुन्‍छ। यसको सबै उत्‍पादनहरू एउटै र मिल्‍दो-जुल्‍दो देखिन्‍छ। संसारका मानिसहरू सबैजना एक अर्कासँग समान (एक रूपता) हुन चाहन्छन्। तिनीहरू यस्‍तै समूहको शिक्षालाई पालन गर्नमा आफैलाई सुरक्षित ठान्‍दछन्। हामीले धर्मशास्‍त्रमा खोज्‍यौँ भने परमेश्‍वरका कुनै पनि जनहरू एकै प्रकारका देख्‍दैनौँ। नूहले जहाज बनाए, अब्राहाम पालमा बसे, यूसुफ प्रधान मन्‍त्री भए, मोशाले आफ्‍नो मानिसहरूको उद्धार गरे र दाऊद परमेश्‍वरको सामु नाच्‍ने राजा थिए। नयाँ नियममा हामी पत्रुस, पावल र यहून्‍नामा भिन्‍ना-भिन्‍नै चरित्र र सेवकाइ भएको पाउँछौँ। तिनीहरू असङ्ख्‍य र समान रूपमा तयार भएका थिएनन्। तिनीहरू पवित्र आत्‍माद्वारा काँट-छाँट गरी निर्माण गरिएका र आत्‍मिक रूपमा आफ्‍नो मुक्तिदाताजस्‍तै थिए। तिनीहरू संसारसँग एकै समानका थिएनन्। बरु तिनीहरू ता परमेश्‍वरको पुत्रको स्‍वरूपमा परिवर्तन भएका थिए। परमेश्‍वर भिन्‍ना-भिन्‍नै आकार-प्रकारका जीवित ढुङ्गाहरूद्वारा मन्‍दिर निर्माण गर्दै हुनुहुन्‍छ, किनकि उहाँ निपुण कर्मी हुनुहुन्‍छ र तिनीहरू सबैलाई आपसमा ठीकसँग जोड्नुहुन्‍छ। कसैले कसैको स्‍थानप्रति शतुत्रा राख्‍ने छैनन् तर प्रत्‍येक आ-आफ्‍नो स्‍थानमा मात्र टम्‍म मिलेर रहने छन।

तेस्रो, यी इँटहरू कडा बनाउने उद्देश्‍यले पोलिएका थिए। यसरी कुनै एउटा धार्मिक सम्‍प्रदायको सदस्‍यको अवस्‍था देख्‍दा दु:ख लाग्‍छ, तिनीहरू इँटाका पर्खालजस्‍तै हुन्। कडा गरी पोलिएको र सबै बाहिरी प्रभावहरूको विरोध गर्नलाई कठोर बनाइएको हुन्‍छ। परमेश्‍वरका साँचो सन्‍तान बलियो हुन्‍छन् तर कठोर हुँदैनन्। तिनको सामर्थ्‍य भन्‍नु नै पवित्र आत्‍माको आन्‍तरिक सामर्थ्‍य हो। तिनलाई आफ्‍नो आत्‍मिक जीवन जोगाउनको लागि छेड्न नसक्‍ने ढालको आवश्‍यकता पर्दैन। तिनको आत्‍मविश्‍वास परमेश्‍वरमा हुन्‍छ।

इँटहरूलाई साधरण रूपमा एउटामाथि अर्को थुपार्दै जाने हो भने, निश्‍चय त्‍यो ढल्‍छ। तिनीहरू आपसमा गाँसिएको हुनैपर्छ। तिनीहरूले सिमेन्‍टको सट्टामा अलकत्रा प्रयोग गरेका थिए। सुलेमानले बनाएको मन्‍दिरमा सिमेन्‍ट प्रयोग गरिएको थिएन। निर्माणका ढुङ्गाहरू ठीकसँग परस्‍परमा मिलेका थिए। आत्मिक एकता नभएको कारणले गर्दा बेबिलोनी धर्मले विभिन्न किसिमले मानवीय एकता बनाउने र त्यसलाई सुरक्षित राख्ने प्रयास गरेको थियो । यस्‍ता मण्‍डलीहरूले आफ्‍ना मानिसहरूलाई अधीनमा राख्‍न बलिया अगुवाहरूको आवश्‍यकता पर्छ। तिनीहरूले सैद्धान्‍तिक भिन्‍नताहरूलाई छुट्याउने लामा-लामा सम्‍मेलनहरूको आयोजना गर्छन् र आफ्‍नो झुण्‍डबाट छुट्टिएर जानेहरूमाथि जुनसुकै दवाब दिन पनि पछि पर्दैनन्। परमेश्‍वरका साँचो सन्‍तानहरूका लागि यो कति धेरै भिन्‍न छ त ? तिनीहरूमा एकता छ र तिनीहरूको हृदयमा भएका परमेश्‍वरको प्रेमद्वारा तिनीहरू एकसाथ बस्‍न सक्‍छन्। तिनीहरू एउटै आत्‍माद्वारा संयुक्त भएका छन्। तिनीहरूलाई न जात, न वर्ग, न उमेर न ता लिङ्गले नै विभाजन गर्नसक्‍छ। तिनीहरूलाई न ता कुनै मानवीय पर्खालले एक हुनदेखि रोक्‍न सक्‍छ। तिनीहरू पवित्र आत्‍माद्वारा एउटाले अर्कोलाई प्रेम गर्न सिकाइएका छन्।

शहर

४ पदमा हामी निर्माताहरूको योजना र अभिप्रायबारे पढ्दछौँ, “लौ, हामी आफ्‍ना निम्‍ति शहर र टुप्‍पा स्‍वर्गसम्‍मै भएको धरहरा बनाएर आफ्‍नो नाउँ राखौँ, नत्रता हामीहरू पृथ्‍वीभरि जताततै छरिनुपर्नेछ।” यसरी, तिनीहरूले शहर बनाउने उद्देश्‍य राखे।

धर्मशास्‍त्रमा कयिन पहिलो शहर निर्माता थिए (उत्‍पत्ति ४:१७) र तिनी झुटो धर्मको संस्‍थापक पनि भए। तिनले आफ्‍नो कमाइको फल चढाए, जुन भेटीलाई परमेश्‍वरले स्‍वीकार्नु भएन। धर्मशास्‍त्रको दोस्रो शहर निर्माता हामको नाति निम्रोद थिए, जुन नाउँको अर्थ हो ‘बागी’। वास्‍तवमा उत्‍पत्ति १०:१० लाई हेर्दा, तिनी बाबेल निर्माण गर्नेहरूका प्रमुख अगुवा भएको देखिन्‍छ। तिनले यस पाठबाट कहिल्‍यै केही सिकेनन, तर आफ्‍नो बागीपनमा निरन्‍तर अन्‍य शहरहरू पनि बनाउँदै गए। परमेश्‍वरले आदम र त्‍यसपछि नूहलाई आफ्‍नो सन्‍तानले पृथ्‍वी भरिने आज्ञा दिनुभएको थियो। र एकै ठाउँमा भेला भइ बस्‍नुचाहिँ उहाँको योजना विपरित थियो। तिनीहरूले किन त्यसो गरे ? कारण तिनीहरू आफू सुरक्षित हुन चाहन्‍थे। प्राचीन शहरहरूमा सुरक्षाको लागि सधैँ पर्खालहरू हुन्‍थे। कयिनले हाबिलको हत्‍या गरेको दिनदेखि तिनी आफ्‍नो जीवन सधैँ डरमा बिताउँथे (उत्‍पत्ति ४:१४)। तिनी सुरक्षा र संरक्षण पाउन चाहन्‍थे, तर त्‍यसको लागि तिनले परमेश्‍वरमा भरोसा गर्न सकेनन्। कयिनजस्‍तै निम्रोद पनि विरोधी आचरण भएका मानिस थिए (उत्‍पत्ति १०:८,९)। तिनी आफ्‍नै दुष्‍ट कामको फलबाट आफूलाई सुरक्षित राख्‍नको लागि केही बनाउन चाहन्‍थे। तर हाम्रो लागि त, “परमेश्‍वर नै बलियो किल्‍ला र बल हुनुहुन्‍छ”।

अब्राहामचाहिँ कयिन र निम्रोदभन्‍दा विपरित थिए। उनी ऊर, प्राचीन जगतको सबैभन्‍दा विकसित शहरमध्‍ये एकमा, सुरक्षित जीवन विताइरहेका थिए। परमेश्‍वरले तिनलाई आफ्‍नो देश, कुटुम्‍ब र बाबुको घर छोड भन्‍नुभयो र तिनी आज्ञा पालग गरी हिँडे। शेम, नूहको छोरा लगाएत तिनका पाँच पुर्खाहरू पनि जीवितै थिए अनि सम्‍भवत: त्‍यहीँ नै बसोबास गरिरहेका थिए। तिनीहरू असल र विश्‍वासयोग्‍य नै भए तापनि अब्राहामले, परमेश्‍वरको आज्ञामा तिनीहरूलाइ त्‍यागे। हामी यसको व्‍याख्‍या हिब्रू ११: १०, १३-१६ मा पढ्छौँ। तिनले स्‍वर्गीय शहरको दर्शन पाएका थिए र यस सांसारिक नक्कली कुराहरूमा सन्‍तुष्‍ट हुन सक्‍दैनथे। ऊर शहरको देख्‍न सकिने रक्षाभन्‍दा परमेश्‍वर नै तिनको महा‍‍‍ सुरक्षा हुनुहुन्‍थ्‍यो। तिनले आफ्‍ना नातेदारहरूको सङ्गतिमा रही रहनको लागि परमेश्‍वरसँगको सङ्गतिलाई बलिदान दिन सकेनन्। तिनको विश्‍वासको आँखाले स्‍वर्गीय यरूशलेम देखे र तिनले सांसारिक शहरहरूलाई तुच्‍छ ठाने। पछि, जब लूत सदोम शहरमा बस्‍न गए, अब्राहाम आफ्‍नो पालमा नै बसे किनकि तिनले अझ असल कुरा देखेका थिए, यसरी तिनी विश्‍वासको पिता बने। यो पवित्र शहर, नयाँ यरूशलेम, जसलाई तिनले देखे, त्‍यो माटोको इँटमाथि इँट राखेर बनेको जस्‍तो हुने थिएन। त्यो त स्‍वर्गबाट परमेश्‍वर दुलाहाको निम्‍ति सिङ्गारिएकी आउने दुलहीजस्‍तो हो (प्रकाश २१:२)।

महानता

‍‍‍

अब तिनीहरूले बनाउन प्रयास गरेका धरहरालाई विचार गरौँ। ‘मीगडोल’ : धरहराको लागि चलाइने हिब्रू शब्‍द मीगडोल जसको शाब्‍दिक अर्थ केही महान् कुरा हुन्‍छ। हामी यसलाई “महानता” भन्‍न सक्‍छौँ। तिनीहरूले केही ठूला कुरा बनाएका थिए।

धर्मशास्‍त्रमा दुईवटा “महानताहरू” छन्। पहिलो, परमेश्‍वरको महानता हो जुन उहाँले छान्‍नुभएकाहरू र उहाँका अगाडि नम्रतामा हिँड्नेहरूलाई दिनहुन्‍छ। उत्‍पत्ति १२:२ मा परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “म तँबाट एउटा ठूलो (महान्)जाति खडा गर्नेछु ........तेरो नाउँ प्रसिद्ध (महान्) गराउनेछु।” अब्राहमले यस महानताको लागि कुनै परिश्रम गरेनन्। त्यो त तिनको मृत्‍युभएको लामो समयपछि मात्र प्रकट भयो। यूसुफले मिश्रमा महानता पूर्वक उन्‍नति गरे तर तिनले आफ्‍नै प्रयत्‍नद्वारा होइन, परमेश्‍वरले नै तिनलाई उच्‍च पार्नुभयो। परमेश्‍वरले इस्राएललाई दाऊदको नेतृत्‍वमा विजय दिनहुँदा तिनी महान् बनिन्। येशूले आफैलाई नम्र तुल्‍याउनुभयो र मृत्‍युसम्‍मै आज्ञाकारी हुनुभयो, परमेश्‍वरले उहाँलाई त्‍यो उच्‍च नाउँ प्रदान गर्नुभयो, त्‍यही येशूको नाउँमा हरेकले घुडाँ टेक्‍नुपर्छ (फिलिप्पी २:८-१०)

दोस्रो, महानताले आफैलाई परमेश्‍वरको विरुद्धमा उच्‍च पार्छ। गोल्‍यत खडा भई जीवित परमेश्‍वरको सेनालाई युद्धका निम्‍ती हाँक दिए। शाऊल राजा, अन्‍य मानिसहरूको तुलनामा आफू महान् भएको अभिमानले भरिए; यसरी तिनी घमण्‍डले फुलिए र परमेश्‍वरले तिनलाई राजा हुनबाट इन्कार गर्नुभयो। नबुकदनेसरले बाबेल प्रान्‍तको मैदानमा साठी हात उचाइ र छ हात चौडाइ भएको सुनको मूर्ति खडा गरे। पछि तिनले अहंकार गर्दै भने, “के यो त्‍यही महान् बाबेल होइन जो मैले ठूलो शक्तिले मेरो महोत्तम र गौरवको निम्‍ति निवासस्‍थान बनाएँ?”(दानिएल ४:३०)।तिनको बोलि मुखबाट निस्‍कि नसक्‍दै तिनले आफ्‍नो राज्‍याधिकार गुमाइसकेका थिए र सात वर्षसम्‍म जनावरजस्‍तै घाँस खान मानिसका समाजबाट बाहिर धपाइए। अन्‍त्‍यमा तिनले थाहा गरे, कि परमेश्‍वर जसलाई इच्‍छा गर्नुहुन्‍छ, त्‍यसैलाई शासन र राज्‍यको अधिकार दिनुहुन्‍छ। फेरि प्रकाशको पुस्‍तकमा हामी यसरी पढ्छौँ, “रहस्‍य, पृथ्‍वीका वेश्‍याहरू र घृणित कुराहरूकी आमा, महान् बेबिलोन !” (प्रकाश १७:५)।

नाउँ

तिनीहरूले भने, “आओ, हामी आफ्‍नो निम्‍ति एउटा नाउँ राखौँ” यो ठट्टाजस्‍तै हो ! मैले बाइबल भरि नै जानेको एउटा मात्र कथा यही हो जहाँ यतिका मानिसहरूमध्‍ये कुनै एकजना मानिसको नाउँ पनि लेखिएको छैन भनी विश्‍वास गर्छु। हामीले पढ्ने सर्वनाम मात्र हो “तिनीहरू”, तिनीहरू सबैका नाम बिर्सिएका छन्। जबकि आज चार हजार वर्षपछि पनि अब्राहामको नाउँ विश्‍वभरिमै प्रख्‍यात छ। एज्रा र नहेम्‍याहको पुस्‍तकमा यतिका लामो नाउँहरूको सूची किन दिइएको हो भनी तपाईंलाई अचम्‍म लाग्‍दैन ? यी ति मानिसहरू हुन् जसले बेबिलोन त्‍यागे, जसको हृदय यरूशलेममा स्‍थापित गरिएको थियो र सबै जनाले पढुन् भनेर परमेश्‍वरले तिनीहरूको नाउँ आफ्‍नो पुस्‍तकमा राख्‍नुभयो। धर्मशास्‍त्रहरू कति सिद्ध छन्, ति लेख्‍ने मन कति उदेकका छन् !

मानिसलाई नाउँ राख्‍न कति धेरै मन पर्छ ? झुण्‍डको नाउ, कुनै अगुवा वा सिद्धान्‍त, यस्‍तो समूह जससँग संमलग्‍न हुनु वा एउटा परिचय दिने नाउँले स्‍वीकारीएको हुन चाहानु। येशूलाई यस्‍तै कुराको अभाव थिएन र ? “हामी जान्‍दछौँ मोशासित परमेश्‍वर बोल्‍नुभएको थियो, तर यसलाई त हामी जान्‍दैनौँ, यो कहाँको हो ?” (यहून्‍ना ९: २९)। तपाईंले परमेश्‍वरलाई राम्ररी चिन्‍नु भएको छ भने, आफ्‍नो झुण्‍ड सुरक्षित भएर सङ्गति गर्नलाई तपाईं कुनै मानिस, कुनै एउटा अगुवा, सम्‍प्रदाय वा मण्‍डलीको नाउँ सोध्‍नु हुन्‍न। पत्रुसले त्‍यस तरिकाले येशूलाई चिनेका थिएनन्, तर तिनले भने, “तपाईं जीवित परमेश्‍वरका पुत्र ख्रीष्‍ट हुनुहुन्‍छ,” येशूले भन्‍नुभयो, “स्‍याबास पत्रुस, किनभने मानिसबाट तिमीलाई यो प्रकट गरेको होइन, तर मेरा स्‍वर्गमा हुने पिताले गर्नुभएको हो” (मत्ती १६: १७)।

तपाईंले जति धेरै येशूको नाउँलाई प्रेम गर्न सिक्‍नुहुन्‍छ, त्‍यही अनुपातमा व्‍यक्ति, समूह र सम्‍प्रदायहरूको नाउँलाई अप्रिय मान्‍नुहुनेछ। तपाईं जति धेरै उहाँलाई प्रेम गर्नुहुन्‍छ, त्‍यही प्रेमको आधारमा अरूहरूसँग तपाईंको सङ्गति र सम्‍बन्‍ध घनिष्‍ट भएको हुन्‍छ। “किनकि स्‍वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन्, जसबाट हामीले उद्धार पाउन सक्‍छौँ” (प्रेरित ४:१२)। जति धेरै हाम्रा लागि उहाँको नाउँ मूल्‍यवान हुँदछ, त्‍यति नै धेरै अन्‍य नाउँहरू निरर्थक हुन्‍छन्। येशूलाई प्रेम गर्नेहरूसँग “म पावलको हुँ, र म अपोल्‍लसको हुँ” भन्‍ने वाक्‍यांशको कुनै स्‍थान हुने छैन।

इन्‍साफ

बाबेलका मानिसहरूप्रति परमेश्‍वरको प्रतिक्रिया कस्‍तो थियो ? “मनिसको सन्‍तानले बनाइरहेको शहर र धरहरा हेर्नलाई परमप्रभु तल ओर्लनुभयो।” यो पौराणिक भाषा होइन। अब्राहाम, मोशा, यहोशू र अन्‍य चुनिएका सन्‍तहरू जसका सम्‍मुख परमेश्‍वर देखापर्नु भयो। बाबेल, सदोम र मिश्रमा उहाँका जनहरूलाई भेट्न परमेश्‍वर ओर्लनुभयो भनी हामी पढ्छौँ। उहाँ ओर्लनुभयो किनकि तिनीहरू तल थिए।

परमेश्‍वर ओर्लनु भई तिनीहरू जुन निर्माणका निम्‍ति एकै मन भएको देख्‍नुभयो र उहाँले त्‍यसलाई विच्‍छेद गर्नुभयो, यो उहाँले चाहनुभएको जस्‍तो एकता थिएन। येशूले प्रार्थना गर्नुभयो, “र तिनीहरू सबै एक होऊन् जसरी, हे पिता, तपाईं ममा झैँ म तपाईंमा, तिनीहरू पनि हामीमा होऊन्, र तपाईंले नै मलाई पठाउनुभयो भनी संसारले विश्‍वास गरोस्” (यहून्‍ना १७:२१)। उहाँले मानव निर्मित संस्‍थागत एकताको लागि प्रार्थना गर्नुभएन। हामी भेला हुँदैमा एकता हुँदैन तर येशूमा एकतृत भएर हुन्‍छ। जसरी हामी उहाँमा केन्‍द्रित हुन्‍छौँ, आत्‍मिक एकतामा एक-अर्का प्रति खिचिएका हुन्‍छौँ, त्‍यही जुन येशूको आफ्‍नो पितासँग भएको एकताजस्‍तै।

एकतामा नै बल छ, संसारले यो कति राम्ररी जानेको छ ! संसारको लागि यो कति महत्‍वपूर्ण छ। परमेश्‍वरले (६ पदमा) बाबेल बनाउँदै गरेको देख्‍नु त शुरुआतमात्र थियो, अनि उहाँले त्‍यसलाई नरोक्‍नुभएको भए कहाँ पुग्‍थ्‍यो होला त्‍यसको सीमा नै रहने थिएन। बाबेल एउटा महान् प्रतिस्‍पर्धा राज्‍यको शुरुआतमात्र थियो। आदिबाट नै मानिसले पृथ्‍वीमा शासन गरोस् भनी परमेश्‍वरले योजना गर्नु भएको थियो तर यसको लागि मानिस परमेश्‍वरसँग एकतामा हुनु र उहाँमा निर्भर रहनु पर्दथ्‍यो। मानिसको राज्‍य होइन, परमेश्‍वरको राज्‍य नै सारा सृष्‍टिको आशा हो। बाबेल परमेश्‍वरको नियमको विपरित भएको महान् प्रतिस्‍थापनको शुरुआत र उहाँको उद्देश्‍यहरूको ठूलो नक्‍कल थियो। “म परमप्रभु, तिमीहरूका परमेश्‍वर डाही परमेश्‍वर हुँ।” यो हामी दोस्रो आज्ञामा पढ्छौँ; र उहाँ कुनै पनि प्रतिस्‍पर्धाहरूलाई सहन सक्‍नुहुन्‍न। बेलसजरको समयमा बेबिलोनमा तीब्र गतिमा इन्‍साफ आयो र प्रकाशको पुस्‍तकमा भएको आत्‍मिक बेबिलोनमा पनि इन्‍साफ द्रुतगतिमा बाबेलमा आइपर्नेछ। परमेश्‍वरले तिनीहरूको भाषालाई खलबख पारी दिनुभयो, यसकारण तिनीहरू एउटाले अर्कोलाई भनेको भाषा बुझ्‍न सकेनन्। त्‍यसपछि, उहाँले तिनीहरूलाई संसारभरि तितरबितर पारी दिनुभयो।

आज हामी एउटाले अर्काको कुरा नबुझ्‍ने संसारमा छौँ। धर्म, राजनीति र उद्योग व्यापारमा बाबेलको इन्‍साफ आजको दिनसम्‍म कायम छ। धर्मको विषयमा इतिहासको शुरुदेखि नै अन्‍त्‍यहीन युद्ध र रक्तपातको कारण भाषा नै भई आएको छ।

त्‍यसो हो भने, बाबेल वा बेबिलोनले आजको युगमा के कुराको प्रतिनिधित्‍व गर्छ ? यस प्रश्‍नको जवाफ दिनुभन्‍दा अघि, हामीले आफ्‍नो हृदय खोतल्‍दै सोधि हेरौँ; कहीँ बाबेल तपाईं वा मभित्रै त छैन ? तपाईंको इतिहास उत्‍पत्ति ११ मा, कि उत्‍पत्ति १२ मा लेखिएको छ ? के तपाईं अब्राहामजस्‍तै परमेश्‍वरको आत्‍माद्वारा डोर्‍याइनु भएको छ ? कि आफ्‍नै योजना बनाएर त्‍यसमा परमेश्‍वर सहमत हुनुहुनेछ भनी आशा राख्‍नुभएको छ ? के तपाईं मानवीय स्‍वभावको इँटहरूले आफ्‍नै भवन निर्माण गर्ने प्रयासमा हुनुहुन्‍छ वा जीवित पत्‍थरहरूले बनेको परमेश्‍वरको मन्‍दिर बनिरहनु भएको छ ? तपाईं संसारको संस्‍थाहरूमा सुरक्षाको खोजी गर्दै हुनुहुन्‍छ ? वा तपाईं आफ्‍नो स्‍वर्गीय पितामा भरोसा गर्न सिक्‍दै हुनुहुन्‍छ ?

बाबेलले के प्रतिनिधित्‍व गर्छ?

हामी बेबिलोन नदीहरूका किनारमा बसेर सियोनलाई सम्‍झाउँदै रोयौँ। त्‍यहाँको बीचको बैंसको रुखमा हामीले आफ्‍नो वीणा झुण्‍ड्यायौँ। ......बिरानो देशमा हामीले परमप्रभुको गीत कसरी गाउनु ? हे यरूशलेम मैले तलाई बिर्सेको भए मेरो दाहिने हात कुहिजाओस्। ......यदि मैले यरूशलेमलाई मेरो सारा आनन्‍दभन्‍दा श्रेष्‍ठ मानिन भने ..

भजनसंग्रह १३७

भजनसंग्रह १३७ का यी शब्‍दहरू ज्‍यादै सुन्‍दर छन्। यहूदी कैदीहरू बिरानो भूमिमा गाउन नसकी वीणाहरू नबजाइ रुदै बसेका थिए। बेबिलोनको सारा वैभव र सुख समृद्धिले तिनीहरूका हृदयलाई कहिल्‍यै सन्‍तुष्‍ट पार्न सकेन। आफ्‍नै मुलुक अनि आफ्‍नै पवित्र शहर लाह्सा फर्कन चाहने धेरै तिब्‍बतीहरूको सपनाजस्‍तै यी यहूदीहरूले परमेश्‍वरको शहर यरूशलेम फर्कने सपना देखेका थिए। अभिमानी राजा नबुकदनेजर आफूले बसालेको महान् बेबिलोनप्रति अंहकारी हुँदा, तिनीहरू उजाड र सर्वनाश पारिएको यरूशलेको लागि रोए। तिनीहरू कसरी सक्‍थे अनि हामीहरू कसरी बिरानो भूमिमा परमप्रभुको गीत गाउन सक्‍छौँ ? हामी अब बेबिलोनको अन्‍तिम विनाशको वर्णन गरिएको प्रकाशको पुस्‍तकको १७ र १८ अध्‍यायहरू पढौँ। ५ पदमा हामीहरू यी शब्‍दहरू पढछौँ: “र त्‍यसको निधारमा एउटा यस्‍तो नाउँ लेखिएको थियो, 'रहस्‍य, पृथ्‍वीका वेश्‍याहरू र धृणित कुराहरूकी आमा, महान् बेबिलोन” (प्रकाश १७:५,७)। यसमा बेबिलोनलाई एउटा रहस्‍य भनी वर्णन दिएको छ, रहस्‍य जसमा केही अर्थ लुकेको हुन्‍छ। परमेश्‍वरबाटको प्रकाश विना, हामी यसलाई ठीकसँग बुझ्‍न सक्‍तैनौँ। पवित्र आत्‍माको प्रकाश नपाई धर्मशास्‍त्रको कुनै पनि सत्‍यता बुझ्‍न हामीलाई साँचो सहयोग पुर्‍याउँदैन; तर विशेष गरी, परमेश्‍वरले रहस्‍यहरू भनी उल्‍लेख गर्नुभएको कुराहरूको सत्‍यता यही हो।

रोमन क्‍याथोलिकवाद

धर्मशास्‍त्रका धेरै विद्यार्थीहरू रोमन क्‍याथोलिक मण्‍डली नै महान् बेबिलोन हो भनी विश्‍वास गर्छन्। हामी यसका केही कारणहरूलाई हेर्नेछौँ। बेबिलोनलाई सात पर्वतहरूमाथि बसिरहेको वेश्‍या भनी उल्‍लेख गरिएको छ (प्रकाश १७:९)। रोमको शहर पनि सात पर्वतहरूमा नै बसालिएको छ। त्‍यस स्‍त्रीले पृथ्‍वीका राजाहरूमाथि शासन गर्नेछिन् (प्रकाश १७:१८)। धेरै शताब्‍दीदेखि पोपहरूले युरोपको वृहत् भागमा शासन गरे। बेबिलोनसँग अथाह सम्‍पत्ति थियो (प्रकाश १८:१२)। पोपको निवास भ्‍याटिकनको ऐश्‍वर्य कसैबाट पनि छिपेको छैन्। स्‍त्रीले सन्‍तहरू र येशूका साक्षीहरूका रगत पिएकी थिइन् (प्रकाश १७:६)। शताब्‍दीऔंदेखि येशूका साँचो अनुयायीहरू र क्‍याथोलिक अधिकारको विरोध गर्नेहरूलाई दण्‍ड दिइएको छ, झ्‍यालखानामा हालिएको छ, यातना दिइएको छ र खामोमा बाँधी जिउँदै जलाइएको छ। अझ तीभन्‍दा पनि डरलाग्‍दो कुराचाहिँ, रोमीहरूले लाखौं-लाख अनुयायीहरूको आत्‍मिक हत्‍या गरेका थिए अनि अझै पनि गरिरहेका छन्।

मैले यो भन्‍नुको तात्‍पर्य, व्‍यक्तिगत रूपमा प्रत्‍येक रोमन क्‍याथोलिक पूजारी वा सदस्‍य भ्रष्‍ट वा दुष्‍ट छ भन्‍न खोजेको होइन। मैले संस्‍थागत मण्‍डली र यसको धोषणा बारे बताउन खोजेको हुँ। व्‍यक्तिगत रूपमा थुप्रै रोमन क्‍याथोलिकहरूसँग परमेश्‍वरको साँचो अनुभव छ र धार्मिक जीवन व्‍यतित पनि गर्छन्। तिनीहरूले विद्यालयहरू र अस्‍पतालहरू बनाएका छन्। अनि गरीबहरूलाई सहयोग गर्न समय र रुपयाँ पैसा दिन्‍छन्। रोमन क्‍याथोलिकहरूले अक्‍सर केही सत्‍यताको प्रचार गरेका छन् र साथै रोमी अधिकारको विरोध व्‍यक्तिगत रूपमा सत्‍यतालाई ग्रहण गर्नेहरू आफ्‍नो शिक्षकहरूभन्‍दा उत्तम ठहरिएका छन। “तर सार्डिसमा पनि नाउँहरू छन, जसले आफ्‍ना लुगा बिटुलेका छैनन्। तिनीहरू मसँग सेता लुगा लगाएर हिँड्नेछन्” (प्रकाश ३:४)।

मानिसको धर्म

मैले भनेजस्‍तै बाइबल, विशेष गरी प्रकाशको पुस्‍तक, पढ्नेलाई रोमको मण्‍डलीझैँ वेश्‍याहरूकी आमा, महान् बेबिलोन भनी चिन्‍नको लागि अप्‍ठ्यारो छैन। यदि रोमन क्‍याथोलिक मण्‍डली वेश्‍याहरूकी आमा हुन् भने, छोरीहरू खै त कहाँ छन् ?

के प्रोटेस्‍टेन्‍ट सम्‍प्रदायहरू र मतावलम्‍बीहरू रोमन क्‍याथोलिकहरूभन्‍दा पूर्ण रूपमा भिन्‍नै छन् भनी हामी भन्‍न सक्‍छौँ ? जब हामी तिनीहरूलाई हेर्छौँ, तब तिनीहरू उही माटोका इँटहरूको धरहरा बनाउँदै गरेको देख्‍छौँ र तिनीहरू पनि आफ्‍नै नाउँ महान् राख्‍नका लागि तल्‍लीन छन् र येशूको नाउँलाई बिर्सेका छन्। तिनीहरूका धेरै सदस्‍यहरू पनि आत्‍मिक दरिद्रता, रोग र मृत्‍युमा रहेका छन्।

बेबिलोनको अर्थ एउटा समूह वा सम्‍प्रदायभन्‍दा पनि बढी छ। यसको अर्थ, सबै धर्महरू परमेश्‍वरद्वारा नभई मानिसहरूद्वारा सञ्‍चालन गरिएका छन्। मानिसहरूको सम्‍मान, मानिसको महिमा र मानिसको ऐश्‍वर्यताको लागि मानिसको शक्ति, मानिसको योजना र मानिसकै युक्तिद्वारा सञ्‍चालित प्रत्‍येक मण्‍डली बेबिलोनको एउटा खण्‍ड हो।

परमेश्‍वरको साँचो मण्‍डली भनेको त प्रकाश २१ अध्‍यायमा उल्‍लेख गरिएको नयाँ यरूशलेमको मण्‍डली हो। स्‍वेत वस्‍त्रमा सिङ्गारिएर आफ्‍नो पतिको लागि तयार पारिएकी पवित्र दुलहीजस्‍तै यो मण्‍डली स्‍वर्गबाट तल ओर्लने छ। यो साँचो मण्‍डली परमेश्‍वरको वचनमा आधारित छ अनि पवित्र आत्‍माद्वारा डोर्‍याइएको हुन्‍छ र तिनले आफ्‍नो सारा महिमा परमेश्‍वरलाई दिएको छ।

वेश्‍यावृति

प्रकाश १७ मा त्‍यस स्‍त्रीलाई महावेश्‍या (१ पद) र पृथ्‍वीका वेश्‍याहरू र धृणित कुराहरूकी आमा भनी उल्‍लेख गरिएको छ (५ पद)। वेश्‍या भनेको के हो?

परमेश्‍वरले विवाह पश्‍चात् पति-पत्‍नी बीच प्रगाढ प्रेम र सन्‍तान जन्‍माउनका लागि होस् भन्‍ने अभिप्राय राखी यौन समबन्‍धलाई कायम गर्नुभएको थियो। वेश्‍याले धन कमाउनको लागि यौनको पूर्णत: गलत प्रयोग गर्छे। कुनै पनि मण्‍डलीले धर्म दुरुपयोग गरी आफ्‍ना सदस्‍यहरूबाट धन कमाउँछ भने त्‍यो आत्‍मिक वेश्‍यावृति हो।

विगतको इतिहासदेखि आजसम्‍म पनि रोमन क्‍याथोलिक पूजारीहरूले पाप क्षमाको लागि आफ्‍ना सदस्‍यहरूबाट ठूलो धनराशि जरिवाना गर्ने गर्छन्। तिनीहरू भन्‍दछन “हामीलाई रुपियाँ देओ, र हामी तिम्रो पाप क्षमा होऊन् भनी प्रार्थना गरिदिने छौँ।” तिनीहरू आत्‍मिक वेश्‍याहरू हुन्। कुनै पनि प्रचारक जसले धनी बन्‍न आफ्‍नो आत्‍मिक वरदानहरू प्रयोग गर्छ, त्‍यसले पनि उही काम गरिरहेको हुन्‍छ। कुनै मानिस जो तलब वा प्रतिष्‍ठा पाउने लोभको कारण पास्‍टर बन्‍न चाहन्‍छ भने त्‍यो पनि आत्‍मिक वेश्‍या हो।

तर रुपियाँ पैसामात्र समस्‍या होइन। हामी आफ्‍नै आखाँको मुढाँलाई बेवास्‍ता गर्ने र भाइको आखाँको कसिङ्गर देख्‍ने कुराहरूदेखि होसियार हुनु पर्छ। हामी सुसमाचार र आत्‍मिक वरदानहरू वा सेवकाइहरू ख्रीष्‍टको शरीर सुधार गर्नुभन्‍दा हाम्रो आफ्‍नै सामाजिक प्रतिष्‍ठा स्‍थापित गर्नको लागि प्रयोग गर्दैछौँ भने हामी आफै पनि आत्‍मिक वेश्‍याहरूभन्‍दा असल हुने छैनौँ। के प्रभु र हाम्रा भाइ-बहिनीहरू प्रतिको सेवकाइ प्रभुको प्रेमद्वारा अभिप्रेरित भई गरिएको छ ? अथवा उच्‍चस्‍थान, प्रतिष्‍ठा वा धन प्राप्‍त गर्नको इच्‍छाले ? उहाँको दृष्‍टिमा हामीहरू विश्‍वासयोग्‍य सेवकहरू हौँ या वेश्‍याहरू ?

बेबिलोनको पाप र भूतात्‍माहरू

बेबिलोन नष्‍ट गरिनु पर्छ। प्रकाश १८ अध्‍यायले विस्‍तृत रूपमा यसको विनाशको उल्‍लेख गर्छ। हामीले बेबिलोन नै मानव धर्मको मूल जड हो भनी हेर्‍यौँ। किन यो परमेश्‍वरको यस्‍तो क्रोध पाउन योग्‍यको छ ? यस अध्‍यायमा दिइएका दुई कारणहरू छन् जुन पाप र दुष्‍टात्‍मा हो। पाँच पदमा हामी यसरी पढछौँ, त्‍यसका पाप स्‍वर्गसम्‍मै चुलिएका छन्

परमेश्‍वर पापलाई घृणा गर्नुहुन्‍छ। येशू आफ्‍ना मानिसलाई तिनीहरूका पापबाट उद्धार गर्नका लागि यस संसारमा आउनुभयो (मत्ती१:२१)। मान्‍छेको धर्ममा न ता मानिसहरूलाई तिनीहरूको पापबाट उद्धार गर्ने शक्ति छ, न ता इच्‍छा नै छ। असल अभिप्रायले भ्रष्‍ट हृदयलाई परिवर्तन गर्न सक्‍दैन। मानवीय धर्मले भए भरका सबै दुष्‍टताहरूलाई जन्‍माउँछ। धेरै मण्‍डलीहरूमा दश आज्ञाहरूमध्‍ये हरेक आज्ञा भङ्ग गर्ने सदस्‍यहरू छन: कोही देवी-देवता पुज्‍दछन, कोही खोपेका मूर्तिको अघि शिर निहुर्‍याउँछन। कोहीचाहिँ बारम्‍बार परमप्रभुको नाउँ व्‍यर्थमा लिन्‍छन, र यसो गर्नमा कुनै खराबी देख्‍दैनन्; कोही परमेश्‍वरको नाउँमा आफ्‍नै बा-आमाको अनादर गर्छन्; कोही घृणित कामद्वारा आफ्‍नै हृदयको हत्‍या गर्दछन; कोही-कोही मण्‍डलीले तिनीहरूका शत्रुहरूलाई मार्ने प्रयाससम्‍म गरेका छन्। कोही-कोही मण्‍डलीले सबै प्रकारका यौनजन्‍य पापलाई स्‍वीकारेका छन्; धेरैचाहिँ तिनीहरूको बगालबाटै चोरी गरी धनी भएका छन। जब झुटा साक्षी बढ्छ र लोभ सामान्‍य हुन्‍छ, कसैले यो गलत हो भनी विचार गर्दैन।

धेरैजसो धार्मिक व्‍यक्ति पापको विरुद्धमा युद्ध गर्न कति पनि तयारी रहेको पाइँदैन। किनभने पापलाई घृणा नगर्ने धार्मिक हुन सक्‍दैन। तपाईंले घृणा नगर्नेलाई त्‍यसको विरुद्धमा लडाइँ गर्न पनि सक्‍नुहुन्‍न। सामान्‍यत: धार्मिक जनहरू सम्‍मेलन, राजनीति, सञ्‍चारको आधुनिक विधिद्वारा साक्षी दिनु इत्‍यादि कुराहरूमा रुचि राख्‍दछन् तर परमेश्‍वरको धार्मिकतामा होइन।

प्रकाश १८:५ पदमा हामी बेबिलोनको पाप स्‍वर्गसम्‍मै चुल्‍लिएको पढछौँ; २ पदमा “महान् बेबिलोनको पतन भएको छ, पतन भएको छ र भुतहरूको निवासस्‍थान, सबै अशुद्ध आत्‍मा र त्‍यसको खोर र धिनलाग्‍दा चराहरूको बासस्‍थान भएको छ।” बिउ छर्नेको उखानमा, चराले बीउ खाइदिन्‍छ भनी येशूले भन्‍नुभएको वचनअनुसार त्‍यसले दुष्‍टको प्रतिनिधित्‍व गरेको छ। यसकारण, दुष्‍टहरू अशुद्ध आत्‍माहरू र चराहरू सबैको एउटै अर्थ लाग्‍छ। बेबिलोन दुष्‍ट कुराहरूले भरिएको छ।

हे मेरा मानिस हो, त्‍यसबाट निस्‍केर आओ

दानियल बेबिलोन शहरमा प्रधान मन्‍त्री थिए। दानियलको निवासस्‍थानका झ्‍यालहरू यरूशलेमतिर फर्केका थिए, कौसीको कोठामा आफ्‍नो आदतअनुसार तिनी घुँडा टेकेर दिनमा तीन पल्‍ट प्रार्थना गर्थे र आफ्‍नो परमेश्‍वरलाई धन्‍यवाद चढाउँथे। सिंहको खोरमा हालेर मार्ने मृत्‍युको धम्‍किले तिनलाई रोक्‍न सकेन। सबैले देखून् भन्‍नको लागि तिनको झ्‍याल खुल्‍लै राख्‍न आवश्‍यक थियो र ? तिनी विशाल साम्राज्‍यको मन्‍त्री मण्‍डलमा प्रधानमन्‍त्री थिए अनि राम्रो प्रभाव पार्नका लागि वृहत् आकारको कुनै कामको थालनी गर्न सक्‍थे। किन यस मानिसले आफ्‍नो जीवन जोखिममा पार्‍यो ? जबकि तिनी बाँचेर उच्‍च वहदामा भएकोले ठूला-ठूला राम्रा कामहरू गर्न सक्‍थे ! परमेश्‍वरले तिनलाई अचम्‍म रीतले विदेशी मुलुकको उच्‍चस्‍थानमा उठाउनु भएको थियो। के त्‍यति नै प्रर्याप्‍त थिएन ? के तिनले बेबिलोनमा परमेश्‍वरको सेवा गरिरहेका थिएन ? के तिनी उच्‍च वहदाको कारण आफ्‍ना कैदी मानिसहरूलाई सहयोग गरी सन्‍तुष्‍ट हुन सक्‍दैनथे वा आफ्‍नो जीवनलाई जोखिममा पार्नु साँच्‍चै बुद्धिमानी थियो र ?

यस्‍ता प्रश्‍नहरूले तिनलाई हतोत्‍साहित गर्न सकेन। परमेश्‍वरले तिनलाई बेबिलोनमा धेरै समृद्धिशाली तुल्‍याउनु भए तापनि, तिनको हृदय परमेश्‍वरको शहर येरूशलेममा थियो। बेबिलोनको समृद्धि, परमेश्‍वरले दिनुभएको समृद्धि भए तापनि, यसले तिनलाई सन्‍तुष्‍ट पारेन अनि पार्न पनि सक्‍दैनथ्‍यो किनभने इस्राएल मुलुक परमेश्‍वरले तिनीहरूका पुर्खालाई दिनुभएको मुलुक थियो र इस्राएलमा नै परमेश्‍वरको उद्देश्‍य रहेको थियो। यसर्थ दानियलले प्रार्थना गरे; तिनका शत्रुहरूले पोल लगाए अनि मृत्‍यु दण्‍डको उर्दी सुनाइयो; तिनी सिंहको खोरमा फालिए; तर राजा र सिंहहरूले उपवासमा रात बिताए यता दानियलले चाहिँ निरन्‍तर प्रार्थना गरि रहे !

हामी हेर्छौं, दानियललाई आफू र आफ्‍ना मानिसहरू गलत ठाउँमा भएको दृढ विश्‍वास थियो। यसको क्षतिपूर्ति कुनै पनि बाहिरी सफलताले दिन सक्‍दैनथ्‍यो। तिनी बिरानो मुलुकको सिंहासनमा बस्‍नुभन्‍दा येरूशलेमको गल्‍लीहरूमा घैमल बढार्नु भाग्‍यमानी मान्‍थे। हामी तिनलाई प्रार्थना, उपबास, पापको पश्‍चाताप, क्षमा र तिनीहरूलाई कैदी बनाउनेहरूको हातबाट छुटकाराको खोजी गर्दै परमेश्‍वरतर्फ फर्किएको देख्‍छौँ।

बेबिलोनबाट छुटकाराको लागि पुकार गर्दा दानियल वृद्ध भै सकेका थेए। तिनी आफैचाहिँ पुर्खाहरूको मुलुकमा कहिल्‍यै फर्केनन् तर अन्‍य जवान मानिसहरूले यस यात्रालाई पूरा गरे, र तिनीहरूका नाउँ नहेम्‍याह र एज्राको पुस्‍तकमा लेखिएका छन्।

आज विश्‍वासको उही यात्रा पूरा गर्नका लागि परमेश्‍वर आफ्‍ना जनहरूलाई बोलाउँदै हुनुहुन्‍छ। प्रकाश १८:४ मा हामी यी वाक्‍य पढ्छौँ, “हे मेरा मानिस हो, त्‍यसबाट निस्‍केर आओ, नत्रता त्‍यसका पापहरूसँग तिमीहरू पनि सहभागि हुनेछौ, र त्‍यसका विपतिहरू तिमीहरूले भोग्‍नछौ।”

निष्‍कर्ष

बाबेल वा बेबिलोन भ्रष्‍ट र मानव निर्मित मण्‍डलीको चित्रणहरू हुन। यस मण्‍डलीले आफैलाई इसाई भन्‍छ अनि ख्रीष्‍टको नाउँ प्रयोग गर्छ, तर यो ख्रीष्‍टको साँचो मण्‍डली होइन। यसको काम गर्ने तरिका र लक्ष्‍य संसारको जस्‍तै छ। जसरी संसारले आफ्‍नै लागि महिमा, शक्ति र धन-सम्‍पत्ति चाहन्‍छ त्‍यसै गरी यसले भूमिबाट आफ्‍नो निर्माण कार्य शुरु गर्दै स्‍वर्गसम्‍मै पुग्‍ने प्रयास गर्छ।

यरूशलेम साँचो मण्‍डलीको चित्रण हो र ख्रीष्‍टको दुलही पनि हो। यो मण्‍डली आफ्‍नो निर्माण कर्ता जस्‍तै: पवित्र र निष्‍कलङ्क अनि शुद्ध छ। यसले सांसारिक सम्‍पत्तिमा होइन तर स्‍वर्गीय सम्‍पत्तिमा चासो राख्‍छ। यसले आफ्‍नै नाउँ राख्‍ने काम गर्दैन बरु ख्रीष्‍टको नाउँलाई प्रेम गर्छ। यो संसारबाट माथि जाने होइन तर स्‍वर्गबाट तलतिर ओर्लन्‍छ।

पुरानो नियमको समयमा इस्राएलीहरूलाई तिनीहरूको आफ्‍नो मुलुकबाट टाढा लगेर बेबिलोनको मुलुकमा कैदी बनाइयो। आज उही कुरा परमेश्‍वरका जनहरूमा पनि भई रहेको छ। हामी आत्‍मिक इस्राएलको मुलुकबाट टाढा लगिएका अनि आत्‍मिक बेबिलोनको मुलुकमा कैद गरिएका छौँ। अब, येशूले हामीहरूलाई भनी रहनुभएको आवाज सुन्‍नैपर्छ, “हे मेरा मानिस हो, त्‍यसबाट निस्‍केर आओ, नत्रता त्‍यसका पापहरूसँग तिमीहरू पनि सहभागी हुनेछौ र यसका विपतिहरू तिमीहरूले भोग्‍नेछौ।” अनि यस आवाजलाई सुनेर हामी त्‍यसप्रति आज्ञाकारी होऔँ।

यो पुस्‍तकलाई रंगिन [Color] छाप्‍ने फाइल

यो पुस्‍तकलाई श्‍याम-स्‍वेत [Black & White] छाप्‍ने फाइल

कसरी छाप्ने