पाँच सेवकाइहरू

परिचय

एफिसीहरूको पत्रमा पावलले पाँच वटा फरक सेवकाइहरूबारे लेख्दछन्। ती पाँच सेवकाइहरू येशूले आफ्नो मण्डलीलाई दिनुभएको वरदानहरू हुन्।

एफिसी ४:८ मा पावलले यसरी लेखे: “उहाँ उच्‍चमा चढ़िजानुहुँदा ... मानिसहरूलाई वरदानहरू दिनुभयो।”

ती वरदानहरू के-के हुन् भनी पावलले एफिसी ४:११; मा लेख्दछन्:

यी पाँच सेवकाइहरू के-के हुन्? यी सेवकाइहरू हाम्रो नेपालको मण्डलीमा छन् त? प्राय: मण्डलीहरूमा अगुवालाई पास्टर भनिन्छ तर अरू चार वटा वरदानहरूका बारेमा चाहिँ के हो? प्रेरितहरू, अगमवक्ताहरू, शिक्षकहरू र प्रचारकहरूका बारेमा के भन्‍ने? के हाम्रो मण्डलीहरूमा त्यस्ता मानिसहरू छन्?

यस्ता सेवकाइहरूमध्ये प्रत्येक पवित्र आत्माको शक्तिमा निर्भर हुन्छ। बाइबल कलेज अथवा सेमिनारीमा गएर हामीले यस्ता सेवकाइहरू सिक्‍न सक्दैनौँ। परमेश्‍वरबाट पवित्र आत्माको शक्तिमा मात्र हामीले त्यस्ता वरदानहरू प्राप्‍त गर्न सक्छौँ।

१ कोरिन्थी १२:८-१० मा पावलले पवित्र आत्माको ९ वटा वरदानहरू लेखेका छन्, जुन यस प्रकारका छन्:

फरक-फरक सेवकाइहरूका निम्ति फरक-फरक वरदानहरू आवश्यक पर्दछन्। उदाहरणको लागि प्रचारकसँग निको पार्ने वरदान हुनु राम्रो हो। अगमवक्तासँग अगमवाणी गर्ने वरदान हुनैपर्छ। त्यसैगरी गोठालोसँग बुद्धिको वरदान हुनुपर्छ।

हामीसँग अर्को समस्या छ। मेरो विचारमा यी पाँच सेवकाइहरूमध्ये दुई अथवा तीन वटा नामहरूलाई (शब्दहरूलाई) अङ्ग्रेजीबाट अथवा ग्रीकबाट नेपालीमा ठिकसँग अनुवाद गरिएको छैन। मैले यहाँ तपाईंलाई अङ्ग्रेजी पाठ दिन खोजेकोमा क्षमा गर्नुहोस्।

तर पहिले हामी येशूलाई हेर्नेछौँ।

येशू

के येशूले ती पाँच सेवकाइहरू अभ्यास गर्नुभयो? कृपया यी पदहरू पढ्नुहोस्।

“यसकारण स्‍वर्गीय बोलावटमा सहभागी भएका पवित्र भाइ हो, हामीले दृढ़ स्‍वीकार गरेका प्रेरित तथा प्रधान पूजाहारी येशूलाई विचार गर” (हिब्रू ३:१)। येशू प्रेरित हुनुहुन्थ्यो।

“...येशू नासरीको बारेमा, उहाँ एक जना अगमवक्ता हुनुहुन्‍थ्‍यो, र परमेश्‍वर र सबै मानिसहरूका सामुन्‍ने काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो” (लूका २४:१९)। येशू अगमवक्ता हुनुहुन्थ्यो।

“म असल गोठालो हुँ” (यूहन्‍ना १०:११)। येशू गोठालो हुनुहुन्थ्यो।

“गुरुज्‍यू, हामी जान्‍दछौं तपाईं परमेश्‍वरबाट आउनुभएको शिक्षक हुनुहुन्‍छ” (यूहन्‍ना ३:२)। येशू शिक्षक हुनुहुन्थ्यो।

“परमप्रभुका आत्‍मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्‍ति उहाँले मलाई अभिषेक गर्नुभएको छ” (लूका ४:१८) येशू सुसमाचारक हुनुहुन्थ्यो।

येशूले ती पाँचै वटा सेवकाइहरू अभ्यास गर्नुभएको थियो भन्‍ने तथ्य हामी यी खण्डहरूमा स्पष्टसँग देख्दछौँ।

अब हामी ती सेवकाइहरू प्रत्येकलाई पालैपालो एक-एक गरी हेर्नेछौँ र तिनीहरूका बारेमा अझ बढी सिक्‍न कोसिस गर्नेछौँ।

प्रचारक – सुसमाचारक

हामी पहिले प्रचारकको बारेमा विचार गर्नेछौँ।

नेपाली शब्द ‘प्रचारक’ अथवा अङ्ग्रेजी शब्द ‘evangelist’ करिब उस्तै अर्थ दिने ग्रीक शब्द ‘εὐαγγελιστης’ (एउअङ्गेलिष्टीज) बाट आएको हो। यसको अर्थ ‘असल समाचार ल्याउने व्यक्ति’ हो। वास्तवमा ‘प्रचारक’ त्यस शब्दको ठिक अनुवाद होइन बरु त्यसको सट्टामा ‘सुसमाचारक’ प्रयोग गर्नु राम्रो हुनेछ। सुसमाचारकको काम भनेको सुसमाचार सुन्‍न नपाएका मानिसहरूकहाँ गएर तिनीहरूलाई येशूको बारेमा बताउनु हो।

मर्कूसको सुसमाचारको अन्तिम खण्डमा येशूले चेलाहरूलाई भन्‍नुभयो, “सारा संसारमा गएर सारा सृष्‍टिलाई सुसमाचार प्रचार गर।” के उहाँले यो कुरा सबै अनुयायीहरूलाई भन्‍नुभयो? होइन! उहाँले त्यो बाँकी रहेका ११ जना चेलाहरूलाई मात्र त्यो कुरा भन्‍नुभयो। किनभने त्यो काम गर्नको निम्ति तिनीहरूलाई तयार पारिएको थियो। त्योभन्दा पहिले येशूले तिनीहरूलाई यसो भनेर बाहिर पठाउनुभएको थियो, “रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवनमा ल्याऊ। कुष्ट रोगीहरूको उपचार गर। मानिसहरूबाट भूतहरू धपाऊ।” थुप्रै मानिसहरू निको भएका र दुष्ट आत्माहरूबाट स्वतन्त्र भएका तिनीहरूले पहिले नै देखिसकेका थिए। त्यतिबेला तिनीहरूले उक्त काम गर्न आवश्यक पर्ने पवित्र आत्माको शक्ति प्राप्‍त गरेका थिए। त्यसको केही समयपछि पेन्तिकोसको दिनमा तिनीहरूले पवित्र आत्माको पूर्ण शक्ति पाए।

सुसमाचारकहरूलाई निको पार्ने र दुष्ट आत्माहरू भगाउने वरदानहरू खाँचो पर्छ। किनभने अविश्‍वासीहरूले त्यस्ता चिन्‍हहरू देखेर येशूमा विश्‍वास गर्नेछन्।

आफ्नो जीवनमा परमेश्‍वरले के गर्नुभएको छ भनी हरेक विश्‍वासीले गवाही दिन सक्छन्; तर हरेक विश्‍वासीलाई प्रचारक (सुसमाचारक) हुनको निम्ति बोलाइएको छैन।

गोठालो

येशूले भन्‍नुभयो, “म असल गोठालो हुँ। असल गोठालाले आफ्‍ना भेड़ाहरूका निम्‍ति आफ्‍नो प्राण अर्पण गर्छ।” उहाँले “म असल पास्टर हुँ” भन्‍नुभएन। अङ्ग्रेजीमा shepherd र pastor शब्दहरूले गोठालोलाई बुझाउँछ। पुरानो अङ्ग्रेजीमा यी दुई वटा शब्दहरूले उही अर्थ दिन्छ। आधुनिक अङ्ग्रेजीमा पास्टर भन्‍ने शब्दले मण्डलीको अगुवालाई बुझाउँछ। बाइबलमा हेर्ने हो भने गोठालो भन्‍ने शब्दले कहीँ पनि मण्डलीको अगुवालाई बुझाएको देखिँदैन।

आफ्नो भेडाको वास्ता (हेरचाहा) गर्ने मानिस नै गोठालो हो। उसले तिनीहरूलाई सुरक्षा दिने, डोर्‍याउने र खुवाउने काम गर्छ। परिआएमा तिनीहरूको निम्ति आफ्नो जीवन अर्पण गर्न पनि ऊ इच्छुक हुन्छ (पछि हट्दैन)। मोशा र दाऊद दुवै जना गोठालाहरू थिए। तिनीहरूले धेरै वर्षसम्म भेडाहरूको हेरचाहा गरेपछि परमेश्‍वरले तिनीहरूलाई मानिसहरूको हेरचाहा गर्ने काम गर्न बोलावट दिनुभयो।

गोठालोको सेवकाइ भनेको व्यक्तिगत सेवकाइ हो। येशूले “आफ्ना भेडाहरूलाई नाउँ काढी-काढी बोलाउनुहुन्छ” भनेर हामी बाइबलमा पढ्छौँ (यूहन्‍ना १०:३)। असल गोठालोले आफ्नो भेडाहरूलाई एक-एक गरी व्यक्तिगतरूपमा जान्‍नैपर्छ। उसले तिनीहरूलाई वास्ता गर्नैपर्छ।

प्रत्येक मण्डलीमा एउटा मात्र गोठालो पर्याप्‍त हुँदैन। केही मानिसहरूसँग गोठालोको बलियो सेवकाइ हुन्छ र उनीहरूले थुप्रै भेडाहरूको हेरचाहा गर्छन्। अरूहरूसँग चाहिँ गोठालोको सानो सेवकाइ हुन्छ र सायद उनीहरूले एक-दुई जना नयाँ विश्‍वासीहरूको हेरचाहा गर्नेछन्।

गोठालोसँग अरू मानिसहरूलाई सल्लाह-परामर्श र हौसला दिने खुबी हुनैपर्छ र त्यसको निम्ति उसलाई बुद्धिको आत्मिक वरदान खाँचो पर्दछ।

शिक्षक

येशूकहाँ आएर निकोदेमसले भने: “गुरुज्‍यू, हामी जान्‍दछौं तपाईं परमेश्‍वरबाट आउनुभएको शिक्षक हुनुहुन्‍छ, किनकि परमेश्‍वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्‍हहरू कसैले गर्न सक्‍दैन।” तसर्थ येशू शिक्षक हुनुहुन्थ्यो, तर उहाँ बाइबल शिक्षक हुनुहुन्थेन। येशूले धर्मशास्‍त्र सिकाउनुभएन; उहाँले त धर्मशास्‍त्रको अर्थ खोलेर व्याख्या गर्नुभयो।

पुनरुत्थानपछि येशूले इम्माउसको बाटोमा दुई जना चेलाहरूलाई भेट्नुभयो। त्यहाँ हामी यसरी पढ्छौँ: “तब मोशा र सबै अगमवक्ताहरूबाट सुरु गरेर उहाँले धर्मशास्‍त्रमा आफ्‍नो विषयमा लेखिएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनुभयो” (लूका २४:२७)। ती चेलाहरूले धर्मशास्‍त्रमा के लेखिएको थियो भनी जान्दथे, तर त्यसको गहिरो अर्थचाहिँ जान्दैनथे। आजभोलि अरू मुलुकहरूमा झैँ नेपालका धेरै मानिसहरूले धर्मशास्‍त्रमा लेखिएका कुराहरू जान्दछन्, तर तिनीहरूले ती कुराहरू बुझ्दैनन्। धेरै बाइबल शिक्षकहरूले धर्मशास्‍त्र जान्दछन्, तर तिनीहरूले त्यसको सही अर्थ के हो भनी जान्दैनन्।

पावल नयाँ करारमा अति असल शिक्षक थिए। दमस्कसको बाटोमा येशूलाई भेट्नुभन्दा पहिले, पावलले निकै लामो समयसम्म धर्मशास्‍त्र (पुरानो करार) अध्ययन गरे। तिनले धर्मशास्‍त्र जान्दथे, तर त्यसको साँचो अर्थ जान्दैनथे। जीवन परिवर्तनपछि धर्मशास्‍त्र सिक्‍न तिनी पत्रुसकहाँ गएनन् बरु तिनी एक्‍लै परमेश्‍वरकहाँ गए। परमेश्‍वरले तिनलाई पुरानो करार धर्मशास्‍त्रमा लुकिएको अर्थ खोल्न पूर्णरूपमा नयाँ ज्योति दिनुभयो। पवित्र आत्माद्वारा तिनले त्यसको बारेमा नयाँ प्रकाश पाए। त्यसको निम्ति निकै लामो समय लाग्यो। त्यसपछि पावल परमेश्‍वरले आफूलाई दिनुभएको प्रकाश बाँड्न रोमी र अरूहरूलाई सुन्दर पत्रहरू लेख्‍न सक्षम भए। वास्तवमा मण्डलीको निम्ति पावल येशू ख्रीष्टको वरदान (उपहार) हुन्।

हामीलाई नेपालमा परमेश्‍वरबाट व्यक्तिगतरूपमा प्रकाश प्राप्‍त गरेका शिक्षकहरूको खाँचो छ।

यदि हामी धर्मशास्‍त्र बुझ्‍न चाहन्छौँ भने हामीले पवित्र आत्माबाट प्रकाश पाउनैपर्छ।

प्रेरित – पठाइएको

प्रेरितको अर्थ के हो? प्रेरणा पाएको मानिस नै प्रेरित हो। मेरो विचारमा ‘प्रेरित’ भन्‍ने शब्द अङ्ग्रेजीको apostle शब्दको राम्रो अनुवाद होइन। यो शब्द ग्रीक भाषाको αποστολος (आपोष्टोलोस) बाट आएको हो, जसको अर्थ ‘पठाइएको व्यक्ति’ हुन्छ। वास्तवमा त्यसको निम्ति अङ्ग्रेजीको मिसेनरी (missionary) शब्द प्रयोग गर्नु असल हुन्छ किनभने यसको अर्थ ‘पठाइएको व्यक्ति’ हो।

पुनरुत्थानपछि येशू आफ्ना चेलाहरूकहाँ देखा पर्नुभएर भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति! जसरी पिताले मलाई पठाउनुभयो, त्‍यसरी म पनि तिमीहरूलाई पठाउँदछु।” अनि यति भनेर उहाँले तिनीहरूमाथि श्‍वास फुकेर भन्‍नुभयो, “पवित्र आत्‍मा लेओ”(यूहन्‍ना २०:२२)।

परमेश्‍वर पिताले येशूलाई यस संसारमा पठाउनुभयो।

पाँच वटा सेवकाइहरूमध्ये प्रेरित अति महत्वपूर्ण हो। प्राय: प्रेरितलाई येशूको नाउँ सुन्‍न नपाएको ठाउँहरूमा पठाइन्छ। उसले त्यहाँ गएर अन्य सेवकाइहरू पनि अभ्यास गर्नेछ। ऊ निश्‍चय नै सुसमाचारक हुनैपर्छ। येशूको बारेमा केही पनि नजान्‍ने मानिसहरूका बीचमा गएर उसले सुसमाचार प्रचार गर्नैपर्छ।

बाइबलमा हेर्ने हो भने पावल प्रेरित थिए; र त्यसैगरी तिनी शिक्षक र सुसमाचारक पनि थिए। सम्भवत: तिनमा अगमवक्ता र गोठालोको वरदान पनि थियो होला।

पत्रुसचाहिँ प्रेरित अनि शक्तिशाली सुसमाचारक हुन्। पेन्तिकोसको दिनमा तिनले प्रचार गर्दा ३००० मानिसहरूले विश्‍वास गरे (प्रेरित २:४१)। पछि गएर तिनी पक्‍कै गोठालो भए किनभने तिनको निम्ति येशूको अन्तिम शब्दहरू यस्ता थिए, “मेरा भेडाहरूलाई खुवाऊ” (यूहन्‍ना २१:१७)।

हालसालैको कुरा गर्ने हो भने, साधु सुन्दर सिंह प्रेरित हुन्। सुसमाचार प्रचार गर्न र मण्डलीहरू स्थापना गर्नको निम्ति परमेश्‍वरले उहाँलाई भारत, नेपाल, तिब्बत अनि अन्य मुलुकहरूमा पठाउनुभयो। उहाँसँग पनि पक्‍कै सुसमाचारकको सेवकाइ थियो।

प्रेरितको काम भनेको मण्डलीहरू स्थापना गर्नु हो।

अगमवक्ता

पाँच वटा सेवकाइहरूमध्ये अगमवक्ता मात्र यस्तो सेवकाइ हो, जुन पुरानो करारमा उल्लेखित छ। पुरानो करारको सुरुदेखि अन्तसम्म हामी अगमवक्ताहरूलाई भेट्छौँ। पहिलो अगमवक्ता अब्राहाम हुन् भने अन्तिमचाहिँ मलाकी हुन्। १००० वर्षभन्दा लामो समयसम्म परमेश्‍वर ती अगमवक्ताहरूद्वारा आफ्ना मानिसहरूसँग बोल्‍नुभयो।

परमेश्‍वर मुख्य दुई तरिकाले ती अगमवक्ताहरूसँग बोल्नुभयो।

पहिलो, परमेश्‍वर तिनीहरूसँग शब्दहरूमा बोल्‍नुहुन्थ्यो। पुरानो करारमा हामी १०० भन्दा बढी यस्ता वाक्यहरू पढ्छौँ: “परमेश्‍वरको वचन यशैयाकहाँ आयो”, “परमेश्‍वरको वचन यर्मियाकहाँ आयो” आदि। आफ्ना मानिसहरूलाई बताउनुपर्ने सन्देशहरू उहाँले अगमवक्ताहरूलाई दिनुहुन्थ्यो।

दोस्रो, परमेश्‍वर अगमवक्ताहरूसँग दर्शनहरूमा बोल्‍नुहुन्थ्यो। इजकिएल, दानिएल र जकरियाले थुप्रै दर्शनहरू देखे।

अगमवक्ता भनेको यस्तो व्यक्ति हो, जसले परमेश्‍वरको आवाज सुनेर त्यो सन्देश अरू मानिसहरूमा प्रसारण गर्छ।

पुरानो करारको समयमा अगमवक्ताहरू अति विशेष मानिसहरू थिए। थोरै सङ्ख्यामा भए तापनि तिनीहरूले परमेश्‍वरको आवाज सुन्‍न सक्दथे र उहाँको सन्देशहरू मानिसहरूकहाँ पुर्‍याउँथे। तर नयाँ करारमा आएपछि पेन्तिकोसको दिनमा अति अचम्मको कुरा भयो। परमेश्‍वरले आफ्नो आत्मा सबै शरीरहरूमा खन्याउनुभयो: उहाँले त्यो केही विशेष मानिसहरूमाथि मात्र खन्याउनुभएन, तर विश्‍वास गर्ने हरेकमाथि खन्याउनुभयो।

योएल अगमवक्ताको यी शब्दहरूलाई पत्रुसले उद्धृत गरे: “आखिरी दिनहरूमा यस्‍तो हुनेछ भनी परमेश्‍वर भन्‍नुहुन्‍छ, म सबै मानिसहरूमाथि मेरा आत्‍मा खन्‍याइदिनेछु, र तिमीहरूका छोराहरू, र तिमीहरूका छोरीहरूले अगमवाणी बोल्‍नेछन्‌, र तिमीहरूका युवकहरूले दर्शन देख्‍नेछन्‌, र तिमीहरूका बूढ़ापाकाहरू स्‍वप्‍नदर्शी हुनेछन्‌” (प्रेरित २:१७,१८)।

पुरानो करारमा परमेश्‍वर अगमवक्ताहरूद्वारा आफ्ना मानिसहरूसँग (यहूदीहरूसँग) बोल्‍नुभयो। नयाँ करारमा उहाँ प्रत्येक विश्‍वासीसँग प्रत्यक्ष अनि व्यक्तिगतरूपमा बोल्‍नुहुन्छ। विश्‍वास गर्ने हरेक व्यक्ति चाहे त्यो जवान होस् अथवा बूढा, पुरुष होस् अथवा स्‍त्री, शिक्षित होस् अथवा अशिक्षित, तिनीहरू सबैले परमेश्‍वरबाट शब्दहरू (वचनहरू) र दर्शनहरू प्राप्‍त गर्न सक्छन्।

यसको मतलब के हरेक विश्‍वासी अगमवक्ता हो त? होइन! प्राय: मानिसहरूले आफ्नो अनि आफ्नो परिवार र मित्रहरूको खाँचो पूरा गर्नको निम्ति परमेश्‍वरबाट सामान्य सन्देशहरू प्राप्‍त गर्नेछन्। थोरै मानिसहरूले चाहिँ निकै शक्तिशाली र महत्वपूर्ण सन्देशहरू प्राप्‍त गर्नेछन्; जुन तिनीहरूले अरू धेरै मानिसहरूकहाँ लैजानेछन्। त्यस्ता मानिसहरू अगमवक्ताहरू हुनेछन्।

अगमवक्ताहरूले उत्साह अथवा सुधारको सन्देशहरू ल्याउनेछन् (न्याय गर्ने र दोष लगाउने होइन); र ती सन्देशहरू तिनीहरूका मण्डलीको लागि मात्र हुनसक्छन् अथवा नेपालको सबै मण्डलीहरूका निम्ति पनि हुन सक्छन्।

अगमवक्ताहरूले भविष्यको बारेमा पनि सन्देशहरू ल्याउन सक्छन्। परमेश्‍वरले नेपाल अनि अरू सबै देशहरूको भविष्य जान्‍नुहुन्छ। हामी त्यस्ता कुराहरू जान्दैनौँ। तर मानिसहरूले के जान्‍नुपर्ने हो सो कुरा बताउन अगमवक्ताहरूसँग बोल्‍न परमेश्‍वर सक्षम हुनुहुन्छ।

झूटा सेवकाइहरू

साँचो सेवकाइहरूको साथै बाइबलले स्पष्टसँग झूटा सेवकाइहरूको बारेमा पनि बताउँछ।

झूटा अगमवक्ताहरूको बारेमा येशूले भन्‍नुभयो, “...झूटा ख्रीष्‍टहरू, र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्‌, र हुन सके चुनिएकाहरूलाई पनि भड्‌काउनलाई ठूला-ठूला चिन्‍हहरू र आश्‍चर्यका कामहरू देखाउनेछन्‌” (मत्ती २४:२४)।

यूहन्‍नाले यसबारेमा यसरी लेखे, “प्रिय हो, जुनसुकै आत्‍मालाई विश्‍वास नगर, तर आत्‍माहरू परमेश्‍वरबाट आएका हुन्‌ कि होइनन्‌ भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्‍किआएका छन्‌” (१ यूहन्‍ना ४:१)।

पावलले झूटा प्रेरितहरूको बारेमा लेखे, “...त्‍यस्‍ता मानिसहरू झूटा प्रेरितहरू र छली काम गर्नेहरू हुन्‌, र ख्रीष्‍टका प्रेरितहरूको भेष लगाएर हिँड्‌नेहरू मात्र हुन्‌” (२ कोरिन्थी ११:१३)।

पत्रुसले चाहिँ झूटा शिक्षकहरूको बारेमा लेखे, “जसरी इस्राएलीहरूका माझमा झूटा अगमवक्ताहरू पनि थिए, त्‍यसरी तिमीहरूका माझमा झूटा शिक्षकहरू खड़ा हुनेछन्‌। यिनीहरूले गुप्‍त रूपले विनाशकारी झूटा शिक्षाहरू ल्‍याउनेछन्‌, यहाँसम्‍म कि तिनीहरूलाई उद्धार गर्नुहुने स्‍वामीलाई पनि तिनीहरूले इन्‍कार गर्नेछन्‌, र आफैमाथि चाँड़ै विनाश ल्‍याउनेछन्‌” (२ पत्रुस २:१)।

यर्मिया र इजकिएलले झूटा गोठालाहरूको बारेमा बताए (इजकिएल ३४ अध्याय हेर्नुहोस्)।

झूटा प्रेरितहरूले साँचो प्रेरितहरूको अनुकरण (नक्‍कल) गर्नेछन्। झूटा अमगवक्ताहरूले साँचो अगमवक्ताहरूको अनुकरण गर्नेछन्। झूटा शिक्षकहरूले साँचो शिक्षहरूको अनुकरण गर्नेछन्। झूटा गोठालाहरूले साँचो गोठालाहरूको अनुकरण गर्नेछन्।

के नेपालमा झूटा शिक्षकहरू छन्? हो, पक्‍कै छन्! अरू मुलुकहरूबाट आउने मानिसहरूले नयाँ शिक्षाहरू ल्याउँछन्। त्यस्ता शिक्षाहरूमध्ये केही साँचो हुन्छन् र केहीचाहिँ झूटा हुन्छन्। त्यसरी बाहिरबाट आउने मानिसहरूले गोजीमा (खल्तीमा) टन्‍न पैसा बोकेका हुन्छन्। स्थानीय मानिसहरू पनि झूटा शिक्षक, झूटा गोठालो र झूटा अगमवक्ता हुन सक्छन्।

नयाँ विश्‍वासीहरू निकै जोखिमा छन् (असुरक्षित छन्)। सानो बालकले जे भेट्टायो, त्यही मुखमा हाल्ने गर्छ। उसले के असल अनि के खराब हो भनी छुट्ट्याउन सक्दैन। उसले के खानुहुने र के खानु नहुने हो जान्दैन। नयाँ विश्‍वासी पनि त्यस्तै हुन्छ। उसले कुन आत्मिक खाना हो अनि कुन आत्मिक विष हो छुट्ट्याउन सक्दैन।

नयाँ विश्‍वासीहरूलाई हामीले कसरी झूटा सेवकाइहरूबाट बचाउन सक्छौँ? साँचो सेवकाइहरू नै यसको उत्तर (समाधान) हो। साँचो सेवकाइहरूले नयाँ अनि हुर्कदै गरेका विश्‍वासीहरूलाई झूटा सेवकाइहरूबाट सुरक्षा गर्नेछ।

पावलले यो कुरा एफिसीका विश्‍वासीहरूलाई व्याख्या गरे। तिनले लेखेका कुराहरूलाई हामी फेरि हेरौँ: “अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्‍डलीका पास्‍टरहरू र कोही शिक्षकहरू बनून्‌, कि ख्रीष्‍टको शरीर निर्माण होस्‌ र सेवाको काम गर्न सन्‍तहरू सुसज्‍जित होऊन्‌, जबसम्‍म हामी सबैले विश्‍वासको र परमेश्‍वरका पुत्रको ज्ञानको एकता प्राप्‍त गर्दैनौं, र परिपक्‍व मानिस बनी ख्रीष्‍टका पूर्णताको नापसम्‍म पुग्‍दैनौं। यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्‍तको प्रत्‍येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्‍ता नहोऔं” (एफिसी ४:११-१४)।

अगमवक्तासँग आत्माहरू छुट्ट्याउने वरदान हुनेछ। साँचो अगमवक्ताले झूटो अगमवक्तालाई चिन्‍नेछ। झूटो अगमवक्ताले धर्मशास्‍त्रबाट थुप्रै खण्डहरू उद्धरण गरे तापनि, उक्त झूटो अवमवक्ता परमेश्‍वरबाट आएको होइन भनी उसले आफ्नो हृदयमा जान्‍नेछ।

साँचो शिक्षकले झूटो शिक्षकलाई चिन्‍नेछ। साँचो शिक्षकले धर्मशास्‍त्रको साँचो अर्थ बुझ्‍नेछ र त्यसलाई कसैले गलत किसिमले व्याख्या गर्छ भने उसले थाहा पाउनेछ। झूटा शिक्षा किन र कसरी गलत हो भनी उसले (प्रमाणसहित) बताउन सक्‍नेछ।

गोठालो आफ्नो भेडालाई सुरक्षा दिन र खुवाउन इच्छुक हुनेछ। झूटा शिक्षकहरू भेडाको भेषमा आएका ब्वाँसाहरू हुन्। असल गोठालोले आफ्नो बगालको सुरक्षा गर्न त्यस्ता ब्वाँसाहरूलाई धपाउनेछ। उसले आफ्नो बगाललाई आत्मिक परिपक्‍वतामा ल्याउन पौष्टिक खानेकुरा दिन चाहनेछ।

नयाँ विश्‍वासीहरूलाई आत्मिक परिपक्‍वतामा ल्याउनको निम्ति अगमवक्ताहरू, शिक्षकहरू र गोठालाहरू एकसाथ मिलेर काम गर्नैपर्छ।

निष्कर्ष

हरेक मण्डलीमा अगमवक्ताहरू, गोठालाहरू, शिक्षकहरू र सुसमाचारकहरू खाँचो पर्दछन्। फराकिलो सेवकाइ गर्ने मण्डलीलाई प्रेरितहरूको खाँचो पर्दछ। यस्ता सेवकाइहरू बिना भर्खरका नयाँ विश्‍वासीहरू आत्मिक परिपक्‍वतामा आउनेछैनन्। तिनीहरू आत्मिकरूपमा बालक अथवा शिशु अवस्थामा नै रहनेछन्। त्यति मात्र होइन, तिनीहरू सजिलै आत्मिक ब्वाँसाहरूको शिकार बन्‍नेछन्।

अगमवक्ताहरू, गोठालाहरू र शिक्षकहरू भनेको विश्‍वासीहरूलाई आत्मिकरूपमा लालन-पोषण गर्ने र शिक्षा दिने आमा-बुबाहरूजस्ता हुन्। उनीहरूले बालक अवस्थाका विश्‍वासीहरूलाई हुर्काएर जवान अवस्थामा पुर्‍याउँछन्। त्यसको साथै उनीहरूले विश्‍वासीहरूको मार्गमा (जीवनमा) आइपर्ने थुप्रै खतराहरूबाट पनि सुरक्षा दिन्छन्। सुमाचारकहरूचाहिँ सुँडेनीहरूजस्ता हुन्, जसले बालकलाई संसारमा आउन मदत गर्दछन्।

यी सेवकाइहरू मण्डलीको निम्ति परमेश्‍वर र येशूबाट आउने वरदानहरू (उपहारहरू) हुन्। ती वरदानहरू दिनुहोस् भनी हामीले प्रार्थानमा परमेश्‍वरसँग माग्‍नैपर्छ।

त्यसको साथै उहाँले हामीलाई पहिल्यै दिइसक्‍नुभएका सवकाइहरू हामीलै चिन्‍नैपर्छ। आफूमा भएका र अरू मानिसहरूमा भएका त्यस्ता सेवकाइहरू हामीले चिन्‍नैपर्छ।

सायद तपाईं सुसमाचारक हुनुहुन्छ होला। तपाईंले उक्त सेवकाइलाई चिनेर त्यसलाई विकास गर्नैपर्छ अनि त्यो सेवकाइद्वारा अरूहरूले तपाईंलाई चिन्‍नैपर्छ। तपाईंले चङ्गाइ गर्ने वरदानहरू खोजी गर्नैपर्छ जसले गर्दा अविश्‍वासीहरूको निम्ति तपाईंको सन्देश साँचो हो भन्‍ने प्रमाण हुनेछ।

सायद तपाईं शिक्षक हुनुहुन्छ होला। त्यसो हो भने परमेश्‍वरबाट प्रकाश पाउनको निम्ति तपाईंले उहाँमा भरोसा गरी प्रतिक्षा गर्नैपर्छ। बाइबल कलेज र तालिम केन्द्रहरूमा गएर मानिसहरूबाट सिक्‍नु राम्रै हो, तर त्यो पर्याप्‍त हुँदैन। असल शिक्षक हुनको निम्ति पवित्र आत्माले नै तपाईंलाई सिकाउनुपर्छ। अनि अरूहरूले तपाईंको वरदान चिनेर सिकाउनको निम्ति तपाईंलाई मौका दिनैपर्छ।

सायद तपाईं गोठालो हुनुहुन्छ होला। त्यसो हो भने तपाईं परमेश्‍वरले दिनुभएको उक्त सेवकाइको निम्ति उहाँप्रति विश्‍वासयोग्य हुनैपर्छ। येशूले पत्रुसलाई “मेरा भेडाहरूलाई खुवाऊ” भनेर दिनुभएको आज्ञालाई तपाईंले बुझेर त्यसप्रति आज्ञाकारी हुनैपर्छ।

सायद परमेश्‍वरले तपाईंलाई अगमवाणीको सेवकाइ दिँदैहुनुहुन्छ होला। त्यसो हो भने तपाईंले परमेश्‍वरको आवाज सुन्‍न सिक्‍नैपर्छ र उहाँ दिनुभएको सन्देशलाई उहाँका मानिसहरूकहाँ लैजानैपर्छ।

सायद तपाईंसँग यीमध्ये केही सेवकाइहरू हुनसक्छन्। तपाईंलाई परमेश्‍वरले प्रेरित हुनको निम्ति बोलानुभएको पनि हुनसक्छ। त्यसो हो भने आफ्नो बोलावटप्रति तपाईं विश्‍वासयोग्य हुनैपर्छ।

तपाईंको मण्डलीहरूमा यी पाँचै वटा सेवकाइहरूले राम्रोसँग काम गर्दछन् भने नयाँ मानिसहरूले येशूमा विश्‍वास गर्नेछन् र तिनीहरूले नयाँ जन्म पाउनेछन्। त्यसपछि तिनीहरू आत्मिकरूपमा शिशु-अवस्था, बालक-अवस्था र किशोर-अवस्थालाई सुरक्षितसाथ पार गर्दै ख्रीष्टको शरीरको बलियो अनि बयस्‍क (परिपक्‍व) सदस्य हुनेछन्।

अनुवादक: श्याम श्रेष्ठ

यो पुस्‍तकलाई रंगिन [Color] छाप्‍ने फाइल

यो पुस्‍तकलाई श्‍याम-स्‍वेत [Black & White] छाप्‍ने फाइल

कसरी छाप्ने