चारवता जीवित प्राणीहरू

परिचय

इजिकिएल अगमवक्ताको पुस्‍तक अचम्‍म किसिमको दर्शनबाट शुरु हुदँछ। उनले स्‍वर्ग खुलिएको र चहकिलो चमकको बीचमा चार जीवित प्राणीहरू देखे। उनी तिनीहरूलाई निम्‍न अनुसार वर्णन गर्दछन्। तिनीहरूका मुहारहरू यस्‍ता देखिन्‍थे: “हरेकको अगाडि पट्टीको मोहडा चाहिँ मानिसको मोहोडा झै थियो। ती चारैको दाहिने पट्टिको मोहोडा सिंहको झै थियो। तिनीहरूको देव्रेपट्टिको मोहोडा चाहिँ गोरुको झै र पछाडि पट्टिको मोहोडा चाहिँ चीलको जस्‍तो थियो”। (इजिकिएल १: १०)। यूहन्‍नाले पनि त्‍यो दर्शसँग मिल्‍दोजुल्‍दो दर्शन देखे, प्रकाश ४: ६,७ पदमा उल्‍लिखित छ। “सिंहासनको बीचमा र वरिपरि अगाडि र पछाडि जम्‍मै आँखै आँखा भएका चार जीवित प्राणीहरू थिए। औ पहिलो प्राणीचाहिँ सिंह जस्‍तै थियो, दोश्रो प्राणी बहरजस्‍तै तेश्रो प्राणीको मुहार मानिसको जस्‍तो थियो र चौथो प्राणी उडिरहेको चील जस्‍तो थियो”।

यी दर्शन र चार जीवित प्राणीको अर्थ के हुन् त?

चार जना मानिसहरूमा, कर उठाउने, अज्ञात पेशा भएको, बैद्य र माझी (जालहारी) थिए, जसले येशू ख्रीष्‍टको जीवनी लेखे। तिनीहरूको नाम मत्ती, मर्कूस, लूका र यूहन्‍ना हुन्। लाखौले पछि गएर बाइबल भनेर चिनिने यहुदीहरूको पवित्र धर्मशास्‍त्रमा तिनीहरूको लेखहरू जस्‍तै (पावल, पत्रुस र अरुहरूका लेखहरू लगाएत) गाभिएलान भनेर तिनीहरूले कहिल्‍यै कल्‍पना सम्‍म पनि गरेनन्, र ती लेखहरू सयौं भाषाहरूमा अनुवाद गरिएलान् भन्‍ने सपना पनि देखेका थिएनन्। यदि त्‍यो विचारको ज्ञान मात्र भएको भए शायद तिनीहरू छक्क पाने थिए होलान्‌।

मत्ती, मर्कूस र यूहन्‍ना यहुदी जाति भएकाले निश्‍चियनै इजिकिएलको दर्शन थाहा थियो तर तिनीहरूले लेखेका त्‍यो दर्शनका कुराहरू कुन विषयको सम्‍बन्‍धमा थियो भन्‍ने बारेमा केहि थाहा थिएन। तिनीहरूले अन्‍जानमै यो पछि हुने कुराको लागि भूमिका खेलेका थिए। यो चारैवटा सुसमाचारहरू जीवित प्राणीहरूप्रति परस्‍पर सम्‍मत छन्।

१ मत्ती

मत्तीको सुसमाचार पहिलो जीवित प्राणीसँग सम्‍बन्‍धित छ जुन सिंह हो। नेपाली संस्‍कृति र बाइबलमा सिंह जनावरहरूको राजा हो, सोहि अनुरुप मत्तीले येशू ख्रीष्‍टलाई राजाको रुपमा देख्‍दछन्। सिंहासन भन्ने शब्‍दको अर्थ सिंहको आसन हो। बाइबलले सिंहलाई राजत्‍वसित र यहूदाको कुलसँग जोड्दछ जुन कुलबाट येशू जन्‍मनुभयो। उत्‍पति ४९: ९ र १० मा याकूबले यसरी भविष्‍यवाणी गरे: “यहूदा सिंहको डमरु हो, ए मेरो छोरो, शिकारबाट तँ आएको छस् त्‍यो निहुरियो र सिंहझैँ लेटिरह्यो अँ सिंहनीलेझैँ, कसले त्‍यसलाई उठाउने आटँ गर्छ? यहूदाको हातबाट राजदण्‍ड हट्छनेछैन। राज्‍य चलाउनेको लाठी त्‍यसका खुट्टाको बीचबाट हट्नेछैन् जबसम्‍म उहाँ त्‍यसकहाँ आउनु हुने छैन जोसँग यो छ अँ, मानिसहरू उहाँको आज्ञाकारी बन्‍नेछन्।” मत्ती सरकारी हाकिम थिए अनि चार सुसमाचार लेखकहरूम·ये येशूलाई राजाका रूपमा देख्‍न तिनी सुहाउँदो व्‍यक्ति थिए।

“अब्राहामका पुत्र, दाउदका पुत्र येशू ख्रीष्‍टको वंशावली” भन्‍ने शब्‍दहरूबाट मत्ती आफ्‍नो सुसमाचारको थालनी गर्दछन्। त्‍यसपछि तिनले येशूको वंशलाई अब्राहामदेखि दाऊदसम्‍म र इस्राएलका सबै राजाहरूको बंश पत्ता लगाउँछन्। दाऊदको सिंहासनमा बस्‍न नियुक्त गरिएको व्‍यक्तिको लागि योभन्‍दा अरु के कुरा सुहाउँदो हुनसक्‍दथ्‍यो र?

ज्‍योतिषीहरूको दर्शनका वचनहरूलाई मत्तीले मात्र लेखेका छन्। “यहुदीहरूका राजा भएर जन्‍मनु भएका उहाँ कहाँ हुनुहुन्‍छ? हामीले पूर्वमा उहाँको तारा देख्‍यौं र आराधना गर्न आएका छौँ” (मत्ती २:२)।

मत्तीको अन्‍तमा चेलाहरूलाई आज्ञा दिँदैगर्नुहुँदा येशूले भन्‍नुभयो: “स्‍वर्ग र पृथ्‍वीमा सारा अधिकार मलाई दिईएको छ” (मत्ती २८: १८)। यस्‍तो भनाई राजाको मात्र हुनसक्‍छ।

२ मर्कूस

मर्कूस दोश्रो जीवित प्राणीसँग सहमत हुन्‍छन्, जुन बहर हो जसले नोकरको स्‍थान लिन्‍छ। सोही अनुरूप येशूलाई उनले नोकरको रूपमा देख्‍दछन्, जुन राजाको ठीक विपरीत हो। नोकरहरू अन्‍जान मानिस हुन्‍छन्। मर्कूस अज्ञात पेशा भएको व्‍यक्ति थिए भन्‍ने कुरासँग यो कुरा मेल खान्‍छ। उनका थालनीका शब्‍दहरू साधारण रूपमा : “येशू खीष्‍टको सुसमाचारको आरम्‍भ” भन्ने कुराबाट शुरु हुन्‍छ। त्‍यहाँ कुनै वंशावली छैन नता जन्‍मको विवरण नै छ। यी कुरा नोकरका लागि सुहाउँदो छ। मर्कूशले नता धेरै शिक्षाहरूको उल्‍लेख नै गरेका छन्, उनको सुसमाचारमा सबै सेवाको वारेमा उल्‍लेख छ। येशूले आफ्‍ना पिताको आज्ञाअनुसार उहाँको सेवा गर्नुभयो, नोकरको लागि मर्कूसको सुसमाचार सुहाउँदो र अरूभन्‍दा छोटो छ।

मर्कूसको सुसमाचारको अन्‍तमा चेलाहरूलाई आज्ञा दिदैगर्नुहुँदा येशूले भन्‍नुभयो: “विश्‍वास गर्नेहरूसँग यी चिन्‍हहरू हुनेछन्; मेरो नाउँमा तिनीहरूले भुतआत्‍माहरू धपाउनेछन, तिनीहरूले नयाँ भाषाहरू बोल्‍नेछन्, तिनीहरूले सर्पहरू समात्‍नेछन्, कुनै विषालु कुरा पिए तापनि तिनीहरूलाई केही हानी हुनेछैन। तिनीहरूले विमारीहरू माथि हात राख्‍नेछन् र निको हुनेछन्।” उनी दासले गर्ने कार्यहरूको बारेमा बोल्‍दैथिए

एउटै मान्‍छे कसरी राजा र नोकर हुनसक्‍छ? वास्‍तवमा दुईवटा भूमिका ठीक विपरित छन् । अरु विभिन्‍न देशहरूमा झैँ नेपालमा राजा देशको संवैधानिक शिर मात्रै हुनुहुन्‍छ। प्राचिन समयमा राजाहरूले वास्‍तविक रूपमा आफ्‍नो देशको शासन चलाउँथे र तिनीहरूसँग सम्‍पूर्ण अख्‍तियार हुन्‍थ्‍यो। तिनीहरू आजका राजाहरू र प्रधानमन्त्रीहरूजस्ता थिए तर त्योभन्दा बढी तिनीहरू आजका तानाशाहीहरूजस्ता थिए। शमूएलको पुस्‍तकको शुरुका अध्‍यायहरूले इस्राएलको पहिलो राजा शाऊवलको राज्‍यभिषेकको वर्णन गर्दछ। शमूएलले “तिमीहरू आफै उहाँका दासहरू हुनेछौ” भन्‍ने शब्‍दहरूबाट राजालाई आफ्‍नो विषयसँग जोडे। प्राचिन समयका स-सना राजाहरूले आफुलाई मन नपर्ने जोसुकैलाई तुरुन्‍तै मृत्‍युदण्‍डको आज्ञा दिन सक्‍दथे र बारम्‍बार त्‍यस्‍तो हुन्‍थ्‍यो पनि अर्को शब्‍दमा भन्‍ने हो भने नोकर जसलाई कुनै प्रकारको अधिकार हुँदैन्, उसले आफ्‍नो मालिकको हरेक इच्‍छालाई पालन गर्नुपर्थ्‍यो।

येशूले राजा र नोकर दुबैको भूमिकालाई सम्‍पूर्ण रूपमा पूरा गर्नुभयो। उहाँले राजाले बोल्‍ने भाषा र अधिकार यसरी प्रयोग गर्नुभयो: “स्‍वर्ग र पृथ्‍वीमा सारा अधिकार मलाई दिईएको छ” (मत्ती २८:१८)। उहाँ नोकरको भाषामा बोल्‍नुभयो, र त्‍यस अनुसारको जीवन जिउनुभयो: “म स्‍वर्गबाट आफ्‍नो इच्‍छा पुरा गर्न होईन तर मलाई पठाउनेको इच्‍छा पुरा गर्न आएको हुँ” (यूहन्‍ना ६: ३८)। उहाँले निरन्‍तर रूपमा पिताको इच्‍छालाई पूरा गर्नुभयो।

३ लूका

तेस्रो सुसमाचारको पुस्‍तकको लेखक लूका हुन्‌। उनी तेस्रो जीवीत प्राणीसँग (मानिस) सहमत छन्। उनले येशूलाई मानिसको रूपमा देख्‍दछन्। लूका वैद्य भएकोले मानिसहरूसँग बढी सम्‍बन्‍धित हुन्‍थे र येशूलाई यस प्रकारले देख्‍नु उनको निम्‍ति स्‍वभाविक हो। लूकाले मात्र येशूको जन्‍मको विस्‍तृत मानविय विवरण दिन्‍छन्। उनले मरियमकहाँ स्‍वर्गदूत देखापरेको र पवित्र आत्‍माद्वारा गर्भधारण भएको विवरण बताउँछन्। लूकाले मात्र बेथलेहेमको पौवा र येशू पहिलोचोटि डूँडमा सुत्‍नु भएको कुरा उल्‍लेख गर्दछन्। मत्तीले जस्‍तै लूकाले पनि येशूको वंशावली दिन्‍छन् तर भिन्‍नै प्रकारले। मत्तीले अब्राहामदेखि शुरु गरेर दाऊद हुँदै तल जान्‍छन् भने लूकाले मरियमदेखि शुरु गरेर आदमसम्‍म पुग्‍दछन्। लूका ३ अध्‍यायाका अन्‍तिम शब्‍दहरू “आदमको पुत्र परमेश्‍वरको पुत्र” हुन्। हिब्रुमा आदमको अर्थ (आदमी जस्‍तो) ‘मानिस’ हुन्‍छ। यसकारण यसलाई हामी पुन: अनुवाद गरी “मानिसको पुत्र,परमेश्‍वरको पुत्र” भन्‍न सक्‍छौ।

येशूका अरू जीवनको व्‍यक्तिगत विवरणहरूका लागि हामी लूका प्रति ऋणी छौँ। उनले मात्र भीडले येशूलाई कसरी आफ्‍नो शहर नासरथबाट बाहिर निकाले भन्‍ने कुरा बताउँछन्। उनले नै कसरी येशूले गेतसमनीमा प्रार्थना गर्दा पसिना रगतको थोप्‍लाजस्‍तै चुहाउनुभयो भनी वर्णन गर्दछन्।

लूकाले आफ्‍नो सुसमाचारको पुस्‍तकको अन्‍तमा भएको आज्ञा अनुसार “यरूशलेमबाट शुरु गरेर, सारा जातिहरूलाई पश्‍चाताप र पापमोचन (क्षमा) को प्रचार गरिने छ” भन्ने कुरालाई उल्‍लेख गरेका छन्। उनी सुसमाचार प्रति मानिसको प्रतिक्रिया ‘पश्‍चाताप’ र त्‍यसको परिणाम ‘क्षमा’ प्रति केन्‍द्रित हुदँछन्।

४ यूहन्‍ना

यूहन्‍नाको सुसमाचारको पुस्तक चौथो जीवित प्राणी उड्ने चीलसँग सम्‍बन्‍धित छ। चील आकाश (स्‍वर्ग) मा उड्ने पक्षी भएकोले, यसले परमेश्‍वरको प्रतिनिधित्‍व गर्दछ। यूहन्‍नाले येशूलाई परमेश्‍वरको रूपमा देख्‍दछन्। अरू तीन जीवित प्राणीहरू पृथ्‍वीमा हिँड्‍डुल गर्ने सृष्‍टिहरू हुन्। हामीले अपेक्षा गरेअनुसार यूहन्‍नाको सुसमाचार मत्ती, मर्कूस र लूकाको भन्‍दा एकदमै भिन्‍नै छ।

मत्ती र लूका दुवैमा वंशावली र संसारिक जन्‍मको इतिहास छ, तर यूहन्‍नाको पुस्‍तकमा त्यस्‍तो विवरण छैन। त्यसको सट्टामा उनले ईश्‍वरीय जन्‍मकथा उल्लेख गरिएको छ। हामी यहाँ साधारण तर प्रत्‍यक्ष र विशिष्‍ट तथ्‍यहरू पाउदछौँ। “आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो” (यूहन्‍ना १:१)। यसको लगतै हामी पाउँछौँ, “अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्‍यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्‍यैँ, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्‍तो थियो” (यूहन्‍ना १:१४)। लूकामा मानवीय जन्‍मको इतिहास वर्णन गरिएको छ भने यूहन्‍नामा ईश्‍वरीय जन्‍मको इतिहासको वर्णन गरिएको छ।

यूहन्‍नाचाहिँ ‘म हुँ’ भन्‍ने परमेश्‍वरको नामको सुसमाचार हो। भन्ने महान् दाबीहरू लेखेका छन्। “जीवनको रोटी म हुँ” (यूहन्‍ना ६: ३५); “सँसारको ज्‍योति म हुँ” (यूहन्‍ना ८: १२); “ढोका म हुँ” (यूहन्‍ना १०:९); “म असल गोठालो हुँ” (यूहन्‍ना १०:११); “पुनरुत्थान र जीवन म नै हुँ” (यूहन्ना ११:२५); “बाटो, सत्य र जीवन म नै हुँ” (यूहन्ना १४:६); “साँचो दाखको वोट म हुँ” (यूहन्‍ना १५:१); “अब्राहामभन्‍दा पहिले म छु” (यूहन्‍ना ८:५८)। यस्‍ता कुराहरूका दाबी अरू कसैले नभई परमेश्‍वरले मात्र गर्न वा भन्‍न सक्‍नुहुन्‍छ। कुनै पनि धर्मगुरु वा नेताले अहिलेसम्‍म त्‍यस्‍ता वचनहरू बोलेका छैनन्।

येशूले कहिले पनि आफूलाई परमेश्‍वर भनेर भन्‍नु भएन, तर ग्रीक (यूनानी) भाषाले यूहन्‍नाको सुसमाचारमा २१ पटक उहाँले “मँ हुँ” भनेर भन्‍नु भयो। शताब्‍दीऔं पहिले मोशाले परमेश्‍वरलाई तपाईको नाऊँ के हो भनेर सोधे? उत्तरमा उनले “म हुँ जो म हुँ” (प्रस्थान ३: १४) भन्‍ने प्रसिद्ध शब्‍दहरू पाए (प्रस्‍थान ३: १४)। यहूदीहरूको निम्‍ति “म हुँ” भन्‍ने शब्‍दचाहिँ ईश्‍वरीय नामको एक अंश थियो त्‍यसकारण यहूदीहरूको निम्‍ति येशूको ‘इश्‍वरीय दाबी’ परमेश्‍वरको गरेको ठहरियो। यहुदीहरूले उहाँलाई हान्‍नलाई ढुङ्गा उठाए। मोशाको व्‍यवस्‍थामा ढुङ्गाले हानेर मार्नुचाहिँ ईश्‍वर-निन्‍दाको सजाय थियो। (परमेश्‍वरको नाउँ र येशूको नाउँ पनि हेर्नुहोला।)

सुसमाचारको अन्‍ततिर यूहन्‍नाले थोमाको शब्‍दहरूलाई दोहोर्र्‍याउनुभयो: “मेरो प्रभु, र मेरा परमेश्‍वर!” (यूहन्‍ना २०: २८)। विना बिरोध येशूले ती शब्‍दहरू स्‍वीकार्नु भयो।

यूहन्‍नाको पुस्तकको अन्‍तमा हामी पाउँछौ “तिमीहरूमा शान्‍ति होस्, जसरी पिताले मलाई पठाउनुभयो म तिमीहरूलाई पठाउँदछु ....पवित्र आत्‍मा लेऊ। तिमीहरूले कसैलाई क्षमा गर्छौ भने तिनीहरूले क्षमा पाउनेछन् तिमीहरूले क्षमा दिएनौ भने तिनीहरूले क्षमा पाउनेछैनन्।” लूकाको सुसमाचारले झैँ यूहन्‍नाको सुसमाचारले पनि पाप क्षमालाई समावेश गर्दछ, तर त्‍यस बेलाचाहिँ चेलाहरूले साँच्‍चै पाप क्षमा गर्ने शक्ति पाए। फरिसीहरू र व्‍यवस्‍थाका गुरुहरूका लागि चाहिँ यो ईश्‍वर-निन्‍दा थियो। । “यो इश्‍वरीय निन्‍दा बोल्‍ने मानिस को हो?” भनेर यो अर्को समयमा तिनीहरूले भने, “परमेश्‍वरले वाहेक अरू कसले पाप क्षमा गर्न सक्‍छ?” (लूका ५: २१) एक अर्थमा तिनीहरूले भनेको ठीकै थियो। परमेश्‍वरले मात्र पाप क्षमा गर्न सक्‍नुहुन्‍छ। तर परमेश्‍वर नै मानिसको रूपमा आउनुभएको कुरा तिनीहरूको समझदेखि बाहिर थियो।

कस्‍तो विपरीत कुराहरू ! राजा, नोकर, मानिस अनि परमेश्‍वर ! यस्‍तो अचम्‍म, र उदेकका कुराहरू मानवको कल्‍पनाभन्‍दा धेरै उच्‍च कुराहरू हुन्। के इतिहासमा कोही यस्‍तो व्‍यक्ति छ जसले यस्‍ता विपरीत कुराहरूलाई एकसाथ गाँस्‍न सक्‍छ? हो, येशू ता त्‍यस्‍तै हुनुहुन्‍थ्‍यो र हुनुहुन्‍छ। एउटै व्‍यक्ति नोकर, राजा, मानिस अनि परमेश्‍वर।

ख्रीष्‍टको शरीरको दर्शन

हामी यथोचित रूपमा माथिका कुराहरूको निष्‍कर्ष यसरी निकाल्‍न सक्‍छौँ- इजकिएल अगमवक्ता र प्रकाशको पुस्‍तकमा यूहन्‍नाले येशूका चार भिन्‍ना भिन्‍नै रूपको दर्शन देखेका थिए भनेर हामी राम्ररी बुझ्‍न सक्‍छौँ। धर्मशास्‍त्रमा भएको अचम्‍मको नमूनाको दृष्‍टिका साथ सन्‍तुष्‍ट भएर हाम्रो उदेकको मुक्तिदाताको व्‍यक्तित्‍वमाथि तिनीहरूले राखेका स्‍वच्‍छ प्रकाशमा रमाउँदै हामीले हाम्रो अध्‍यनलाई यहीँ बन्‍द गर्न सक्‍थ्‍यौ। निसन्‍देह धेरै व्‍यक्तिले केही सीमासम्‍म त देखेका छन् तर त्‍योभन्‍दा पर देख्‍न सकेका छैनन्।

तर इजकिएलले एउटा मात्र नभएर चार जीवित प्राणीहरू देखे। अनि ती चारै सिद्ध र एकतामा चलिरहेका थिए। यूहन्‍नाले चार जीवित प्राणीहरूलाई सिंहासनको बीचमा र वरिपरि देखे। किन सिंहासनमा मात्रै सीमित भएनन् ? यसको उत्तर यस्‍तो छ: त्‍यो दर्शन येशूको मात्र थिएन तर ख्रीष्‍टको सम्‍पूर्ण शरीर (मण्‍डली)को दर्शन थियो। इजकिएल र यूहन्‍नाले सामान्‍यत: येशूलाई मात्र देखिरहेका थिएनन् तर उहाँको स्‍वरूप परिर्वतन भएका र उहाँका गुणहरूका सहभागि स्‍त्री-पुरुषहरूलाई पनि देखिरहेका थिए। ती जीवित प्राणीहरूले येशूजस्‍तै सिद्ध भएका मानिसहरूको प्रतिनिधित्‍व गरेका छन्। यो कति अचम्‍मको सुसमाचार हो ? एउटै व्‍यक्ति नोकर, राजा, मानिस अनि परमेश्‍वर भएर २००० वर्ष अघि यस संसारमा आउनुभयो। यहाँ थपिएको सुसमाचार यो छ, कि अरू अनगिन्‍ती व्यक्तिहरू राजा, नोकर, मानिस अनि परमेश्‍वर हुनुभन्‍दा अघि नै जन्‍मनु हुनेमा उहाँ प्रथम हुनुहुन्‍छ। जुनचाहीँ सुसमाचार भित्रको सुसमाचार हो।

हामीहरू उहाँसँगै राज्‍य गर्ने व्यक्तिहरू हौँ। हामी परमेश्‍वर र मानिसका सेवक-सेविकाहरू हौँ। हामी मानव नै हौँ तथापि परमेवश्‍वरका सन्‍तान र “स्‍वर्गीय स्‍वभावका सहभागी” पनि हौँ।

हाम्रो मुक्तिदातामा बास गर्नुभएको पवित्र आत्‍माले नै उहाँलाई राजा, नोकर, मानिस अनि परमेश्‍वर बनाउनु भयो। अहिले हामीभित्र रहनु हुने पवित्र आत्‍माले हामीलाई राजकीय शक्ति र अधिकार दिनुहुन्‍छ र हामीलाई सेवकमा हुनुपर्ने नम्र स्‍वभाव र सेवा गर्ने ईश्‍वरीय शक्ति दिनुहुन्‍छ। पवित्र आत्‍माद्वारा नै हामीले परमेश्‍वरको स्‍वभावलाई प्रकट गर्छौं।

अब हामी यी चार जीवित प्राणीहरूलाई अझ नजीकबाट अवलोकन गर्नेछौँ अनि पवित्र आत्‍माको सहायताद्वारा ख्रीष्‍टको शरीर (मण्‍डली)मा प्रकट हुनुपर्ने महिमाको केही कुराहरू हेर्नेछौँ। इजकिएल र यूहन्‍नाको दर्शनले हामीलाई नौलो परिर्वतन गर्ने आत्‍मिकी प्रकाश दिउन्।

१ राजाहरू

येशू राजाहरूका महाराजा हुनुहुन्‍थ्‍यो र हुनुहुन्‍छ। पावल उहाँलाई “राजाहरूका महाराजा र प्रभुहरूका महाप्रभु” भनेर वर्णन गर्दछन् (१ तिमोथी ६: १५)। यूहन्‍नाले पनि उहाँलाई “प्रभुहरूका महाप्रभु र राजाहरूका राजा” भनेर वर्णन गर्दछन् (प्रकाश १७: १४)। अनि “अनि उहाँको वस्‍त्रमा र तिघ्रामा ‘राजाहरूका महाराजा अनि प्रभुहरूका महाप्रभु’” भनेर लेखिएको उहाँको नाम देख्‍दछन्’ (प्रकाश १९: १६)। पहिले अथवा पुरानो समयमा बेबिलोन र पर्सियाका राजाहरूका पदवी- “राजाहरूका राजा” हुने गर्दथ्यो। यो विशेष सम्‍बोधन बेबिलोनको राजा नबूकदनेसर (इजकिएल २६:७, दानिएल २:३७) र पर्सियाका राजा अर्तासास्‍त (एज्रा ७:१२) का लागि प्रयोग गरिन्‍थ्‍यो। यी महाराजाहरूले ठूला साम्राज्‍यभित्र रहेका धेरै साना राजाहरूमाथि शासन गर्दथे। साना राजाहरूले आ-आफ्‍नै देशमा शासन गर्दथे। तापनि ती निम्‍न स्‍तरका राजाहरू सँधै सम्‍पूर्ण साम्रज्‍यका महान् केन्‍द्रीय राजाको अधिनमा हुन्‍थे अनि तिनमा नै निर्भर रहन्‍थे।

यो ख्रीष्‍टको शरीरको चित्र हो। येशू राजाहरूका महाराजा हुनुहुन्‍छ र उहाँको शरीर(मण्‍डली)को हरेक सदस्‍य उहाँमुनिको सानो राजा हो। हरेक सदस्‍य राजाको शक्ति र अधिकार प्राप्‍त गर्न नियुक्त गरिएका हुन्‍छन्। यसो भए राजा हुनुको मतलब के हो त ? यसको लागि हामीले फेरि येशूलाई नै हेर्नु पर्छ। उहाँ कस्‍तो प्रकारको राजा हुनुहुन्‍थ्‍यो ? प्राचीन राजाहरू झैँ उहाँसँग पनि सम्‍पूर्ण शक्ति थियो। उहाँको प्रत्‍येक इच्‍छा र आज्ञा पालन गरिन्‍थ्‍यो, हरेक मानिस र हरेक थोक उहाँकै अधिनमा थियो। प्राचीन राजाहरूले झैँ नगरी उहाँले आफ्‍नो शक्ति अरूको भलाईको लागि मात्र प्रयोग गर्नुभयो र ती राजाहरूले जस्‍तै नगरी उहाँले आफ्‍नो स्‍वेच्‍छाले अरूहरूलाई आफ्‍नो शक्ति दिनुभयो।

आफ्‍नो सार्वजनिक सेवकाईको शुरुभन्‍दा अघि येशूले आफ्‍नै शरीरमाथि नै पूर्ण अधिकारको प्रर्दशन गर्नुभयो। मत्तीमा लेखिएको छ, “चालीस दिन र चालिस रात उपवास बस्‍नु भएपछि उहाँ भोकाउनुभयो” (मत्ती ४: २)। चालीस दिनको अन्‍तमा मात्र येशू भोकाउनुभएको थियो। चालीस दिनको अवधिमा येशूलाई खाने कुराको रुचि नभएको देखिन्‍छ। साँचो भोकको पीडा त्‍यतिखेर हुन्‍छ जब शरीरमा रहेको सबै बोसो प्रयोग गरिसकेको हुन्‍छ। स्‍वभाविकैले जसलाई हामी ‘भोक’ भन्‍छौँ, त्‍यो हाम्रो शरीरले दैनिक रूपमा लिने खानाको मात्रालाई मागेको भन्‍दा अरू केही होइन। जब येशू भोकाएको चरम सीमामा पुग्‍नुभयो तै पनि उहाँले खाना खाने मौकालाई अस्‍वीकार गर्नुभयो। जति धेरै भोक लागे पनि उहाँले कुनै पनि शारीरिक भोकको रुचिलाई स्‍वीकार गर्नुभएन। शायद त्यस समयमा उहाँले भोकबाट आउने मृत्‍युको सामना गर्नुभयो होला। तर अझै पनि उहाँ आफ्‍नो शरीरको मालिक भई रहनुभयो।

येशूसँग शैतानमाथि पनि अधिकार थियो। उहाँको उपवासपछि शैतानलाई आफ्‍नो नजीकबाट भागी जाने आज्ञा दिने योग्‍यको हुनुभयो। उहाँको सेवकाईभरि नै आत्‍मिक क्षेत्र उहाँको पूर्ण नियन्‍त्रणमा थियो। येशूको आफैमाथि सबै अधिकार थियो अनि उहाँले आफ्‍नो चेलाहरूमा पनि यो अधिकार हुनुपर्छ भनी स्‍पष्‍ट पार्नु भएको थियो। मत्ती १०: १ मा हामी पढ्छौँ, “अनि उहाँले आफ्‍ना बाह्र चेलाहरूलाई बोलाएर अशुद्ध आत्‍माहरू निकाल्‍ने र हरेक किसिमका रोगहरू र बिमारहरू निको पार्ने अधिकार तिनीहरूलाई दिनुभयो।” लूकाको पुस्‍तकमा उहाँले भन्‍नुभयो, “मैले शैतानलाई स्‍वर्गबाट बिजुली झैँ खसिरहेको देखेँ। मैले तिमीहरूलाई सापँहरू र बिच्‍छीहरूलाई कुल्‍चने र शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु, र कुनै कुराहरूले तिमीहरूलाई कुनै रीतिले हानी गर्नेछैन” (लूका १०: १८-१९)।

रोगहरूमाथि पनि येशूको अधिकार थियो। “जब साँझ पर्-यो तब तिनीहरूले उहाँकहाँ भूत लागेका धेरै मानिसहरूलाई ल्‍याए र उहाँले वचनैले भूतआत्‍माहरूलाई धपाउनुभयो र जति विरामीहरू थिए, सबैलाई निको पार्नुभयो” (मत्ती ८: १६)। कुनै पनि रोग उहाँको अघि रहिरहन सकेन। उहाँले आज्ञा दिनुभयो र रोगीहरू निको भए। यो अधिकार येशूको लागि मात्र थिएन। उहाँले आफ्‍नो चेलाहरूलाई पनि यो अधिकार दिनुभयो। “तिनीहरूले बिरामीमाथि आफ्‍नो हात राख्‍नेछन् र बिरामीहरू निको हुनेछन्” (मर्कूस १६: १८)।

प्राकृतिक तत्त्वहरूमाथिको नियन्‍त्रणद्वारा येशूले चेलाहरूलाई चकित पार्नुभयो। “यिनी कस्‍ता मानिस हुन? किनभने बतास र छालले पनि यिनका आज्ञा मान्‍दोरहेछन्।” (मत्ती ८: २७)। यस कुरामा पनि धर्मशास्‍त्रमा उहाँ एक्‍लै हुनुहुन्‍नथ्‍यो। शताब्‍दीऔं पहिले एलियाले ३ वर्षको खडेरीको लागि आज्ञा गरे , फेरि पानी परोस भनेर प्रार्थना गरे र आकाशका झ्‍यालहरू खोलियो र पानी पर्न थाल्‍यो। येशूसँग डुङ्‍गा नहुँदा उहाँ पानीमाथी हिँड्नु भयो। जबसम्‍म पत्रुसमा विश्‍वास थियो उनले पनि त्‍यसै गर्न सके। खाने कुरा सकिँदाखेरि दुई रोटी र पाँच माछाले हजारौँलाई खुवाउनुभयो तर त्‍यो पनि उहाँले अरूहरूको हातद्वारा नै गर्नुभयो।

छक्‍कै पार्ने कुरो के छ भने, एक प्रकारको अधिकारचाहिँ येशूको जीवनमा कम मात्रामा देखियो। त्‍यो के हो भने, मानिसमाथि आफ्‍नो अधिकार प्रयोग गरेको हामी देख्‍दैनौँ, उहाँ सांसारिक राजा जस्‍तो हुनुहुन्‍नथ्‍यो। उहाँले स्‍पष्‍टसँग भन्‍नुभयो, कि उहाँको राज्‍य यस संसारको होइन। उहाँको परिक्षा हुँदा शैतानले एकचोटि दण्‍डवत गरे वापत उहाँलाई संसारको सारा राज्‍य दिने प्रस्‍ताव राख्‍यो। येशूले त्‍यसलाई अस्‍वीकार गर्नुभयो। त्‍यो उहाँको पिताको योजना वा इच्‍छा थिएन। उहाँको योजना त मानिसहरूको आफ्‍नै इच्‍छाले उहाँप्रति समर्पित भएकाहरूका हृदयहरूमा शासन गर्नु थियो। बलजफती तिनीहरूका शरीरमाथि अधिकार गर्नु होइन। उहाँका शत्रुहरू आफ्‍नो पाउमुनि नपरुन्‍जेलसम्‍म येशूले शासन गर्नुहुनेछ। तर उहाँका पाउहरू भनेके के हो त ? तिनीहरू उहाँका शरीरका अंग हुन्। मानिस जन्‍मदा सबैभन्‍दा पछि निस्‍कने अंग पाउहरू हुन, जसले विजय हुने र राज्‍य गर्नेहरूको अर्थको संकेत दिन्‍छ।

येशूले आफ्‍ना सबै राजकीय अधिकार आफ्‍ना चेलाहरूलाई दिनुभयो। अघि नै दोहोर्‍याइएका पदहरू साथ-साथै हामी निम्‍न पदहरू पनि पढछौं: “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, जसले मलाई विश्‍वास गर्दछ, त्‍यसले मैले गरेका काम पनि गर्नेछ, र तीभन्‍दा महान काम गर्नेछ, किनभने म पिताकहाँ गइरहेछु” (यूहन्‍ना १४: १२)। “जसरी पिताले मलाई पठाउनुभयो, त्‍यसरी म पनि तिमीहरूलाई पठाउँदछु”(यूहन्‍ना २०: २१)। धेरै समय पछि यूहन्‍नाले लेखे, “किनभने उहाँ जस्‍तो हुनुहुन्‍छ, हामी पनि यस संसारमा त्‍यस्‍तै छौं”(१ यूहन्‍ना ४: १७)। प्रकाश ३: २१ मा हामी यी शब्‍दहरू पढछौं, “जस्‍ले जित्‍छ, त्‍यसलाई म मेरो सिंहासनमा मसित बस्‍न दिनेछु, जसरी म आफैले पनि जिते”, र मेरो पितासँग उहाँको सिंहासनमा बसेको छु।

संसारमा राजाहरू नोकरहरू हुँदैनन् नता नोकरहरू राजा हुन्‍छन। संसारिक राजाहरू र शासकहरूले त आफ्‍नै भोग-विलास र फाइदाको लागि शासन गर्छन्। धेरैले त आफ्‍ना अधिनमा भएकाहरूलाई वयान गर्नै नसक्‍ने गरी दु:ख-कष्‍ट दिएका छन्। हामीले भर्खरै एक शताब्‍दी मात्र पार गरेका छौँ जुन समयमा निर्दयी र निष्‍ठूर शासकहरूले लाखौँलाई मृत्‍युसम्‍मै पीडा, यातना दिएर मारे। हिटलर स्‍ट्यालिन र अरूहरूले उनीहरूभन्‍दा पहिलेका कष्‍ट र निर्दयीताको गहिराइमा पुगेका र हजारौँ निर्दोष मानिसहरूलाई घात गर्नेहरूलाई पनि उछिनेका छन्।

परमेश्‍वरका राज्‍यका शासकहरू असीम रूपमा तिनीहरूभन्दा भिन्‍नै हुनेछन्। त्‍यसैको आधारमा तिनीहरू निरन्‍तर रूपमा परमेश्‍वरको इच्‍छाअनुसार काम गरेर अरूहरूका दास-दासी हुनेछन्। किनभने येशूमा उहाँको पिताको पूर्ण आज्ञाकारिताको आधारमा राजामा हुनुपर्ने पूर्ण अधिकार थियो। त्यसैले उहाँलाई पछ्याउनेहरूमा पनि यो अधिकार हुनुपर्छ। तिनीहरूले पनि पूर्ण आज्ञाकारितामा आफ्‍ना स्‍वर्गीय पिताको इच्‍छामा काम गर्नुपर्छ र यसरी तिनीहरू उहाँको जेठा छोरासँगै सिंहासनको साझेदारहरू हुन योग्‍यका हुनेछन्।

२ नोकरहरू

मैले भनेको जस्‍तै प्राचीन समयमा नोकर भनेको राजाको ठीक विपरीत थियो। राजासँग पूर्ण अधिकार र शक्ति हुन्‍थ्‍यो भने नोकर त केवल दास अनि आफ्‍नो मालिकको सम्‍पत्ति बराबर हुनुभन्‍दा अरू बढी केही थिएन नता उसको आफ्‍नो अधिकार भन्‍नु नै केही थियो। उसको मालिकको हरेक इच्‍छा पूरा गर्नु नै उसको कर्तव्‍य थियो। ती दिनहरूमा मानव अधिकारको कुनै व्‍यवस्‍था थिएन।

येशू आफ्‍नो पिताको सिद्ध सेवक हुनुहुन्‍थ्‍यो। उहाँले भन्‍नुभयो, “आफ्‍नो इच्‍छा पूरा गर्न म स्‍वर्गबाट ओर्लिआएको होईनँ, तर मलाई पठाउनुहुनेको इच्‍छा पूरा गर्नलाई आएको हुँ” (यूहन्‍ना ६: ३८)। जसरी प्राचीन समयका नोकरहरू आफ्‍नो सांसारीक मालिकको इच्‍छा पालन गर्न दिनको चौबिसै घण्‍टा हाजिर हुन्‍थे, त्‍यसरी नै येशूले हरेक क्षण आफ्‍ना स्‍वर्गीय पिताको आज्ञा पालन गर्नहुन्‍थ्‍यो। उहाँ आफ्‍नै स्‍वभाविक इच्‍छा र आकांक्षाहरूमा डोर्‍याइनु र अधिन पारिनु भएको थिएन। उहाँको पिताको इच्‍छाले नै उहाँका सबै विचार, वचन र कार्यमाथि शासन गरेको थियो।

प्राचीन दासहरू वाध्‍यताले आफ्‍नो मालिकको सेवा गर्थे र तिनीहरूको निम्‍ति अरू कुनै विकल्‍प थिएन। तिनीहरू आफ्‍नो सारा समय आफ्‍नो मालिकको सेवा गरेर बिताउन चाहदैनथे। तिनीहरू आफ्‍ना इच्‍छाअनुसार जिउन मन पराउँथे तर दु:खको कुरा तिनीहरूको त्यसमा कुनै अधिकार थिएन।

येशूले आफ्‍नै रोजाइले आफ्‍ना पिताको सेवा गर्नुभयो। उहाँ आफ्‍ना पिताको इच्‍छा पालन गर्न हर्षित हुनुहुन्‍थ्‍यो। उहाँको निम्‍ति त्‍यो कुनै समस्‍या थिएन, किनभने हरेक अवस्‍था उहाँको आफ्‍ना इच्‍छा र उद्देश्‍यहरू उहाँको पिताको जस्‍तै थिए।

पितालाई गर्ने सेवा नै उहाँको साथी-सँगीहरूको सेवा गर्ने कुराको जग थियो। अचम्‍म लाग्‍ने कुरा यो छ, कि सृष्‍टिकर्ता परमेश्‍वरको हृदयमा आफ्‍नै सृष्‍टिको सेवा गरेजस्‍तै उहाँको पुत्रको हृदयमा पनि थियो। येशूले आफ्‍नो चेलाहरूको खुट्टा धोएर सेवकको हृदयमा भएको असल गुणलाई सुन्‍दर प्रकारले प्रमाणित गर्नुभयो। उहाँले आफ्‍ना चेलाहरूलाई पनि एक अर्काको खुट्टा धोएर सेवा गर्ने निर्देशन दिनुभयो।

उहाँको जीवन आफ्‍ना चेलाहरूको निम्‍ति उदाहरण अथवा नमुना थियो। उहाँले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ” (यूहन्‍ना १४: १५)।

पावल प्रेरितले धेरैवटा पत्रहरूमा आफ्‍ना पाठकहरूप्रति आफूलाई ख्रीष्‍टको नोकर अथवा दास भनी परिचय दिएका छन्। उनले आफूलाई येशू ख्रीष्‍टको प्रेरित भनेर परिचय दिए, तर प्रेरितको मौलिक अर्थ नोकरभन्‍दा धेरै फरक छैन। यसको अर्थ ‘पठाइएको’ हुन्‍छ। पत्रुस, याकूब र यहूदाले पनि आफ्‍ना पाठकहरूलाई आफू येशू ख्रीष्‍टका दासहरू भनेर परिचय दिएका छन्।

स्‍वभावैले हामीहरू, आफ्‍नो स्‍वेच्‍छाले परमेश्‍वरको काम गर्ने नोकर होइनौँ। हामी हाम्रा सबै कृयाकलापमा आफ्‍ना इच्‍छा र आकांक्षाहरूलाई पछ्याउछौँ। हामीहरू आफ्‍ना लालषा र रुचिका दासहरू हौँ। येशूले यसरी यो कुरा बुझाउनुभयो, “म तिमीहरूलाई साँचो भन्‍दछु पाप गर्ने प्रत्‍येक पापको कमारो हो” (यूहन्‍ना ८: ३४)।

हामी कसरी येशू ख्रीष्‍टका विश्‍वासयोग्‍य नोकरहरू बन्‍न सक्‍छौँ त ? हामी आफ्‍ना संघर्ष, कोसिस र इच्‍छाको बलले कहिल्‍यै असल बन्‍न सक्‍दैनौ। येशू आफ्‍ना अनुयायीहरूबाट सेवा माग गर्ने कठोर मालिक हुनुहुन्‍न। मत्ती ११:२८ मा येशूले भन्‍नुभयो, “मेरो जुवा सजिलो र मेरो भारी हलुका छ”। उहाँको जुवा सजिलो र भारी हलुका छ किनभने हामी उहाँको इच्‍छा पालन गर्छौं। जसरी येशू आफ्‍ना पितासँग एक हुनुहुन्‍थ्‍यो र उहाँको इच्‍छा पालन गर्न खुशी हुनुहुन्‍थ्‍यो, त्‍यसरी नै हामी पनि उहाँसँग एक हुन्‍छौँ र उहाँको इच्‍छा पालन गर्न खुशी हुन्‍छौँ भने हामी आन्‍तरिक परिवर्तन तथा हृदयको परिवर्तनद्वारा अवश्य उहाँको दासहरू बन्‍नेछौँ।

यूहन्‍ना १५: १५ मा येशूले आफ्‍ना चेलाहरूबाट नोकरको उपाधिलाई हटाउनु भयो। उहाँले भन्‍नु भयो, “अबदेखि म तिमीहरूलाई नोकर भन्‍दिनँ, किनकि त्‍यसका मालिकहरूले के गर्दछ नोकरले जान्‍दैन। मैले तिमीहरूलाई मित्रहरू भनेको छु, किनभने जे मैले मेरो पिताबाट सुनेँ, मैले ती सबै तिमीहरूलाई जनाइदिएको छु।” जब हामी उहाँसँग एउटै भएका हुन्‍छौँ, तब साधारण जीवनमा आफ्‍नै खुशी र इच्‍छाअनुसारको काम गरिरहेका हुन्‍छौँ र आश्‍चर्यरूपमा र उदेकप्रकारले हामी उहाँलाई खुशी पार्ने काम गरीरहेका हुन्‍छौँ। पूर्ण स्‍वतन्‍त्रतामा हामीले त्‍यही काम गरीरहेका हुन्‍छौँ र त्‍यस प्रकारले हामी आफूलाई उहाँको सेवा गरिरहेका पाउँछौँ।

३ मानवहरू

येशू ख्रीष्‍टमा परमेश्‍वरले आफूलाई एक मानवको रूपमा प्रकट गर्नुभयो। येशू यस संसारमा आउनुअघि उहाँ अर्कै तरिकाले आफैलाई प्रकट गर्नुभएको थियो। पुरानो व्‍यवस्‍थाका नियम र विधिहरू ईश्‍वरीय सत्‍यताका छायाहरू मात्र थिए। प्राचीन पुजाहारीहरूले पनि परमेश्‍वरलाई प्रकट गरे तर अस्‍पष्‍ट रूपमा। जससँग धर्मशास्‍त्र थियो र तिनीहरूले बुझ्‍न सके। तिनीहरूलाई धर्मशास्‍त्रले परमेश्‍वर प्रकट गरेको थियो। येशू आफैलाई संसारमा मानिसको रूपमा परमेश्‍वरलाई प्रकट गर्न आउनुहुँदा पहिले भएका दर्शनहरूभन्‍दा धेरै अघि जानुभयो।

उहाँनै परमेश्‍वरको सिद्ध प्रकाश हुनुहुन्‍थ्‍यो तर उहाँमा केही सीमा पनि थियो। उहाँ आफैले यो भन्‍नुभयो, “मैले लिनु पर्ने बप्‍तिष्‍मा छ। त्‍यो पुरा नहोउन्‍जेल म अति सिमित छु” (लूका १२: ५०)। जब उहाँ पृथ्‍वीमा मानिसको रूपमा आउनु भयो उहाँले सीमित हुने कुरालाई स्‍वीकार्नु भयो।

उहाँ मानव शरीरमा सीमित हुनुहुन्‍थ्‍यो र एक प्रकारको व्‍यक्ति मात्र हुन सक्‍नुभयो। उहाँ पुरुष हुनुहुन्‍थ्‍यो र पुरुष र स्‍त्री दुबै हुन सक्‍नुभएन। उहाँ यहूदी हुनुहुन्‍थ्‍यो तर चिनिया, नेपाली, भारती र अफ्रिकाली या अरू कुनै जातिको हुन सक्‍नुभएन। उहाँ सिकर्मीको रूपमा आउनुभयो तर मछुवा, किसान, खेलाडी, सङ्गीतकार र मानवजातिमा पाइने अरू हजारौँ पेशावालाजस्‍तो बन्‍न सक्‍नुभएन। उहाँको उमेर ३३ बर्षको थियो र पनि बाबु, पति बन्‍नुभएन। उहाँले परमेश्‍वरलाई एउटै व्‍यक्तित्‍वमा व्‍यक्त गर्नुभयो- पुरुष, यहूदी, सिकर्मी र डुलुवा प्रचारक मात्र। उहाँको मण्‍डलीले मानिसको सबै किसिम र जातको रूपमा परमेश्‍वरलाई व्‍यक्त गर्न सक्‍नेछ। नर र नारीको रूपमा, हरेक जातिहरूमा, हरेक उमेरमा, हरेक पेशामा, हरेक शारीरिक स्‍वरूपमा येशू प्रकट हुनुभएको देख्‍न पाउनु बिचित्रै रमाईलो र सुन्‍दर कुरा हो।

पूर्ण सेतो ज्‍योतिमा विभिन्‍न किसिमका रंगहरू एकसाथ मिसिएका हुन्‍छन्। जब ख्रीष्‍टका शरीरका सदस्‍यहरूको विभिन्‍न रंग मिलेको ज्‍योति एकतृत हुन्‍छ तब तिनीहरूले परमेश्‍वरको सम्‍पूर्ण चहकिलो ज्‍योति उत्‍पादन गर्नेछन्।

अरु धर्महरूमा जस्‍तो पूरानो नियममा पनि थोरै मानिसहरू मात्रै पुजाहारी हुन सक्‍थे। तिनीहरू लेवी कुलका ३०-५० वर्षको उमेर वीचका पुरुषहरू मात्र हुन सक्‍थे। स्‍त्री, जवान, वृद्ध र अरु जातिहरूलाई समावेस गरिन्‍थेन।

ख्रीष्‍टको साँचो शरीर प्रकट हुँदा उहाँ पूर्ण मानव हुनुहुनेछ। मानव जातिको सबै किसिमका सदस्‍यहरू त्‍यसमा हुनेछन् जसबाट येशूको पूरा शरीर निर्माण हुनेछ।

४ देवहरू

अब हामी हाम्रो अध्‍ययनको चौथो तथा अझै चकित पार्ने भागतिर लम्‍कन्‍छौँ। अरू तीन सुसमाचारले भन्‍दा यूहन्‍नाको सुसमाचारले येशूलाई फरक प्रकारले अर्थात् परमेश्‍वरको रूपमा प्रकट गर्दछ।

हामीले पहिले नै भनेझैँ युहन्‍नाले सामान्‍य रूपमा यसरी भन्‍दछन् “वचन नै परमेश्‍वर हुनूहुन्‍थ्‍यो”। उनले थोमाको स्‍वीकारलाई पनि दोहोर्‍याउछन्, “मेरो प्रभु र मेरो परमेश्‍वर” । येशूले प्रयोग गर्नुभएको ‘मँ हुँ’ भन्‍ने स्‍वर्गीय नामको पनि उनले २१ पटक विवरण दिएका छन्। फरिसीहरूले उहाँको दावीलाई ईश्‍वर-निन्‍दा ठानी दुई पटक ढुङ्गा हान्‍न प्रयास गरेको कुरालाई उनले लेखेका छन्। यूहन्‍नाको सुसमाचारले येशूलाई परमेश्‍वरको रूपमा प्रस्‍तुत गरेको छ। नयाँ नियमका अरू लेखकहरूले पनि येशूलाई परमेश्‍वरको रूपमा देखे, जस्‍तै: पावलले लेखेका छन्, “परमेश्‍वर शरीरमा प्रकट हुनुभएको थियो” (१ तिमोथी ३: १६)। हिब्रूको पुस्‍तकको लेखकले “उहाँ नै परमेश्‍वरका महिमाको प्रतिविम्‍व र परमेश्‍वरकै स्‍वभावको वास्‍तविक प्रतिरूप हुनुहुन्‍छ” भनेर लेखेका छन (हिब्रू १: ३)।

के यूहन्‍नाको सुसमाचारले येशूलाई परमेश्‍वरझैँ र उहाँलाई पछ्याउनेहरूलाई चाँहि मानिसजस्‍तो नाघ्‍न नसकिने खाडल अथवा मिल्‍न नसक्‍ने अन्‍तर बनाएको छ ? के नयाँ नियमको सन्‍देश त्‍यहि हो ? शताब्‍दीऔँदेखि कति मण्‍डलीहरूले त्‍यही कुरा सिकाइरहेका छन्।

के येशूले आफूलाई आफ्‍ना चेलाहरूभन्‍दा भिन्‍नै जात र तहको देखाउनुभएको छ? फेरि हामी उहाँकै वचनहरू हेरौँ।

येशूले भन्‍नुभयो, “म र पिता एकै हौं” (१०: ३०)। यहूदीहरूले उहाँलाई हान्‍न ढुङ्गा उठाएर त्यसको प्रतिक्रिया जनाए। येशूले भन्‍नुभयो, “मैले तिमीहरूलाई पिताबाट धेरै महान आश्‍चर्यकर्महरू देखाएँ। तीमध्‍ये कुनचाहिँको लागि तिमीहरू मलाई ढुङ्गाले हान्‍छौ?” “हामी यी कुनैको लागि तिमीलाई ढुङ्गाले हान्‍दैनौँ,” भनी यहूदीहरूले जवाफ दिए, “तर ईश्‍वर - निन्‍दाको लागि, किनभने तिमी मानिस भईकन पनि परमेश्‍वर हुँ भनी दावी गर्छौं” (३१,३२ पद)।

फरिसीहरूलाई सबभन्‍दा बढी चोटपार्ने वचनचाहिँ “म र पिता एकै हौँ” भन्‍ने थियो। तिनीहरूले यो वचनको दाबीलाई ईश्‍वर-निन्‍दाको रूपमा लिए। येशूले आफ्‍नै निम्‍ति मात्र यो दाबी गर्नुभएन, त्‍यसलाई आफ्‍नो चेलाहरूको निम्‍ति पनि विस्‍तार गर्नुभयो। उहाँले चेलाहरूको निम्‍ति प्रार्थना गर्नुभयो (आउने युगहरूमा विश्‍वास गर्नेहरू सबैको लागि ), “कि तिनीहरू सबै एक हुन हे पिता जसरी तपाईं ममा र म तपाईंमा छु। तिनीहरू पनि हामीमा हुन सकुन् ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्‍वास गरोस्” (यू.१७:२१)। पितासँगको एकता उहाँको अफ्‍नोलागि मात्र जोगाईराखेको वा सुरक्षित राखिएको कुनै कुरा थिएन। उहाँलाई पछ्याउनेहरूले पनि त्‍यो एकतालाई जान्‍न र अनुभव गर्न सकुन् भनेर उहाँले प्रार्थना गर्नुभयो।

येशूले जे प्रार्थना गर्नुभयो त्‍यो कहिल्‍यै पनि इच्‍छा मात्र थिएन। उहाँले सधै आफ्‍ना पिताको इच्‍छा बमोजिम प्रार्थना गर्नुभयो र अन्‍तमा गएर उहाँले गर्नुभएको सबै प्रार्थनाको उत्तर दिइयो। जेको लागि उहाँले प्रार्थना गर्नुभयो त्‍यो पूरा हुने निश्‍चित थियो। उहाँले प्रार्थना गर्नुभयो, कि उहाँका चेलाहरू उहाँ र उहाँका पितासँग एक होऊन्। हामीले यो निश्‍चय हुन सक्‍छ भनी भन्‍न सक्‍छौं, कि उहाँका चेलाहरू उहाँ र उहाँका पितासँग एक हुनेछन्।

फरिसीहरूले येशूलाई ईश्‍वर-निन्‍दाको आरोप लगाउँदा येशूले तिनीहरूलाई कस्‍तो जवाफ दिनुभयो? उहाँले भन्‍नुभयो, “के यो तिमीहरूका धर्मशास्‍त्रमा लेखिएका छैनन्, मैले तिमीहरूलाई देवहरू भनेको छु? यदि जसकहाँ परमेश्‍वरको वचन आयो, तिनीहरूलाई उहाँले ‘देवहरू’ भन्‍नुभयो भनेर धर्मशास्‍त्र रद्द हुन सक्‍दैन। पिताले जसलाई पवित्र पारेर संसारमा पठाउनुभएको विषयमा चाहिँ के त? त्‍यसो भए ‘म परमेश्‍वरको पुत्र हुँ’ भन्‍दा तिमीहरूले मलाई किन ईश्‍वर-निन्‍दाको लगाउछौ?” (३४-३६)।

येशूले तिनीहरूको आरोपलाई इन्‍कार गर्नुभएन, उहाँले त्‍यो आरोपलाई आफ्‍ना चेलाहरूलाई आफूसँग समावेश गर्नको लागि विस्‍तार गर्नुभयो। उहाँले भजनसंग्रह ८२:६ लाई दोहोर्‍याउनुभयो,“मैले भनेँ, तिमीहरू ‘देवहरू’ हौ, र तिमीहरू सबै सर्वोच्‍चका सन्‍तानहरू हौ।” यो अनुच्‍छेदले ‘देवहरू’ भनेर बताएको छ। येशूले त्‍यसलाई धर्मशास्‍त्रको पूर्ण सहमतिमा प्रदर्शन गर्नुभयो, कि उहाँ मात्र नभई उहाँलाई पछ्याउनेहरू सबै नै परमेश्‍वरका सन्‍तान हुने दाबी गर्नेहरू हुन्।

येशूले आफ्‍नो जवाफलाई फरिसीहरूको अगाडि यी शब्‍दहरूमा निरन्‍तरता दिनुभयो, “यदि मैले मेरो पिताको काम गरेको छैन भने ममाथि विश्‍वास नगर। तर यदि म पिताको काम गर्दछु र पनि तिमीहरूले ममाथि विश्‍वास गर्दैनौ भने यी कामहरूमाथि विश्‍वास गर र तिमीहरूले थाहा पाउन सक्‍नेछौ र बुझ्‍नेछौ, कि पिता ममा हुनुहुन्‍छ, र म पितामा छु।” (यू. १०: ३७, ३८)

आश्‍चर्य कर्महरू र अरू कामहरूद्वारा येशूले परमेश्‍वर उहाँका पिता र उहाँ परमेश्‍वरका पुत्र हुनुहुन्‍थ्‍यो भनी देखाउनु भयो। येशूले आफ्‍ना चेलाहरूलाई आफूले गरेका कामहरू गर्न बोलावट गर्नुभयो र सुसज्‍जित पार्नुभयो। उहाँले भन्‍नुभयो, “साँचो साँचो म तिमीहरूलाई भन्‍दछु, जसले मलाई विश्‍वास गर्दछ, त्‍यसले मैले गरेका काम पनि गर्नेछ, र तीभन्‍दा ठूला काम पनि गर्नेछ किनभने म पिताकहाँ गइरहेछु” (यू १४: १२)। येशूलाई परमेश्‍वरका पुत्र हुन् भनी प्रमाणित गर्ने आश्‍चर्यकर्मले नै उहाँलाई पछ्याउनेहरूलाई पनि परमेश्‍वरका पुत्र हुन् भनी प्रमाणित गर्नेछ।

येशूले जोड दिएर भन्‍नुभयो कि उहाँ “आफैले केही गर्नुभएन।” उहाँमा बास गर्नुहुने पिताले नै सबै थोक गर्नुभयो। “म पितामा छु र पिता ममा हुनुहुन्‍छ भनेर के तिमी विश्‍वास गर्दैनौ? जुन वाणी म तिमीहरूलाई बोल्‍दछु त्‍यो मैले मेरो आफ्‍नै अधिकारमा बोलेको होईन, तर ममा बास गर्नुहुने पिताले आफ्‍नो काम गर्नुहुन्‍छ” (यू. १४: १०)। येशू आफ्‍ना चेलाहरूलाई छक्‍क पार्ने प्रतिज्ञामा भन्‍नुभयो कि उहाँ र पिता दुवै तिनीहरूमा पनि बास गर्नुहुनेछ। “कसैले मलाई प्रेम गर्दछ भने, त्‍यसले मेरो वचन पालन गर्नेछ, अनि मेरो पिताले त्‍यसलाई प्रेम गर्नुहुन्‍छ, र हामी त्‍यसकहाँ आउनेछौँ र त्‍यससँग बास गर्नेछौँ” (यूह. १४: २३)। येशूमा बास गर्नुभएको पिता हामीमा पनि बास गर्नुहुन्‍छ।

येशूले भन्‍नुभयो, “म संसारको ज्‍योति हुँ” । अर्को समयमा उहाँले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू संसारको ज्‍योति हौ”।

उहाँका चेलाहरूलाई छोड्नुभन्‍दा केही समयअघि येशूले मरियम मग्‍दलिनिलाई भन्‍नुभयो, “मेरो भाईहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, ‘म मेरो पिता र तिनीहरूका पिता र मेरो परमेश्‍वर र तिनीहरूका परमेश्‍वरकहाँ जाँदैछु’” (यू. २०: १७)।

येशूले आफ्‍ना चेलाहरूलाई आफूभन्‍दा छुट्टै प्राणी, तल्‍लो दर्जा अथवा अर्कै तहको रूपमा हेर्नुभएन, नता हामीलाई उहाँले तुच्‍छ प्राणीको रूपमा नै हेर्नुहुन्‍छ। उहाँ मर्नुभयो ताकि उहाँमा बास गर्नुहुने आत्‍मा आएर हामीमा बास गरून् र हामीलाई उहाँसँग एक बनाउन्। ‘म हुँ’ भन्‍ने आत्‍मा हामीमा पनि बास गर्नुहुन्‍छ। त्‍यही आत्‍माले हामीहरूलाई परमेश्‍वरका सन्‍तान बनाउँछ।

पावलले यसलाई रहस्‍य भनेका छन् “युग-युग र पुस्‍तौँदेखि गुप्‍त रहेको यो रहस्‍य, अब उहाँको सन्‍तहरूलाई प्रकट भएको छ। यस रहस्‍यको महिमामय सम्‍पत्ति अन्‍यजातिहरूमा कति महान छ, त्‍यो कुरा आफ्‍ना सन्‍तहरूलाई प्रकट गर्न परमेश्‍वरले चुन्‍नुभयो। यो रहस्‍य ख्रीष्‍ट तिमीहरूमा हुनु हो, जो महिमाको आशा हो” (कलस्‍सी १: २६,२७)। पावलभन्‍दा पहिले पुस्‍तौँदेखि यो गुप्‍तमा रहेको रहस्‍य थियो र त्‍यस दिनदेखि यो पुस्‍तासम्‍म दबिएको छ। तर अब त्‍यस बेलाजस्‍तै परमेश्‍वरले अहिले आफ्‍ना सन्‍तहरूलाई यो रहस्‍य प्रकट गर्नुभएको छ।

धेरै वर्षपछि यूहन्‍ना आफैले लेखे, “हेर, पिताले हामीलाई कस्‍तो किसिमको प्रेम गर्नुभएको छ, कि हामी परमेश्‍वरका सन्‍तान भनी कहलिएकाहरू हौं, र साँच्‍चै हौं पनि” (१ यू. ३: १ )। हामी पनि हाम्रो बोलावटलाई उत्‍सुक्ताले हेर्छौं।

यस विषयमा अझै अध्‍ययन गर्ने इच्‍छा छ भने कृपया ‍म हुँ भन्‍ने लेख हेर्नुहोस्‌।

ख्रीष्‍टको आत्‍मा

हामी इजकिएलले देखेका दर्शनमा अरू बढी कुराहरू पनि पढ्न सक्‍छौँ, “तिनीहरूका पखेटाचाहिँ मास्‍तिर फैलिएका थिए। हरेकका दुई पखेटाले चाहिँ एउटाले अर्काको पखेटालाई छोएका थिए र अरू दुई पखेटाले आफ्‍ना शरीर ढाकेका थिए। तिनीहरू हरेक सोझै हिड्थे। आत्‍माले जता-जता लैजान्‍थ्‍यो तिनीहरू त्‍यतै जान्‍थे र तिनीहरू यता उति नफर्की हिड्थे”। यी चार जीवित प्राणीहरू एकसाथ सँगै हिड्‍थे र आत्‍माले जता-जता डोर्‍याउथ्‍यो त्‍यतैतिर जान्‍थे। पावलले दुरुस्‍तै त्‍यसलाई यी शब्‍दहरूमा दोहोर्‍याए, “जति जना परमेश्‍वरका आत्‍माद्वारा डोर्‍याइएका हुन्‍छन्, तिनीहरू नै परमेश्‍वरका सन्‍तानहरू हुन्” (रोमी ८: १४)।

हामीहरू स्‍वभावैले राजाहरू, नोकरहरू अथवा देवहरू होइनौँ। हामीहरूसँग न ता शासन गर्ने शक्ति छ न सेवा गर्ने नम्रता नै छ। हामीहरू तुच्‍छ, तथा परमेश्‍वररहित साधारण मानिसभन्‍दा केही योग्‍यका छैनौँ। हामी आफ्‍नो बुद्धि, बल अथवा इच्‍छा शक्तिले ती कुनै पनि माथि भनेका कुरा बन्‍न सक्‍दैनौँ।

ख्रीष्‍टको आत्‍मा महान् परिवर्तनकर्ता हुनुहुन्‍छ। येशूले पनि आफ्‍नै बलमा केही गर्नुभएन। उहाँ आफैले भन्‍नुभयो, “पुत्र आफैले केही गर्न सक्‍दैन” “म आफै केहि गर्न सक्‍दिन”। उहाँले गर्ने सबै कुरामा आफ्‍ना पिताको बास गर्नुहुने आत्‍मामा पूर्णरूपमा भर पर्नुभयो। उहाँमा हुनुभएको आत्‍मा आधिकारिक राजा तथा आज्ञाकारी नोकर हुनुहुन्‍थ्‍यो। त्‍यो आत्‍मा सिद्ध मानिस र सिद्ध परमेश्‍वर हुनुहुन्‍थ्‍यो।

त्‍यो आत्‍मा जो उहाँमा हुनुहुन्‍थ्‍यो अहिले हामीमा हुनुहुन्‍छ। स्‍वभाविक मानिसको लागि जे असम्‍भव छ त्‍यो परमेश्‍वरमा सम्‍भव छ। जुन आत्‍माले येशूलाई राजा बनाए त्‍यही आत्‍माले उहाँका शरीरका सदस्‍यहरूलाई पनि राजाजस्‍तै बनाउनुहुनेछ। येशूलाई नोकर बनाउने त्‍यही आत्‍माले उहाँका शरीरका सदस्‍यहरूलाई पनि नोकरहरू बनाउनुहुनेछ। त्‍यही आत्‍मा जो येशूमा परमेश्‍वर हुनुहुन्‍थ्‍यो, उहाँलाई पछ्याउनेहरूमा पनि परमेश्‍वर हुनुहुन्‍छ। त्‍यही आत्‍माद्वारा तिनीहरू सिद्ध एकता र मिलापमा चल्‍ने महिमित र संयुक्त शरीर बन्‍नेछ। त्‍यही आत्‍माद्वारा तिनीहरू परमेश्‍वरमा एक हुनेछन्। आमिन्।

यो पुस्‍तकलाई रंगिन [Color] छाप्‍ने फाइल

यो पुस्‍तकलाई श्‍याम-स्‍वेत [Black & White] छाप्‍ने फाइल

कसरी छाप्ने