६६६ र ८८८

बुद्धिमत्ता यसैमा छ: जसको समझ छ, त्‍यसले पशुको सङ्ख्‍या जोड़ोस्, किनकि त्‍यो मानिसको सङ्ख्‍या हो, र यो सङ्ख्‍याचाहिँ छ सय छयसट्ठी हो।

प्रकाश १३: १८

Ι=10
η=8
σ=200
ο=70
υ=400
ς =200
888
Κ=20
υ=400
ρ=100
ι=10
ο=70
ς =200
800
Κ=20
ο=70
σ=200
μ=40
ο=70
ς=200
600

बुद्धिमत्ता

धेरै मानिसहरूलाई पशुको सङ्ख्‍या ६६६ हो भनेर थाहा छ। तर पशु के हो? उसको सङ्ख्‍या किन हुन पर्छ? यस प्रश्‍नको उत्तर धेरै मानिसहरूलाई थाहा छैन।

थोरै मानिसहरूले मात्र ८८८ को बारेमा सुनेका छन्। अचम्‍मलाग्‍दो कुरा यो छ, कि बाइबलमा ६६६ पछि तुरन्‍तै ८८८ आउँछ। यो कुरा स्‍पष्‍टसँग लेखिनुको साटो लुकेको छ। जुन कुरा म पछि बयान गर्नेछु।

धर्मशास्‍त्र पवित्र आत्‍माबाट प्रेरित भएको हो र पवित्र आत्‍माको सहयोगविना हामी यसलाई हाम्रो स्‍वभाविक दिमागले सरसरती मात्र बुझ्‍न सक्‍दछौँ। हामीहरू यसको नैतिक शिक्षालाई बुझ्‍दछौँ र यसको कथा र कविताहरूमा आनन्‍द लिन्‍छौँ तर यसको आत्‍मिक अर्थको सम्‍बन्‍धमा भने हामी अन्‍धकारमा हुन्‍छौँ।

धर्मशास्‍त्रमा कतिपय निर्दिष्‍ट कुराहरू रहस्‍य भनी उल्‍लेख गरिएका छन्।“जसको कान छ त्‍यसले सुनोस्” वा “जसले पढ्दछ उसले बुझेस्” अथवा “हेर तिमीलाई म रहस्‍य देखाउँछु” भन्ने प्रकारका बयानहरू नयाँ करारका विभिन्न ठाउँहरूमा हामी पाउँछौँ। “बुद्धिमता यसैमा छ” भनी माथि उल्‍लेखित प्रकाश १३:१८ को वचन सुरु हुन्‍छ। यस प्रकारको वाक्‍याँसले केही कुरा लुकेको बुझाउँछ जसलाई हामीले प्रार्थना, अध्‍ययन र पवित्र आत्‍माको भरपूरीमा बुझ्‍नु पर्दछ। हामीले बुझ्‍न खोजेको ६६६ र ८८८ को विषय पनि यही हो।

प्रकाशको १३:१८ को कुरा बुझ्‍नलाई त्‍यसभन्‍दा अघिका पदहरूमात्र होइन तर पछिका पदहरूलाई पनि हामीले अध्‍ययन गर्नुपर्छ। प्रकाश १३:१८ पदको रहस्‍य बुझ्‍ने साँचोचाहिँ प्रकाश १४:१ पदमा लुकेको छ। मूल ग्रीक र हिब्रू बाइबलहरूमा अध्‍याय र पदहरू छुट्ट्याइएको छैनन्।

६६६ वा ८८८ को अर्थ बुझ्‍नको निम्‍ति हामीहरूलाई बाइबलको सङ्ख्‍या सम्‍बन्‍धी केही ज्ञान हुन आवश्‍यक हुन्‍छ।

बाइबलमा भएका सङ्ख्‍याहरू

बाइबलमा भएका सङ्ख्‍याहरू अर्थपूर्ण छन्। उदाहरणको निम्‍ति सङ्ख्‍या सात (७)लाई लिन सकिन्छ। यसलाई परमेश्‍वरको आत्‍मिकी सिद्वताको सङ्ख्‍या मानिन्‍छ। सङ्ख्‍या तेह्र (१३) धेरै पल्‍ट अट्टेरीपनसँग सम्‍बन्‍धित छ। विशेष गरेर मानिस र उसको कामको सङ्ख्‍याचाहिँ६ हो।

सङ्ख्‍याको पूर्ण अर्थलाई हामीले कसरी थाहा पाउन सक्‍छौँ? सङ्ख्‍यालाई धर्मशास्‍त्र र प्राकृतिका कुराहरू दुबैमा परमेश्‍वरले कसरी चलाउनुभएको छ भन्ने अध्‍ययन गरेर बाइबलमा भएको सङ्ख्‍याको अर्थ हामी बुझ्‍न सक्‍दछौँ। परमेश्‍वरले मानिसलाई छैटौँ दिनमा सृष्‍टि गर्नुभएको र सातौँ दिनमा आफ्‍नो कामबाट विश्राम लिनुभएको थियो भनी हामी उत्‍पत्तिको पुस्‍तकमा पढ्दछौँ। उहाँले ६ दिनहरू मानिसले परिश्रम गर्नको निम्‍ति खटाउनुभयो। ६०० वर्षको उमेरपछि नोआ (जसको नामको अर्थ विश्राम हो), उनले काम सिध्‍याएर जहाजमा प्रवेश गरे। परमेश्‍वरदेखि अलग भएको मानिसको र मानिसको कामको सङ्ख्‍या ६ हो भनेर धर्मशास्‍त्रको यस र अरू खण्‍डहरूले देखाउँछन्। सातौँ दिनचाहिँ प्रभुको दिन हो। बाइबल र विशेष गरेर प्रकाशको पुस्‍तकको आधार ७ सङ्ख्‍या हो। ७ सङ्ख्‍या परमेश्‍वरको सङ्ख्‍या हो भनेर यसले देखाउँदछ।

हामी सङ्ख्‍याको अर्थ सम्‍बन्‍धमा “गेमेत्रिया” (gematria) अध्‍ययनद्वारा अझ धेरै सिक्‍न सक्‍दछौँ। गेमेत्रिया भन्ने शब्‍दको अर्थ वचनको हिसाब हो। यसको हिसाब कसरी गरिन्‍छ भन्ने कुरा बुझ्न, ग्रीक र हिब्रू भाषाहरूमा हामीहरूको जस्‍तो १,२,३ जस्‍तै भिन्‍दाभिन्‍दै चिन्‍हहरू थिएनन् १,२,३ इत्‍यादि को सट्टामा α,β,γ अथवा a,b,g लेखिन्‍थ्‍यो। १०,२०,३० को सट्टामा ι,κ,λ अथवा i,k,l लेखिन्‍थ्‍यो। १००,२००,३०० को सट्टामा ρ,σ,τ अथवा r,s,t लेखिन्‍थ्‍यो। (अगाडि उल्लेख भएको तालिका हेर्नुहोला) यसरी कुनै पनि शब्‍द वा नामको अक्षर लिएर त्‍यस शब्‍दको पूरा हिसाब निकाल्‍न सकिन्‍छ। यो हिसाबलाई “गेमेत्रिया” भनिन्‍छ। येशूको नाम (ग्रीकमा Ιησους) को हिसाब ८८८ हुन आउँछ।

अक्षरनाममूल्य अक्षरनाममूल्य अक्षरनाममूल्य
αalpha1ιiota10ρro100
βbeta2κkappa20σsigma200
γgamma3λlambda30τtau300
δdelta4μmu40υupsilon400
εepsilon5νnu50φphi500
ζzeta7ξxi 60χchi600
ηeta8οomicron70ψpsi700
θtheta9πpi80ωomega800

येशूको धेरै शीर्षकहरूको हिसाबको मुख्‍य तथ्‍याङ्क ८ हो। Κυριος (कुरिओस = प्रभु) को हिसाब ८०० छ। Χριστος (ख्रीष्‍ट)को हिसाब १४८९ (३७ * ८ * ५) (८८८ = ३७ * ८ * ३)। αληθεια(अलेथैया = सत्‍यता)को हिसाब ६४ (= ८ * ८) हो। Σωτηρ(सोतेर = मुक्तिदाता) को हिसाब १४०८ (= ८ * ८ * २२) छ। οδος (होडोस = बाटो) को हिसाब ३४४ (= ८ * ४३) हुन्‍छ।

अर्कोतिर Κοσμος (कोसमोस = संसार)को अर्कोपट्टी गेमेत्रिया ६०० छ। संसार परमेश्‍वरदेखि अलग रहेर मानिसको काम गर्ने क्षेत्र हो। शैतानको नामहरू δρακων (द्राकोन = अजिङ्गर) οφις (ओफीस = सर्प) को गेमेत्रियाका मुख्‍य तथ्‍याङ्क १३ हो।

बाइबलको सङ्ख्‍या अध्‍ययनको निम्‍ति शताब्‍दीऔँदेखि धेरै विद्वान्-हरूले आफ्नो बहुमुल्य समय दिएका छन्। परेमश्‍वरका मानिसहरू र ज्‍योतिष शास्‍त्रका विद्यार्थीहरू दुबै यस काममा सम्‍लग्‍न भएका थिए। ६६६ सङ्ख्‍याको अध्‍ययन धेरै मानिसहरूका लागि अझै चाखलाग्‍दो भएको थियो र जालमा पक्रिएका १५३ माछाहरूका शायद १५३ भन्‍दा बढी विभिन्न ब्‍याख्‍याहरू भएका हुन सक्‍छन्।

बाइबलको सङ्ख्‍या ज्ञान (सङ्ख्‍याको हिसाब) र गेमेत्रिया बुझ्‍नलाई कठिन छ र त्‍यो सबै जनाको निम्‍ति बुझ्‍न पनि आवश्‍यक छैन। तर पनि प्रकाशको पुस्‍तक बुझ्‍नको निम्‍ति यो विषयको केही ज्ञान जसलाई पनि आवश्‍यक हुन्‍छ। विशेष गरेर पशुको सङ्ख्‍या ६६६ को अर्थ र यसको विपरित येशूको सङ्ख्‍या ८८८ को अर्थ बुझ्‍न खोज्‍नेहरूको निम्‍ति यो साँचोको रूपमा साबित हुन्‍छ।

पशुको छाप

यो लेखाइको सुरुमा उल्‍लेख गरिएको पहिलो दुई पदहरूमा हामी पशुको बारेमा पढ्दछौँ: “अनि त्‍यसले साना र ठूला, धनी र गरीब फुक्‍का र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लगाउन लायो। त्‍यो छाप नभइकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्‍यो छापचाहिँ त्‍यस पशुको नाम वा त्‍यसको नामको सङ्ख्‍या हो।” (प्रकाश १३: १६,१७)।

यी पदहरूका बारेमा धेरै विचार र तर्कहरू प्रकट भएका छन्। औ धेरै मानिसहरूले सुनेका र सिकेका यी कुराहरूबाट चिन्‍तित र डराएका थिए भन्ने कुरामा कुनै शंका छैन। पशुको यो छाप कुन प्रकारको थियो ? यी दिनहरूमा धनी देशका मानिसहरू र नेपालका केही मानिसहरूले सामान किन्नको लागि नगदको सट्टामा ‘क्रेडिट-कार्ड’ चलाउँदछन्। कतिपय बाइबलका शिक्षकहरूले भन्‍दछन् कि क्रेडिट-कार्डको सट्टामा हात अथवा निधारमा भएको छाप चलाउन सकिन्‍छ। यी छापहरूले बैंक खातामा कति हिसाब बाँकी छ भनेर विद्युतीय तवरले लेखिनेछ र कुनै कुरा किनेपछि त्यसको हिसाब मिलाउन सकिन्‍छ।

प्रकाशको १३ अध्‍यायको शाब्‍दिक अर्थ लियौँ भने यो १४ अध्‍यायको पहिलो पदसँग मिल्‍दैन। “अनि मैले हेरेँ र सियोन डाँडामा थुमा खडा हुनभएको मैले देखेँ। उहाँको साथमा एक लाख चवालीस हजार थिए, जसका निधारमा उहाँको नाम र उहाँको पिताको नाम लेखिएका थिए”। यस्‍ता क्रमिक पदहरूको अर्थ हामीले एकै नासले व्‍याख्‍या गर्नु पर्दछ। पशुको छाप ६६६ विद्युतीय तवरले मानिसहरूको निधारमा लगाइन्‍छ भने येशूको नाम पनि १,४४,००० मानिसको निधारमा विद्युतीय तवरले नै लेखिएको हुनुपर्दछ। तर कुनै शिक्षकले पनि यस्‍तो हुनेछ भनेर सिकाएको मैले कहिल्‍यै पनि सुनेको छैन।

निधार बाहिर जे हुन्‍छ त्‍यो केही होइन तर निधारभित्र जे हुन्‍छ त्‍यो वास्‍तविक कुरो हो। निधारभित्र भएका दुई प्रकारका मनहरूमध्‍ये कुनै एक हामीसँग हुन सक्‍दछ। निधारभित्र पशुको मन वा ख्रीष्‍टको मन मध्‍ये कुनै एउटा हुनसक्‍दछ। धर्मशास्‍त्रमा उल्‍लेख गरिएका यी दुवै प्रकारका मनलाई अब हामी पालैपालोसँग विचार गर्नेछौँ।

पशुको मन

दानियल ४:१६ मा हामी पढ्दछौँ “त्‍यसको मन मानिसकोबाट बदलिएर त्‍यसलाई पशुको मन दिइओस् जबसम्‍म त्‍यसको लागि सात काल बित्‍नेछैनन्।” ती मानिस को थिए? नबुकदनेसर महान् राजा, र बेबिलोनको पुन: निर्माण कर्त्ता र इतिहासका अति नै शक्तिशाली मानिस थिए।

बाइबलमा यरूशलेम र बेबिलोन भन्ने दुई वटा प्रतिद्वन्‍दी शहरहरू थिए। हामीहरू पहिलो पल्‍ट उत्‍पत्ति ११ अध्यायमा बेबिलोनको हिब्रू नाम बाबेल उल्लेख भएको पाउँछौँ। त्‍यसपछि पुरानो करारको इतिहासमा यो नाम प्रचलित भएको थियो। यहोशूको पुस्‍तकमा यरूशलेम पहिला पल्‍ट उल्‍लेख गरिएको छ तर दाऊद राजाको समयसम्‍म यो महत्त्‍वपूर्ण भएको थिएन। उनले यरूशलेमलाई यबूसीहरूबाट कब्‍जा गरेर उनको राजधानी बनाए। त्‍यसपछि धर्मशास्‍त्रमा यरूशलेम प्रचलित हुँदै आयो र आजको समयमा समेत यो प्रचलित भइरहेको छ। बेबिलोनको नाशबाट र दुलाहाको निम्‍ति सिङ्गारिएकी दुलहीजस्‍तो भएर स्‍वर्गदेखि तलतिर झरिरहेको यरूशलेमको वर्णनबाट प्रकाशको पुस्‍तकको अन्‍त भएको छ।

बेबिलोन झूटो धर्मको घर थियो। मानिस र मानिसको काममा आधारित कुराहरू झूटो धर्मको सार हो। परमेश्‍वरसँग यसको साँचो सम्‍बन्‍ध छैन। यसले मानिसलाई महिमित गर्ने काममात्र गर्दछ ।

बेबिलोनका राजा नेबुकदनेसरले त्‍यस बेला यहूदीहरूलाई बन्‍दी बनाएका थिए। दानियलको पुस्‍तकको चार अध्‍यायमा नेबुकदनेसर आफैले उनको पतन र पुनर्स्‍थापना भएको भनी भनेको पाइन्‍छ। उनले घमण्‍ड गरेर भने, “के यो माहान् बेबिलोन होइन, जुन मैले आफ्‍नो कीर्ति र महिमाको लागि मेरो ठूलो शक्तिद्वारा आफ्‍नो शाही निवासस्‍थान बनाएको छु?” यो भनाइले गर्दा उसको समस्‍या सुरु भएको थियो।

शताब्‍दिऔँ अघिको बाबेलका पहिला निर्माणर्ताहरूका शब्‍दहरू पनि त्‍यस्‍तै थिए: “लौ हामी आफ्‍नो निम्‍ति शहर र स्‍वर्गसम्‍म पुग्‍ने घरहरा बनाऔँ, अनि आफ्‍नो नाम राखौँ र हामी पृथ्‍वीभरि जताततै नछरिऔँ।” त्‍यही दिनदेखि आजको दिनसम्‍म थुप्रै मानिसहरूले पनि आत्‍मिक बाबेल बनाएका छन्।

नेबुकदनेसरको मुखबाट यी शब्‍दहरू निस्‍कने बित्तिकै न्‍याय आयो। धर्मशास्‍त्रका वचन यिनै हुन् “उनी मानिसहरूबाट धपाइए र उनले गाईवस्‍तुलेझैँ घाँस खान थाले। उनको रौं चीलका प्‍वाँखजस्‍तै र उनका नङहरू चराका नङ्ग्राहरूजस्‍तै नहोउञ्‍जेलसम्‍म उनको शरीर आकाशको शीतले भिज्‍यो” उनको मन मानिसबाट परिवर्तन भई पशुको जस्‍तो मन भएर धर्मशास्‍त्रमा पहिल्‍यै उल्‍लिखित वचन पूरा भयो। पशुसँग परमेश्‍वर बारे कुनै ज्ञान हुँदैन। उसको लागि आत्‍मिक कुरा र नैतिक कुराको कुनै मूल्‍य हुँदैन। ६ सङ्ख्‍याले परमेश्‍वरविनाको मानिसको प्रतिनिधित्‍व गर्दछ। ६६६ सङ्ख्‍या को अर्थ मानिस-मानिस-मानिस हो। यो मानिसमा केन्‍द्रित र मानिसले अधीनमा गरेको यस प्रकारको संस्‍था वा समाजको सङ्केत हो। मानिसको आफ्‍नै विचार, योजना र परियोजनाकहरूमा आधारित थोकहरूमा परमेश्‍वरको निम्‍ति कुनै स्‍थान हुँदैन।

नेबुकदनेसर सात वर्षसम्‍म पशुजस्‍तो भएर बाँचे र उनको विवेक नफर्कुन्‍जेलसम्‍म उनले घाँस खाए। अन्‍तिम पल्‍ट उल्‍लेखित उनको वचन एक भिन्‍दै आत्‍माबाट आयो। “अब म नबुकदनेसरले स्‍वर्गका महाराजाको प्रशंसा, बढिबढाउ र महिमा गर्दछु किनभने उहाँले जे गर्नुहुन्‍छ ठीक गर्नुहुन्‍छ र उहाँका सबै मार्गहरू न्‍यायसङ्गत छन्। अनि उहाँले घमण्‍डीहरूलाई नम्र बनाउन सक्‍नुहुन्‍छ।”

६ सङ्ख्‍या नबुकदनेसरले पहिलेको जीवनमा गरेका धेरै कामहरूसँग सम्‍बन्‍धित थियो। उनले ६० क्‍युबिट अग्‍लो र ६ क्‍युबिट चौडा सुनको मूर्ति बनाएका थिए (२ क्‍युबिट = १ मिटर)।

पलिस्‍तीहरूका असुर गोलियत पनि नेबुकदनेसरजस्‍तै थिए। उनी आफ्‍नै निम्‍ति घमण्‍ड गर्थे र उसको कार्यलाई पनि ६ सङ्ख्‍याले सङ्केत गरिन्‍छ। उनी ६ क्‍युबिट अग्‍लो र उसको भाला ६०० शेकेल (७ किलो) तौल भएको थियो। उनीसँग अरू ६ प्रकारका हात हतियारहरू पनि थिए। गोलियतको अन्‍तिम स्‍थिति नबुकदनेसरको भन्‍दा अझै नराम्रो थियो। मन बिग्रेको मात्र होइन उसको शिर पनि पूर्ण तवरले काटियो।

६ सङ्ख्‍याको सट्टामा १३ सङ्ख्‍यालाई पशुको सङ्ख्‍या हो भनेर हामीहरूले विचार गर्न सक्‍छौँ किनभने १३ सङ्ख्‍या शैतानसँग सम्‍बन्‍धित छ र ६ चाहिँ मानिसको सङ्ख्‍या हो। सुसमाचारमा उल्‍लेखित केही घटनाहरूले हामीलाई यो कुरा बुझ्‍न सहयोग गर्दछ। एक दिन पत्रूसले अचम्‍म प्रकारले प्रकाश पाए। उनले येशूलाई भने “तपाईं ख्रीष्‍ट हुनुहुन्‍छ, जीवित परमेश्‍वरको पुत्र” येशूले जवाफ दिनुभयो “योनाको छोरो सिमोन तिमी धन्‍य हौ। किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्‍वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो।”

त्‍यसको थोरै समयपछि पत्रूसले येशूलाई क्रूसको मृत्‍युको बाटो पन्‍छाउनको निम्‍ति मानवीय बुद्धिको सल्‍लाह दिए। येशूले उत्तरमा उनलाई यसो भन्नुभयो “ए शैतान, मेरो सामुन्नेबाट हटिजा, तँ मेरो निम्‍ति बाधा होस्। किनभने तँ परमेश्‍वरका कुरामा होइन, तर मानिसहरूका कुरामा ध्‍यान दिन्‍छस्।” ६६६ सङ्ख्‍याले परमेश्‍वरविनाको मानिसको प्रतिनिधित्‍व गर्दछ। पत्रूसको सल्‍लाह खाली ६६६ को मात्र थियो तर येशूले त्‍यसलाई सोझै शैतानबाटको हो भनी बुझ्‍नुभयो। परमेश्‍वरविनाको मानिस शैतानसँगको मानिस हुन्‍छ भन्ने, यो एक सत्‍यता हो।

हामी बीचमा हुन सक्‍दैनौँ। हामी परमेश्‍वरसँग अलग र शैतानसँग पनि अलग भएर बस्‍न सक्‍दैनौँ। हामी परमेश्‍वरलाई स्‍थान दिँदैनौँ भने शैतानद्वारा नियन्‍त्रित भएका हुन्‍छौँ, किनकि त्यो संसारको राजकुमार हो।

किन्ने र बेच्‍ने

अब हामी प्रकाश १३: १७ लाई विचार गर्नेछौँ “त्‍यो छाप नभइकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्‍यो छापचाहिँ त्‍यस पशुको नाम वा त्‍यसका नामको सङ्ख्‍या हो।”

हामीहरूले शाब्दिक रूपमा यो पदलाई झट्टै हेर्दा अन्‍योलमा पर्दछौँ। हामीहरू कसरी बाँच्‍न सक्‍दछौँ। हामीले हाम्रो खाना कहाँ पाउने? के परमेश्‍वरले एलियालाई गरेको जस्‍तै आश्‍चर्यको काम हाम्रो निम्‍ति गर्नुहुन्‍छ?

सुरु सुरुका पाठकहरूले यो कुरा पढ्दा उनीहरूको हृदयमा डर उत्‍पन्न भयो भन्ने मलाई विश्‍वास लाग्‍दैन।

कृषकहरूको समाजमा उनीहरूले आफ्‍नै खानेकुरा र लगाउने कुराहरू आफै उत्‍पादन गर्दछन्। उनीहरूलाई बाँच्‍नको निम्‍ति कुनै कुरा किन्न र बेच्‍न आवश्‍यक पर्दैन।

यी पदहरूको शाब्दिक र शारीरिक पूर्णता हुनेछैन भनी म निश्‍चय पनि भन्न सक्‍दिनँ। तर हामीले यसको अझ राम्रो आत्‍मिक अर्थ हेर्न सक्‍छौँ भनेर म विश्‍वास गर्दछु।

१७ पदमा भएको पशु पृथ्‍वीबाट निस्‍किरहेको थियो (११ पद हेर्नुहोस)। पृथ्‍वीचाहिँ स्‍वर्गमा नबस्‍ने विश्‍वासीहरू अथवा मण्‍डलीका सदस्‍यहरूको चित्र हो । तिनीहरू आत्‍माअनुसार नचलेर शरीरअनुसार चल्‍दछन्। पृथ्‍वी समुद्र र स्‍वर्गदेखि अलग छ। समुद्रको अर्थ अविश्‍वासीहरू र अन्‍यजातीहरूको भीड हो (प्रकाश १७:१६ हेनुहोस्)। स्‍वर्गको अर्थ हो साँच्‍चै ख्रीष्‍टसँग स्‍वर्गीय स्‍थानहरूमा बसेका मानिसहरू हो। पृथ्‍वीले संसारिक मण्‍डलीको प्रतिनिधित्‍व गर्दछ।

संसारिक मण्‍डलीहरू किनबेचको काममा पूर्ण रूपले लागेका छन्। यस्‍ता मण्‍डलीलाई प्रकाशको १८ अध्‍यायमा वेश्‍याजस्‍तो भनेर बयान गरिएको छ। यौन क्रियाकलाप, श्रीमान् श्रीमतीको बीचमा रहेको गहिरो प्रेम र मिलनको सम्‍बन्‍ध हो। हामीले पनि परमेश्‍वरसँग गहिरो सम्‍बन्‍ध राख्‍नुपर्छ भनेर यसले चित्रण गर्दछ। विवाह नगरेर पैसा कमाउनको निम्‍ति खराब तरिकाले यौन क्रियाकलाप गर्ने नै वेश्‍या हो। इतिहासभरि विभिन्न प्रकारले मण्‍डलीका अगुवाहरूले पनि त्‍यस्‍तै काम गरेका छन्। परमेश्‍वरका कुराहरूलाई लिएर यिनीहरूले पनि पैसाको लागि बेचेका छन्। बितेको समयमा र शायद अहिले पनि मण्‍डलीका धर्मगुरुहरूले पैसा लिएर पाप क्षमा गर्दछन्। यसरी नै मण्‍डली असाध्‍यै धनी भए। आजकल केही पश्‍चिमी देशहरूमा केही प्रचारकहरूले पैसाको आशामा चङ्गाइ गर्दछन्। गरीब देशहरूका कतिपय पास्टरहरू पहिले तिनीहरूको साधारण नोकरीमा रहेको अवस्‍थाभन्‍दा अहिले धेरै धनी भएका छन्।

सुसमाचार प्रचार र परमेश्‍वरको कामलाई मद्दत पुर्‍याउनलाई पश्‍चिमका मण्‍डलीहरूले पैसा दिने गर्दछन्। मण्‍डलीमा सधैँ पैसा आइरहोस् भनेर केही व्यक्तिहरूले प्रत्‍यक्ष वा अप्रत्‍यक्ष रूपमा झूट बोलेर झूटो विवरण पठाउने गरेका छन्।

परमेश्‍वरको साँचो काम रुपैयाँ-पैसाको अभावले कहिल्‍यै पनि रोकिँदैन र असफल हुँदैन। परमेश्‍वरले कहिल्‍यै पनि रुपैयाँ-पैसाको अभावले पूरा हुन नसक्‍ने काम सुरु गर्नुहुन्न।

परमेश्‍वरका कामहरूको बहानामा आफ्‍नो स्‍थान, इज्‍जत वा धन कमाउनको निम्‍ति कसैले प्रत्‍यक्ष वा अप्रत्‍यक्ष रूपमा केही गर्छ भने परमेश्‍वरको नजरमा ऊ वेश्‍याजस्तै हो।

प्रकाशको पुस्‍तक १८ अध्‍यायले बेबिलोनको पतनको बारेमा वर्णन गर्दछ। ३ पदमा हामी पढ्दछौँ: “किनकि सबै जातिहरूले त्‍यसको अशुद्ध कामवासनाको मद्य पिएका छन् र पृथ्‍वीका राजाहरूले त्‍यससँग व्‍यभिचार गरेका छन्। पृथ्‍वीका व्‍यापारीहरू त्‍यसको विलासिताको प्रभावले धनी भएका छन्।” त्‍यसपछि व्‍यापारीहरूको ठूलो धनको विषयमा यस अध्‍यायले बर्णन गर्दछ।

बाइबलको समयमा अनि नेपालमै पनि पहिले रुपैयाँ पैसाको ठूलो महत्त्‍व थिएन। आजभोलि शहरहरूमा रुपैयाँ पैसाविना मानिसहरू बाँच्‍न सक्‍दैनन्। मानिसहरूले आफ्‍नो खाना, कपडा र अन्‍य आवश्‍यक्ताहरूको निम्‍ति काम गरेर कमाएको रकमबाट खर्च गर्दछन्। पुरानो समयमा धेरैजसो मानिसहरूले तिनीहरूलाई चाहिने आवश्‍यक खानेकुराहरू र कपडाहरू आफै उत्‍पादन गर्दथे। तिनीहरूलाई पैसाको थोरैमात्र खाँचो पर्ने गर्दथ्‍यो। व्‍यापारीहरू आफैले उत्‍पादन नगरेको तर अरूले उत्‍पादन गरेका समानहरू किनबेच गरेर नाफा कमाउने गर्दछन्।

कतिपय प्रचारक र शिक्षकहरू आत्‍मिकी रूपले यस्‍ता देखिन्‍छन्। तिनीहरू आफैसँग परमेश्‍वरबाट पाएको वचन हुँदैन तर टेपबाट सुनेको र किताबमा पढेको कुराहरू लिएर तिनीहरूले आफ्‍नैजस्‍तो गरेर अरूहरूलाई सुनाउँछन्। यस प्रकारका मानिसहरूलाई ‘६६६’ को छाप लगाइएको छ। तिनीहरूले बेबिलोनमा किनबेच गर्छन् र बेबिलोनको पतन हुँदा तिनीहरू औधी रुनेछन्।

परमेश्‍वरको तरिका अति नै भिन्‍दै किसिमको छ। आत्‍मा र दुलही“आएर जीवनको पानी सित्तैमा लेऊ” भनेर निमन्‍त्रणा गरिएको छ। “सित्तैमा तिमीहरूले पायौ; सित्तैमा देऊ” भनेर येशूले भन्नुभयो। परमेश्‍वर र उहाँका असल दासहरूले सधैं सित्तैमा दिन्‍छन्।

ख्रीष्‍टको मन

हामीहरूले पशुको मनको बारेमा विचार गर्‍यौँ। अब हामीलाई योभन्‍दा खुशीलाग्‍ने कुरा ख्रीष्‍टको मनको बारेमा बुझ्‍न अघि बढ्न सक्‍छौँ। प्रकाश १४:१-५ मा यूहन्नाले १,४४,००० परमेश्‍वरका दासहरूको दर्शनको बारेमा बयान गरेका छन्।

यस समूहको मुख्‍य विशेषता येशूजस्‍तै हुनु हो। प्राकृतिक रूपमा आदमजस्‍तै भएर जन्‍मिएका भए पनि अहिले तिनीहरू पूर्ण तवरले परिवर्तन भएका छन्। ६६६ देखि पूर्ण तवरले परिवर्तित भएर ८८८ भएको हो। तिनीहरू येशूजस्‍तै बनेका थिए। परमेश्‍वरले तिनीहरूलाई उहाँको मोहर छाप लगाएर तिनीहरू पूण रूपमा आफ्‍नै हुन् भनेर भन्नुभएको छ। यिनीहरू ख्रीष्‍टको मन पाएका मानिसहरू हुन्।

परमेश्‍वरको योजनाको दर्शन पाउन सकौँ भनेर अब हामी यी पदहरू बिस्‍तारै प्रार्थनासहित अध्‍ययन गरौँ। हामी बाँचिरहेका दिनहरूमा नै उहाँले यसलाई पूरा गर्दै हुनुहुन्‍छ भनेर म विश्‍वास गर्दछु । उहाँका १,४४,००० दासहरू अहिले तालिम र तयारीमा छन्।

१ पद “अनि मैले हेरें ,र सियोन डाँडामा थुमा खडा हुनुभएको मैले देखें। उहाँको साथमा एक लाख चवालिस हजार थिए, जसका निधारमा उहाँको नाम र उहाँको पिताको नाम लेखिएका थिए।”

योभन्‍दा पहिलेको पद र यो पदमा अत्‍यन्‍तै फरक छ। सङ्ख्‍या ६६६ले पशुको मनलाई जनाउँछ। नामले ख्रीष्‍टको मनलाई जनाउँछ भने सङ्ख्‍या व्‍यक्तिसँग सम्बन्‍धित कुरा होइन तर कम्‍प्‍युटरमा राम्ररी मिल्‍छ। तपाईंमा पशुको मन छ भने सङ्ख्‍यामात्र हुनुहुन्‍छ तर तपाईंमा ख्रीष्‍टको मन छ भने तपाईंको “नाम” हुन्‍छ। परमेश्‍वरको नजरमा तपाईं व्‍यक्ति हुनुभएको छ। तपाईंको नाम थुमाको जीवनको पुस्‍तकमा लेखिएको छ।

यी १,४४,००० मासिहरू सियोन पर्वतमा खडा हुन्‍छन्। यशैया २: २, ३ बाट यसको अर्थ स्‍पष्‍ट हुन्‍छ। “पछिल्‍लो दिनमा परमप्रभुको मन्‍दिर बसालिएको पर्वत सबै पर्वतहरूभन्‍दा मुख्‍य रूपमा स्‍थापना हुनेछ। डाँडाहरूभन्‍दा माथि त्‍यो उच्‍च उठाइनेछ र सबै जातिहरू त्‍यहाँ ओइरिएर आउनेछन्। धेरै मानिसहरूले आएर भन्नेछन्- “आओ हामी परमप्रभुको पर्वत याकूबका परमेश्‍वरको भवनमा जाऔँ। उहाँले हामीलाई आफ्‍नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको बाटोमा हिँड्न सकौँ।” व्‍यवस्‍था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्‍कनेछन्।” तिनीहरू ख्रीष्‍टसँग एक मनका भएकाले सियोन पर्वतमा उभिनेहरू नै ख्रीष्‍टसँग राज्‍य गर्नेहरू हुनेछन्। उहाँको मन तिनीहरूमा छ, तिनीहरू नयाँ भर्ती गरिएका होइनन्। तिनीहरूले आवश्‍यक तालिम लिएर तयार भइसकेका छन्। तिनीहरूको मन ६६६ देखि ८८८ मा परिवर्तन भइसकेका छन्।

१,४४,००० सङ्ख्‍यालाई शाब्दिक रूपमा लिनुहुन्न। शाब्दिक रूपमा कुनै समुदायको ठीक १,४४,००० मानिसहरूमात्र सियोन पर्वतमा उभिनेछन् भनेर हामीले विचार गर्नु हुँदैन। बरु हामीले फेरि सङ्ख्‍याको अर्थलाई विचार गर्नुपर्छ। यी १,४४,००० मानिसहरू इस्राएलका प्रत्‍येक १२ कुलका १२,००० हुन् (७ अध्‍याय हेर्नुहोस)। १२ कुल भएअनुसार येशूले १२ चेलाहरूलाई चुन्नुभयो। त्‍यस्‍तै २० अध्‍यायको नयाँ यरूशलेममा १२ जगहरू र १२ ढोकाहरू थिए। इस्राएल, चेलाहरू र यरूशलेम शहर सबै परमेश्‍वरले छान्नुभएको थियो। १,४४,००० मानिसहरूको अर्थ परमेश्‍वरले ख्रीष्‍टसँग राज्‍य गर्नलाई चुन्नुभएको एउटा ठूलो मानिसहरूको समूह हो।

२ पद: “अनि धेरै पानीहरूको आवाज जस्‍तै, र ठूलो गर्जनको आवाजजस्‍तो स्‍वर्गबाट आएको सोर मैले सुनेँ। मैले सुनेका त्‍यो सोर वीणा बजाउनेहरूले बजाइरहेका वीणाकोसोर जस्‍तो थियो।”

यो पदमा १,४४,०००को आवाजको तीन वर्णनहरू पाइन्‍छन्।

पहिलो कुरा: यो धेरै पानीहरूको आवाजजस्‍तो छ। इजकिएल ४३:२ मा परमेश्‍वरको आवाजको बारेमा र प्रकाश १:१५ मा मानिसको पुत्रको बारेमा त्‍यस्‍तै प्रकारले वर्णन गरेको पाइन्‍छ। पानीको अर्थ जीवन हो। धेरै पानीको अर्थ प्रशस्‍तताको जीवन हो। पानीविना न त मानिस, न त जन्‍तुहरू न त रूख बिरुवाहरू नै बाँच्‍न सक्‍छन्। १,४४,००० मा नै प्रशस्‍तताको आत्‍मिक जीवन रहन्‍छ। तिनीहरूले यो आत्‍मिकी जीवनलाई अरूहरूसँग बाँड्नेछन्। येशूले भन्नुभयो: “तिनीहरूले जीवन पाउन् भनेर म आएँ र त्‍यो प्रशस्‍त मात्रामा पाउन्।” उहाँले बोल्‍नुभएको बचन “आत्‍मा र जीवन” थियो। १,४४,००० उहाँजस्‍तै हुनेछन्। तिनीहरूले बोलेका कुराले सुन्नेहरूलाई जीवन दिनेछन्। यो केही मात्रामा साँचो भइसकेको छ र येशूलाई पछ्याउनेहरूको निम्‍ति पूरा हुने समय आउँदैछ। हामीले अहिले देखेको भन्‍दा त्‍यो एकदमै प्रशस्‍त मात्रामा हुनेछ।

दोश्रो कुरा: तिनीहरूको आवाज ठूलो गर्जनको आवाजजस्‍तो छ। गर्जनको अर्थ अधिकार र शक्ति भन्ने बुझ्‍नु पर्दछ। परमेश्‍वरले मोशालाई सिनै पर्वतमा दश आज्ञा दिनुहुँदा गर्जनको आवाज पनि सुनिन्‍थ्‍यो। १,४४,००० मानिसहरूले मोशाले जस्‍तै परमेश्‍वरको अधिकार पाउनेछन्।

तेश्रो कुरा: १,४४,०००को स्‍वर वीणा बजाउनेले बजाइरहेको वीणाको स्‍वरजस्‍तो हुनेछ। तिनीहरूको स्‍वर सङ्गीतजस्‍तै हुन्‍छ। सङ्गीतको रचना गर्ने सबैको क्षमता हुँदैन। विशेष प्राकृतिक वरदान भएकाले मात्रै सङ्गीत रच्‍न सक्‍दछन्। तालिमविना सङ्गीत रच्‍न सकिन्न। सङ्गीतकारले उसले सङ्गीत बजाउनुभन्‍दा अघि सुन्न सिक्‍नुपर्छ। आवाज मिलाउने र लय चिन्ने नियम सिकेको हुनुपर्छ। त्‍यसपछि उसका हातहरू अथवा स्‍वरलाई ती आवाज उत्‍पन्न गर्नको निम्‍ति अनुशासित गरेको हुनुपर्दछ। प्राकृतिक क्षमाताको साथै यी सबै कुराहरूलाई सिक्‍न धेरै समय, परिश्रम र तालिम चाहिन्‍छ।

यसका परिणामहरू दुई किसिमका छन्। सङ्गीतले ठूलो आनन्‍द दिन सक्‍छ र यो अति मनोहर हुन सक्‍छ। यसले सन्‍देश पनि आदान प्रदान गर्न सक्‍छ। १,४४,०००को स्‍वर सङ्गीत जस्‍तो हुनेछ। सङ्गीतकारहरूको जस्‍तो तिनीहरूसँग परमेश्‍वरले दिनुभएको उत्तम वरदान हुन्‍छ। तिनीहरूले परमेश्‍वरको स्‍वर लामो समयसम्‍म र अति नै होसियारी पूर्वक सुनेका हुन्‍छन्। तिनीहरू कडा र लामो अनुशासनद्वारा उहाँको स्‍वर उत्‍पन्न गर्नसक्‍ने तालिम पाएका हुन्‍छन्। यसको परिणाम स्‍वरूप तिनीहरूले परमेश्‍वरको सत्‍य वचनलाई अति सुन्‍दर प्रकारले बाँड्नेछन्। यिनै परिणामले गर्दा भीडहरू येशू कहाँ आकर्षित हुन्‍थे। तिनीहरूले यस्‍तो भने, “यो मानिसले जस्‍तै अरू कसैले पनि अहिलेसम्‍म बोलेको छैन”।

सङ्गीतकारहरूजस्‍तै तिनीहरू पनि एक अर्कासँग पूर्ण सम्‍बन्‍ध राख्‍दछन्। कमजोर सङ्गीतकारहरू विना लय र विना ताल उस्‍तै लयमा गाउने प्रयास गर्छन्। शायद तिनीहरू आफैचाँहि खुशी हुन्‍छन् होला तर अरूहरूले त्यसलाई रुचाउँदैनन्। असल सङ्गीतकारहरू विभिन्न लयमा गाउन सक्‍छन् तर त्‍यो सीधा प्रकारले एक आपसमा मिलेको र मिलाइएको हुन्‍छ। मानिसहरूबाट सिकेका सबै मानिसहरूले एउटै अर्थात् उस्‍तै कुरा बोल्‍दछन्। उनीहरूले बेसमझ र आपसमा लय नमिलेका सन्‍देश बोल्‍दछन्। तिनीहरूको एक आपसमा ठीक सम्‍बन्‍ध हुँदैन। परमेश्‍वरले सिकाउनुभएका १,४४,००० को बीचमा धेरै भिन्नता भए तापनि आपसमा सीधा प्रकारको सम्‍बन्‍ध राखेर आत्‍मामा एक भएका हुन्‍छन्।

३ पद “सिंहासनको र ती चार जीवित प्राणीहरूका र धर्मगुरुहरूका अगाडि तिनीहरूले नयाँ गीत गाउँदथे। पृथ्‍वीबाट मोल तिरी छुट्टाइएका एक लाख चवालीस हजारले बाहेक कसैले त्‍यो गीत सिक्‍न सक्‍दैनथियो।”

मानिसहरूले आफ्‍नो अनुभव भन्नलाई अथवा वर्णन गर्नलाई गीत गाउँछन्। अनुभव नभएका र केही नबुझेका मानिसहरूले गीतसँग सम्‍बन्‍ध राख्‍न सक्‍दैनन्। १,४४,००० को विशेष अनुभवचाँहि यो हो,कि तिनीहरू पृथ्‍वीबाट मोल तिरेर छुटाइएका हुन्।

पृथ्‍वी प्राकृतिक मानिसको क्षेत्र हो। परमेश्‍वर र आत्‍माको क्षेत्र अर्थात् स्‍वर्गदेखि पृथ्‍वी उल्‍टो छ। प्रकाशको पुस्‍तकले लगातार रूपमा तीनवटा क्षेत्रहरूलाई उल्‍लेख गर्दछ- स्‍वर्ग, पृथ्‍वी र समुद्र। समुद्र बाँझो र लाभरहित छ। यसमा खेती, निर्माणको काम र कुनै सन्‍तुलनको कुरा गर्न सकिन्न। यसमा काम लाग्‍ने कुरा माछाहरू समात्‍ने मात्र हो। माछाहरूलाई समातेपछि जमिनमा ल्‍याइन्‍छ। येशूले आत्‍मिक परिवर्तनको अनुभव वर्णन गर्नलाई यो उदाहरण चलाउनु भएको थियो। उहाँले चेलाहरूलाई भन्नुभयो “म तिमीहरूलाई मानिसहरूको जालहारी बनाउँछु।” चेलाहरूले मानिसहरूलाई समुद्रबाट पृथ्‍वीमा ल्‍याउनु पर्थ्‍यो।

प्रकाशको पुस्‍तकले पृथ्‍वीमा रहने र स्‍वर्गमा रहनेहरूको बीचमा स्‍पष्‍ट फरक छुट्टयाउँदछ। “त्‍यसकारण हे स्‍वर्गमा रहनेहरू, तिमीहरू रमाओ। तर पृथ्‍वी र समुद्रलाई धिक्‍कार ! किनभने आफ्‍नो समय अल्‍प छ भनी थाहा पाएर दियाबलस शैतान ठूलो क्रोधसाथ तिमीहरू कहाँ तल आएको छ” (प्रकाश १२:१२)। मृत्‍यु भएका र स्‍वर्ग गएकाहरूलाई यस पदले उल्‍लेख गर्दैन। तर ख्रीष्‍टसँग स्‍वर्गीय स्‍थानहरूमा बसेकाहरूलाई उल्‍लेख गर्दछ। नयाँ करारमा स्‍वर्ग भविष्‍यको घरभन्‍दा अहिलेको अनुभव हो। यो आत्‍माको क्षेत्र हो। मृत्‍युको वर्णन गर्दा “स्‍वर्ग जानु” भन्ने शब्‍द कहिले पनि बाइबलमा आउँदैन। बरु पावलले “ख्रीष्‍टसँग हुन” भन्ने शब्‍दलाई चलाउँदछन्। येशूले “पिताकहाँ जाने” शब्‍द चलाउनु भएको छ।

आदमका सन्‍तानका सबै सदस्‍यहरू जस्‍तै, १,४४,००० सुरुमा संसारका थिए। तिनीहरू अब स्‍वर्गमा बस्‍नेहरू हुनआएका छन्। तिनीहरूको नागरिकता परिवर्तन भएको छ। तिनीहरू अब संसारको अधीनमा नरहेर स्‍वर्गीय क्षेत्रका हुन आएका छन्। तिनीहरूले उद्धारको पूर्णता पाइसकेका छन् र अब तिनीहरू पूर्णतवरले परमेश्‍वरको अधीनमा छन्।

४ पद: “तिनीहरू स्‍त्रीसँग लसपस भएका थिएनन् र आफूलाई चोखो राखेका थिए। थुमा जताजता जानुहुन्‍छ उहाँका पछिपछि लाग्‍नेहरू यिनीहरू नै हुन्। परमेश्‍वर र थुमाको निम्‍ति पहिलो फलको रूपमा मानिसहरूका बीचबाट यिनीहरू मोल तिरी छुट्टयाइएका थिए।”

स्‍त्रीसँग लसपस भएका भन्नाले के अर्थ लगाउँछ? निश्‍चय नै हामी सब प्रकारका यौन स्‍वतन्‍त्रता र अनैतिक काम भएको समयमा बाँचेका छौँ। परमेश्‍वरका दासहरू निश्‍चय शुद्ध र निन्‍दारहित हुनुपर्दछ (यो भन्नु नपर्ने कुरो हो)। माथि उल्‍लेखित यो पदको अर्थ पुरुषहरूको शारीरिक यौन सम्बन्‍धी चोखोपनको मात्र कुरा हो भन्‍ने हो भने यसले स्‍त्रीहरूलाईचाँहि १,४४,००० बाट छुट्ट्याइएको हुनेछ।

यो पदको मुख्‍य अर्थ आत्‍मिकी शुद्धता हो। प्रकाशको पुस्‍तकले दुईवटा दुष्‍ट स्‍त्रीहरूको विषयमा वर्णन गर्दछ। प्रकाश २:२० पदमा हामी पढ्दछौँ “तर तिम्रो विरुद्धमा मैले यो भन्नु छ: तिमी ईजेबेल भन्ने स्‍त्रीलाई सहन गर्छौ। त्‍यसले आफैलाई अगमवादिनी भन्‍छे र मेरा सेवकहरूलाई व्‍यभिचार गर्न र मुर्तिहरूलाई चढाइएको भेजन खान सिकाउँछे र यसरी तिनीहरूलाई बहकाउँछे।” पछि गएर प्रकाश १७: ५ मा हामी पढ्दछौँ- “रहस्‍य - पृथ्‍वीका वेश्‍याहरू र घिनलाग्‍दा कुराहरूकी आमा महान् बेबिलोन।”

त्‍यस्‍ता स्‍त्रीहरूसँग १,४४,००० बिटुला भएनन्। तिनीहरू ईजेबेल र बेबिलोनका फोहोरीपनादेखि एकदम अलग छन्। तिनीहरू परमेश्‍वरको प्रकाशद्वारा बेबिलोनको रहस्‍यको अर्थ र स्‍वभाव बुझेर हृदयदेखि“मेरा मानिस हो, त्‍यसबाट निस्‍केर आऊ, नत्रता त्‍यसका पापहरूसँग तिमीहरू पनि सहभागी हुनेछौ र त्‍यसका विपत्तिहरू तिमीहरूले भोग्‍नेछौ” (प्रकाश १८; ४) भनेर आज्ञाकारी भएका हुनेछन्। ४ पदको महत्त्पूर्ण वर्णनले यसको अर्थलाई झन् स्‍पष्‍ट पार्दछ; “थुमा जताजता जानुहुन्‍छ उहाँका पछिपछि लाग्‍नेहरू यिनीहरू नै हुन्।” उहाँका समयमा येशू आफै पनि बेबिलोनदेखि पूर्ण रूपले अलग हुनुहुन्‍थ्‍यो। उहाँले मानवद्वारा बनाएको भ्रष्‍ट धर्ममा कुनै भाग लिनुभएन। उहाँजस्‍तै तिनीहरू भएको हुनाले तिनीहरू पनि पूर्ण तवरले आत्‍माद्वारा अगुवाइ भएका हुनेछन्।

“थुमा जताजता जानुहुन्‍छ उहाँका पछिपछि लाग्‍नु” भनेको अर्थ के हो? येशू कहाँ जानुभयो? यस संसारमा उहाँ गर्भधारणपछि जन्‍म, बालककाल, किशोर अवस्‍थादेखि पूर्ण मानिस हुनुभयो। उहाँ आज्ञाकारी, तिरस्‍कार, सतावट र क्रूसमा मृत्‍युको बाटो भएर हिँड्नुभयो। उहाँ विजयी भएर चिहानबाट बौरी उठ्नुभयो र परमेश्‍वरको दाहिने हाततर्फ उचालिनुभयो। यो परमेश्‍वरको थुमाको जीवनमार्गको सारांश हो। उहाँ जहाँजहाँ जानुहुन्‍छ उहाँलाई पछ्याउनेहरूको पनि त्‍यही नै जीवनको बाटो हुन्‍छ। तिनीहरू पनि यी कुनै कुराहरूदेखि अलग रहन सक्‍दैनन्।

उहाँलाई पछ्याउनेहरूले परमेश्‍वरको वचनमा गर्भधारण भई जन्‍मेको हुनुपर्छ। बालककाल, किशोर अवस्‍थादेखि परिपक्‍वतालाई तिनीहरूले पनि पार गरेको हुनुपर्छ। तिनीहरूले आज्ञाकारिताको बाटोमा तिरस्‍कार, सतावट र मृत्‍युको अनुभव गरेको हुनुपर्छ। धेरै जसो मानिसहरूको शारीरिक मृत्‍यु नभए पनि तिनीहरूमा मृत्‍युको अनुभव हुनेछ। उहाँसँग तिनीहरू सतावटमा पर्छन् भने उहाँसँग राज्‍य पनि गर्नेछन्।

५ पद “तिनीहरूका मुखमा कुनै झूट पाइएन तिनीहरू निष्‍खोट छन्”

१,४४,००० को अन्‍तिम विशेषता- विश्‍वासपूर्णता र शुद्धता थियो। झूट हामीहरूको वरिपरि छ। सामाजिक, व्‍यापारिक र राजनीतीक सबै किसिमका झूटहरू जीवनका भाग भएका छन्। त्‍योभन्‍दा नराम्रो कुरा पारिवारिक र मण्‍डलीको जीवनमा हुने गर्दछ। झन् नराम्रो कुरा, त्‍यसको श्रोत हाम्रो आफ्‍नै हृदयमा पाउन सक्‍छौँ।

येशू पूर्ण तवरले भिन्‍दै हुनुहुन्‍छ । उहाँले भन्नुभएका र गर्नुभएका सबै कुराहरू सम्‍पूर्ण सत्‍य थिए। उहाँ आफै नै सत्‍य हुनुहुन्‍छ। पवित्र आत्‍मा सत्‍यको आत्‍मा हुनुहुन्‍छ। शैतान झूटको पिता हो।

सबभन्‍दा ठूलो झूट के हो? परमेश्‍वरको बारेमा झूटो साक्षी दिनु। येशूलाई विश्‍वासयोग्‍य साँचो साक्षी भनी वर्णन गरिएको छ। उहाँ परमेश्‍वरको सिद्ध प्रतिनिधि हुनुहुन्‍छ। उहाँले सत्‍य बोल्‍नुएको मात्रै होइन तर उहाँ सत्‍य नै हुनुहुन्‍थ्‍यो। अर्कोतिर फरिसीहरू पूर्ण रूपले झूटा गवाहीहरू थिए। तिनीहरूले परमेश्‍वरको बारेमा मानिसहरूलाई सिकाउँथे तर तिनीहरूको आफ्‍नै जीवनले उहाँलाई अस्‍वीकार गर्दथ्‍यो। झूट बोल्‍नु खराब कुरो हो भने परमेश्‍वरको झूटो साक्षी भएर आत्‍मिक झूट बोल्‍नु अझै नराम्रो कुरो हो।

समाप्‍ती

दुई प्रकारका मानिसहरूलाई हामीहरूले यो अध्‍ययनमा विचार गर्‍यौँ। हामीहरू तिनलाई ६६६ र ८८८ का मानिसहरू भन्न सक्‍छौँ। ६६६ का मानिसहरूले परमेश्‍वररहितको जीवन बिताउछन्। यसो गरेर तिनीहरू आफ्‍नो इच्‍छाले वा इच्‍छाविना शैतानको पासोमा पर्दछन्। ८८८ का मानिसहरू ठीक उल्‍टा छन्। थुमा जहाँ जानुहुन्‍छ तिनीहरूले उहाँलाई पछ्याउँछन्। तिनीहरूलाई आत्‍माले पूर्ण रूपमा अगुवाइ गरेको छ। तिनीहरूले पृथ्‍वीबाट उद्धार पाएका छन्।

के हामीहरू १,४४,००० मध्‍येका हुन सक्‍छौँ? “जस्‍तो तिमीहरूको स्‍वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्‍छ तिमीहरू पनि त्‍यस्‍तै सिद्ध हौ” भन्ने येशूको आज्ञालाई के हामीहरूले पूर्ण रूपमा पालन गर्न सक्‍छौँ? “मैले यी सबै अघिबाटै प्राप्‍त गरिसकेको छु अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन तर ती कुराहरूलाई पक्रनको निम्‍ति म अघि बढिरहेको छु जुन कुराको निम्‍ति ख्रीष्‍टले मलाई पक्रनुभयो” (फिलिप्‍पी ३: १२) भनेर पावलले भनेका छन्। हाम्रो लक्ष्‍य पनि त्‍यस्‍तै हुनु पर्दछ।

पश्‍चलेख

www

अन्‍तमा हामी चाखलाग्‍दो कुरा विचार गर्छौं W (डब्‍लू) यो हिब्रू भाषाको छैठौँ अक्षर हो। अर्को शब्‍दमा W अक्षर ६ जस्‍तो हो। ६६६ हिब्रूमा कसरी लेख्‍ने? WWW! अँ यस्‍तै।

www अथवा World Wide Web मान्‍छेको विभिन्न विषयको ज्ञान र बुद्धिको वृहत सङ्कलन हो। कम्‍प्युटरको “माउस” विभिन्न किसिमले प्रयोग गरेर हामी कुनै पनि असल या खराब विषयको बारेमा जानकारी पाउन सक्‍छौँ।

धर्मशास्‍त्रमा हामी यस्‍तै कुरा पाउछौँ। पत्रुसले येशूलाई भने “तपाईं सबै कुरा जान्नुहुन्‍छ।” (युहन्नअ २१: १७) यूहन्ना पनि त्‍यहाँ थिए र उनले सुनेअनुसार आफ्‍नो पत्रमा त्‍यस्‍तै कुरा लेखे: “तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ, र तिमीहरू सबै कुरा जान्‍दछौ” (१ यूहन्ना २: २०)।

नत येशू न यूहन्नाका पत्र पढ्नेहरू इन्‍टरनेट (Internet) का प्रयोग गर्नेहरू थिए। उनीहरूको ज्ञानको श्रोत ६६६ होइन, ८८८ थियो। उनिहरूको पशुको मन होइन, ख्रीष्‍टको मन थियो।

यो पुस्‍तकलाई रंगिन [Color] छाप्‍ने फाइल

यो पुस्‍तकलाई श्‍याम-स्‍वेत [Black & White] छाप्‍ने फाइल

कसरी छाप्ने